सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरका जनहरूबीच सुरक्षा पाउनुहोस्‌

परमेश्‍वरका जनहरूबीच सुरक्षा पाउनुहोस्‌

अध्याय १७

परमेश्‍वरका जनहरूबीच सुरक्षा पाउनुहोस्‌

कल्पना गर्नुहोस्‌, जोडदार आँधी चलेर तपाईं बस्ने इलाका तहसनहस भएको छ। तपाईंको घर भताभुङग छ। तपाईंको मालमत्ता छिन्‍नभिन्‍न भएका छन्‌। खाद्यान्‍नको ठूलो अभाव छ। स्थिति आशाहीन छ। तर अचानक, उद्धार सामग्रीहरू आउन थाल्छन्‌। प्रशस्त मात्रामा खानेकुरा तथा लताकपडा उपलब्ध हुन्छ। तपाईंका लागि एउटा नयाँ घर बनाइन्छ। यी सबै प्रबन्ध जुटाई दिने व्यक्‍तिप्रति तपाईं निस्सन्देह कृतज्ञ हुनुहुनेछ।

यस्तै कुरा आज भइरहेछ। आदम र हव्वाले गरेको विद्रोह आँधीजस्तै थियो। त्यसले गर्दा मानव परिवारको ठूलो क्षति भएको छ। मानिसजातिले आफ्नो प्रमोदवनरूपी घर गुमायो। मानवीय सरकारहरूले मानिसजातिलाई युद्ध, अपराध तथा अन्यायबाट बचाउनसकेका छैनन्‌। स्वस्थकर आध्यात्मिक भोजन नपाएर भोकभोकै बसेका मानिसहरूको भीडलाई धर्मले तृप्त पार्नसकेको छैन। तथापि यहोवा परमेश्‍वरले अब आध्यात्मिक तवरमा खानेकुरा, लाउने लुगा र आवास उपलब्ध गराउनु हुँदैछ। कसरी?

“विश्‍वासी र बुद्धिमान दास”

उद्धार सामग्रीहरू साधारणतः सङ्‌गठित माध्यमद्वारा उपलब्ध गराइन्छ। अतः यहोवाले पनि एउटा खास माध्यमद्वारा नै आफ्ना जनहरूलाई आध्यात्मिक मदद दिने प्रबन्ध गर्नुभएको छ। उदाहरणको लागि, इस्राएलीहरू करीब १,५०० वर्षसम्म “परमप्रभुको समुदाय” थिए। तिनीहरू मध्येका केही व्यक्‍तिहरू परमेश्‍वरको व्यवस्था सिकाउने माध्यमको रूपमा काम गर्थे। (१ इतिहास २८:८; २ इतिहास १७:७-९) सा.यु. प्रथम शताब्दीमा यहोवाले मसीही सङ्‌गठन स्थापित गर्नुभयो। मण्डलीहरू स्थापित भए। यी मण्डलीहरू प्रेरित तथा प्राचीनहरूले बनेको परिचालक निकायद्वारा निर्देशित हुन्थे। (प्रेरित १५:२२-३१) यस्तैगरि, यहोवाले आफ्ना जनहरूसित आज पनि एउटा सङ्‌गठित निकायद्वारा सम्पर्क राख्नुहुन्छ। यो हामी कसरी भन्‍नसक्छौं?

येशू राज्यशक्‍तिसहित उपस्थित हुने बेलामा “विश्‍वासी र बुद्धिमान दास[ले]” उहाँका अनुयायीहरूलाई “ठीकठीक समयमा खान” दिने गरिरहेको हुनेछ भनी येशू आफैले भन्‍नुभएको थियो। (मत्ती २४:४५-४७) येशू १९१४ मा राजा नियुक्‍त हुनुहुँदा उक्‍त “दास” हुने सौभाग्य कसले पायो? मसीहीजगतको पादरीवर्गले पाउने कुरै भएन। तिनीहरूले आफ्नै राष्ट्रिय सरकारको समर्थन गर्न उस्काउने अफवाह विशेषतः प्रथम विश्‍वयुद्धको दौडान आ-आफ्नो बगालको कानमा फुकेका थिए। तर सामयिक र स्वस्थकर आध्यात्मिक भोजन चाहिं परमेश्‍वरको पवित्र आत्माद्वारा अभिषिक्‍त साँचो मसीहीहरूको समूहद्वारा प्रसारित हुँदै थियो। यिनीहरू येशूले चर्चा गर्नुभएको “सानो बगाल[का]” भाग थिए। (लूका १२:३२) यी अभिषिक्‍त मसीहीहरूले मानवीय सरकारहरूबारे होइन तर परमेश्‍वरको राज्यबारे प्रचार गरे। फलतः बितेका वर्षहरूमा धार्मिक प्रवृत्ति भएका लाखौं “अरू भेडाहरू” यो अभिषिक्‍त “दास” सित मिलेर साँचो धर्मअनुसार हिंड्‌न अघि बढेका छन्‌। (यूहन्‍ना १०:१६) यो ‘विश्‍वासी दास’ र त्यसको वर्तमान परिचालक निकायद्वारा परमेश्‍वरले सबै इच्छुक मानिसहरूका लागि आध्यात्मिक भोजन, लुगा र आवास उपलब्ध गराउन आफ्ना सङ्‌गठित मानिसहरूलाई चलाउनु हुँदैछ।

“ठीकठीक समयमा खाना”

येशूले भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४) तर दुःखको कुरा, आज धेरैजसो मानिसहरूले परमेश्‍वरको वाणीलाई ध्यान दिएका छैनन्‌। यहोवाका अगमवक्‍ता आमोसले भविष्याणी गरेझैं “अनिकाल नता अन्‍नको न पानीको हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्णाको अनिकाल” लागेको छ। (आमोस ८:११) धार्मिक प्रवृत्ति भएका मानिसहरूसमेत आध्यात्मिक तवरमा भोका छन्‌। तर यहोवाको इच्छा “सबै मानिसहरूले उद्धार” पाऊन्‌ र तिनीहरूले “सत्यको ज्ञान” हासिल गरून्‌ भन्‍ने हो। (१ तिमोथी २:३, ४) यसै इच्छाअनुरूप उहाँले प्रशस्त मात्रामा आध्यात्मिक भोजन उपलब्ध गराउनु हुँदैछ। तर त्यो भोजन कहाँ पाइन्छ?

इतिहासभरि यहोवाले आफ्ना मानिसहरूलाई सामूहिक तवरमा आध्यात्मिक भोजन दिंदै आउनुभएको छ। (यशैया ६५:१३) उदाहरणको लागि, इस्राएली पूजाहारीहरूले पुरुष, स्त्री तथा केटाकेटीहरूलाई जम्मा गरेर सामूहिक रूपमा परमेश्‍वरको व्यवस्था सिकाउने गर्थे। (व्यवस्था ३१:९, १२) परिचालक निकायको निर्देशनअन्तर्गत प्रथम शताब्दीय मसीहीहरूले पनि मण्डलीहरू सङ्‌गठित गरे। सबैलाई उपदेश तथा प्रोत्साहन प्रदान गर्न सभाहरूको व्यवस्था मिलाए। (रोमी १६:५; फिलेमोन १, २) आज यहोवाका साक्षीहरूले सोही उदाहरणको अनुकरण गर्छन्‌। तिनीहरूका जम्मै सभाहरूमा उपस्थित हुन तपाईंलाई हार्दिक आमन्त्रण गरिन्छ।

हुन त तपाईंले आफ्नो व्यक्‍तिगत बाइबल अध्ययनद्वारा धेरै कुरा सिकी सक्नुभएको होला। यसमा शायद तपाईंलाई कुनै साक्षीले मदद दिएको हुनसक्छ। (प्रेरित ८:३०-३५) तर तपाईंको विश्‍वास बिरुवाजस्तो हो। त्यसको सुहाउँदो हेरचाह नगरेमा त्यो ओइलाएर मर्छ। यसप्रकार तपाईंलाई पनि आध्यात्मिक पोषणको खाँचो छ। (१ तिमोथी ४:६) सोही पोषण दिने उद्देश्‍यले मसीही सभाहरू आयोजित हुन्छन्‌। यी सभाहरूमा निरन्तर उपलब्ध हुने शिक्षाद्वारा तपाईंको ईश्‍वरीय ज्ञान तथा विश्‍वास दुवै बढ्‌नेछ।—कलस्सी १:९, १०.

तर सभाहरूद्वारा एउटा अर्को महत्त्वपूर्ण उद्देश्‍य पनि पूरा हुन्छ। यसबारे पावलले लेखे: “औ प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरून्‌। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोडौं।” (हिब्रू १०:२४, २५) यहाँ “उत्तेजित” भनी अनुवादित युनानी शब्दको अर्थ “उध्याउनु” पनि हुनसक्छ। बाइबलको एउटा हितोपदेशअनुसार: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) हामी सबै नै समय समयमा ‘तिखारिनु’ पर्छ। नत्र भने दिनहुँ आइपर्ने सांसारिक दबाबहरूको कारण हाम्रो विश्‍वास बोधो बन्‍नसक्छ। मसीही सभाहरूमा उपस्थित हुँदा त्यहाँ प्रोत्साहनको आदन प्रदान हुन्छ। (रोमी १:११, १२) “एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर” भनी प्रेरित पावलले दिएको उपदेशलाई मण्डलीका सदस्यहरूले प्रयोगमा ल्याउँछन्‌। सो गर्दा हाम्रो विश्‍वास मानौं उध्याइन्छ अर्थात्‌ अझ तिखारिन्छ। (१ थिस्सलोनिकी ५:११) नियमित रूपले मसीही सभाहरूमा उपस्थित हुँदा हामी परमेश्‍वरप्रति प्रेम प्रदर्शित गर्छौं र उहाँको प्रशंसा गर्ने मौका पनि पाउँछौं।—भजन ३५:१८.

“प्रेम धारण गर”

पावलले लेखे: “प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” (कलस्सी ३:१४) यो पहिरन यहोवाले उदारतासाथ हामी सबैका लागि उपलब्ध गराउनुभएको छ। कुन अर्थमा? प्रेम यहोवाको पवित्र आत्माको ईश्‍वरप्रदत्त फल हो र यसको प्रदर्शन मसीहीहरूले गर्नसक्छन्‌। (गलाती ५:२२, २३) प्रेमको सबैभन्दा महान्‌ प्रदर्शन यहोवा स्वयंले गर्नुभएको छ। हामीलाई अनन्त जीवन पाउन सम्भव होस्‌ भनेर उहाँले आफ्नो एक मात्र पुत्र पठाउनुभयो। (यूहन्‍ना ३:१६) प्रेमको यो सर्वोत्कृष्ट प्रदर्शन हाम्रोनिम्ति अनुकरणीय आदर्शको रूपमा खडा छ। “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभए पछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ” भनी प्रेरित यूहन्‍नाले लेखे।—१ यूहन्‍ना ४:११.

१० राज्य-भवनमा सभाहरू धाउने गर्नु हुँदा प्रेम प्रदर्शित गर्ने उत्तम मौका पाइन्छ। त्यहाँ विभिन्‍न प्रकारका मानिसहरूसित तपाईंको भेट हुन्छ। तीमध्ये धेरै जनाप्रति तपाईं तुरुन्तै आकर्षित हुनुहुनेछ। तर यहोवाको सेवा गर्दैमा सबैको व्यक्‍तित्व एकै प्रकारको हुँदैन। सायद पहिले पहिले तपाईं आफ्नोभन्दा बेग्लै रुचि हुने व्यक्‍तिहरूदेखि अलग्गै बस्नुहुन्थ्यो होला। तर मसीहीहरूले भने आफ्ना ‘सारा भाइ-बन्धुहरूलाई प्रेम’ गर्नुपर्छ। (१ पत्रुस २:१७) अतः राज्य-भवनमा बेग्लै उमेर, व्यक्‍तित्व, जात तथा शैक्षिकस्तर हुने व्यक्‍तिहरूसित चिनजान बढाउने लक्ष्य राख्नुहोस्‌। तिनीहरू प्रत्येकमा तपाईंले सम्भवतः एउटा न एउटा मनपर्दो गुण भेट्टाउनुहुनेछ।

११ मण्डलीमा व्यक्‍तित्वको विविधता देखेर तपाईं विचलित हुनु पर्दैन। कल्पना गर्नुहोस्‌, सडकमा तपाईंको दायाँ-बायाँ थुप्रै मोटरहरू दगुरिरहेछन्‌। सबैको गति एउटै छैन। नता सबैको अवस्था एउटै छ। केही मोटरले थुप्रै मिल यात्रा गरिसकेका छन्‌ भने कुनै कुनैले तपाईंले जस्तै भर्खर मात्र यात्रा शुरू गरेका छन्‌। तर यी भिन्‍नताहरूको बावजूद सडकमा सबै नै कुदिरहेका छन्‌। मण्डलीका सदस्यहरू पनि यस्तै हुन्‌। सबैले मसीही गुणहरूको विकास एउटै समयावधिभित्र गर्दैनन्‌। सबै जनाको शारीरिक तथा भावनात्मक स्थिति एउटै हुँदैन। कसै कसैले धेरै वर्षदेखि यहोवाको उपासना गर्दै आएका छन्‌ भने कसैले चाहिं भर्खर मात्र शुरू गरेका छन्‌। तापनि सबै जना अनन्त जीवनतर्फ लैजाने मार्गमा हिंडिरहेछन्‌। सबै जना “एकै मन र एकै विचारमा सिद्ध भएका” छन्‌। (१ कोरिन्थी १:१०) यसकारण कमजोरीहरू खोज्दै हिंड्‌नुभन्दा राम्रा राम्रा गुणहरूमाथि ध्यान केन्द्रित गर्नुहोस्‌। सो गर्नुभयो भने तपाईंको हृदय न्यानो प्रेमले भरिनेछ। यी मानिसहरूबीच वास्तवमा परमेश्‍वर हुनुहुन्छ भनी तपाईंले महसुस गर्नुहुनेछ। तपाईं यिनीहरूकै माझमा बस्न इच्छुक हुनुहुनेछ।—१ कोरिन्थी १४:२५.

१२ सबै मानिस असिद्ध भएको हुनाकारण मण्डलीमा पनि कसैले तपाईंको चित्त दुखाउने कुरा भन्‍न अथवा गर्नसक्छ। (रोमी ३:२३) यसबारे चेला याकूबले यो व्यवहारिक दृष्टिकोण अपनाएको हामी पढ्‌छौं: “किनभने धेरै कुरामा हामी चुक्‍तछौं। जो मानिस वचनमा चुक्‍तैन, त्यो . . . सिद्ध मानिस हुन्छ।” (याकूब ३:२) कसैले तपाईंको चित्त दुखाएमा तपाईंको प्रतिक्रिया कस्तो हुनेछ? बाइबलको एउटा हितोपदेश भन्छ: “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” (हितोपदेश १९:११) चतुर मान्छेले परिस्थितिको गहिराइसम्म हेर्ने गर्छ। कसैको बोली वा काम गर्ने ढङ्‌गको भित्री कारणलाई नियालेर हेर्न खोज्छ। हामी अक्सर आफ्नै गल्तीहरूप्रति मात्र यस्तो दृष्टिकोण अपनाउने गर्छौं। तर अब भने सोही दृष्टिकोण अरूको पनि असिद्धतालाई ढाक्न तथा बुझ्न अपनाउन सकिन्छ कि?—मत्ती ७:१-५; कलस्सी ३:१३.

१३ कहिल्यै नबिर्सनुहोस्‌, हामी यहोवाबाट माफी चाहन्छौं भने हामीले पनि अरूलाई माफ दिनुपर्छ। (मत्ती ६:९, १२, १४, १५) हामी सत्य अनुसार हिंड्‌दैछौं भने हामीले अरूसित प्रेमपूर्वक व्यवहार गर्नुपर्छ। (१ यूहन्‍ना १:६, ७; ३:१४-१६; ४:२०, २१) अतः मण्डलीको एक जना व्यक्‍तिसित कुनै कुरामा तपाईंको अमेल भयो भने सकेसम्म इबी नराख्नुहोस्‌। प्रेम धारण गर्नुभएको छ भने, सो समस्याको समाधान गर्ने कोशिश गर्नुहोस्‌। दोष आफ्नै हो भने माफी माग्न नहिचकिचाउनुहोस्‌।—मत्ती ५:२३, २४; १८:१५-१७.

१४ हाम्रो आध्यात्मिक पहिरन प्रेमसित सम्बन्धित अन्य अरू गुणहरूको धागोले बुनेको हुनुपर्छ। पावलले यसप्रकार लेखेका छन्‌: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” प्रेमको घेराभित्र पलाउने यी गुणहरू ईश्‍वरीय “नयाँ चोला[का]” अभिन्‍न भाग हुन्‌। (कलस्सी ३:१०, १२) यी गुणहरू धारण गर्न के तपाईं प्रयास गर्नुहुनेछ? विशेषतः भ्रातृस्नेह धारण गर्नुभयो भने येशूका चेलाहरूमा हुनुपर्ने चिन्ह तपाईंमा हुनेछ। किनकि स्वयं उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३५.

सुरक्षास्थल

१५ मण्डली सुरक्षास्थल पनि हो। त्यो एउटा शरणस्थान हो जहाँ तपाईं सुरक्षा महसुस गर्न सक्नुहुन्छ। त्यहाँ तपाईंको भेट निष्कपट मानिसहरूसित हुन्छ जसले परमेश्‍वरको नजरमा स्वीकार्य काम गर्ने कोशिश गर्दै छन्‌। तीमध्ये धेरै जना उही खराब आनीबानी तथा मनोवृत्तिबाट मुक्‍त भएका छन्‌ जससँग सम्भवतः आज तपाईं सङ्‌घर्ष गर्नु हुँदैछ। (तितस ३:३) ती मानिसहरूले तपाईंलाई मदद दिनसक्छन्‌ किनभने “एउटाले अर्कोको भार उठाऊ” भनी शास्त्रमा आग्रह गरिएको छ। (गलाती ६:२) तर अनन्त जीवनतर्फ लैजाने मार्ग पछ्याउने नपछ्याउने, त्यो तपाईं आफैले उठाउनुपर्ने जिम्मेवारी हो। (गलाती ६:५; फिलिप्पी २:१२) तापनि, सो जिम्मेवारी उठाउने ठूलो मदद तथा आड यहोवाले मसीही मण्डलीद्वारा दिनुहुन्छ। तपाईंका समस्याहरू अति नै सङ्‌कष्टमय किन नहोस्‌, तपाईंसित बहुमूल्य साधन अर्थात्‌ एउटा प्रेमपूर्ण मण्डली छ जसले तपाईंलाई हर दुःख अथवा खाँचोको समयमा साथ दिनेछ।—लूका १०:२९-३७ तुलना गर्नुहोस्‌; प्रेरित २०:३५.

१६ हामीलाई “वरदान[को]” रूपमा अझ अन्य “मानिसहरू” पनि दिइएको छ। यिनीहरू तपाईंको मदद गर्न सधैं तयार हुन्छन्‌। यी हुन्‌ मण्डलीका नियुक्‍त प्राचीन तथा निरीक्षकहरू जसले स्वेच्छा तथा उत्सुकतासाथ बगालको हेरचाह गर्छन्‌। (एफिसी ४:८, ११, १२; प्रेरित २०:२८; १ पत्रुस ५:२, ३) यिनीहरूबारे यशैयाले यो भविष्यवाणी गरेका थिए: “औ प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाँजस्तै हुनेछ।”—यशैया ३२:२.

१७ येशू पृथ्वीमा हुनुहुँदा त्यतिखेरका धार्मिक गुरुहरूले प्रेमपूर्वक मानिसहरूको हेरचाह गरेका थिएनन्‌। आमजनताको अवस्था देखेर येशू द्रवित हुनुभयो। उहाँ तिनीहरूलाई विशेषतः आध्यात्मिक मदद दिन चाहनुहुन्थ्यो। तिनीहरू “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर” भएको देखेर येशूको हृदय दयाले भरियो। (मत्ती ९:३६) त्यस्तैगरि आज पनि धेरैले सङ्‌कष्टपूर्ण समस्याहरूको सामना गर्दैछन्‌। आध्यात्मिक मदद तथा सान्त्वना दिने तिनीहरूको कोही छैन। तर यहोवाका जनहरूले भने आध्यात्मिक मदद पाइरहेछन्‌। किनभने स्वयं यहोवाले यो प्रतिज्ञा गर्नुभएको थियो: “म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु जसले तिनीहरूको हेरचाह गर्नेछन्‌, तब तिनीहरू नता डराउनेछन्‌, न घबराउनेछन्‌, न तिनीहरूमध्ये कोही हराउनेछ।”—यर्मिया २३:४.

१८ मण्डलीका नियुक्‍त प्राचीनहरूसित चिनजान बढाउनुहोस्‌। उनीहरू परमेश्‍वरको ज्ञान प्रयोगमा ल्याउन निकै पोख्त हुन्छन्‌। निरीक्षकहरूका लागि बाइबलमा प्रस्तुत आवश्‍यकताहरूलाई उनीहरूले पूरा गरेका छन्‌। (१ तिमोथी ३:१-७; तितस १:५-९) परमेश्‍वरको नियमसित मेल नखाने बानी अथवा दुर्गुण छाड्‌न तपाईंलाई आध्यात्मिक मददको खाँचो छ भने, कुनै एक जना प्राचीनसित सम्पर्क राख्न नहिचकिचाउनुहोस्‌। यसो गर्नुभयो भने, उनीहरूले प्रेरित पावलको यो सल्लाह प्रयोगमा ल्याएको तपाईंलाई महसुस हुनेछ: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ।”—१ थिस्सलोनिकी २:७, ८; ५:१४.

यहोवाका जनहरूबीच सुरक्षित हुनुहोस्‌

१९ हामी आज त्रुटियुक्‍त परिस्थितिहरूमा बाँच्नु परे तापनि, यहोवाले हाम्रोलागि आध्यात्मिक भोजन, लाउने लुगा तथा आवास उपलब्ध गराइ दिनुभएको छ। हुन त परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसार नआऊञ्जेल हामीले शारीरिक प्रमोदवनका लाभहरू उठाउन सक्दैनौं। तर यहोवाको सङ्‌गठनमा सामेल हुने आज सबै जनाले आत्मिक प्रमोदवनको सुरक्षा चाहिं अनुभव गर्न थालिसकेका छन्‌। तिनीहरूबारे इजकिएलले यो भविष्यवाणी गरेका थिए: “तिनीहरू भयहीन भएर बस्नेछन्‌। तिनीहरूलाई झस्काउने कोही हुनेछैन।”—इजकिएल ३४:२८; भजन ४:८.

२० यहोवाले उहाँको वचन तथा सङ्‌गठनद्वारा मायालु आध्यात्मिक मदद जुटाइ दिनुभएकोमा हामी कति कृतज्ञ छौं! परमेश्‍वरका जनहरूको नजीक हुनुहोस्‌। परमेश्‍वरको ज्ञान लिंदा मित्रहरू तथा नातेदारहरूले के भन्लान्‌ भनी डराउँदै पछि नहट्‌नुहोस्‌। तपाईं यहोवाका साक्षीहरूसित सङ्‌गत गर्नुभएकोमा अथवा तिनीहरूका सभाहरू धाउनुभयो भनेर केही मित्र तथा नातेदारहरू अप्रसन्‍न हुनसक्छन्‌। तर परमेश्‍वरको उपासनाको खातिर गरिएको हर त्यागबापत परमेश्‍वरले तपाईंलाई प्रशस्त गरी पुरस्कृत गर्नुहुनेछ। (मलाकी ३:१०) स्वयं येशूले भन्‍नुभएको थियो: “जसले मेरो खातिर र सुसमाचारको खातिर घर, कि दाज्यू-भाइ, कि दिदी-बहिनी, कि जग्गा-जमीन छोड्‌छ, त्यसले खेदोको साथसाथ सय गुणा बढ्‌ता घरहरू, र दाज्यू-भाइहरू, र दिदी-बहिनीहरू र आमाहरू, र बालकहरू र जग्गा-जमीन अहिले यही समयमा पाउनेछ र आउँदो जगत्‌मा अनन्त जीवन।” (मर्कूस १०:२९, ३०) हो, तपाईंले जति नै ठूलो त्याग अर्थात जस्तोसुकै क्लेश सहनु परे तापनि, तपाईंले परमेश्‍वरका जनहरूबीच आनन्दमय सङ्‌गति तथा आत्मिक सुरक्षा पाउन सक्नुहुन्छ।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

“विश्‍वासी र बुद्धिमान दास” को हो?

हामीलाई आध्यात्मिक भोजन खुवाउन यहोवाले के प्रबन्ध मिलाउनुभएको छ?

मसीही मण्डलीमा हुनेहरूले हामीलाई के मदद दिनसक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

१, २. मानिसजातिको परिस्थिति आँधी-बेह्रीग्रस्त इलाकामा बस्ने मानिसहरूको जस्तो किन छ?

३. यहोवाले मानिसजातिका लागि कसरी मदद उपलब्ध गराउनुहुन्छ र यसको पुष्टि दिने के उदाहरणहरू छन्‌?

४. आधुनिक समयमा “विश्‍वासी र बुद्धिमान दास” हुने सुअवसर कसले पाएका छन्‌ र परमेश्‍वरको तर्फबाट अनेक प्रकारको आध्यात्मिक मदद कसरी उपलब्ध गराइँदैछ?

५. आज संसारको आध्यात्मिक परिस्थिति कस्तो छ तर यहोवाले यसबारे के गर्नु हुँदैछ?

६. बितेका समयहरूमा यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा कसरी खुवाउनुभयो?

७. हाम्रो ज्ञान तथा विश्‍वाससित मसीही सभाहरूमा नियमित उपस्थिति कसरी सम्बन्धित छ?

८. यहोवाका साक्षीहरूका सभाहरूमा उपस्थित हुन हामीलाई किन प्रोत्साहित गरिन्छ?

९. प्रेम प्रदर्शन गर्ने सन्दर्भमा यहोवा स्वयं कसरी आदर्श हुनुभएको छ?

१०. “सारा भाइ-बन्धुहरू[को]” सङ्‌गतिबाट हामी कसरी लाभ उठाउनसक्छौं?

११. यहोवाका जनहरूबीच विभिन्‍न प्रकारका व्यक्‍तित्वहरू देखेर तपाईं किन विचलित हुनु हुँदैन?

१२, १३. (क) मण्डलीमा कसैले तपाईंको चित्त दुखायो भने तपाईं के गर्न सक्नुहुन्छ? (ख) मनमा इबी राख्नु किन उचित होइन?

१४. हामीले के कस्ता गुणहरू धारण गर्नुपर्छ?

१५. मण्डली कुन अर्थमा एउटा सुरक्षास्थलजस्तो हो?

१६. मण्डलीका प्राचीनहरूले के मदद दिन्छन्‌?

१७. (क) येशू विशेषतः कुन प्रकारको मदद दिन इच्छुक हुनुहुन्थ्यो? (ख) परमेश्‍वरले आफ्ना जनहरूका लागि के प्रबन्ध मिलाउने प्रतिज्ञा गर्नुभएको थियो?

१८. आध्यात्मिक मदद चाहिएमा हामीले कुनै एक जना प्राचीनसित किन सम्पर्क राख्नुपर्छ?

१९. यहोवाले उहाँको सङ्‌गठनभित्र सुरक्षा खोज्नेहरूमाथि के आशिष्‌ बर्साउनुभएको छ?

२०. यहोवाको उपासनाका लागि गरिएको जस्तोसुकै त्यागबापत उहाँले हामीलाई कसरी पुरस्कृत गर्नुहुनेछ?

[पृष्ठ १६५-मा भएको पृष्ठभरिको चित्र]