सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”

“सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”

“सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”

“सबै कुराको अन्त नजीकै आएको छ। . . . सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख।”—१ पत्रुस ४:७, ८.

 आफ्ना प्रेरितहरूसित बिताउने अन्तिम केही घण्टाहरू अनमोल हुनेछन्‌ भनेर येशूलाई थाह थियो। तिनीहरूसामु के छ भनेर उहाँलाई थाह थियो। तिनीहरूले धेरै काम गर्नुपर्ने थियो तर उहाँजस्तै तिनीहरू घृणाको पात्र हुने थिए र सताइने थिए। (यूहन्‍ना १५:१८-२०) त्यस अन्तिम रात उहाँले एक चोटि मात्र होइन तर धेरै चोटि प्रेरितहरूलाई “आपसमा प्रेम गर” भनेर सम्झाउनुभयो।—यूहन्‍ना १३:३४, ३५; १५:१२, १३, १७.

त्यस रात उपस्थित प्रेरित पत्रुसले येशूले भन्‍नुभएको कुराको सार बुझे। वर्षौंपछि, यरूशलेमको विनाश हुनुभन्दा अलिक समयअघि पत्रुसले प्रेमको महत्त्वलाई जोड दिए। तिनले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “सबै कुराको अन्त नजीकै आएको छ। . . . सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख।” (१ पत्रुस ४:७, ८) यस वर्तमान रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेकाहरूका लागि पत्रुसका शब्दहरू अत्यन्तै अर्थपूर्ण छन्‌। (२ तिमोथी ३:१) “प्रगाढ़ प्रेम” भनेको के हो? हामीले अरूप्रति यस्तो प्रेम राख्नु किन महत्त्वपूर्ण छ? अनि हामीमा साँच्चै यस्तो प्रेम छ भनेर कसरी देखाउन सक्छौं?

“प्रगाढ़ प्रेम”—यो के हो?

धेरैको सोचाइमा प्रेम भनेको स्वाभाविक तवरमा निस्कनुपर्ने भावना हो। तर पत्रुसले जस्तोसुकै किसिमको प्रेमबारे कुरा गरिरहेका थिएनन्‌; तिनले सबैभन्दा उत्कृष्ट किसिमको प्रेमबारे बताइरहेका थिए। पहिलो पत्रुस ४:८ मा प्रयोग गरिएको “प्रेम” शब्द, युनानी शब्द अगापे-को अनुवाद हो। त्यो शब्दले सिद्धान्तमा आधारित वा सिद्धान्तको निर्देशनमा चल्ने निस्स्वार्थ प्रेमलाई बुझाउँछ। एउटा सन्दर्भ-स्रोतअनुसार यस्तो प्रकारको प्रेमलाई आदेश दिन सकिन्छ किनभने यो एउटा भावना मात्र होइन तर मानिसलाई कुनै एउटा मार्गतर्फ डोऱ्‍याउने कटिबद्धता हो। हामीसित जन्मजात स्वार्थी झुकाव भएको हुँदा एकअर्कालाई प्रेम देखाउन र ईश्‍वरीय सिद्धान्तले निर्देशन दिने तरिकामा त्यो प्रेम देखाउन हामीलाई सम्झौटाहरू चाहिन्छ।—उत्पत्ति ८:२१; रोमी ५:१२.

यसको मतलब कर्तव्यबोधले गर्दा मात्र हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ भनेको होइन। अगापे भनेको कठोर र भावनारहित हुँदैन। हामीले “आपसमा प्रगाढ़ [शाब्दिक अर्थमा, “तन्काउने”] प्रेम” राख्नै पर्छ भनी पत्रुसले भने। a (किङडम इन्टरलिनियर) तर त्यस्तो प्रेम देखाउन प्रयास गर्नुपर्छ। “प्रगाढ़” भनी अनुवाद गरिएको युनानी शब्दबारे एक जना शास्त्रविद्‌ यसो भन्छन्‌: “यो शब्दले, दौडमा भाग लिइरहेका एक जना धावकले अन्तिम रेखा पुग्नुअघि आफूसित बाँकी भएभरको बल लगाएर मांसपेशीहरू तन्काइरहेको दृश्‍यलाई चित्रण गर्छ।”

त्यसकारण सजिलै गर्न सकिने कुराहरू मात्र गर्न वा थोरै व्यक्‍तिहरूमा मात्र केन्द्रित हुने गरी हाम्रो प्रेम सीमित हुनु हुँदैन। मसीही प्रेम देखाउन हाम्रो हृदय “तन्काउनुपर्छ” अनि कठिन अवस्थामा समेत प्रेम देखाउन अग्रसर हुनुपर्छ। (२ कोरिन्थी ६:११-१३) स्पष्टतः यस्तो प्रकारको प्रेम देखाउन यसको खेती गर्नुपर्छ अनि मेहनत गर्नुपर्छ जसरी एक जना धावकले आफ्नो क्षमता तिखार्न प्रशिक्षण र मेहनत गर्नै पर्छ। हामीले एक-आपसमा यस्तो प्रेम राख्नु अत्यावश्‍यक छ। किन? कम्तीमा तीनवटा कारणको लागि।

हामीले किन एकअर्कालाई प्रेम गर्नुपर्छ?

सर्वप्रथम, “प्रेम परमेश्‍वरबाटको हो।” (१ यूहन्‍ना ४:७) यस मनमोहक गुणको स्रोत यहोवाले हामीलाई पहिला प्रेम गर्नुभयो। प्रेरित यूहन्‍ना यसो भन्छन्‌: “यसैमा परमेश्‍वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्‍ने हेतुले परमेश्‍वरले आफ्ना एकले पुत्रलाई यस संसारमा पठाउनुभयो।” (१ यूहन्‍ना ४:९) परमेश्‍वरको पुत्र मानिसको रूपमा ‘पठाइनुभयो,’ उहाँले आफ्नो सेवकाई पूरा गर्नुभयो अनि शासनाको खम्बामा मर्नुभयो र यो सबै गर्नुको कारण ‘हामी जिऔं’ भनेर थियो। परमेश्‍वरको प्रेमको यस उत्कृष्ट अभिव्यक्‍तिप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? यूहन्‍ना यसो भन्छन्‌: “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएपछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ।” (१ यूहन्‍ना ४:११) यूहन्‍ना के लेख्छन्‌ याद गर्नुहोस्‌, “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएपछि”— तपाईंलाई मात्र होइन तर हामीलाई। यहाँ भन्‍न खोजिएको बुँदा स्पष्ट छ: परमेश्‍वरले हाम्रा सँगी उपासकहरूलाई प्रेम गर्नुहुन्छ भने हामीले पनि तिनीहरूलाई प्रेम गर्नुपर्छ।

दोस्रो, हामीले खाँचोमा परेका हाम्रा भाइहरूलाई अहिले अझ बढ्‌ता प्रेम गर्नु विशेष गरी अत्यावश्‍यक छ किनभने “सबै कुराको अन्त नजीकै आएको छ।” (१ पत्रुस ४:७) हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) विश्‍वको परिस्थिति, प्राकृतिक प्रकोप र विरोधले हामीमाथि कठिनाइ थोपर्छ। कठिन परिस्थितिमा हामी एकअर्कासित अझ घनिष्ठ हुनु अत्यावश्‍यक छ। प्रगाढ प्रेमले हामीलाई आपसमा एकतामा बाँध्नेछ अनि ‘एउटाले अर्कोको वास्ता राख्न’ उत्प्रेरित गर्नेछ।—१ कोरिन्थी १२:२५, २६.

तेस्रो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ किनभने हाम्रो नाजायज फाइदा उठाउने “शैतानलाई मौका” दिन हामी चाहँदैनौं। (एफिसी ४:२७) सँगी विश्‍वासीहरूका असिद्धताहरू जस्तै कमजोरी, त्रुटि र गल्तीहरू चलाएर हामीलाई ठोकर दिन लगाउन शैतान चङ्‌खो छ। के सँगी विश्‍वासीको लापरवाह बोली वा निदर्यी कार्यले गर्दा हामी मण्डलीबाट अलग्गिनेछौं? (हितोपदेश १२:१८) आपसमा प्रगाढ प्रेम छ भने हामी अलग्गिनेछैनौं! त्यस्तो प्रेमले हामीलाई शान्ति कायम गर्न अनि “काँधमा काँध मिलाएर” एकताबद्ध भई परमेश्‍वरको सेवा गर्न मदत गर्नेछ।—सपन्याह ३:९, NRV.

अरूलाई प्रेम गर्छु भनी तपाईं कसरी देखाउन सक्नुहुन्छ

प्रेम देखाउने भनेको घरबाटै सुरु हुनुपर्छ। येशूले आफ्ना साँचो अनुयायीहरू तिनीहरूले एक-आपसमा देखाउने प्रेमबाट चिनिनेछन्‌ भनेर बताउनुभयो। (यूहन्‍ना १३:३४, ३५) प्रेम मण्डलीमा मात्र होइन तर परिवारमा पनि प्रस्ट हुनुपर्छ—विवाहित जोडीहरूबीच अनि आमाबाबु र छोराछोरीबीच। परिवारका सदस्यहरूप्रति प्रेम महसुस गर्नु मात्र पर्याप्त छैन; हामीले यो सकारात्मक ढङ्‌गमा व्यक्‍त गर्नुपर्छ।

१० विवाहित जोडीहरूले कसरी एकअर्काप्रति प्रेम देखाउन सक्छन्‌? आफ्नी पत्नीलाई साँच्चै प्रेम गर्ने पतिले आफूले उनको कदर गर्छु भन्‍ने कुरा वचन र कामद्वारा सार्वजनिक र व्यक्‍तिगत तवरमा थाह दिन्छन्‌। पतिले आफ्नी पत्नीको व्यक्‍तिगत मर्यादाको आदर गर्छन्‌ अनि उनको सोचाइ, दृष्टिकोण र भावनाहरूको विचार गर्छन्‌। (१ पत्रुस ३:७) तिनले आफ्नोभन्दा पत्नीको हितलाई बढी महत्त्व दिन्छन्‌ अनि उनको भौतिक, आध्यात्मिक तथा भावनात्मक आवश्‍यकताहरूको प्रबन्ध गर्न यथाशक्य गर्छन्‌। (एफिसी ५:२५, २८) आफ्नो पतिलाई साँच्चै प्रेम गर्ने पत्नीले कहिलेकाहीं पतिको व्यवहार आफूले सोचेजस्तो नहुँदा समेत तिनको गहिरो “आदर” गर्छिन्‌। (एफिसी ५:२२, ३३) उनले आफ्नो जोडीको साथ दिन्छिन्‌ अनि अधीनमा बस्छिन्‌, अव्यावहारिक मागहरू गर्दिनन्‌ तर आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गर्न तिनलाई सघाउँछिन्‌।—उत्पत्ति २:१८; मत्ती ६:३३.

११ आमाबाबु हो, तपाईंहरू कसरी आफ्ना छोराछोरीलाई प्रेम देखाउन सक्नुहुन्छ? तिनीहरूको निम्ति भौतिक प्रबन्ध गर्न कडा मेहनत गर्ने इच्छुकता तपाईंको प्रेमको प्रमाण हो। (१ तिमोथी ५:८) तर छोराछोरीलाई भोजन, लुगाफाटा र आवास मात्र भएर पुग्दैन। तिनीहरू हुर्केपछि साँचो परमेश्‍वरलाई प्रेम गरून्‌ अनि उहाँको सेवा गरून्‌ भन्‍ने चाहनुहुन्छ भने तिनीहरूलाई आध्यात्मिक प्रशिक्षण चाहिन्छ। (हितोपदेश २२:६) त्यसको मतलब बाइबल अध्ययन गर्न, सेवकाईमा भाग लिन अनि मसीही सभाहरूमा उपस्थित हुन परिवारको लागि समय निकाल्नु हो। (व्यवस्था ६:४-७) त्यस्ता गतिविधिहरूमा नियमित भाग लिनको लागि विशेष गरी यी कठिन समयमा निकै त्याग गर्नुपर्छ। तपाईंका छोराछोरीको आध्यात्मिक आवश्‍यकताको हेरचाह गर्न तपाईंको चासो र प्रयास तपाईंको प्रेमको अभिव्यक्‍ति हो र यसरी तपाईंले तिनीहरूको अनन्त हितमा चासो राख्नुहुन्छ भनेर देखिन्छ।—यूहन्‍ना १७:३.

१२ आमाबाबुले आफ्ना छोराछोरीको भावनात्मक आवश्‍यकताको ख्याल राखेर पनि प्रेम देखाउनु अत्यावश्‍यक छ। केटाकेटीहरू नाजुक हुन्छन्‌; तिनीहरूको कोमल हृदयलाई प्रेमको आश्‍वासन दिइरहनुपर्छ। तिनीहरूलाई माया गर्छु भन्‍नुहोस्‌ र स्नेहपूर्ण अभिव्यक्‍तिहरू धेरै देखाउनुहोस्‌ किनभने यस्ता अभिव्यक्‍तिले तिनीहरूलाई आफू अरूको प्रेम पाउन योग्यको अनि मूल्यवान्‌ छु भन्‍ने लाग्नेछ। तिनीहरूको न्यानो तथा निष्कपट सराहना गर्नुहोस्‌ किनभने यसो गर्दा तपाईंले तिनीहरूको प्रयास देख्नुहुन्छ र त्यसको मूल्याङ्‌कन गर्नुहुन्छ भनेर थाह दिनेछ। तिनीहरूलाई प्रेममा अनुशासन दिनुहोस्‌ किनभने त्यसरी सच्याउँदा तिनीहरू वास्तवमा कस्तो व्यक्‍ति बन्दैछन्‌, त्यसमा तपाईं चासो राख्नुहुन्छ भनेर देखिनेछ। (एफिसी ६:४) प्रेमका यी स्वास्थ्यकर अभिव्यक्‍तिहरूले आनन्दमय, घनिष्ठ परिवार बनाउन मदत गर्छ र यस्तो परिवार यी आखिरी दिनका दबाबहरू प्रतिरोध गर्न तयार हुनेछ।

१३ प्रेमले हामीलाई अरूका कमीकमजोरीहरूको वास्ता नगर्न उत्प्रेरित गर्छ। आफ्ना पाठकहरूलाई “आपसमा प्रगाढ़ प्रेम राख” भनी सल्लाह दिंदा पत्रुसले यो यत्तिको महत्त्वपूर्ण हुनुको कारण यसरी बताए: “किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।” (१ पत्रुस ४:८) पापहरू ‘ढाक्नु’ भनेको गम्भीर पापहरू ‘ढाकछोप’ गर्नु होइन। त्यस्ता गम्भीर पापहरू रिपोर्ट गर्नु उचित हो अनि त्यो मण्डलीका जिम्मेवार व्यक्‍तिहरूले सँभाल्छन्‌। (लेवी ५:१; हितोपदेश २९:२४) घोर पाप गर्ने व्यक्‍तिहरूले निर्दोष व्यक्‍तिहरूलाई चित्त दुखाउन वा चोट पुऱ्‍याउन दिइरहनु भनेको असाध्यै निर्दयी र गैरशास्त्रीय कुरा हुनेछ।—१ कोरिन्थी ५:९-१३.

१४ प्रायजसो अवस्थामा सँगी विश्‍वासीहरूका गल्ती तथा दोषहरू सानातिना हुन्छन्‌। हामी कहिलेकाहीं वचन वा काममा चुक्छौं अनि अरूलाई निराश तुल्याउनुका साथै चित्तसमेत दुखाउँछौं। (याकूब ३:२) के हामीले अरूका कमीकमजोरीहरूबारे सबैलाई ढ्‌वाङ फुक्दै हिंड्‌नुपर्छ र? त्यस्तो बाटो अपनायौं भने मण्डलीमा केवल मतभेद सृजना हुनेछ। (एफिसी ४:१-३) हामी प्रेमअनुसार चल्छौं भने सँगी उपासकको दोषबारे बताएर उसको “निन्दा” गर्नेछैनौं। (भजन ५०:२०) भित्ताको कमीकमजोरीलाई प्लास्टर र रङले ढाकेझैं प्रेमले अरूका असिद्धताहरू ढाक्छ।—हितोपदेश १७:९.

१५ प्रेमले साँच्चै खाँचोमा परेकाहरूको मदत गर्न हामीलाई उत्प्रेरित गर्नेछ। आखिरी दिनमा परिस्थिति झन्‌-झन्‌ खस्कँदै जाँदा हाम्रा सँगी विश्‍वासीहरूलाई भौतिक वा शारीरिक मदतको खाँचो पर्ने समयहरू हुन सक्छन्‌। (१ यूहन्‍ना ३:१७, १८) उदाहरणका लागि, के हाम्रो मण्डलीको कुनै सदस्यले जटिल आर्थिक कठिनाइ सहनुपरेको वा जागिर गुमाउनुपरेको छ? त्यसो हो भने हाम्रो परिस्थितिले अनुमति दिन्छ भने केही भौतिक सहयोग दिन सक्छौं। (हितोपदेश ३:२७, २८; याकूब २:१४-१७) के कुनै वृद्धा विधवाको घर मर्मत गर्नुपर्ने भएको छ? त्यसो हो भने कुनै-कुनै काममा सघाउन उचित कदम चाल्न हामी अग्रसर हुन सक्छौं।—याकूब १:२७.

१६ अरूप्रति प्रेम देखाउने भनेको हाम्रो छेउछाउमा बस्नेहरूमै मात्र सीमित हुने कुरा होइन। कहिलेकाहीं हामीले अरू मुलुकमा बसोबास गर्ने परमेश्‍वरका सेवकहरू भयानक आँधी, भूकम्प वा गृहकलहको सिकार भएको रिपोर्ट सुनौंला। तिनीहरूलाई भोजन, लुगाफाटा र अन्य मालसामानहरू अत्यन्तै खाँचो परेको हुन सक्छ। तिनीहरू अर्कै जाति वा जनजातीय समूहकै भए तापनि यसले केही फरक पार्दैन। हामी सम्पूर्ण “भाइ-बन्धुहरूलाई प्रेम” गर्छौं। (१ पत्रुस २:१७) त्यसैले प्रथम शताब्दीका मण्डलीहरूजस्तै हामी मानिसहरूलाई सहयोग पुऱ्‍याउन प्रबन्ध गरिएका उद्धारकार्यहरूलाई समर्थन गर्न हामी उत्सुक हुन्छौं। (प्रेरित ११:२७-३०; रोमी १५:२६) हामीले ती सबै तरिकाहरूमा प्रेम देखाउँदा यस आखिरी दिनमा हामीलाई एकतामा बाँध्ने बन्धनलाई अझ मजबुत पार्छौं।—कलस्सी ३:१४.

१७ प्रेमले हामीलाई अरूसित परमेश्‍वरको राज्यको सुसमाचार बाँड्‌न उत्प्रेरित गर्छ। येशूको उदाहरणलाई विचार गर्नुहोस्‌। उहाँले किन प्रचार गर्नुभयो र सिकाउनुभयो? उहाँ भीडहरूलाई देखेर “टिठाउनुभयो” किनभने तिनीहरू आध्यात्मिक तवरमा गरिब थिए। (मर्कूस ६:३४) तिनीहरू झूटा धार्मिक गोठालाहरूबाट बेवास्ता गरिएका र बहकाइएका थिए जसले तिनीहरूलाई आध्यात्मिक सत्य सिकाएर आशा दिनुपर्ने थियो। त्यसैकारण, गहिरो हार्दिक प्रेम तथा अनुकम्पाले उत्प्रेरित भई येशूले मानिसहरूलाई “परमेश्‍वरको राज्यको सुसमाचार” सुनाएर सान्त्वना दिनुभयो।—लूका ४:१६-२१, ४३.

१८ आज पनि थुप्रै मानिसहरू आध्यात्मिक तवरमा बेवास्ता गरिएका, बहकाइएका अनि आशाविहीन छन्‌। परमेश्‍वरलाई अझै नचिनेका मानिसहरूको आध्यात्मिक आवश्‍यकताहरूप्रति येशूले जस्तै हामीले पनि सहानुभूति देखाउने गुणलाई तिखाऱ्‍यौं भने तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन प्रेम र अनुकम्पाले उत्प्रेरित हुनेछौं। (मत्ती ६:९, १०; २४:१४) बाँकी रहेको थोरै समयलाई विचार गर्दा यो जीवनदायी सन्देश सुनाउन अहिले जति जरुरी पहिला कहिल्यै भएको थिएन।—१ तिमोथी ४:१६.

“सबै कुराको अन्त नजीकै आएको छ”

१९ नबिर्सनुहोस्‌, आपसमा प्रेम राख भन्‍ने सल्लाह दिनुअघि पत्रुसले यसो भने: “सबै कुराको अन्त नजीकै आएको छ।” (१ पत्रुस ४:७) चाँडै यो दुष्ट संसारको ठाउँमा परमेश्‍वरको धार्मिक नयाँ संसार हुनेछ। (२ पत्रुस ३:१३) त्यसकारण अहिले आत्म-सन्तुष्ट भई सुस्त हुने समय होइन। येशूले हामीलाई यस्तो चेतावनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।”—लूका २१:३४, ३५.

२० त्यसैले हर हालतमा हामी “जागा” रहौं अनि समयको दौडान हामी कहाँ छौं भनेर सचेत होऔं। (मत्ती २४:४२) हाम्रो ध्यान भङ्‌ग गर्न सक्ने शैतानका प्रलोभनहरू विरुद्ध होसियार होऔं। यो कठोर र निर्दयी संसारले हामीलाई एकअर्काप्रति प्रेम देखाउनदेखि कहिल्यै नरोकोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी साँचो परमेश्‍वर यहोवासित अझ नजिक होऔं जसको मसीही राज्यले चाँडै यस पृथ्वीमा आफ्नो महिमित उद्देश्‍य पूरा गर्नेछ।—प्रकाश २१:४, ५.

[फुटनोट]

a अन्य बाइबल अनुवादहरूले १ पत्रुस ४:८ मा हामीले आपसमा “निष्कपट,” “गहिरो,” वा “साँचो” प्रेम गर्नै पर्छ भनेर बताएका छन्‌।

अध्ययन प्रश्‍नहरू

• आफ्ना चेलाहरूसित छुट्टिनुअघि येशूले कस्तो सल्लाह दिनुभयो अनि पत्रुसले यो बुँदाको सार बुझे भनी कुन कुराले देखाउँछ? (अनु. १-२)

• “प्रगाढ़ प्रेम” भनेको के हो? (अनु. ३-५)

• हामीले किन एकअर्कालाई प्रेम गर्नुपर्छ? (अनु. ६-८)

• अरूलाई प्रेम गर्छु भनी तपाईं कसरी देखाउन सक्नुहुन्छ? (अनु. ९-१८)

• यो किन आत्म-सन्तुष्ट भई सुस्त हुने समय होइन अनि हामीसित के गर्ने दृढ सङ्‌कल्प हुनुपर्छ? (अनु. १९-२०)

[पृष्ठ २९-मा भएको चित्र]

यो आखिरी दिनको दबाब प्रतिरोध गर्न आपसमा एकतामा बाँधिएको घनिष्ठ परिवार अझ बढी तयार हुन्छ

[पृष्ठ ३०-मा भएको चित्र]

साँच्चै खाँचोमा परेकाहरूलाई मदत गर्न प्रेमले हामीलाई उत्प्रेरित गर्छ

[पृष्ठ ३१-मा भएको चित्र]

परमेश्‍वरको राज्यको सुसमाचार अरूलाई बाँड्‌नु प्रेमको अभिव्यक्‍ति हो