सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले मानिसजातिलाई बचाउन के गर्नुभएको छ

परमेश्‍वरले मानिसजातिलाई बचाउन के गर्नुभएको छ

अध्याय ७

परमेश्‍वरले मानिसजातिलाई बचाउन के गर्नुभएको छ

१, २. (क) एक जना रोमी अफसरले परमेश्‍वरको पुत्रलाई कसरी चिन्‍न सके? (ख) यहोवाले येशूलाई किन मर्न दिनुभयो?

 करीब २,००० वर्षअघि, बसन्त ऋतुको दिन, अपरान्ह, एक जना रोमी अफसरले आफ्नोसामु तीन जना मान्छे तडपी तडपी बिस्तारै मरेको हेरे। यी तीन जनामध्ये एक जना अर्थात्‌ येशू ख्रीष्टलाई उनले विशेष ध्यान दिएर हेरिरहेका थिए। येशूलाई कीला ठोकेर काठको शूलीमा झुण्ड्याइएको थियो। उहाँको मृत्युको घडी जसै नजीक आयो, आकाशमा दिउँसै कालो छायो। उहाँले प्राण त्याग्नु हुँदा पृथ्वी जोडसित हल्लियो। चकित हुँदै ती सिपाही कराए: “यी मानिस ता साँच्चै परमेश्‍वरका पुत्र थिए।”—मर्कूस १५:३९.

परमेश्‍वरको पुत्र! हो, ती सिपाहीले ठीकै भने। उनको आँखाको सामु पृथ्वीको सबैभन्दा महत्त्वपूर्ण घटना भर्खरै घटेको थियो। यो भन्दाअघि पनि परमेश्‍वरले केही पटक येशूलाई आफ्नो प्रिय पुत्र भनेर सम्बोधन गर्नुभएको थियो। (मत्ती ३:१७; १७:५) तर यहोवाले आफ्नो पुत्रलाई किन मर्न दिनुभयो? किनभने यसैद्वारा परमेश्‍वरले मानिसजातिलाई पाप र मरणबाट बचाउने माध्यम तयार गर्नुहुने थियो।

विशेष उद्देश्‍यका लागि रोजिएको

३. मानिसजातिसम्बन्धी एउटा खास उद्देश्‍य पूरा गर्न परमेश्‍वरको एक मात्र पुत्रलाई रोज्नु किन उचित थियो?

येशूको मानवपूर्व अस्तित्व थियो भन्‍ने कुरा हामीले अगाडि नै यस पुस्तकमा देख्यौं। उहाँलाई परमेश्‍वरको “एक मात्र पुत्र” भनिन्छ किनभने उहाँलाई यहोवाले स्वयं सृजनुभएको थियो। त्यसपछि परमेश्‍वरले येशूद्वारा अन्य चीजबीज बनाउनुभयो। (यूहन्‍ना ३:१८; कलस्सी १:१६) येशू विशेषगरी मानिसजातिमा खास आनन्द लिनुहुन्थ्यो। (हितोपदेश ८:३०, ३१) यसैकारण त मानिसजातिमाथि मृत्युदण्ड आइपर्दा एउटा विशेष कामका लागि यहोवाले आफ्नै एक मात्र पुत्र रोज्नुभयो!

४, ५. येशू पृथ्वीमा आउनअघि बाइबलमा मसीही सन्तानबारे के प्रकट गरिएको थियो?

अदनको बगैंचामा आदम, हव्वा र शैतानलाई दण्डाज्ञा घोषित गर्नुहुँदा परमेश्‍वरले भविष्यमा आउनुहुने मुक्‍तिदातालाई “सन्तान” भनेर सम्बोधन गर्नुभयो। त्यो “वृद्ध साँप” शैतान अर्थात्‌ दियाबलले गरेको जम्मै खराबीलाई त्यस सन्तान अर्थात्‌ वंशले हटाउनुहुने थियो। वास्तवमा प्रतिज्ञाकृत सन्तानले नै शैतान तथा उसको पछि लाग्ने सबैलाई नाश गर्नुहुने थियो।—उत्पत्ति ३:१५; १ यूहन्‍ना ३:८; प्रकाश १२:९.

आउँदा शताब्दीहरूको दौडान परमेश्‍वरले मसीह पनि कहलाइनु हुने सन्तानबारे बिस्तारै अझ प्रकाश पार्नुभयो। उहाँको पार्थिव जीवनका विविध पक्षहरूबारे थुप्रै भविष्यवाणीहरू पृष्ठ ३७ को चार्टमा प्रस्तुत छन्‌। उदाहरणको लागि मसीहले परमेश्‍वरको उद्देश्‍यमा आफ्नो भूमिका निभाउँदा क्रूर दुर्व्यवहार सहनु परेको थियो।—यशैया ५३:३-५.

मसीहको मृत्यु किन हुनु थियो

६. दानियल ९:२४-२६ अनुसार मसीहद्वारा कुन कुन काम सम्पन्‍न हुने थिए र कसरी?

परमेश्‍वरको अभिषिक्‍त जन अथवा मसीहले एउटा महान्‌ उद्देश्‍य पूरा गर्नु थियो। दानियल ९:२४-२६ को भविष्यवाणीअनुसार उहाँ पृथ्वीमा ‘विद्रोह थाम्न, पापको अन्त र अपराधको प्रायश्‍चित गराउन, अनन्तको धार्मिकता शुरू गर्न’ आउनु हुने थियो। मसीहले विश्‍वासी मानिसजातिलाई मृत्युदण्डबाट मुक्‍त गराउनु हुने थियो। तर कसरी? भविष्यवाणीअनुसार उहाँ “हटाइनु” अथवा “मारिनु” भएर।

७. यहूदीहरूले पशुबलि किन चढाउँथे र यी बलिहरू के का पूर्वसङ्‌केत थिए?

प्राचीन इस्राएलीहरू पापमोचनको सिद्धान्तसित परिचित थिए। परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्यवस्थाबमोजिम तिनीहरूले नियमित रूपमा पशुबलि चढाउने गर्थे। यी बलिहरूले इस्राएलीहरूलाई पापमोचन गर्ने अथवा पाप ढाक्ने आवश्‍यकताको सम्झना गराउँथे। यस आवश्‍यकतालाई प्रेरित पावलले संक्षेपमा यसरी व्यक्‍त गरे: “रगत नबगाईकन पापमोचन हुँदै हुँदैन।” (हिब्रू ९:२२) तर मसीहीहरू मोशाको व्यवस्थाको अधीनमा छैनन्‌। अतः तिनीहरूले बलि चढाउनु पर्दैन। (रोमी १०:४; कलस्सी २:१६, १७) पशुबलिद्वारा पापहरूका लागि स्थायी तथा पूर्ण क्षमा पाउन सकिंदैन भनी तिनीहरू जान्दछन्‌। ती बलिहरू त मसीह अथवा ख्रीष्टको अति नै बहुमूल्य बलिदानको पूर्वसङ्‌केत मात्र थिए। (हिब्रू १०:४, १०; गलाती ३:२४ तुलना गर्नुहोस्‌।) तर ‘मानिसजातिलाई बचाउन के मसीह मर्नै पर्थ्यो र?’

८, ९. आदम र हव्वाले कुन कुन बहुमूल्य कुरा गुमाए र तिनीहरूको कामको असर तिनीहरूको सन्तानमाथि कसरी पर्न गयो?

हो, मानिसजातिको बचाउका लागि मसीह मर्नु आवश्‍यक थियो। यसलाई बुझ्न हामीले अदनको बगैंचामा भएको घटनालाई पुनःविचार गर्नुपर्छ। त्यहाँ परमेश्‍वरको विद्रोह गरेर आदम र हव्वाले कति ठूलो नोक्सान बेहोर्नुपऱ्‍यो सो ठम्याउने कोशिश गर्नुपर्छ। तिनीहरूको सामु अनन्त जीवन राखी दिएको थियो! परमेश्‍वरको सन्तानको हैसियतमा तिनीहरूले परमेश्‍वरसित पारस्परिक सम्बन्ध राख्ने सुअवसर पाएका थिए। तर यहोवाको शासन तिरस्कार गर्दा तिनीहरूले ती सबै गुमाए। तिनीहरूले मानव परिवारमाथि पाप र मृत्यु ल्याए।—रोमी ५:१२.

हाम्रा प्रथम आमा-बाबुले थुप्रै धनसम्पत्ति उडाएर आफूलाई भारी ऋणमा डुबाएको जस्तै भयो। आदम र हव्वाले त्यो ऋणको बोझ आफ्नो सन्तानमाथि लदाइ दिए। हामी कोही पनि जन्मजात सिद्ध तथा निष्पाप छैनौं। त्यसैले हामी सबै पापी र मरणशील छौं। हामी बिरामी पर्छौं। अरूलाई चोट लाग्ने कुरा भन्छौं र त्यसपश्‍चात्‌ पछितो गर्छौं। यी कुराहरू हामीले वंशानुगत पाएको ऋण अर्थात्‌ मानव असिद्धताको प्रमाण हो। (रोमी ७:२१-२५) अब हाम्रो एक मात्र आशा आदमले गुमाएको कुरा पुनः हासिल गर्नु हो। तथापि हामीले जति नै कोशिश गरे तापनि आफ्नै शक्‍तिको भरमा सिद्ध मानव जीवन कमाउन सक्दैनौं। सबै असिद्ध मानवहरूले पाप गर्छन्‌। हामी जीवन होइन मृत्यु कमाउँछौं।—रोमी ६:२३.

१०. आदमले गुमाएको कुरा पुनः प्राप्त गर्न के आवश्‍यक थियो?

१० तापनि आदमले गुमाएको जीवनको बदलामा केही दिन सकिन्थ्यो कि? परमेश्‍वरको न्यायिकस्तरले बराबरीको माग गर्छ। अर्थात्‌ “प्राणको बदला प्राण”। (प्रस्थान २१:२३) तसर्थ गुमाइएको जीवनको मोल चुकाउन एक जना अर्को मान्छेले आफ्नो जीवन अर्पण गर्न आवश्‍यक थियो। तर जोसुकै मान्छेले चाहिं होइन। किनकि असिद्ध मानिसहरूबारे भजन ४९:७, ८ यसो भन्छ: “तिनीहरूमा कसैले पनि कुनै किसिमले आफ्ना भाइलाई मोल तिरेर छुटाउनसक्‍तैन, परमेश्‍वरलाई त्यसको छुटकाराको मोल त्यसले दिनसक्‍तैन। (किनकि तिनीहरूको आत्माको मोल ज्यादै हुन्छ, र कहिल्यै तिर्न नसक्ने हुन्छ।)” के यसको अर्थ स्थिति आशाहीन छ? पटक्कै होइन।

११. (क) हिब्रू भाषामा “छुडौतीको मोल” भन्‍ने शब्दबाट के बोध हुन्छ? (ख) मानिसजातिलाई कसले मात्र मुक्‍त गराउन सक्थ्यो र किन?

११ हिब्रू भाषामा “छुडौतीको मोल” भन्‍ने शब्दबाट कैदीलाई मुक्‍त गराउन तिरिने मोल तथा समतुल्यता बोध हुन्छ। आदमले गरेको क्षतिलाई सिद्ध जीवन भएको मान्छेले मात्र पूरा गर्न सक्थ्यो। अब आदमपछि पृथ्वीमा जन्म लिनुहुने एक मात्र अर्को सिद्ध पुरुष येशू ख्रीष्ट हुनुहुन्थ्यो। अतः बाइबलले येशूलाई “पछिल्लो आदम” भनी सम्बोधन गर्छ। ख्रीष्टले “सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पनुभयो” भनी हामीलाई आश्‍वासन दिइन्छ। (१ कोरिन्थी १५:४५; १ तिमोथी २:५, ६) आदमले आफ्नो सन्तानलाई मृत्यु दियो तर येशूले भने हामीलाई जन्मसिद्ध अधिकारको रूपमा अनन्त जीवन दिनुहुन्छ। पहिलो कोरिन्थी १५:२२ ले यसरी व्याख्या गर्छ: “जसरी आदममा सबै मर्दछन्‌, त्यसरी नै ख्रीष्टमा पनि सबै जीवित हुनेछन्‌।” यसैकारण येशूलाई “सनातनका पिता” भनेर पनि सम्बोधन गरिन्छ।—यशैया ९:६, ७.

छुटकाराको मोल कसरी चुकाइयो

१२. येशू कहिलेदेखि मसीह हुनुभयो र त्यसपछि उहाँले कस्तो जीवनपद्धति अपनाउनुभयो?

१२ सा.यु. २९ मा येशू बप्तिस्मा लिन आफ्नो नातेदार यूहन्‍नाकहाँ जानुभयो। परमेश्‍वरको इच्छा गर्न उहाँ अघि बढ्‌नुभयो। त्यसै बेला यहोवाले येशूलाई पवित्र आत्माद्वारा अभिषेक गर्नुभयो। त्यसपछि येशू परमेश्‍वरद्वारा अभिषिक्‍त ख्रीष्ट अथवा मसीह हुनुभयो। (मत्ती ३:१६, १७) यसपश्‍चात्‌ येशूले उहाँको साढे तीन वर्ष लामो सेवकाई शुरू गर्नुभयो। उहाँ परमेश्‍वरको राज्य प्रचार गर्दै तथा विश्‍वासी अनुयायीहरू एकत्रित गर्दै आफ्नो गाउँघरभरि यात्रा गर्नुभयो। तर अग्रिमवाणी गरिएझैं उहाँको सामु विरोधको पहाड खडा भयो।—भजन ११८:२२; प्रेरित ४:८-११.

१३. येशू एक जना निष्ठावान्‌ व्यक्‍तिको रूपमा मर्नभन्दा केही समयअघि के कस्ता घटनाहरू भए?

१३ येशूले साहसपूर्वक धर्मगुरुहरूको कपट उदाङ्‌ग पारी दिनुभयो। फलतः तिनीहरूले उहाँलाई मार्न खोजे। तिनीहरूले विश्‍वासघात, गैरकानुनी गिरफ्तार र अवैध पुर्पक्षको बलमा उहाँको विरुद्ध दुष्ट षड्यन्त्र रचे। मानिसहरू भड्‌कायो भन्‍ने झूटो दोष उहाँमाथि थोपरे। येशूलाई तिनीहरूले हिर्काए, थुके, ठट्टामा उडाए र मासु च्यात्ने गरी कोर्रा लगाए। यसपछि रोमी राज्यपाल पन्तियस पिलातसले उहाँलाई शूलीमा मार्ने दण्डाज्ञा सुनाए। उहाँलाई काठको खाँबोमा कीला ठोकेर झुण्ड्याइयो। त्यहाँ उहाँको प्रत्येक श्‍वास पीडादायी भयो। उहाँलाई मर्न घण्टौं लाग्यो। तर येशू त्यो सङ्‌कष्टपूर्ण अवधिभरि परमेश्‍वरप्रति पूर्णतः निष्ठावान्‌ रहनुभयो।

१४. परमेश्‍वरले आफ्नो पुत्रलाई किन दुःख भोग्न र मर्न दिनुभयो?

१४ यसरी सा.यु. ३३ को नीसान महिनाको १४ तारिख येशूले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनु” भयो। (मर्कूस १०:४५; १ तिमोथी २:५, ६) आफ्नो प्रिय पुत्रको दुःखदायी मृत्यु यहोवाले स्वर्गबाट देख्नुभयो। उहाँले यो भीषण हुन दिनुभयो। किन? किनभने उहाँ मानिसजातिलाई प्रेम गर्नुहुन्छ। येशूले भन्‍नुभएको थियो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) तर येशूको मृत्युबाट यहोवा पूर्णतः न्यायसंगत परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा पनि सिक्न सकिन्छ। (व्यवस्था ३२:४) परमेश्‍वरले चाहनुभएको भए प्राणको बदला प्राण माग गर्ने आफ्नो सिद्धान्त खारेज गर्न सक्नुहुन्थ्यो। आदमको पापले गर्दा भएको क्षति उहाँ बिर्सन सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। किन? किनभने यहोवा सधैं नै आफ्नो कानुनको मर्यादा राख्नुहुन्छ। जस्तोसुकै असुविधा सहनु परे तापनि उहाँ आफ्नो कानुनको कहिल्यै अवहेलना गर्नुहुन्‍न।

१५. येशूको अस्तित्वलाई सधैंका लागि खतम पार्न न्यायसंगत नहुनाकारण यहोवाले के गर्नुभयो?

१५ तथापि, यहोवाको न्यायिक मागअनुसार येशूको मृत्युको परिणाम पनि आनन्दमय हुनु थियो। साथै, येशूलाई सधैंभरि मृत्युको निद्रामा पर्न दिनु न्यायसंगत हुने थियो र? कदापि हुने थिएन! यसैले त परमेश्‍वरको भक्‍त जन चिहानमा रहिरहनु हुनेछैन भनी हिब्रू शास्त्रमा भविष्यवाणी गरिएको थियो। (भजन १६:१०; प्रेरित १३:३५) अतः उहाँ लगभग साढे तीन दिनसम्म मात्र चिहानमा छाडिनुभयो। त्यसपछि यहोवा परमेश्‍वरले उहाँलाई शक्‍तिशाली आत्मिक व्यक्‍तिको रूपमा पुनरूत्थान गराउनुभयो।—१ पत्रुस ३:१८.

१६. स्वर्गमा फर्किनु भएपछि येशूले के गर्नुभयो?

१६ येशू मर्नु हुँदा उहाँले आफ्नो मानव जीवन सदाका लागि त्याग्नुभयो। पुनरुत्थानपश्‍चात्‌ उहाँ स्वर्गमा जीवनदायी आत्मा हुनुभयो। सारा ब्रह्‍माण्डको सर्वपवित्र स्थानमा प्रवेश गर्नुभएपछि येशू फेरि आफ्नो प्रिय पितासित एक हुनुभयो। त्यहाँ उहाँले आफ्नो सिद्ध मानव जीवनको मोल पितासमक्ष औपचारिकतासाथ प्रस्तुत गर्नुभयो। (हिब्रू ९:२३-२८) यसपछि त्यो बहुमूल्य जीवनको मोल आज्ञाकारी मानवजातिका लागि प्रयोग गर्न सकिने भयो। यसले तपाईंको लागि के अर्थ राख्छ?

ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदान र तपाईं

१७. ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदानको आधारमा हामीले कसरी क्षमा पाउनसक्छौं?

१७ ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदानबाट तपाईं अहिले पनि कमसे कम तीन बेग्लाबेग्लै ढङ्‌गमा लाभान्वित हुनुहुन्छ। प्रथमतः पापहरूको क्षमा पाउन सम्भव भएको छ। येशूले बगाउनुभएको रगतद्वारा हाम्रो “उद्धार” अर्थात्‌ “अपराधहरूको क्षमा” पाउन सम्भव भएको छ। (एफिसी १:७) अतः हामीले गम्भीर पापहरू गरेका छौं भने पनि परमेश्‍वरसित येशूको नाउँमा क्षमा माग्नसक्छौं। हृदयदेखि साँचो पश्‍चात्ताप गऱ्‍यौं भने, आफ्नो पुत्रले चढाउनुभएको छुडौतीको बलिदानबाट यहोवाले हामीलाई लाभ उठाउन दिनुहुन्छ। हाम्रो पापको कारण हामीले पाउनुपर्ने मृत्युदण्डको सट्टा परमेश्‍वरले हामीलाई क्षमादान दिनुहुन्छ। उहाँले हाम्रो अन्तस्करणलाई सफा तुल्याउनुहुन्छ।—प्रेरित ३:१९; १ पत्रुस ३:२१.

१८. येशूको बलिदानले हामीलाई कसरी आशा प्रदान गर्छ?

१८ दोस्रो, ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदानमै तपाईंको भावी आशा आधारित छ। दर्शनमा प्रेरित यूहन्‍नाले “कसैले गन्‍न नसक्ने ठूलो भीड” देखे जो यस रीतिरिवाजको ध्वंसात्मक समापनमा बाँच्नेछन्‌। तर परमेश्‍वरले त्यतिका धेरै मानिसहरूलाई नष्ट गर्नुहुँदा यो ठूलो भीड किन बाँच्ने? किनभने यस ठूलो भीडकाहरूले “आफ्ना आफ्ना लुगाहरू थुमा” अर्थात्‌ येशू ख्रीष्टको “रगतमा धोएर सेता बनाएका छन्‌” भनी स्वर्गदूतले यूहन्‍नालाई भन्छन्‌। (प्रकाश ७:९, १४) हामीले येशू ख्रीष्टको बगेको रगतमा विश्‍वास गर्दै ईश्‍वरीय आवश्‍यकताहरूअनुरूप जीवन बितायौं भने, हामी परमेश्‍वरको नजरमा स्वच्छ हुन्छौं। हामी अनन्त जीवन पाउने आशा गर्नसक्छौं।

१९. ख्रीष्ट र उहाँको पिताले तपाईंलाई प्रेम गर्नुहुन्छ भनी ख्रीष्टको बलिदानबाट कसरी प्रमाणित हुन्छ?

१९ तेस्रो, छुडौतीको बलिदान यहोवाको प्रेमको सर्वश्रेष्ठ प्रमाण हो। ब्रह्‍माण्डको इतिहासमा प्रेमका यी दुई सर्वमहान्‌ अभिव्यक्‍तिहरू ख्रीष्टकै मृत्युमा समाविष्ट छन्‌: (१) हाम्रालागि मर्न आफ्नो पुत्र पठाउनुभएर परमेश्‍वरले व्यक्‍त गर्नुभएको प्रेम; (२) येशूले आफूलाई छुडौतीको बलिदानको रूपमा स्वेच्छासाथ अर्पण गर्नुभएर दर्शाउनुभएको प्रेम। (यूहन्‍ना १५:१३; रोमी ५:८) हामी साँच्चै नै विश्‍वास गर्छौं भने उक्‍त प्रेमबाट हामी प्रत्येकले लाभ उठाउनसक्छौं। यसबारे प्रेरित पावलले भने: “परमेश्‍वरको पुत्र[ले] . . . मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो।”—गलाती २:२०; हिब्रू २:९; १ यूहन्‍ना ४:९, १०.

२०. येशूले चढाउनुभएको छुडौतीको बलिदानमा हामीले किन विश्‍वास गर्नुपर्छ?

२० यसकारण, आउनुहोस्‌, येशूले चढाउनुभएको छुडौतीको बलिदानमाथि हामी विश्‍वास गरौं। परमेश्‍वर र ख्रीष्टद्वारा व्यक्‍त प्रेमको खातिर हामी पनि आफ्नो कृतज्ञता प्रकट गरौं। यसो गर्नु नै अनन्त जीवनको मार्गमा हिंड्‌नु हो। (यूहन्‍ना ३:३६) तर हाम्रो मुक्‍तिकै लागि मात्र येशू पृथ्वीमा आउनुभएर मर्नुभएको होइन। येशूको ध्यान योभन्दा अझ धेरै नै महत्त्वपूर्ण विश्‍वव्यापी विवादमाथि केन्द्रित थियो। यो विवाद परमेश्‍वरले संसारमा यतिका लामो समयसम्म दुष्टता र पीडा रहन दिनुभएको कारणसित सम्बन्धित छ। यो विवाद हामी सबैका लागि विशेष महत्त्वको किन छ, त्यो हामी आउँदो अध्यायमा देख्नेछौं।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

मानिसजातिलाई बचाउन येशूलाई मर्न किन आवश्‍यक थियो?

छुडौतीको मोल कसरी चुकाइयो?

तपाईंले छुडौतीको बलिदानबाट कुन कुन लाभ उठाउनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू ]

[पृष्ठ ६७-मा भएको पृष्ठभरिको चित्र]