सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले कसको अख्तियारलाई मान्यता दिनुपर्छ?

तपाईंले कसको अख्तियारलाई मान्यता दिनुपर्छ?

अध्याय १४

तपाईंले कसको अख्तियारलाई मान्यता दिनुपर्छ?

१, २. के हरप्रकारको अख्तियार हानिकारक हुन्छ? व्याख्या गर्नुहोस्‌।

 “अख्तियार।” धेरै मानिसहरूका लागि यो एउटा अप्रिय शब्द हो। र यसो हुनु कुनै छक्कपर्दो कुरा होइन। काम गर्ने ठाउँमा, परिवारमा र सरकारी स्तरमा अक्सर अख्तियारको दुरुपयोग भएको छ। बाइबलका यी शब्दहरू वास्तवमा सत्य साबित भएका छन्‌: “मानिसले मानिसमाथि प्रभुत्व जमाएर आफ्नै हानि गरेको छ।” (उपदेशक ८:९, न्युव) हो, थुप्रैले आफ्नै स्वार्थका लागि अरूमाथि निरंकुशतासाथ थिचोमिचो गरेका छन्‌।

तर सबै अख्तियार हानिकारक हुँदैन। उदाहरणको लागि, हामीमाथि हाम्रै शरीरले पनि अख्तियार जमाउँछ। त्यसले हामीलाई श्‍वास लिन, खाना खान, पिउन तथा सुत्न “अह्राउने” गर्छ। अब के यसलाई थिचोमिचो भन्‍नु मिल्छ? मिल्दैन। यी मागहरू पूरा गर्नुमा हाम्रै भलाइ छ। हामी यी शारीरिक आवश्‍यकताहरूलाई स्वतः पूरा गरिरहन्छौं। तर अख्तियारका केही यस्ता रूपहरू पनि छन्‌ जहाँ हामीले त्यसको माग स्वेच्छा तथा राजीखुशी साथ पूरा गर्नुपर्छ। यसका केही उदाहरणहरू विचार गर्नुहोस्‌।

सर्वोच्च अख्तियार

३. यहोवालाई “सर्वसत्ताधारी प्रभु” भन्‍नु किन उचित छ?

बाइबलमा ३०० भन्दा बढी पटक यहोवालाई “परमप्रभु” [“सर्वसत्ताधारी प्रभु,” न्युव] भनिएको छ। सर्वसत्ताधारी उनलाई भनिन्छ जोसित सर्वोच्च अधिकार हुन्छ। अब यहोवालाई सर्वसत्ताधारी हुने अधिकार किन छ? जवाफ प्रकाश ४:११ ले दिन्छ: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नु भएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए र सृजिए।”

४. यहोवाले आफ्नो अख्तियार कसरी प्रयोग गर्न रुचाउनुहुन्छ?

यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँसित आफ्नो इच्छानुसार अख्तियार प्रयोग गर्ने अधिकार छ। उहाँ “सामर्थ्यमा बलियो” हुनुहुन्छ। उहाँलाई “सर्वशक्‍तिमान” परमेश्‍वर पनि भनिन्छ र यसबाट हिब्रू भाषामा प्रचण्ड महाशक्‍ति बोध हुन्छ। (यशैया ४०:२६; उत्पत्ति १७:१) हो, यी सुबै सुन्‍नमा डरलाग्दा छन्‌। तर यहोवाको प्रमुख गुण प्रेम हो। उहाँले आफ्नो शक्‍ति सबैको हितकै निम्ति प्रयोग गर्नुहुन्छ।—१ यूहन्‍ना ४:१६.

५. यहोवाको अख्तियारको अधीनमा बस्न किन गाह्रो छैन?

हुन त पश्‍चात्ताप नगर्ने कुकर्मीहरू यहोवाको हातमा दण्डित हुने चेताउनी उहाँले दिनुभएको थियो। तापनि, मोशाको नजरमा उहाँ मुख्यतः “विश्‍वासयोग्य परमेश्‍वर” हुनुहुन्थ्यो जो “उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौं पुस्तामाथि आफ्नो करार पूरा गर्नुहुन्छ र दया देखाउनुहुन्छ।” (व्यवस्था ७:९) एकछिन कल्पना गर्नुहोस्‌! सारा ब्रह्‍माण्डको सर्वोच्च अख्तियारवालाले हामीलाई जबरजस्ती उहाँको सेवा गर्न लगाउनुहुन्‍न। बरु उहाँको प्रेमले हामीलाई स्वतः उहाँतर्फ आकृष्ट गर्छ। (रोमी २:४; ५:८) यहोवाको अख्तियारलाई स्वीकार्नु यथार्थमा आनन्दको कुरा हो। उहाँका आज्ञाहरू सधैं हाम्रै अनन्त हितका लागि हुन्छन्‌।—भजन १९:७, ८.

६. अदनको बगैंचामा अख्तियारसम्बन्धी विवाद कसरी खडा हुन गयो र परिणामस्वरूप के भयो?

हाम्रा प्रथम आमा-बाबुले परमेश्‍वरको सार्वभौमिकतालाई तिरस्कार गरे। तिनीहरूले के असल, के खराब, सो आफै फैसला गर्न चाहे। (उत्पत्ति ३:४-६) परिणामस्वरूप, तिनीहरू आफ्नो प्रमोदवनरूपी घरबाट निष्कासित भए। तत्पश्‍चात्‌ यहोवाले मानिसलाई अख्तियारयुक्‍त सङ्‌गठनहरू सृजन दिनुभयो। यी सङ्‌गठनहरूले मानिसलाई असिद्ध समाजमा पनि व्यवस्थित रीतिले बस्न मदद दिने थिए। तर यी अख्तियारयुक्‍त सङ्‌गठनहरू के हुन्‌? र हामी कुन हदसम्म तिनीहरूको अधीनमा बसेको परमेश्‍वर चाहनुहुन्छ?

“उच्च अख्तियारवालाहरू”

७. “उच्च अख्तियारवालाहरू” को हुन्‌ र परमेश्‍वरको अख्तियारसामु तिनीहरूको स्थान के हो?

प्रेरित पावलले यसप्रकार लेखे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन।” अब यी “उच्च अख्तियारवालाहरू” को हुन्‌? यसपछिका पदहरूमा पावलका शब्दहरूबाट मानवीय सरकारी अख्तियार बोध हुन्छ। (रोमी १३:१-७; तितस ३:१) यहोवाले मानवीय सरकारी अख्तियारवालाहरूको स्थापना गर्नुभएन। बरु तिनीहरूलाई उहाँले रहिरहने अनुमति मात्र दिनुभएको छ। यसैकारण “अख्तियार चाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌” भनी पावलले लेख्न सके। अब यसबाट सांसारिक अख्तियारबारे के बुझ्न सकिन्छ? यही कि परमेश्‍वरको अख्तियारभन्दा त्यो निम्न तथा कमसल छ। (यूहन्‍ना १९:१०, ११) अतः परमेश्‍वर र मानिसको नियम जुझ्दा मसीहीहरू बाइबलद्वारा प्रशिक्षित आफ्नो अन्तस्करणबाटै निर्देशित हुनुपर्छ। उनीहरूले “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नु पर्छ।”—प्रेरित ५:२९.

८. उच्च अख्तियारवालाहरूबाट तपाईंले के के लाभ उठाउनुहुन्छ र तिनीहरूप्रति अधीनता कसरी व्यक्‍त गर्न सकिन्छ?

तथापि सरकारी अख्तियारवालाहरूले अक्सर हाम्रै हितका लागि ‘परमेश्‍वरको सेवकको रूपमा’ काम गर्छन्‌। (रोमी १३:४) कसरी? सरकारी अख्तियारवालाहरूले अनेक ढङ्‌गमा हाम्रो सेवा गर्छन्‌। उदाहरणको लागि, हुलाक सेवा, प्रहरी तथा दमकल सेवा, ढल निकास तथा सरसफाइको प्रबन्ध र शिक्षा सेवाबाट हामी लाभ उठाउँछौं। “यसैकारणले पनि तिमीहरू कर तिर्दछौ,” पावल भन्छन्‌ “किनकि तिनीहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।” (रोमी १३:६) कर तिर्ने अथवा अन्य कुनै सरकारी कर्तव्य पूरा गर्ने सम्बन्धमा हामी “इमानदारीसाथ” चल्नुपर्छ।—हिब्रू १३:१८.

९, १०. (क) परमेश्‍वरको प्रबन्धमा उच्च अख्तियारवालाहरूको भूमिका के हो? (ख) उच्च अख्तियारवालाहरूको विरोध गर्नु किन गलत हुनेछ?

कहिलेकाहीं उच्च अख्तियारवालाहरूले आफ्नो शक्‍तिको दुरुपयोग गर्छन्‌। तर यस्तो हुँदैमा हामीले तिनीहरूको अख्तियारको अवहेलना गर्नु मिल्छ र? मिल्दैन। यहोवाले ती अख्तियारवालाहरूको दुष्कर्म देख्नुहुन्छ। (हितोपदेश १५:३) उहाँले मानव शासनलाई रहन दिनुको अर्थ त्यसको भ्रष्टाचारको बेवास्ता गर्नुभएको होइन; नता हामी नै त्यसको भ्रष्टाचार तथा बेइमानीलाई समर्थन गर्छौं; परमेश्‍वरले चाँडै “यी सबै राज्यहरूलाई चक्नाचूर” गरेर तिनीहरूको अन्त गरी दिनुहुनेछ। तिनीहरूको ठाउँमा उहाँले आफ्नै धार्मिक सरकार स्थापित गर्नुहुनेछ। (दानियल २:४४) तर यस्तो नहोऊञ्जेल ती उच्च अख्तियारवालाहरूले एउटा कामलाग्दो भूमिका निभाउँछन्‌।

१० पावलको व्याख्यानुसार, “अख्तियारवालाको विरुद्धमा खडा हुनेले परमेश्‍वरको धार्मिक विधानको विरोध गर्दछ।” (रोमी १३:२) ती उच्च अख्तियारवालाहरू परमेश्‍वरकै “धार्मिक विधान” अनुसार खडा छन्‌। तिनीहरूले समाजलाई केही हदसम्म व्यवस्थित राख्ने मदद दिन्छन्‌। नत्र भने जताततै गोलमाल र आतंकको राज चल्ने थियो। यसकारण ती उच्च अख्तियारवालाहरूको विरोध गर्नु शास्त्र विपरीत मात्र नभएर मूर्खता पनि हुनेछ। उदाहरणको लागि, कल्पना गर्नुहोस्‌, तपाईंको भर्खरै शल्यक्रिया भएको छ। घाउमा अझ पनि टाँकाहरू बाँकी छन्‌। हुन त यी टाँकाहरू शरीरका भाग होइनन्‌। तापनि सीमित समयका लागि तिनीहरूले एउटा खास भूमिका निभाउँछन्‌। तिनीहरूलाई समयभन्दा अघि नै खोल्नु हानिकारक हुनसक्छ। यस्तैगरि, मानवीय सरकारी अख्तियारवालाहरू परमेश्‍वरको प्रारम्भिक उद्देश्‍यका भाग होइनन्‌। तापनि पृथ्वीमाथि परमेश्‍वरको राज्य शासन पूर्णतः नचलूञ्जेल ती अख्तियारवालाहरूले समाजलाई एकत्रित राख्न मदद दिन्छन्‌। तिनीहरूले वर्तमानका लागि परमेश्‍वरको इच्छा पूरा गर्छन्‌। अतः हामी परमेश्‍वरको आज्ञा र अख्तियारलाई प्राथमिकता दिंदै उच्च अख्तियारवालाहरूको अधीनमा बस्नुपर्छ।

परिवारमा अख्तियार

११. तपाईं शिरत्वको सिद्धान्तको व्याख्या कसरी गर्नुहुन्छ?

११ मानव समाजको आधारभूत एकाइ परिवार हो। परिवारकै परिधिभित्र पति-पत्नीले एकअर्काको आरामदायी संगति अनुभव गर्छन्‌। छोराछोरीले वयस्क हुनभन्दा अघि पाउनुपर्ने सुरक्षा र प्रशिक्षण पाउँछन्‌। (हितोपदेश ५:१५-२१; एफिसी ६:१-४) तर यस्तो महान्‌ प्रबन्ध सुव्यवस्थित हुनु आवश्‍यक छ। अनि मात्र परिवारका सदस्यहरूले शान्ति र मेलमिलापसाथ जीवन बिताउन सक्नेछन्‌। अतः यहोवाले शिरत्व अथवा अगुवाइको सिद्धान्त कायम गर्नुभएको छ। यसको व्याख्या १ कोरिन्थी ११:३ मा यसप्रकार गरिएको छ: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।”

१२, १३. परिवारको शिर को हो र येशूले शिरको हैसियतमा अख्तियार प्रयोग गर्ने ढङ्‌गबाट के सिक्न सकिन्छ?

१२ परिवारको शिर पति हो। तर उनको पनि शिर येशू ख्रीष्ट हुनुहुन्छ। यसबारे पावलले लेखे: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२५) येशूले मण्डलीसित सधैं जुन प्रकारको व्यवहार गर्नुभयो, सोही प्रकारको व्यवहार पतिले आफ्नी पत्नीसित गर्नुको अर्थ ख्रीष्टप्रति आफ्नो अधीनता व्यक्‍त गर्नु हो। (१ यूहन्‍ना २:६) येशूलाई ठूलो अख्तियार सुम्पिएको छ। तापनि उहाँले सो अख्तियार ज्यादै कोमलता, प्रेम र विचारशीलतासाथ प्रयोग गर्नुहुन्छ। (मत्ती २०:२५-२८) मानिसको रूपमा होऊञ्जेल येशूले कहिल्यै आफ्नो अख्तियारको दुरुपयोग गर्नुभएन। उहाँ “विनयी र नम्र हृदयको” हुनुहुन्थ्यो। उहाँले आफ्ना अनुयायीहरूलाई “दास[को]” सट्टा “मित्र” भनेर सम्बोधन गर्नुभयो। उहाँले तिनीहरूलाई “विश्राम दिने” प्रतिज्ञा गर्नुभयो र वास्तवमा विश्राम दिनु पनि भयो।—मत्ती ११:२८, २९; यूहन्‍ना १५:१५.

१३ मसीही अगुवा वा शिर हुनुको अर्थ कडा प्रभुत्व जमाउनु होइन भनी पतिहरूले येशूको उदाहरणबाट सिक्नसक्छन्‌। बरु मसीही शिरहरूले आदर तथा आत्मत्यागी प्रेम देखाउनुपर्छ। उनीहरूले आफ्नी पत्नीहरूसित शारीरिक वा मौखिक दुर्व्यवहार गर्नु पटक्कै मिल्दैन। (एफिसी ४:२९, ३१, ३२; ५:२८, २९; कलस्सी ३:१९) एक जना मसीही पुरुषले आफ्नी पत्नीसित यस्तो दुर्व्यवहार गरेमा उनले गरेका बाँकी सबै असल कार्यहरू निरर्थक हुन्छन्‌। उनका प्रार्थनाहरू रोकिनेछन्‌।—१ कोरिन्थी १३:१-३; १ पत्रुस ३:७.

१४, १५. परमेश्‍वरको ज्ञानले पत्नीलाई पतिको अधीनमा बस्ने मदद कसरी दिन्छ?

१४ पतिले ख्रीष्टको उदाहरण अनुकरण गर्दा पत्नीलाई पनि एफिसी ५:२२, २३ मा उल्लिखित यी शब्दहरूअनुरूप हिंड्‌न सजिलो हुन्छ: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्‌ जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ।” ख्रीष्टको अधीनमा पति भए जस्तै पत्नी पनि आफ्नो पतिको अधीनमा बस्नुपर्छ। सुयोग्य पत्नीहरूको ईश्‍वरीय बुद्धि तथा परिश्रम प्रशंसा तथा आदरयोग्य हुन्छ भनी बाइबलमा स्पष्ट बताइएको छ।—हितोपदेश ३१:१०-३१.

१५ पतिप्रति पत्नीको अधीनता सापेक्षिक हुन्छ। यसको अर्थ पतिको कुरा मान्दा ईश्‍वरीय नियम उल्लङ्‌घन हुन्छ भने ईश्‍वरको नियमलाई नै प्राथमिकता दिनुपर्छ। तर यसरी ईश्‍वरीय नियमको पक्षमा दृढ अडान लिंदा पनि पत्नीले “नम्र र शान्त आत्मा” प्रदर्शित गर्नुपर्छ। परमेश्‍वरको ज्ञान लिएपछि तिनी अझ असल पत्नी भएकी छिन्‌ भनेर प्रष्ट देखिनुपर्छ। (१ पत्रुस ३:१-४) सोही सिद्धान्त ती मसीही मानिसमाथि पनि लागू हुन्छ जसकी पत्नी विश्‍वासमा छैनन्‌। बाइबलको सिद्धान्तअनुरूप हिंडेर यी मानिस पनि अझ असल पति बन्‍नुपर्छ।

१६. येशू केटाकेटी हुनुहुँदाको उदाहरणलाई परिवारमा छोराछोरीले कसरी अनुकरण गर्नसक्छन्‌?

१६ एफिसी ६:१ मा छोराछोरीको भूमिकालाई औंल्याउँदै यसो भनिएको छ: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ।” मसीही छोराछोरीले येशूको उदाहरण अनुकरण गर्छन्‌। उहाँ पनि केटाकेटी छँदा आफ्ना आमा-बाबुको अधीनमा बस्नुहुन्थ्यो। उहाँ आज्ञाकारी केटा हुनुहुन्थ्यो जो “बुद्धि, कद र परमेश्‍वर र मानिसको अनुग्रहमा बढ्‌दै जानुभयो।”—लूका २:५१, ५२.

१७. आमा-बाबुले अख्तियार प्रयोग गर्ने ढङ्‌गबाट छोराछोरी कसरी प्रभावित हुनसक्छन्‌?

१७ तर छोराछोरीले अख्तियार स्वीकार्छन्‌ कि स्वीकार्दैनन्‌, सो आमा-बाबुले आफ्नो जिम्मेवारी कसरी निभाउँछन्‌, त्यसमा भर गर्छ। (हितोपदेश २२:६) अतः ‘म आफ्नो अख्तियारको प्रयोग प्रेमपूर्वक गर्छु कि कडाइसाथ? म ज्यादै नरम पो छु कि?’ भन्‍ने प्रश्‍नहरू आमा-बाबुहरूले स्वयंलाई सोध्नुपर्छ। ईश्‍वरीय आमा-बाबुहरू मायालु र विचारशील हुनुपर्छ। तर ईश्‍वरीय सिद्धान्तमा उनीहरू अडिग पनि बस्नुपर्छ। यसैकारण प्रेरित पावलले यसप्रकार लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४; कलस्सी ३:२१.

१८. आमा-बाबुले अनुशासन कसरी दिनुपर्छ?

१८ छोराछोरीहरूका लागि अपनाइने प्रशिक्षणशैलीलाई पनि आमा-बाबुले ध्यानपूर्वक विचार गर्नु आवश्‍यक छ। विशेषगरि छोराछोरी आज्ञाकारी भएर आमा-बाबुलाई आनन्दित तुलाएको उनीहरू चाहन्छन्‌ भने। (हितोपदेश २३:२४, २५) बाइबलमा अनुशासनको अर्थ प्रथमतः उपदेश दिने प्रणाली हो। (हितोपदेश ४:१; ८:३३) अनुशासन क्रोध र कठोरतासित होइन प्रेम र विनम्रतासित सम्बन्धित छ। तसर्थ, मसीही आमा-बाबुले बुद्धि चलाउनुपर्छ। आफ्ना छोराछोरीलाई अनुशासन दिंदा उनीहरू आत्मसंयमी हुनुपर्छ।—हितोपदेश १:७.

मण्डलीमा अख्तियार

१९. मसीही मण्डली सुचारु रीतिले चलोस्‌ भनेर परमेश्‍वरले के प्रबन्ध मिलाउनुभएको छ?

१९ यहोवा सुव्यवस्थित परमेश्‍वर हुनुहुन्छ। उहाँले आफ्ना जनहरूका लागि अख्तियारयुक्‍त तथा सुसङ्‌गठित अगुवाइ प्रबन्ध गर्नु मनासिब हो। त्यसैकारण उहाँले येशूलाई मसीही मण्डलीको शिर नियुक्‍त गर्नुभएको छ। (१ कोरिन्थी १४:३३, ४०; एफिसी १:२०-२३) परमेश्‍वरले ख्रीष्टको अदृश्‍य नेतृत्व अधीनस्थ मिलाउनुभएको प्रबन्धनुसार, नियुक्‍त प्राचीनहरूले प्रत्येक मण्डलीमा उत्सुकता, प्रेम तथा राजीखुशीसाथ बगालको हेरचाह गर्छन्‌। (१ पत्रुस ५:२, ३) सेवकाई सेवकहरूले यी प्राचीनहरूलाई विभिन्‍न ढङ्‌गमा मदद दिन्छन्‌ र मण्डलीमा अन्य बहुमूल्य सेवा गर्छन्‌।—फिलिप्पी १:१.

२०. नियुक्‍त मसीही प्राचीनहरूको अधीनमा हामी किन बस्नुपर्छ र सो बस्नु किन लाभदायक हुनेछ?

२० मसीही प्राचीनहरूबारे पावलले यसप्रकार लेखे: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌, र यो तिनीहरूले आनन्दसाथ गरून्‌।” (हिब्रू १३:१७) मण्डलीमा हुनेहरूको आध्यात्मिक आवश्‍यकताको हेरविचार गर्न मसीही निरीक्षकहरू खटाउनुभएर परमेश्‍वरले महाबुद्धि प्रदर्शित गर्नुभएको छ। यी प्राचीनहरू कुनै पादरीवर्ग होइनन्‌। उनीहरू परमेश्‍वरका सेवक तथा दासहरू हुन्‌। हाम्रो मालिक येशू ख्रीष्टले जस्तै उनीहरूले पनि आफ्ना सह-उपासकहरूको सेवा गर्छन्‌। (यूहन्‍ना १०:१४, १५) शास्त्रीय योग्यताप्राप्त यी पुरुषहरूले हाम्रो प्रगति र आध्यात्मिक विकासमा चासो लिन्छन्‌। यो देखेर हामी पनि सहयोग तथा अधीनता प्रकट गर्न प्रोत्साहित हुन्छौं।—१ कोरिन्थी १६:१६.

२१. नियुक्‍त प्राचीनहरूले सह-मसीहीहरूलाई कसरी मदद दिने प्रयास गर्छन्‌?

२१ कहिलेकाहीं भेडाहरूले बाटो बिराउनसक्छन्‌। सांसारिक तत्त्वहरूले गर्दा तिनीहरू खतरामा पर्छन्‌। तर प्रधान गोठाला येशू ख्रीष्टको नेतृत्वमा हिंड्‌ने यी उप-गोठालाहरू आफ्नो जिम्मामा रहेका भेडाहरूको आवश्‍यकताप्रति सचेत हुन्छन्‌। बडो लगनका साथ उनीहरूले ती भेडाहरूलाई व्यक्‍तिगत ध्यान दिन्छन्‌। (१ पत्रुस ५:४) उनीहरू मण्डलीका सदस्यहरूलाई भेट्‌न जान्छन्‌। तिनीहरूसित प्रोत्साहनजनक कुराकानी गर्छन्‌। दियाबलले परमेश्‍वरका मानिसहरूको शान्ति भङ्‌ग गर्न खोजिरहेछ भनी उनीहरू जान्दछन्‌। यसैकारण समस्याहरूको समाधान गर्दा उनीहरूले माथिबाट आउने बुद्धि प्रयोगमा ल्याउँछन्‌। (याकूब ३:१७, १८) उनीहरूले एकता तथा विश्‍वासको एकरूपतालाई कायम राख्न खुब परिश्रम गर्छन्‌। यसैका लागि स्वयं येशूले प्रार्थना पनि गर्नुभएको थियो।—यूहन्‍ना १७:२०-२२; १ कोरिन्थी १:१०.

२२. कसैले गलत काम गर्दा प्राचीनहरूले कसरी मदद दिन्छन्‌?

२२ तथापि, एक जना मसीहीमाथि कुनै विपत्ति आइ पर्दा अथवा पाप गरेपछि उनी निरुत्साहित हुँदा नि? बाइबलमा आधारित आरामदायी सल्लाह र प्राचीनहरूले गरिदिएका हार्दिक प्रार्थनाहरूद्वारा उनले आध्यात्मिक सुस्वास्थ्य पुनः प्राप्त गर्नसक्छन्‌। (याकूब ५:१३-१५) तथापि गलत मार्गमा चल्ने अथवा मण्डलीको आध्यात्मिक तथा नैतिक स्वच्छतामा बाधा पुऱ्‍याउने व्यक्‍तिहरू पनि हुन सक्छन्‌। यस्ताहरूलाई चाहिं अनुशासनमा राख्ने तथा हप्काउने अधिकार पवित्र आत्माद्वारा नियुक्‍त यी पुरुषहरूसित छ। (प्रेरित २०:२८; तितस १:९; २:१५) मण्डलीलाई सफा राख्ने उद्देश्‍यले घोर गल्तीहरूको रिपोर्ट गर्न आवश्‍यक पर्नसक्छ। (लेवी ५:१) गम्भीर पाप गर्ने मसीहीले शास्त्रमा आधारित अनुशासन र सुधार स्वीकार्दै साँचो पश्‍चात्तापको प्रमाण दिन्छ भने, उनको मदद गरिन्छ। तर परमेश्‍वरको व्यवस्था बारम्बार उल्लङ्‌घन गर्ने तथा पश्‍चात्ताप नगर्नेहरू चाहिं अवश्‍य बहिष्कृत हुन्छन्‌।—१ कोरिन्थी ५:९-१३.

२३. मण्डलीको भलाइका लागि मसीही निरीक्षकहरूले के गर्छन्‌?

२३ परमेश्‍वरका जनहरूलाई सान्त्वना, सुरक्षा तथा स्फूर्ति प्रदान गर्ने आध्यात्मिक परिपक्वताप्राप्त पुरुषहरू राजा येशू ख्रीष्टमनि नियुक्‍त हुनेछन्‌ भनी बाइबलमा भविष्यवाणी गरिएको थियो। (यशैया ३२:१, २) आध्यात्मिक विकासलाई बल दिन यी मानिसहरूले सुसमाचार प्रचारक, गोठाला र शिक्षकको हैसियतमा नेतृत्व लिन्छन्‌। (एफिसी ४:११, १२, १६) मसीही निरीक्षकहरूले बेलाबखतमा आफ्ना सह-विश्‍वासीहरूलाई हप्काउन, ताडना दिन तथा आग्रह गर्नसक्छन्‌। परमेश्‍वरको वचनमा आधारित यी प्राचीनहरूले दिने स्वस्थकर शिक्षालाई प्रयोगमा ल्याउनु जीवनको मार्गमा रहन मददकारी हुन्छ।—हितोपदेश ३:११, १२; ६:२३; तितस २:१.

अख्तियारप्रति यहोवाको दृष्टिकोण अपनाउनुहोस्‌

२४. हामीमाथि दिनहुँ कुन विषयको जाँच आइपर्छ?

२४ अख्तियारको अधीनमा बस्ने नबस्ने विषय लिएर नै प्रथम पुरुष तथा स्त्रीको जाँच भएको थियो। नभन्दै, आज हाम्रोसामु पनि त्यस्तै जाँच आइपरेको छ। शैतानले मानिसजातिबीच विरोधको भाव बढाउँदैछ। (एफिसी २:२) अधीनताको भन्दा स्वतन्त्रताको मार्ग हेर्नमा अति नै लोभलाग्दो तथा श्रेष्ठ देखिन थालेको छ।

२५. संसारको विरोधी प्रवृत्तिलाई तिरस्कार गर्दै परमेश्‍वरले चलाउनुहुने वा चल्ने अनुमति दिनुहुने अख्तियारको अधीनमा बस्यौं भने के कस्ता लाभहरू उठाउनेछौं?

२५ तथापि, हामीले संसारको विद्रोही भावलाई तिरस्कार गर्नैपर्छ। यसो गऱ्‍यौं भने ईश्‍वरीय अधीनताले हामीलाई पुरस्कृत पार्नेछ। उदाहरणको लागि, सांसारिक अख्तियारवालाहरूसित हामी समस्या मोल्ने छैनौं। मानसिक क्लेशबाट हामी मुक्‍त हुन्छौं। थुप्रै परिवारहरूमा व्याप्त कलहलाई हामी कम पार्नसक्छौं। हाम्रा मसीही सह-विश्‍वासीहरूको आत्मीयता एवं प्रेममय सङ्‌गतिको आनन्द उठाउनेछौं। तर सबैभन्दा बढी हाम्रो ईश्‍वरीय अधीनताले हामीलाई सर्वोच्च अख्तियारवाला यहोवासित राम्रो सम्बन्ध कायम राख्न मदद दिनेछ।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

यहोवाले आफ्नो अख्तियार कसरी चलाउनुहुन्छ?

“उच्च अख्तियारवालाहरू” को हुन्‌ र हामी उनीहरूको अधीनमा कसरी बस्छौं?

शिरत्वको सिद्धान्तले गर्दा परिवारको प्रत्येक सदस्यमाथि के जिम्मेवारी आइ पर्छ?

हामीले मसीही मण्डलीभित्र अधीनता कसरी व्यक्‍त गर्नसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३४-मा भएको चित्र]

अराजक होइन तर आज्ञाकारी

साँचो शान्ति र सुरक्षाका लागि मानिसको एक मात्र आशा परमेश्‍वरको राज्य हो भनी यहोवाका साक्षीहरू आमप्रचार कार्यद्वारा घोषणा गर्छन्‌। तथापि परमेश्‍वरको राज्यका यी जोशिला प्रचारकहरू कुनै रीतिले पनि अराजक होइनन्‌। बरु यी साक्षीहरू देशका सबैभन्दा आदरणीय तथा कानुन पालन गर्ने नागरिकहरू हुन्‌। यसबारे एउटा अफ्रिकी देशका अधिकृतले यसो भने: “सबै धार्मिक सम्प्रदायहरू यहोवाका साक्षीहरूजस्तो भएमा हत्या, चोरी, अपराध, कैदी तथा अणु बम पटक्कै हुने थिएन। ढोकाहरूमा कहिल्यै ताल्चा लाउनु पर्ने थिएन।”

सोही कुरालाई बुझेर थुप्रै देशका अधिकारीहरूले यहोवाका साक्षीहरूलाई कुनै रोकटोकबिना प्रचार गर्न दिएका छन्‌। यहोवाका साक्षीहरूको प्रभाव समाजका लागि राम्रो हुन्छ भन्‍ने कुरा थाह पाएपछि अन्य देशहरूले साक्षीहरूमाथि लगाएको प्रतिबन्ध तथा रोकटोक हटाइ दिएका छन्‌। उच्च अख्तियारवालाहरूप्रति आज्ञाकारी हुने सम्बन्धमा प्रेरित पावलले भनेको कुरा आज सत्य साबित भएको छ: “असल काम गर र तिनीहरूबाट तिमीलाई प्रशंसा मिल्नेछ।”—रोमी १३:१, ३.