सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १

जीवनको सुरुवात कसरी भयो?

जीवनको सुरुवात कसरी भयो?

सानो हुँदा के तपाईँले आफ्नो आमाबुबालाई यस्तो प्रश्‍न सोधेर अप्ठ्यारोमा पार्नुभएको थियो: “बच्चाहरू कहाँबाट आउँछन्‌?” त्यतिबेला उहाँहरूले कस्तो जवाफ दिनुभयो? तपाईँ सानै हुनुहुन्थ्यो अथवा उहाँहरू लजालु स्वभावको हुनुहुन्थ्यो भने उहाँहरूले त्यस प्रश्‍नलाई टार्न खोज्नुभयो होला वा अप्ठ्यारो मान्दै लटरपटर जवाफ दिनुभयो होला। अथवा तपाईँलाई मनगढन्ते कथा बताउनुभयो होला, जुन साँचो होइन रहेछ भनेर तपाईँले पछि थाह पाउनुभयो। ढिलो होस्‌ वा चाँडो, केटाकेटीहरूले मानव प्रजननबारे सिक्नै पर्छ।

धेरै आमाबुबालाई बच्चाहरू कहाँबाट आउँछन्‌ भन्‍ने प्रश्‍नको जवाफ दिन अप्ठ्यारो लागेजस्तै केही वैज्ञानिकहरू त्योभन्दा पनि महत्त्वपूर्ण एउटा प्रश्‍नबारे कुरै गर्न चाहँदैनन्‌। त्यो प्रश्‍न हो, ‘जीवन कहाँबाट आयो?’ यस प्रश्‍नको चित्तबुझ्दो जवाफले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई नै असर गर्न सक्छ। त्यसोभए जीवनको सुरुवात कसरी भयो त?

झन्डै आठ सय गुना ठूलो पारेर देखाइएको निषेचित मानव डिम्ब

थुप्रै वैज्ञानिक कस्तो दाबी गर्छन्‌? क्रमविकासमा विश्‍वास गर्ने धेरैले जीवन अरबौँ वर्षअघि कुनै तालको किनारामा वा समुद्रको गहिराइमा सुरु भयो भन्‍ने गर्छन्‌। तिनीहरूको विचारमा त्यस्तो कुनै ठाउँमा रसायनहरू अचानक पानीको फोकाजस्तो आकारमा जम्मा भए अनि जटिल अणुहरू बने र ती सङ्‌ख्यामा बढ्‌दै गए। तिनीहरूको भनाइअनुसार पृथ्वीमा भएका सबै जीव एक वा त्योभन्दा धेरै “सरल” कोषहरूबाट अचानक बनिएका हुन्‌।

तर क्रमविकासमा विश्‍वास गर्ने अरू प्रख्यात वैज्ञानिकहरू यस कुरासित सहमत छैनन्‌। तिनीहरूको अनुमानअनुसार पहिलो कोष वा त्यसमा भएको कुनै महत्त्वपूर्ण तत्त्व बाह्‍य ग्रहबाट आएको हुनुपर्छ। तिनीहरू किन त्यसो भन्छन्‌? किनभने वैज्ञानिकहरूले लाख प्रयास गरे पनि जीवन निर्जीव अणुहरूबाट सुरु भयो भनेर प्रमाणित गर्न सकेका छैनन्‌। सन्‌ २००८ मा जीवविज्ञानका प्रोफेसर अलेक्जान्ड्र मेनेज्‌ले वैज्ञानिकहरूको बीचमा रहेको यस अन्योलबारे कुरा गरेका थिए। तिनको भनाइअनुसार गत ५० वर्षमा “पृथ्वीमा जीवन अचानक अणुहरूको मिश्रणबाट सुरु भएको हो भन्‍ने कुरालाई तिनीहरूले अवलोकन र परीक्षणद्वारा प्रमाणित गर्न सकेका छैनन्‌। साथै यस क्षेत्रमा खासै उल्लेखनीय प्रगति पनि भएको छैन।”

प्रमाणहरूले के देखाउँछ? “बच्चाहरू कहाँबाट आउँछन्‌?” भन्‍ने प्रश्‍न विवादास्पद विषय होइन। यसबारे यथेष्ट जानकारी छ। वास्तवमा जीवन अस्तित्वमा आइसकेको जीवबाट नै आउँछ। तर अरबौँ वर्षअघि यो आधारभूत नियम नै लागू भएन भन्‍न सकिन्छ र? के जीवन निर्जीव रसायनहरूबाट आफसेआफ सुरु हुन सक्छ र? त्यस्तो हुने सम्भावना कति छ?

कुनै कोष जीवित रहनको लागि कम्तीमा पनि तीन प्रकारका जटिल अणुहरू सँगै मिलेर काम गर्नुपर्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। ती हुन्‌: डिएनए (डिअक्सिराइबो न्युक्लेइक एसिड), आरएनए (राइबोन्युक्लेइक एसिड) र प्रोटिन। निर्जीव रसायनहरूको मिश्रणबाट एउटा पूर्ण जीवित कोष अचानक बन्यो भनेर आज थोरै वैज्ञानिकहरू मात्र विश्‍वास गर्छन्‌। त्यसोभए आरएनए वा प्रोटिन संयोगवश बन्‍ने सम्भावना कति छ? a

स्टान्ली मिलर, १९५३

सन्‌ १९५३ मा गरिएको एउटा परीक्षणको कारण धेरै वैज्ञानिकहरू जीवन अचानक अस्तित्वमा आउन सक्छ भन्‍ने निष्कर्षमा पुगे। त्यो वर्ष स्टान्ली एल. मिलरले केही ग्याँसहरूको मिश्रणमा विद्युत्‌ प्रवाह गरेर एमिनो एसिड उत्पादन गरे। यस्तै एमिनो एसिड मिलेर प्रोटिन बन्छ। ती ग्याँसहरू पृथ्वीको सुरुवातमा वायुमण्डलमा थियो भन्‍ने मान्यता छ। त्यतिबेलादेखि यता एमिनो एसिड उल्का पिण्डमा पनि भेटिएको छ। के यी कुराहरूको आधारमा जीवनको सुरुवातको लागि चाहिने मूल तत्त्व अचानक बन्छ भनेर भन्‍न सकिन्छ?

न्यु योर्क विश्‍वविद्यालयका रसायनशास्त्रका प्रोफेसर रोबर्ट शापिरो यसो भन्छन्‌: “कुनै-कुनै लेखकहरूका अनुसार मिलरले गरेको परीक्षणबाट जीवनको सुरुवात गर्न चाहिने सबै मूल तत्त्व सजिलै बनाउन सकिन्छ। यीमध्ये केही तत्त्व उल्का पिण्डमा पनि भेटिएको थियो। तर ती लेखकहरूको कुरा साँचो होइन।” b

आरएनए अणुलाई विचार गर्नुहोस्‌। यो न्युक्लिओटाइड भनिने स-साना अणुहरू मिलेर बनेको हुन्छ। न्युक्लिओटाइड एमिनो एसिडभन्दा फरक अणु हो र यो एमिनो एसिडभन्दा अलि जटिल छ। शापिरोअनुसार “मिलरले गरेको परीक्षणमा र उल्का पिण्डका अध्ययनहरूमा न्युक्लिओटाइड भेटिएको कुरा कतै पाइँदैन।” तिनको विचारमा आफै विभाजित हुँदै जाने क्षमता भएका आरएनए अणुहरू रसायनको मिश्रणद्वारा आफसेआफ बन्‍ने सम्भावना “यति न्यून छ कि ब्रह्‍माण्डको कुनै भागमा त्यसो भयो भने त्यो साँच्चै एउटा ठूलो चमत्कार हुनेछ।”

प्रोटिनहरू (१) बन्‍नको लागि आरएनए (२) चाहिन्छ तर आरएनए बन्‍नको लागि पनि प्रोटिनहरू नभई हुँदैन। आरएनए र प्रोटिनमध्ये एउटा त आफसेआफ बन्‍न सक्दैन भने दुइटाको त कुरै छोडिदिऔँ। राइबोजोमबारे (३) भाग २ मा छलफल गरिनेछ।

प्रोटिन अणुहरूबारे के भन्‍न सकिन्छ? प्रोटिन अणुहरू निश्‍चित क्रममा सङ्‌गठित भएका पचासदेखि हजारौँ एमिनो एसिडबाट बन्‍न सक्छ। एउटा “सरल” कोषमा हजारौँ किसिमका प्रोटिनहरू हुन्छन्‌। एउटा सक्रिय प्रोटिनमा २०० वटा एमिनो एसिड हुन्छन्‌। सय वटा मात्र एमिनो एसिड भएको एउटा प्रोटिन पृथ्वीमा आफसेआफ बन्‍ने सम्भावना लाखौँ-करोडौँमा एक हुन्छ।

प्रयोगशालामा जटिल अणुहरू बनाउन त वैज्ञानिकहरूको सीपको जरुरत पर्छ भने तीभन्दा अझ जटिल कोषहरू आफसेआफ आउन सक्छन्‌ होला र?

क्रमविकासका समर्थक अनि अनुसन्धानकर्ता हुबर्ट पि. यकी अझै यसो भन्छन्‌: “जीवनको सुरुवात ‘पहिले प्रोटिन’-बाट हुनु असम्भव छ।” प्रोटिनहरू बन्‍नको लागि आरएनए चाहिन्छ तर आरएनए बन्‍नको लागि पनि प्रोटिनहरू नभई हुँदैन। हुनत प्रोटिन र आरएनए अणुहरू एकै समयमा एकै ठाउँमा अचानक देखा पर्ने सम्भावना छँदै छैन। तर त्यसो भयो भने पनि यी दुवै सँगै मिलेर आफै विभाजित हुँदै जाने र आत्मनिर्भर जीवन बन्‍ने सम्भावना कति छ? नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन एस्ट्रोबायोलोजी इन्स्टिच्युटका सदस्य डा. क्यारोल क्लेल्यान्ड c यसो भन्छिन्‌: “(प्रोटिन र आरएनए-को मिश्रण बने पनि) आफसेआफ जीवनको सुरुवात हुने सम्भावना अत्यन्तै न्यून छ।” तिनी अझ यसो भन्छिन्‌: “थुप्रै अनुसन्धानकर्ताअनुसार यदि तिनीहरूले प्रोटिन र आरएनए सुरुमा वायुमण्डलमा आफै उत्पादन भएको थियो भनेर प्रमाणित गर्न सके भने प्रोटिन र आरएनए-ले कुनै न कुनै तरिकामा मिलेर काम गर्न थाल्नेछ।” जीवनका मूल तत्त्वहरू कसरी अचानक आए भन्‍ने अहिले प्रचलित शिक्षाहरूबारे तिनी यसो भन्छिन्‌: “यो कसरी भयो भनेर कसैले पनि चित्तबुझ्दो जवाफ दिन सकेको छैन।”

निर्जीव रोबोट बनाउन त बुद्धिमान्‌ मानिस चाहिन्छ भने के एउटा जीवित कोष आफसेआफ बन्छ होला त? अनि मानिस नि?

यी तथ्यहरू किन महत्त्वपूर्ण छन्‌? जीवनको सुरुवात आफसेआफ भयो भन्‍ने शिक्षालाई समर्थन गर्ने अनुसन्धानकर्ताहरूले कस्तो चुनौती सामना गरिरहेका छन्‌, विचार गर्नुहोस्‌। तिनीहरूले जीवित कोषहरूमा पनि पाइने एमिनो एसिडहरू पत्ता लगाएका छन्‌। तिनीहरूले प्रयोगशालाहरूमा होसियारीपूर्वक परीक्षणहरू गरेर अझ जटिल अणुहरू बनाएका छन्‌। पछि गएर “सरल” कोषमा पाइने सबै तत्त्व बनाउने अपेक्षा तिनीहरूले राखेका छन्‌। तिनीहरूको अवस्थालाई एक जना यस्तो वैज्ञानिकसित तुलना गर्न सकिन्छ, जसले प्रकृतिमा भएका तत्त्वहरूलाई स्टील, प्लास्टिक, सिलिकन वा तारमा परिणत गर्छ र त्यसबाट एउटा रोबोट बनाउँछ। त्यसपछि उसले रोबोटलाई यस्तो तरिकामा प्रोग्राम गर्छ, जसले गर्दा त्यो रोबोटले आफूजस्तै अरू रोबोट बनाउन सक्छ। यसबाट उसले के कुरा साबित गर्छ? यही कि एक जना बुद्धिमान्‌ मानिसले एउटा राम्रो मेसिन बनाउन सक्छ।

त्यसैगरि वैज्ञानिकहरूले केहीगरि एउटा कोष बनाइहाले भने त्यो साँच्चै ठूलो उपलब्धि हुनेछ। तर के तिनीहरूले यसबाट कोष आफसेआफ बन्‍न सक्छ भनेर प्रमाणित गर्न सक्नेछन्‌ त? अहँ सक्ने छैनन्‌। बरु तिनीहरूले सृष्टि गर्ने कोही छ भनेर प्रमाणित गर्नेछन्‌।

तपाईँको विचार कस्तो छ? वैज्ञानिकहरूले अहिलेसम्म गरेको अनुसन्धानहरूबाट यही प्रमाणित हुन्छ, जीवन अस्तित्वमा आइसकेको जीवबाट मात्र सुरु हुन सक्छ। “सरल” जीवित कोष पनि निर्जीव रसायनहरूबाट आफसेआफ सुरु भयो भनेर विश्‍वास गर्नु अप्रमाणित कुरामा विश्‍वास गर्नु हो।

यी तथ्यहरूलाई विचार गर्दा के तपाईँ अप्रमाणित कुराहरूमा आँखा चिम्लेर विश्‍वास गर्नुहुनेछ? यस प्रश्‍नको जवाफ दिनुअघि कोषहरू कसरी बन्छन्‌ भन्‍ने कुरा अझ राम्ररी बुझ्नुहोस्‌। यसो गर्दा जीवन कसरी अस्तित्वमा आयो भन्‍नेबारे केही वैज्ञानिकले अघि सारेका सिद्धान्तहरू साँच्चै सही हुन्‌ वा आमाबुबाले आफ्ना छोराछोरीलाई बच्चाहरू कहाँबाट आउँछन्‌ भन्‍नेबारे सुनाउने मनगढन्ते कथाहरूजस्तो मात्र हुन्‌ भनेर छुट्ट्याउन सक्नुहुनेछ।

a यस पुस्तिकाको “निर्देशन कहाँबाट आयो?” भन्‍ने शीर्षक भएको भाग ३ मा डिएनए अचानक बन्‍ने सम्भावनाबारे छलफल गरिनेछ।

b प्रोफेसर शापिरो जीवन सृष्टि भएको थियो भनेर विश्‍वास गर्दैनन्‌। जीवन कुनै न कुनै तरिकामा अचानक आयो तर कसरी आयो भनी अझ बुझ्न सकिएको छैन भनेर तिनी विश्‍वास गर्छन्‌। सन्‌ २००९ मा इङ्‌गल्यान्डको म्यानचेस्टर विश्‍वविद्यालयका वैज्ञानिकहरूले प्रयोगशालामा केही न्युक्लिओटाइड बनाएको दाबी गरेका थिए। तर ती वैज्ञानिकहरूले प्रयोग गरेको तरिकाअनुसार “आरएनए बनाउन सम्भवै छैन” भनेर शापिरोले बताए।

c डा. क्लेल्यान्ड सृष्टिमा विश्‍वास गर्दिनन्‌। जीवन कुनै न कुनै तरिकामा अचानक आयो तर कसरी आयो भनी अझ बुझ्न सकिएको छैन भन्‍ने कुरामा तिनी विश्‍वास गर्छिन्‌।