सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?

परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?

अध्याय ८

परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?

१, २. मानव दुःखकष्ट देखेर अक्सर मानिसहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌?

 आपत्‌-विपत्‌ आउँदा, धनजनको ठूलो क्षति हुँदा, यी डरलाग्दा कुराहरूको कारण धेरैले बुझ्दैनन्‌। अरू चाहिं अपराध र हिंसाको व्यापकता, क्रूरता तथा निरर्थकता देखेर चिन्तित हुन्छन्‌। ‘परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?’ भनी सायद तपाईंले पनि सोध्नुभएको हुनसक्छ।

यो प्रश्‍नको सन्तोषजनक जवाफ नपाएर धेरैले परमेश्‍वरमाथि विश्‍वास गर्नै छाडेका छन्‌। तिनीहरूको विचारमा परमेश्‍वर मानिसजातिको वास्ता गर्नुहुन्‍न। आपत्‌-विपत्‌लाई जीवनको वास्तविकता ठान्‍नेहरू पनि रूष्ट छन्‌। तिनीहरू मानव समाजको सबै खराबीको दोष परमेश्‍वरमाथि थोपर्छन्‌। यस्ता भावनाहरू यदाकदा तपाईंको मनमा पनि उठेका हुनसक्छन्‌। अतः यसबारे बाइबल के भन्छ, सो जान्‍न तपाईं निश्‍चय इच्छुक हुनुहुनेछ।

आपत्‌-विपत्‌ परमेश्‍वरको काम होइन

३, ४. दुःखकष्ट तथा खराब कुराहरू यहोवाबाट आएका होइनन्‌ भनी हामी किन निश्‍चित हुनसक्छौं?

हाम्रो वरिपरि देखिने आपत्‌-विपत्‌का लागि यहोवा परमेश्‍वर जिम्मेवार हुनुहुन्‍न भनी बाइबलले हामीलाई विश्‍वास दिलाउँछ। उदाहरणको लागि, मसीही चेला याकूबले यसप्रकार लेखे: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।” (याकूब १:१३) यसकारण मानिसजातिमाथि आइ परेका अनेक विपत्तिहरू परमेश्‍वरले गराउनुभएको हुनसक्दैन। मानिसहरूलाई स्वर्गीय जीवन पाउने योग्यको बनाउन उहाँले तिनीहरूमाथि कठिनाइहरू ल्याउने गर्नुहुन्‍न। नता कुनै तथाकथित पूर्व जन्ममा गरिएका दुष्कर्महरूका लागि उहाँले कसैलाई दुःख दिनुहुन्छ।—रोमी ६:७.

हुन त परमेश्‍वर र ख्रीष्टको नाउँमा थुप्रै घोर दुष्कर्महरू भएका छन्‌। तर ती खराब कामहरूलाई उहाँहरूले अनुमोदन दिनुभएको छनकसमेत बाइबलमा छैन। अरूलाई ठग्ने, धुत्ने, मार्ने, लुट्‌ने तथा मानव पीडा बढाउने अनेक कुरा गर्दै परमेश्‍वर र ख्रीष्टको सेवामा लागेको ढोंग रच्नेहरूसित उहाँहरूको कुनै सरोकार छैन। वास्तवमा, “दुष्ट मानिसको चालचलन परमप्रभुको दृष्टिमा घृणित हुन्छ।” परमेश्‍वर “दुष्टदेखि . . . परै रहनुहुन्छ।”—हितोपदेश १५:९, २९.

५. यहोवाका केही गुणहरू के हुन्‌ र आफूले सृष्टि गर्नुभएका जनहरूप्रति उहाँ कस्तो विचार राख्नुहुन्छ?

यहोवा “टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ” भनी बाइबलमा व्याख्या गरिएको छ। (याकूब ५:११) यहोवा “इन्साफ प्रेम गर्नुहुन्छ” भनेर पनि त्यहाँ घोषित भएको छ। (भजन ३७:२८; यशैया ६१:८) उहाँ ईखालु हुनुहुन्‍न। आफूले सृष्टि गर्नुभएका जनहरूको उहाँले अनुकम्पापूर्ण हेरचाह गर्नुहुन्छ। तिनीहरूलाई फायदा हुने सबैभन्दा राम्रा कुराहरू उहाँले जुटाइ दिनुहुन्छ। (प्रेरित १४:१६, १७) यहोवाले पृथ्वीमा जीवन शुरू भएदेखि नै सो गर्दै आउनुभएको छ।

सिद्ध सुरुआत

६. केही लोककथाहरूले मानिसजातिको प्रारम्भिक इतिहासबारे के प्रकाश पार्छन्‌?

हामी सबैले पीडा तथा आपत्‌-विपत्‌ अनुभव गर्दै आएका छौं। यसैकारण दुःखकष्टमुक्‍त समयबारे कल्पना गर्न हामीलाई गाह्रो लाग्नसक्छ। तापनि मानव इतिहास शुरू हुँदा त्यहाँ कुनै प्रकारको आपत्‌-विपत्‌ थिएन। यस्तो रमाइलो आरम्भको चर्चा कुनै कुनै देशका लोककथाहरूमा समेत पाइन्छ। युनानी दन्त्यकथाहरूअनुसार “मानिसका पाँच युगहरू” मध्ये प्रथम युग “सुनौलो युग” कहलाइन्थ्यो। त्यस युगमा मानिसहरू आनन्दसाथ जीवन बिताउँथे। तिनीहरू मेहनत, पीडा र वृद्धावस्थाका समस्याहरूबाट मुक्‍त थिए। चिनियाँहरूको भनाइअनुसार पनि पौराणिक पहेंलो सम्राट ह्वाङ्‌टीको शासनकालमा मानिसहरू शान्तिसित बस्थे। भनिन्छ, त्यतिखेर मान्छे र हावापानी तथा जङ्‌गली जनावरहरूबीच समेत मेल थियो। पारसी, मिश्री, तिब्बती, पेरूभियाली र मेक्सिकाली लोककथाहरूमा मानव इतिहासको आनन्ददायी र सिद्ध सुरुआतको चर्चा गरिएको छ।

७. परमेश्‍वरले पृथ्वी र मानिसजातिको सृष्टि किन गर्नुभयो?

तर यी बेग्लाबेग्लै राष्ट्रहरूका लोककथाहरू मानव इतिहासको सबैभन्दा पुरानो लेखोट बाइबलका प्रतिध्वनि मात्र हुन्‌। किनकि बाइबलको व्याख्याअनुसार परमेश्‍वरले प्रथम मानव दम्पती आदम र हव्वालाई अदनको बगैंचामा राख्नुभएर तिनीहरूलाई “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ” भन्‍ने आदेश दिनुभएको थियो। (उत्पत्ति १:२८) हाम्रा प्रथम आमा-बाबुहरू सिद्ध थिए। सारा पृथ्वी प्रमोदवनमा परिणत भएको र त्यसमा स्थायी शान्ति र आनन्दपूर्वक सिद्ध मानव परिवार बसेको देख्ने आशा तिनीहरूको सामु थियो। यसै उद्देश्‍यसाथ परमेश्‍वरले पृथ्वी र मानिसजातिलाई सृष्टि गर्नुभएको थियो।—यशैया ४५:१८.

एउटा द्वेषपूर्ण चुनौती

८. आदम र हव्वाले कुन चाहिं आज्ञा पालन गर्नुपर्थ्यो तर त्यहाँ के भयो?

“असल र खराबको ज्ञानको रूखबाट” नखाएमा आदम र हव्वाले परमेश्‍वरको अनुमोदन पाउन सक्थे। (उत्पत्ति २:१६, १७) तिनीहरूले यहोवाको आज्ञा पालन गरेका भए मानव जीवनलाई पीडित पार्ने कुनै प्रकारको दुःखकष्ट आज हुने थिएन। परमेश्‍वरको आज्ञा पालन गर्नुको अर्थ तिनीहरूले यहोवाप्रति आफ्नो प्रेम र भक्‍ति प्रदर्शित गर्नु थियो। (१ यूहन्‍ना ५:३) तर यस पुस्तकको छैठौं अध्यायमा उल्लिखित भएझैं घटनाक्रमले बेग्लै मोड लियो। शैतानको उस्काइमा लागेर हव्वाले त्यस रूखको फल खाइन्‌। त्यो निषेधित फल केही समयपछि आदमले पनि खाए।

९. यहोवालाई विथोलित गर्ने कुन विवाद शैतानले खडा गऱ्‍यो?

यो घटना कति गम्भीर थियो, के तपाईं बुझ्नुहुन्छ? यहोवाको सर्वोच्च तथा परमप्रधान ओहदालाई शैतानले यहाँ चुनौती दियो। “तिमीहरू कदापि मर्दैनौ” भन्दै दियाबलले “तँ मर्नेछस्‌” भन्‍ने परमेश्‍वरका शब्दहरूको सरासर विरोध गऱ्‍यो। साथै यहोवाले परमेश्‍वरजस्तै हुने सम्भावनाबारे आदम र हव्वालाई अज्ञान राख्नु हुँदैछ तथा हाम्रोनिम्ति के असल र खराब हो सो उहाँले निर्णय गरी दिनु आवश्‍यक छैन भनी शैतानले आफ्ना बाँकी शब्दहरूबाट सूचित गऱ्‍यो। शैतानको चुनौतीले विश्‍वको सार्वभौमसत्ताधारी हुने यहोवाको “हकलाई” नै शङ्‌कास्पद तुल्याइदियो।—उत्पत्ति २:१७; ३:१-६.

१०. शैतानले मानिसजातिको नियतलाई कसरी विवादास्पद तुल्याउन खोज्यो?

१० मानिसले आफ्नो फायदा होऊञ्जेल मात्र यहोवाको आज्ञा पालन गर्छ भन्‍ने कुरा पनि शैतान अर्थात्‌ दियाबलको भनाइबाट बोध भयो। अरू शब्दमा भन्‍ने हो भने, मानिसको निष्ठालाई पनि शङ्‌कास्पद तुल्याउने कोशिश गरियो। कुनै पनि मानिस स्वेच्छासाथ परमेश्‍वरप्रति वफादार रहने छैन भनी शैतानले दाबी गऱ्‍यो। शैतानको यो तुच्छ दाबी अय्यूबसम्बन्धी बाइबलको वृत्तान्तमा प्रष्टिन्छ। अय्यूब यहोवाको एक जना विश्‍वासी सेवक थिए जसमाथि सा.यु.पू. १६०० को केही समयअघि ठूलो परीक्षा आइपऱ्‍यो। अय्यूबको पुस्तकका प्रथम दुई अध्यायहरू पढ्‌नुभयो भने, दुःखकष्ट तथा त्यसलाई परमेश्‍वरले हुन दिने कारण छर्लंगै बुझ्नुहुनेछ।

११. अय्यूब कस्तो मानिस थिए, तापनि शैतानले उनीमाथि के आरोप लगायो?

११ “निर्दोष र सोझो” मानिस अय्यूब शैतानको आक्रमणको तारो भयो। “परमेश्‍वरको डर राख्ने के अय्यूबको खास कारण छैन?” भन्‍ने प्रश्‍न उठाउँदै शैतानले पहिला अय्यूबको नियतलाई नै खराब साबित गर्न खोज्यो। यसपछि परमेश्‍वरले अय्यूबलाई आशिष्‌ तथा सुरक्षा प्रदान गर्दै अय्यूबको वफादारी किन्‍नुभएको आरोप दियाबलले लगायो। यसप्रकार, बडो धूर्ततासाथ त्यसले परमेश्‍वर र अय्यूब दुवैको निन्दा गऱ्‍यो। “तर आफ्नो हात पसारेर तिनका सबैचीज छुनुहोस्‌, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्‌” भन्दै शैतानले यहोवालाई चुनौती दियो।—अय्यूब १:८-११.

१२. (क) परमेश्‍वरले शैतानलाई अय्यूबको जाँच गर्न दिनुभएमा कुन कुन प्रश्‍नहरूको जवाफ पाउन सकिन्थ्यो? (ख) अय्यूबको जाँचको परिणाम के भयो?

१२ के अय्यूबले साँच्चै नै परमेश्‍वरबाट थुप्रै असल कुराहरू पाएको कारण यहोवाको सेवा गर्दै थिए र? परीक्षामा पर्दा के अय्यूबको निष्ठा कायम रहन सक्थ्यो? के यहोवा आफ्नो सेवकको जाँच हुन दिन तयार हुनुहुन्थ्यो? आफ्नो सेवकबारे उहाँ त्यस हदसम्म निश्‍चिन्त हुनुहुन्थ्यो र? शैतानले अय्यूबमाथि कडाभन्दा कडा जाँच ल्याउन पाएमा उक्‍त प्रश्‍नहरूको जवाफ पाउन सकिन्थ्यो। अतः परमेश्‍वरले जाँच हुन दिनुभयो। अय्यूबको पुस्तकको व्याख्याअनुसार अय्यूबको कडा परीक्षा भयो। तर उनी परीक्षामा पर्दा पनि विश्‍वासी रहे। यहोवाको धार्मिकता र मानव निष्ठा पूर्णतः विजयी भयो।—अय्यूब ४२:१, २, १२.

१३. अदनको बगैंचा तथा अय्यूबको जीवनमा घटेका घटनाहरूसित हामी कसरी विथोलित छौं?

१३ तथापि अदनको बगैंचामा भएको र पछि अय्यूबसित सम्बन्धित घटनाको अझ गहिरो अर्थ छ। शैतानले उठाएको विवादमा आज सारा मानिसजाति विथोलित छ। यो विवादले गर्दा परमेश्‍वरको निन्दा भएको छ। उहाँको सार्वभौमिकतालाई चुनौती दिइएको छ। परमेश्‍वरको सृष्टि अथवा मानिसको इमानमाथि आक्षेप लगाइएको छ। यस विवादको टुङ्‌गो नलगाई हुँदैन।

विवाद टुङ्‌ग्याउने कसरी

१४. आरोपित व्यक्‍तिले द्वेषपूर्ण चुनौतीको सामु के गर्नसक्छ?

१४ उदाहरणको लागि, मानौं तपाईं एक जना अभिभावक हुनुहुन्छ। तपाईंको सुखी परिवारमा थुप्रै छोराछोरी छन्‌। तर तपाईंको एक जना छिमेकी पनि छ। त्यसले तपाईंलाई खराब अभिभावक हुने आरोप लाउँछ। तपाईंबारे झूटा कुराहरू फैलाउँछ। सायद तपाईंको छिमेकीको भनाइअनुसार तपाईंका छोराछोरीहरूले तपाईंलाई माया गर्दैनन्‌। कतै जाने ठाउँ नभएर मात्र तिनीहरू तपाईंसित बसिरहेका छन्‌। राम्रो मौका पाउनासाथै तिनीहरू खुशीसित आफ्नो बाटो लाग्नेछन्‌। सायद तपाईं “यस्तो हुनै सक्‍तैन!” भन्‍नु होला। तर प्रमाण खै? यस्तो कुरा सुनेर केही आमा-बाबुहरू रीसले भुतुक्क हुनसक्छन्‌। तर यस्तो रीसले गर्दा समस्या झन्‌ बढ्‌नसक्छ। ती झूटहरूले अझ बल पाउनसक्छन्‌। बरु तपाईंको विरोधीलाई आफ्नो दाबी सत्य साबित गर्ने मौका दिनुहोस्‌। अनि छोराछोरीले पनि तपाईंका लागि आफ्नो प्रेमको प्रमाण दिने मौका पाउँछन्‌। समस्याको समाधान गर्ने यो एउटा सन्तोषजनक तरिका हो।

१५. शैतानले उठाएको चुनौतीको सामना यहोवाले कसरी गर्नुहुने भयो?

१५ यहोवा ती अभिभावकजस्तो हुनुहुन्छ। आदम र हव्वाको तुलना छोराछोरीसित गर्न सकिन्छ अनि शैतानलाई चाहिं त्यो झूट बोल्ने छिमेकीसित दाँज्न सुहाउँछ। परमेश्‍वरले शैतान, आदम र हव्वालाई तुरुन्तै नाश नगर्नु भएर ठूलो बुद्धि प्रदर्शित गर्नुभयो। उहाँले यी अपराधीहरूलाई अझ केही समयसम्म जीवित राख्नुभयो। यसले गर्दा हाम्रा प्रथम आमा-बाबुले सन्तान जन्माएर मानव परिवार शुरू गर्ने समय पाए। दियाबलले पनि आफ्नो दाबीलाई सत्य साबित गर्न खोज्ने मौका पायो। विवाद टुङ्‌गिने बाटो खुल्यो। तथापि केही मानिसहरू परमेश्‍वरप्रति वफादार रहनेछन्‌ र यिनीहरूले शैतानलाई झूटो साबित गर्नेछन्‌ भनी परमेश्‍वर शुरूदेखि नै निर्धक्क हुनुहुन्थ्यो। यसरी परमेश्‍वरसित प्रेम गर्नेहरूलाई यहोवाले आशिष्‌ र मदद दिंदै आउनुभएकोमा हामी कति कृतज्ञ छौं!—२ इतिहास १६:९; हितोपदेश १५:३.

के प्रमाणित भएको छ?

१६. संसार कसरी शैतानको वशमा परेको छ?

१६ प्रायः सारा मानव इतिहासभरि शैतानले कुनै रोकटोकबिना मानिसमाथि प्रभुत्व जमाउने चाल चल्दै आएको छ। त्यसले राजनैतिक शक्‍तिहरूलाई आफ्नो वशमा राखेको छ। त्यसले बडो चलाकीसाथ यहोवाको सट्टा आफ्नै उपासना गराउने धर्महरूलाई बल दिएको छ। यसप्रकार दियाबल यो “संसारको देव” भएको छ र त्यसलाई “संसारको मालिक” पनि भनिन्छ। (२ कोरिन्थी ४:४; यूहन्‍ना १२:३१) वास्तवमा, “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) के यसको अर्थ सारा मानिसजातिलाई यहोवा परमेश्‍वरबाट अलग्याउने शैतानको दाबी सत्य साबित भएको छ? पटक्कै छैन! बरु शैतानलाई जीवित राख्नुभएर यहोवाले आफ्नै उद्देश्‍य अघि बढाउनुभएको छ। अतः परमेश्‍वरले दुष्टतालाई रहन दिनुभएको सम्बन्धमा बाइबलबाट के सिक्न सकिन्छ?

१७. दुष्टता र दुःखकष्टको कारणबारे हामीले सधैं नै कुन कुरा ध्यानमा राख्नुपर्छ?

१७ दुष्टता र दुःखकष्ट यहोवाले गराउनुभएको होइन। किनभने यो संसारको मालिक र यस रीतिरिवाजको देव शैतान हो। यसकारण ऊ र त्यसका समर्थकहरू नै मानव समाजको वर्तमान स्थिति र मानिसजातिले भोग्दै आएको दुःखका लागि जिम्मेवार छन्‌। यी कठिनाइहरूका लागि कसैले पनि परमेश्‍वरलाई दोष दिन मिल्दैन।—रोमी ९:१४.

१८. यहोवाले दुष्टता तथा दुःखकष्ट हुन दिनुभएकोले परमेश्‍वरबाट स्वतन्त्र हुने विचारसम्बन्धी के प्रमाणित भएको छ?

१८ यहोवाले दुष्टता र आपत्‌-विपत्‌ रहन दिनुभएर एउटा अर्को कुरा पनि प्रमाणित भएको छ। त्यो हो परमेश्‍वरबाट स्वतन्त्र भएर अझ राम्रो संसारको सृजना गर्न सकिएको छैन। इतिहास एकपछि अर्को विपत्तिले भरिभराउ छ। मानिसहरूले परमेश्‍वरको वचन र इच्छालाई कदर नगरी आफ्नै स्वाधीन मार्ग रोजेर यस्तो भएको हो। यहोवाका प्राचीन जनहरू तथा तिनीहरूका अगुवाहरूले अविश्‍वासी भएर परमेश्‍वरको वचन तिरस्कार गर्दै “लोकप्रिय मार्ग” अपनाउँदा पनि परिणाम ध्वंसात्मक हुन्थ्यो। परमेश्‍वरले तिनीहरूलाई आफ्नो अगमवक्‍ता यर्मियाद्वारा यसो भन्‍नुभयो: “ज्ञानी मानिसहरू लाजमा पारिनेछन्‌, तिनीहरूले हताश खानेछन्‌, र पक्राउ पर्नेछन्‌। हेर, तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरे, तिनीहरूमा कस्तो बुद्धि छ?” (यर्मिया ८:५, ६, ९) आज पनि यहोवाका स्तरअनुरूप हिंड्‌न छाडेपछि मानिसजाति तुफानी समुद्रमा पतवार नभएको पानी जहाजजस्तै यताउता डगमगाइ रहेछ।

१९. शैतानले सबै मानिसहरूलाई परमेश्‍वरको विरुद्धमा उस्काउन सक्दैन भन्‍ने के प्रमाण छ?

१९ परमेश्‍वरले दुष्टता र दुःखकष्ट रहिरहन दिनुभएर सारा मानिसजातिलाई यहोवाबाट अलग्याउने शैतानको दाबी झूटो साबित भएको छ। परीक्षा तथा आपत्‌-विपत्‌ आइ पर्दा परमेश्‍वरप्रति विश्‍वासी रहने मानिसहरू इतिहासभरि पाइन्छन्‌। बितेका शताब्दीहरूमा यहोवाले उहाँका सेवकहरूको हितका लागि आफ्नो शक्‍ति प्रदर्शित गर्नुभएको छ। उहाँको नाउँ पृथ्वीभरि घोषित भएको छ। (प्रस्थान ९:१६; १ शमूएल १२:२२) हिब्रू ११ औं अध्यायमा हाबिल, हनोक, नूह, अब्राहाम तथा मोशाजस्ता विश्‍वासी जनहरूको लामो ताँती प्रस्तुत छ। हिब्रू १२:१ मा उनीहरूलाई ‘गवाहीहरूको मेघ’ भनी सम्बोधन गरिएको छ। उनीहरू यहोवामाथि दृढ विश्‍वासका उदाहरणहरू थिए। आधुनिक समयमा पनि थुप्रैले परमेश्‍वरप्रति अटल निष्ठा कायम राख्दै आफ्नो ज्यानसमेत दिएका छन्‌। शैतानले सबै मानिसलाई परमेश्‍वरको विरुद्धमा उस्काउन सक्दैन भन्‍ने अकाट्य प्रमाण यी व्यक्‍तिहरूले आफ्नो विश्‍वास र प्रेमद्वारा प्रस्तुत गरेका छन्‌।

२०. यहोवाले दुष्टता र दुःखकष्ट रहिरहन दिनुभएर परमेश्‍वर र मानिसजातिबीचको कुन कुरा प्रमाणित भएको छ?

२० अन्ततः, मानिसजातिको अनन्तकालीन हित तथा सुखका लागि यहोवाले मात्र शासन गर्न सक्नुहुन्छ भन्‍ने कुरा पनि उहाँले दुष्टता र दुःखकष्ट रहन दिनुभएर प्रमाणित भएको छ। शताब्दीयौंदेखि मानिसजातिले विभिन्‍न प्रकारको सरकार चलाउने प्रयास गर्दै आएको छ। यसको परिणाम? राष्ट्रहरूको सामु जटिल समस्या तथा सङ्‌कटको पहाड खडा छ। बाइबलले भनेजस्तै, “मानिसले मानिसमाथि प्रभुत्व जमाएर आफ्नै हानि गरेको छ।” (उपदेशक ८:९, न्युव) यहोवाले मात्र हामीलाई बचाउनु भएर उहाँको प्रारम्भिक उद्देश्‍य पूरा गर्न सक्नुहुन्छ। तर यो उहाँले कसरी गर्नुहुन्छ र कहिले?

२१. शैतानलाई के गरिनेछ र को द्वारा?

२१ आदम र हव्वा शैतानको जालमा फस्ने बित्तिकै परमेश्‍वरले मुक्‍ति प्रदान गर्ने आफ्नो माध्यम तथा उद्देश्‍य घोषणा गर्नुभयो। शैतानबारे यहोवाले यसो भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) यो घोषणा, दियाबलले आफ्ना खराब कार्यहरू सधैं गर्न पाउनेछैन भन्‍ने ग्यारेन्टी थियो। मसीही राज्यको राजा तथा प्रतिज्ञाकृत सन्तान येशू ख्रीष्टले ‘शैतानको शिर कुच्याउनु हुनेछ।’ हो, येशूले विरोधी शैतानलाई “चाँडै” नै कुल्चनुहुनेछ।—रोमी १६:२०.

तपाईं के गर्नुहुन्छ?

२२. (क) तपाईंले कुन प्रश्‍नहरूको सामना गर्नैपर्छ? (ख) शैतानले आफ्नो क्रोध परमेश्‍वरका विश्‍वासी जनहरूमाथि खन्याए तापनि तिनीहरू किन निश्‍चिन्त हुनसक्छन्‌?

२२ अब विवाद थाह पाउनु भएपछि तपाईं कसको पक्ष लिनुहुन्छ? तपाईं यहोवाको भक्‍त समर्थक हुनुहुन्छ भनी के तपाईंले आफ्ना कार्यहरूद्वारा प्रमाणित गर्नुहुनेछ? अब आफ्नो धेरै समय बाँकी छैन भनी शैतानलाई थाह छ। यसैकारण त्यसले परमेश्‍वरप्रति निष्ठावान्‌ रहन चाहने जनहरूमाथि आफ्नो भएभरको रीस पोखाउने प्रयास गर्छ। (प्रकाश १२:१२) तर तपाईं परमेश्‍वरबाट मदद पाउने आशा गर्न सक्नुहुन्छ। किनकि यहोवा “भक्‍तहरूलाई परीक्षाबाट बचाउन . . . जान्‍नुहुन्छ।” (२ पत्रुस २:९) उहाँले तपाईंलाई सहनै नसक्ने किसिमको परीक्षामा पर्न दिनु हुनेछैन। परीक्षाहरूमा धैर्य घारण गर्नसक्ने बाटो पनि उहाँले खोल्नुहुनेछ।—१ कोरिन्थी १०:१३.

२३. हामी विश्‍वस्त भएर कुन कुराको प्रतीक्षा गर्नसक्छौं?

२३ हामी विश्‍वस्त भएर त्यस समयको प्रतीक्षा गरौं जब राजा येशू ख्रीष्टले शैतान र त्यसको पछि लाग्ने सबैको विरुद्ध कारबाई गर्नुहुनेछ। (प्रकाश २०:१-३) मानिसजातिले भोग्दै आएको विपत्ति तथा संकष्टहरूका लागि जिम्मेवार सबैलाई येशूले खतम पारिदिनुहुनेछ। तर त्यो समय नआऊञ्जेल भोग्नुपर्ने एउटा अति नै पीडादायी दुःख हो, हाम्रा प्रिय जनहरूको मृत्यु। यिनीहरूलाई के हुन्छ, आउँदो अध्यायबाट थाह लाउनुहोस्‌।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

यहोवा मानव दुःखको कारण हुनुहुन्‍न भनी हामी कसरी भन्‍नसक्छौं?

शैतानले अदनको बगैंचामा उठाएका र पछि अय्यूबको समयमा प्रष्टिएका विवादहरू के हुन्‌?

परमेश्‍वरले दुःखकष्ट हुन दिनुभएर के प्रमाणित गर्नुभएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू ]