सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुन्छ

जब परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुन्छ

अध्याय १९

जब परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुन्छ

१, २. यहोवाको सृष्टि कसरी कुरूप भयो?

 मानि लिनुहोस्‌, एक जना महान्‌ चित्रकारले भर्खरै सुन्दर चित्र बनाइ सिध्याएको छ। यो उसको विचारमा साँच्चै नै राम्रो छ। यो उसको हातको सर्वोत्कृष्ट कृति हो! तर त्यसलाई एकै रातमा एउटा डाही विरोधीले बिगारी दिन्छ। चित्रकार स्वभावतः साह्रै दुःखी हुन्छ। ऊ त्यो बद्‌माशलाई झ्यालखानमा कैद भएको चाहन्छ! ऊ आफ्नो चित्रमा फेरि त्यो पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक हुन्छ।

यही चित्रकारले जस्तै, यहोवाले पनि पृथ्वी सृजनु भएर त्यसमा मानिसजाति राख्नुभयो। यो सृजना उहाँको एउटा सर्वोकृष्ट कृति थियो। पुरुष र स्त्री सृजनु भएपछि उहाँले आफ्नो पार्थिव रचनालाई “साह्रै राम्रो” घोषित गर्नुभयो। (उत्पत्ति १:३१) आदम र हव्वा परमेश्‍वरका आफ्नै सन्तान थिए। तिनीहरू परमेश्‍वरको नजरमा प्रिय थिए। उहाँले तिनीहरूका लागि आनन्ददायी तथा महिमावान्‌ भविष्य कल्पना गर्नुभएको थियो। तर तिनीहरूलाई शैतानले विद्रोहको बाटोमा लग्यो। तापनि परमेश्‍वरको सुन्दर सृष्टि सदाका लागि बिग्रेको चाहिं छैन।—उत्पत्ति ३:२३, २४; ६:११, १२.

३. “साँच्चैको जीवन” के हो?

परमेश्‍वरले मामिला सुधार्ने फैसला गर्नुभएको छ। हामी उहाँको मूल उद्देश्‍यअनुरूप बाँचेको उहाँ चाहनुहुन्छ। हाम्रो अल्प तथा विचलित अस्तित्व “साँच्चैको जीवन” होइन। यो त यहोवाले कल्पना गर्नुभएको भन्दा धेरै नै निम्नस्तरको छ। परमेश्‍वरले हाम्रोनिम्ति चाहनुभएको “साँच्चैको जीवन” सिद्ध वातावरणमा बिताइने “अनन्त जीवन” हो।—१ तिमोथी ६:१२, १९.

४, ५. (क) प्रमोदवनको आशा कसरी पूरा हुनेछ? (ख) हामीले आफ्नो भविष्यको आशाबारे किन सोच्नुपर्छ?

परमेश्‍वरको ज्ञान लिएपछि यहोवाको सामु जिम्मेवारी पनि उठाउनुपर्छ। (याकूब ४:१७) तर सोच्नुहोस्‌, यो ज्ञानलाई प्रयोगमा ल्याउँदै अनन्त जीवन पाउने प्रयास गर्दा कति थुप्रै आशिष्‌ उपभोग गर्न सकिन्छ। चाँडै स्थापित हुने पार्थिव प्रमोदवनमा जीवन कस्तो हुनेछ, त्यसको अति नै सुन्दर चित्र यहोवाले आफ्नो वचनमा कोर्नुभएको छ। हुन त हामी यहोवाका जनहरूले इनामका लागि मात्र परमेश्‍वरको सेवा गरेका होइनौं। हामी परमेश्‍वरको सेवा उहाँको प्रेमको खातिर गर्छौं। (मर्कूस १२:२९, ३०) साथै, हामी यहोवाको सेवा गरेर अनन्त जीवन कहिल्यै कमाउन सक्‍तैनौं। अनन्त जीवन परमेश्‍वरको वरदान हो। (रोमी ६:२३) यसप्रकारको जीवनमाथि मनन गर्नु हाम्रोलागि लाभदायक हुनसक्छ। प्रमोदवनको आशाले हामीलाई यहोवा अर्थात्‌ “उहाँलाई खोज्नेहरूलाई प्रतिफल” दिनुहुने परमेश्‍वरका गुणहरूको सम्झना गराउँछ। (हिब्रू ११:६) हाम्रो हृदय तथा मनमा चम्किरहेको उज्यालो आशाले हामीलाई शैतानको संसारमा कठिनाइहरूको सामना गर्ने बल दिन्छ।—यर्मिया २३:२०.

अतः आउनुहोस्‌, हामी भविष्यको त्यो पार्थिव प्रमोदवनमा उपभोग गर्न पाइने अनन्त जीवनको बाइबलीय आशातर्फ ध्यान केन्द्रित गरौं। परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुँदा जीवन कस्तो हुनेछ?

आरमागेडोनपश्‍चात्‌—पार्थिव प्रमोदवन

६. आरमागेडोन के हो र मानिसजातिका लागि त्यसले के अर्थ राख्नेछ?

अगाडि उल्लेख गरिएझैं—यहोवा परमेश्‍वरले चाँडै नै वर्तमान दुष्ट रीतिरिवाजलाई नाश गर्नुहुनेछ। संसार तीव्र गतिले बाइबलमा आरमागेडोन भनिने स्थितितर्फ अघि बढ्‌दैछ। आरमागेडोन भन्‍ने यो शब्द कसैकसैको विचारमा युद्धरत राष्ट्रहरूद्वारा हुने महाआणविक विध्वंससित सम्बन्धित हुनसक्छ। तर आरमागेडोन भनेको त्यो होइन। प्रकाश १६:१४-१६ अनुसार आरमागेडोन “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” हो। त्यो लडाइँमा राष्ट्रहरू अथवा “जम्मै पृथ्वीका राजाहरू” सम्मिलित हुनेछन्‌। नियुक्‍त राजा, यहोवा परमेश्‍वरको पुत्र चाँडै नै युद्ध गर्न अघि बढ्‌नुहुनेछ। युद्धको परिणाम निश्‍चित छ। परमेश्‍वरको राज्यको विरोध गर्ने तथा शैतानको दुष्ट रीतिरिवाजको हिस्सा हुने सबै नष्ट हुनेछन्‌। यहोवाका वफादार जनहरू मात्र बाँच्नेछन्‌।—प्रकाश ७:९, १४; १९:११-२१.

७. ख्रीष्टको हजार वर्षीय शासनकालमा शैतान र त्यसका प्रेतहरू कहाँ हुनेछन्‌ र मानिसजातिका लागि यो कसरी लाभदायी हुनेछ?

कल्पना गर्नुहोस्‌, त्यो महाविनाशमा तपाईं बाँच्नुभएको छ। अब पृथ्वीमाथि परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसारमा जीवन कस्तो हुन्छ? (२ पत्रुस ३:१३) हामीले अनुमान लगाउनै पर्दैन। बाइबलमा विवरण दिइएको छ र विवरण गरिएका ती कुराहरू वास्तवमा रोमाञ्चकारी छन्‌। बाइबल भन्छ, शैतान र त्यसका प्रेतहरू निष्क्रिय तुल्याइनेछन्‌। येशू ख्रीष्टको हजार वर्षीय शासनकालभरि तिनीहरू निष्क्रियताको अगाध खाँदमा बन्द हुनेछन्‌। ती दुष्ट र बेइमान व्यक्‍तिहरूले फेरि पछाडिबाट लुकी लुकी उपद्रव मचाउन पाउनेछैनन्‌ नता तिनीहरूले हामीलाई परमेश्‍वरको खिलाफ अविश्‍वासी हुन उस्काउन सक्नेछन्‌। हाम्रोनिम्ति कस्तो आराम!—प्रकाश २०:१-३.

८, ९. नयाँ संसारमा पीडा, रोग तथा वृद्धावस्थालाई के हुनेछ?

केही समयपछि हर प्रकारको रोग बिरामी नामेट हुनेछ। (यशैया ३३:२४) लङ्‌गडाहरू उभिनेछन्‌, हिंड्‌नेछन्‌, दौडनेछन्‌ र बलिया खुट्टाहरूको बलमा नाच्नेछन्‌। आफ्नो सुनसान संसारभित्र वर्षौं गुम्सेर बसेका बहिराहरूले आफ्ना वरिपरि हर्षमय आवाज सुन्‍नेछन्‌। अन्धाहरू आफ्नोसामु रङ्‌ग तथा आकारको संसार देखेर आश्‍चर्यचकित हुनेछन्‌। (यशैया ३५:५, ६) तिनीहरूले बल्ल आफ्ना प्रियजनहरूको अनुहार देख्नेछन्‌! हर्षको आँसुले गर्दा शायद तिनीहरूको दृष्टि फेरि केही क्षण धमिलो हुनेछ।

कल्पना गर्नुहोस्‌! फेरि चश्‍मा, वैशाखी, टेक्ने लट्ठी, औषधि, दन्त चिकित्सालय अथवा अस्पतालहरू हुनेछैनन्‌। मानसिक रोग तथा नैराश्‍यले फेरि कहिल्यै मानिसको आनन्दमा बाधा पुऱ्‍याउनेछैन। रोगको कारण कसैको बाल्यकाल निसासिनेछैन। बूढेसकालको आक्रमण रोकिनेछ। (अय्यूब ३३:२५) हामी दिनदिनै स्वस्थ तथा बलियो हुँदै जानेछौं। प्रत्येक बिहानी मीठो निद्राबाट पुनः स्फूर्तिसाथ जाग्नेछौं। सन्तोषजनक काम तथा उत्साहले भरिभराउ नयाँ दिनको हामी स्वागत गर्नेछौं।

१०. आरमागेडोनमा बाँच्नेहरूले के गर्ने जिम्मेवारी वहन गर्नेछन्‌?

१० आरमागेडोनमा बाँच्नेहरूले थुप्रै आनन्ददायी कामहरूमा भाग लिन सक्नेछन्‌। तिनीहरूले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछन्‌। पुरानो दूषित रीतिथितिको नामोनिशानै मेटिनेछ। फोहोर बस्तीहरू तथा दूषित जमीनको ठाउँमा पार्क र उद्यानहरू देखा पर्नेछन्‌। सबैले सुविधाजनक तथा आरामदायी घरहरू पाउनेछन्‌। (यशैया ६५:२१) समय बित्दै जाँदा पृथ्वीका यी सुन्दर भागहरू फैलिंदै जानेछन्‌। अन्ततः सारा पृथ्वीमा सुन्दरताको त्यो स्तर कायम हुनेछ जो अदनको बगैंचामा सृष्टिकर्ताद्वारा स्थापित भएको थियो। त्यो पुनःस्थापनाको काममा भाग लिन पाउनु कति सन्तोषप्रद हुनेछ!

११. भविष्यमा पार्थिव वातावरण तथा वन्यजन्तुसित मानिसको सम्बन्ध कस्तो हुनेछ?

११ यी सबै कामकुरा ईश्‍वरीय निर्देशनअनुसार हुनेछ। यसले गर्दा वातावरणलाई केही हानि पुऱ्‍याइने छैन। मानिस र जनावरबीच मेल हुनेछ। भोगविलासी भएर जनावरहरूको हत्या गर्नुको सट्टा मानिसले पृथ्वीको रेखदेख गर्ने जिम्मेवारी वहन गर्नेछ। उसले जनावरहरूको राम्ररी हेरविचार गर्नेछ। कल्पना गर्नुहोस्‌—ब्वाँसो र थुमा, सिंह र बाछा सबै एकै साथ चर्नेछन्‌। त्यहाँ घरेलु जन्तुहरू पनि पूर्णतः सुरक्षित हुनेछन्‌। सानो बच्चासमेत जङ्‌गली जनावरहरूदेखि डराउनेछैन। नता क्रूर तथा हिंस्रक मानिसहरूले नयाँ संसारको शान्तिलाई भङ्‌ग गर्न पाउनेछन्‌। (यशैया ११:६-८) कति शान्त हुनेछ त्यो नयाँ संसार!

मानिसजाति परिवर्तित

१२. आज यशैया ११:९ कसरी पूरा हुँदैछ र प्रमोदवनमा यसको पूर्ति कसरी हुनेछ?

१२ सारा पृथ्वीभरि कुनै हानि नोक्सानी किन हुनेछैन, त्यसबारे यशैया ११:९ यसो भन्छ: “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” यो कुरा मानिसहरूमाथि लागू हुनुपर्छ किनकि जनावरहरू त सहजज्ञानअनुसार निर्देशित हुन्छन्‌। तिनीहरूले “परमप्रभुको ज्ञान” लिएर आफूमा कुनै परिवर्तन ल्याउन सक्‍तैनन्‌। तर मानिसहरूमा चाहिं सृष्टिकर्ताको ज्ञानले परिवर्तन अवश्‍य ल्याउँछ। निस्सन्देह तपाईंले आफ्नै जीवनमा पनि परमेश्‍वरको ज्ञानको प्रयोगद्वारा केही परिवर्तनहरू अवश्‍य गर्नुभएको हुनुपर्छ। लाखौंले गरेका छन्‌। उक्‍त भविष्यवाणी यहोवाको सेवा गर्नेहरूमा पूरा हुन थालिसकेको छ। तर यो अग्रिमवाणीले भविष्यको त्यो समयलाई पनि सङ्‌केत गर्छ जब विश्‍वभरिका मानिसहरूले जनावरको जस्तो हिंस्रक चरित्रलाई त्याग्नेछन्‌ र सदाका लागि शान्तिप्रेमी हुनेछन्‌।

१३. पृथ्वीमा कुन शैक्षिक कार्यक्रम सञ्चालित हुनेछ?

१३ परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुनु कति अद्‌भुत कुरा हो! राजा येशू ख्रीष्ट र उहाँका १,४४,००० सह-शासकहरूअन्तर्गत विश्‍वव्यापी शैक्षिक कार्यक्रम संचालन गरिनेछ। नयाँ “पुस्तकहरू” प्रयोगमा ल्याइनेछन्‌। यी पुस्तकहरू परमेश्‍वरका लिखित निर्देशनहरू हुनसक्छन्‌ र यिनैको आधारमा पृथ्वीका बासिन्दाहरूले शिक्षा पाउनेछन्‌। (प्रकाश २०:१२) मानिसजातिले युद्ध होइन, शान्ति सिक्नेछ। सबै ध्वंसकारी हतियारहरू सदाका लागि हटाइनेछन्‌। (भजन ४६:९) नयाँ संसारका निवासीहरूलाई आफ्ना सह-मानवहरूसित प्रेम, आदर तथा गरिमासाथ व्यवहार गर्न सिकाइनेछ।

१४. मानिसजाति एउटा एकताबद्ध परिवार हुँदा पृथ्वी कुन अर्थमा बेग्लै हुनेछ?

१४ मानिसजाति एउटै परिवार बन्‍नेछ। एकता तथा भ्रातृत्वलाई कुनै कुराले बाधा पुऱ्‍याउनेछैन। (भजन १३३:१-३) चोरहरूबाट बच्न कसैले आफ्नो घरमा ताल्चा लाउनेछैन। हरेकको हृदयमा, घरमा तथा पृथ्वीको हर भागमा शान्तिले राज गर्नेछ।—मीका ४:४.

हर्षपूर्ण पुनरुत्थान

१५. पृथ्वीमा कुन दुई वर्गको पुनरुत्थान हुनेछ?

१५ सोही सहस्र वर्षीय राज्यको दौडान पुनरुत्थान हुनेछ। तर परमेश्‍वरको पवित्र आत्मा अथवा सक्रिय शक्‍तिको विरुद्ध जानाजानी पाप गर्ने अर्थात्‌ त्यसको निर्देशन वा डोऱ्‍याइ विपरीत अपश्‍चात्तापी भएर हिंड्‌नेहरूको पुनरुत्थान हुनेछैन। (मत्ती २३:१५, ३३; हिब्रू ६:४-६) तर यस्तो पाप कसले गऱ्‍यो गरेन, त्यसको फैसला परमेश्‍वरले गर्नुहुनेछ। तथापि दुई बेग्लाबेग्लै वर्गका मानिसहरूको पुनरुत्थान गरिनेछ। ती हुन्‌ “धर्मी र अधर्मी।” (प्रेरित २४:१५) निस्सन्देह, त्यतिखेर सबै कुरा सुव्यवस्थित रीतिले गरिनेछ। यसकारण पृथ्वीमा स्वाभाविकतः “धर्मीहरू” अथवा ज-जसले वफादारीसाथ यहोवाको सेवा गरेका थिए, प्रथमतः तिनीहरूकै पुनरुत्थान हुनुपर्छ।—हिब्रू ११:३५-३९.

१६. (क) पृथ्वीमा पुनरुत्थान हुने “धर्मी[हरूमध्ये]” को को हुनेछन्‌? (ख) प्राचीनकालका कुन कुन विश्‍वासी जनहरूसित तपाईं विशेषतः भेट गर्न चाहनुहुन्छ, र किन?

१६ युद्ध, दुर्घटना र मृत्युको खबर सुन्‍नुको सट्टा यहोवाका सेवकहरूले पुनरुत्थानको राम्रो खबर सुन्‍नेछन्‌। हाबिल, हनोक, नूह, अब्राहाम, सारा, अय्यूब, मोशा, राहाब, रूथ, दाऊद, एलिया तथा एस्तरजस्ता परमेश्‍वरका विश्‍वासी सेवकहरू पुनरुत्थान भएको खबर सुन्‍न पाउनु कति सनसनीयुक्‍त हुनेछ। उनीहरूले बाइबलमा उल्लिखित थुप्रै घटनासम्बन्धी थप विवरण तथा कस्ता कस्ता रोमाञ्चकारी ऐतिहासिक तथ्यहरू प्रस्तुत गर्नेछन्‌! यिनीहरू शैतानको रीतिथितिको अन्त, यहोवाको पवित्र नाउँको पवित्रिकरण र उहाँको सार्वभौमिकताको प्रमाणीकरणबारे जानकारी हासिल गर्न बडो उत्सुक हुनेछन्‌। तर सोही उत्सुकता पुनरुत्थान भएर आउने हालसालैमा मरेका धर्मी जनहरूमा पनि हुनेछ।

१७. विश्‍वासी जनहरूले पुनरुत्थान हुनेहरूलाई के मदद दिनेछन्‌?

१७ यी धर्मी जनहरूमध्ये धेरै नै कम मात्र पुनरुत्थानको दोस्रो चरणमा आउनेछन्‌। किनकि त्यतिखेर अरबौं “अधर्मी” जनहरू मृत्युको बन्धनबाट मुक्‍त गराइनेछन्‌! धेरैले त यहोवालाई चिन्‍ने मौकासमेत पाएका हुँदैनन्‌। शैतानले तिनीहरूको ‘बुद्धिलाई अन्धो’ तुल्याइदिएको थियो। (२ कोरिन्थी ४:४) तर शैतानको त्यो कर्तुत अब विफल हुनेछ। अधर्मी जनहरू पनि अब एउटा सुन्दर तथा शान्तिमय पृथ्वीमा पुनःजीवित हुनेछन्‌। यी अधर्मी मानिसहरूको स्वागत यहोवा र उहाँका शासनारूढ राजा येशू ख्रीष्टबारे सिकाउन सुसङ्‌गठित भएका मानिसहरूले गर्नेछन्‌। पुनरुत्थानप्राप्त अरबौं मानिसहरूले आफ्नो सृष्टिकर्तालाई चिन्दै र प्रेम गर्दै जाँदा पृथ्वी यहोवाको ज्ञानले यस्तरी भरिनेछ जस्तो पहिले कहिल्यै भएको थिएन।

१८. पुनरुत्थानमा आउने प्रियजनहरूलाई स्वागत गर्दा तपाईंलाई कस्तो लाग्नेछ?

१८ पुनरुत्थान देखेर हाम्रो हृदय आनन्दले गद्‌गद्‌ हुनेछ! आखिर, शत्रु मृत्युको कारण पीडित नभएको को छ? मृत्युले कुनै प्रिय जनलाई हिंसा, दुर्घटना, बूढेसकाल अथवा रोगको शिकार बनाउँदा, हाम्रो प्रेम वा मित्रताको बन्धन टुक्रिंदा, कसको पो मन विचलित तथा भरङ्‌ग भएको छैन र? यसैकारण त प्रमोदवनमा पुनर्मिलनको हर्षोल्लास मनाइनेछ! आमाबाबुहरू, छोराछोरीहरू, मित्र तथा नातेदारहरू सबै हाँस्दै, आनन्दले रूँदै एकअर्कालाई आलिङ्‌गन गर्नेछन्‌।

बल्ल आयो सिद्धता!

१९. सहस्र वर्षीय राज्यमा कस्तो चमत्कार भइरहनेछ?

१९ सहस्र वर्षीय राज्यभरि एउटा सुन्दर चमत्कार भइरहनेछ। मानिसजातिका लागि शायद यो नै हजार वर्षीय राज्यको सबैभन्दा रोमाञ्चकारी पक्ष हुनेछ। छुडौतीको बलिदानको लाभ प्रत्येक आज्ञाकारी पुरुष तथा स्त्रीका लागि उपलब्ध गराउन यहोवाले आफ्नो पुत्रलाई निर्देशित गर्नुहुनेछ। यसप्रकार सारा पाप हटाइनेछ। मानिसजाति सिद्ध हुनेछ।—१ यूहन्‍ना २:२; प्रकाश २१:१-४.

२०. (क) सिद्ध हुनुको अर्थ के हुनेछ? (ख) आरमागेडोनमा बाँच्नेहरू तथा पुनरुत्थान भएर आउनेहरू कहिलेदेखि मात्र पूर्णतः जीवित हुनेछन्‌?

२० सिद्धता! यसको अर्थ के हुने हो? यसको अर्थ यहोवा परमेश्‍वरको विरुद्ध पाप गर्नअघि आदम र हव्वाले आनन्द उठाइरहेको जीवन पुनःप्राप्त गर्नु हो। शारीरिक, मानसिक, भावनात्मक, नैतिक, आध्यात्मिक अर्थात्‌ कल्पना गर्न सकिने हर तरिकाले सिद्ध मानिस परमेश्‍वरको स्तरअनुरूप हुनेछ। तर यसले गर्दा सबै मानिस एकनास पो हुने हुन्‌ कि? पटक्कै हुनेछैनन्‌! यहोवा विविधता रुचाउनुहुन्छ। यो तथ्य उहाँले सृष्टि गर्नु भएका रूख, फूल तथा जनावरहरूमा देख्न सकिन्छ। सिद्ध मानिसहरूको पनि बेग्लाबेग्लै व्यक्‍तित्व र योग्यता हुनेछ। तर परमेश्‍वरले चाहनुभएबमोजिमको आनन्द चाहिं हरेकले अनुभव गर्नेछ। प्रकाश २०:५ भन्छ: “बाँकी मरेकाहरूचाहिं त्यो एक हजार वर्ष नबितुञ्जेल बाँचेनन्‌।” आरमागेडोनमा बाँच्नेहरू जस्तै पुनरुत्थानप्राप्त यी जनहरू पनि निष्पाप सिद्धता प्राप्त गरेपछि मात्र पूर्णतः जीवित हुनेछन्‌।

२१. (क) ख्रीष्टको हजार वर्षीय राज्यको अन्तमा के घटना हुनेछ? (ख) शैतान र त्यसको पक्ष लिनेहरूलाई अन्ततः के हुनेछ?

२१ सिद्ध मानिसहरूले अझ एउटा अन्तिम जाँचको सामना गर्नेछन्‌। हजार वर्षीय राज्यको अन्तमा शैतान र त्यसका प्रेतहरू छोटो अवधिका लागि अगाध खाँदबाट मुक्‍त गरिनेछन्‌। तिनीहरूले मानिसजातिलाई फेरि एक पटक यहोवादेखि टाढा लैजाने प्रयास गर्न पाउनेछन्‌। केही मानिसहरूले परमेश्‍वरको प्रेमको सट्टा आफ्नै गलत अभिलाषाहरूलाई प्राथमिकता दिनेछन्‌। तर यो विद्रोह धेरै दिनसम्म रहनेछैन। यी स्वार्थी जनहरूलाई यहोवाले शैतान र त्यसका प्रेतहरू सङ्‌गै नष्ट गर्नुहुनेछ। यसपछि सबै दुष्कर्मीहरू सदाका लागि खतम हुनेछन्‌।—प्रकाश २०:७-१०.

तपाईं के गर्नुहुनेछ?

२२. प्रमोदवनमा तपाईंले के गर्ने आशा राख्नुभएको छ?

२२ यहोवा परमेश्‍वरलाई प्रेम गर्ने प्रमोदवनवासीहरूको सामु अनन्तकाल हुनेछ। तिनीहरूको आनन्दको हामी आज कल्पनासमेत गर्न सक्‍तैनौं। तर त्यो आनन्दमा तपाईंले पनि भाग लिन सक्नुहुनेछ। सङ्‌गीत, कला वा शिल्पकारी—जुनसुकै क्षेत्रमा होस्‌, सिद्ध मानिसजातिका उपलब्धिहरूले यो पुरानो संसारका प्रसिद्धभन्दा प्रसिद्ध कलाकारहरूका महान्‌ कृतिहरूलाई माथ गर्नेछ। सिद्ध मानिससित असीमित समय हुनेछ। कल्पना गर्नुहोस्‌, सिद्ध मानिसको हैसियतमा तपाईंले के के गर्न सक्नुहुनेछ। तपाईं र तपाईंका सङ्‌गीहरूले यहोवाको सृष्टि अर्थात्‌ ब्रह्‍माण्डका अरबौं तारापुञ्जहरूदेखि लिएर परमाणुको सूक्ष्म अंशबारे के के सिक्न सक्नुहुनेछ, एकछिन सोच्नुहोस्‌। साथै, मानिसको हर उपलब्धि देखेर हाम्रो मायालु सृष्टिकर्ता यहोवाको हृदय झन्‌ झन्‌ प्रफुल्लित हुनेछ।—भजन १५०:१-६.

२३. प्रमोदवनमा जीवन कहिल्यै पनि झर्कोलाग्दो किन हुनेछैन?

२३ अनि जीवन टन्टा वा झर्कोलाग्दो हुनेछैन। त्यो अझ रमाइलो हुँदै जानेछ। परमेश्‍वरको ज्ञानको कुनै अन्त हुनेछैन। (रोमी ११:३३) सिक्नुपर्ने नयाँ विषयहरू, हासिल गर्नुपर्ने नयाँ उपलब्धिहरूको कुनै अन्त हुनेछैन। (उपदेशक ३:११) र जसै तपाईं यहोवा परमेश्‍वरबारे सिक्दै जानुहुन्छ, तपाईं बाँच्नुहुनेछ—एक दुई वर्षका लागि मात्र होइन, सधैंभरि!—भजन २२:२६.

२४, २५. अहिलेदेखि नै परमेश्‍वरको ज्ञानअनुरूप जीवन बिताउनु किन आवश्‍यक छ?

२४ पार्थिव प्रमोदवनमा पाइने रोमाञ्चकारी भविष्यको सामु आज गर्नुहुने ठूलोभन्दा ठूलो त्याग वा प्रयासलाई के वास्तवमा ठूलो भन्‍नु मिल्छ र? मिल्दैन। त्यो अद्‌भुत भविष्यतर्फ खुल्ने ढोकाको साँचो यहोवाले तपाईंको हातमा थमाइ दिनुभएको छ। त्यो साँचो परमेश्‍वरको ज्ञान हो। के तपाईं त्यसलाई प्रयोग गर्नुहुनेछ?

२५ यहोवालाई प्रेम गर्नुहुन्छ भने, तपाईं उहाँको इच्छा आनन्दपूर्वक गर्नुहुनेछ। (१ यूहन्‍ना ५:३) यो मार्ग पछ्याउँदै जानुहुँदा तपाईंले कस्तो कस्तो आशिष्‌ अनुभव गर्नुहुनेछ! परमेश्‍वरको ज्ञानलाई प्रयोगमा ल्याउनुहुँदा यो दुःखग्रस्त संसारमा पनि जीवन अझ बढी आनन्ददायी हुनसक्छ। र भविष्यमा पाइने इनामको त बयान गरेर साध्य छैन। आखिर अनन्त जीवनतर्फ लैजाने ज्ञान यही हो! यही हो सही कदम उठाउने समय। परमेश्‍वरको ज्ञानअनुसार जीवन बिताउने अठोट गर्नुहोस्‌। यहोवाका लागि आफ्नो प्रेम प्रदर्शित गर्नुहोस्‌। उहाँको पवित्र नाउँको आदर गर्नुहोस्‌। शैतानलाई झूटा साबित गर्नुहोस्‌। अनि साँचो बुद्धि र ज्ञानको श्रोत यहोवा परमेश्‍वरको महान्‌ तथा मायालु हृदय तपाईंसित प्रसन्‍न हुनेछ। (यर्मिया ३१:३; सपन्याह ३:१७) उहाँले तपाईंलाई सदाका लागि प्रेम गर्नुहुनेछ!

आफ्नो ज्ञान जाँच्नुहोस्‌

“साँच्चैको जीवन” के हो?

आरमागेडोनपश्‍चात्‌ पृथ्वीमा के हुनेछ?

पृथ्वीमा क-कसको पुनरुत्थान हुनेछ?

मानिसजाति कसरी सिद्ध बन्‍नेछ र अन्तमा जाँचिनेछ?

प्रमोदवनसम्बन्धी तपाईंको के आशा छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८८ र १८९-मा भएको चित्र]

परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुँदा के तपाईं प्रमोदवनमा बाँच्ने आशा राख्नुहुन्छ?