सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी सबै हुनुको अर्थ के हो?

यी सबै हुनुको अर्थ के हो?

यी सबै हुनुको अर्थ के हो?

येशू ख्रीष्टले “जगत्‌को अन्तको चिह्न” युद्ध, अनिकाल, रूढी र भैंचालोहरू हुनेछ भन्‍नुभयो।—मत्ती २४:१-८; लूका २१:१०, ११.

सन्‌ १९१४ देखि अक्सर धर्मगुरुहरूको राजनैतिक हस्तक्षेपले गर्दा राष्ट्रहरूबीच तथा जातीय समूहहरूबीच युद्धले र हालै आएर आतङ्‌कवादी आक्रमणहरूले गर्दा मानिसहरूको जीवन भताभुङ्‌ग भएको छ।

खाद्य उत्पादनमा वैज्ञानिक प्रविधिको बावजुद संसारभरि लाखौं मानिसहरू असह्‍य भोकमरीको चपेटामा परेका छन्‌। वर्षेनी लाखौं मानिसहरू खान नपाएर मर्छन्‌।

रूढी वा सङ्‌क्रामक रोगहरू सर्वव्याप्त हुनु पनि येशूले दिनुभएको चिह्नको एउटा भाग हो। प्रथम विश्‍वयुद्धपछि इन्फ्लुएन्जाको महामारीले २,१०,००,००० भन्दा बढी मानिसहरूको ज्यान लियो। विगतमा जस्तो सानो इलाकामा मात्र सीमित नभएर संसारभरि अनि यसले पृथ्वीको टाढ-टाढाका टापुहरूसम्म असर गऱ्‍यो। एड्‌सले सारा विश्‍वलाई पिरोलेको छ अनि टिबी, औलो, टाइफाइड र डेंग ज्वरोले विकासोन्मुख मुलुकका मानिसहरूलाई सताउन छोडेको छैन।

प्राप्त रिपोर्टअनुसार हरेक वर्ष विभिन्‍न रेक्टर स्केलका हजारौं भूकम्पहरू जान्छन्‌। उपलब्ध उपकरण तथा उच्च प्रविधियुक्‍त रिपोर्टिङ तरिकाको बावजुद घना बस्ती भएका ठाउँहरूमा भूकम्पले पुऱ्‍याएको विपत्तिबारे बारम्बार समाचारमा सुन्‍न सकिन्छ।

बाइबलले यस्तो पनि भविष्यवाणी गरेको थियो: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.

हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं भनेर के तपाईं सहमत हुनुहुन्‍न र?

के तपाईंले मानिसहरू असाध्यै स्वार्थी, धनका लोभी र घमण्डी भएको याद गर्नुभएको छ?

अरूबाट अचाक्ली माग गर्ने तर आफू भने बैगुनी, कसैको कुरा नसुन्‍ने र विश्‍वासघाती मानिसहरूले यो संसार भरिएको छ भन्‍ने कुरामा सहमत नहुने को होला र?

आमाबाबुप्रति अनाज्ञाकारी हुनुका साथै एकअर्काप्रति कुनै स्नेह नराख्ने मानिसहरूको संख्यामा अचाक्ली वृद्धि एक/दुई ठाउँमा मात्र नभई संसारभरि नै भइरहेको तपाईंले याद गर्नुभएको छैन र?

सुखविलासप्रतिको प्रेमले उन्मत्त भएको तर भलाइप्रति कुनै प्रेम नभएको संसारमा हामी बाँचिरहेका छौं भनेर तपाईं पक्कै मानिलिनुहुन्छ होला। बाइबलले “आखिरी दिनमा” व्याप्त हुने मनोवृत्तिबारे त्यसरी वर्णन गर्छ।

अहिले हामी बाँचिरहेको समयलाई चिनाउन अझ बढी प्रमाण चाहिन्छ र? येशूले यही समयमा परमेश्‍वरको राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई प्रचार गरिनेछ भनेर पनि भविष्यवाणी गर्नुभयो। (मत्ती २४:१४) के त्यसो भइरहेको छ?

प्रहरीधरहरा, बाइबल आधारित पत्रिका हो र यो यहोवाको राज्यको सुसमाचार घोषणा गर्ने कार्यमा समर्पित छ अनि नियमित रूपमा प्रकाशित हुने अन्य कुनै पत्रिकाभन्दा बढी भाषामा प्रकाशित हुन्छ।

हरेक वर्ष यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्यबारे अरूलाई व्यक्‍तिगत तवरमा साक्षी दिन एक अरबभन्दा बढी घण्टा बिताउँछन्‌।

बाइबलबारे बुझाउने साहित्यहरू हाल लगभग ४०० वटा भाषामा तिनीहरूले प्रकाशित गर्छन्‌ अनि एकदमै टाढाका तथा अल्पसंख्यक मानिसहरूको समूहले बोल्ने भाषामा समेत छापिन्छ। यहोवाका साक्षीहरूले सबै जातिलाई सुसमाचार सुनाइरहेका छन्‌; तिनीहरूले राजनैतिक दृष्टिकोणबाट कुनै महत्त्व नराख्ने थुप्रै ससाना टापु तथा इलाकाहरूमा समेत प्रचार गरिरहेका छन्‌। प्रायजसो मुलुकमा तिनीहरूले बाइबल शिक्षाको नियमित कार्यक्रम सञ्चालन गर्छन्‌।

निस्सन्देह, परमेश्‍वरको राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई प्रचार गरिंदैछ अनि यसको उद्देश्‍य सारा संसारको धर्म परिवर्तन गराउनु होइन तर साक्षी दिनु हो। सबै ठाउँका मानिसहरूलाई स्वर्ग र पृथ्वी सृजने को हो भनी चासो छ कि छैन अनि उहाँका नियमप्रति आदर र आफ्ना सहमानवहरूप्रति प्रेम देखाउने कि नदेखाउने भनेर प्रदर्शन गर्ने मौका दिइँदैछ।—लूका १०:२५-२७; प्रकाश ४:११.

अब चाँडै, परमेश्‍वरको राज्यले पृथ्वीबाट सारा दुष्टता हटाउनेछ र यसलाई विश्‍वव्यापी प्रमोदवन बनाउनेछ।—लूका २३:४३, NW.

[पृष्ठ ६-मा भएको पेटी]

केको आखिरी दिन?

मानवजातिको आखिरी दिन होइन। परमेश्‍वरको इच्छाअनुसार गर्नेहरूलाई बाइबलले सधैंभरि बाँच्ने प्रत्याशा दिन्छ।—यूहन्‍ना ३:१६, ३६; १ यूहन्‍ना २:१७.

पृथ्वीको आखिरी दिन होइन। मानिसजातिले भरिएको पृथ्वी सधैंभरि रहनेछ भनी परमेश्‍वरको वचन प्रतिज्ञा गर्छ।—भजन ३७:२९; १०४:५; यशैया ४५:१८.

बरु, हिंस्रक, प्रेमरहित रीतिरिवाज अनि त्यसको तौरतरिकामा लागिरहनेहरूको लागि यो आखिरी दिन हो।—हितोपदेश २:२१, २२.

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

के बाइबल साँच्चै परमेश्‍वरको वचन हो?

बाइबलका अगमवक्‍ताहरूले बारम्बार यस्तो लेखे: “परमप्रभु [“यहोवा,” NW] यसो भन्‍नुहुन्छ।” (यशैया ४३:१४; यर्मिया २:२) परमेश्‍वरको पुत्र येशू ख्रीष्टले समेत “आफ्नै तर्फबाट बोल्दिनँ” भनेर जोड दिनुभयो। (यूहन्‍ना १४:१०) बाइबल आफैले स्पष्टसित यसो भन्छ: “सम्पूर्ण पवित्र-शास्त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो।”—२ तिमोथी ३:१६, NRV.

अरू कुनै पुस्तक यति धेरै भाषामा प्रकाशित भएको छैन—युनाइटेड बाइबल सोसाइटीको आँकडाअनुसार २,२०० भन्दा बढी भाषामा। अरू कुनै पुस्तक यति धेरै वितरण भएको छैन—अहिले चार अरबभन्दा बढी प्रति वितरण भएको छ। के तपाईंलाई सारा मानिसजातिको लागि लेखिएको परमेश्‍वरको सन्देश यस्तै हुनुपर्छ जस्तो लाग्दैन र?

बाइबल परमेश्‍वरको प्रेरित वचन हो भनी अझ बढी छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित सबैका लागि उपयोगी किताब भन्‍ने पुस्तिका हेर्नुहोस्‌।

बाइबल साँच्चै परमेश्‍वरको वचन हो भनी मानिलिंदै पढ्‌नुभयो भने तपाईंले निकै लाभ उठाउनुहुनेछ।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

परमेश्‍वरको राज्य के हो?

यो स्वर्ग तथा पृथ्वीका सृष्टिकर्ता, साँचो परमेश्‍वर यहोवाले स्वर्गमा स्थापना गर्नुभएको सरकार हो।—यर्मिया १०:१०, १२.

परमेश्‍वरले शासन गर्ने अधिकार दिनुभएको व्यक्‍ति येशू ख्रीष्ट हुनुहुन्छ भनेर बाइबलले चिनाउँछ। (प्रकाश ११:१५) पृथ्वीमा छँदा येशूले आफूसित परमेश्‍वरले दिनुभएको अद्‌भुत अख्तियार छ भनेर देखाइसक्नुभएको थियो—यो अख्तियारले गर्दा नै उहाँले प्राकृतिक शक्‍तिमाथि नियन्त्रण जमाउन सक्नुभयो, हरेक किसिमका रोगहरू निको पार्न सक्नुभयो अनि मरेकाहरूलाई समेत बिउँताउन सक्नुभयो। (मत्ती ९:२-८; मर्कूस ४:३७-४१; यूहन्‍ना ११:११-४४) “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर” परमेश्‍वरले उहाँलाई “सर्वाधिकार, महिमा र राज्याधिकार” दिनुहुनेछ भनेर प्रेरित बाइबल भविष्यवाणीले अगमवाणी गऱ्‍यो। (दानियल ७:१३, १४) त्यो सरकारलाई स्वर्गको राज्य भनिन्छ; येशू ख्रीष्टले अहिले स्वर्गबाट आफ्नो शासनाधिकार चलाउनुहुन्छ।

[पृष्ठ ७-मा भएको चित्र]

सुसमाचारको विश्‍वव्यापी प्रचारकार्य