सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्य शासन

परमेश्‍वरको राज्य शासन

अध्याय १०

परमेश्‍वरको राज्य शासन

१, २. मानव सरकारहरू कसरी कमजोर साबित भएका छन्‌?

 शायद कुनै बेला अन्जानमा तपाईंले कामै नलाग्ने यन्त्र किन्‍नुभएको हुनसक्छ। त्यसको मरम्मत गर्न तपाईंले मिस्त्री पनि बोलाउनुभएको थियो होला। तर “मरम्मत” गरेको केही समय नबित्दै त्यो फेरि बिग्रिहाल्यो। मनै खिन्‍न भयो होला तपाईंको!

मानवीय सरकारहरूको कुरा पनि यस्तै हो। मानिसजातिले सधैं नै स्थायी शान्ति र सुरक्षा दिने सरकार चाहेको छ। तर समाजका त्रुटिहरूलाई मरम्मत गर्ने जोडतोडका प्रयासहरू सफल भएका छैनन्‌। थुप्रै शान्ति सन्धिहरू गरिए र रद्द भए। गरीबी, पूर्वाग्रह, अपराध, रोग र वातावरणीय प्रदूषणलाई संसारको कुनै पनि सरकारले हटाउन सकेको छैन। मानवीय शासनको मरम्मत गर्नै सकिंदैन। इस्राएलका बुद्धिमान राजा सुलेमानले पनि यो प्रश्‍न गरेका थिए: “आफूले यात्रा गर्ने बाटो मरणशील मानिसलाई के थाह हुन्छ?”—हितोपदेश २०:२४.

३. (क) येशूको प्रचारको ध्येय के थियो? (ख) केही मानिसहरू परमेश्‍वरको राज्यको वर्णन कसरी गर्छन्‌?

तर निराश नहुनुहोस्‌! स्थायी विश्‍वसरकार सपना मात्र होइन। येशूको प्रचारको ध्येय नै त्यही थियो। उहाँले त्यसलाई “परमेश्‍वरको राज्य” भन्‍नुभयो र त्यसैका लागि प्रार्थना गर्न आफ्ना चेलाहरूलाई सिकाउनुभयो। (लूका ११:२; २१:३१) हुन त केही धार्मिक समूहहरूमा परमेश्‍वरको राज्यबारे यदाकदा चर्चा गरिन्छ। करोडौं मानिसहरूले प्रभुको प्रार्थना (यसलाई आदर्श प्रार्थना पनि भनिन्छ) गर्दा सोही राज्यका लागि प्रार्थना गर्छन्‌। तर “परमेश्‍वरको राज्य के हो?” भनेर सोध्दा चाहिं मानिसहरूले बेग्लाबेग्लै जवाफ दिन्छन्‌। कोही भन्छन्‌ “त्यो तिम्रो हृदयमा छ।” अरू भन्छन्‌ त्यो स्वर्ग हो। तर यसको सुस्पष्ट जवाफ अब हामी बाइबलमा देख्नेछौं।

उद्देश्‍य भएको राज्य

४, ५. यहोवाले आफ्नो सार्वभौमिकतालाई नयाँ ढङ्‌गमा प्रदर्शित गर्ने फैसला किन गर्नुभयो र यसबाट के सम्पन्‍न हुनेछ?

यहोवा परमेश्‍वर सधैं नै सारा ब्रह्‍माण्डको राजा अथवा सार्वभौम सत्ताधारी रहनुभएको छ। यो उच्च उपाधिमाथि उहाँको स्वतः हक लाग्छ किनकि उहाँले नै सबै थोक सृष्टि गर्नुभएको हो। (१ इतिहास २९:११; भजन १०३:१९; प्रेरित ४:२४) येशूले प्रचार गर्नुभएको राज्य, परमेश्‍वरको यही विश्‍वव्यापी सर्वसत्ताको अधीनमा छ। त्यो मसीही राज्यको एउटा खास उद्देश्‍य छ। त्यो उद्देश्‍य के हो?

प्रथम मानव जोडीले परमेश्‍वरको अख्तियारको विद्रोह गरेको कुरा हामीले छैठौं अध्यायमा पढ्यौं। सो विद्रोहले गर्दा उठेको विवादको कारण यहोवाले आफ्नो सार्वभौमिकतालाई नयाँ ढङ्‌गमा प्रदर्शन गर्ने फैसला गर्नुभयो। सर्प अर्थात्‌ शैतानलाई कुच्याएर मानिसजातिले वंशानुगत पाएको पापको प्रभाव हटाउन परमेश्‍वरले एउटा “सन्तान” तयार पार्ने आफ्नो उद्देश्‍य घोषणा गर्नुभयो। उक्‍त “सन्तान” मुख्यतः येशू ख्रीष्ट हुनुहुन्छ र शैतानलाई पूर्णतः पराजित पार्ने माध्यम “परमेश्‍वरको राज्य” हो। यसै राज्यद्वारा येशू ख्रीष्टले पृथ्वीभरि यहोवाको नाउँमा शासन पुनःस्थापित गर्नुहुनेछ। उहाँले सदाका लागि परमेश्‍वरको आधिकारिक सार्वभौमिकतालाई उच्च पार्नुहुनेछ।—उत्पत्ति ३:१५; भजन २:२-९.

६, ७. (क) परमेश्‍वरको राज्य कहाँ छ, त्यसको राजा र उहाँका सह-शासकहरू को हुन्‌? (ख) यो राज्यका प्रजाहरू को हुन्‌?

येशूले दुष्ट फरिसीहरूलाई भन्‍नुभएका शब्दहरूलाई एक जना अनुवादकले यसरी प्रस्तुत गरेको छ: “हेर, परमेश्‍वरको राज्य तिमीहरूमै छ।” (लूका १७:२१, किंग जेम्स भर्जन) अब के येशूको भनाइको अर्थ परमेश्‍वरको राज्य ती भ्रष्ट मानिसहरूका दुष्ट हृदयहरूभित्र थियो त? थिएन। बरु मूल युनानीमा लिखित यस पदको एउटा सही अनुवाद यो हो: “परमेश्‍वरको राज्य तिमीहरूकै बीचमा छ।” त्यतिखेर येशू तिनीहरूकै बीच हुनाकारण उहाँले आफूलाई भावी राजाको रूपमा चिनाउनुभयो। परमेश्‍वरको राज्य कसैको हृदयभित्रको कुरा होइन। त्यो त साँच्चैको सक्रिय सरकार हो जसको आफ्नै प्रजा तथा शासक छ। त्यो सरकार स्वर्गीय हो किनभने त्यसलाई “परमेश्‍वरको राज्य” तथा “स्वर्गको राज्य” दुवै भनिन्छ। (मत्ती १३:११; लूका ८:१०) यस राज्यको शासकलाई अगमवक्‍ता दानियलले दर्शनमा देखे। यी शासक “मानिसको पुत्र जस्तो” हुनुहुन्थ्यो। उहाँ सर्वशक्‍तिमान परमेश्‍वरको सामु खडा हुनुभयो र “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो। उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदा सर्वदैको सर्वाधिकार छ औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।” (दानियल ७:१३, १४) यो राजा को हुनुहुन्छ? बाइबलमा येशू ख्रीष्टलाई “मानिसको पुत्र” भनिन्छ। (मत्ती १२:४०; लूका १७:२६) हो, यहोवाले आफ्नो पुत्र येशू ख्रीष्टलाई नै राजा नियुक्‍त गर्नुभएको छ।

तर येशूले एक्लै राज्य गर्नुहुन्‍न। उहाँ सँगसँगै १,४४,००० जनहरू पनि हुनेछन्‌। यिनीहरू उहाँसित सह-शासक तथा पूजाहारीहरू हुनका लागि “पृथ्वीबाट किनिएका” हुन्‌। (प्रकाश ५:९, १०; १४:१, ३; लूका २२:२८-३०) ख्रीष्टको अगुवाइलाई स्वीकार्ने मानिसहरूको एउटा विश्‍वव्यापी परिवार चाहिं परमेश्‍वरको राज्यका प्रजाहरू हुनेछन्‌। (भजन ७२:७, ८) तर यो राज्यले परमेश्‍वरको सार्वभौमिकतालाई साँच्चै नै उच्च पारेर हाम्रो पृथ्वीमा प्रमोदवन स्थापित गर्नेछ भनी हामी कसरी निश्‍चित हुनसक्छौं?

परमेश्‍वरको राज्यको वास्तविकता

८, ९. (क) परमेश्‍वरको राज्यका प्रतिज्ञाहरूको विश्‍वसनीयताबारे हामी के उदाहरण दिनसक्छौं? (ख) परमेश्‍वरको राज्यको वास्तविकताबारे हामी किन निश्‍चिन्त हुनसक्छौं?

कल्पना गर्नुहोस्‌, तपाईंको घर आगोले भस्म भएको छ। तर साधन भएको एक जना मित्रले घरको पुनःनिर्माण गर्न तथा तपाईंको परिवारका लागि भोजन-पानी जुटाइ दिने प्रतिज्ञा गर्छ। अब यो मित्रले तपाईंसित सधैं नै सत्य बोल्दै आएको छ भने के तपाईं उनलाई पत्याउनुहुन्‍न? मानि लिनुहोस्‌, तपाईं भोलिपल्ट कामबाट घर फर्कनु हुँदा कामदारहरूले त्यहाँका कुराकर्कट सफा गर्न थालिसकेका छन्‌। तपाईंको परिवारका लागि खानेकुराको पनि प्रबन्ध गरिसकिएको छ। यो जम्मै देखेपछि, अब समय बित्दै जाँदा सबै कुरा पहिलेको जस्तो मात्र नभएर पहिलेको भन्दा राम्रो हुनेछ भनी तपाईं पक्कै पनि विश्‍वस्त हुनुहुनेछ।

यस्तैप्रकार यहोवाले पनि हामीलाई उहाँको राज्यको वास्तविकतामाथि विश्‍वास गर्ने आधार दिनुहुन्छ। बाइबलमा हिब्रू नाउँ भएको पुस्तकअनुसार मोशाको व्यवस्थाका विभिन्‍न पक्षहरू परमेश्‍वरको राजकीय प्रबन्धका अग्रिमसूचकहरू थिए। (हिब्रू १०:१) परमेश्‍वरको राज्यका अग्रिम झलकहरू इस्राएलको पार्थिव राज्यमा पनि देख्न सकिन्थ्यो। त्यो कुनै साधारण सरकार थिएन किनभने त्यसका शासकहरू “परमप्रभुको सिंहासनमा” बस्ने गर्थे। (१ इतिहास २९:२३) त्यसबाहेक यो पनि भविष्यवाणी गरिएको थियो: “यहूदाको हातबाट राजदण्ड हट्‌नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाको बीचबाट हट्‌नेछैन, जबसम्म शीलो आउँदैन। औ मानिसहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌।” (उत्पत्ति ४९:१०) a हो, यहूदाकै यो राजकीय घरानामा परमेश्‍वरको सरकारको स्थायी राजा येशूले जन्म लिनु हुने थियो।—लूका १:३२, ३३.

१०. (क) परमेश्‍वरको मसीही राज्यको जग कहिले बसालियो? (ख) येशूका भावी सह-शासकहरूले पृथ्वीमा कुन महत्त्वपूर्ण काममा सक्रिय नेतृत्व लिने थिए?

१० येशूका प्रेरितहरू रोजेपछि परमेश्‍वरको मसीही राज्यको जग बसालियो। (एफिसी २:१९, २०; प्रकाश २१:१४) यिनीहरू स्वर्गमा येशू ख्रीष्टसित सह-शासकहरू भएर राज्य गर्न लगिने १,४४,००० मध्येका प्रथम सदस्यहरू थिए। तर पृथ्वीमा रहुञ्जेल यी भावी सह-शासकहरूले साक्षी दिने अभियानमा जोडसित अगुवाइ लिने थिए। यस प्रसंगमा येशूले यो आदेश दिनुभएको थियो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।”—मत्ती २८:१९.

११. आज परमेश्‍वरको राज्यको प्रचार कसरी गरिंदैछ र यसबाट के काम पूरा भइरहेछ?

११ चेला बनाउने यो आदेश पालना पहिलाभन्दा अति नै व्यापक रूपमा आज भइरहेको छ। यहोवाका साक्षीहरूले पृथ्वीभरि यो राज्यको सुसमाचार सुनाउँदैछन्‌। तिनीहरूले येशूका यी भविष्यसूचक शब्दहरूलाई पूरा गरिरहेका छन्‌: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त आउनेछ।” (मत्ती २४:१४) राज्य प्रचारको सिलसिलामा एउटा विशाल शैक्षिक कार्य पनि चलिरहेको छ। परमेश्‍वरको राज्यका नियम तथा सिद्धान्तहरूको अधीनमा बस्नेहरूले अहिले नै यस्तो शान्ति र एकता अनुभव गरिरहेका छन्‌ जो कुनै पनि मानवीय सरकारद्वारा हासिल गर्न सम्भव छैन। यसबाट परमेश्‍वरको राज्यको वास्तविकता स्पष्टतः प्रमाणित हुन्छ!

१२. (क) राज्य उद्‌घोषकहरूलाई यहोवाका साक्षीहरू भन्‍न किन सुहाउँछ? (ख) परमेश्‍वरको राज्य मानवीय सरकारहरूभन्दा कसरी बेग्लै छ?

१२ यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू मेरा साक्षी हौ र मैले चुनेका दास हौ।” (यशैया ४३:१०-१२) “विश्‍वासयोग्य साक्षी” येशूले परमेश्‍वरको राज्यको सुसमाचार जोशका साथ घोषणा गर्नुभयो। (प्रकाश १:५; मत्ती ४:१७) यसैकारण राज्यका वर्तमान उद्‌घोषकहरूले पनि यहोवाका साक्षीहरू भन्‍ने उही ईश्‍वरप्रदत्त नाउँ अपनाउनु उचित हो। तर यहोवाका साक्षीहरूले अरूसित परमेश्‍वरको राज्यबारे कुरा गर्न यतिका समय किन बिताउँछन्‌? यतिका प्रयास किन गर्छन्‌? किनभने परमेश्‍वरको राज्य मानिसजातिको एक मात्र आशा हो। मानवीय सरकारहरू कुनै न कुनै बैला बेकम्मा भइहाल्छन्‌। तर परमेश्‍वरको राज्य भने कहिल्यै विफल हुनेछैन। यसको शासक येशूलाई “शान्तिको राजकुमार” भनी सम्बोधन गर्दै यशैया ९:६, ७ मा यसो भनिएको छ: “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” परमेश्‍वरको राज्य मानवीय सरकारहरू जस्तो होइन जो आज छन्‌, भोलि छैनन्‌। दानियल २:४४ भन्छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नु हुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। . . . त्यो राज्य सदा सर्वदै रहिरहनेछ।”

१३. (क) परमेश्‍वरको राज्यले सफलतापूर्वक समाधान गर्ने केही समस्याहरू के हुन्‌? (ख) परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनी हामी किन विश्‍वस्त छौं?

१३ कुन चाहिं मानवीय राजाले युद्ध, अपराध, रोग, भोक तथा आवासको अभाव हटाउनसक्छ र? कुन पार्थिव शासकले मरेकाहरूलाई पुनः जीवित पार्नसक्छ? तर परमेश्‍वरको राज्य र त्यसको राजाद्वारा यी जम्मै समस्याहरूको समाधान हुनेछ। परमेश्‍वरको राज्य बारम्बार बिग्रिरहने यन्त्रजस्तै त्रुटियुक्‍त छैन। परमेश्‍वरको राज्य सफल हुनेछ। स्वयं यहोवा यो प्रतिज्ञा गर्नुहुन्छ: “त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ।” (यशैया ५५:११) हो, परमेश्‍वरको राज्य विफल हुनेछैन। तर यो राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?

राज्य शासन—कहिलेदेखि?

१४. परमेश्‍वरको राज्यबारे येशूका अनुयायीहरूको के गलत घारणा थियो तर येशूलाई चाहिं आफ्नो शासनबारे के थाह थियो?

१४ “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” यो प्रश्‍न येशूका अनुयायीहरूले सोधेका थिए। स्पष्टतः तिनीहरूलाई परमेश्‍वरको राज्यको उद्देश्‍य र त्यसले शासन गर्न थाल्ने समय थाह थिएन। तथापि, यसबारे धेरै अनुमान नलगाउनू भनी चेताउनी दिनुहुँदै येशूले भन्‍नुभयो: “पिताले जुन जुन समय वा बखत आफ्नो अधिकारभित्र राख्नुभएको छ, सो जान्‍नखोज्नु तिमीहरूको काम होइन।” आफ्नो पुनरुत्थान तथा स्वर्गारोहण भएको धेरै समयपछि मात्र उहाँले पृथ्वीमाथि शासन गर्न थाल्नुहुनेछ भनी येशूलाई थाह थियो। (प्रेरित १:६-११; लूका १९:११, १२, १५) यसबारे शास्त्रमा भविष्यवाणी गरिएको थियो। कसरी?

१५. येशूको शासनकालबारे भजन ११०:१ ले कसरी अझ प्रकाश पार्छ?

१५ येशूलाई भविष्यसूचक रीतिले “प्रभु” भनी सम्बोधन गर्दै दाऊद राजाले यसो भने: “परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्‍नँ।’ ” (भजन ११०:१; प्रेरित २:३४-३६ तुलना गर्नुहोस्‌।) यस भविष्यवाणीअनुसार येशूको स्वर्गारोहण हुने बित्तिकै उहाँले शासन गर्न थाल्नु हुने थिएन। बरु परमेश्‍वरको दाहिने हातमा उहाँ पर्खनु हुने थियो। (हिब्रू १०:१२, १३) तर कहिलेसम्म? उहाँको शासन कहिलेदेखि थाल्ने थियो? यसको जवाफ फेला पार्ने मदद बाइबलले दिन्छ।

१६. सा.यु.पू. ६०७ मा के भयो र यो घटना परमेश्‍वरको राज्यसित कसरी सम्बन्धित थियो?

१६ यहोवाले पृथ्वीभरिको एक मात्र शहरसित आफ्नो नाउँ जोड्‌नुभयो। त्यो शहर थियो यरूशलेम। (१ राजा ११:३६) यो शहर, परमेश्‍वरको स्वर्गीय राज्यको प्रतिनिधित्व गर्ने तथा ईश्‍वरीय अनुमोदनप्राप्त पार्थिव राज्यको राजधानी पनि थियो। यसर्थ सा.यु.पू. ६०७ मा बेबिलोनीहरूद्वारा यरूशलेमको विनाश अत्यन्त महत्त्वपूर्ण घटना थियो। परमेश्‍वरले आफ्ना जनहरूमाथि प्रत्यक्ष रूपमा गर्दै आउनुभएको शासन यसै घटनादेखि लामो समयसम्म रोकियो। यो समयावधि करीब छ शताब्दीपछि पनि चालू नै थियो भनी येशूका यी शब्दहरूबाट बोध हुन्छ: “अन्यजातिहरूको समय पूरा नहोऊञ्जेल राष्ट्रहरूले यरूशलेमलाई कुल्चीमिल्ची गर्नेछन्‌।”—लूका २१:२४, न्युव.

१७. (क) “अन्यजातिहरूको समय” भनेको के हो र त्यो कहिलेसम्म कायम रहने थियो? (ख) “अन्यजातिहरूको समय” कहिले शुरू तथा अन्त भयो?

१७ “अन्यजातिहरूको समय” पूरा नहोऊञ्जेल सांसारिक सरकारहरूले ईश्‍वरीय अनुमोदनप्राप्त शासनलाई रोक्न पाउने थिए। त्यो समय सा.यु.पू. ६०७ मा यरूशलेमको विनाशदेखि शुरू भयो र “सात काल” सम्म चल्नेछ भनी दानियलले सङ्‌केत गरे। (दानियल ४:२३-२५) अब यो सात काल कति लामो हो? बाइबलअनुसार साढे तीन “काल[मा]” १,२६० दिन हुन्छन्‌। (प्रकाश १२:६, १४) अतः यसको दोब्बर अर्थात्‌ सात कालमा २,५२० दिन हुने भयो। तर यो छोटो समयावधिको अन्तमा कुनै पनि खास घटना भएन। तथापि, दानियलको भविष्यवाणीको एक “दिन[लाई] एक वर्ष” मान्दै सा.यु.पू. ६०७ देखि २,५२० वर्ष गन्यौं भने हामी सा.यु. १९१४ मा आइ पुग्छौं।—गन्ती १४:३४; इजकिएल ४:६.

१८. राज्याधिकार पाउनासाथै येशूले के गर्नुभयो र पृथ्वीमाथि यसको के प्रभाव पऱ्‍यो?

१८ के त्यतिखेर येशूले स्वर्गमा राज्य गर्न थाल्नुभयो? उहाँले शासन गर्न थाल्नुभयो भन्‍ने शास्त्रीय कारणहरूको छलफल आउँदो अध्यायमा गरिनेछ। येशूको शासन शुरू हुने बित्तिकै पृथ्वीमा शान्ति हुने थिएन। प्रकाश १२:७-१२ अनुसार राज्याधिकार पाउनासाथै येशूले स्वर्गबाट शैतान र त्यसका दूत अथवा प्रेतहरूलाई झारी दिनुहुने थियो। पृथ्वीका लागि यो विपत्तिजनक हुने थियो। तथापि, दियाबलको अब उप्रान्त “अल्प समय” मात्र छ भन्‍ने घोषणा चाहिं ढाडसदायी छ। चाँडै नै परमेश्‍वरको राज्यले शासन गर्छ भनेर मात्र होइन तर त्यसद्वारा पृथ्वी र आज्ञाकारी मानिसहरूले आशिष्‌ पनि पाउनेछन्‌ भनी हामी रमाउनसक्छौं। (भजन ७२:७, ८) तर यी सबै कुरा चाँडै हुनेछन्‌, त्यो कसरी भन्‍न सकिन्छ?

[फुटनोट]

a शीलो नाउँको अर्थ हो “यो जसको हो; जसको हक लाग्छ।” “यहूदाका कुलका सिंह” येशू ख्रीष्ट नै “शीलो” हुनुहुन्छ भनी केही समयपछि स्पष्ट भयो। (प्रकाश ५:५) आरामी भाषामा अनुवादित हिब्रू शास्त्रका केही भागहरूमा “शीलो” शब्दको ठाउँमा “मसीह” अथवा “राजा मसीह” भनेर लेख्ने गरिन्थ्यो।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

परमेश्‍वरको राज्य के हो र त्यसले कहाँबाट शासन गर्छ?

परमेश्‍वरको राज्यको शासक को हुनुहुन्छ र प्रजाहरू को हुन्‌?

उहाँको राज्य वास्तविक हो भनी यहोवाले हामीलाई कसरी विश्‍वास दिलाउनुभएको छ?

“अन्यजातिहरूको समय” कहिले शुरू तथा अन्त भयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९४-मा भएको पेटी]

परमेश्‍वरको राज्यसित सम्बन्धित केही महत्त्वपूर्ण घटनाहरू

• सर्प अथवा दियाबल र शैतानको सिर कुच्याउने “सन्तान” उत्पन्‍न गर्ने आफ्नो उद्देश्‍य यहोवाले घोषित गर्नुहुन्छ।—उत्पत्ति ३:१५.

• यो “सन्तान” अब्राहामको वंशमै जन्मनेछ भनी यहोवाले सा.यु.पू. १९४३ मा सङ्‌केत गर्नुभयो।—उत्पत्ति १२:१-३, ७; २२:१८.

• इस्राएललाई सा.यु.पू. १५१३ मा दिइएको वाचाको व्यवस्था “आउने उत्तम कुराहरूको . . . छाया” थियो।—प्रस्थान २४:६-८; हिब्रू १०:१.

• इस्राएलको पार्थिव राज्य सा.यु.पू. १११७ मा शुरू भएपछि दाऊदको घरानामा कायम रहन्छ।—१ शमूएल ११:१५; २ शमूएल ७:८, १६.

• सा.यु.पू. ६०७ मा यरूशलेम नष्ट भएर “अन्यजातिहरूको समय” शुरू हुन्छ।—२ राजा २५:८-१०, २५, २६; लूका २१:२४.

• सा.यु. २९ मा येशूलाई राजा नियुक्‍त तथा अभिषेक गरिन्छ र उहाँको पार्थिव सेवकाई शुरू हुन्छ।—मत्ती ३:१६, १७; ४:१७; २१:९-११.

• सा.यु. ३३ मा येशूको स्वर्गारोहण हुन्छ र आफ्नो शासन शुरू नहोऊञ्जेल उहाँ परमेश्‍वरको दाहिने हातमा पर्खनुहुन्छ।—प्रेरित ५:३०, ३१; हिब्रू १०:१२, १३.

• सा.यु. १९१४ मा “अन्यजातिहरूको समय” समाप्त हुँदा येशू स्वर्गीय राज्यको सिंहासनमा विराजमान हुनुहुन्छ।—प्रकाश ११:१५.

• शैतान र त्यसका प्रेतहरू पृथ्वीमा फालिएपछि तिनीहरूले मानिसजातिलाई अझ दुःख दिन्छन्‌।—प्रकाश १२:९-१२.

• येशूले परमेश्‍वरको राज्यको विश्‍वव्यापी प्रचार कार्यको निरीक्षण गर्नुहुन्छ।—मत्ती २४:१४; २८:१९, २०.