सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌

दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌

अध्याय १२

दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌

१. दुष्टात्माहरूसित येशूको मुठभेट हुँदा उहाँले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो?

 आफ्नो बप्तिस्मा हुनासाथै येशू ख्रीष्ट प्रार्थना र मनन गर्न यहूदियाको उजाडस्थानमा जानुभयो। त्यहाँ दियाबल अर्थात्‌ शैतानले उहाँलाई परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लाउन खोज्यो। तर येशूले दियाबलको प्रलोभनलाई तिरस्कार गर्नुभयो। उहाँ त्यसको पासोमा फस्नुभएन। आफ्नो पार्थिव सेवकाईको दौडान येशूले अन्य दुष्टात्माहरूको पनि सामना गर्नुभयो। तर हरेक पटक उहाँले तिनीहरूलाई हप्काउनुभयो। तिनीहरूको विरोध गर्नुभयो।—लूका ४:१–१३; ८:२६-३४; ९:३७-४३.

२. हामी कुन प्रश्‍नहरूलाई विचार गर्नेछौं?

बाइबलमा वर्णित यी मुठभेटहरूद्वारा दुष्ट आत्मिक शक्‍तिहरूको अस्तित्वमा हाम्रो विश्‍वास पक्का हुन्छ। ती आत्मिक शक्‍तिहरूले मानिसलाई भ्रममा पार्न खोज्छन्‌। तथापि हामी यी दुष्टात्माहरूको विरोध गर्नसक्छौं। तर दुष्टात्माहरूको आरम्भ कसरी भयो? तिनीहरूले मानिसहरूलाई किन भ्रममा पार्न खोज्छन्‌? आफ्नो उद्देश्‍य पूरा गर्न तिनीहरूले के कस्ता उपाय अपनाउँछन्‌? यस्ता प्रश्‍नहरूको जवाफ ती दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्दा निकै मददकारी हुनसक्छ।

दुष्ट आत्माहरू—तिनीहरूको आरम्भ र उद्देश्‍य

३. शैतान अर्थात्‌ दियाबलको शुरूआत कसरी भयो?

यहोवा परमेश्‍वरले मानिसलाई सृष्टि गर्नभन्दा धेरैअघि अनगिन्ती आत्मिक व्यक्‍तिहरू सृजनुभयो। (अय्यूब ३८:४, ७) अध्याय ६ मा उल्लेख भएझैं तीमध्ये एउटा स्वर्गदूतले मानिसहरूको उपासना पाउने इच्छा गऱ्‍यो। मानिसहरूले यहोवा परमेश्‍वरको उपासनाभन्दा त्यसैको उपासना गरेको त्यसले चाह गऱ्‍यो। सोही चाहना पूरा गर्न त्यो दुष्ट स्वर्गदूतले सृष्टिकर्ताको विरोध गऱ्‍यो, उहाँको निन्दा गऱ्‍यो। त्यसले प्रथम स्त्रीलाई परमेश्‍वरले झूट बोल्नुहुन्छ भन्‍ने सम्म सङ्‌केत दियो। यसैकारण, यो विरोधी आत्मिक व्यक्‍ति पछि गएर शैतान (विरोधी) र दियाबल (निन्दक) भन्‍ने नाउँबाट परिचित हुन थाल्यो।—उत्पत्ति ३:१-५; अय्यूब १:६.

४. नूहको दिनमा केही स्वर्गदूतहरूले के पाप गरे?

केही समयपश्‍चात्‌ अरू स्वर्गदूतहरूले पनि शैतानको पक्ष लिए। तिनीहरूमध्ये केहीले धर्मी मानिस नूहको पालोमा स्वर्गीय सेवा छाडेर देहधारीको रूप धारण गरे। तिनीहरू पार्थिव स्त्रीहरूसित लैंगिक संसर्ग गर्न कामुक भए। तिनीहरूले निःसन्देह शैतानकै प्रभावमा परेर यो अनाज्ञाकारी मार्ग अपनाएको हुनुपर्छ। अन्ततः तिनीहरू नपील कहलाइने वर्णसङ्‌कर सन्तानका पिता भए। ती नपीलहरू हिंस्रक हुल्याहाहरू थिए। यहोवाले महाजलप्रलय ल्याउनु हुँदा भ्रष्ट मानिसहरूका साथसाथै अनाज्ञाकारी स्वर्गदूतहरूका ती अप्राकृतिक सन्तानहरू पनि नाश भए। तर विरोधी स्वर्गदूतहरू चाहिं उम्के। तिनीहरूले आफ्नो प्राकृतिक शरीर त्यागेर फेरि आत्मिक शरीर धारण गरे। तिनीहरू फेरि आत्मिक संसारमा फर्के। तर परमेश्‍वरले यी प्रेतहरूलाई आध्यात्मिक अन्धकारमा बाँधेर राख्नुभयो। उहाँको नजरमा तिनीहरू बहिष्कृत थिए। (उत्पत्ति ६:१-७, १७; यहूदा ६) तापनि, “भूतहरूको मालिक” शैतान र त्यसका दुष्ट स्वर्गदूतहरूले विरोध गर्न छाडेका छैनन्‌। (लूका ११:१५) तिनीहरूको उद्देश्‍य के हो?

५. शैतान र त्यसका प्रेतहरूको उद्देश्‍य के हो र तिनीहरूले मानिसहरूलाई फसाउन कुन कुरा प्रयोग गर्छन्‌?

शैतान र प्रेतहरूको दुष्ट उद्देश्‍य मानिसहरूलाई यहोवा परमेश्‍वरको विरुद्ध उस्काउनु हो। अतः यी दुष्ट जनहरूले इतिहासभरि मानिसहरूलाई ठग्दै, धम्काउँदै तथा पीडित पार्दै आएका छन्‌। (प्रकाश १२:९) प्रेतहरूले पहिलेभन्दा आज झन्‌ क्रूरतासाथ उपद्रव मचाइरहेका छन्‌। यो कुरा आधुनिक उदाहरणहरूबाट प्रष्ट हुन्छ। मानिसहरूलाई आफ्नो जालमा पार्न प्रेतहरूले अक्सर प्रेतवादको बेग्लाबेग्लै रूप प्रयोग गर्छन्‌। प्रेतहरूले यो प्रेतवादको जाल कसरी प्रयोग गर्छन्‌ र यसबाट तपाईं आफूलाई कसरी बचाउन सक्नुहुन्छ?

दुष्टात्माहरूले तपाईंलाई कसरी भ्रममा पार्ने कोशिश गर्छन्‌?

६. प्रेतवात के हो र त्यसका केही रूपहरू के के हुन्‌?

प्रेतवाद भनेको के हो? प्रेतहरू तथा दुष्टात्माहरूसित प्रत्यक्षतः अथवा कुनै मानव माध्यमद्वारा सम्पर्क राख्नु प्रेतवाद हो। शिकारीहरूका लागि जाल जतिको उपयोगी हुन्छ त्यतिकै उपयोगी प्रेतहरूका लागि प्रेतवाद हुन्छ। यी दुवै कुराभित्र शिकार फस्नसक्छ। शिकारीले जनावरहरूलाई जालमा फसाउन विभिन्‍न प्रकारको खानेकुरा प्रदर्शित गरेझैं दुष्टात्माहरूले पनि मानिसहरूलाई आफ्नो वशमा पार्न प्रेतवादको विभिन्‍न रूपलाई बढावा दिन्छन्‌। (भजन ११९:११० तुलना गर्नुहोस्‌।) शकुनविद्या, जादुटोना, भावी बताउनु, झाँक्री विद्या, मोहनी लाउनु, जोखना हेर्नु तथा मसान जगाउनु प्रेतवादका केही रूपहरू हुन्‌।

७. प्रेतवाद कतिको व्याप्त छ र मसीही भनौंदा देशहरूमा पनि त्यो किन फस्टाइरहेछ?

जाल सफल भएको छ। प्रेतवादले विश्‍वभरिका मानिसहरूलाई आकर्षित गरेको छ। जङ्‌गलमा बस्ने गाउँलेहरू बिजुवाकहाँ जान्छन्‌ भने शहरका अफिस धाउनेहरूले चाहिं ज्योतिषीसित सम्पर्क राख्छन्‌। मसीही भनौंदा देशहरूमा पनि प्रेतवाद फस्टाइरहेछ। अनुसन्धानअनुसार, संयुक्‍त राज्यमा मात्र १,००,००,००० भन्दा बढी प्रति छापिने ३० भन्दा बढी थरीका पत्रिकाहरू प्रेतवादको विभिन्‍न रूपमा आधारित छन्‌। ब्राजिलका निवासीहरूले प्रत्येक वर्ष ५० करोड डलर प्रेतवादसम्बन्धी मालसामानहरूमा खर्च गर्छन्‌। जबकि त्यस देशमा प्रेतवादसम्बन्धी केन्द्रहरू धाउने ८० प्रतिशत मानिसहरू बप्तिस्माप्राप्त क्याथोलिकहरू हुन्‌ जो चर्चका धर्मसभाहरूमा पनि उपस्थित हुन्छन्‌। केही पादरीहरूसमेत प्रेतवादमा लागेका हुनाकारण थुप्रै धर्मावलम्बीहरूले प्रेतवादलाई परमेश्‍वरको नजरमा स्वीकार्य ठान्छन्‌। तर स्वीकार्य छ र?

प्रेतवादको चलन बाइबलमा किन निन्दित

८. प्रेतवादबारे शास्त्रीय दृष्टिकोण के हो?

कुनै कुनै प्रकारको प्रेतवादद्वारा असल आत्माहरूसित पनि सम्पर्क राख्न सकिन्छ भनी सम्भवतः तपाईंलाई बताइएको होला। यसो हो भने, प्रेतवादबारे बाइबल के भन्छ सो सुन्‍नुभएर अब तपाईं तीन छक पर्नुहुनेछ। यहोवाका जनहरूलाई यो चेताउनी दिइएको थियो: “तिमीहरू झाँक्री, बोक्सी र जादूमंत्र गर्नेतिर नलाग्नू। तिनीहरूसित परामर्श लिएर तिमीहरू आफूलाई अशुद्ध नपार।” (लेवी १९:३१; २०:६, २७) “जादू” गर्नेहरूको भाग “आगो र गन्धक बलेको कुण्ड” अर्थात्‌ “दोस्रो [अनन्तकालीन] मृत्यु” हुनेछ भनी बाइबलमा प्रकाशको पुस्तकले चेताउनी दिन्छ। (प्रकाश २१:८; २२:१५) हरप्रकारको प्रेतवाद यहोवा परमेश्‍वरको नजरमा अस्वीकार्य छन्‌। (व्यवस्था १८:१०-१२) तर किन?

९. हिजोआज आत्माहरूबाट आउने समाचारहरू यहोवाबाट आएका होइनन्‌ भनी हामी किन भन्‍नसक्छौं?

बाइबल लेख्न पूरा हुनअघि केही मानिसहरूकहाँ यहोवाले असल आत्माहरू अर्थात्‌ धर्मी स्वर्गदूतहरूलाई समाचारवाहकको रूपमा पठाउनुहुन्थ्यो। तर बाइबल लेख्न समाप्त भइसकेपछि चाहिं यहोवालाई स्वीकार्य उपासना चढाउँदा चाहिने निर्देशन मानिसहरूले परमेश्‍वरको वचनमै पाउँछन्‌। (२ तिमोथी ३:१६, १७; हिब्रू १:१, २) परमेश्‍वरले आफ्नो पवित्र वचन नाघ्दै प्रेतवादका माध्यमहरूद्वारा समाचार दिने गर्नुहुन्‍न। आत्मिक संसारबाट आएको दाबी गर्ने सबै वर्तमान समाचारहरू दुष्टात्माहरूबाट आएका हुन्‌। प्रेतवादमा भाग लिने गऱ्‍यौं भने, हामीलाई दुष्टात्माहरूले सताउन सक्छन्‌। तिनीहरू हामीमा बास समेत गर्नसक्छन्‌। यसैकारण कुनै प्रकारको प्रेतवादमा भाग नलिनू भनेर परमेश्‍वरले हामीलाई प्रेमपूर्वक चेताउनी दिनुहुन्छ। (व्यवस्था १८:१४; गलाती ५:१९-२१) तर यहोवाको दृष्टिकोण थाह पाएर पनि प्रेतवादमा लागिरह्‍यौं भने चाहिं हामी वास्तवमा ती विरोधी स्वर्गदूतहरूसित लागेका हुनेछौं। हामी परमेश्‍वरका दुश्‍मन बन्‍नेछौं।—१ शमूएल १५:२३; १ इतिहास १०:१३, १४; भजन ५:४.

१०. शकुनविद्या के हो र हामी त्यसबाट किन टाढै बस्नुपर्छ?

१० प्रेतवादको एउटा लोकप्रिय भाग शकुनविद्या हो। यसबाट मानिसहरूले भविष्य अथवा अज्ञात कुराहरू प्रेतहरूको मददद्वारा थाह लाउन खोज्छन्‌। यसका केही रूपहरू हुन्‌ ज्योतिषविद्या, गोलाकार काँचलाई हेर्नु, हस्तरेखा शास्त्र, सपनाको अर्थ लाउने र ताशको प्रयोगद्वारा जोखना हेर्ने चलन। धेरैको विचारमा शकुनविद्या अहानिकारक तथा रमाइलो खेल हो। तर बाइबलअनुसार शकुनविद्याशास्त्रीहरू र दुष्टात्माहरूबीच नजीकको सम्बन्ध छ। उदाहरणको लागि, “जोखना हेर्ने विद्या भएकी” एउटी केटीको चर्चा प्रेरित १६:१६-१९ मा गरिएको छ। तर तिनमा बास गर्ने “दुष्टात्मालाई” हटाएपछि तिनले उप्रान्त भावी बताउन सकिनन्‌। स्पष्टतः शकुनविद्या प्रेतहरूको एउटा पासो हो जसबाट तिनीहरूले मानिसहरूलाई आफ्नो जालमा फसाउन खोज्छन्‌।

११. मृतकहरूसित कुरा गर्न खोज्दा मान्छे किन जालमा फस्नसक्छ?

११ तपाईं आफ्नो परिवारको कुनै प्रिय सदस्य अर्थात्‌ घनिष्ठ मित्रको मृत्यु भएकोमा शोकित हुनुहुन्छ भने, तपाईंलाई प्रेतहरूले सजिलैसित एउटा अर्को पासोमा फसाउनसक्छन्‌। सम्भवतः प्रेतहरूको कुनै माध्यमले तपाईंलाई विशेष जानकारी दिनसक्छ अथवा मरेको व्यक्‍तिको जस्तै आवाज बनाएर तपाईंसित कुरा गर्नसक्छ। यस्तो भएमा होशियार! मरेको मान्छेसित कुरा गर्न खोज्दा तपाईं जालमा फस्नुहुन्छ। तर किन? किनभने मृत मानिस बोल्न सक्दैन। मानिस मर्दा ऊ “माटैमा मिलिहाल्छ; त्यही दिन [उसका] युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” परमेश्‍वरको वचनको यो स्पष्ट व्याख्या तपाईंलाई यादै होला। “मरेकाहरूले त केही पनि जान्दैनन्‌।” (भजन १४६:४; उपदेशक ९:५, १०) यसबाहेक, मृत जनको आवाज नकल गर्दै प्रेतवादको कुनै माध्यमलाई मृतकबारे जानकारी दिने काम वास्तवमा प्रेतहरूले नै गर्छन्‌। (१ शमूएल २८:३-१९) तसर्थ, “मसान जगाउन खोज्ने” सबै जना दुष्टात्माहरूको जालमा फस्छन्‌। तिनीहरू यहोवा परमेश्‍वरको इच्छा विपरीत काम गर्छन्‌।—व्यवस्था १८:११, १२; यशैया ८:१९.

पहिले आकर्षण अनि आक्रमण

१२, १३. प्रेतहरूले मानिसहरूलाई लोभ्याउने तथा हैरान पार्ने प्रयास निरन्तर कायम राख्छन्‌ भनी किन भन्‍न सकिन्छ?

१२ प्रेतवादसम्बन्धी परमेश्‍वरको वचनमा उल्लिखित सल्लाह मान्‍नुभयो भने, प्रेतहरूको प्रलोभनलाई तपाईं तिरस्कार गर्नु हुनेछ। (भजन १४१:९, १० तुलना गर्नुहोस्‌; रोमी १२:९) तर यसो गर्नासाथै दुष्टात्माहरूले तपाईंलाई तिनीहरूको कब्जामा पार्ने प्रयास गर्न चटक्क छाडिहाल्ने छन्‌ र? छाड्‌ने छैनन्‌! येशूलाई तीन तीनपटक परीक्षा गरी सकेपछि पनि शैतानले येशूलाई “केही समयसम्म[का]” लागि मात्र “छाडेर गयो।” (लूका ४:१३) यस्तै प्रकार, अटेर दुष्टात्माहरूले मानिसहरूलाई आकर्षित मात्र होइन आक्रमण पनि गर्छन्‌।

१३ केही समयअघि हामीले परमेश्‍वरको सेवक अय्यूबमाथि शैतानको आक्रमणबारे पढ्यौं। त्यस आक्रमणको दौडान दियाबलले अय्यूबको गाईवस्तुको नोक्सान गऱ्‍यो तथा उनका धेरैजसो नोकरहरू र जम्मै छोराछोरीलाई माऱ्‍यो। त्यसले स्वयं अय्यूबलाई पीडादायी रोगको शिकार बनायो। तापनि अय्यूबले परमेश्‍वरप्रति आफ्नो निष्ठा कायम राखे। उनी अन्ततः ठूलो आशिष्‌को पात्र भए। (अय्यूब १:७-१९; २:७, ८; ४२:१२) त्यस समयदेखि प्रेतहरूले अझ अन्य मानिसहरूलाई लाटो अथवा अन्धो तुल्याइ दिएका छन्‌। ती प्रेतहरूले मानिसहरूको दुःखमा आनन्द लिन छाडेका छैनन्‌। (मत्ती ९:३२, ३३; १२:२२; मर्कूस ५:२-५) प्राप्त विवरणअनुसार प्रेतहरूले केही मानिसहरूलाई लैंगिक तवरमा दुःख दिन्छ र केहीलाई चाहिं बौलाहासमेत पारिदिएका छन्‌। तिनीहरूले कतिलाई परमेश्‍वरको विरुद्धमा पाप गर्न अर्थात्‌ अर्काको ज्यान लिन र आत्महत्यासमेत गर्न उस्काउँछन्‌। (व्यवस्था ५:१७; १ यूहन्‍ना ३:१५) तापनि, एकताका यी दुष्टात्माहरूको जालमा फसेका हजारौं मानिसहरू आज मुक्‍त भएका छन्‌। तर कसरी? तिनीहरूले केही ठोस कदमहरू चाले।

दुष्टात्माहरूको विरोध कसरी गर्ने

१४. प्रथम शताब्दीय एफिसी मसीहीहरूको उदाहरण अनुकरण गर्दै तपाईं दुष्टात्माहरूको विरोध कसरी गर्न सक्नुहुन्छ?

१४ दुष्टात्माहरूको विरोध गर्दै तिनीहरूको जालबाट आफू तथा आफ्नो परिवारलाई बचाउने एउटा उपाय के हो? एफिससका प्रथम शताब्दीय मसीहीहरूले विश्‍वासमा आउनअघि प्रेतवादमा भाग लिन्थे। तर विश्‍वासमा आएपछि चाहिं तिनीहरूले केही ठोस कदमहरू चाले। “तिनीहरूमध्ये धेरै जना, जस जसले टुना-मुना गर्थे, आफ्ना आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामु जलाइ दिए।” (प्रेरित १९:१९) सायद, तपाईंले प्रेतवादमा कहिल्यै भाग लिनुभएको छैन होला। तापनि, प्रेतवादसित अलिकता पनि सम्बन्ध भएको सबै थोक अर्थात्‌ पुस्तक, पत्रिका, भिडिओ, नक्शा, रिकर्ड गरिएको संगीत तथा प्रेतवादसम्बन्धी कार्यहरूमा चलाउने सामानहरू जम्मै नष्ट गर्नुहोस्‌। उक्‍त सरसामानहरूमा मूर्तिहरू, सुरक्षाका लागि लगाइने जन्तरहरू अथवा प्रेतवादमा भाग लिने मानिसहरूले दिएका कोसेलीहरू पनि समाविष्ट छन्‌। (व्यवस्था ७:२५, २६; १ कोरिन्थी १०:२१) उदाहरणका लागि, थाइलैण्डमा एउटा विवाहित दम्पती प्रेतहरूको आक्रमणबाट धेरै समयदेखि पीडित थिए। अतः तिनीहरूले प्रेतवादसम्बन्धी सबै थोक फालिदिए। परिणाम? तिनीहरू प्रेतहरूको आक्रमणबाट मुक्‍त भए। तिनीहरूले राम्ररी आध्यात्मिक प्रगति गर्न सके।

१५. दुष्टात्माहरूको विरोध गर्दा हामीले चाल्नुपर्ने एउटा अर्को आवश्‍यक कदम के हो?

१५ दुष्टात्माहरूको विरोध गर्ने अर्को उपाय प्रेरित पावलको सल्लाह अनुसार ईश्‍वरप्रदत्त पूरा आत्मिक हातहतियार धारण गर्नु हो। (एफिसी ६:११-१७) दुष्टात्माहरूको सामना गर्न मसीहीहरूले आफूलाई सकेसम्म बलियो पार्नुपर्छ। यसमा कुन कुन कुरा समावेश छन्‌? पावलले यसो भने: “विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निवाण निभाउनसक्ने हुनेछौ।” तपाईंको विश्‍वास जति बलियो हुन्छ, दुष्टात्माहरूको विरोध गर्न तपाईं उति नै सक्षम हुनु हुनेछ।—मत्ती १७:१४-२०.

१६. तपाईंले आफ्नो विश्‍वासलाई कसरी बलियो पार्न सक्नुहुन्छ?

१६ तपाईं आफ्नो विश्‍वासलाई कसरी बलियो पार्न सक्नुहुन्छ? बाइबल अध्ययन गरेर अनि त्यसमा भएको सरसल्लाहलाई प्रयोगमा ल्याएर। तपाईंको विश्‍वास कतिको बलियो छ, त्यो त्यसको जगमाथि भर पर्छ र त्यसको जग हो परमेश्‍वरको ज्ञान। किनकि बाइबल अध्ययन गर्दै जानुहुँदा तपाईंले त्यसबाट लिनुभएको तथा गम्भीरतापूर्वक मनन गर्नुभएको ज्ञानद्वारा नै तपाईंको विश्‍वास बलियो हुँदै गयो, होइन र? (रोमी १०:१०, १७) निस्सन्देह, यसरी अध्ययन गर्दै जानुभयो र यहोवाका साक्षीहरूका सभाहरूमा नियमित तवरले उपस्थित हुने बानी बसाल्नुभयो भने तपाईंको विश्‍वास झन्‌ झन्‌ बलियो हुनेछ। (रोमी १:११, १२; कलस्सी २:६, ७) त्यसले तपाईंलाई प्रेतहरूको आक्रमणबाट पूर्णतः सुरक्षित राख्नेछ।—१ यूहन्‍ना ५:५.

१७. दुष्टात्माहरूको विरोध गर्दा अझ कुन कदमहरू चाल्न आवश्‍यक छन्‌?

१७ दुष्टात्माहरूको विरोध गर्ने अठोट गरेको व्यक्‍तिले अरू कुन कदमहरू चाल्नसक्छ? एफिसी मसीहीहरू बसेको शहर प्रेतवादले भरिभराउ थियो। तिनीहरूलाई सुरक्षाको खाँचो थियो। यसैकारण पावलले तिनीहरूलाई यसो भने: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समयमा आत्मामा प्रार्थना” गर। (एफिसी ६:१८) हामी पनि प्रेतहरूले भरिएको संसारमा बसेका छौं। ती दुष्टात्माहरूको विरोध गर्ने हो भने, परमेश्‍वरसित सुरक्षाको निम्ति जोडतोडले प्रार्थना गर्नु अत्यावश्‍यक छ। (मत्ती ६:१३) साथै मण्डलीका नियुक्‍त प्राचीनहरूको प्रार्थना तथा उनीहरूबाट पाइने आध्यात्मिक सहायता पनि धेरै नै मददकारी हुनसक्छ।—याकूब ५:१३-१५.

दुष्टात्माहरूको विरोध गर्न नछाड्‌नुहोस्‌

१८, १९. प्रेतहरूले फेरि सताउन थालेमा के गर्न सकिन्छ?

१८ तर यी सबै कदमहरू चालेर पनि केही व्यक्‍तिहरूलाई दुष्टात्माहरूले सताउन छाडेका छैनन्‌। उदाहरणका लागि, कोट डाभ्वा भन्‍ने ठाउँमा बस्ने एक जना व्यक्‍तिले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेपछि आफूसित भएका जम्मै जन्तरहरू नष्ट गरी दिए। त्यस उप्रान्त उनले राम्रो प्रगति गर्दै यहोवालाई आफ्नो जीवन समर्पण गरे र बप्तिस्मा पनि लिए। तर बप्तिस्मा लिएको एक हप्तापछि देखि नै प्रेतहरूले उनलाई सताउन थाले। उनलाई आफ्नो नयाँ धर्म त्याग्न उस्काउने आवाजहरू सुनिन थाल्यो। तपाईंलाई पनि यस्तो भएमा नि? के यसको अर्थ यहोवाले तपाईंको रक्षा गर्न छाड्‌नुभएको हो? होइन।

१९ किनकि सिद्ध पुरुष येशू ख्रीष्टसित ईश्‍वरीय सुरक्षा थियो। तापनि उहाँले दुष्ट आत्मिक व्यक्‍ति शैतानको आवाज सुन्‍नुभयो। तर यस्तो हुँदा के गर्नुपर्छ, त्यो पनि येशूले प्रदर्शित गर्नुभयो। उहाँले दियाबललाई यसो भन्‍नुभयो: “ए शैतान हटी जा!” (मत्ती ४:३-१०) यस्तैगरि तपाईंले पनि आत्मिक व्यक्‍तिहरूको आवाजलाई सुन्‍न इन्कार गर्नुपर्छ। दुष्टात्माहरूको विरोध गर्नुहोस्‌। यहोवालाई पुकार्दै मदद माग्नुहोस्‌। हो, परमेश्‍वरको नाउँ जोडसित उच्चारण गर्दै प्रार्थना गर्नुहोस्‌। हितोपदेश १८:१० भन्छ: “परमप्रभुको नाउँ एउटा बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।” कोट डाभ्वाको मसीहीले पनि यसै गरे र दुष्टात्माहरूले उनलाई सताउन छाडे।—भजन १२४:८; १४५:१८.

२०. सारांशमा, दुष्टात्माहरूको विरोध गर्न तपाईं के गर्न सक्नुहुन्छ?

२० हुन त यहोवाले दुष्टात्माहरूलाई रहिरहन दिनुभएको छ। तर उहाँले आफ्नो शक्‍ति पनि प्रदर्शित गर्नुहुन्छ। विशेषगरि आफ्ना जनहरूको खातिर। पृथ्वीभरि उहाँको नाउँको घोषणा पनि भइरहेको छ। (प्रस्थान ९:१६) तपाईं परमेश्‍वरको नजीक हुनुभयो भने, दुष्टात्माहरूसित भयभीत हुनु पर्दैन। (गन्ती २३:२१, २३; याकूब ४:७, ८; २ पत्रुस २:९) तिनीहरूको शक्‍ति सीमित छ। तिनीहरूले नूहको दिनमा दण्ड भोगे। तिनीहरू हालसालैमा स्वर्गबाट तल फ्याँकिए र अहिले भने अन्तिम न्याय कुरेर बसेका छन्‌। (यहूदा ६; प्रकाश १२:९; २०:१-३, ७-१०, १४) आफूमाथि आइपर्ने नाश सम्झेर वास्तवमा तिनीहरू स्वयं त्रसित छन्‌। (याकूब २:१९) यसकारण, दुष्टात्माहरूले चाहे तपाईंलाई लोभ्याउन खोजून्‌ अथवा तपाईंमाथि आक्रमण नै गरून्‌, तपाईं तिनीहरूको सामना गर्न सक्नुहुन्छ। (२ कोरिन्थी २:११) हरप्रकारको प्रेतवादबाट टाढा बस्नुहोस्‌। परमेश्‍वरको वचनमा उल्लिखित सल्लाह प्रयोगमा ल्याउनुहोस्‌। यहोवाको अनुमोदन प्राप्त गर्ने कोशिश गर्नुहोस्‌। यी सबै कुरा तुरुन्तै गर्न थाल्नुहोस्‌। किनकि दुष्टात्माहरूको विरोध गर्नमा तपाईंको जीवन निर्भर छ!

आफ्नो ज्ञान जाँच्नुहोस्‌

दुष्टात्माहरूले मानिसहरूलाई कसरी ठग्न खोज्छन्‌?

बाइबलले प्रेतवादको किन विरोध गर्छ?

दुष्टात्माहरूको फन्दाबाट मानिस कसरी मुक्‍त हुनसक्छन्‌?

तपाईंले दुष्टात्माहरूको निरन्तर विरोध किन गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ११०-मा भएको चित्र]

तपाईंले प्रेतवादका विभिन्‍न रूपलाई कुन दृष्टिले हेर्नुहुन्छ?