सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँ के विश्‍वास गर्नुहुन्छ?

तपाईँ के विश्‍वास गर्नुहुन्छ?

सृष्टिसम्बन्धी बाइबलको विवरणमा विश्‍वास गर्छु भनी दाबी गर्ने केही मानिसहरू पृथ्वी र यसमा भएका सबै थोक केही हजार वर्षअघि, छ दिनमै सृष्टि गरिएको थियो भनेर विश्‍वास गर्छन्‌। अर्कोतर्फ, केही नास्तिकहरू भने परमेश्‍वर हुनुहुन्‍न, बाइबल दन्त्यकथाहरूले भरिएको किताब हो र सबै जीवहरू सृष्टि गरिएको नभई आफसेआफ भएका घटनाहरूले गर्दा अस्तित्वमा आएका हुन्‌ भनेर सिकाउने गर्छन्‌।

यी दुई बिलकुलै फरक-फरक विचारधारा हुन्‌। तर तपाईँचाहिँ के विश्‍वास गर्नुहुन्छ? तपाईँ यो पुस्तिका पढ्‌दै हुनुहुन्छ; यसबाट के प्रस्ट हुन्छ भने तपाईँ पनि जीवनको सुरुवात कसरी भयो भनेर बुझ्न चाहनुहुन्छ। सायद तपाईँ सबथोक सृष्टि गर्ने एक जना ईश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नुहुन्छ होला। तर सृष्टिमा विश्‍वास नगर्ने नाम चलेका वैज्ञानिकहरूको विचारधाराको पनि कदर गर्नुहुन्छ होला। यदि तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीले क्रमविकास र सृष्टिबारे प्रश्‍न सोध्दा कसरी जवाफ दिने भनेर सोच्नुहुन्छ होला।

यो पुस्तिका तयार पार्नुको उद्देश्‍य के हो?

यो पुस्तिका तयार पार्नुको उद्देश्‍य सृष्टिसम्बन्धी भिन्‍नाभिन्‍नै विचारधारा राख्ने वा सृष्टिकर्तामा विश्‍वास नगर्ने व्यक्‍तिहरूको विचारधारालाई गलत ठहराउनु होइन। बरु यो पुस्तिकाले तपाईँलाई आफूले विश्‍वास गर्ने कुराका आधारहरू फेरि एक पटक जाँचेर हेर्न उत्प्रेरित गर्नेछ भनेर हामी आशा गर्छौँ। यस पुस्तिकामा बाइबलमा दिइएको सृष्टिसम्बन्धी विवरणलाई व्याख्या गरिएको छ, जुन सायद तपाईँले पहिला कहिल्यै केलाएर हेर्नुभएको थिएन होला। साथै जीवनको सुरुवातको सन्दर्भमा तपाईँ के विश्‍वास गर्नुहुन्छ भन्‍ने कुरा किन महत्त्वपूर्ण छ भनेर पनि यस पुस्तिकामा जोड दिइएको छ।

कुनै बुद्धिमान्‌ सृष्टिकर्ता छैन र बाइबलमा विश्‍वास गर्न सकिँदैन भन्‍ने मानिसहरूको दाबी के तपाईँ पत्याउनुहुन्छ? अथवा बाइबलले वास्तवमा के सिकाउँछ भनी जाँचेर हेर्नुहुन्छ? तपाईँ कसको शिक्षामा भरोसा गर्न सक्नुहुन्छ: बाइबलको या क्रमविकासमा विश्‍वास गर्नेहरूको? (हिब्रू ११:१) तथ्यहरूले के देखाउँछ, आफैले जाँच्नुभए कसो होला?