सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरलाई आदर गर्ने परिवार निर्माण

परमेश्‍वरलाई आदर गर्ने परिवार निर्माण

अध्याय १५

परमेश्‍वरलाई आदर गर्ने परिवार निर्माण

१-३. केही मानिसहरू वैवाहिक जीवनमा तथा आमा-बाबु हुँदा साधारणतः उठ्‌ने समस्याहरूको समाधान गर्न किन असमर्थ हुन्छन्‌ तर बाइबलले भने कसरी मदद दिनसक्छ?

 मानि लिनुहोस्‌, तपाईं आफ्नै हातले घर बनाउन इच्छुक हुनुहुन्छ। तपाईं पहिले जमीन किन्‍नुहुन्छ। तीव्र उत्सुकतासाथ तपाईं मनमनै त्यो घरको कल्पना गर्नुहुन्छ। तर तपाईंसित घर बनाउने औजार तथा सीप छैन भने नि? तपाईंको प्रयास बेकार हुनेछ।

यस्तैगरि थुप्रै विवाहित दम्पतीहरूले सुखी परिवारको कल्पना गर्दै विवाह गरेका हुन्छन्‌। तर तिनीहरूसित सुखी परिवार निर्माण गर्ने न सीप छ न औजार। विवाहपश्‍चात्‌ चाँडै नै नकारात्मक बानीबेहोरा देखा पर्न थाल्छ। झगडा नभई दिन बित्दैन। छोराछोरी जन्मँदा यी नयाँ आमा-बाबु वैवाहिक जीवनबारे जतिको अन्जान थिए, आमा-बाबु हुने विषयबारे पनि उतिकै अन्जान हुन्छन्‌।

तर खुशीको कुरा, बाइबलले मदद दिनसक्छ। यसमा उल्लिखित सिद्धान्तहरू सुखी परिवार निर्माण गर्ने औजारहरूजस्ता हुन्‌। (हितोपदेश २४:३) कसरी? हामी अब हेरौं।

सुखी वैवाहिक जीवन निर्माण गर्ने औजारहरू

४. वैवाहिक जीवनमा किन समस्याहरू उठ्‌नसक्छन्‌ र बाइबलमा कुन स्तरहरू उपलब्ध छन्‌?

विवाहित दम्पती जति नै मिलेको देखिए तापनि तिनीहरूको भावनात्मक बनौट, केटाकेटी छँदाको अनुभव र पारिवारिक संस्कार बेग्लै हुन्छन्‌। यसकारण विवाहपश्‍चात्‌ समस्याहरू उब्जनु स्वाभाविक हो। तर तिनको मुकाबिला? घर बनाउने मानिसहरूले अक्सर नक्शा हेर्ने गर्छन्‌। सो नक्शाले मार्गनिर्देशकको काम गर्छ। यस्तैगरि, बाइबलमा पनि सुखी परिवार बनाउने ईश्‍वरप्रदत्त मार्गनिर्देशनहरू छन्‌। यीमध्ये केही मार्गनिर्देशनहरूको अब हामी जाँच गरौं।

५. वैवाहिक जीवनमा वफादारीलाई बाइबलले कतिको महत्त्व दिन्छ?

वफादारी। येशूले भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एकसाथ जोडनुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” a (मत्ती १९:६) प्रेरित पावलले यसप्रकार लेखे: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।” (हिब्रू १३:४) अतः आ-आफ्नो पति वा पत्नीप्रति वफादार हुनु यहोवाको सामु विवाहित व्यक्‍तिहरूको कर्तव्य हो।—उत्पत्ति ३९:७-९.

६. विवाहलाई सुरक्षित राख्नमा वफादारी कसरी मददकारी हुनसक्छ?

वफादारीले वैवाहिक जीवनलाई गरिमायुक्‍त तथा सुरक्षित तुल्याउँछ। वफादार पति-पत्नी जस्तोसुकै स्थितिमा पनि एकअर्काको सहारा बन्छन्‌। (उपदेशक ४:९-१२) यिनीहरू ती व्यक्‍तिहरूभन्दा सम्पूर्णतः बेग्लै हुन्छन्‌ जो अलिकता समस्या उठ्‌नासाथै आफ्नो परिवार त्यागेर हिंडछन्‌! यस्ता व्यक्‍तिहरू तुरुन्तै ‘मैले त गलत मान्छे रोजेछु,’ ‘हाम्रो प्रेम सेलाइसक्यो’ अथवा ‘नयाँ पति वा पत्नी समाधान हो’ भन्‍ने निष्कर्षमा पुग्छन्‌। तर यस्तो निष्कर्षबाट पति होस्‌ वा पत्नी, कसैको पनि भावनात्मक विकास हुँदैन। बरु, यस्ता अविश्‍वासी व्यक्‍तिहरूले आफ्नो समस्यामा नयाँ नयाँ पति-पत्नीलाई मुछ्‌दै हिंड्‌छन्‌। राम्रो घर हुने व्यक्‍ति छाना चुहियो भन्दैमा अर्को घर सर्दैन। उसले छाना मर्मत गर्न खोज्छ। यस्तैगरि, पति वा पत्नी फेर्दैमा वैवाहिक झगडाका मूल कारणहरूको समाधान हुँदैन। समस्याहरू उठ्‌दा वैवाहिक सम्बन्ध तोड्‌ने कोशिश गर्नुको सट्टा त्यसलाई बचाउने हर प्रयास गर्नुहोस्‌। यसप्रकारको वफादारीले विवाहलाई सुरक्षित राख्ने तथा जतन गर्ने योग्यको सम्झन्छ।

७. विवाहित मानिसहरूलाई आपसमा कुराकानी गर्नु कहिलेकाहीं किन गाह्रो हुन्छ तर यस्तो हुँदा “नयाँ मानिस” धारण गर्नु कसरी मददकारी हुनसक्छ?

पारस्परिक कुराकानी। बाइबलको एउटा नीति भन्छ: “परामर्श बिनाको योजना विफल हुन्छ, तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।” (हितोपदेश १५:२२) तापनि, केही विवाहित दम्पतीहरूलाई आपसमा कुराकानी गर्नु गाह्रो लाग्छ। किन? किनभने मानिसहरूको कुराकानी गर्ने शैली बेग्लाबेग्लै हुन्छन्‌। फलतः अक्सर भ्रम तथा नैराश्‍य उत्पन्‍न हुन्छ। यसमा आफ्नो संस्कारले पनि उतिकै भूमिका खेल्छ। उदाहरणको लागि, कसै कसैले केटाकेटीदेखि नै घरमा सधैं आमा-बाबुको झगडा देखेका हुनसक्छ। यसले गर्दा अब यिनीहरूलाई पनि आफ्नो पति वा पत्नीसित दया तथा प्रेमसाथ कुरा गर्न आउँदैन। तथापि तपाईंको घर ‘झगडाले भरिएको’ घर बन्‍नु पर्दैन। (हितोपदेश १७:१) बाइबलले हामीलाई “नयाँ मानिस” धारण गर्न प्रोत्साहित गर्छ। तितोपना, होहल्ला तथा निन्दालाई बाइबलले समर्थन गर्दैन।—एफिसी ४:२२-२४, ३१.

८. पति वा पत्नीसित कुरा नमिल्दा के गर्नु फायदाजनक हुनसक्छ?

आपसमा कुरा नमिल्दा तपाईं के गर्न सक्नुहुन्छ? रीसले तात्तिन थाल्दा सायद हितोपदेश १७:१४ को यो सल्लाह प्रयोगमा ल्याउन सकिन्छ: “झगडाको शुरू मूल फुटेर निस्केको बेरोक पानीजस्तै हो, यसकारण त्यो बढ्‌नअघिनै रीस छोडिदेऊ।” हो, मामिलालाई केही समयका लागि छाडी दिनुहोस्‌। तपाईं दुवैको रीस सेलाउन पाओस्‌। (उपदेशक ३:१, ७) जस्तोसुकै स्थितिमा पनि “सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा” हुनुहोस्‌। (याकूब १:१९) तपाईंको लक्ष्य समस्याको समाधान गर्नु हो। झगडा जित्नु होइन। (उत्पत्ति १३:८, ९) यस्तो शब्द तथा व्यवहार प्रयोगमा ल्याउनुहोस्‌ जसबाट तपाईं तथा तपाईंको जीवनसाथी दुवैको रीस शान्त हुनेछ। (हितोपदेश १२:१८; १५:१, ४; २९:११) सबैभन्दा मुख्य कुरा, मनमा इबी नराख्नुहोस्‌। बरु नम्रतापूर्वक दुवै मिलेर प्रार्थनाद्वारा परमेश्‍वरसित मदद माग्नुहोस्‌।—एफिसी ४:२६, २७; ६:१८.

९. कुराकानीको शुरू हृदयमा हुन्छ भन्‍नु किन उचित हो?

बाइबलको एउटा अर्को हितोपदेश भन्छ: “ज्ञानी मानिसको मनले त्यसको बोली सम्हाल्छ, र त्यसको मुखले बोलेको कुराले बुद्धि बढाउँछ।” (हितोपदेश १६:२३) हो, सफलतापूर्वक कुराकानी गर्ने कुञ्जी हृदयमा हुन्छ, मुखमा होइन। आफ्नो जीवनसाथीप्रति तपाईंको हृदयमा के छ? बाइबलले मसीहीहरूलाई “भ्रातृ-प्रेम” देखाउन प्रोत्साहित गर्छ। (१ पत्रुस ३:८) आफ्नो जीवनसाथी चिन्ताग्रस्त भएको बेलामा के तपाईं उनीप्रति भ्रातृ-प्रेम देखाउन सक्नुहुन्छ? सक्नुहुन्छ भने, तपाईंलाई त्यतिखेर सुहाउँदो कुरा पनि गर्न आउनेछ।—यशैया ५०:४.

१०, ११. पतिले १ पत्रुस ३:७ मा उल्लिखित सल्लाहलाई कसरी प्रयोगमा ल्याउनसक्छ?

१० आदर तथा सम्मान। आ-आफ्नी पत्नीलाई “निर्बल पात्रलाई जस्तो . . . आदर दिई तिनीहरूसँग “बुद्धिमानीसाथ” बस्ने आदेश मसीही पतिहरूलाई दिइएको छ। (१ पत्रुस ३:७) पत्नीको आदर गर्नुको अर्थ तिनको मोल बुझ्नु हो। आफ्नी पत्नीसित “बुद्धिमानीसाथ” व्यवहार गर्ने पतिले पत्नीको भावना, बल, बुद्धि तथा गरिमाको कदर गर्छ। उसले स्त्रीजातिप्रति यहोवाको दृष्टिकोण अपनाउन सिक्छ र तिनीहरूसित यहोवाले चाहनु भएबमोजिमको व्यवहार गर्छ।

११ मानि लिनुहोस्‌, तपाईंको घरमा धेरै नै कामलाग्ने एउटा भाँडो छ। त्यो नाजुक पनि छ। तसर्थ, के तपाईं त्यसलाई बडो होशियारीसाथ चलाउनुहुन्‍न र? सोही अर्थ ध्यानमा राख्दै पत्रुसले “निर्बल पात्र” शब्द प्रयोग गरे। यसबाट मसीही पति आफ्नी प्रिय पत्नीप्रति कोमल श्रद्धा देखाउन उत्प्रेरित हुनुपर्छ।

१२. पत्नीले पतिप्रति गहिरो आदर कसरी देखाउनसक्छिन्‌?

१२ तर बाइबलले पत्नीहरूलाई के सल्लाह दिन्छ? पावल भन्छन्‌: “पत्नीले पनि आफ्ना पतिको [“गहिरो आदर गरोस्‌,” न्युव] डर मानोस्‌।” (एफिसी ५:३३) जसरी पत्नीले पतिको आदर तथा प्रेम महसुस गर्नुपर्छ, त्यसरी नै पतिले पनि आफ्नी पत्नीको आदर पाउनुपर्छ। आफ्नो पति मसीही होस्‌ नहोस्‌, आदर देखाउने पत्नीले पतिका कमजोरीहरूबारे जथाभावी कुरा गर्दै हिंड्‌दिनन्‌। एकान्तमा होस्‌ वा अरूहरूको सामु, तिनले पतिको आलोचना गर्दै उनलाई होच्याउँदिनन्‌, उनको अपमान गर्दिनन्‌।—१ तिमोथी ३:११; ५:१३.

१३. आफ्नो विचारलाई कसरी शान्त ढङ्‌गमा व्यक्‍त गर्न सकिन्छ?

१३ यसको अर्थ पत्नीले आफ्नो विचार व्यक्‍त गर्न पाउँदिनन्‌ भनेको होइन। तिनी कुनै कारणवश चिन्तित छिन्‌ भने सो मामिला शिष्टतासाथ प्रकट गर्नसक्छिन्‌। (उत्पत्ति २१:९-१२) आफ्नो पतिसित कुनै विचार व्यक्‍त गर्नु, उनीतिर भकुन्डो हान्‍नु जस्तो हो। बिस्तारै हान्‍नुभयो भने पतिले त्यसलाई समात्नसक्छन्‌ तर जोडसित हान्‍नुभएको खण्डमा उनलाई चोट लाग्नुसक्छ। अतः पति पत्नी दुवैले एकअर्कालाई दोषारोपणको झटारो हान्‍नुको सट्टा दया र शिष्टतापूर्वक कुरा गर्नु कति असल हुनेछ!—मत्ती ७:१२; कलस्सी ४:६; १ पत्रुस ३:३, ४.

१४. आफ्नो पति वा पत्नीले विवाहसम्बन्धी बाइबलका सिद्धान्तहरूमा विशेष रुचि नदेखाएमा तपाईं के गर्न सक्नुहुन्छ?

१४ हो, बाइबलका सिद्धान्तहरू सुखी वैवाहिक जीवन निर्माण गर्दा मददकारी हुनसक्छन्‌। तर तपाईंको जीवनसाथीले बाइबलका सिद्धान्तहरूमा खास चासो नदेखाएमा के गर्ने? यस्तो हुँदा पनि तपाईंले परमेश्‍वरको ज्ञानअनुरूप आफ्नो भूमिका निभाउनु धेरै फलदायी हुन्छ। पत्रुसले यसप्रकार लेखे: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌।” (१ पत्रुस ३:१, २) सोही सिद्धान्त पतिमा पनि लागू हुन्छ यदि पत्नीले बाइबलमा खास रुचि देखाएकी छैनन्‌ भने। तपाईंको जीवनसाथीले जुनसुकै मार्ग अपनाए तापनि बाइबलका सिद्धान्तहरूको प्रयोगद्वारा तपाईं चाहिं अझ राम्रो पति वा पत्नी बन्‍नुहोस्‌। परमेश्‍वरको ज्ञानले तपाईंलाई आमा-बाबुको भूमिका पनि अझ राम्ररी पूरा गर्ने मदद दिनसक्छ।

परमेश्‍वरको ज्ञानअनुसार छोराछोरी हुर्काउन

१५. छोराछोरी हुर्काउने गलत तरिका कसरी एकपछि अर्को पुस्ताले अपनाउँदै जानसक्छ, तापनि यो चक्र कसरी अन्त गर्न सकिन्छ?

१५ आफूसित करौंती वा घन हुँदैमा मान्छे सिपालु सिकर्मी बन्दैन। हामी पनि आफ्नो छोराछोरी छ भन्दैमा सिपालु आमा-बाबु बन्दैनौं। आमा-बाबुहरूले अक्सर तिनीहरूको पालनपोषण जान-अन्जानमा जसरी भयो, त्यसरी नै आफ्ना छोराछोरीको पनि पालनपोषण गर्न खोज्छन्‌। यसप्रकार छोराछोरी हुर्काउने गलत तरिकाहरू एकपछि अर्को पुस्ताले अपनाउँदै जान्छ। एउटा प्राचीन हिब्रू तुक्का भन्छ: “अमीलो अङ्‌गूर खाने बाबु, दाँत कुडिने छोराछोरी।” तर हामी आफ्नो आमा-बाबु हिंडेकै मार्गमा हिंड्‌नुपर्छ भन्‍ने कुनै शास्त्रीय बाध्यता छैन। हामी यहोवाका नियमहरूले निर्देशित बेग्लै मार्ग पनि रोज्नसक्छौं।—इजकिएल १८:२, १४, १७.

१६. आफ्नो परिवारको पालनपोषण गर्नु किन महत्त्वपूर्ण हो र यसमा के के सम्मिलित छन्‌?

१६ मसीही आमा-बाबुले आफ्ना छोराछोरीलाई सही ढङ्‌गमा निर्देशित तथा पालनपोषण गरेको यहोवा चाहनुहुन्छ। यसबारे पावलले लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) विषय गम्भीर छ! आफ्नो परिवार अर्थात्‌ आफ्ना छोराछोरीका शारीरिक, आध्यात्मिक र भावनात्मक आवश्‍यकताहरूलाई पूरा गर्नु ईश्‍वरभक्‍त मानिसको विशेषाधिकार तथा जिम्मेवारी हो। आफ्ना छोराछोरीका लागि सुखमय वातावरण सृजना गर्न मदद दिने सिद्धान्तहरू बाइबलमा पाइन्छ। तीमध्ये केही सिद्धान्तहरू यसप्रकार छन्‌।

१७. तपाईंका छोराछोरीको हृदयमा परमेश्‍वरको नियम बसाल्ने हो भने, के गर्नु आवश्‍यक छ?

१७ राम्रो उदाहरण बसाल्नुहोस्‌। इस्राएलीहरूलाई यो आज्ञा दिइएको थियो: “मैले तिमीहरूलाई सुनाएको आज्ञा [परमेश्‍वरको वचन] आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। औ घरमा बस्ता र उठ्‌दा तिनको चर्चा गर।” आमा-बाबुले छोराछोरीलाई परमेश्‍वरका स्तरहरू सिकाउन परेको थियो। तर यो आदेशअघि यसो भनिएको थियो: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख।” (व्यवस्था ६:६, ७) हो, आफ्नो मनमा नभएको कुरा आमा-बाबुले छोराछोरीलाई बताउन सक्दैनन्‌। परमेश्‍वरको नियम पहिले आमा-बाबुकै हृदयमा लेखिएको हुनुपर्छ। अनि मात्र तिनीहरूले आफ्ना छोराछोरीको हृदयमा पनि ती नियमहरू लेखी दिनसक्छन्‌।—हितोपदेश २०:७; लूका ६:४० तुलना गर्नुहोस्‌।

१८. प्रेम प्रकट गर्ने सम्बन्धमा यहोवाले आमा-बाबुका लागि कसरी सर्वोत्कृष्ट उदाहरण कायम गर्नुभएको छ?

१८ तपाईंको प्रेममा तिनीहरू निर्धक्क हुनुपर्छ। येशूको बप्तिस्मा हुँदा यहोवाले यो घोषणा गर्नुभयो: “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसित म प्रसन्‍न छु।” (लूका ३:२२) यसरी यहोवाले पुत्रमाथि आफ्नो स्वीकृति प्रकट गर्नुभयो। उहाँले सबैको सामु पुत्रका लागि आफ्नो अनुमोदन व्यक्‍त गर्नुभयो। उहाँको प्रेममाथि पुत्र भर पर्न सक्नुहुन्थ्यो। केही समयपछि येशूले पितालाई भन्‍नुभयो: “तपाईंले संसारको उत्पत्तिभन्दा पहिलेदेखिनै मलाई प्रेम गर्नुभयो।” (यूहन्‍ना १७:२४) अतः तपाईं ईश्‍वरभक्‍त आमा-बाबुले पनि छोराछोरीप्रति मौखिक तथा शारीरिक तवरमा प्रेम प्रकट गर्नुहोस्‌। यो अक्सर गर्नुहोस्‌। नबिर्सनुहोस्‌, “प्रेमले उन्‍नति गराउँछ”।—१ कोरिन्थी ८:१.

१९, २०. छोराछोरीलाई ठीकसँग अनुशासन दिंदा कुन कुन कुरा सम्मिलित हुन्छन्‌ र आमा-बाबुले यहोवाको उदाहरणबाट के सिक्नसक्छन्‌?

१९ अनुशासन। बाइबलले मायालु अनुशासनमाथि निकै जोड दिएको छ। (हितोपदेश १:८) आमा-बाबुले आफ्ना छोराछोरीलाई अनुशासनमा राख्ने जिम्मेवारी आज नउठाएमा तिनीहरूले भोलि हृदय विदारक दुःख भोग्नुपर्छ। तर फेरि आमा-बाबुले यस मामिलामा अचाक्ली पनि गर्नु हुँदैन। पावलले लेखेअनुसार: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌।” (कलस्सी ३:२१) आमा-बाबुले आफ्ना छोराछोरीलाई पटक पटक सुधारी रहनु हुँदैन। तिनीहरूको दोष एकोहोरो कोट्याउँदै तिनीहरूले गरेको हर प्रयासलाई होच्याउनु उचित होइन।

२० अनुशासन दिने मामिलामा यहोवा परमेश्‍वर, स्वर्गमा हुनुहुने हाम्रो पिता हाम्रो आदर्श हुनुहुन्छ। उहाँले कहिल्यै कठोरतासाथ सुधार गर्नुहुन्‍न। परमेश्‍वरले आफ्ना जनहरूलाई “ठीकसँग म तँलाई चेताउनी दिनेछु” भन्‍नुभयो। (यर्मिया ४६:२८) यसको अनुकरण आमा-बाबुले गर्नुपर्छ। मनासिबभन्दा बढी अथवा चाहिंदोभन्दा ज्यादै सुधार र शिक्षा दिने अनुशासन निश्‍चय रीसउठ्‌दो हुन्छ।

२१. आफूले दिइरहेको अनुशासन प्रभावशाली छ छैन, सो आमा–बाबुले कसरी ठम्याउनसक्छन्‌?

२१ आफूले दिइरहेको अनुशासन प्रभावशाली छ छैन, सो आमा-बाबुले कसरी ठम्याउनसक्छन्‌? सम्भवतः उनीहरूले आफूलाई प्रश्‍न गर्नसक्छन्‌: ‘मैले दिइरहेको अनुशासनको लक्ष्य के हो? किनकि अनुशासनको लक्ष्य शिक्षा दिनु हो। अनुशासन किन दिइँदैछ, सो छोराछोरीले बुझ्नुपर्छ। सुधारपश्‍चात्‌ हुने प्रतिक्रियालाई पनि आमा-बाबुले ध्यान दिनुपर्छ। स्वाभाविकतः सबै केटा-केटीका लागि अनुशासन झर्कोलाग्दो हुन्छ। (हिब्रू १२:११) तापनि अनुशासनले बच्चामा त्रास वा त्यागिएको भाव उत्पन्‍न गर्नु हुँदैन। नता अनुशासनले उसलाई आफ्नो नजरमा पूर्णतः दुष्ट तुल्याउनु हुन्छ। आफ्ना जनहरूलाई सुधार्नअघि यहोवाले यसो भन्‍नुभयो: “नडरा, किनभने म तँसित छु।” (यर्मिया ४६:२८) हो, बच्चालाई सुधार्नु हुँदा पनि उसले तपाईंलाई मायालु र मददकारी आमा-बाबुको रूपमै देख्नुपर्छ।

“निपुणता” प्राप्त गर्नुहोस्‌

२२, २३. सुखी परिवार निर्माण गर्ने निपुणता कसरी प्राप्त गर्न सकिन्छ?

२२ सुखी पारिवारिक जीवन निर्माणका लागि यहोवाले चाहिंदो औजार उपलब्ध गराउनुभएको छ र यसका लागि हामी साँच्चै नै आनन्दित छौं। तर आफूसित औजार भएर मात्र पुग्दैन। हामीले तिनको उचित प्रयोग पनि गर्नुपर्छ। उदाहरणको लागि, कुनै कारिन्दालाई गलत ढङ्‌गमा औजार चलाउने बानी लागेको हुनसक्छ। उसले कतिपय औजारहरूको प्रयोग पूर्णतः गलत ढङ्‌गमा गरिरहेको हुनसक्छ। यसले गर्दा शायद उसको काम गुणस्तरीय नहोला। यस्तैगरि, आफ्नो परिवारमा पनि केही अहितकारी आनीबानी तपाईंले अब शायद महसुस गर्नुहुन्छ। केही बानी ज्यादै पुरानो र फलतः छाड्‌नु अति कठिन होला। तापनि बाइबलको यो सल्लाह मान्‍नुहोस्‌: “बुद्धिमान मानिसले यो ध्यानसित सुन्यो भने आफ्नो विद्या बढाउनेछ, औ समझशक्‍ति भएको मानिसले निपुणता प्राप्त गर्नेछ।”—हितोपदेश १:५.

२३ परमेश्‍वरको ज्ञान लिइरहनुभयो भने तपाईंलाई निपुणता प्राप्त हुनेछ। पारिवारिक जीवनमा लागू हुने बाइबल सिद्धान्तहरूबारे सचेत हुनुहोस्‌। आवश्‍यकतानुसार परिवारमा काँटछाँट गर्न तयार रहनुहोस्‌। ती परिपक्व मसीहीहरूको उदाहरणलाई विचार गर्नुहोस्‌ जो अनुकरणीय पति पत्नी तथा आमा-बाबु हुन्‌। उनीहरूसित कुरा गर्नुहोस्‌। तर मुख्य कुरा, यहोवालाई प्रार्थनाद्वारा आफ्नो सारा चिन्ता व्यक्‍त गर्नुहोस्‌। (भजन ५५:२२; फिलिप्पी ४:६, ७) उहाँको महिमा गर्ने सुखी परिवारको आनन्द उठाउन उहाँले तपाईंलाई मदद दिन सक्नुहुन्छ।

[फुटनोट]

a “व्यभिचार” अर्थात्‌ आफ्नो पति वा पत्नीबाहेक अर्कै व्यक्‍तिसित लैंगिक संसर्ग भएको खण्डमा मात्र बाइबलले सम्बन्ध विच्छेद तथा पुनः विवाह गर्ने अनुमति दिन्छ।—मत्ती १९:९.

आफ्नो ज्ञान जाँच्नुहोस्‌

सुखी वैवाहिक जीवनमा वफादारी, पारस्परिक कुराकानी, आदर र सम्मान कसरी मददकारी हुनसक्छन्‌?

आमा-बाबुले आफ्नो प्रेममा छोराछोरीलाई कसरी निर्धक्क तुल्याउनसक्छन्‌?

उचित अनुशासनमा कुन कुन कुरा समाविष्ट छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४७-मा भएको पृष्ठभरिको चित्र]