सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ

तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ

अध्याय १६

तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ

१. थुप्रै धर्महरूबीच मिल्दाजुल्दा कुराहरू के हुन्‌?

 पूर्वीय देशको भ्रमण गर्न गएकी पर्यटक एउटा बौद्ध मन्दिरको धार्मिक रीतिथिति देखेर छक्क परिन्‌। त्यहाँ मरियम र ख्रीष्टका मूर्तिहरू त थिएनन्‌। तापनि धेरैजसो रीतिथिति तिनी आफ्नो देशमा धाउने चर्चका जस्तै थिए। उदाहरणको लागि, त्यहाँ पनि माला तथा प्रार्थनाहरू जपेको तिनले देखिन्‌। यस्तै तुलना यी पर्यटकबाहेक अरूले पनि गरेका छन्‌। पूर्व होस्‌ वा पश्‍चिम, भक्‍तहरूले परमेश्‍वर अथवा आफ्नो उपासनाको पात्र नजीक हुन अपनाएका मार्गहरू स्पष्टतः मिल्दाजुल्दा छन्‌।

२. प्रार्थनालाई कसरी परिभाषित गरिएको छ र धेरै मानिसहरू किन प्रार्थना गर्छन्‌?

धेरै मानिसहरू प्रार्थनाद्वारा परमेश्‍वरको नजीक हुन खोज्छन्‌। एउटा परिभाषाअनुसार, प्रार्थना त्यो क्रिया हो जसद्वारा मानिसले “पवित्र अथवा विशुद्ध परमेश्‍वर, देवताहरू, परलोक अथवा अलौकिक शक्‍तिहरूसित सम्पर्क राख्छ।” (द न्यु इन्सायक्लोपिडिया ब्रिटानिका) तर परमेश्‍वरसित प्रार्थना गर्दा केही मानिसहरूको ध्यान व्यक्‍तिगत फायदामा मात्र केन्द्रित हुन्छ। उदाहरणको लागि, यहोवाको एक जना साक्षीलाई यो प्रश्‍न सोधिएको थियो: “तपाईंले मेरो निम्ति प्रार्थना गर्नुभयो भने, के मेरो परिवार, काम तथा स्वास्थ्यसम्बन्धी समस्याहरू हल हुनेछ?” हल हुनेछ भनी प्रश्‍न सोध्नेले सायद ठानेको थियो होला। तर प्रार्थना गरेपछि पनि धेरैका समस्याहरू जस्तोका त्यस्तै छन्‌। यसकारण ‘परमेश्‍वरको नजीक किन हुने?’ भन्‍ने प्रश्‍न हाम्रो मनमा पनि उठ्‌नुसक्छ।

परमेश्‍वरसित किन घनिष्ठ हुने

३. प्रार्थना गर्दा हामीले कसलाई सम्बोधन गर्नुपर्छ र किन?

प्रार्थना कुनै खोक्रो रीति होइन। नता त्यो कुनै चीज हासिल गर्ने माध्यम हो। परमेश्‍वरसित प्रार्थना गर्ने मुख्य उद्देश्‍य उहाँसित घनिष्ठ सम्बन्ध कायम राख्नु हो। अतः प्रार्थना गर्दा हामीले यहोवा परमेश्‍वरलाई सम्बोधन गर्नुपर्छ। भजनरचयिता दाऊदले भनेझैं, “उहाँको पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ।” (भजन १४५:१८) यहोवाले हामीलाई उहाँसित मेलमिलाप गर्न निम्त्याउनुहुन्छ। (यशैया १:१८) सो निम्तो स्वीकार्नेहरू भजनरचयिताका यी शब्दहरूसित सहमत हुन्छन्‌: “परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ।” किन? किनभने यहोवा परमेश्‍वरको नजीक हुनेहरूले साँचो आनन्द र मनको शान्ति अनुभव गर्छन्‌।—भजन ७३:२८.

४, ५. (क) परमेश्‍वरलाई प्रार्थना गर्नु किन महत्त्वपूर्ण हो? (ख) हामीले प्रार्थनाद्वारा परमेश्‍वरसित कस्तो सम्बन्ध विकसित गर्नसक्छौं?

तर ‘उहाँसँग माग्नभन्दा अघि नै’ हामीलाई ‘कुन कुन कुराको खाँचो छ, सो उहाँ जान्‍नुहुन्छ’ भने हामीले परमेश्‍वरलाई प्रार्थनाद्वारा मदद किन माग्ने? (मत्ती ६:८; भजन १३९:४) प्रार्थनाद्वारा हामी परमेश्‍वरमाथि आफ्नो विश्‍वास व्यक्‍त गर्छौं। उहाँलाई “हरेक असल दान र हरेक उत्तम वरदान[को]” श्रोत स्वीकार्छौं। (याकूब १:१७; हिब्रू ११:६) यहोवाले हाम्रा प्रार्थनाहरूमा बडो आनन्द लिनुहुन्छ। (हितोपदेश १५:८) कुनै पिता आफ्नो बच्चाका हार्दिक तथा कृतज्ञतापूर्ण शब्दहरू सुन्दा प्रफुल्लित भएझैं, यहोवा पनि हाम्रो मूल्याङ्‌कन तथा प्रशंसाका अर्थपूर्ण अभिव्यक्‍तिहरू सुनेर रमाउनुहुन्छ। (भजन ११९:१०८) बाबु र बच्चाबीचको सम्बन्ध जहाँ राम्रो हुन्छ, त्यहाँ आत्मीयतासाथ कुराकानी पनि गरिन्छ। बाबुको माया पाएको बच्चा बाबुसित कुरा गर्न इच्छुक हुन्छ। सोही सिद्धान्त परमेश्‍वरसितको हाम्रो सम्बन्धमा पनि लागू हुन्छ। यहोवाबारे सिकेका कुराहरू र उहाँले देखाउनुभएको प्रेमको हामी वास्तवमा मूल्याङ्‌कन गर्छौं भने, प्रार्थनाद्वारा उहाँसमक्ष आफ्नो सारा हृदय पोखाउन हामी अत्यन्त इच्छुक हुनेछौं।—१ यूहन्‍ना ४:१६-१८.

हामी बडो श्रद्धा भावसाथ परमप्रधान परमेश्‍वरको नजीक आउनुपर्छ। तर शब्दको छनौटबारे हामी ज्यादै चिन्तित हुनु पर्दैन। (हिब्रू ४:१६) हामी यहोवासित जहिले पनि कुरा गर्नसक्छौं। उहाँको सामु ‘आफ्नो हृदयको दुःख पोखाउन’ पाउनु कति ठूलो विशेषाधिकार हो! (भजन ६२:८) यहोवाको मूल्याङ्‌कन गर्नाले उहाँसित आत्मीयतापूर्ण सम्बन्ध राख्न सकिन्छ। यस्तै सम्बन्ध विश्‍वासी पुरुष अब्राहामले परमेश्‍वरको मित्र भएर राख्न सके। (याकूब २:२३) तर सारा ब्रह्‍माण्डको सर्वसत्ताधारी प्रभुसित प्रार्थना गर्दा हामीले केही आवश्‍यकताहरू पूरा गर्नुपर्छ।

परमेश्‍वरको नजीक आउनेहरूले पूरा गर्नुपर्ने आवश्‍यकताहरू

६, ७. हाम्रो प्रार्थना सुनिदिनुभएको बापत परमेश्‍वरले हामीबाट पैसा नमाग्नु भए तापनि हामीले प्रार्थना गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन्‌?

के परमेश्‍वरसित सम्पर्क राख्दा पैसा चाहिन्छ? कतिले पादरीहरूलाई रकम तिरेर आफ्नो निम्ति प्रार्थना गर्न लाउँछन्‌। फेरि कसै कसैको विश्‍वासअनुसार चाहिं प्रार्थनाको सुनुवाइ आफूले चढाएको चन्दाको मात्रामा भर गर्छ। तथापि, यहोवासित प्रार्थनाद्वारा सम्पर्क राख्दा पैसा चढाउनुपर्छ भनी परमेश्‍वरको वचनमा कतै भनिएको छैन। उहाँले हाम्रोनिम्ति गर्नुभएका आध्यात्मिक प्रबन्धहरू तथा उहाँसित प्रार्थनाद्वारा सम्पर्क राखेर अनुभव गर्न सकिने आशिष्‌हरू सबै सित्तैमा उपलब्ध छन्‌।—यशैया ५५:१, २.

त्यसोभए के आवश्‍यक छ त? सही मानसिक प्रवृत्ति। (२ इतिहास ६:२९, ३०; हितोपदेश १५:११) यहोवा “प्रार्थना सुन्‍नुहुने” र “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनु” हुने परमेश्‍वर हुनुहुन्छ भनी हामीले हृदयबाटै विश्‍वास गर्नुपर्छ। (भजन ६५:२; हिब्रू ११:६) हामीमा विनम्र हृदय पनि हुनुपर्छ। (२ राजा २२:१९; भजन ५१:१७) येशूले भन्‍नुभएको एउटा उदाहरणमा परमेश्‍वरसित प्रार्थना गर्ने एक जना अहङ्‌कारी फरिसीभन्दा विनम्र हृदय भएको महसुल उठाउने मान्छे बढी धर्मी साबित भएको थियो। (लूका १८:१०-१४) यसकारण “अहङ्‌कारी मानिस सबका सब परमप्रभुको दृष्टिमा घृणित छन्‌” भन्‍ने कुरा हामी प्रार्थना गर्दा सधैं सम्झी राखौं।—हितोपदेश १६:५.

८. परमेश्‍वरले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुभएको चाहन्छौं भने हामीले आफूलाई कुन कुराहरूबाट विशुद्ध पार्नुपर्छ?

परमेश्‍वरले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुभएको हामी चाहन्छौं भने, पापी चालचलनलाई त्याग्नु अत्यावश्‍यक छ। किनकि चेला याकूबले अरूलाई परमेश्‍वरको नजीक हुन प्रोत्साहित गर्दा यसो पनि भने: “हे पापी हो, तिमीहरूको हात शुद्ध पार र हे दोमनका हो, तिमीहरूको हृदय पवित्र पार।” (याकूब ४:८) कुकर्मीहरूले पनि पश्‍चात्ताप गरेर आफ्नो पुरानो जीवनशैली त्यागेमा यहोवासित मेलमिलाप कायम गर्नसक्छन्‌। (हितोपदेश २८:१३) तर आफूलाई आध्यात्मिक रीतिले शुद्ध पारेको अभिनय मात्र गऱ्‍यौं भने चाहिं परमेश्‍वरको सामु हाम्रो सुनुवाइ हुनसक्दैन। “किनकि प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ, तर परमप्रभुको मुख खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”—१ पत्रुस ३:१२.

९. हामीले यहोवासित कोद्वारा सम्पर्क राख्नुपर्छ र किन?

बाइबल भन्छ: “संसारमा यस्तो कुनै मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भूल गर्दैन।” (उपदेशक ७:२०) अब यसो हो भने हामी यहोवा परमेश्‍वरसित कसरी सम्पर्क राख्नसक्छौं त? जवाफ बाइबलमै दिइएको छ: “कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रीष्ट।” (१ यूहन्‍ना २:१) हो, हामी पापी छौं। तापनि येशू ख्रीष्टले हाम्रो छुटकाराको निम्ति बलिदान दिनुभएको छ। यसले गर्दा हामी निर्धक्क भएर उहाँद्वारा परमेश्‍वरसित सम्पर्क राख्नसक्छौं। (मत्ती २०:२८) उहाँ एक मात्र माध्यम हुनुहुन्छ जसद्वारा यहोवा परमेश्‍वरसित सम्पर्क राख्न सकिन्छ। (यूहन्‍ना १४:६) तर येशूले चढाउनुभएको छुडौतीको बलिदानलाई हल्का ठान्दै हामीले जानाजानी तथा बारम्बार पाप गर्नु हुँदैन। (हिब्रू १०:२६) तथापि खराबीबाट अलग बस्ने हर प्रयास गर्दा गर्दै पनि हामीबाट कहिलेकाहीं भूल भइ हाल्नसक्छ। यस्तो हुँदा हामी पश्‍चात्ताप गर्नसक्छौं। परमेश्‍वरसित क्षमा माग्नसक्छौं। विनम्र हृदयसाथ हामी उहाँको सामु गयौं भने उहाँले हामीलाई सुन्‍नुहुन्छ।—लूका ११:४.

परमेश्‍वरसित कुरा गर्ने अवसरहरू

१०. प्रार्थना गर्ने सम्बन्धमा हामीले येशूको अनुकरण कसरी गर्नसक्छौं र कुन कुन बेला व्यक्‍तिगत प्रार्थना गर्न सकिन्छ?

१० यहोवासितको आफ्नो सम्बन्धलाई येशू ख्रीष्टले ठूलो मोल गर्नु हुन्थ्यो। उहाँले परमेश्‍वरसित एकान्तमा प्रार्थनाद्वारा कुरा गर्ने समय निकाल्नुहुन्थ्यो। (मर्कूस १:३५; लूका २२:४०-४६) हामीले पनि येशूको उदाहरण अनुकरण गर्दै परमेश्‍वरसित नियमित तवरमा प्रार्थना गर्नु बेस हुनेछ। (रोमी १२:१२) हर नयाँ दिनको शुरूमा प्रार्थना गर्नु उचित हो। दिन ढलेपछि हामी ओछ्यानमा पस्नअघि पनि यहोवालाई दिनभरिको कामकुराका लागि धन्यवाद दिनसक्छौं। दिनमा “हर समय” परमेश्‍वरलाई प्रार्थना गर्ने अठोट गर्नुहोस्‌। (एफिसी ६:१८) हामीले चुपचाप मनमनै प्रार्थना गर्दा पनि यहोवा हामीलाई सुन्‍न सक्नुहुन्छ। परमेश्‍वरसित यसरी व्यक्‍तिगत रूपमा प्रार्थना गर्नाले उहाँसित हाम्रो सम्बन्ध अझ बलियो हुन्छ। यहोवासित दिनहुँ प्रार्थना गर्दा हामी झन्‌ झन्‌ उहाँको नजीक हुन्छौं।

११. (क) परिवारले एकसाथ बसेर किन प्रार्थना गर्नुपर्छ? (ख) प्रार्थनाको अन्तमा “आमिन” भन्‍नुको अर्थ के हो?

११ यहोवा समूहको तर्फबाट गरिएका प्रार्थनाहरू पनि सुन्‍नुहुन्छ। (१ राजा ८:२२-५३) घरको शिरले प्रार्थनामा अगुवाइ लिंदा सपरिवार परमेश्‍वरको नजीक हुनसक्छ। पारिवारिक सम्बन्ध अझ बलियो हुन्छ। साथै, आफ्ना आमा-बाबुले परमेश्‍वरसित विनम्रतासाथ प्रार्थना गरेको साना-साना केटाकेटीहरूले देख्छन्‌। फलतः तिनीहरूको हृदयमा यहोवाको वास्तविकता अझ प्रष्टिन्छ। तर यहोवाका साक्षीहरूको कुनै सभामाझैं एक जना कसैले सारा समूहको तर्फबाट प्रार्थना गरिरहेछ भने नि? हामी श्रोतागणमा उपस्थित हुनेहरूले ध्यानपूर्वक प्रार्थना सुन्‍नुपर्छ। अनि मात्र हामीले प्रार्थनाको अन्तमा “आमिन” अर्थात्‌ “यस्तै होस्‌” भन्‍नसक्छौं।—१ कोरिन्थी १४:१६.

यहोवाले सुन्‍नुहुने प्रार्थनाहरू

१२. (क) परमेश्‍वरले केही प्रार्थनाहरूको जवाफ किन दिनुहुन्‍न? (ख) प्रार्थना गर्दा हामीले आफ्नै व्यक्‍तिगत आवश्‍यकताहरूमाथि मात्र किन ध्यान केन्द्रित गर्नु हुँदैन?

१२ कसै कसैले चाहिं ख्रीष्टद्वारा प्रार्थना गर्दा पनि परमेश्‍वरले प्रार्थनाको जवाफ दिनुभएन भन्छन्‌। तर प्रेरित यूहन्‍नाले यसो भनेका छन्‌: “औ उहाँमा भएको हाम्रो हिम्मत यही हो, कि उहाँको [परमेश्‍वर] इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ यूहन्‍ना ५:१४) अतः हामीले परमेश्‍वरको इच्छाबमोजिमको माग गर्नुपर्छ। उहाँले हाम्रो आध्यात्मिक कुशलतामा रुचि लिनुहुन्छ। यसैकारण हाम्रो आध्यात्मिकतामाथि असर पार्ने हर कुरा प्रार्थनाको उचित विषय हुनसक्छ। सम्पूर्णतः शारीरिक आवश्‍यकताहरूमाथि ध्यान केन्द्रित गर्ने झुकावसित हामी लड्‌नुपर्छ। उदाहरणका लागि, रोग-बिमारीको सामना गर्ने अन्तरदृष्टि तथा मानसिक बल प्रार्थनाद्वारा माग्नु उचित हो। तर स्वास्थ्यसम्बन्धी चिन्ताहरूले गर्दा आध्यात्मिक रुचिका विषयहरू धमिलिनु भएन। (भजन ४१:१-३) एउटी मसीही महिला आफ्नो स्वास्थ्यबारे ज्यादै चिन्तित थिइन्‌। आफ्नो रोगप्रति सही दृष्टिकोण अपनाउने मदद तिनले यहोवासित मागिन्‌। फलतः तिनका स्वास्थ्यसम्बन्धी समस्याहरू निकै तुच्छ देखिन थाल्यो। तिनलाई आफूले “असामान्य शक्‍ति” पाएकी जस्तै लाग्यो। (२ कोरिन्थी ४:७, न्युव) अरूलाई आध्यात्मिक मदद दिने इच्छा तिनमा जाग्यो। तिनी परमेश्‍वरको राज्यको पूर्ण-समय उद्‌घोषिका भइन्‌।

१३. मत्ती ६:९-१३ मा इङ्‌गित केही उचित विषयहरू के हुन्‌ जसलाई हामी आफ्ना प्रार्थनाहरूमा सम्मिलित गर्नसक्छौं?

१३ अब हामी आफ्नो प्रार्थनामा त्यस्ता कुन कुराहरू समाविष्ट गर्नसक्छौं जसलाई सुनेर यहोवा पनि खुशी हुनुहुनेछ? येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभएको थियो। कुन कुन विषयबारे प्रार्थना गर्न उचित छ, सो बुझाउन उहाँले मत्ती ६:९-१३ मा उल्लिखित आदर्श प्रार्थनामा एक प्रकारको विषयसूची प्रस्तुत गर्नुभएको छ। हाम्रा प्रार्थनाहरूमा सबैभन्दा मुख्य चासोको विषय के हुनुपर्छ? यहोवा परमेश्‍वरको नाउँ र उहाँको राज्यले मुख्य स्थान लिनुपर्छ। आफ्ना भौतिक आवश्‍यकताहरूको निम्ति बिन्ती गर्नु उचित हो। तर हाम्रा पापहरूका लागि क्षमा तथा प्रलोभनहरू र दुष्ट व्यक्‍ति, दियाबल अर्थात्‌ शैतानको फन्दाबाट छुटकारा माग्नु पनि महत्त्वपूर्ण विषयहरू हुन्‌। तर यो प्रार्थनाको अर्थमाथि मनन नगरीकन यसलाई हामीले बारम्बार जपेको येशू चाहनुहुन्‍न। (मत्ती ६:७) कुनै बच्चाले आफ्नो बाबुसित कुरा गर्दा हर समय उही शब्दहरू दोहोऱ्‍याएमा बाबु बच्चाबीचको सम्बन्ध कस्तो हुनेछ?

१४. अन्तरबिन्तीहरूबाहेक हाम्रा प्रार्थनाहरूमा के पनि सम्मिलित हुनुपर्छ?

१४ निवेदन तथा मार्मिक अन्तरबिन्तीहरूबाहेक हामीले प्रशंसा र धन्यवादका प्रार्थनाहरू चढाउनुपर्छ। (भजन ३४:१; ९२:१; १ थिस्सलोनिकी ५:१८) हामीले अरूहरूका लागि पनि प्रार्थना गर्नसक्छौं। पीडित अथवा सतावटमा पर्ने विश्‍वासका हाम्रा भाइ तथा बहिनीहरूका लागि हामी प्रार्थना गर्नसक्छौं। यसो गर्दा हामी उनीहरूमा आफ्नो चासो प्रकट गर्छौं र यो देखेर यहोवा प्रसन्‍न हुनुहुन्छ। (लूका २२:३२; यूहन्‍ना १७:२०; १ थिस्सलोनिकी ५:२५) प्रेरित पावलले पनि यसप्रकार लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

प्रार्थनामा लागिरह

१५. हाम्रा प्रार्थनाहरूको जवाफ नपाएको जस्तो लागेमा हामीले कुन कुरा याद राख्नुपर्छ?

१५ तपाईंले हाल परमेश्‍वरको ज्ञान लिइ रहनुभए तापनि, कहिलेकाहीं तपाईंका प्रार्थनाहरूको जवाफ नपाएको जस्तो लाग्नसक्छ। सायद परमेश्‍वरको दृष्टिमा तपाईंको खास प्रार्थनाको जवाफ दिने समय भएको छैन होला। (उपदेशक ३:१-९) केही समयका लागि यहोवाले स्थिति यथावत्‌ रहन दिनु होला। तापनि यहोवाले ठीक समयमा प्रार्थनाहरूको जवाफ अवश्‍य दिनुहुन्छ।—२ कोरिन्थी १२:७-९.

१६. हामी किन प्रार्थनामा लागी रहनुपर्छ र यसले परमेश्‍वरसित हाम्रो सम्बन्धमा कस्तो प्रभाव पार्नेछ?

१६ निरन्तर प्रार्थना गर्नाले परमेश्‍वरलाई भनिरहेको कुरामाथि हाम्रो हार्दिक चासो प्रकट हुन्छ। (लूका १८:१-८) उदाहरणको लागि, आफ्नो कुनै कमजोरीलाई नियन्त्रणमा राख्ने मदद हामी यहोवासित माग्नसक्छौं। निरन्तर प्रार्थना र बिन्तीअनुसारको कामबाट हामीले सो विषयमा आफ्नो हार्दिक चासो प्रकट गर्छौं। प्रार्थना गर्दा खास विषय तोक्नु तथा इमानदार हुनु जरुरी छ। विशेषगरि कुनै परीक्षाको सामना गर्नुपर्दा जोडसित प्रार्थना गर्नु अत्यावश्‍यक हुन्छ। (मत्ती ६:१३) आफ्ना पापी झुकावहरूलाई वशमा राख्ने प्रयास गर्दै प्रार्थनामा लागी रह्‍यौं भने यहोवाको मदद स्पष्टतः अनुभव गर्नेछौं। यसबाट हाम्रो विश्‍वास बढ्‌छ। उहाँसित हाम्रो सम्बन्ध अझ बलियो हुनेछ।—१ कोरिन्थी १०:१३; फिलिप्पी ४:१३.

१७. परमेश्‍वरको सेवा गर्दा प्रार्थनापूर्ण मनोवृत्ति राख्नु किन मददकारी हो?

१७ हामीले यहोवा परमेश्‍वरको पवित्र सेवा प्रार्थनापूर्वक गर्ने प्रवृत्ति बढाउनुपर्छ। अनि मात्र आफ्नै शक्‍तिको भरमा उहाँको सेवा गर्न सकिंदैन भनी हामीलाई महसुस हुन्छ। यहोवाको सेवा गर्ने शक्‍ति हामीले उहाँबाटै पाउनुपर्छ। (१ कोरिन्थी ४:७) यो कुरा स्वीकार्दा हामी नम्र बन्छौं। परमेश्‍वरसित हाम्रो सम्बन्ध पनि अझ अर्थपूर्ण हुन्छ। (१ पत्रुस ५:५, ६) हो, निरन्तर प्रार्थना गर्न हामीसित ठोस कारणहरू छन्‌। हाम्रा हार्दिक प्रार्थनाहरू र स्वर्गमा बास गर्नुहुने हाम्रा मायालु पिताको नजीक लैजाने यस अनमोल ज्ञानले हाम्रो जीवनलाई वास्तवमा आनन्दित तुल्याउनेछ।

यहोवासित हाम्रो सम्बन्ध एकतर्फी होइन

१८. हामी परमेश्‍वरको कुरा कसरी सुन्‍नसक्छौं?

१८ परमेश्‍वरले हाम्रा प्रार्थनाहरू सुनी दिनुभएको चाहन्छौं भने, हामीले पनि उहाँको कुरा सुन्‍ने गर्नुपर्छ। (जकरिया ७:१३) अब भने उहाँले अगमवक्‍ताहरूद्वारा समाचार पठाउने गर्नुहुन्‍न र न त प्रेतवादी माध्यमहरू नै प्रयोग गर्नुहुन्छ। (व्यवस्था १८:१०-१२) तापनि परमेश्‍वरको वचन बाइबल पढ्‌नु उहाँलाई सुन्‍नु सरह हो। (रोमी १५:४; २ तिमोथी ३:१६, १७) जसरी हाम्रो शरीरलाई फायदा गर्ने स्वस्थकर भोजनका लागि हामीले रुचि बढाउनुपर्छ, त्यसरी नै “नयाँ जन्मेका बालकहरू जस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर” भनी हामीलाई आग्रह गरिएको छ।—१ पत्रुस २:२, ३; प्रेरित १७:११.

१९. बाइबलमा पढेका कुराहरूमाथि मनन गर्नाले के लाभ उठाउन सकिन्छ?

१९ बाइबलमा तपाईं जे पढ्‌नुहुन्छ, त्यसबारे मनन गर्नुहोस्‌। (भजन १:१-३; ७७:११, १२) त्यसमाथि गौर गर्नुहोस्‌। यसो गर्नु, खाना पचाउनुजस्तै हो। आध्यात्मिक भोजन पचाउनका लागि तपाईंले पढी रहनुभएका कुराहरूलाई जानी सक्नुभएका कुराहरूसित जोड्‌नुपर्छ। सो जानकारीले तपाईंको जीवनमाथि के असर पार्छ, त्यसले यहोवाका गुणहरू तथा कार्यहरूबारे के प्रकट गर्छ, सो विचार गर्नुहोस्‌। यसरी, यहोवाबाट उपलब्ध आध्यात्मिक भोजन तपाईंले व्यक्‍तिगत अध्ययनद्वारा लिन सक्नुहुन्छ। यसले तपाईंलाई परमेश्‍वरको अझ नजीक लैजान्छ र दैनिक जीवनमा उठ्‌ने समस्याहरूसित मुकाबला गर्ने बल पनि दिन्छ।

२०. मसीही सभाहरू धाएर हामी परमेश्‍वरको अझ नजीक कसरी हुन्छौं?

२० जसरी आमसभामा परमेश्‍वरको व्यवस्था पढ्‌ने गर्दा इस्राएलीहरू एकत्रित भएर ध्यानपूर्वक सुन्‍ने गर्थे, त्यसरी नै मसीही सभाहरूमा परमेश्‍वरको वचनको छलफल सुनेर तपाईं पनि परमेश्‍वरको नजीक हुन सक्नुहुनेछ। त्यस बेलाका शिक्षकहरूले व्यवस्था पढेर सुनाउँदा अर्थसमेत खोल्ने गर्थे। यसप्रकार सुन्‍नेहरूले बुझ्न सक्थे तथा सिकेका कुराहरूलाई जीवनमा लागू गर्न प्रेरित हुन्थे। फलतः तिनीहरूले ठूलो आनन्द अनुभव गर्थे। (नहेम्याह ८:८, १२) यसकारण तपाईं पनि यहोवाका साक्षीहरूका सभाहरू धाउने बानी बसाल्नुहोस्‌। (हिब्रू १०:२४, २५) यसबाट तपाईंले बुझ्ने तथा परमेश्‍वरको ज्ञानलाई जीवनमा प्रयोगसमेत गर्ने मदद पाउनुहुनेछ। तपाईं आनन्दित हुनुहुनेछ। विश्‍वव्यापी मसीही भ्रातृत्वको हिस्सा भएर बस्नुभयो भने यहोवाको नजीक हुने मदद पाउनुहुनेछ। परमेश्‍वरका जनहरूबीच साँचो सुरक्षा अनुभव गर्नुहुनेछ।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

तपाईं किन यहोवाको नजीक हुनुपर्छ?

परमेश्‍वरको नजीक हुनका लागि पूरा गर्नुपर्ने केही आवश्‍यकताहरू के हुन्‌?

तपाईं आफ्ना प्रार्थनाहरूमा कुन कुन कुराहरू समाविष्ट गर्न सक्नुहुन्छ?

तपाईं प्रार्थनामा किन लागी रहनुपर्छ?

तपाईंले आज यहोवालाई कसरी सुन्‍न सक्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५७-मा भएको पृष्ठभरिको चित्र]