सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन किन आनन्ददायी हुन्छ

ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन किन आनन्ददायी हुन्छ

अध्याय १३

ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन किन आनन्ददायी हुन्छ

१. यहोवाको मार्गले हामीलाई आनन्दतर्फ लैजान्छ भनी किन भन्‍न सकिन्छ?

 यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (१ तिमोथी १:११, न्युव) उहाँ तपाईं पनि आनन्दित भएको चाहनुहुन्छ। उहाँको मार्गमा हिंड्‌न तपाईंका लागि लाभदायक हुनसक्छ। तपाईंले नदीझैं अपार र अनन्तकालीन शान्ति अनुभव गर्नु हुनेछ। तपाईंले “समुद्रको छाल” जतिकै निरन्तर धार्मिक कार्यहरू गर्ने प्रेरणा पाउनु हुनेछ। यसैबाट साँचो आनन्द मिल्छ।—यशैया ४८:१७, १८.

२. कहिलेकाहीं दुर्व्यवहारको शिकार हुँदाहुँदै पनि मसीहीहरू किन आनन्दित हुन्छन्‌?

तर ‘ठीक काम गर्दा अक्सर दुःख पाइन्छ’ भन्दै कतिले आपत्ति गर्छन्‌। र यो आपत्ति गलत होइन। येशूका प्रेरितहरूलाई यस्तै भएको थियो। तर सताइँदा पनि तिनीहरू रमाए। “येशू नै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन” तिनीहरूले बन्द गरेनन्‌। (प्रेरित ५:४०-४२) हामी यसबाट केही महत्त्वपूर्ण शिक्षा सिक्नसक्छौं। एउटा त, ईश्‍वर भक्‍तिसाथ जीवन बिताउँदैमा हामीसित सबैले राम्रो व्यवहार गर्नेछ भन्‍ने कुराको ग्यारेन्टी छैन। बरु “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌” भनी प्रेरित पावलले लेखे। (२ तिमोथी ३:१२) किनभने शैतान र त्यसको संसारले ईश्‍वर भक्‍तिसाथ जीवन बिताउनेहरूको विरोध गर्छ। (यूहन्‍ना १५:१८, १९; १ पत्रुस ५:८) तर विरोधजस्ता बाहिरी कुराहरूमा साँचो आनन्द निर्भर गर्दैन। त्यो त हामी जे गर्दैछौं सो ठीक गर्दैछौं र परमेश्‍वर हामीसित प्रसन्‍न हुनुहुन्छ भन्‍ने विश्‍वासमा भर गर्छ।—मत्ती ५:१०-१२; याकूब १:२, ३; १ पत्रुस ४:१३, १४.

३. मानिसको जीवन कुन हदसम्म यहोवाको उपासनाअनुरूप हुनुपर्छ?

तर केही यस्ता मानिसहरू पनि छन्‌ जसले भक्‍तिका एकाध कार्यहरू गरेर परमेश्‍वरको अनुमोदन पाउन खोज्छन्‌। तिनीहरू धेरैजसो समय चाहिं परमेश्‍वरलाई पूर्णतः बिर्सेर बस्छन्‌। तर यसरी यहोवा परमेश्‍वरको साँचो उपासना गर्न सकिंदैन। हर दिन, हर साल तथा चेतावस्थाको हर घडी मानिसको सारा आचरण यहोवाको उपासनाअनुरूप हुनुपर्छ। यसैकारण त यसलाई “मार्ग” पनि भनिन्छ। (प्रेरित १९:९; यशैया ३०:२१) यो एउटा यस्तो ईश्‍वर भक्‍त जीवनशैली हो जसअनुसार हिंड्‌दा परमेश्‍वरको वचनबमोजिम बोल्नु तथा काम गर्नु अनिवार्य हुन्छ।

४. परमेश्‍वरको मार्गअनुसार जीवन बिताउँदा छाँटकाँट गर्नु किन लाभदायक हुनेछ?

बाइबलका नयाँ विद्यार्थीहरूले यहोवालाई प्रसन्‍न तुल्याउन आफ्नो जीवनमा केही परिवर्तनहरू ल्याउने आवश्‍यकता देख्नसक्छन्‌। शायद ‘ईश्‍वरीय भक्‍तिसाथ जीवन बिताउनु त्यतिको आवश्‍यक छ र?’ भन्‍ने प्रश्‍न पनि तिनीहरूले मनमा खेलाउनेछन्‌। तथापि, ईश्‍वर भक्‍तिसाथ जीवन बिताउन नितान्त आवश्‍यक छ। किन? किनभने “परमेश्‍वर प्रेम” हुनुहुन्छ। उहाँका मार्गहरू हाम्रै लाभका लागि हुन्‌। (१ यूहन्‍ना ४:८) परमेश्‍वर बुद्धिमान पनि हुनुहुन्छ। अतः कुन कुरा हाम्रो सर्वोत्तम हितका लागि हो, सो उहाँ जान्‍नुहुन्छ। यहोवा परमेश्‍वर सर्वशक्‍तिमान हुनुहुन्छ। उहाँले हामीलाई आफ्नो खराब बानी त्यागेर उहाँको इच्छा पूरा गर्ने, उहाँलाई प्रसन्‍न तुल्याउने शक्‍ति दिन सक्नुहुन्छ। (फिलिप्पी ४:१३) यसकारण, आउनुहोस्‌, ईश्‍वरीय भक्‍तिसाथ बिताइने जीवनमा समाविष्ट केही सिद्धान्तहरू हामी विचार गरौं र हेरौं, त्यसलाई पालन गर्दा हामी कसरी आनन्दित हुनसक्छौं।

इमानदारीको परिणाम आनन्द

५. झूट बोल्नु तथा चोरीबारे बाइबल के भन्छ?

यहोवा “सत्य परमेश्‍वर” हुनुहुन्छ। (भजन ३१:५) निस्सन्देह, तपाईं उहाँको अनुकरण गर्न चाहनुहुन्छ। तपाईंलाई पनि सबैले सत्य मानिस भनेको चाहनुहुन्छ। इमानदारीले आत्मसम्मान तथा आनन्द बढाउँछ। तर यो पापी संसारमा बेइमानी सामान्य कुरा भइसकेको छ। यसैकारण मसीहीहरूलाई यो सम्झौटो चाहिन्छ: “झूट त्यागेर हरेकले आफ्नो आफ्नो छिमेकीसित सत्य बोल। . . . चोर्नेले फेरि नचोरोस्‌। बरु त्यसले परिश्रम गरोस्‌, र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनालाई त्यससँग होस्‌।” (एफिसी ४:२५, २७, २८) जागिरदार मसीहीहरू काममा आलेटाले गर्दैनन्‌। आफ्नो मालिकको अनुमतिबिना तिनीहरूले उनको कुनै पनि कुरा लैजाने गर्दैनन्‌। काममा, स्कूलमा, घरमा वा जुनसुकै ठाउँमा होस्‌ यहोवाको उपासक ‘सबै कुरामा इमानदार हुनुपर्छ।’ (हिब्रू १३:१८) झूट बोल्ने तथा चोर्ने बानी भएको मानिसले परमेश्‍वरको अनुमोदन पाउन सक्दैन।—व्यवस्था ५:१९; प्रकाश २१:८.

६. ईश्‍वर भक्‍तिसाथ जीवन बिताउने मानिसको इमानदारीले कसरी यहोवाको महिमा गर्नसक्छ?

इमानदार हुँदा अनेक आशिष्‌हरू अनुभव गर्न सकिन्छ। सेलिना एउटी गरिब अफ्रिकी विधवी हुन्‌। तिनी यहोवा परमेश्‍वर र उहाँका धार्मिक सिद्धान्तहरूलाई प्रेम गर्छिन्‌। एक दिन तिनले एउटा ब्याग भेट्टाइन्‌ जसमा बैंकको चेकबुक र ठूलो रकम थियो। यसको हकदारको पता तिनले टेलिफोन डाइरेक्टरीबाट थाह लगाइन्‌। त्यो एक जना पसले रहेछ जसको ब्याग चोरी भएको थियो। सेलिना निकै नै बिसञ्चो भए तापनि तिनी सामान फर्काउन गइन्‌। ब्यागभित्र पूरा सामान देखेर त्यो पसले तीन छक पऱ्‍यो। “यसप्रकारको इमानदारी पुरस्कृत हुनुपर्छ” भन्दै उसले सेलिनालाई केही रकम दियो। तर त्योभन्दा पनि ठूलो कुरा चाहिं यो मान्छेले सेलिनाको धर्मको प्रशंसा गऱ्‍यो। हो, इमानदारीपूर्ण कार्यहरूले बाइबलका शिक्षाहरूको शोभा बढाउँछ, यहोवा परमेश्‍वरको महिमा गर्छ र उहाँका इमानदार उपासकहरूलाई आनन्दित तुल्याउँछ।—तितस २:१०; १ पत्रुस २:१२.

उदारताले आनन्द बढाउँछ

७. जुवा खेल्नु किन गलत हो?

उदारचित्तको हुनुमा आनन्द छ। तर लोभी मानिसहरू भने “परमेश्‍वरको राज्यको हकदार” हुनेछैनन्‌। (१ कोरिन्थी ६:१०) लोभको एउटा रूप जुवा खेल्नु हो। अरूलाई नोक्सान पुऱ्‍याएर पैसा कमाउने यो एउटा तरकिब हो। “पैसाको लोभी” मानिसहरूसित यहोवा प्रसन्‍न हुनुहुन्‍न। (१ तिमोथी ३:८) जुवा खेल्न वैध भए तापनि अथवा कसैले मनोरञ्जनका लागि मात्र जुवा खेल्ने गरे तापनि, उसलाई जुवा खेल्ने लत लाग्नसक्छ। धेरै जनाको जीवनलाई स्वाहा पार्ने चलनलाई उसले बढावा दिइरहेको हुन्छ। जुवाको कारण जुवाडेहरूको परिवारमाथि अक्सर धेरै कष्ट आइ पर्छ। कहिलेकाहीं तिनीहरूसित खानेकुरा तथा लाउने लुगाजस्ता दैनिक आवश्‍यकताहरूसमेत पूरा गर्ने पैसा रहँदैन।—१ तिमोथी ६:१०.

८. येशूले उदारताको राम्रो उदाहरण कसरी बसाल्नुभयो र हामीले पनि उदारता कसरी प्रदर्शित गर्नसक्छौं?

उदारभाव रुचाउने मसीहीहरू अरूलाई मदद दिनमा आनन्द मान्छन्‌। विशेषगरि विश्‍वासको घरानाका आफ्ना संगीहरूलाई जो कुनै कारणवश खाँचोमा परेका होलान्‌। (याकूब २:१५, १६) मानिसजातिप्रति परमेश्‍वरको उदारतालाई येशूले पृथ्वीमा आउनअघि राम्ररी देखी सक्नुभएको थियो। (प्रेरित १४:१६, १७) अनि स्वयं येशूले पनि मानिसजातिका लागि आफ्नो समय, योग्यता र जीवनसमेत दिनुभयो। “लिनुभन्दा दिनु अझ असल हो” भन्‍न उहाँलाई बिल्कुल सुहाउँथ्यो। (प्रेरित २०:३५) मन्दिरको ढुकुटीमा दुई पैसा मात्र चढाउने गरिब विधवाको पनि येशूले प्रशंसा गर्नुभयो। किनकि तिनले उदारभावसाथ “आफ्नो सारा जीविकानै अर्पण” गरिन्‌। (मर्कूस १२:४१-४४) प्राचीन इस्राएलीहरू र प्रथम शताब्दीय मसीहीहरूले पनि आनन्द र उदारतासाथ मण्डली तथा राज्य सेवाका लागि भौतिक सहयोग पुऱ्‍याउने सिलसिलामा राम्रो उदाहरण बसालेका छन्‌। (१ इतिहास २९:९; २ कोरिन्थी ९:११-१४) उपरोक्‍त कार्यहरूका लागि भौतिक योगदान दिन बाहेक, वर्तमान मसीहीहरूले खुशीखुशी परमेश्‍वरलाई प्रशंसा चढाउने गर्छन्‌। उहाँको सेवामा तिनीहरू आफ्नो सारा जीवन बिताउँछन्‌। (रोमी १२:१; हिब्रू १३:१५) तिनीहरूले आफ्नो समय, शक्‍ति र पैसालगायत अन्य साधनहरू साँचो उपासना अघि सार्न तथा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने विश्‍वव्यापी कामलाई बल पुऱ्‍याउन चलाउँछन्‌। फलतः यहोवाले तिनीहरूमाथि आशिष्‌ बर्साउनुहुन्छ।—हितोपदेश ३:९, १०.

आनन्द बढाउने अन्य कारणहरू

९. अत्यधिक मदिरापान गर्नु किन गलत हो?

आनन्दित हुने हो भने, मसीहीहरूले आफ्नो ‘विवेकलाई कायम राख्नुपर्छ।’ (हितोपदेश ५:१, २) तिनीहरूले परमेश्‍वरको वचन र बाइबलमा आधारित हितकारी साहित्य पढ्‌नु तथा तीमाथि मनन गर्नुपर्छ। तर केही कुराहरूबाट अलग पनि बस्नुपर्छ। उदाहरणको लागि, अत्यधिक मदिरापान गर्दा आफ्नो सोचविचारलाई नियन्त्रणमा राख्न सकिंदैन। यस्तो हुँदा धेरै जना अनैतिक व्यवहार तथा हिंसात्मक कार्यको शिकार भएका छन्‌। कति जना चाहिं घातक दुर्घटनाहरूको कारण बनेका छन्‌। नभन्दै, मतवालाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनी बाइबलमा स्पष्टतः बताइएको छ। (१ कोरिन्थी ६:१०) अतः “आत्मसंयमी” हुन कटिबद्ध साँचो मसीहीहरू मतवालीपनमा भाग लिंदैनन्‌। यसले गर्दा तिनीहरूबीच आनन्द अझ बढ्‌छ।—तितस २:२-६.

१०. (क) मसीहीहरू तमाखु किन प्रयोग गर्दैनन्‌? (ख) नशालु लतहरू छोड्‌नु किन फायदाजनक हो?

१० आनन्द बढाउनमा सफा शरीरको पनि उत्तिकै योगदान हुन्छ। तर धेरै जनाले हानिकारक पदार्थ उपभोग गर्ने बानी बसाल्छन्‌। उदाहरणको लागि, तमाखुको प्रयोगलाई विचार गर्नुहोस्‌। विश्‍व स्वास्थ्य सङ्‌गठनको प्रतिवेदनअनुसार धूम्रपानले गर्दा “प्रतिवर्ष तीस लाख” मानिसहरू मर्छन्‌। तमाखु खाने बानी छाड्‌दा केही समयसम्म शारीरिक कठिनाइ अनुभव गर्नु परेकोले सो बानी छाड्‌न गाह्रो हुनसक्छ। तर तमाखुको लत छाड्‌नेहरूले चाहिं सुस्वास्थ्य अनुभव गर्नका साथै घर खर्चका लागि पैसा पनि बचाउन सकेका छन्‌। हो, तमाखु वा अरू कुनै पनि हानिकारक पदार्थको लतबाट मुक्‍त हुँदा स्वच्छ शरीर, सफा अन्तस्करण र साँचो आनन्द प्राप्त गर्नमा मदद मिल्छ।—२ कोरिन्थी ७:१.

वैवाहिक जीवनमा आनन्द

११. आदरणीय तथा स्थायी कानुनी वैवाहिक सम्बन्ध अनुभव गर्नका लागि के आवश्‍यक छ?

११ पति-पत्नी भएर सँगै बस्नेहरूले आफ्नो विवाहलाई निजामती कानुनअनुसार दर्ता गरेको हुनुपर्छ। (मर्कूस १२:१७) तिनीहरूले वैवाहिक बन्धनलाई गम्भीर जिम्मेवारी ठान्‍नुपर्छ। हो, आफ्नो पति वा पत्नीले जानाजानी आर्थिक सहायता पटक्कै नदिएमा, असह्‍य दुर्व्यवहार गरेमा वा हाम्रो आध्यात्मिकलाई सम्पूर्णतः खतरामा पार्न खोजेमा सम्भवतः छुट्टिएर अलग्गै बस्न आवश्‍यक हुनसक्छ। (१ तिमोथी ५:८; गलाती ५:१९-२१) तर १ कोरिन्थी ७:१०-१७ मा उल्लिखित प्रेरित पावलका शब्दहरूले पति-पत्नीलाई सकेसम्म सँगै बस्ने आग्रह गर्छ। तथापि, साँचो आनन्द अनुभव गर्ने हो भने चाहिं तिनीहरू एकअर्काप्रति वफादार हुनैपर्छ। पावलले यसप्रकार लेखे: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।” (हिब्रू १३:४) यहाँ विवाहको “ओछ्यान” भन्‍नाले एकअर्कासित कानुनन्‌ वैवाहिक बन्धनमा बाँधिएका पुरुष तथा स्त्रीबीचको लैंगिक संसर्ग बोध हुन्छ। एउटीबाहेक अर्कीसित विवाह गर्नु अथवा अन्य व्यक्‍तिसित लैंगिक सम्बन्ध राख्नु “आदरणीय” हुन सक्दैन। साथै, विवाहपूर्व लैंगिक संसर्ग तथा समलैंगिकताको घोर निन्दा बाइबलमा गरिएको छ।—रोमी १:२६, २७; १ कोरिन्थी ६:१८.

१२. करनीका केही खराब परिणामहरू के हुन्‌?

१२ करनीबाट क्षणिक आनन्द उपभोग गरिए तापनि त्यसबाट साँचो सन्तोष प्राप्त हुँदैन। त्यसले परमेश्‍वरलाई अप्रसन्‍न र मानिसको अन्तस्करणलाई कलङ्‌कित पार्नसक्छ। (१ थिस्सलोनिकी ४:३-५) अवैध यौन सम्बन्धको परिणाम एड्‌स तथा अन्य यौनजन्य रोगहरू हुनसक्छ। एउटा मेडिकल रिपोर्टअनुसार: “प्रति वर्ष २५ करोडभन्दा बढी मानिसहरू धातुमेह र करीब ५ करोड चाहिं भिरङ्‌गीको शिकार बन्छन्‌।” यसबाहेक, नचाहेका गर्भधारणहरूको समस्या त छँदैछ। दि इन्टरनेशनल प्ल्यान्ड पेरेन्टहुड फेडरेशनको प्रतिवेदनअनुसार विश्‍वभरि प्रत्येक वर्ष १५ देखि १९ वर्षका १ करोड ५० लाखभन्दा बढी केटीहरू गर्भवती हुन्छन्‌ र तीमध्ये एक तिहाइले गर्भपात गर्छन्‌। एउटा अफ्रिकी देशमा गरिएको सर्वेक्षणअनुसार किशोरीहरूबीच ७२ प्रतिशत मृत्युको कारण गर्भपात हो। करनी गर्ने केही व्यक्‍तिहरू रोग तथा गर्भधारणबाट उम्कलान्‌। तर तिनीहरू भावनात्मक चोटबाट चाहिं उम्कन सक्‍तैनन्‌। धेरैले आत्मसम्मान गुमाउँछन्‌ र आफैलाई घृणा गर्न थाल्छन्‌।

१३. व्यभिचारद्वारा के थप समस्याहरू उठ्‌छन्‌ र करनी तथा व्यभिचार गरी नै रहनेहरूलाई भविष्यमा के हुनेछ?

१३ व्यभिचार गरेको खण्डमा माफी दिन मिल्ने भए तापनि दोषी पति वा पत्नीसित सम्बन्ध विच्छेद गर्ने यो एक मात्र शास्त्रीय कारण हो। (मत्ती ५:३२; होशे ३:१-५ तुलना गर्नुहोस्‌।) अनैतिकताको कारण यसरी विवाह टुक्रिंदा निर्दोष पति वा पत्नी र बच्चाहरूमा गहिरो मानसिक चोट पर्नसक्छ। अतः मानव परिवारको हितलाई नै ध्यानमा राख्दै परमेश्‍वरको वचनमा अपश्‍चात्तापी व्यभिचारी तथा करनी गर्नेहरूमाथि ईश्‍वरीय न्यायदण्ड आइपर्नेछ भनी उल्लेख गरिएको छ। यसबाहेक, लैंगिक अनैतिकतामा लागी रहनेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌” भनी स्पष्टतः बताइएको छ।—गलाती ५:१९, २१.

“संसारका होइनन्‌”

१४. (क) मूर्तिपूजाका केही रूपहरू के हुन्‌ जसबाट ईश्‍वर भक्‍त मानिस अलग बस्छन्‌? (ख) यूहन्‍ना १७:१४ र यशैया २:४ ले के निर्देशन दिन्छ?

१४ यहोवालाई प्रसन्‍न तुल्याउन तथा उहाँको राज्यका आशिष्‌हरू उपभोग गर्न चाहने सबै जना हरप्रकारको मूर्तिपूजाबाट अलग बस्छन्‌। बाइबल भन्छ, मूर्तिहरू बनाउनु तथा तिनीहरूको उपासना गर्नु गलत हो। चाहे ती मूर्तिहरू ख्रीष्ट अथवा येशूकी आमा मरियमकै किन नहोस्‌। (प्रस्थान २०:४, ५; १ यूहन्‍ना ५:२१) अतः साँचो मसीहीहरूले धार्मिक प्रतिमा, क्रस तथा मूर्तिहरूलाई दण्डवत्‌ गर्दैनन्‌। तर तिनीहरू मूर्तिपूजाका केही गुप्त रूपहरूबाट पनि अलग बस्छन्‌। उदाहरणको लागि, तिनीहरू झण्डा सलामी तथा राष्ट्रहरूको महिमा गानमा भाग लिंदैनन्‌। सो गर्न तिनीहरूलाई करमा पार्न खोज्दा येशूले शैतानलाई भन्‍नुभएका यी शब्दहरू तिनीहरूले सम्झन्छन्‌: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू, औ उहाँको मात्र सेवा गर्नू।” (मत्ती ४:८-१०) येशूले उहाँका अनुयायीहरू “यस संसारका होइनन्‌” भन्‍नुभयो। (यूहन्‍ना १७:१४) यसको अर्थ तिनीहरू राजनैतिक मामिलाहरूमा तटस्थ रहनुपर्छ। तिनीहरूले यशैया २:४ का यी शब्दहरू बमोजिम शान्तिपूर्वक जीवन बिताउनुपर्छ: “उहाँले [यहोवा परमेश्‍वरले] जातिहरूको इन्साफ गर्नुहुनेछ, र उहाँले नै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नुहुनेछ। तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”

१५. महान्‌ बेबिलोन के हो र त्यसबाट निस्कन बाइबलका थुप्रै नयाँ विद्यार्थीहरूले के गर्छन्‌?

१५ ‘संसारको नहुनु’ को अर्थ झूटो धर्मको विश्‍वसाम्राज्य अर्थात्‌ “महान्‌ बेबिलोन[बाट]” पनि आफूलाई पूर्णतः अलग राख्नु हो। अशुद्ध उपासना पुरातन बेबिलोनबाट शुरू भएको थियो। तत्पश्‍चात्‌ त्यसले पृथ्वीभरिका मानिसहरूमाथि हानिकारक आध्यात्मिक प्रभुत्व जमायो। “महान्‌ बेबिलोनमा” ती जम्मै धर्महरू समाविष्ट छन्‌ जसका धर्मसिद्धान्तहरू र चलनहरू परमेश्‍वरको ज्ञानअनुरूप छैनन्‌। (प्रकाश १७:१, ५, १५) यहोवाको कुनै पनि उपासकले बेग्लाबेग्लै धर्मसित मिलेर विभिन्‍न प्रकारको उपासनामा भाग लिने गर्दैन नता उसले महान्‌ बेबिलोनको कुनै पनि भागसित आध्यात्मिक सम्बन्ध नै राख्छ। (गन्ती २५:१-९; २ कोरिन्थी ६:१४) यसैकारण बाइबलका थुप्रै नयाँ विद्यार्थीहरूले आफ्नो पुरानो धर्म सङ्‌गठनलाई राजीनामा पठाउने गर्छन्‌। यसप्रकार तिनीहरू साँचो परमेश्‍वरको अझ नजीक हुन्छन्‌ किनकि हामीलाई यस्तो प्रतिज्ञा गरिएको छ: “ ‘तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ’ परमप्रभु भन्‍नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।’ ” (२ कोरिन्थी ६:१७; प्रकाश १८:४, ५) स्वर्गमा हुनुहुने हाम्रो पिताबाट के तपाईं पनि यस्तै स्वीकृति पाउन इच्छुक हुनुहुन्‍न?

बोझिला वार्षिक चाडहरू

१६. साँचो मसीहीहरूले क्रिस्मस किन मान्दैनन्‌?

१६ ईश्‍वर भक्‍तिसाथ जीवन बिताउँदा हामी अक्सर बोझिला सांसारिक चाडहरूबाट मुक्‍त हुन्छौं। उदाहरणका लागि, येशूको जन्म तिथि बाइबलमा कतै पनि किटेर बताइएको छैन। तापनि कसैकसैको विचारमा येशूको जन्म डिसेम्बर २५ तारिख भएको थियो। तर यो हुनै सक्‍तैन। किनभने उहाँको मृत्यु साढे ३३ वर्षको उमेरमा सा.यु. ३३ को बसन्त ऋतुमा भयो। यसको अलावा, उहाँ जन्मने दिन गोठालाहरू “चौरमा . . . राती आफ्नो बगालको हेरचाह” गर्दै बसिरहेका थिए। (लूका २:८) इस्राएलमा डिसेम्बरको अन्ततिर निकै जाडो तथा वर्षा हुन्छ। यस्तो बेला भेडाहरूलाई जाडोबाट बचाउन गोठभित्र राखिन्थ्यो। साथै, डिसेम्बर २५ तारिख त रोमीहरूले तिनीहरूको सूर्य देवताको जन्मोत्सव मनाउने गर्थे। फलतः येशू पृथ्वीमा आउनुभएको केही शताब्दीपछि धर्मत्यागी मसीहीहरूले येशूको जन्म दिवस मान्‍न सोही तारिख अपनाए। यसैकारण, साँचो मसीहीहरूले नता क्रिस्मस न झूटो धर्मसिद्धान्तमा आधारित अरू कुनै चाड मान्‍ने गर्छन्‌। तिनीहरूले यहोवालाई ऐकान्तिक भक्‍ति चढाउँछन्‌। तिनीहरूले पापी मानिसहरू अथवा राष्ट्रहरूलाई पूज्ने अन्य उत्सवहरूमा पनि भाग लिंदैनन्‌।

१७. ईश्‍वर भक्‍त मानिसहरूले जन्मोत्सव किन मनाउँदैनन्‌ र सो नगर्दा पनि मसीही केटाकेटीहरू किन खुशी छन्‌?

१७ बाइबलमा दुइटा जन्मोत्सवहरूको मात्र चर्चा गरिएको छ र तिनमा विथोलित दुवै मानिस परमेश्‍वरका उपासक थिएनन्‌। (उत्पत्ति ४०:२०-२२; मत्ती १४:६-११) साथै, बाइबलमा सिद्ध पुरुष येशू ख्रीष्टको त जन्म तिथि छैन भने असिद्ध मानिसहरूको जन्म दिनलाई विशेष महत्त्व किन दिने? (उपदेशक ७:१) यसबाहेक, ईश्‍वरभक्‍त आमा-बाबुहरूले आफ्ना छोराछोरीलाई प्रेम देखाउन कुनै खास दिन वा तिथि पर्खंदैनन्‌। एउटी १३ वर्षीया मसीहीले यो टिप्पणी गरिन्‌: “म आफ्नो परिवारसित मिलेर खुब रमाइलो गर्छु। . . . मेरा आमा-बाबु र म बीच न्यानो आत्मीयता छ। मैले चाडहरू किन नमानेको भनी अरू केटाकेटीहरू सोध्छन्‌। तर मेरोलागि त प्रत्येक दिन चाड हो।” एक जना अर्को १७ वर्षीय मसीही युवक भन्छन्‌: “हाम्रो घरमा सालभरि एकअर्कालाई कोसेली दिने चलन छ।” कोसेलीहरू कसैले प्रतीक्षा नगरेको बेलामा राजीखुशीले दिनु बढी आनन्ददायी हुन्छ।

१८. येशूले आफ्ना अनुयायीहरूलाई कुन वार्षिक उत्सव मान्‍न अह्राउनुभयो र सो उत्सवले हामीलाई कुन कुराको सम्झना गराउँछ?

१८ ईश्‍वर भक्‍तिसाथ जीवन बिताउने मानिसहरूले सालमा एक दिन मात्र विशेष उत्सव मनाउनुपर्छ। त्यो हो प्रभुको साँझको भोज। यसलाई अक्सर ख्रीष्टको मृत्युको स्मरणार्थ पनि भनिन्छ। यस उत्सवबारे येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्ने गर।” (लूका २२:१९, २०; १ कोरिन्थी ११:२३-२५) सा.यु. ३३ को नीसान १४ को दिन यो उत्सव स्थापित गर्नुहुँदा येशूले अखमिरी रोटी र दाखमद्य प्रयोग गर्नुभएको थियो। ती कुराहरू उहाँको निष्पाप शरीर र सिद्ध रगतका प्रतीक थिए। (मत्ती २६:२६-२९) परमेश्‍वरको पवित्र आत्माद्वारा अभिषिक्‍त मसीहीहरूले ती प्रतीकहरू खाने र पिउने गर्छन्‌। ती मसीहीहरू नयाँ वाचा र राज्यको वाचामा समाविष्ट हुन्छन्‌। तिनीहरूले स्वर्गमा जाने आशा गर्छन्‌। (लूका १२:३२; २२:२०, २८-३०; रोमी ८:१६, १७; प्रकाश १४:१-५) तथापि, यहूदी तिथिपत्रअनुसार नीसान १४ तारिखको साँझमा भेला हुने सबैले नै लाभ उठाउन सक्छन्‌। पापहरूको प्रायश्‍चित गर्ने छुडौतीको बलिदानद्वारा यहोवा परमेश्‍वर र येशू ख्रीष्टले देखाउनुभएको प्रेमको तिनीहरूले सम्झना गर्नसक्छन्‌। किनकि ईश्‍वरीय अनुमोदन हुनेहरूले सोही बलिदानको आधारमा अनन्त जीवन पाउनेछन्‌।—मत्ती २०:२८; यूहन्‍ना ३:१६.

रोजगारी र मनोरञ्जन

१९. मसीहीहरूले जीविका चलाउँदा के कस्तो चुनौतीको सामना गर्नुपर्छ?

१९ मेहनत गरेर जीविका चलाउनु साँचो मसीहीहरूको कर्तव्य हो। यो कर्तव्य पूरा गर्न पाउँदा परिवारका शिरहरूले मानसिक सन्तोष महसुस गर्छन्‌। (१ थिस्सलोनिकी ४:११, १२) तथापि, बाइबलको सिद्धान्तसित नमिल्ने पेशा अंगाल्दा मसीहीको आनन्द हरण हुन्छ। तर बाइबलको सिद्धान्तसित मिल्ने जागिर पाउन पनि कहिलेकाहीं गाह्रो हुन्छ। उदाहरणको लागि, कुनै कुनै जागिरदारहरूलाई ग्राहकसित झूट बोल्न अह्राउन सकिन्छ। यस्तो हुँदा केही मालिकहरू इमानदार कारिन्दा गुमाउनुको सट्टा कारिन्दाको अन्तस्करणलाई चोट पुऱ्‍याउने आदेश नै खारेज गर्न तयार हुन्छन्‌। हो, सफा अन्तस्करण राख्न मदद दिने किसिमको जागिर खोज्नुहुँदा परमेश्‍वरले तपाईंको प्रयासलाई निश्‍चय आशिष्‌ दिनुहुनेछ।—२ कोरिन्थी ४:२.

२०. हामीले मनोरञ्जनको छनौट किन होशियारीसाथ गर्नुपर्छ?

२० परमेश्‍वरले आफ्ना सेवकहरू आनन्दित भएको चाहनुहुन्छ। अतः हामीले कडा परिश्रम गर्न बाहेक थकाइ मार्ने तथा मनोरञ्जनका लागि पनि समय निकाल्नुपर्छ। (मर्कूस ६:३१; उपदेशक ३:१२, १३) शैतानको संसारले भक्‍तिहीन मनोरञ्जनलाई प्रवर्धन गर्छ। तर परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहन्छौं भने हामी चाहिं आफूले पढ्‌ने, सुन्‍ने र हेर्ने पुस्तक, रेडिओ कार्यक्रम तथा सङ्‌गीत र गीति नाटक, फिल्म र टेलिभिजन कार्यक्रम तथा भिडिओ होशियारीसाथ रोज्नुपर्छ। हामीले बितेको समयमा रोजेको मनोरञ्जन, व्यवस्था १८:१०-१२, भजन ११:५ र एफिसी ५:३-५ जस्ता शास्त्रपदहरूसित मेल खाँदैन थियो भने पनि, हामीले अब ती कुराहरूमा परिवर्तन गऱ्‍यौं भने यहोवा हामीसित प्रसन्‍न हुनुहुन्छ।

जीवन तथा रगतको आदर

२१. जीवनको कदर गर्छौं भने हामीले गर्भपात, आफ्नो आनीबानी तथा आचरणप्रति के कस्तो दृष्टिकोण अपनाउनुपर्छ?

२१ साँचो आनन्द अनुभव गर्ने हो भने, हामीले मानव जीवनलाई यहोवाले जस्तै पवित्र सम्झनुपर्छ। उहाँको वचनमा हत्या निषेधित छ। (मत्ती १९:१६-१८) परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थानुसार उहाँको नजरमा गर्भमा भएको बच्चा पनि अमूल्य जीवन हो। त्यो कुनै नष्ट गर्न मिल्ने चीज होइन। (प्रस्थान २१:२२, २३) यसर्थ हामीले तमाखु, लागू पदार्थ वा मदिरापान गरेर अथवा अनावश्‍यक खतरा मोलेर जीवनसित खेलबाड गर्नु उचित होइन। नता हामीले जीवनलाई खतरामा पार्ने कामकुरोमा भाग लिनु हुन्छ न सुरक्षा नियमहरू नै उल्लङ्‌घन गर्नु मिल्छ। ती उल्लङ्‌घन गरेमा हामी रगतको दोषी हुनसक्छौं।—व्यवस्था २२:८.

२२. (क) रगत र त्यसको प्रयोगप्रति ईश्‍वरीय दृष्टिकोण के हो? (ख) कसको रगतमा मात्र जीवन बचाउने शक्‍ति छ?

२२ रगत वास्तवमा प्राण तथा जीवनको प्रतीक हो। यो कुरा यहोवाले नूह र उनको परिवारलाई भन्‍नुभयो। त्यसैकारण रगत पटक्कै नखानू भन्‍ने निषेधाज्ञा परमेश्‍वरले दिनुभयो। (उत्पत्ति ९:३, ४) हामी नूह र उनको परिवारका सन्तान हौं। त्यसैले सो निषेधाज्ञा हामीमाथि पनि लागू हुन्छ। रगत माटोमा खन्याउनुपर्छ तथा त्यसलाई मानिसले आफ्नो कामका लागि प्रयोग गर्नु हुँदैन भनी यहोवाले इस्राएलीहरूलाई भन्‍नुभयो। (व्यवस्था १२:१५, १६) र प्रथम शताब्दीय मसीहीहरूलाई रगतसम्बन्धी परमेश्‍वरको नियम फेरि यी शब्दहरूमा दोहोऱ्‍याइयो: “रगतबाट . . . अलग रहनुहोस्‌।” (प्रेरित १५:२८, २९) तसर्थ जीवनको पवित्रताको कदर गर्दै ईश्‍वर भक्‍त मानिसहरूले रक्‍तक्षेपण स्वीकार्दैनन्‌। रक्‍तक्षेपणद्वारा जीवनको बचाउ हुनेछ भनी अरूहरूले जिद्दी गरे तापनि उनीहरू मान्दैनन्‌। बरु रक्‍तक्षेपणको सट्टा यहोवाका साक्षीहरूलाई स्वीकार्य हुने अन्य चिकित्सा विकल्पहरू अति नै प्रभावकारी साबित भएका छन्‌। सो विकल्पहरू अपनाउँदा रक्‍तक्षेपणबाट आउनसक्ने खतरा मोल्नु पर्दैन। जीवन बचाउने शक्‍ति येशूको रगतमा मात्र छ भनी मसीहीहरू जान्दछन्‌। त्यसमाथि विश्‍वास गर्नाले पापहरूको क्षमा मात्र होइन तर अनन्त जीवनको आशा पनि गर्न सकिन्छ।—एफिसी १:७.

२३. ईश्‍वर भक्‍तिसाथ जीवन बिताउँदा हुने केही लाभहरू के हुन्‌?

२३ स्पष्टतः, ईश्‍वर भक्‍तिसाथ जीवन बिताउँदा प्रयास गर्नुपर्छ। परिवारका सदस्यहरू तथा इष्टमित्रले हामीलाई ठट्टामा उडाउनसक्छन्‌। (मत्ती १०:३२-३९; १ पत्रुस ४:४) तर ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवनबाट आउने लाभहरूको सामु यी दुःखहरू केही पनि होइन। ईश्‍वर भक्‍तिसाथ जीवन बिताउँदा सफा अन्तस्करण र यहोवाका अरू उपासकहरूसित स्वस्थकर मित्रता अनुभव गर्न सकिन्छ। (मत्ती १९:२७, २९) यसबाहेक, परमेश्‍वरको धार्मिक नयाँ संसारमा सधैं जीवित रहन पाउनु हुनेछ। (यशैया ६५:१७, १८) बाइबलमा उल्लिखित उपदेशलाई प्रयोगमा ल्याउँदै यहोवाको हृदय हर्षित तुल्याउनुमा कति ठूलो आनन्द छ! (हितोपदेश २७:११) ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन साँच्चै नै आनन्ददायी हुन्छ।—भजन १२८:१, २.

आफ्नो ज्ञान जाँच्नुहोस्‌

ईश्‍वर भक्‍तिसाथ जीवन बिताउन कुन कुन कारणले गर्दा आनन्ददायी हुन्छ?

ईश्‍वर भक्‍तिसाथ जीवन बिताउने हो भने के कस्ता परिवर्तनहरू गर्न आवश्‍यक पर्नसक्छ?

तपाईं ईश्‍वर भक्‍तिसाथ किन जीवन बिताउन चाहनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२५-मा भएको चित्र ]

समय समयमा थकाइ मार्दै गरिएका आध्यात्मिक गतिविधिहरूले ईश्‍वरभक्‍त जीवन बिताउनेहरूको आनन्द बढाउँछ