प्रश्न ३
निर्देशन कहाँबाट आयो?
तपाईँको रूपरङ्ग केले निर्धारण गर्छ? तपाईँको आँखा, कपाल र छालाको रङ्ग केले तय गर्छ? तपाईँको उचाइ र शारीरिक बनौट नि? अनि तपाईँ आमाजस्तो देखिनुहुन्छ कि बुबाजस्तो वा दुवैजस्तो भन्ने कुरा नि? तपाईँको औँलाको टुप्पोलाई एकापट्टि नङ र अर्कोपट्टि नरम हुन केले निर्देशन दिन्छ?
चार्ल्स डार्विनको समयमा यी प्रश्नहरूको जवाफ रहस्य नै थियो। एउटा पुस्तादेखि अर्को पुस्तामा आमाबुबाका गुणहरू सर्ने कुरा देखेर डार्विन आफै पनि चकित परेका थिए। तिनलाई आनुवंशिक नियमहरूबारे खासै थाह थिएन अनि कोषहरूले वंशानुगत कुराहरूको निर्धारण कसरी गर्छ भनेर त झनै थाह थिएन। तर अहिलेका जीवशास्त्रीहरूले मानवको आनुवंशिक तत्त्व र डिएनए-बारे (डिअक्सिराइबो न्युक्लेइक एसिड) अध्ययन गरेको वर्षौँ भइसक्यो। यसबाट उनीहरूले यो अचम्मलाग्दो अणु डिएनए-मा सबै निर्देशन हुन्छ भनेर थाह पाएका छन्। तैपनि एउटा प्रश्न खडा हुन्छ, यी निर्देशनहरू कहाँबाट आउँछ?
थुप्रै वैज्ञानिक कस्तो दाबी गर्छन्? थुप्रै जीवशास्त्री र अन्य वैज्ञानिकहरू डिएनए र यसमा लेखिएको निर्देशन लाखौँ वर्षको समयावधिमा एकपछि अर्को गर्दै भएका घटनाहरूले गर्दा संयोगवश आयो भनेर विश्वास गर्छन्। उनीहरूले बताएअनुसार यस अणुको डिजाइन, यसको काम गर्ने तरिका, यसमा भएको जानकारी र यसले आफूसँग भएको जानकारी अरूलाई कसरी सार्छ, त्यसबारे केही प्रमाण छैन।१७
बाइबल के भन्छ? बाइबलले बताएअनुसार हाम्रो शरीरका विभिन्न अङ्गहरूको बनौट र ती अङ्गहरू कहिले बनिए, त्योसमेत परमेश्वरको लाक्षणिक पुस्तकमा लेखिएको छ। त्यसैले राजा दाउदले परमेश्वरबारे यस्तो लेखे: “म मेरी आमाको गर्भमा छँदै [वा “म भ्रूण छँदै,” फुटनोट] तपाईँका आँखाहरूले मलाई देखेका थिए; मेरा अङ्गहरू बन्नुअघि नै ती कहिले बन्ने हुन् भनेर तपाईँको पुस्तकमा लेखिएका थिए।”—भजन १३९:१६.
प्रमाणहरूले के देखाउँछ? यदि क्रमविकासको शिक्षा सही हो भने डिएनए एकपछि अर्को गर्दै भएका घटनाहरूले गर्दा संयोगवश आयो भनेर विश्वास गर्नु तार्किक देखिन्छ। तर यदि बाइबल सही हो भने डिएनए-लाई बुद्धिमान् व्यक्तिले सोचविचार गरेर बनाएको हो भन्ने कुराको जोडदार प्रमाण डिएनए-को संरचनामा देखिनुपर्छ।
डिएनए-बारे सरल भाषामा चर्चा गर्दा हामी यसलाई राम्ररी बुझ्न सक्छौँ। साथै यसको बनौटबारे बुझ्दा हामीलाई आश्चर्य पनि लाग्नेछ। त्यसोभए आउनुहोस्, हामी फेरि एकचोटि कोषभित्र गएर हेरौँ। यसपटक चाहिँ हामी मानव कोषभित्रको दृश्य
अवलोकन गर्नेछौँ। कल्पना गर्नुहोस्, तपाईँ एउटा यस्तो सङ्ग्रहालयमा जाँदै हुनुहुन्छ, जहाँ तपाईँलाई मानव कोषले कसरी काम गर्छ भनेर सिकाइन्छ। सम्पूर्ण सङ्ग्रहालय मानव कोषको नमुना हो तर यसलाई १ करोड ३० लाख गुणा ठूलो पारिएको छ। यो एउटा विशाल रङ्गशालाजत्रो छ, जहाँ लगभग ७० हजार मानिसहरू अटाउँछन्।तपाईँ सङ्ग्रहालयभित्र छिर्नुहुन्छ र त्यहाँभित्रको अचम्म-अचम्मका डिजाइन र बनौट देखेर छक्क पर्नुहुन्छ। कोषको बीचतिर गोलो आकारको एउटा न्युक्लियस छ, जुन लगभग २० तले भवनजत्रो छ। तपाईँ त्यसतर्फ अघि बढ्नुहुन्छ।
तपाईँ न्युक्लियसको बाहिरी छाला वा झिल्लीद्वारा बनेको ढोका हुँदै भित्र छिर्नुहुन्छ र वरिपरि हेर्नुहुन्छ। त्यस कोठामा ४६ वटा क्रोमोजोम छन्। यिनीहरूको जोडी हेर्दा उस्तै देखिन्छन्। तर हरेक जोडीको लम्बाइ भने फरक-फरक छ। (१) तपाईँले सबैभन्दा अगाडि देख्ने जोडी १२ तले भवनजत्रो छ। हरेक क्रोमोजोमको मोटाइ एउटा विशाल रूखको मूल काण्डजत्रो छ, जसको बीचतिर अलिकति खुम्चिएको भाग छ। क्रोमोजोमलाई विभिन्न प्रकारको पट्टीले बेरेको तपाईँ देख्नुहुन्छ। (२) अझै नजिक गएर हेर्नुहुँदा तपाईँले हरेक तेर्सो पट्टीमा ठाडो रेखा देख्नुहुन्छ। यसको बीच-बीचमा छोटो-छोटो तेर्सो रेखा छ। के त्यो मिलाएर राखेको किताबहरूको चाङ हो? होइन। त्यो त स्प्रिङको बाहिरी भाग हो, जुन एकअर्कासँग टाँसिएर बसेको छ। तपाईँले त्यसमध्ये एउटालाई तान्नुहुन्छ र यो सजिलै निस्कन्छ। (३) यो स्प्रिङलाई नजिकबाट हेर्दा यो अझै स-साना स्प्रिङ मिलेर बनेको तपाईँ देख्नुहुन्छ। यो पनि एकदमै व्यवस्थित देखिन्छ। यी स-साना स्प्रिङमा क्रोमोजोमको एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा छ, जुन लामो डोरीजस्तै देखिन्छ। त्यो वास्तवमा के हो?
अणुको अचम्मलाग्दो बनौट
क्रोमोजोमको यस भागलाई हामी डोरी भन्न सक्छौँ। यसको मोटाइ लगभग एक इन्च छ। (४) यो चक्कामा कस्सेर बेरिएको हुन्छ, जसले गर्दा यो स-साना स्प्रिङको आकारमा बेरिन्छ र यसभित्र फेरि अरू स्प्रिङहरू बन्छन्। यी स्प्रिङहरू कुनै कुरासँग जोडिएका हुन्छन्, जसले गर्दा यिनीहरू आफ्नो ठाउँमा टक्क अडिन सक्छन्। त्यस सङ्ग्रहालयको एउटा सङ्केत चिन्हले बताएअनुसार यो डोरीलाई असाध्यै होसियारीसाथ बेरिएको छ। तपाईँले यी ४६ वटा क्रोमोजोमबाट सबै डोरी तानेर यसलाई मज्जाले तन्काउनुभयो भने यो डोरीले पृथ्वीको आधा फन्को लगाउन सकिन्छ! a
विज्ञानको एउटा किताबले यस्तो व्यवस्थित तरिकालाई “एउटा अचम्मको इन्जिनियरिङ” भनेको छ।१८ यस्तो अद्भुत डिजाइनपछाडि कुनै इन्जिनियरको हात छैन भन्ने कुरा के तपाईँ पत्याउनुहुन्छ? कल्पना गर्नुहोस्, यस सङ्ग्रहालयभित्र एउटा असाध्यै ठूलो पसल छ, जहाँ बेच्नको लागि लाखौँ कुराहरू मिलाएर राखिएको छ र तपाईँ आफूलाई चाहिएको कुरा सजिलै भेट्टाउन सक्नुहुन्छ। के तपाईँ ती सबै कुरा आफसेआफ आयो, कसैले मिलाएर राखेको होइन भनेर विश्वास गर्नुहुन्छ? पक्कै गर्नुहुन्न! त्यसोभए योभन्दा पनि अझ व्यवस्थित कोषबारे चाहिँ के भन्नुहुन्छ?
सङ्ग्रहालयको एउटा सङ्केत चिन्हले तपाईँलाई (५) यस डोरीलाई आफ्नो हातमा लिएर नजिकैबाट हेर्न आग्रह गर्छ। यसलाई आफ्ना औँलाहरूले छाम्नुहुँदा तपाईँलाई यो कुनै साधारण डोरीभन्दा एकदमै फरक लाग्छ। यो डोरी दुइटा धागो बाटेर बनाइएको छ। यी धागोहरू एकदमै स-साना डन्डीले जोडिएका छन् अनि यिनीहरूबीचको दूरी बराबर छ। (६) यो डोरी हेर्दा घुमाउरो भऱ्याङजस्तो देखिन्छ। त्यसपछि तपाईँले थाह पाउनुहुन्छ, तपाईँको हातमा भएको यो डोरी त डिएनए अणुको नमुना पो रहेछ, जुन जीवनको एउटा एकदमै ठूलो रहस्य हो!
चक्काहरूमा कस्सेर बेरिएको र आफ्नो ठाउँमा टक्क अडिन कुनै कुरासँग जोडिएको डिएनए अणु नै क्रोमोजोम हो। (७) भऱ्याङको खुट्किलालाई ‘आधार जोडी’ भनिन्छ। तिनीहरूले के गर्छन्? तिनीहरूले केको लागि काम गर्छन्? सङ्ग्रहालयको सङ्केत चिन्हमा यसबारे सरल भाषामा बताइएको छ।
जानकारी सङ्कलन गरेर राख्ने सबैभन्दा उत्तम स्रोत
सङ्केत चिन्हअनुसार डिएनए-को रहस्य ती खुट्किलामा लुकेको छ। कल्पना गर्नुहोस्, भऱ्याङलाई माथिबाट दुई भागमा छुट्ट्याइयो। खुट्किलाहरू दुवै भागमा बाँडिन्छन्। तिनीहरू चार प्रकारका छन्। वैज्ञानिकहरूले तिनीहरूलाई A, T, G र C नाम दिएका छन्। यी अक्षरहरू जुन क्रममा हुन्छन्,
त्यसैबाट डिएनए-ले निश्चित जानकारी पाउँछ भन्ने कुरा पत्ता लागेपछि वैज्ञानिकहरू छक्क परेका थिए।सायद तपाईँलाई थाह होला, १९औँ शताब्दीमा मोर्स कोडको आविष्कार भयो, जसले गर्दा मानिसहरूले टेलिग्राफद्वारा आपसमा कुराकानी गर्न सके। त्यस कोडमा जम्मा दुइटा “अक्षर” हुन्थ्यो—थोप्लो र धर्सो। तर यसैबाट अनगिन्ती शब्द र वाक्य पढिन्थ्यो। त्यसैगरि डिएनए-मा चार वटा अक्षर A, T, G र C हुन्छन्। यी अक्षरहरू जुन क्रममा हुन्छन्, त्यसबाट “शब्द” बन्छ, जसलाई कोडोन भनिन्छ। कोडोनबाट “अनुच्छेद” बन्छ, जसलाई जीन भनिन्छ। प्रत्येक जीनमा औसतमा २७ हजार वटा अक्षर हुन्छन्। यी जीनहरू र यिनीहरूको बीचमा भएको खाली भाग मिलेर “अध्याय” अर्थात् एउटा क्रोमोजोम बन्छ। अनि २३ वटा क्रोमोजोम मिलेर एउटा पूरै “किताब” बन्छ, जसलाई जीनोम भनिन्छ। यसमा कुनै एउटा जीवको सम्पूर्ण आनुवंशिक जानकारी हुन्छ। b
जीनोमलाई एउटा ठूलो किताबसित तुलना गर्न सकिन्छ। यसमा कति जानकारी अट्छ? भन्ने हो भने डिएनए भऱ्याङमा लगभग ३ अरब ‘आधार जोडी’ वा खुट्किला हुन्छ र यी मिलेर मानव जीनोम बन्छ।१९ एउटा यस्तो विश्वकोशको कल्पना गर्नुहोस्, जसको प्रत्येक खण्डमा १ हजारभन्दा धेरै पाना छन्। यसरी हिसाब गर्दा जीनोममा भएको जानकारीले ४२८ वटा खण्ड भरिन्छ। साथै प्रत्येक कोषमा जीनोमको अर्को एउटा प्रति पनि हुन्छ। यसरी दुवै जीनोममा भएको जानकारीले ८५६ वटा खण्ड हुन्छ। यदि तपाईँले जीनोममा पाइने जानकारी टाइप गर्नुपऱ्यो भने छुट्टी नलिई हरेक दिन आठ घण्टा काम गरे पनि ८० वर्ष लाग्छ!
तर तपाईँले यस्तो मेहनत गरेर टाइप गर्नुभयो भने पनि यसले तपाईँको शरीरलाई कुनै फाइदा दिँदैन। तपाईँले ती ठूलठूला सयौँ खण्डलाई हजार खरब वटा सूक्ष्म कोषमा कसरी राख्न सक्नुहुन्छ? यति धेरै जानकारीलाई त्यस्तो सूक्ष्म कोषमा अटाउनु हाम्रो क्षमताले नभ्याउने कुरा हो।
अणु जीवविज्ञान र कम्प्युटर विज्ञानका एक प्राध्यापकले यसो भने: “यदि एक ग्राम डिएनए-लाई सुकाउने हो भने त्यसले लगभग एक घन सेन्टिमिटर ठाउँ लिन्छ अनि त्यो एक ग्राम डिएनए-मा भएको जानकारीलाई सिडी-मा राख्ने हो भने १० खरब वटा सिडी चाहिन्छ।”२० यसको अर्थ के हो? नबिर्सनुहोस्, डिएनए-मा जीन अर्थात् मानव शरीर बन्न चाहिने जानकारी हुन्छ। यही जानकारीको आधारमा मानिसहरूको शरीरको बनौट फरक-फरक हुन्छ। हरेक कोषमा यी सबै जानकारी हुन्छ। डिएनए-मा यति धेरै जानकारी हुन्छ कि एक चम्चा डिएनए मात्र लिने हो भने पनि यसमा आज संसारको कुल जनसङ्ख्याको लगभग ३५० गुणा धेरै मानिस बनाउन आवश्यक पर्ने जानकारी हुन्छ। आज संसारमा भएको ७ अरब मानिस बनाउन आवश्यक पर्ने डिएनए जम्मा गर्ने हो भने त्यसले त्यो चम्चाको पातलो तह मात्रै ढाक्छ।२१
विना लेखकको किताब?
हुनत आज कुनै कुराको सानोभन्दा सानो रूप बनाउने प्रविधिमा धेरै प्रगति भइसकेको छ तर मानव निर्मित कुनै पनि उपकरणमा डिएनए-मा भएको सबै जानकारी अटाउने क्षमता छैन। तैपनि यसको तुलना सिडीसित गर्नु उपयुक्त देखिन्छ।
यो कुरा विचार गर्नुहोस्: सिडीको आकार, त्यसको चमकदार सतह र त्यसले गर्न सक्ने काम देखेर हामीलाई अचम्म लाग्न सक्छ। यो कुनै बुद्धिमान् व्यक्तिले नै बनाएको हुनुपर्छ भन्ने कुरा प्रमाणित हुन्छ। यसमा अनावश्यक जानकारी हुनुको साटो कुनै जटिल मेसिन बनाउने र त्यसको मर्मत-सम्भार गर्नेबारे विस्तृत जानकारी क्रमिक रूपमा छ भने तपाईँ के भन्नुहुन्छ? त्यो जानकारीले त्यस सिडीको आकार र तौलमा कुनै असर गर्दैन। तैपनि त्यो जानकारी त्यस सिडीको विशेष पक्ष हो। त्यसमा भएको लिखित जानकारी पक्कै कुनै बुद्धिमान् व्यक्तिको काम हो भन्ने कुरामा के तपाईँ विश्वास गर्नुहुन्न र? ती सबै जानकारी लेख्न के एक जना लेखकको आवश्यकता पर्दैन र?डिएनए-लाई सिडी वा किताबसित तुलना गर्नु नमिल्ने कुरा होइन। वास्तवमा जीनोमबारे एउटा किताबमा यस्तो लेखिएको छ: “जीनोमलाई एउटा किताबसित तुलना गर्नै पर्दैन किनभने यो एउटा किताब नै हो।” तर यो कोडमा हुन्छ। त्यो किताबमा अझ यस्तो लेखिएको छ: “जीनोम असाध्यै चलाख किताब हो किनभने उचित अवस्थामा यसले आफूमा भएको जानकारीको नक्कल उतार्न सक्छ र त्यो जानकारी पढ्न पनि सक्छ।”२२ त्यो डिएनए-को अर्को विशेष पक्ष हो। त्यसोभए आउनुहोस् अब हामी यस विषयमा विचार गरौँ।
काम गरिरहेको मेसिन
तपाईँ सङ्ग्रहालयमा उभिएर नमुना न्युक्लियस हेर्दा मनमनै सोच्नुहुन्छ, “के साँच्चैको न्युक्लियस पनि यस्तै अचल हुन्छ?” त्यसपछि तपाईँ अर्को एउटा सङ्केत चिन्ह देख्नुहुन्छ। नमुना डिएनए भएको सिसामाथि यस्तो लेखिएको छ: “प्रदर्शनीको लागि बटन थिच्नुहोस्।” तपाईँले बटन थिचेपछि यस्तो व्याख्या गरिएको सुन्नुहुन्छ: “डिएनए-ले मुख्य दुइटा काम गर्छ। पहिलो हो, नक्कल बनाउने। डिएनए-ले त्यसमा भएको आनुवंशिक जानकारीको नक्कल प्रति बनाउँछ ताकि विभाजन हुने हरेक नयाँ कोषमा पनि ती सबै जानकारी होस्। यो कसरी हुन्छ, कृपया हेर्नुहोस्।”
तपाईँ त्यस कक्षको अर्कोपट्टिको ढोकामा एउटा जटिल मेसिन बाहिर आइरहेको देख्नुहुन्छ। त्यो खासमा रोबोटहरूको समूह हो, जुन एकअर्कासँग
मिलेर काम गर्छ। त्यो मेसिन डिएनए-मा जान्छ, त्यससित जोडिन्छ अनि रेलमार्गमा रेल चलेझैँ डिएनए-मा चल्न थाल्छ। त्यो मेसिन यत्ति छिटो चल्छ कि त्यसले के काम गर्दै छ भनेर तपाईँ हेर्नै भ्याउनुहुन्न। तर मेसिन अघि बढ्दै गर्दा त्यसबाट तपाईँ एउटा धागोको सट्टा दुइटा धागो निस्किरहेको सजिलै देख्नुहुन्छ। ती दुइटा धागो वास्तवमा पूर्ण डिएनए हुन्।तपाईँ अझ यस्तो व्याख्या सुन्नुहुन्छ: “डिएनए-को विभाजनबारे थाह पाउने यो नै सबैभन्दा सरल तरिका हो। अणुहरूको एउटा समूह, जसलाई इन्जाइम भनिन्छ, त्यो डिएनए भएर जान्छ। पहिला त्यसले डिएनए-लाई दुई भागमा विभाजन गर्छ अनि एउटा धागोलाई नयाँ डिएनए-को अर्को धागो बनाउन नमुनाको रूपमा प्रयोग गर्छ। हामी तपाईँलाई त्यसमा मुछिएको सबै कुरा त देखाउन सक्दैनौँ। उदाहरणको लागि, विभाजन गर्ने मेसिनअघि जाने सानो उपकरण। यसले डिएनए-लाई बीचबाट छुट्ट्याउँछ अनि छुट्टिएको भाग स्प्रिङजस्तै बटारिन्छ तर जेलिदैँन। डिएनए-ले कसरी त्रुटिहरूलाई पटक-पटक सुधार्छ, त्यो पनि हामी तपाईँलाई देखाउन सक्दैनौँ। त्यसले सम्पूर्ण त्रुटिहरू पत्ता लगाउँछ र सुधार्छ।”— पृष्ठ १६ र १७ मा भएका चित्रहरू हेर्नुहोस्।
थप व्याख्या यस्तो छ: “हामीले तपाईँलाई स्पष्टै देखाउन सक्ने कुरा इन्जाइमले काम गर्ने गति हो। तपाईँले यो रोबोट द्रुत गतिमा अघि बढिरहेको देख्नुभयो नि, होइन र? वास्तवमा इन्जाइमले डिएनए-को ‘बाटो’ भएर प्रति सेकेन्ड लगभग १०० वटा ‘आधार जोडी’ पार गर्छ।२३ यदि यो ‘बाटो’ रेलमार्गजत्रो चौडा भएको भए यो मेसिनको ‘इन्जिन’ प्रति घण्टा ८० किलोमिटरभन्दा छिटो गतिमा चल्ने थियो। विभाजन गर्ने यो मेसिनले ब्याक्टेरियामा योभन्दा दस गुणा छिटो काम गर्छ। मानव कोषमा यी हजारौँ मेसिनले डिएनए ‘मार्ग’-को विभिन्न ठाउँमा काम गरिरहेका हुन्छन्। तिनीहरू आठ घण्टामै सम्पूर्ण जीनोमको नक्कल गर्छन्।”२४ ( पृष्ठ २० मा भएको “पढ्न र नक्कल गर्न सकिने अणु” भन्ने पेटी हेर्नुहोस्।)
डिएनए “पढ्ने”
सङ्ग्रहालयमा डिएनए-को नक्कल गर्ने रोबोट बिस्तारै देखिन छोड्छ। अब अर्को मेसिन देखा पर्छ। यो पनि डिएनए ‘मार्ग’-मा चल्छ तर पहिलेको मेसिनभन्दा बिस्तारै। तपाईँ डिएनए डोरी यो मेसिनको एकातिरबाट भित्र पसेको र अर्कोतिरबाट जस्ताको तस्तै बाहिर निस्केको देख्नुहुन्छ। तर मेसिनको अर्को छेउबाट डिएनए-को एउटा नयाँ धागो पुच्छर जस्तैगरि निस्कँदै गरेको देख्नुहुन्छ। यो के भएको?
यसबारे थप यसरी व्याख्या गरिन्छ: “डिएनए-को दोस्रो काम लिखित जानकारी दिनु हो। डिएनए कहिल्यै न्युक्लियसको सुरक्षाघेराबाट बाहिर निस्कँदैन। डिएनए-को जीनमा शरीरको लागि चाहिने प्रोटिन बनाउने जानकारी हुन्छ। त्यसोभए कसरी यी जानकारी पढिन्छ र प्रयोग गरिन्छ? खासमा कुरा के हो भने यो इन्जाइम मेसिनले कोषको न्युक्लियसबाहिरबाट आएको रसायनको सङ्केतद्वारा डिएनए-मा
जीन भएको ठाउँ पत्ता लगाउँछ। त्यसपछि यो मेसिनले आरएनए (राइबो न्युक्लेइक एसिड) भन्ने अणु प्रयोग गरेर त्यो जीनको नक्कल गर्छ। आरएनए हेर्दा डिएनए-को एउटा धागोजस्तो देखिन्छ तर यसको काम भने फरक छ। यसले जीनमा भएको जानकारी पढ्ने काम गर्छ। आरएनए-ले त्यो जानकारी इन्जाइम मेसिनमा हुँदा नै लिन्छ अनि न्युक्लियसबाट बाहिर निस्केर कुनै एउटा राइबोजोमतिर जान्छ, जहाँ त्यो जानकारी प्रोटिन बनाउनको लागि प्रयोग हुन्छ।”प्रदर्शन हेर्दै जानुहुँदा तपाईँ तीनछक पर्नुहुन्छ। यो सङ्ग्रहालय र यहाँका मेसिनहरू देखेर तपाईँ यी सब बनाउने बुद्धिमान् व्यक्तिको प्रशंसा नगरी बस्नै सक्नुहुन्न। तर सङ्ग्रहालयका सबै नमुना मेसिनहरू एकै चोटि चलाएर मानव कोषमा एकै समयमा हुने हजारौँ कामको प्रदर्शन देखाउन सकिएको भए नि? यो कत्ति आश्चर्यजनक दृश्य हुने थियो!
त्यसै बेला तपाईँलाई यस्तो महसुस हुन्छ: “सूक्ष्म जटिल मेसिनहरूले गर्ने यी सबै प्रक्रिया त मेरो हजार खरब कोषमा अहिले नै भइरहेको छ!” तपाईँको डिएनए पढिँदै छ अनि इन्जाइम, तन्तु, अङ्ग र यस्तै विभिन्न कुरा मिलेर बनेको तपाईँको शरीरलाई आवश्यक पर्ने लाखौँ प्रोटिन बन्न जानकारी दिइँदै छ। अहिले पनि तपाईँको डिएनए-को नक्कल बनिँदै छ र त्रुटिहरू सुधारिँदै छ, जसले गर्दा हरेक नयाँ कोषले ताजा जानकारीहरू पाउन सक्छ।
यी तथ्यहरू किन महत्त्वपूर्ण छन्?
फेरि आफैलाई यो प्रश्न सोध्नुहोस्: ‘यी सबै जानकारी कहाँबाट आयो?’ बाइबलले त्यो “किताब” र त्यसमा लेखिएका कुराहरूको स्रोत मानिसहरूभन्दा कैयौँ गुणा उच्च व्यक्ति हुनुहुन्छ भनी बताउँछ। के यस्तो निष्कर्षमा पुग्नु पुरानो जमानाको अनि अवैज्ञानिक कुरा हो?
यो कुरा विचार गर्नुहोस्: के मानिसले यस्तो सङ्ग्रहालय बनाउन सक्छ? तिनीहरूले कोसिस गरे भने पनि तिनीहरू सफल हुनेछैनन्। अहिलेसम्म मानव जीनोम र त्यसले गर्ने कामबारे सबै कुरा बुझ्न सकिएको छैन। वैज्ञानिकहरूले सबै जीन कहाँ हुन्छन् अनि तिनीहरूले के काम गर्छन् भन्ने कुरा पत्ता लगाउन अझै कोसिस गर्दै छन्। भन्ने हो भने जीन त डिएनए-को एउटा सानो भाग मात्र हो। जीन नभएका ती लामो डोरीजस्तो देखिने भागहरू नि? वैज्ञानिकहरूले त्यसलाई फाल्तु डिएनए भन्ने नाम दिएका छन्। तर हालै तिनीहरूले आफ्नो धारणा बदलेका छन्। ती भागहरूले जीन कसरी र कुन हदसम्म प्रयोग हुन सक्छ भन्ने कुरा निर्धारण गर्छ जस्तो देखिन्छ। यदि वैज्ञानिकहरूले डिएनए अनि त्यसको नक्कल गर्ने र त्रुटिहरू
सुधार्ने मेसिनहरूको पूर्ण नमुना बनाउन सकिहाले भने पनि के तिनीहरूले त्यसलाई साँच्चैको डिएनए-ले जस्तै काम गर्न सक्नेगरि बनाउन सक्लान् त?प्रख्यात वैज्ञानिक रिचर्ड फिनम्यानले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि कालोपाटीमा यस्तो लेखेका थिए: “म जे बनाउन सक्दिनँ, त्यो म बुझ्न सक्दिनँ।”२५ तिनको यस्तो नम्रता प्रशंसायोग्य छ अनि डिएनए-को सन्दर्भमा तिनको यो भनाइ सोह्रै आना सही छ। नक्कल गर्न र लिखित जानकारी दिन सक्ने क्षमता भएको डिएनए वैज्ञानिकहरूले बनाउन सक्दैनन् न त तिनीहरूले त्यसबारे सबै कुरा बुझ्न नै सक्छन्। तैपनि कतिपयले त्यो आफसेआफ आएको हो भनी अड्डी कस्छन्। यस लेखमा दिइएका प्रमाणहरूले के यो कुरालाई समर्थन गर्छ?
केही विद्वान्हरूले यी प्रमाणहरूको आधारमा फरक निष्कर्ष निकालेका छन्। उदाहरणको लागि, डिएनए-मा दुइटा धागो स्प्रिङजस्तै बटारिएको हुन्छ भन्ने कुरा पत्ता लगाउन मदत गरेका वैज्ञानिक फ्रान्सिस क्रिक यो अणुको संरचना र काम एकदमै व्यवस्थित भएकोले यो आफसेआफ आएको हुनै सक्दैन भन्ने निष्कर्षमा पुगे। तिनको विचारमा पृथ्वीमा जीवनको सुरुवात गर्न कुनै बुद्धिमान् जीवले अन्य ग्रहबाट यहाँ डिएनए पठाएको हुन सक्छ।२६
प्रख्यात दार्शनिक एन्टोनि फ्लुले आफ्नो जीवनकालको ५० वर्षसम्म नास्तिक विचारधाराको समर्थन गरे तर पछि तिनको सोचाइ परिवर्तन भयो। तिनले ८१ वर्षको उमेरमा जीवनको सुरुवात पक्कै कोही बुद्धिमान् व्यक्तिले गरेको हुनुपर्छ भन्ने धारणा व्यक्त गर्न थाले। तिनको विचारमा किन यस्तो परिवर्तन आयो? डिएनए-को अध्ययन गरेकोले। तिनको यो नयाँ धारणासित अन्य वैज्ञानिकहरू सहमत भएनन् भने नि भनेर सोधिँदा तिनले यस्तो जवाफ दिए: “यो एकदमै नराम्रो कुरा हुनेछ। मैले आफ्नो पूरै जीवन प्रमाणहरूले जतातिर डोऱ्याउँछ, त्यही कुरामा विश्वास गर्नुपर्छ भन्ने सिद्धान्तअनुसार बिताएको छु।”२७
तपाईँको विचार कस्तो छ? प्रमाणहरूले कतातिर डोऱ्याउँछ? कल्पना गर्नुहोस्, तपाईँले एउटा कारखानाको बीचमा कम्प्युटर कोठा देख्नुभयो। त्यो कम्प्युटरमा जटिल प्रोग्राम छ, जसले त्यस कारखानामा भइरहेको सबै काम सुचारु रूपमा चल्नको लागि निर्देशन दिइरहेको छ। यसबाहेक त्यो प्रोग्रामले त्यहाँको हरेक मेसिन कसरी बनाउने र हेरविचार गर्ने भनेर निरन्तर निर्देशन दिइरहेको छ। साथै त्यसले आफ्नै नक्कल प्रति बनाउँदै छ र त्रुटिहरू पनि सुधार्दै छ। यस्तो प्रमाण विचार गर्दा तपाईँ कस्तो निष्कर्षमा पुग्नुहुन्छ? त्यो कम्प्युटर र त्यसको प्रोग्राम आफसेआफ बन्यो वा ती सब बनाउने कुनै व्यवस्थित र बुद्धिमान् व्यक्ति छन्? वास्तवमा प्रमाण आफैले आफ्नो कुरा प्रमाणित गर्छ।
a एउटा पाठ्यपुस्तकले (Molecular Biology of the Cell) यसलाई अर्को तरिकाले बताएको छ। उक्त किताबले बताएअनुसार यो लामो डोरीलाई न्युक्लियसभित्र राख्नु भनेको ४० किलोमिटर मसिनो धागोलाई एउटा टेनिस बलभित्र एकदमै व्यवस्थित तरिकामा राख्नुजस्तै हो, ताकि धागोको प्रत्येक भाग सजिलै भेट्टाउन सकियोस्।
b प्रत्येक कोषमा दुई वटा जीनोम हुन्छ। यसरी जम्माजम्मी ४६ वटा क्रोमोजोम हुन्छ।