सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको भविष्य आनन्दमय हुनसक्छ!

तपाईंको भविष्य आनन्दमय हुनसक्छ!

अध्याय १

तपाईंको भविष्य आनन्दमय हुनसक्छ!

१, २. तपाईंको सृष्टिकर्ता तपाईंका लागि के चाहनुहुन्छ?

 आफूले माया गर्ने व्यक्‍तिको न्यानो आलिङ्‌गन। प्रिय मित्रहरूसित हाँस्दै आफ्नो स्वादको खानेकुरा खानु। आफ्ना छोराछोरी मजाले खेलेको हेर्नु। यी हुन्‌ जीवनका रमाइला घडीहरू। तर धेरैका लागि जीवन गम्भीर समस्याहरूको अटुट र लामो ताँती भएजस्तै छ। र यस्तै अनुभव तपाईंले पनि गर्नु हुँदैछ भने निराश नहुनुहोस्‌।

तपाईंले सर्वसुन्दर वातावरणमा स्थायी आनन्द अनुभव गर्नुभएको परमेश्‍वर चाहनुहुन्छ। यो कुनै सपना होइन। परमेश्‍वरले तपाईंलाई यस्तो आनन्दमय भविष्यको कुञ्जी दिनुहुन्छ र त्यो कुञ्जी हो ज्ञान।

३. कुन प्रकारको ज्ञान आनन्दको कुञ्जी हो र त्यो ज्ञान परमेश्‍वरले दिन सक्नुहुन्छ भनी हामी किन निश्‍चित हुनसक्छौं?

हामी यहाँ विशेष प्रकारको ज्ञानबारे कुरा गर्दैछौं। यो ज्ञान मानवीय बुद्धिभन्दा धेरै नै श्रेष्ठ छ। यो स्वयम्‌ “परमेश्‍वरको ज्ञान” हो। (हितोपदेश २:५) करिब २,००० वर्षअघि बाइबलको एक जना लेखकले यसो भने: “किनभने हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) सम्झनुहोस्‌, सबै थोकको सृजनहारको ज्ञानको भण्डार कत्ति विशाल हुनुपर्छ! बाइबल भन्छ, परमेश्‍वरले जम्मै ताराहरूको गन्ती राख्नुहुन्छ। उहाँले तिनीहरूको नाउँ काडीकाडी बोलाउनुहुन्छ। यसको हामी कल्पनासमेत गर्न सक्दैनौं। हाम्रो तारापुञ्जमा मात्र खरबौं ताराहरू छन्‌ र यस्ता अझ खरबौं तारापुञ्जहरू छन्‌ भनी खगोलविद्‌हरू भन्छन्‌! (भजन १४७:४) तर परमेश्‍वरलाई हाम्रो-बारेमा पनि जम्मै कुरा थाह छ। अतः जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको सबैभन्दा राम्रो जवाफ उहाँले बाहेक अरू कसले दिनसक्छ र?—मत्ती १०:३०.

४. परमेश्‍वरबाट हामीले निर्देशनहरूको आशा गर्नु किन उचित हो र यो आवश्‍यकतालाई कुन पुस्तकले पूरा गर्छ?

कल्पना गर्नुहोस्‌, दुई जना मानिस आ-आफ्नो मोटर मरम्मत गर्ने कोसिस गरिरहेका छन्‌। दिक्क भएर एक जनाले आफ्नो औजार फ्याँकिदिन्छ। अर्कोले चाहिं चुपचाप त्रुटि सुधार्छ, इन्जिनको चाबी घुमाउँछ र मोटर चल्न थाल्दा ऊ मुसुमुसु हाँस्छ। अब यी दुई जनाबीच मोटर उत्पादकको लिखित निर्देशन कोसित छ, सो ठम्याउन गाह्रो छैन। अब के हामीसित पनि परमेश्‍वरको निर्देशन हुनु पर्दैन र? सोही निर्देशन पुस्तक हुने दाबी बाइबलले गर्दछ। स्वयम्‌ परमेश्‍वरको ज्ञान अर्थात्‌ हाम्रो सृष्टिकर्ताले दिनुभएको सरसल्लाह र निर्देशन पुस्तकको रूपमा बाइबल प्रस्तुत छ।—२ तिमोथी ३:१६.

५. बाइबलमा पाइने ज्ञान कतिको बहुमूल्य छ?

बाइबलको दाबी साँचो हो भने, सोच्नुहोस्‌, त्यसमा ज्ञानको कस्तो खजाना हुनुपर्छ! हितोपदेश २:१-५ मा बाइबलले हामीलाई बुद्धिको खोजी गर्न, त्यसलाई गाढधनझैं खन्‍न प्रोत्साहित गर्छ। मानवीय सोचविचारको माटोमा होइन तर स्वयम्‌ परमेश्‍वरको वचनमा। त्यहाँ खोज्यौं भने हामीले “परमेश्‍वरको ज्ञान” भेट्टाउनेछौं। हाम्रो क्षमता तथा आवश्‍यकताहरू उहाँ बुझ्नुहुन्छ। शान्त र सुखी जीवन बिताउन मदत दिने निर्देशन उहाँ हामीलाई प्रदान गर्नुहुन्छ। (भजन १०३:१४ यशैया ४८:१७) यसको अलावा परमेश्‍वरको वचनमा हामी रोमाञ्चकारी सुसमाचार पनि पाउँछौं।

अनन्त जीवन!

६. परमेश्‍वरको ज्ञानबारे येशू ख्रीष्टले के आश्‍वासन दिनुभयो?

प्रख्यात ऐतिहासिक व्यक्‍ति येशू ख्रीष्टले परमेश्‍वरको ज्ञानको यो विशेषताबारे सुस्पष्ट व्याख्या गर्नुभयो। उहाँले भन्‍नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्‍वरलाई र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” न्युव]।” (यूहन्‍ना १७:३) कल्पना गर्नुहोस्‌—यस्तो ज्ञानले अनन्त जीवनतर्फ लैजान्छ!

७. परमेश्‍वरले हामीलाई मर्न बनाउनुभएको थिएन भनी हामी कसरी भन्‍नसक्छौं?

अनन्त जीवन केवल सपना मात्र हो भनी त्यसलाई हतारपतार एकातिर नपन्छाउनुहोस्‌। बरु, मानव शरीरको बनौटलाई विचार गर्नुहोस्‌। यसमा स्वाद लिने, सुन्‍ने, सुँघ्ने, देख्ने तथा स्पर्श गर्ने अद्‌भुत क्षमता छ। पृथ्वीमा हाम्रा इन्द्रियहरूलाई आनन्दित तुल्याउने कति थुप्रै कुराहरू छन्‌। उदाहरणको लागि, स्वादिष्ट भोजन, चराहरूको सुमधुर चिरबिर, फूलहरूको मगमग बास्ना, सुन्दर दृश्‍य तथा साथीहरूको रमाइलो साथ! र हामीलाई यी सबै कुराको आनन्द उठाउन दिने हाम्रो उदेकलाग्दो मस्तिष्क छ जो कुनै पनि सुपरकम्प्यूटरभन्दा कम जटिल छैन। अब सोच्नुहोस्‌, हामी यी जम्मै कुरा छाडेर मर्नुपरेको के सृष्टिकर्ता चाहनुहुन्थ्यो होला र? हुनै सक्दैन। बरु हामी आनन्दपूर्वक बाँचेर सधैं जीवनको आनन्द उठाएको उहाँ चाहनुहुन्छ। र यही कुरा परमेश्‍वरको ज्ञानद्वारा सम्भव छ।

प्रमोदवनमा जीवन

८. मानिसको भविष्यबारे बाइबल के भन्छ?

प्रमोदवन! बाइबलले पृथ्वी तथा मानव भविष्यबारे भनेको सारा कुराको सारांश यो एउटै शब्दमा पाइन्छ। यसै प्रमोदवनबारे येशू ख्रीष्टले एक जना मर्न लागेको मान्छेलाई भन्‍नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लूका २३:४३, न्युव) प्रमोदवन शब्द सुन्‍नासाथै त्यो मान्छेले निश्‍चय हाम्रो प्रथम आमाबाबु आदम र हव्वाको आनन्दमय अवस्थाबारे सम्झेको हुनुपर्छ। परमेश्‍वरले तिनीहरूको सृष्टि गर्नुहुँदा तिनीहरू सिद्ध थिए। तिनीहरू सुन्दर उद्यानमा बस्थे जसको रचना तथा योजना परमेश्‍वर स्वयंले गर्नुभएको थियो। खुबै सुहाउने गरी यो उद्यानको नाउँ पनि अदन राखियो किनकि अदनको अर्थ हो आनन्द।

९. प्रारम्भिक प्रमोदवनमा जीवन कसरी बिताइन्थ्यो?

त्यो बगैंचा कत्ति मनोरम थियो! त्यो साँच्चैको प्रमोदवन थियो। त्यसका सुन्दर रूखहरूमा स्वादिला फलहरू फलेका थिए। आफू बस्ने इलाकामा घुमफिर गर्दा, त्यसको स्वच्छ तथा शुद्ध पानी पिउँदा र रूखहरूबाट फलहरू बटुल्दा तिनीहरू चिन्तित वा भयभीत हुन पर्दैन थिए। जनावरहरू पनि कुनै खतराका कारण थिएनन्‌। तिनीहरू सबैको प्रेमपूर्ण रेखदेख गर्न परमेश्‍वरले पुरुष र स्त्रीलाई खटाउनुभएको थियो। यसबाहेक, प्रथम मानव दम्पती अत्यन्त स्वस्थ तथा हृष्टपुष्ट थियो। परमेश्‍वरप्रति आज्ञाकारी रहूञ्जेल तिनीहरूको भविष्य सुखी तथा अनन्तकालीन हुने थियो। तिनीहरूलाई आफ्नो सुन्दर प्रमोदवनरूपी घरको रेखदेख गर्ने सन्तोषजनक कार्य सुम्पिएको थियो। आदम, हव्वा तथा तिनीहरूका सन्तानहरूलाई “पृथ्वी भर्ने” आदेश दिइएको थियो। तिनीहरूले प्रमोदवन फैलाउँदै सारा पृथ्वीलाई नै सौन्दर्य र आनन्दले ढाक्नु थियो।—उत्पत्ति १:२८.

१०. येशूले प्रमोदवनबारे चर्चा गर्नुहुँदा उहाँको मनमा कुन कुरा थियो?

१० तथापि, येशूले प्रमोदवनको चर्चा गर्नुको तात्पर्य त्यो मर्नै लागेको मान्छेलाई अतीतको कुरा सम्झाउनु थिएन। येशूले भविष्यबारे कुरा गर्नुहुँदै थियो! हाम्रो यो जम्मै पार्थिव घर एक दिन प्रमोदवन बन्‍नेछ भनी उहाँ जान्‍नुहुन्थ्यो। यसप्रकार परमेश्‍वरले मानिसजाति र हाम्रा पृथ्वीका लागि आफ्नो प्रारम्भिक उद्देश्‍य पूरा गर्नुहुनेछ। (यशैया ५५:१०, ११) हो, प्रमोदवन पुनःस्थापित हुनेछ! र त्यो कस्तो हुनेछ? यसको जवाफ परमेश्‍वरको वचन, पवित्र बाइबलले नै दिऊन्‌।

पुनःस्थापित प्रमोदवनमा जीवन

११. पुनःस्थापित प्रमोदवनमा रोग, वृद्धावस्था र मृत्युलाई के हुनेछ?

११ रोग, वृद्धावस्था तथा मृत्यु फेरि हुनेछैन। “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गडा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ।” (यशैया ३५:५, ६) “परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

१२. पुनःस्थापित प्रमोदवनमा अपराध, हिंसा र दुष्टता हुनेछैन भनी हामी किन निश्‍चित हुनसक्छौं?

१२ अपराध, हिंसा, दुष्टता सदाका लागि बितिसकेका हुनेछन्‌। “किनकि कुकर्मीहरू नष्ट हुनेछन्‌। . . . थोरै बेरपछि, दुष्ट रहनेछैन। तर नम्र जनहरूले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:९-११) “तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याकिनेछन्‌।”—हितोपदेश २:२२.

१३. परमेश्‍वरले शान्ति कसरी ल्याउनुहुनेछ?

१३ पृथ्वीभरि शान्ति हुनेछ। “पृथ्वीको अन्तसम्मै उहाँले [परमेश्‍वर] युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ।” (भजन ४६:९) “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहूञ्जेल प्रशस्त शान्ति रहनेछ।”—भजन ७२:७.

१४, १५. पुनःस्थापित प्रमोदवनमा आवास, काम र खानेकुराबारे बाइबल के भन्छ?

१४ आवास निश्‍चित र काम सन्तोषजनक हुनेछ। “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌ . . . तिनीहरूले बनाएर अरूहरू बस्ने र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन। किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌।”—यशैया ६५:२१-२३.

१५ प्रचुर मात्रामा स्वस्थकर भोजन उपलब्ध हुनेछ। “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” (भजन ७२:१६) “पृथ्वीले आफ्नो उब्जनी बढाएको छ। परमेश्‍वर, हाम्रा आफ्नै परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।”—भजन ६७:६.

१६. प्रमोदवनमा जीवन किन आनन्ददायी हुनेछ?

१६ पार्थिव प्रमोदवनमा अनन्त जीवन आनन्ददायी हुनेछ। “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) “उजाड र निर्जल-भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। बसन्तको फूलझैं त्यो फक्रनेछ।”—यशैया ३५:१.

ज्ञान र तपाईंको भविष्य

१७. (क) प्रमोदवन रुचाउनुहुन्छ भने तपाईंले के गर्नुपर्छ? (ख) परमेश्‍वरले पृथ्वीमा चाँडै ठूल-ठूला परिवर्तनहरू गर्नुहुनेछ भनी हामी कसरी भन्‍नसक्छौं?

१७ तपाईं प्रमोदवनमा जीवन चाहनुहुन्छ भने, परमेश्‍वरको ज्ञान लिन अघि बढ्‌नुहोस्‌। कुनै पनि कुराले तपाईंलाई बाधा दिन नपाओस्‌। परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले हाम्रो पृथ्वीलाई प्रमोदवनमा परिणत गर्न सबै आवश्‍यक परिवर्तन गर्नुहुनेछ। आखिर यो संसारमा व्याप्त वेदना र अन्याय हटाउने तपाईंसित पनि शक्‍ति भए के तपाईं हटाउनुहुने थिएन र? के परमेश्‍वरले योभन्दा कम गर्नुहोला? वास्तवमा, परमेश्‍वरले यो संसारको तनावपूर्ण स्थितिको ठाउँमा सिद्ध तथा धार्मिक शासन ल्याउनुहुनेछ भनी बाइबलमा ज्वलन्त विवरण दिइएको छ। (दानियल २:४४) तर बाइबलले हामीलाई विवरण मात्र दिंदैन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको त्यो नयाँ संसारमा प्रवेश पाउन हामीले के गर्नुपर्छ, त्यो पनि बाइबलमा बताइएको छ।—२ पत्रुस ३:१३; १ यूहन्‍ना २:१७.

१८. परमेश्‍वरको ज्ञानले तपाईंका लागि अहिले पनि के गरी दिनसक्छ?

१८ परमेश्‍वरको ज्ञान तपाईंका लागि अहिले पनि धेरै नै लाभदायक हुनसक्छ। जीवनका सबैभन्दा गहिरा तथा उदेकलाग्दा प्रश्‍नहरूको जवाफ बाइबलमा पाउन सकिन्छ। त्यसमा उल्लिखित निर्देशन अपनाउँदा तपाईंले परमेश्‍वरसित मित्रता बढाउने मदत पाउनुहुन्छ। कस्तो महान्‌ विशेषाधिकार! परमेश्‍वरले मात्र दिनुहुने शान्तिको आनन्द तपाईंले उठाउन सक्नुहुन्छ। (रोमी १५:१३, ३३) जसै तपाईं यो अत्यावश्‍यक ज्ञान लिन थाल्नुहुन्छ, तपाईंको जीवनको सबैभन्दा महत्त्वपूर्ण तथा सार्थक प्रयास पनि सुरु हुनेछ। अनन्त जीवनतर्फ लैजाने परमेश्‍वरको ज्ञान हासिल गर्नुभएकोमा तपाईंले कहिल्यै पछितो गर्नुपर्ने छैन।

१९. आउँदो अध्यायमा हामी कुन प्रश्‍न छलफल गर्नेछौं?

१९ हामीले बाइबललाई परमेश्‍वरको ज्ञानको पुस्तक मानेका छौं। तथापि, यो वास्तवमा मानवीय बुद्धिको नभएर धेरै नै उच्च ज्ञानको पुस्तक हो भनी हामी कसरी भन्‍नसक्छौं? यस प्रश्‍नको छलफल हामी अर्को अध्यायमा गर्नेछौं।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

परमेश्‍वरको ज्ञानले तपाईंलाई अनन्तकालीन आनन्दतर्फ किन लैजानसक्छ?

आउँदो पार्थिव प्रमोदवनमा जीवन कस्तो हुनेछ?

परमेश्‍वरको ज्ञान लिनु भएर तपाईं अहिले पनि किन लाभान्वित हुनुहुनेछ?

[अध्ययनका लागि प्रश्‍नहरू]