सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको ज्ञान प्रकाश पार्ने पुस्तक

परमेश्‍वरको ज्ञान प्रकाश पार्ने पुस्तक

अध्याय २

परमेश्‍वरको ज्ञान प्रकाश पार्ने पुस्तक

१, २. हामीलाई हाम्रो सृष्टिकर्ताको निर्देशन किन चाहिन्छ?

 हाम्रो मायालु सृष्टिकर्ताले मानिसजातिलाई उपदेश र निर्देशनको पुस्तक निश्‍चय दिनुभएको हुनुपर्छ। र यस्तो निर्देशन मानिसजातिलाई चाहिन्छ भनेर के तपाईं सहमत हुनुहुन्‍न?

करिब २,५०० वर्षअघि एक जना अगमवक्‍ता तथा इतिहासकारले यसप्रकार लेखे: “मानिसहरूको मार्ग त्यो आफैमा छैन।” (यर्मिया १०:२३) यो अभिव्यक्‍ति पहिलेभन्दा आज पूर्णतः सत्य साबित भएको छ! शिकागो विश्‍वविद्यालय, इतिहास विभागका भूतपूर्व अध्यक्ष, प्राध्यापक विलियम एच. मकनील यसो भन्छन्‌: “मानव परिवारले यस ग्रहमा एकपछि अर्को संकट र सामाजिक उथलपुथल प्रायः अटुट रीतिले अनुभव गर्दै आएको छ।”

३, ४. (क) हामीले बाइबल अध्ययनप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (ख) हामी बाइबलको जाँच कुन क्रमानुसार गर्नेछौं?

बाइबलले हामीलाई चाहिए जति सबै नै बुद्धिमत्तापूर्ण निर्देशन दिन्छ। तर प्रथम पटक बाइबल जाँच गर्न थाल्दा धेरै जना आतिन्छन्‌। किनकि एक त यो पुस्तक ठूलो छ र यसका केही भागहरू त्यति सजिलै गरी बुझ्न पनि सकिंदैन। तथापि, कुनै बहुमूल्य सम्पत्ति हासिल गर्न के गर्नुपर्छ, सो बताउने कानुनी पुर्जी पाउनुहुँदा के तपाईं त्यसलाई सावधानीपूर्वक समय लगाएर पढ्‌नुहुन्‍न? पुर्जीका केही भागहरू बुझ्न गाह्रो भए, तपाईंले सम्बन्धित विषयमा अनुभवी कुनै मानिसको मदतसमेत लिनुहुनेछ। अब बाइबलप्रति पनि यस्तै विचार किन नअपनाउने? (प्रेरित १७:११) यहाँ भौतिक सम्पत्तिभन्दा अझ धेरै नै ठूलो कुरा विथोलित छ। हामीले अघिल्लो अध्यायमा देखिसक्यौं, परमेश्‍वरको ज्ञानले हामीलाई अनन्त जीवनतर्फ लैजानसक्छ।

अतः आउनुहोस्‌, हामी परमेश्‍वरको ज्ञान प्रकाश पार्ने पुस्तक जाँच गरौं। प्रथमतः हामी बाइबलको रूपरेखा संक्षिप्तमा प्रस्तुत गर्नेछौं। त्यसपछि जान्‍नेसुन्‍ने थुप्रै मानिसहरूले यसलाई परमेश्‍वरको प्रेरित वचन किन मान्छन्‌, यसका केही कारणहरू छलफल गर्नेछौं।

बाइबलमा के छ

५. (क) हिब्रू शास्त्रमा के पाइन्छ? (ख) युनानी शास्त्रमा के छ?

बाइबलका ६६ पुस्तकहरू दुई भागमा विभाजित छन्‌। अक्सर, एक भागलाई पुरानो नियम र अर्कोलाई नयाँ नियम भनिन्छ। बाइबलका ३९ पुस्तकहरू विशेषतः हिब्रूमा र २७ पुस्तकहरू चाहिं युनानीमा लेखिएका थिए। हिब्रू शास्त्र अर्थात्‌ उत्पत्तिदेखि मलाकीसम्मका पुस्तकहरूमा सृष्टिको विवरण तथा मानव इतिहासका प्रथम ३,५०० वर्षहरू छलफल गरिएको छ। बाइबलको यस भागलाई जाँच्दा, सा.यु.पू. १६ औं शताब्दीमा इस्राएलीजातिको शुरूआत देखि सा.यु.पू. ५ औं शताब्दीसम्म परमेश्‍वरले तिनीहरूसित गर्नुभएको व्यवहारबारे सिक्छौं। a युनानी शास्त्रका मत्तीदेखि प्रकाशसम्मका पुस्तकहरूले चाहिं सा.यु. प्रथम शताब्दीमा येशू ख्रीष्ट र उहाँका अनुयायीहरूको गतिविधिमा ध्यान केन्द्रित गर्छन्‌।

६. हामीले सम्पूर्ण बाइबलको अध्ययन किन गर्नुपर्छ?

“पुरानो नियम” यहूदीहरूका लागि र “नयाँ नियम” चाहिं मसीहीहरूका निम्ति हो भन्‍ने दाबी कसै कसैले गर्छन्‌। तर २ तिमोथी ३:१६ अनुसार “परमेश्‍वरबाट प्रेरित भएको हरेक धर्मशास्त्र . . . उपयोगी हुन्छ।” अतः शास्त्रलाई राम्ररी अध्ययन गर्ने हो भने सम्पूर्ण बाइबल अध्ययन गर्नु अनिवार्य छ। यथार्थमा, बाइबलका दुई बेग्लाबेग्लै भाग एकअर्काका पूरक हुन्‌। ती दुवै भाग मिलेर बाइबलको मुख्य विषय बन्छ।

७. बाइबलको मूल ध्येय के हो?

सायद तपाईंले वर्षौंदेखि धार्मिक सभाहरू धाउनुभएको हुनसक्छ। ती सभाहरूमा बाइबलका केही भागहरू जोडसित पढेको पनि सुन्‍नुभएको होला। अथवा बाइबलका केही अंशहरू तपाईं आफैले पनि पढ्‌नुभएको हुनसक्छ। तर उत्पत्तिदेखि प्रकाशसम्म बाइबलको एउटै सामञ्जस्यपूर्ण ध्येय छ भनी के तपाईंलाई थाह थियो? हो, बाइबलको शुरुदेखि अन्तसम्म एउटै ध्येय छ। त्यो ध्येय के हो? मानिसजातिमाथि शासन गर्ने परमेश्‍वरको अधिकारको प्रमाणीकरण तथा आफ्नो राज्यद्वारा उहाँका प्रेमपूर्ण उद्देश्‍यहरूको पूर्ति। यो उद्देश्‍य परमेश्‍वरले कसरी पूरा गर्नुहुनेछ, हामी अलिक पछि देख्नेछौं।

८. बाइबलले परमेश्‍वरको व्यक्‍तित्वबारे के प्रकाश पार्छ?

तर बाइबलले परमेश्‍वरको उद्देश्‍य मात्र बताउँदैन। त्यसले परमेश्‍वरको व्यक्‍तित्व पनि प्रकट गर्दछ। उदाहरणको लागि, परमेश्‍वरका पनि भावनाहरू छन्‌ र हामीले गरेका फैसलाहरूमा उहाँ गहिरो चासो लिनुहुन्छ भन्‍ने कुरा हामी बाइबलबाट सिक्छौं। (भजन ७८:४०, ४१; हितोपदेश २७:११; इजकिएल ३३:११) भजन १०३:८-१४ अनुसार परमेश्‍वर “दयासागर र अनुग्रही, रीसमा ढीला र अति करुणामय हुनुहुन्छ।” उहाँले हामीसित अनुकम्पापूर्ण व्यवहार गर्नुहुन्छ। हामी माटो मात्र हौं र मरेपछि पनि माटैमा फर्कन्छौं भनी उहाँ बिर्सनुहुन्‍न। (उत्पत्ति २:७; ३:१९) उहाँले साँच्चै नै कत्ति अद्‌भुत गुणहरू प्रदर्शित गर्नुहुन्छ! के तपाईं यस्तो परमेश्‍वरको उपासना गर्न चाहनुहुन्‍न र?

९. बाइबलले परमेश्‍वरका स्तरहरूलाई हाम्रोनिम्ति कसरी स्पष्ट पारिदिन्छ र यस ज्ञानबाट हामी कसरी लाभान्वित हुनसक्छौं?

बाइबलमा हामीले परमेश्‍वरका स्तरहरूलाई पनि स्पष्ट रीतिले देख्नसक्छौं। यी स्तरहरू कहिलेकाहीं कानुनको रूपमा प्रस्तुत हुन्छन्‌। तर अक्सर चाहिं वास्तविक उदाहरणहरूद्वारा सिकाइएका सिद्धान्तहरूमा उक्‍त कानुनहरू प्रतिबिम्बित हुन्छन्‌। प्राचीन इस्राएली इतिहासका केही घटनाहरूलाई परमेश्‍वरले हाम्रो लाभका लागि लिपिबद्ध गराउनुभयो। मानिसहरूले परमेश्‍वरको उद्देश्‍यअनुसार काम गर्दा के हुन्छ तथा आफ्नै इच्छाअनुसार हिंड्‌दा कस्तो दुःखदायी परिणाम भोग्नुपर्छ, सो यी बयानहरूमा खुलस्त देखिन्छ। (१ राजा ५:४; ११:४-६; २ इतिहास १५:८-१५) यस्ता सत्य घटनाहरूबारे पढ्‌दा हाम्रो हृदय निश्‍चय द्रवित हुन्छ। यी लिपिबद्ध घटनाहरू हामीले कल्पना गर्ने कोशिश गऱ्‍यौं भने, तिनमा उल्लिखित मानिसहरूको सोचविचार तथा मर्म हामी राम्ररी बुझ्नेछौं। हामी असल उदाहरणहरूबाट लाभ उठाउनसक्छौं। गलत काम गर्नेहरू जुन खतराहरूका सिकार भए, तीबाट हामी आफूलाई जोगाउनसक्छौं। तथापि, बाइबलमा उल्लिखित जम्मै कुरा वास्तवमा ईश्‍वरप्रेरित हुन्‌ भनी हामी कसरी निश्‍चित गर्नसक्छौं? हामीलाई यो महत्त्वपूर्ण प्रश्‍नको जवाफ चाहिन्छ।

के तपाईं बाइबलमाथि भरोसा गर्न सक्नुहुन्छ?

१०. (क) कसै कसैको विचारमा बाइबल हाम्रो समयका लागि किन व्यावहारिक छैन? (ख) दोस्रो तिमोथी ३:१६, १७ ले हामीलाई बाइबलबारे के भन्छ?

१० सर-सल्लाह दिने थुप्रै पुस्तकहरू केही वर्षपछि नै काम नलाग्ने भएको सायद तपाईंले देख्नुभएकै होला। तर बाइबल नि? यो पनि एउटा अत्यन्त पुरानो पुस्तक हो। यसका अन्तिम शब्दहरू लिपिबद्ध भएको करिब २,००० वर्ष बितिसक्यो। अतः कसै कसैको विचारमा यो पुस्तक हाम्रो आधुनिक जमानाको लागि व्यावहारिक छैन। तर बाइबल परमेश्‍वरद्वारा प्रेरित हो भने यसको उपदेश जति नै पुरानो भए तापनि त्यो सधैं नै व्यावहारिक तथा उपयोगी हुनुपर्छ। यो शास्त्र आज पनि “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी” हुनुपर्छ ताकि “परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७.

११-१३. बाइबल हाम्रो समयको लागि व्यावहारिक छ भनी हामी किन भन्‍नसक्छौं?

११ बाइबलका सिद्धान्तहरू प्रथम पटक लिपिबद्ध हुँदा ती जति उपयोगी थिए, त्यतिकै उपयोगी आज पनि छन्‌। यो कुरा बाइबललाई नियालेर हेर्दा छर्लंगै स्पष्टिन्छ। उदाहरणको लागि, बाइबलले मानव स्वभावबारे प्रकाश पारेको गहिरो समझलाई मानिसजातिको हर पुस्तामा लागू गर्न सकिन्छ। यो तथ्य मत्तीको पुस्तक, अध्याय ५ देखि ७ सम्म उल्लिखित येशूको डाँडाको उपदेशमा सजिलैसित देख्छौं। भारतीय नेता मोहनदास करमचन्द गान्धी पनि उक्‍त उपदेशबाट अति नै प्रभावित भएका थिए। यसबारे उनले एक जना बेलायती अधिकारीलाई यसो भने भन्छन्‌: “ख्रीष्टले डाँडाको उपदेशमा दिनुभएका शिक्षाहरूअनुसार तपाईंको देश र मेरो देश हिंड्‌न सक्यो भने हामीले आफ्ना दुई देशहरूका मात्र होइन, सारा संसारका समस्याहरूको समाधान गर्न सक्नेछौं।”

१२ नभन्दै, मानिसहरू येशूका शिक्षाहरूबाट प्रभावित भएका छन्‌! उहाँले डाँडाको उपदेशद्वारा हामीलाई साँचो आनन्दको मार्ग देखाउनुभयो। उहाँले आपसी झगडाहरू मेटाउने तरिका सिकाउनुभयो। येशूले प्रार्थनासम्बन्धी शिक्षा पनि दिनुभयो। भौतिक आवश्‍यकताहरूप्रति राख्नुपर्ने सबैभन्दा बुद्धिमत्तापूर्ण प्रवृत्ति उहाँले औंल्याउनुभयो। अरूसित राम्रो सम्बन्ध कायम राख्नमा मदत दिने सुनौलो नियम उहाँले प्रतिपादन गर्नुभयो। धार्मिक ढोंगीहरूलाई चिन्‍ने तथा आफ्नो भविष्य सुरक्षित पार्ने सम्बन्धमा केही बुँदाहरू पनि यसै उपदेशमा पाइन्छन्‌।

१३ बाइबलको उक्‍त अविस्मरणीय उपदेश र त्यसका अन्य पृष्ठहरूले हामीलाई जीवनमा उन्‍नति ल्याउन के गर्नुपर्छ, के गर्नु हुँदैन, सो बताउँछ। यसको उपदेशको व्यावहारिकता देखेर एक जना शिक्षाविद्‌ले यहाँसम्म भने: “मानसिक स्वास्थ्य र मनोविज्ञानबारे थुप्रै पुस्तकहरू पढेको म एक जना स्नातक, अध्यापक तथा माध्यमिक विद्यालयको सल्लाहकार हुँ। तापनि सुखी वैवाहिक जीवन बिताउने, बाल अपराध रोक्ने, मित्र बनाउने र मित्रता बढाउने सम्बन्धमा मैले कलेजमा अझसम्म जेजति पढें वा अध्ययन गरें, ती सबैभन्दा बाइबलको सल्लाह मलाई सर्वश्रेष्ठ लाग्यो।” तर बाइबल व्यावहारिक र नवीन हुनुबाहेक भरपर्दो पनि छ।

सही र भरपर्दो

१४. वैज्ञानिक तवरमा पनि बाइबल सही छ भनी कुन कुराले देखाउँछ?

१४ बाइबल विज्ञानको कुनै पाठ्यपुस्तक होइन। तर यसमा भएका कुराहरू वैज्ञानिक तवरमा पनि सही छन्‌। उदाहरणको लागि, धेरैजसो मानिसहरूले पृथ्वी चेप्टो छ भनी ठान्दा यशैयाले पृथ्वीको “गोलाकार”-बारे (हिब्रू, चुघ, गोलाकार) चर्चा गरे। (यशैया ४०:२२, न्युव) यशैयाको दिनदेखि करिब हजारौं वर्षपछिसम्म पनि पृथ्वी गोलो छ भन्‍ने तथ्य विस्तृत रूपमा स्वीकार्य थिएन। साथै, परमेश्‍वरले “अन्तरिक्षमा पृथ्वीलाई झुण्डाउनु भयो” भनी आजभन्दा करिब ३,००० वर्षअघि अय्यूब २६:७ मा लेखिएको थियो। यसबारे एक जना बाइबलविद्‌ भन्छन्‌: “खुला अन्तरिक्षमा पृथ्वी कुनै दृश्‍य टेवाबिना अडेको छ भनी खगोलविद्याद्वारा प्रमाणित यो सत्य कुरा अय्यूबलाई कसरी थाह भयो? पवित्र शास्त्रको ईश्‍वरीय प्रेरणा इन्कार गर्नेहरूले उक्‍त प्रश्‍नको जवाफ सजिलैसित दिन सक्दैनन्‌।”

१५. बाइबलको व्याख्याशैलीले गर्दा पनि बाइबलमाथि हाम्रो विश्‍वास किन अझ सुदृढ हुन्छ?

१५ यो अत्यन्त पुरानो पुस्तकमा हाम्रो आस्था बढाउने अर्को तत्त्व यसको व्याख्याशैलीले पनि हो। दन्त्यकथाहरूजस्तो नभएर बाइबलमा उल्लिखित घटनाहरू वास्तविक मानिसहरू तथा तिथिहरूसित सम्बन्धित छन्‌। (१ राजा १४:२५; यशैया ३६:१; लूका ३:१, २) साथै, प्राचीन इतिहासकारहरूले सधैं नै आफ्ना शासकहरूका विजयहरूबारे बढाइचढाइकन लेख्दै तिनीहरूका हार तथा कमजोरीहरूलाई लुकाउने गर्थे। तर यसको ठीक विपरीत, बाइबलका लेखकहरू स्पष्टवादी तथा इमानदार थिए। उनीहरू आफ्नै गम्भीर पापहरूलाई समेत लुकाउने प्रयास गर्दैनन्‌ थिए।—गन्ती २०:७-१३; २ शमूएल १२:७-१४; २४:१०.

भविष्यवाणी भएको पुस्तक

१६. बाइबललाई परमेश्‍वरको प्रेरित वचन साबित गर्ने सबैभन्दा ठोस प्रमाण के हो?

१६ बाइबल ईश्‍वरप्रेरित पुस्तक हो भन्‍ने निर्विवाद प्रमाण, पूरा भएका भविष्यवाणीहरूमा पनि पाउन सकिन्छ। कसै कसैको विचारमा पूर्वलिखित इतिहासको अर्को नाउँ भविष्यवाणी हो। बाइबलमा यस्ता थुप्रै भविष्यवाणीहरू छन्‌ जसको विस्तृत पूर्ति भएको छ। यो काम मानिसहरूबाट कदापि पनि भएको हुन सक्दैन। अतः यी भविष्यवाणीहरूको पछाडि को छ? यसको जवाफ स्वयम्‌ बाइबलले दिन्छ: “मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोल्दथिए।” (२ पत्रुस १:२१) यसका केही उदाहरणहरू विचार गर्नुहोस्‌।

१७. बेबिलोनको पतनको अग्रिमवाणी कुन भविष्यवाणीहरूद्वारा गरिएको थियो र ती कसरी पूरा भए?

१७ बेबिलोनको पतन। मादी र फारसीहरूद्वारा बेबिलोन पराजित हुनेछ भनी यशैया र यर्मियाले भविष्यवाणी गरेका थिए। छक्कलाग्दो कुरा के हो भने, यशैयाले यो भविष्यवाणी लेख्दा, बेबिलोनमाथि विजय हासिल गर्न अझ २०० वर्ष बाँकी थियो। तर आज उक्‍त भविष्यवाणीका निम्नलिखित विशेषताहरू ऐतिहासिक वास्तविकताहरू भएका छन्‌: युफ्रेटिस नदीको पानीलाई एउटा कृत्रिम तालतिर बगाइ दिएर नदी सुकाइनु। (यशैया ४४:२७; यर्मिया ५०:३८) नदीतिर खुल्ने बेबिलोनका मूलढोकालाई सुरक्षित नराख्नु। (यशैया ४५:१) कोरेस नाउँको शासक विजयी हुनु।—यशैया ४४:२८.

१८. “युनानको राजा[को]” उत्थान र पतनमा पनि बाइबलका भविष्यवाणीहरू कसरी पूरा भए?

१८ “युनानको राजाको]” उत्थान र पतन। बोकाले साँढ-भेंडामाथि प्रहार गर्दै त्यसका दुइटै सिङ भाँचिदिएको दानियलले दर्शनमा देखे। यसपछि त्यो बोकाको ठूलो सिङ पनि भाँचिन्छ र त्यसको ठाउँमा चारवटा सिङ उम्रन्छन्‌। (दानियल ८:१-८) दर्शनको व्याख्या दानियललाई यसप्रकार दिइयो: “तिमीले देखेको दुई सिङे साँढ-भेंडा मादी देश र फारस देशका राजाहरू हुन्‌। औ त्यो बोका चाहिं युनानीहरूको राज्य हो। औ त्यसको निधारको ठूलो सिङ चाहिं प्रथम राजा हो। त्यो भाँचिएको सिङको सट्टामा उम्रेका चार सिङहरू चाहिं चार राज्यहरू हुन्‌, जो त्यस जातिबाट खडा हुनेछन्‌। तर तुलनामा त्यसको जत्तिकै पराक्रम हुनेछैन।” (दानियल ८:२०-२२) यस भविष्यवाणीबमोजिम, करिब दुई शताब्दीपश्‍चात्‌, “युनानको राजा” महान्‌ सिकन्दरले दुई सिङे मादी-फारसी साम्राज्यलाई पराजित गरी दिए। सा.यु.पू. ३२३ मा सिकन्दरको मृत्युपछि उनका चार जनरलहरूले उनको ठाउँ लिए। तथापि, उनीहरूमध्ये कुनैको राज्य पनि सिकन्दरको साम्राज्य जति शक्‍तिशाली हुनसकेन।

१९. कुन भविष्यवाणीहरू येशू ख्रीष्टमा पूरा भए?

१९ येशू ख्रीष्टको जीवन। येशूको जन्म, सेवकाई, मृत्यु र पुनरुत्थानमा पूरा भएका सयौं भविष्यवाणीहरू हिब्रू शास्त्रमा छन्‌। उदाहरणको लागि, ख्रीष्ट अर्थात्‌ मसीहको जन्म बेतलेहेममा हुनेछ भनेर करिब ७०० वर्षअघि मीकाले अग्रिमवाणी गरेका थिए। (मीका ५:२; लूका २:४-७) मसीहलाई मानिसहरूले पिट्‌ने तथा थुक्नेछन्‌ भनी मीकाकै समयका यशैयाले भविष्यवाणी गरे। (यशैया ५०:६; मत्ती २६:६७) चाँदीको तीस टुक्राका निम्ति मसीहसित विश्‍वासघात गरिनेछ भनी ५०० वर्षअघि जकरियाले भविष्यवाणी गरेका थिए। (जकरिया ११:१२; मत्ती २६:१५) करीब १,००० वर्ष अगावै दाऊदले मसीह येशूको अपमान तथा मृत्युबारे व्याख्या गरेका थिए। (भजन २२:७, ८, १८; मत्ती २७:३५, ३९-४३) यसबाहेक, मसीह देखा पर्ने समय, उहाँको पार्थिव सेवकाईको समयावधि र उहाँको मृत्युको समयबारे प्रायः पाँच शताब्दीअघि नै दानियलको भविष्यवाणीद्वारा प्रकट भएको थियो। (दानियल ९:२४-२७) येशू ख्रीष्टमा पूरा भएका भविष्यवाणीहरूको यी त एउटा सानो नमुना मात्र हुन्‌। उहाँबारे अझ पढ्‌दै जानु हुँदा तपाईं धेरै लाभान्वित हुनुहुनेछ।

२०. पूरा भएका बाइबलीय भविष्यवाणीहरूको सिद्ध अभिलेख पढेर हामी कुन कुराबारे विश्‍वस्त हुनुपर्छ?

२० लामो समयावधि ढाक्ने बाइबलका अझ अन्य भविष्यवाणीहरू पूरा भईसकेका छन्‌। ‘तर यसले मेरो जीवनमा के फरक पार्छ र?’ भनी तपाईं सोध्न सक्नुहुन्छ। कल्पना गर्नुहोस्‌, तपाईंलाई कुनै एक जना व्यक्‍तिले धेरै वर्षदेखि सत्य कुरा भन्दै आएको छ। तर सोही व्यक्‍तिले आज तपाईंलाई कुनै नयाँ कुरा भन्यो भन्दैमा के तपाईं उनको कुरामाथि अनायास शंका गर्नुहुन्छ? गर्नुहुन्‍न। यस्तै गरी, परमेश्‍वरले पनि बाइबलभरि निरन्तर सत्य कुरा बोल्दै आउनुभएको छ। फलतः भविष्यमा आउने पार्थिव प्रमोदवनसम्बन्धी बाइबलका भविष्यवाणीहरू तथा प्रतिज्ञाहरूमाथि के तपाईंको विश्‍वास अझ बलियो हुनु पर्दैन र? निश्‍चय हुनुपर्छ। हामी येशूको एक जना प्रथम शताब्दीका चेला पावल जतिकै विश्‍वस्त हुनसक्छौं जसले ‘परमेश्‍वर कहिल्यै झूट बोल्नुहुन्‍न’ भनी लेखेका छन्‌। (तितस १:२) यसबाहेक, शास्त्र पढेर त्यसमा भएका कुराहरूलाई प्रयोगमा ल्याउँदा, हामी मानवीय शक्‍तिबाट हासिल नहुने बुद्धिअनुसार हिंड्‌नेछौं। किनकि बाइबल एक मात्र पुस्तक हो जसले अनन्त जीवनतर्फ लैजाने परमेश्‍वरको ज्ञान प्रकट गर्छ।

परमेश्‍वरको ज्ञानको लागि “तृष्णा” गर्नुहोस्‌

२१. बाइबलबाट सिक्नुभएका केही कुराहरूले गर्दा आफूलाई अतास लाग्ला जस्तो भयो भने के गर्नुपर्छ?

२१ बाइबल अध्ययन गर्दै जानु हुँदा सम्भवतः तपाईंले केही यस्ता कुराहरू सिक्नु होला जुन तपाईंलाई पहिले सिकाइएका कुराहरूभन्दा बेग्लै हुनसक्छन्‌। तपाईंलाई धेरै नै प्रिय लाग्ने केही धार्मिक रीतिथितिहरूसित परमेश्‍वर अप्रसन्‍न हुनुहुन्छ भनी तपाईंले थाह पाउनु होला। राम्रो नराम्रोबारे परमेश्‍वरका नैतिक स्तरहरू यो भ्रष्ट संसारमा प्रचलित स्तरहरूभन्दा धेरै उच्च छन्‌ भनी तपाईंले सिक्नुहुनेछ। यी जम्मै कुराहरू सुनेर तपाईं पहिले त सायद आत्तिनु होला। तर धैर्य गर्नुहोस्‌! परमेश्‍वरको ज्ञान प्राप्त गर्न सावधानीपूर्वक शास्त्रको जाँच गर्दै जानुहोस्‌। बाइबलमा उल्लिखित उपदेश पढेपछि आफ्नो सोचाइ तथा कामकुरामा काँटछाँट गर्नुपर्छ भने, सो गर्न तयार हुनुहोस्‌।

२२. तपाईं किन बाइबल अध्ययन गर्नु हुँदैछ र यो कुरा अरूहरूलाई बुझाउन तपाईं कसरी मदत दिन सक्नुहुन्छ?

२२ तपाईंले बाइबल अध्ययन गर्नुभएकोमा तपाईंको भलो चिताउने मित्रहरू तथा नातेदारहरूले कडा अप्रसन्‍नता व्यक्‍त गर्नसक्छन्‌। तर येशूले भन्‍नुभएको थियो: “हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु इन्कार गर्नेछु।” (मत्ती १०:३२, ३३) तपाईं कुनै गुप्त धर्म पन्थमा फस्नुहुनेछ अथवा कट्टरपन्थी बन्‍नुहुनेछ भनी केही व्यक्‍तिहरू चिन्तित होलान्‌। तर वास्तवमा भने तपाईंले परमेश्‍वर तथा उहाँको सच्चाइसम्बन्धी सही ज्ञान हासिल गर्ने प्रयास मात्र गर्नु हुँदैछ। (१ तिमोथी २:३, ४) तपाईंले सिक्नुभएका यी कुराहरू वादविवादमा नपरीकन तथा मिलनसार रीतिले उनीहरूलाई बुझ्ने मदत दिनुहोस्‌। (फिलिप्पी ४:५) किनकि बाइबलको ज्ञानद्वारा लाभान्वित भएका मानिसहरूको असल व्यवहार देखेर नै “विना वचनले” धेरै मानिसहरू प्रभावित भएका छन्‌।—१ पत्रुस ३:१, २.

२३. तपाईं कसरी परमेश्‍वरको ज्ञानका लागि “तृष्णा” बढाउन सक्नुहुन्छ?

२३ बाइबलमा हामीलाई यस्तो आग्रह गरिएको छ: “नयाँ जन्मेका बालकहरू जस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर।” (१ पत्रुस २:२) बच्चालाई आमाबाट पोषण लिनु आवश्‍यक हुन्छ र यो आवश्‍यकता उसले पूरा नगरी छाड्‌दैन। यस्तै गरी, हामीलाई पनि परमेश्‍वरको ज्ञानको आवश्‍यकता छ। अतः उहाँको वचनका लागि “तृष्णा” बढाउनुहोस्‌। सधैं बाइबल पढ्‌ने बानी बसाल्नुहोस्‌। (भजन १:१-३) यसबाट तपाईंले ठूलो आशिष्‌ पाउनुहुनेछ। किनकि परमेश्‍वरका नियमहरूबारे भजन १९:११ भन्छ: “ती पालन गरेमा ठूलो इनाम छ।”

[फुटनोट]

a सा.यु.पू.-को अर्थ सामान्य युग पूर्व हो। ईसा पूर्व भन्‍नुभन्दा सा.यु.पू. भन्‍नु बढी उचित छ। सा.यु.-को अर्थ हो सामान्य युग। यसलाई अक्सर ए.डी. अर्थात्‌ एन्‍नो डोमिनी पनि भनिन्छ र यसको अर्थ हो “हाम्रो प्रभुको वर्षमा।”

आफ्नो ज्ञान जाँच्नुहोस्‌

बाइबल कुन कारणहरूले गर्दा बेजोड छ?

तपाईं बाइबलमाथि किन भरोसा गर्न सक्नुहुन्छ?

बाइबल परमेश्‍वरको प्रेरित वचन हो भनी तपाईंलाई कुन कुराले प्रमाणित गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको पेटी]

बाइबलसित राम्ररी परिचित हुनुहोस्‌

बाइबलमा भएका कुराहरूसित परिचित हुन गाह्रो हुनु पर्दैन। त्यसको विषयसूचीको मदतद्वारा बाइबलका विभिन्‍न पुस्तकहरूका क्रम र ठाउँ ठम्याउन सिक्नुहोस्‌।

हाम्रो सुविधाका लागि बाइबलका पुस्तकहरू अध्याय तथा पदहरूमा विभाजित छन्‌। अध्यायहरू सा.यु. १३ औं शताब्दीमा थपिएका हुन्‌ र छापाखाना चलाउने एक जना फ्रेन्च मानिसले १६ औं शताब्दीमा युनानी शास्त्रलाई पदहरूमा विभाजित गरी दिए। अध्याय तथा पद दुवै हुने प्रथम बाइबल सन्‌ १५५३ मा प्रकाशित फ्रान्सेली बाइबल थियो।

यस पुस्तकमा उद्धृत शास्त्रपदहरूको प्रथम अंकबाट अध्याय तथा दोस्रो अंकबाट पद बोध हुन्छ। उदाहरणका लागि, “हितोपदेश २:५” को अर्थ हो हितोपदेशको पुस्तक, अध्याय २ र ५ औं पद। उद्धृत पदहरू बाइबल खोलेर हेर्ने गर्नुभयो भने तपाईंले चाँडै सजिलैसित बाइबलका पदहरू फेला पार्न सक्नुहुनेछ।

तर बाइबलसित राम्ररी परिचित हुने सबैभन्दा बेस तरिका दिनहुँ बाइबल पढ्‌ने गर्नु हो। सुरु सुरुमा यसो गर्न गाह्रो लाग्नसक्छ। तर प्रतिदिन तपाईंले तीन अथवा पाँच अध्याय पढ्‌ने गर्नुभयो भने, सालभरिमा पूरा बाइबल पढी सक्नुहुनेछ। सो गर्न आजै किन शुरू गर्नुहुन्‍न?

[पृष्ठ १९-मा भएको पेटी]

बाइबल—एउटा बेजोड पुस्तक

• बाइबल “परमेश्‍वरबाट प्रेरणा” भएको हो। (२ तिमोथी ३:१६) त्यसमा भएका शब्दहरू मानवद्वारा लेखिएका भए तापनि तिनका विचारहरू चाहिं परमेश्‍वरले नै निर्देशित गर्नुभयो। यसले गर्दा बाइबल वास्तवमा “परमेश्‍वरको वचन” हो।—१ थिस्सलोनिकी २:१३.

• विभिन्‍न पृष्ठभूमिका करिब ४० बेग्लाबेग्लै लेखकहरूले १६ शताब्दीहरूको समयावधिभित्र बाइबल लेख्नमा भाग लिए। र पनि सुरुदेखि अन्तसम्म बाइबलमा अलिकता पनि विरोधाभास छैन।

• बाइबलले जतिको विरोधको सामना गऱ्‍यो, त्यति त अरू कुनै पनि पुस्तकले गरेको छैन। मध्ययुगको दौडान त आफूसित बाइबल हुने मानिसहरूलाई जिउँदै जलाइ दिने गर्थे।

• विश्‍वका सबैभन्दा बढी बिक्री हुने पुस्तकहरूको ताँतीमा बाइबल अग्रपंक्‍तिमा छ। त्यसका पूर्ण अथवा केही भागहरूको अनुवाद २,००० भन्दा धेरै भाषाहरूमा गरिएको छ। त्यसका अरबौं प्रति छपाइएको छ र यसको प्रति पृथ्वीको प्रायः हर भागमा पाउन सकिन्छ।

• बाइबलको सबैभन्दा पुरानो भाग सा.यु.पू. १६ औं शताब्दीमा लेखिएको थियो। यो हिन्दू शास्त्र ऋगवेद (करिब सा.यु.पू. १३०० तिर लिपिबद्ध भएको थियो), बौद्ध धर्मको “त्रिपिटक” (सा.यु.पू. पाँचौं शताब्दी), इस्लामको कुरान (सा.यु. सातौं शताब्दी) र शिन्टो निहोंगी (सा.यु. ७२०) भन्दा पुरानो छ।

[पृष्ठ २०-मा भएको पृष्ठभरिको चित्र]