सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी अन्तिम दिन हुन्‌!

यी अन्तिम दिन हुन्‌!

अध्याय ११

यी अन्तिम दिन हुन्‌!

१. विश्‍वस्थिति देखेर केही मानिसहरू किन विचलित हुन्छन्‌ तर विश्‍वघटनाहरूबारे भरपर्दो व्याख्या कहाँ पाउन सकिन्छ?

 हाम्रो अस्तव्यस्त संसार यस्तो भयो कसरी? हाम्रो भविष्य के हुने हो? यस्ता प्रश्‍नहरू के तपाईंले पनि सोध्नुभएको छ? विश्‍वस्थिति देखेर धेरै जना विचलित छन्‌। युद्ध, रोग तथा अपराधजस्ता वास्तविकताहरूले गर्दा भविष्यबारे मानिस अन्योलमा छ। सरकारी नेताहरूले विशेष केही आशा देलान्‌ जस्तो देखिंदैन। तथापि, यी दुःखद दिनहरूको सन्तोषजनक कारण परमेश्‍वरको वचनमा पाइन्छ। हामी समयको धारामा कहाँ छौं, सो बुझ्ने मदद बाइबलले दिन्छ। हामी वर्तमान रीतिरिवाजका “अन्तिम दिनमा” छौं भनी त्यसले स्पष्ट पार्छ।—२ तिमोथी ३:१.

२. येशूका अनुयायीहरूले के प्रश्‍न गरे र त्यसको जवाफ उहाँले कसरी दिनुभयो?

उदाहरणका लागि, आफ्ना अनुयायीहरूले उठाएका केही प्रश्‍नहरूको जवाफमा येशूले के भन्‍नुभयो, सो विचार गर्नुहोस्‌। येशूको मृत्युको तीन दिनअघि तिनीहरूले उहाँलाई यो प्रश्‍न सोधे: “तपाईंको आगमन र जगतको [“रीतिरिवाज,” न्युव] अन्तको चिन्ह के हुन्छ?” a (मत्ती २४:३) यसको जवाफमा येशूले केही खास विश्‍वघटनाहरूलाई इङ्‌गित गर्नुभयो। ती घटनाहरूले यो भक्‍तिहीन संसारका अन्तिम दिन शुरू भएछन्‌ भनी स्पष्ट पार्ने थिए।

३. येशूले शासन गर्न थाल्नुहुँदा स्थिति किन झन्‌ बिग्रियो?

अघिल्लो अध्यायमा उल्लिखित भएझैं, बाइबल समयतालिका अनुसार परमेश्‍वरको राज्यले शासन गर्न थालिसकेको छ। तर यो कसरी हुनसक्छ? परिस्थिति राम्रो होइन, अझ नराम्रो भएको छ। तर यो नै एउटा ठोस प्रमाण हो कि परमेश्‍वरको राज्य शासन शुरू भइसकेको छ। किन? किनभने केही समयका निम्ति येशूले उहाँका ‘शत्रुहरूबीच’ राज्य गर्नुहुनेछ भनी भजन ११०:२ मा बताइएको छ। स्वर्गमा विराजमान राजाको हैसियतमा प्रथमतः उहाँले शैतान तथा त्यसका प्रेत दूतहरूलाई पृथ्वीमा फ्याँकि दिनु हुने थियो। (प्रकाश १२:९) यसको परिणाम? प्रकाश १२:१२ मा भविष्यवाणी गरिएजस्तै: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” हामी आज त्यही “अल्प समय[मा]” बाँचिरहेका छौं।

४. आखिरी दिनका केही विशेषताहरू के हुन्‌ र तीबाट के बोध हुन्छ? (पेटी हेर्नुहोस्‌।)

यसैकारण त येशूलाई उहाँको उपस्थिति र रीतिरिवाजको अन्तबारे चिन्ह माग्दा उहाँले निकै गम्भीर जवाफ दिनुभयो। उक्‍त चिन्हका विभिन्‍न विशेषताहरू पृष्ठ १०२ को पेटीमा दिइएका छन्‌। मसीही प्रेरित पावल, पत्रुस र यूहन्‍नाले अन्तिम दिनबारे थप विवरण प्रस्तुत गरेका छन्‌। हुन त अन्तिम दिनहरूबारे उक्‍त चिन्ह तथा भविष्यवाणीहरू प्रायः दुःखद परिस्थितिहरूसित सम्बन्धित छन्‌। तापनि, यी भविष्यवाणीहरूको पूर्ति देखेर हामी यो दुष्ट रीतिरिवाजको अन्त अब नजीकै छ भनी विश्‍वस्त हुन्छौं। अतः आउनुहोस्‌, हामी अन्तिम दिनहरूका केही मुख्य विशेषताहरूलाई नियालेर हेरौं।

अन्तिम दिनहरूका विशेषताहरू

५, ६. युद्ध र अनिकालसम्बन्धी भविष्यवाणीहरू कसरी पूरा भइरहेका छन्‌?

“जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” (मत्ती २४:७; प्रकाश ६:४) लेखक अरनेस्ट हेमिङ्‌गवेको शब्दमा प्रथम विश्‍वयुद्ध “पृथ्वीको सबैभन्दा विशाल, हिंस्रक र अव्यवस्थित हत्या” थियो। द वर्ल्ड इन द क्रूसिवल—१९१४-१९१९ पुस्तकअनुसार “त्यो एउटा नयाँ प्रकारको युद्ध थियो। मानिसजातिले प्रथम पटक सामूहिक युद्ध अनुभव गऱ्‍यो। त्यस बेलासम्म थाह भएको अथवा साधारणतः अपेक्षाकृत सबै कुरालाई त्यस युद्धको समयावधि, कठोरता तथा व्यापकताले माथ गऱ्‍यो।” यसपछि आयो द्वितीय विश्‍वयुद्ध जो प्रथम विश्‍वयुद्धभन्दा धेरै नै विनाशकारी साबित भयो। इतिहासका प्राध्यापक ह्‍यु थोमस भन्छन्‌: “बीसौं शताब्दीमा स्वचालित बन्दुक, बख्तरबन्द गाडी, लडाकु विमान, आणविक बम र अन्ततः क्षेप्यास्त्रको राज चलेको छ। यतिका रक्‍तपिपासु र विनाशक युद्धहरू अरू कुनै पनि युगमा भएनन्‌।” हो, शीतयुद्धको समाप्तिपछि निरस्त्रीकरण निकै नै चर्चित विषय भएको थियो। तर एउटा श्रोतअनुसार, सबै प्रस्तावित कटौतीहरू पछि पनि १०,००० देखि २०,००० आणविक शस्त्रहरू अर्थात्‌ द्वितीय विश्‍वयुद्धमा प्रयोग गरिएको भन्दा ९०० गुणा बढी शस्त्रशक्‍ति यथावत्‌ रहनेछ।

“ठाउँ ठाउँमा अनिकाल . .  हुनेछ।” (मत्ती २४:७; प्रकाश ६:५, ६, ८) सन्‌ १९१४ देखि कम्तीमा पनि २० ठूल-ठूला अनिकालहरू भएका छन्‌। केही अनिकालग्रस्त ठाउँहरू हुन्‌ इथियोपिया, कम्बोडिया, ग्रीस, चीन, नाईजेरिया, बंगलादेश, बुरून्डी, भारत, रूवाण्डा, रूस, सुडान र सोमालिया। तर अनिकालको मुख्य कारण खाद्यान्‍नको अभाव मात्र होइन। कृषिविद्‌ तथा अर्थशास्त्रीहरूको एउटा समूहद्वारा प्रस्तुत निष्कर्षअनुसार “विश्‍व जनसङ्‌ख्याभन्दा खाद्य उत्पादन हालसालैका दशकहरूमा तीव्र गतिले बढेको छ। तापनि, कमसेकम ८० करोड मानिसहरू अत्यन्त गरीब छन्‌। कुपोषणको प्रभावबाट बच्नेसम्मको खानेकुरा किन्‍ने पैसा तिनीहरूसित छैन।” तर कुरा यतिमै सीमित छैन। ठाउँ ठाउँमा राजनीति पनि मुछिएको हुन्छ। टोरन्टो विश्‍वविद्यालयका प्रोफेसर अबदिलगेल अलमेकीले यसको दुइटा उदाहरण दिएका छन्‌ जसमा देशभरि हजारौं भोका मानिसहरू हुँदा हुँदै सरकारले ठूलो मात्रामा खाद्यान्‍न अन्य देशहरूमा निष्काशन गरिरहेको थियो। सरकारको प्रमुख चासो आफ्ना भोका नागरिकहरूलाई ख्वाउनुमा भन्दा युद्धमा खर्च गर्ने विदेशी मुद्रा कमाउनुमा थियो। डा. अलमेकीको निष्कर्ष? “अनिकाल अक्सर वितरण र सरकारी नीतिसित सम्बन्धित हुन्छ।”

७. रूढीहरूबारे आज के वास्तविकता देखिन्छ?

“रूढी।” (लूका २१:११; प्रकाश ६:८) १९१८-१९१९ को स्पेनी हैजाले गर्दा कम्तीमा पनि २ करोड १० लाख मानिसहरू मरे। द ग्रेट ऐपिडेमिक नामक पुस्तकमा ए. ए. होलिङ्‌ग भन्छन्‌: “इतिहासमा यतिका धेरै मानिसहरूलाई यति थोरै समयभित्र अर्को कुनै पनि रोगले मार्न सकेको थिएन।” तर रूढीहरूले आज पनि हाम्रो पिछा छाडेको छैन। प्रत्येक साल पचास लाखभन्दा बढी मानिसहरू अर्बुद रोगका शिकार हुन्छन्‌। झाडाबान्ता लागेर तीस लाखभन्दा धेरै शिशु तथा बच्चाहरू मर्छन्‌। क्षयरोगले ३० लाख मानिसहरूको ज्यान लिन्छ। र प्रत्येक साल श्‍वासप्रणालीसम्बन्धी रोगहरू विशेषगरी निमोनियाले गर्दा पाँच वर्ष पनि नपुगेका ३५ लाख केटाकेटीहरू मर्छन्‌। साथै विश्‍व जनसङ्‌ख्याको आधा हिस्सा अर्थात्‌ साढे दुई अरब मानिसहरू अपर्याप्त अथवा दूषित पानी तथा सरसफाइको अभावको कारण उत्पन्‍न रोगहरूद्वारा पीडित छन्‌। औषधि उपचारको क्षेत्रमा जति नै प्रगति भए तापनि हामी रूढीहरू मेटाउन असमर्थ रहेका छौं। आफ्नो यो कमजोरीको सम्झना हामीलाई एड्‌सको राक्षसले गराइ रहेछ।

८. मानिसहरू “धनका लोभी” कसरी साबित भइरहेछन्‌?

“मानिसहरू . . . धनका लोभी हुनेछन्‌।” (२ तिमोथी ३:२) विश्‍वभरि मानिसहरूमा धनको तृष्णा तृप्त होला जस्तो देखिंदैन। तपाईंको मासिक आर्जन “सफलताको” नाप भएको छ र “उपलब्धि” को परिभाषा आफूसित थुप्रै मालमत्ता हुनु हो। एउटा विज्ञापन कम्पनीको उप-सभापतिअनुसार “भौतिकवाद अमेरिकी समाजको उत्प्रेरक शक्‍तिको रूपमा रहिरहनेछ . .  र अमेरिकी समाजको मात्र नभएर विश्‍वका अन्य बजारहरूको मूल शक्‍ति पनि भौतिकवाद नै हुनेछ।” यस्तो तपाईं बस्नुभएको ठाउँमा पनि भइरहेछ कि?

९. आमा-बाबुप्रति अनाज्ञाकारी हुने सम्बन्धमा गरिएको भविष्यवाणीबारे के भन्‍न सकिन्छ?

“आमा-बाबुको आज्ञा पालन नगर्ने।” (२ तिमोथी ३:२) आजका धेरै आमा-बाबु, शिक्षक तथा अन्य जनहरू अधिकांश केटाकेटीहरूको अशिष्ट व्यवहार तथा अनाज्ञाकारिताको शिकार भएका छन्‌। सम्भवतः केही केटाकेटीहरूले आफ्नै आमा-बाबुको दुर्व्यवहारको नकल गरेको अथवा त्यसप्रति आफ्नो प्रतिक्रिया व्यक्‍त गरेको हुनसक्छ। केटाकेटीहरूको बढ्‌दो सङ्‌ख्याले स्कूल, कानुन, धर्म तथा आफ्नो आमा-बाबुमाथि पत्यार गर्न छाड्‌दै छन्‌। उनीहरू सबैको विरोध गर्छन्‌। “तिनीहरूले प्रायः कुनै पनि चीजको आदर नगर्ने सुर कसेका छन्‌ जस्तो छ” भन्‍ने विचार एक जना पुरानो पेशेवर अध्यापकले व्यक्‍त गरे। तथापि खुशीको कुरा ईश्‍वरभीरु थुप्रै केटाकेटीहरूको व्यवहार आज पनि अनुकरणीय छ।

१०, ११. मानिसहरू निष्ठूर र स्वाभाविक प्रेम रहितका छन्‌ भनेर के प्रमाण प्रस्तुत छ?

१० “निष्ठूर।” (२ तिमोथी ३:३) यहाँ “निष्ठूर” भनेर अनुवादित युनानी शब्दको अर्थ हो ‘जङ्‌गली, मानवीय भावना तथा सहानुभूतिको अभाव भएको।’ यो परिभाषा आजका थुप्रै हिंस्रक अपराधीहरूलाई कति सुहाउँछ! एउटा सम्पादकीयमा यो टिप्पणी गरिएको थियो: “जीवन अति नै तनावग्रस्त र रक्‍तपातको त्रासले भरिपूर्ण छ। दैनिक समाचार पढ्‌दा मात्र पनि मुटुमाथि ढुङ्‌गा राख्नु खाँचो पर्छ।” निवास स्थानहरूको रेखदेख गर्ने एक जना प्रहरीको भनाइअनुसार थुप्रै युवकहरूले आफ्नो कामकुराको परिणामलाई विचार गर्दैनन्‌। उनले भने: “ ‘भोलि जेसुकै होस्‌। मलाई आजसित मतलब छ’ भन्‍ने सोचाइ व्याप्त छ।”

११ “स्वाभाविक प्रेम रहितका।” (२ तिमोथी ३:३) यो वाक्यांशको मूल युनानी शब्दको अर्थ हो “मायादया नभएको, अमानवीय” तथा “स्वाभाविक पारिवारिक स्नेहको अभाव।” (द न्यु इन्टरनेशनल डिक्शनेरी अफ न्यु टेस्टामेन्ट थिओलोजी) र वास्तवमा, परिवार अर्थात्‌ स्नेह फस्टाउनुपर्ने ठाउँमै अकसर स्नेहको अभाव देखिन्छ। पति पत्नीहरू, बच्चाहरू तथा वृद्ध आमा-बाबुसित गरिएको दुर्व्यवहार सामान्य तथा चिन्ताको कारण भइसक्यो। एउटा अनुसन्धान टोलीले यस्तो टिप्पणी गऱ्‍यो: “मानव हिंसा—थप्पड होस्‌ वा धक्का, छुरीको प्रहार होस्‌ वा बन्दुकको गोली—सबैभन्दा बढी हाम्रा परिवारहरू भित्रै भइरहेछ।”

१२. मानिसहरूमा भक्‍तिको भेष मात्र छ भनेर किन भन्‍न सकिन्छ?

१२ “भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कर गर्ने हुनेछन्‌।” (२ तिमोथी ३:५) मानिसहरूको जीवनमा राम्रो किसिमको परिवर्तन ल्याउने शक्‍ति बाइबलमा छ। (एफिसी ४:२२-२४) तर आज धेरैले धर्मको आड लिंदै परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने अधर्मी कार्यहरू गर्छन्‌। अक्सर धर्मगुरुहरूले झूट, चोरी र लैंगिक दुर्व्यवहारलाई समर्थन गर्छन्‌। धेरै धर्महरूले प्रेमको प्रचार गरे तापनि युद्धमा सहयोग पुऱ्‍याउँछन्‌। इण्डिया टुडे पत्रिकाको एउटा सम्पादकीयअनुसार: “परमप्रधान सृष्टिकर्ताको नाउँमै मानिसहरूले आफ्ना सह-मानवहरूको खिलाफ घोर अपराधहरू गरेका छन्‌।” भनौं भने, हालसालैका सबैभन्दा रक्‍तरञ्जित द्वन्दहरू अर्थात्‌ प्रथम र द्वितीय विश्‍वयुद्धहरूको आरम्भ मसीहीजगतमै भएको थियो।

१३. पृथ्वीको नाश भइरहेछ भन्‍ने के प्रमाण छ?

१३ “पृथ्वीका नष्टकारीहरू।” (प्रकाश ११:१८) युनियन अफ कन्सर्नड्‌ साइनटिस्ट्‌सले (चिन्तित वैज्ञानिकहरूको समूह) १०४ जना नोवेल पुरस्कार विजेताहरूलगायत विश्‍वका १,६०० भन्दा बढी वैज्ञानिकहरूको यो चेताउनी यसरी प्रस्तुत गऱ्‍यो: “मानिस तथा पर्यावरण एकअर्कासित जुध्नै लागेको छ। . . . यो दुर्घटनाग्रस्त जुझाइलाई अबको आउँदो एक दुई दशक नबित्दै रोक्नु अत्यावश्‍यक भएको छ।” यो रिपोर्टअनुसार जीवनलाई खतरामा पार्ने मानव गतिविधिले गर्दा “संसार पूर्णतः बद्‌लिनसक्छ। अन्ततः यसले जुन ढङ्‌गमा जीवनलाई टिक्ने मदद दिंदै आएको छ, सो उप्रान्त दिन नसक्ला।” ओजोन ह्रास, दूषित पानी, जङ्‌गलको नाश, भूमिमा उर्वराशक्‍तिको अभाव र थुप्रै वन्य तथा बनस्पति जीवनको लोप इत्यादिको समाधान, गम्भीर समस्याहरूको रूपमा प्रस्तुत गरिए। “जीवनका जटिल पारस्परिक प्रणालीहरूसित हामीले धेरै खेलवाड गऱ्‍यौं भने, परिणाम विश्‍वव्यापी हुनसक्छ। जैविक प्रणालीहरूको ह्रास हुनसक्छ र यसको असर कतिको विस्तृत हुनेछ, हामीलाई राम्ररी थाह छ।”

१४. मत्ती २४:१४ हाम्रा दिनहरूमा पूरा भइरहेछ भनी तपाईं कसरी प्रमाणित गर्न सक्नुहुन्छ?

१४ “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:१४) परमेश्‍वरको राज्यको सुसमाचार सबै जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ भनी येशूले अग्रिमवाणी गर्नुभएको थियो। आज ईश्‍वरीय मदद र आशिष्‌द्वारा यहोवाका साक्षीहरूले यो प्रचार तथा चेला बनाउने कार्यमा लाखौं घण्टा बिताइरहेका छन्‌। (मत्ती २८:१९, २०) सो सुसमाचार नसुनाएमा आफू रगतको दोषी हुनेछन्‌ भनी यी साक्षीहरूले बुझेका छन्‌। (इजकिएल ३:१८, १९) तिनीहरू अति खुशी पनि छन्‌ किनभने राज्यको यो सुसमाचार सुनेर प्रत्येक साल हजारौंले कृतज्ञतापूर्वक साँचो मसीही अथवा यहोवाको साक्षी हुने अडान लिइरहेका छन्‌। यहोवाको यसरी सेवा गर्न र परमेश्‍वरको ज्ञान फैलाउन पाउनु ठूलो सौभाग्य हो। सारा पृथ्वीमा यो सुसमाचारको प्रचार भइसकेपछि यस दुष्ट रीतिरिवाजको अन्त हुनेछ।

प्रमाण स्वीकार्नुहोस्‌

१५. वर्तमान दुष्ट रीतिरिवाजको कसरी अन्त हुनेछ?

१५ यस रीतिरिवाजको अन्त कसरी हुनेछ? बाइबलमा एउटा “महासङ्‌कष्ट[बारे]” भविष्यवाणी गरिएको छ। यस संसारको राजनैतिक तत्त्वहरूले “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍वसाम्राज्यमाथि आक्रमण गरेपछि उक्‍त महासङ्‌कष्ट शुरू हुनेछ। (मत्ती २४:२१; प्रकाश १७:५, १६) त्यस बेला “सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्‌ तथा स्वर्गका शक्‍तिहरू डगमगाउनेछ” भनी येशूले भन्‍नुभएको थियो। (मत्ती २४:२९) यी शब्दहरूअनुसार साँच्चैका अद्‌भुत आकाशीय घटनाहरू बोध हुनसक्छ। तर धार्मिक संसारमा चम्कने तथाकथित ज्योतिहरूको पनि पर्दाफास भएर तिनीहरू लोप हुनेछन्‌। अनि “मागोग देशको गोग” अर्थात्‌ शैतानले यहोवाका जनहरूमाथि खुलेआम आक्रमण गर्न भ्रष्ट मानिसहरू प्रयोग गर्नेछ। तर शैतान सफल हुनेछैन। परमेश्‍वरले आफ्ना जनहरूलाई बचाउनु हुनेछ। (इजिकिएल ३८:१, २, १४-२३) “महासङ्‌कष्टको” चरमोत्कर्ष आरमागेडोन अर्थात्‌ “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” हुनेछ। यस युद्धपछि शैतानको पार्थिव सङ्‌गठनको नामोनिशानै मेटिनेछ। बाँचेको मानिसजातिलाई अनन्तकालीन आशिष्‌ पाउन सम्भव हुनेछ।—प्रकाश ७:९, १४; ११:१५; १६:१४, १६; २१:३, ४.

१६. आखिरी दिनहरूबारे भविष्यवाणी गरिएका विशेषताहरू हाम्रै दिनबारे हुन्‌ भनी हामी कसरी भन्‍नसक्छौं?

१६ आखिरी दिनसम्बन्धी भविष्यवाणीहरूका केही भागहरूले इतिहासको अरू नै समयावधिलाई सङ्‌केत गरेको जस्तै लाग्नसक्छ। तर ती जम्मै भागहरूलाई एक साथ विचार गर्दा ती भविष्यवाणीहरूमा इङ्‌गित प्रमाणले हाम्रै दिनलाई सङ्‌केत गर्छन्‌। उदाहरणको लागि: एक जना व्यक्‍तिको ल्याप्चे अरू कुनै पनि व्यक्‍तिको ल्याप्चेसित मिल्न सक्‍तैन। यस्तैगरि, आखिरी दिनहरूका पनि आफ्नै किसिमका विशेषता अथवा घटनाक्रमहरू छन्‌। ती जम्मै मिलेर मानौं एउटा “ल्याप्चे” बन्छ जो अर्को कुनै पनि समयावधिसित मिल्न सक्‍तैन। यसका साथै, परमेश्‍वरको स्वर्गीय राज्यले हाल शासन गरिरहेछ भनी बाइबलमा प्रस्तुत सङ्‌केतहरूलाई दृष्टिगत गर्दा हाम्रा दिनहरू वास्तवमा आखिरी दिन हुन्‌ भन्‍ने ठोस आधार पाउँछौं। यसको अलावा वर्तमान दुष्ट रीतिरिवाज चाँडै नष्ट हुनेछ भनी स्पष्ट शास्त्रीय प्रमाण पनि उपलब्ध छ।

१७. यी वास्तवमा आखिरी दिनहरू हुन्‌ भनी थाह पाएपछि हामी के गर्न उत्साहित हुनुपर्छ?

१७ यी आखिरी दिनको प्रमाणबारे तपाईंको प्रतिक्रिया के हुनेछ? विचार गर्नुहोस्‌: कुनै डरलाग्दो तथा ध्वंसात्मक आँधी आउँदैछ भने हामी ढिलो नगरीकन तुरुन्तै बचाउका कदमहरू चालिहाल्छौं। यस्तैगरि, वर्तमान रीतिरिवाजबारे बाइबलको भविष्यवाणी थाह पाएपछि हामी पनि आवश्‍यक कदम चाल्न उत्प्रेरित हुनुपर्छ। (मत्ती १६:१-३) स्पष्टतः हामी यो विश्‍वव्यापी रीतिरिवाजका अन्तिम दिनहरूमा बाँचिरहेका छौं। अतः ईश्‍वरीय अनुग्रहको पात्र हुन हामी हर आवश्‍यक काँटछाँट गर्न तयार हुनुपर्छ। (२ पत्रुस ३:३, १०-१२) येशूले आफूलाई मुक्‍तिको कर्ताको रूपमा चिनाउँदै यो नितान्त आवश्‍यक आग्रह गर्नुहुन्छ: “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-व्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरी नै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ। तर आउन लागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खडा हुनसक्नालाई हर घडी प्रार्थना गर्दै जागा रहो।”—लूका २१:३४-३६.

[फुटनोट]

a केही बाइबलहरूले “रीतिरिवाज[को]” सट्टा “जगत” शब्द प्रयोग गर्छन्‌। डब्लु ई भाइन्‌को एक्सपोजिटोरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्‌-अनुसार युनानी शब्द आइ-ओन-बाट “कुनै अनिश्‍चित समयावधि अथवा केही खास घटनाहरूलाई दृष्टिगत गर्ने समय [युग]” बोध हुन्छ। पार्कहर्स्टको ग्रीक एण्ड इङ्‌गलिश लेक्सिकन टु द न्यु टेस्टामेन्ट-ले (पृष्ठ १७) हिब्रू १:२ मा आइ-ओ-नेस [बहुवचन]-को प्रयोगबारे चर्चा गर्दा “यस रीतिरिवाज” भन्‍ने अभिव्यक्‍ति प्रयोग गर्छ। तसर्थ, मूल युनानी पाठअनुसार “रीतिरिवाज” शब्दको प्रयोग पूर्णतः उचित छ।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

ख्रीष्टले शासन गर्नेबित्तिकै विश्‍वमा हुने गतिविधिहरूबारे बाइबलमा के भविष्यवाणी गरिएको थियो?

अन्तिम दिनका केही विशेषताहरू के हुन्‌?

यी वास्तवमा आखिरी दिन हुन्‌ भनी तपाईं खास कुन कुराले गर्दा विश्‍वस्त हुनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०२-मा भएको पेटी]

अन्तिम दिनका केही विशेषताहरू

• अपूर्व युद्धपात।—मत्ती २४:७; प्रकाश ६:४.

• अनिकाल।—मत्ती २४:७; प्रकाश ६:५, ६, ८.

• रूढी।—लूका २१:११; प्रकाश ६:८.

• बढ्‌दो अधर्म।—मत्ती २४:१२.

• पृथ्वीको नाश।—प्रकाश ११:१८.

• भैंचालो।—मत्ती २४:७.

• कठिन समयहरू।—२ तिमोथी ३:१.

• धनको लोभ।—२ तिमोथी ३:२.

• आमाबाबुप्रति अनाज्ञाकारी।—२ तिमोथी ३:२.

• स्वाभाविक प्रेमको अभाव।—२ तिमोथी ३:३.

• परमेश्‍वरभन्दा सुखविलास रुचाउने।—२ तिमोथी ३:४.

• आत्मसंयमको अभाव।—२ तिमोथी ३:३.

• असल नरुचाउने।—२ तिमोथी ३:३.

• आइ पर्नै लागेको खतराको वास्ता नगर्ने।—मत्ती २४:३९.

• ठट्टा गर्नेहरूले अन्तिम दिनको प्रमाणलाई तिरस्कार गर्छन्‌।—२ पत्रुस ३:३, ४.

• परमेश्‍वरको राज्यको विश्‍वव्यापी प्रचार।—मत्ती २४:१४.

[पृष्ठ १०१-मा भएको पृष्ठभरिको चित्र]