सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?

परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?

अध्याय ५

परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?

१. उपासनाबारे एउटी सामरी आइमाई के जान्‍न इच्छुक थिइन्‌?

 ‘परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?’ यसबारे के तपाईंले कहिल्यै सोच्नुभएको छ? मनमा शायद यस्तै प्रश्‍न लिएर एउटी आइमाईले येशू ख्रीष्टसित सामरियाको गीरिज्जीम पर्वतमा कुरा गरिन्‌। सामरीहरू तथा यहूदीहरूले गर्ने उपासनाबीचको भिन्‍नतालाई औंल्याउँदै तिनले भनिन्‌: “हाम्रा पुर्खाहरूले यस डाँडामा पूजा गरे, औ तपाईंहरू भन्‍नुहुन्छ कि पुज्न पर्ने स्थान यरूशलेममा छ।” (यूहन्‍ना ४:२०) अब के येशूले ती सामरी आइमाईलाई परमेश्‍वरसामु सबै नै उपासना ग्रहणयोग्य छ भन्‍नुभयो र? कि परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन केही खास आवश्‍यकताहरू पूरा गर्नुपर्छ भन्‍नुभयो?

२. सामरी आइमाईलाई येशूले जवाफमा के भन्‍नुभयो?

येशूले यो आश्‍चर्यपूर्ण जवाफ दिनुभयो: “त्यो बेला आउँदैछ जब तिमीहरू नता यस डाँडामा न यरूशलेममा, पितालाई पुज्नेछौ।” (यूहन्‍ना ४:२१) सामरीहरूले धेरै समयदेखि यहोवाको भय मान्दै अनि गीरिज्जीम पर्वतमा अन्य देवताहरूको उपासना गर्दै आएका थिए। (२ राजा १७:३३) तर अब भने न त्यो डाँडा न यरूशलेम नै साँचो उपासनाको लागि महत्त्वपूर्ण स्थलहरू हुनेछन्‌ भनी येशूले भन्‍नुभयो।

आत्मा र सत्यतामा उपासना गर्नु

३. (क) सामरीहरूले परमेश्‍वरलाई किन वास्तवमा चिन्दैनन्‌ थिए? (ख) विश्‍वासी यहूदीहरू तथा अरूले परमेश्‍वरलाई कसरी चिन्‍न सक्थे?

येशूले अझ यसो भन्‍नुभयो: “तिमीहरू जे जान्दैनौ, त्यो पुज्दछौ। हामी जे जान्दछौं, त्यो पुज्दछौं किनभने मुक्‍ति चाहिं यहूदीहरूबाट छ।” (यूहन्‍ना ४:२२) सामरीहरूले झूटा धार्मिक विचारहरू अपनाएका थिए र बाइबलका प्रथम पाँच पुस्तकहरूलाई मात्र ईश्‍वरप्रेरित मान्थे। त्यो पनि तिनीहरूले संशोधन गरेका सामरी पेन्टाटुक कहलाइने पाँच पुस्तकहरूलाई मात्र। तसर्थ, तिनीहरूले परमेश्‍वरलाई वास्तवमा चिन्दैनन्‌ थिए। तथापि, यहूदीहरूलाई चाहिं शास्त्रको ज्ञान सुम्पिएको थियो। (रोमी ३:१, २) परमेश्‍वरलाई चिन्‍नका निम्ति आवश्‍यक जम्मै कुराहरू विश्‍वासी यहूदीहरू तथा सुन्‍न इच्छुक सबैका निम्ति शास्त्रमा लिपिबद्ध थिए।

४. येशूको भनाइअनुसार, परमेश्‍वरसामु आफ्नो उपासनालाई ग्रहणयोग्य तुल्याउन यहूदी र सामरीहरू दुवैले के गर्नुपरेको थियो?

तर परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने हो भने, यहूदी तथा सामरी दुवैले आफ्नो उपासनापद्धति सच्याउन जरुरी छ भनी येशूले साफसाफ बताउनुभयो। उहाँले भन्‍नुभयो: “बेला आउँछ र अहिल्यै हो जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ औ उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नु पर्दछ।” (यूहन्‍ना ४:२३, २४) परमेश्‍वरलाई “आत्मा[मा]” पुज्न हामीसित उहाँको आत्मा हुनैपर्छ र हामी त्यही आत्माको डोऱ्‍याइमा चल्नुपर्छ। परमेश्‍वरको वचन बाइबल अध्ययन गर्दै तथा उहाँबाट प्रकट सच्चाइअनुसार हामी परमेश्‍वरको उपासना “सत्यतामा” गर्नसक्छौं। सो गर्न के तपाईं इच्छुक हुनुहुन्छ?

५. (क) “उपासना”-को अर्थ के हो? (ख) परमेश्‍वरको सामु उपासना ग्रहणयोग्य भएको चाहन्छौं भने हामीले के गर्नुपर्छ?

परमेश्‍वर साँचो उपासना चाहनुहुन्छ भन्‍ने कुरामाथि येशूले जोड दिनुभयो। यसको अर्थ केही त्यसप्रकारका उपासनाहरू पनि छन्‌ जो यहोवाको सामु ग्रहणयोग्य छैनन्‌। परमेश्‍वरको उपासना गर्नुको अर्थ उहाँलाई आदरपूर्ण श्रद्धा चढाउनु तथा उहाँको पवित्र सेवा गर्नु हो। कुनै शक्‍तिशाली शासकलाई श्रद्धा दर्शाउन चाहनुभएमा तपाईं निश्‍चय उनको सेवा गर्न र उनलाई प्रसन्‍न तुल्याउने कुराहरू गर्न उत्सुक हुनुहुनेछ। सोहीप्रकार हामी परमेश्‍वरलाई पनि प्रसन्‍न तुल्याउन चाहन्छौं। ‘मेरो धर्म मेरोलागि ठीक छ’ भन्‍नुको सट्टा हाम्रो उपासनाशैली परमेश्‍वरको आवश्‍यकताअनुरूप छ कि छैन, सो निश्‍चित गर्नु नितान्त जरुरी छ।

पिताको इच्छा गर्नु

६, ७. येशूले उहाँका अनुयायी हुने दाबी गर्ने केहीलाई किन स्वीकार्नुहुन्‍न?

अब हामी मत्ती ७:२१-२३ पढौं। परमेश्‍वरको सामु हरप्रकारको उपासना ग्रहणयोग्य छ छैन, सो निर्णय गर्ने महत्त्वपूर्ण बुँदा यी पदहरूमा फेला पार्ने कोशिश गरौं। येशूले यहाँ यसो भन्‍नुभएको छ: “मलाई प्रभु, प्रभु भन्‍ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ। त्यो दिन धेरैले मलाई भन्‍नेछन्‌, ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामर्थ्यका काम गरेनौं र?’ अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्‍नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।”

साँचो उपासना गर्नेहरूले येशू ख्रीष्टलाई प्रभु स्वीकार्नु अति आवश्‍यक छ। तर येशूको अनुयायी हुने दाबी गर्नेको उपासना पनि अपर्याप्त हुनसक्छ भनी उक्‍त शास्त्रपदबाट बोध हुन्छ। येशूको भनाइअनुसार तीमध्ये केहीले “सामर्थ्यका कामहरू” गर्नेछन्‌। तिनीहरूले शायद चमत्कारपूर्ण रीतिमा रोगीहरूलाई निको पार्नेछन्‌। तथापि जुन काम येशूको नजरमा अत्यावश्‍यक छ, त्यो काम चाहिं तिनीहरूले गर्नेछैनन्‌। तिनीहरूले “[उहाँको] पिताको इच्छा” गरेका हुनेछैनन्‌। अतः हामी परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहन्छौं भने हामीले पनि पिताको इच्छा के हो, सो सिक्नुपर्छ र त्यसलाई व्यवहारमा ल्याउनुपर्छ।

सही ज्ञान—एउटा सुरक्षा

८. परमेश्‍वरको इच्छा गर्ने हो भने के गर्नु आवश्‍यक छ र के कस्ता गलत धारणाहरूबाट अलग बस्नुपर्छ?

परमेश्‍वरको इच्छा गर्नका लागि यहोवा परमेश्‍वर र येशू ख्रीष्ट दुवैको सही ज्ञान चाहिन्छ। यस्तो ज्ञानले अनन्त जीवनतर्फ लैजान्छ। यसकारण परमेश्‍वरको वचन बाइबलबाट सही ज्ञान लिने विषयबारे गम्भीरतापूर्वक विचार गर्न हामी सबै नै इच्छुक हुनुपर्छ। तर कसै कसैको भनाइअनुसार हामी निष्कपट तथा जोशिलो भएर उपासना गरूञ्जेल चिन्ता गर्नु पर्दैन। फेरि कोही भन्छन्‌: ‘कम थाह पाए कम गरे पुग्छ।’ तर बाइबलले भने हामीलाई परमेश्‍वर र उहाँका उद्देश्‍यहरूको ज्ञानमा बढ्‌दै जान प्रोत्साहित गर्छ।—एफिसी ४:१३; फिलिप्पी १:९; कलस्सी १:९.

९. सही ज्ञानले हामीलाई कसरी बचाउँछ र यस्तो बचाउ हामीलाई किन चाहिन्छ?

यस्तो ज्ञानले हाम्रो उपासनालाई बिटुलो हुनदेखि बचाउँछ। प्रेरित पावलले एउटा खास आत्मिक व्यक्‍तिबारे चर्चा गरे जो “ज्योतिर्मय स्वर्गदूत” भई टोपल्छ। (२ कोरिन्थी ११:१४) यसरी बेग्लै रूप धारण गर्दै यो आत्मिक व्यक्‍ति शैतानले हामीलाई ठग्छ। त्यसले परमेश्‍वरको इच्छा विपरीत काम गर्न हामीलाई उस्काउन खोज्छ। शैतानसित लागेका अरू आत्मिक व्यक्‍तिहरूले पनि मानिसहरूको उपासनालाई दूषित पार्दै आएका छन्‌। यसबारे पावल भन्छन्‌: “तर अन्यजातिहरू जो बलि चढाउँछन्‌, परमेश्‍वरलाई होइन, तर भूत-प्रेतहरूलाई चढाउँछन्‌।” (१ कोरिन्थी १०:२०) परमेश्‍वरको इच्छाअनुसार नहिंड्‌ने धेरैले आफ्नो उपासनाशैलीलाई ठीकै ठानेका हुनसक्छन्‌। तिनीहरू झूटो तथा अशुद्ध उपासनातर्फ चालै नपाइकन फसेका हुन्छन्‌। शैतान र प्रेतहरूबारे हामी अझ अरू कुरा अलिक पछि सिक्नेछौं। तर अहिले सम्झनुपर्ने कुरा के हो भने, परमेश्‍वरका यी दुश्‍मनहरूले मानिसजातिको उपासनालाई वास्तवमा बिटुलो पार्दै आएका छन्‌।

१०. तपाईंको धाराको पानीलाई कसैले जानाजानी दूषित पारिदिएमा तपाईं के गर्नुहुनेछ र परमेश्‍वरको वचनको सही ज्ञानले पनि हामीलाई के गर्ने मदत दिन्छ?

१० तपाईंको धाराको पानीमा कसैले जानाजानी विष हालिदिएको कुरा थाह लागेमा के तपाईं त्यहाँको पानी खाइरहनुहुन्छ? तपाईं निश्‍चय सुरक्षित तथा सफा पानीको बेग्लै श्रोत फेला पार्न तुरुन्तै सुर कस्नु हुनेछ। सोहीप्रकार, परमेश्‍वरको वचनले पनि हामीलाई साँचो धर्म चिन्‍ने र हाम्रो उपासनालाई परमेश्‍वरको सामु अस्वीकृत तुल्याउने अशुद्धताहरू तिरस्कार गर्ने मदत दिन्छ।

मानिसहरूको रीतिथितिलाई धर्मसिद्धान्त तुल्याएका

११. थुप्रै यहूदीहरूले गर्ने उपासनामा कुन कुरा गलत थियो?

११ येशू पृथ्वीमा हुनुहुँदा थुप्रै यहूदीहरू परमेश्‍वरको सही ज्ञानअनुसार चल्दैनन्‌ थिए। तसर्थ, यहोवाको नजरमा धर्मी हुने सुअवसर तिनीहरूले गुमाए। तिनीहरूबारे पावलले लेखे: “तिनीहरूसँग परमेश्‍वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन भनी मलाई तिनीहरूका विषयमा पक्का थाह छ।” (रोमी १०:२) परमेश्‍वरले भन्‍नुभएको कुरालाई ध्यानपूर्वक सुन्‍नुको सट्टा तिनीहरूले आफ्नै इच्छाअनुसार उपासना गर्ने फैसला गरे।

१२. इस्राएलीजातिको उपासनालाई कुन कुराले दूषित पाऱ्‍यो र यसको परिणाम के भयो?

१२ शुरूमा त इस्राएलीहरूले ईश्‍वरप्रदत्त शुद्ध धर्म मान्‍ने गर्थे। तर त्यो धर्म पछिबाट मानिसहरूका शिक्षाहरू र दर्शनहरूले गर्दा दूषित भयो। (यर्मिया ८:८, ९; मलाकी २:८, ९; लूका ११:५२) हुन त फरिसी कहलाइने यहूदी धर्मगुरुहरूले आफ्नो उपासनालाई परमेश्‍वरको सामु ग्रहणयोग्य ठानेका थिए। तापनि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “ए कपटी हो, यशैयाले तिमीहरूका विषयमा ठीकैसँग अगमवाणी गरे, जस्तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्दछ, तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्‌, किनभने मानिसहरूको रीतिथितिलाई धर्मसिद्धान्त तुल्याई शिक्षा दिन्छन्‌।’ ”—मर्कूस ७:६, ७.

१३. हामी पनि फरिसीहरूजस्तै कसरी ठगिनसक्छौं?

१३ कतै हामी पनि ती फरिसीहरूजस्तै पो हुने हो कि? परमेश्‍वरले उपासनासम्बन्धी भन्‍नुभएका कुराहरू जाँच गर्नुको सट्टा परम्परागत आएका शिक्षाहरूको पछि लाग्यौं भने, हो, हामी पनि ती फरिसीहरूजस्तै हुनेछौं। यो वास्तविक खतराबारे चेताउनी दिंदै पावलले लेखे: “तर पवित्र आत्मा प्रष्टै भन्‍नुहुन्छ, कि पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्‍वासबाट पतित हुनेछन्‌।” (१ तिमोथी ४:१) यसकारण हाम्रो उपासनासित परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ भन्ठानेर मात्र पुग्दैन। येशूसित भेट गर्ने सामरी आइमाईले झैं हामीले पनि आफ्ना आमा-बाबुले मान्‍नुभएको धर्म अपनाएका हुनसक्छौं। यसकारण परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कुराहरू हामीबाट भइरहेका छन्‌ कि छैनन्‌, निश्‍चित गर्नु अनिवार्य छ।

परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउनदेखि होशियार

१४, १५. परमेश्‍वरको इच्छासम्बन्धी हामीमा केही ज्ञान छ भने पनि हामी किन होशियार हुनुपर्छ?

१४ हामी होशियार भएनौं भने, परमेश्‍वरको सामु अस्वीकृत हुने कार्य हामीबाट हुनसक्छ। उदाहरणको लागि, प्रेरित यूहन्‍ना स्वर्गदूतलाई “दण्डवत्‌” गर्न घोप्टो परे। तर स्वर्गदूतले यो चेताउनी दिए: “यसो नगर, म येशूको साक्षी ग्रहण गर्ने तिम्रा भाइहरूको र तिम्रो सह-कर्मी हुँ। परमेश्‍वरलाई दण्डवत्‌ गर।” (प्रकाश १९:१०) यसकारण, अब तपाईंले गर्नुहुने उपासना पनि हरप्रकारको मूर्तिपूजाबाट मुक्‍त छ छैन, सो निश्‍यच गर्नु आवश्‍यक छैन र?—१ कोरिन्थी १०:१४.

१५ परमेश्‍वरलाई अब प्रसन्‍न नतुल्याउने धार्मिक रीतिथितिहरू केही मसीहीहरूले मान्‍न थाल्दा पावलले तिनीहरूलाई सोधे: “तिमीहरू ती निर्बल र कङ्‌गाली तत्त्वहरूतिर फर्कन्छौ, र फेरि तिनका दास बन्‍न चाहन्छौ? तिमीहरू दिनहरू, महीनाहरू, ऋतुहरू र वर्षहरू मान्दछौ। मैले तिमीहरूका विषयमा, कतै तिमीहरूलाई व्यर्थमा तकलीफ मात्र दिएँ कि भन्‍ने मलाई डर लागेको छ।” (गलाती ४:८-११) ती व्यक्‍तिहरूले परमेश्‍वरको ज्ञान पाएका थिए। तर पछि फेरि तिनीहरूले यहोवाको सामु अस्वीकृत धार्मिक रीतिथिति तथा चाडहरू मान्‍ने गल्ती गरे। अतः हामीले पनि पावलले भनेझैं “प्रभुलाई मनपर्ने के हो, सो जाँचेर” निश्‍चित गरिरहनु अत्यावश्‍यक छ।—एफिसी ५:१०.

१६. धार्मिक रीतिथिति तथा चाडहरूसित परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ कि हुनुहुन्‍न, सो ठम्याउनमा हामीलाई यूहन्‍ना १७:१६ र १ पत्रुस ४:३ ले कसरी मदत दिन्छ?

१६ परमेश्‍वरका सिद्धान्तहरू उल्लङ्‌घन गर्ने धार्मिक दिवसहरू तथा अन्य रीतिथितिहरूमा हामीले पटक्कै भाग लिनु हुँदैन। (१ थिस्सलोनिकी ५:२१) उदाहरणको लागि, येशूले आफ्ना अनुयायीहरूबारे भन्‍नुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१६) संसारमा तपाईंको तटस्थतालाई भङ्‌ग गर्ने रीतिथिति तथा चाडहरूसित के तपाईंको धर्म मुछिएको छ? अथवा के तपाईंको धर्मका अनुयायीहरूले पत्रुसद्वारा वर्णित गतिविधिहरूजस्तै कामकुरोमा कहिलेकाहीं भाग लिने गर्छन्‌? पत्रुसले त्यस्ता गतिविधिहरूबारे यसप्रकार लेखे: “किनकि अन्यजातिहरूको इच्छाअनुसार काम गर्ने, लुच्च्याइँ, अभिलाषा, मतवालीपन, मोज-मजा, मद्यपान र घिनलाग्दा मूर्तिपूजाहरूमा चल्ने, जो बितेका समयमा भयो, सो प्रशस्त होला।”—१ पत्रुस ४:३.

१७. संसारको प्रवृत्तिलाई प्रतिबिम्बित गर्ने हर कुरबाट हामी किन अलग बस्नुपर्छ?

१७ हाम्रो वरिपरिको भक्‍तिहीन संसारको प्रवृत्तिलाई प्रतिबिम्बित गर्ने हर रीतिथितिबाट आफूलाई अलग राख्नु नितान्त आवश्‍यक छ। यसमाथि जोड दिंदै प्रेरित यूहन्‍नाले यसरी लेखे: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१५-१७) ‘परमेश्‍वरको इच्छाबमोजिम गर्ने’ चाहिं सधैंभरि रहिरहन्छ भन्‍ने पद्यांशमाथि के तपाईंले ध्यान दिनुभयो? हो, परमेश्‍वरको इच्छा गऱ्‍यौं र यस संसारको प्रवृत्ति प्रतिबिम्बित गर्ने गतिविधिहरूबाट आफूलाई अलग राख्यौं भने हामीले अनन्त जीवन पाउने आशा गर्नसक्छौं!

परमेश्‍वरका उच्चस्तरहरू पालन गर्नुहोस्‌

१८. केही कोरिन्थीहरूले आचरणबारे कुन गलत धारणा राखेका थिए र यसबाट हामीले के सिक्नुपर्छ?

१८ परमेश्‍वर त्यसप्रकारका उपासकहरू चाहनुहुन्छ जसले उहाँका उच्च नैतिकस्तरहरू पालन गर्छन्‌। प्राचीन कोरिन्थका केही व्यक्‍तिहरूले परमेश्‍वरको सामु अनैतिक व्यवहार पनि स्वीकृत हुनेछ भनी ठान्‍ने गल्ती गरे। तर १ कोरिन्थी ६:९, १० पढ्‌दा तिनीहरूको त्यस्तो धारणा कति गलत थियो, सो स्पष्ट हुन्छ। परमेश्‍वरलाई ग्रहणयोग्य उपासना चढाउने हो भने, हामीले उहाँलाई वचन र काम दुवैद्वारा प्रसन्‍न तुल्याउनुपर्छ। यसो गर्न के तपाईंको धर्मले तपाईंलाई मदत दिइरहेछ?—मत्ती १५:८; २३:१-३.

१९. साँचो उपासनाको मुख्य चिनारी के हो र यसले गर्दा के प्रश्‍न उठ्‌छ?

१९ अरूसित गरिने हाम्रो व्यवहारमा पनि परमेश्‍वरका स्तरहरू झल्किनुपर्छ। अरूबाट हामी जुन प्रकारको व्यवहार चाहन्छौं, सोही प्रकारको व्यवहार हामीले तिनीहरूसित गर्नुपर्छ भनी येशूले हामीलाई प्रोत्साहित गर्नुहुन्छ। साँचो उपासनाको यो एउटा भाग हो। (मत्ती ७:१२) भ्रातृस्नेह देखाउने सम्बन्धमा पनि उहाँले के भन्‍नुभयो, सो विचार गर्नुहोस्‌: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) येशूका अनुयायीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ। तिनीहरूले आफ्ना सह-उपासकहरू तथा अन्य व्यक्‍तिहरूप्रति भलाइ गर्नुपर्छ।—गलाती ६:१०.

तनमनले चढाइएको उपासना

२०, २१. (क) परमेश्‍वर कुन प्रकारको उपासना चाहनुहुन्छ? (ख) यहोवा परमेश्‍वरले मलाकीको दिनमा इस्राएलीहरूको उपासनालाई किन तिरस्कार गर्नुभयो?

२० परमेश्‍वरलाई ग्रहणयोग्य उपासना चढाउन तपाईं हृदयबाटै इच्छुक हुनुहुन्छ होला। यसो हो भने, तपाईंले उपासनाबारे यहोवाको दृष्टिकोण अपनाउनुपर्छ। किनकि हाम्रो होइन परमेश्‍वरको दृष्टिकोण महत्त्वपूर्ण हुन्छ। यसमाथि जोड दिंदै चेला याकूबले भने: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलङ्‌क राख्नुनै पवित्र र हाम्रा परमेश्‍वर पिताको सामने शुद्ध धर्म हो।” (याकूब १:२७) परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहन्छौं भने हामी प्रत्येकले आफ्नो उपासनाशैलीलाई जाँच्नुपर्छ। भक्‍तिहीन रीतिथितिहरूको कुप्रभावबाट हाम्रो उपासना मुक्‍त हुनुपर्छ। त्यसबाट परमेश्‍वरको दृष्टिमा कुनै पनि महत्त्वपूर्ण विषय छुटेको हुनु हुँदैन।—याकूब १:२६.

२१ तनमनले चढाएको शुद्ध उपासनासित मात्र यहोवा प्रसन्‍न हुनुहुन्छ। (मत्ती २२:३७; कलस्सी ३:२३) इस्राएलीजातिले त्योभन्दा कमसल उपासना परमेश्‍वरलाई चढाउँदा उहाँले यसो भन्‍नुभयो: “छोराले बाबुको र नोकरले मालिकको मान गर्दछ। यदि म बाबु हो भने मेरो मान खोइ? यदि म मालिक हो भने मेरो डर खोइ?” तिनीहरूले अन्धा, लङ्‌गडा र रोगी जनावरहरू बलिदान चढाएर परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँदै थिए। (मलाकी १:६-८) यहोवा सबैभन्दा शुद्ध उपासनाको योग्य हुनुहुन्छ। उहाँ ऐकान्तिक भक्‍ति मात्र स्वीकार्नुहुन्छ।—प्रस्थान २०:५; हितोपदेश ३:९; प्रकाश ४:११.

२२. परमेश्‍वरको सामु हाम्रो उपासना ग्रहणयोग्य भएको चाहन्छौं भने हामी केबाट अलग बस्नेछौं र के गर्नेछौं?

२२ येशूसित कुरा गर्ने सामरी आइमाई परमेश्‍वरलाई स्वीकार्य उपासना चढाउन चाहन्थिन्‌ जस्तो देखिन्छ। यस्तै चाहना हामीमा पनि छ भने हामी दूषित तुल्याउने हर शिक्षा तथा चलनहरूबाट अलग बस्नेछौं। (२ कोरिन्थी ६:१४-१८) बरु परमेश्‍वरको सही ज्ञान हासिल गर्न र उहाँको इच्छाबमोजिम हिंड्‌न कडा परिश्रम गर्नेछौं। ग्रहणयोग्य उपासनासम्बन्धी उहाँका सबै आवश्‍यकताहरूलाई हामी होशियारीसाथ पूरा गर्नेछौं। (१ तिमोथी २:३, ४) यही गर्ने जोडदार प्रयासमा यहोवाका साक्षीहरू लागेका छन्‌। “आत्मा र सत्यतामा” परमेश्‍वरको उपासना गर्न तिनीहरूले तपाईंसित पनि मायालु आग्रह गर्छन्‌। (यूहन्‍ना ४:२४) येशूले भन्‍नुभयो: “पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।” (यूहन्‍ना ४:२३) तपाईं पनि परमेश्‍वरले चाहनु हुने यस्तै व्यक्‍ति हुनु होला भनी आशा गरिन्छ। तपाईं अनन्त जीवन पाउन ती सामरी आइमाई जतिकै इच्छुक हुनु होला। (यूहन्‍ना ४:१३-१५) तर तपाईंले मानिसहरू बूढो हुँदै मरेको पनि देख्नु हुँदैछ। यस्तो किन हुन्छ? जवाफ हामी आउँदो अध्यायमा पाउनेछौं।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

यूहन्‍ना ४:२३, २४ अनुसार कुन प्रकारको उपासना परमेश्‍वरले ग्रहण गर्नुहुन्छ?

परमेश्‍वर कुनै कुनै रीतिथिति तथा चाडहरूसित प्रसन्‍न वा अप्रसन्‍न हुनुहुन्छ भन्‍ने कुराको हामी कसरी निर्णय गर्नसक्छौं?

उपासना ग्रहणयोग्य हुनका लागि कुन कुन कुरा आवश्‍यक छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ४४-मा भएको पृष्ठभरिको चित्र]