सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू ख्रीष्ट—परमेश्‍वरको ज्ञानको कुञ्जी

येशू ख्रीष्ट—परमेश्‍वरको ज्ञानको कुञ्जी

अध्याय ४

येशू ख्रीष्ट—परमेश्‍वरको ज्ञानको कुञ्जी

१, २. संसारका धर्महरूले परमेश्‍वरको ज्ञानको कुञ्जीबारे कसरी गोलमाल मचाउन खोजेका छन्‌?

 तपाईं आफ्नो घरको ढोकाबाहिर उभिनुभएको छ। रातको समय हो। जाडो तथा घोर अन्धकार छाएको छ। तपाईं घरभित्र पस्न आतुर हुनुहुन्छ। तर साँचोले कामै गर्दैन। हेर्दा त ढोकाको साँचो यही हो जस्तो लाग्छ। तर ताल्चा भने खुल्दै खुल्दैन। कस्तो फसाद! तपाईं आफ्नो साँचोलाई फेरि एक पटक हेर्नुहुन्छ। ढोकाको साँचो के वास्तवमा यही हो? कसैले साँचो बिगारि पो दियो कि?

संसारको धार्मिक गन्जागोलले गर्दा परमेश्‍वरको ज्ञानबारे पनि ठीक यस्तै स्थिति खडा भएको छ। परमेश्‍वरको ज्ञानको समझ खोली दिने हाम्रो कुञ्जी स्वयं येशू ख्रीष्टबारे धेरैले गोलमाल मचाएका छन्‌। केही धर्महरूले येशूको भूमिकालाई होच्याउँदै तथा उहाँको पूर्णतः उपेक्षा गर्दै त्यो कुञ्जी हटाई नै दिएका छन्‌। अन्य कतिपयले चाहिं येशूलाई सर्वशक्‍तिमान परमेश्‍वरको रूपमा पुज्दै उहाँको भूमिका बङ्‌ग्याउन खोजेका छन्‌। जे भएपनि, यी मुख्य व्यक्‍ति येशू ख्रीष्टबारे सही समझ प्राप्त नगरूञ्जेल परमेश्‍वरको ज्ञान हाम्रोनिम्ति एउटा बन्द ढोकाजस्तै रहनेछ।

३. येशूलाई परमेश्‍वरको ज्ञानको कुञ्जी किन भन्‍न सकिन्छ?

येशूका यी शब्दहरू तपाईंलाई यादै होला: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्‍वरलाई र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) यहाँ येशूले आत्मप्रशंसा गरी रहनुभएको थिएन। शास्त्रले नै ख्रीष्टबारे सही ज्ञान लिने आवश्‍यकतामाथि बारम्बार जोड दिन्छ। (एफिसी ४:१३; कलस्सी २:२; २ पत्रुस १:८; २:२०) प्रेरित पत्रुसले पनि “उहाँकै [येशू ख्रीष्ट] निम्ति सबै अगमवक्‍ताहरूले गवाही दिएका छन्‌” भने। (प्रेरित १०:४३) प्रेरित पावलले यसप्रकार लेखे: “[येशूमै] ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।” (कलस्सी २:३) पावलले अझ यहाँसम्म भने कि यहोवाका सबै प्रतिज्ञाहरू येशूमै पूरा हुन्छन्‌। (२ कोरिन्थी १:२०) अतः येशू ख्रीष्ट परमेश्‍वरको ज्ञानको मूल कुञ्जी हुनुहुन्छ। उहाँको स्वभाव तथा परमेश्‍वरको प्रबन्धमा उहाँको भूमिकाबारे हाम्रो ज्ञान हर गलत धारणाबाट मुक्‍त हुनुपर्छ। तर येशूका अनुयायीहरूले उहाँलाई परमेश्‍वरका उद्देश्‍यहरूको केन्द्रबिन्दु किन मान्छन्‌?

प्रतिज्ञाकृत मसीह

४, ५. मसीहबारे के कस्ता आशाहरू गरिएका थिए र येशूका अनुयायीहरूको दृष्टिमा उहाँ को हुनुहुन्थ्यो?

स्वयं यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सन्तानको तीव्र प्रतीक्षा, परमेश्‍वरका सेवकहरूले विश्‍वासी पुरुष हाबिलको समयदेखि गर्दै आएका थिए। (उत्पत्ति ३:१५; ४:१-८; हिब्रू ११:४) त्यस सन्तानले मसीह अर्थात्‌ “अभिषिक्‍त जन[को]” हैसियतमा परमेश्‍वरको उद्देश्‍य पूरा गर्नेछन्‌ भनी प्रकाश पारिएको थियो। उनी आएर “पापको अन्त” गर्ने थिए। साथै, उनको राज्यको महानताबारे भजनसंग्रहमा अग्रिमवाणी गरिएको थियो। (दानियल ९:२४-२६; भजन ७२:१-२०) अब ती मसीह को हुने थिए?

नासरतवासी येशूका शब्दहरू सुनेर अन्द्रियास नाउँ भएको एक जना जवान यहूदी अति नै पुलकित भए! उनी दौड्‌दै आफ्नो भाइ शिमोन पत्रुसकहाँ गएर यसो भने: “हामीले मसीहलाई भेट्टाएका छौं।” (यूहन्‍ना १:४१) येशू नै प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भनी येशूका अनुयायीहरू विश्‍वस्त थिए। (मत्ती १६:१६) र येशू नै अग्रिमवाणी गरिएका मसीह अथवा ख्रीष्ट हुनुहुन्छ भन्‍ने विश्‍वासको आधारमा साँचो मसीहीहरू पनि स्वेच्छापूर्वक आफ्नो ज्यानसमेत बलिदान गर्न तयार रहेका छन्‌। तर यसरी विश्‍वास गर्ने तिनीहरूको आधार के थियो? आउनुहोस्‌, हामी तीन बेग्लाबेग्लै आधार अथवा प्रमाण जाँचौं।

येशू नै मसीह हुनुहुन्छ भन्‍ने प्रमाण

६. (क) प्रतिज्ञाकृत सन्तान कसको वंशबाट आउने थियो र येशूले सोही परिवारमा जन्म लिनुभयो भनी हामी कसरी भन्‍नसक्छौं? (ख) सा.यु. ७० पछि कुनै पनि मानिसले आफूलाई मसीह साबित गर्न किन असम्भव भयो?

येशूको पुर्खौलीले उहाँ प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भनी चिनाउने आधार स्थापित गर्छ। प्रतिज्ञाकृत सन्तान अब्राहामको परिवारबाट आउनेछ भनी यहोवाले आफ्नो यो सेवकलाई बताउनुभएको थियो। अब्राहामको छोरा इसहाक, इसहाकको छोरा याकूब र याकूबको छोरा यहूदा प्रत्येकसित यस्तै प्रतिज्ञा गरियो। (उत्पत्ति २२:१८; २६:२-५; २८:१२-१५; ४९:१०) यी सन्तान शताब्दीयौंपछि राजा दाऊदको घरानामा जन्मनेछन्‌ भनी दाऊदलाई बताईंदा मसीहको पुर्खौली अझ स्पष्ट भयो। (भजन १३२:११; यशैया ११:१, १०) पछि सोही घरानामा येशू जन्मनुभयो भन्‍ने पुष्टि मत्ती र लूकाका विवरणहरूले दिन्छन्‌। (मत्ती १:१-१६; लूका ३:२३-३८) येशूका थुप्रै कट्टर दुश्‍मनहरू थिए। तर तिनीहरूमध्ये कसैले पनि येशूको सर्वविदित पुर्खौलीमाथि शंका व्यक्‍त गरेनन्‌। (मत्ती २१:९, १५) स्पष्टतः उहाँको पुर्खौली निर्विवाद छ। तर पछि सा.यु. ७० मा रोमीहरूले यरूशलेमलाई ध्वस्त पार्दा यहूदी पारिवारिक अभिलेखहरू जम्मै नाश भए। यसपश्‍चात्‌ फेरि कसैले पनि प्रतिज्ञाकृत मसीह हुने आफ्नो दाबी प्रमाणित गर्नसक्ने भएन।

७. (क) येशू वास्तवमा मसीह हुनुहुन्थ्यो भन्‍ने कुराको दोस्रो प्रमाण के हो? (ख) मीका ५:२ येशूमा कसरी पूरा भयो?

भविष्यवाणीको पूर्ति दोस्रो प्रमाण हो। हिब्रू शास्त्रका सयौं भविष्यवाणीहरूले मसीहको जीवनका विभिन्‍न पक्षहरूको वर्णन गर्छन्‌। सा.यु.पू. आठौं शताब्दीमा अगमवक्‍ता मीकाले ती महान्‌ शासक नगण्य शहर बेतलेहेममा जन्मनेछन्‌ भनी अग्रिमवाणी गरेका थिए। इस्राएलमा दुइटा शहरहरूको नाउँ बेतलेहेम थियो। अतः यहाँ कुन चाहिं बेतलेहेमको चर्चा गरिंदै थियो? राजा दाऊदको जन्मस्थल, बेतलेहेम एप्राताको। (मीका ५:२) बेतलेहेमदेखि करिब १४४ किलोमिटर उत्तरतिर, येशूका माता-पिता युसूफ र मरियम बसोबास गर्थे। तथापि, मरियम गर्भवती छँदा रोमी शासक सिजर अगस्टसले इस्राएलका जम्मै मानिसहरूलाई आ-आफ्नो जन्मस्थलमा गएर नाउँ दर्ता गर्ने आदेश दिए। a तसर्थ, युसूफले आफ्नी गर्भवती पत्नी मरियमलाई बेतलेहेम ल्याउनुपऱ्‍यो र त्यहाँ नै येशू जन्मनुभयो।—लूका २:१-७.

८. (क)ती ६९ “हप्ता” कहिले र कुन घटनासाथ सुरु भए? (ख) ती ६९ “हप्ता” कति लामो थिए र ती समाप्त भएपछि के भयो?

यरूशलेम पुनःनिर्मित तथा पुनःस्थापित हुने आदेश जारी भएको समयदेखि ६९ “हप्ता” पश्‍चात्‌ अभिषिक्‍त जन, “राजकुमार” देखा पर्नेछन्‌ भनी सा.यु.पू. छैटौं शताब्दीमा अगमवक्‍ता दानियलले अग्रिमवाणी गरेका थिए। (दानियल ९:२४, २५) ती प्रत्येक “हप्ता” सात वर्ष लामो थियो। b यरूशलेमलाई पुनःनिर्मित गर्ने आदेश बाइबलीय तथा सांसारिक इतिहासअनुसार सा.यु.पू. ४५५ मा दिइएको थियो। (नहेम्याह २:१-८) तसर्थ सा.यु.पू. ४५५ देखि ४८३ वर्षपछि (६९ गुना ७) मसीह देखा पर्नुहुने थियो। यो हिसाबअनुसार हामी सा.यु. २९ सालमा पुग्छौं। यसै वर्ष यहोवाले येशूलाई पवित्र आत्माद्वारा अभिषेक गर्नुभयो। येशू यसप्रकार मसीह अथवा “ख्रीष्ट” (जसको अर्थ हो “अभिषिक्‍त जन”) हुनुभयो।—लूका ३:१५, १६, २१, २२.

९. (क) भजन २:२ कसरी पूरा भयो? (ख) येशूमा पूरा भएका केही अन्य भविष्यवाणीहरू के हुन्‌? (तालिका हेर्नुहोस्‌।)

हुन त सबैले येशूलाई प्रतिज्ञाकृत मसीहको रूपमा स्वीकारेनन्‌। यस्तो हुन्छ भनेर शास्त्रमा भविष्यवाणी पनि गरिएको थियो। राजा दाऊदले ईश्‍वरीय प्रेरणाद्वारा भजन २:२ मा उल्लिखित यो भविष्यवाणी गरेका थिए: “परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा पृथ्वीका राजाहरू आफै खडा हुन्छन्‌, र शासकहरू आपसमा . . . सल्लाह गर्छन्‌।” यो भविष्यवाणीअनुसार यहोवाका अभिषिक्‍त जन अथवा मसीहमाथि आक्रमण गर्न एउटाभन्दा बढी देशका शासकहरू एक जुट हुने थिए। र यस्तै भयो पनि। यहूदी धर्मगुरुहरू, यहूदी राजा हेरोद र रोमी राज्यपाल पन्तियस पिलातस सबैले नै येशूको हत्यामा एउटा एउटा भूमिका निभाए। पहिले आपसमा शत्रुता भएका हेरोद र पिलातस त्यस दिनदेखि घनिष्ठ मित्रहरू भए। (मत्ती २७:१, २; लूका २३:१०-१२; प्रेरित ४:२५-२८) येशू नै मसीह हुनुहुन्थ्यो भन्‍ने थप प्रमाणका लागि कृपया “केही विशेष मसीही अगमवाणीहरू” शीर्षक भएको प्रस्तुत तालिका हेर्नुहोस्‌।

१०. यहोवाले येशू नै उहाँको प्रतिज्ञाकृत अभिषिक्‍त जन हुनुहुन्छ भनी कसरी साक्षी दिनुभयो?

१० यहोवा परमेश्‍वरले दिनुभएको गवाही एउटा अर्को प्रमाण हो। यसले पनि येशू नै मसीह हुनुहुन्छ भनी थप पुष्टि दिन्छ। येशू नै प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भनी मानिसहरूलाई अवगत गराउन यहोवाले स्वर्गदूतहरू पठाउनुभयो। (लूका २:१०-१४) येशूमाथि आफ्नो अनुमोदन व्यक्‍त गर्न येशूको पार्थिव जीवनको दौडान यहोवा स्वयं स्वर्गबाट बोल्नुभयो। (मत्ती ३:१६, १७; १७:१-५) यहोवाले येशूलाई चमत्कारहरू तथा अन्य पराक्रमी कार्यहरू गर्ने अख्तियार प्रदान गर्नुभयो। ती प्रत्येक चमत्कार, येशू नै मसीह हुनुहुन्छ भन्‍ने कुराको थप ईश्‍वरीय प्रमाण थियो। किनकि परमेश्‍वरले ढोङ्‌गीलाई चमत्कारहरू गर्ने शक्‍ति कहिल्यै दिनुहुन्‍न। यहोवाकै पवित्र आत्माको प्रेरणाद्वारा येशूको जीवनी पनि लिपिबद्ध भयो। यसप्रकार, येशू मसीह हुनुहुन्छ भन्‍ने प्रमाण बाइबलको अभिन्‍न भाग बन्‍न गयो जो स्वयं इतिहासको सबैभन्दा विस्तृत रूपमा अनुवादित तथा प्रकाशित पुस्तक हो।—यूहन्‍ना ४:२५, २६.

११. येशू नै मसीह हुनुहुन्छ भनी कतिको धेरै प्रमाण छ?

११ उक्‍त बेग्लाबेग्लै प्रमाणहरूमा सयौं तथ्यहरू समाविष्ट छन्‌ जसबाट येशू नै प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भनी चिन्‍न सकिन्छ। यसैकारण त साँचो मसीहीहरूले उहाँलाई सोही व्यक्‍तिको रूपमा स्वीकार्छन्‌ ‘जसका निम्ति सबै अगमवक्‍ताहरूले गवाही दिए’ र जो परमेश्‍वरको ज्ञानको कुञ्जी हुनुहुन्छ। (प्रेरित १०:४३) तर येशू ख्रीष्ट मसीह हुनुहुन्छ भन्‍ने प्रमाणबाहेक उहाँबारे सिक्नुपर्ने अझ धेरै कुराहरू छन्‌। जस्तो कि उहाँ कहाँबाट आउनुभयो? उहाँ कस्तो हुनुहुन्थ्यो?

येशूको मानवपूर्व अस्तित्व

१२, १३. (क) येशू पृथ्वीमा आउनअघि स्वर्गमा हुनुहुन्थ्यो भनी हामी कसरी भन्‍नसक्छौं? (ख) “वचन” को हुनुहुन्छ र आफू मानिस हुनअघि उहाँले के गर्नुभएको थियो?

१२ येशूको जीवनलाई तीन भागमा विभाजित गर्न सकिन्छ। प्रथम भाग उहाँले पृथ्वीमा जन्म लिनुभन्दा धेरै नै अघि शुरू भएको थियो। मीका ५:२ अनुसार मसीहको शुरू “अघिदेखि, अर्थात्‌ प्राचीनकालदेखिनै” थियो। साथै येशूले पनि उहाँ स्पष्टतः “माथिको” अर्थात्‌ स्वर्गको हुनुहुन्छ भन्‍नुभयो। (यूहन्‍ना ८:२३; १६:२८) तर पृथ्वीमा आउनुभन्दा अघि उहाँले स्वर्गमा कति समय बिताई सक्नुभएको थियो?

१३ येशू परमेश्‍वरको “एकमात्र पुत्र” कहलाइनुहुन्थ्यो किनकि उहाँलाई स्वयं यहोवाले सृजनुभएको थियो। (यूहन्‍ना ३:१६) यसपछि परमेश्‍वरले येशूलाई “सारा सृष्टिको जेठो[को]” हैसियतमा अन्य सबै थोक सृजन प्रयोग गर्नुभयो। (कलस्सी १:१५; प्रकाश ३:१४) यूहन्‍ना १:१ अनुसार “वचन (मानवपूर्व येशू) आदिमा परमेश्‍वरसँग” हुनुहुन्थ्यो। तसर्थ, “आकाश र पृथ्वी[को]” सृष्टि हुँदा वचन यहोवासित हुनुहुन्थ्यो। परमेश्‍वरले “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्‍नु हुँदा उही वचनलाई सम्बोधन गर्नुहुँदै थियो। (उत्पत्ति १:१, २६) यस्तैगरि, हितोपदेश ८:२२-३१ मा बुद्धिसित तुलना गरिएको तथा सबै कुरा बनाउँदा यहोवा सँगसँगै परिश्रम गर्ने परमेश्‍वरको “प्रिय” तथा मुख्य कालिगड पनि सोही वचन हुनुपर्छ। उहाँलाई यहोवाले सृजनु भएपछि तथा पृथ्वीमा मानिसको रूप धारण गरेर आउनुअघि उहाँले स्वर्गमा अनगिन्ती युगानुयुग बिताई सक्नुभएको हुनुपर्छ।

१४. येशूलाई “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” किन भनिन्छ?

१४ नभन्दै, कलस्सी १:१५ मा येशूलाई “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भनिएको छ। आफ्नो पिता यहोवासित युगानुयुगदेखि नजीकबाट सङ्‌गत गरेको हुनाले यी आज्ञाकारी पुत्र उहाँको पिताजस्तै हुनुभयो। यसैले गर्दा पनि येशू परमेश्‍वरको जीवनदायी ज्ञानको कुञ्जी हुनुहुन्छ। येशूले पृथ्वीमा जे जति गर्नुभयो, यहोवाले पनि ठीक त्यही गर्नुहुने थियो। अतः येशूलाई चिन्‍नुको अर्थ यहोवाबारे आफ्नो ज्ञान बढाउनु पनि हो। (यूहन्‍ना ८:२८; १४:८-१०) स्पष्टतः येशू ख्रीष्टबारे अझै सिक्नु अत्यावश्‍यक छ।

येशूको पार्थिव जीवनपद्धति

१५. येशू एउटा सिद्ध बच्चा भएर कसरी जन्मन सक्नुभयो?

१५ येशूको जीवनको दोस्रो भाग यहाँ पृथ्वीमा बिताइयो। परमेश्‍वरले येशूको जीवनलाई स्वर्गबाट पृथ्वीमा मरियम नाउँ भएकी विश्‍वासी यहूदी कन्याको गर्भमा सार्नुहुँदा येशू नम्रतापूर्वक तयार हुनुहुन्थ्यो। यहोवाको शक्‍तिशाली पवित्र आत्मा मरियममाथि ‘आयो’ जसले गर्दा तिनी गर्भवती भइन्‌ र अन्ततः एउटा सिद्ध बच्चालाई जन्माउन सकिन्‌। (लूका १:३४, ३५) येशू वंशानुगत असिद्ध हुनुहुन्थेन किनकि उहाँको जीवनको श्रोत सिद्ध थियो। उहाँ एउटा साधारण घरमा सिकर्मी यूसुफको धर्मपुत्र भएर हुर्कनुभयो। परिवारमा येशूभन्दा कान्छो थुप्रै भाइबहिनीहरू थिए।—यशैया ७:१४; मत्ती १:२२, २३; मर्कूस ६:३.

१६, १७. (क) येशूले चमत्कारहरू गर्ने शक्‍ति कहाँबाट पाउनुभयो र उहाँले गर्नुभएका केही चमत्कारहरू के हुन्‌? (ख) येशूले प्रदर्शित गर्नुभएका केही गुणहरू के हुन्‌?

१६ येशूले १२ वर्षकै उमेरमा यहोवा परमेश्‍वरका लागि गहिरो भक्‍ति प्रदर्शित गर्नुभएको थियो। (लूका २:४१-४९) तीस वर्षको उमेरमा आफ्नो सेवकाई शुरू गरेपछि येशूले सह-मानवहरूप्रति पनि प्रगाढ प्रेम देखाउनुभयो। परमेश्‍वरको पवित्र आत्माद्वारा चमत्कारहरू गर्ने शक्‍ति पाएपछि उहाँले बडो अनुकम्पासाथ रोगीहरू, लङ्‌गडाहरू, अपाङ्‌गहरू, अन्धोहरू, बहिराहरू तथा कोरीहरूलाई निको पार्नुभयो। (मत्ती ८:२-४; १५:३०) येशूले हजारौं भोका मानिसहरूलाई पनि खुवाउनुभयो। (मत्ती १५:३५-३८) उहाँले आफ्ना मित्रहरूको सुरक्षालाई खतरामा पार्ने आँधीलाई समेत शान्त पार्नुभयो। (मर्कूस ४:३७-३९) उहाँले मरेकाहरूलाई जिउँदो पार्नुभयो। (यूहन्‍ना ११:४३, ४४) यी चमत्कारहरू इतिहासका मान्यताप्राप्त तथ्यहरू हुन्‌। येशूले ‘धेरै चिन्हहरू’ गर्नुभयो भनी उहाँका शत्रुहरूले पनि स्वीकार गर्थे।—यूहन्‍ना ११:४७, ४८.

१७ येशू आफ्नो गाउँघरभरि मानिसहरूलाई परमेश्‍वरको राज्यबारे सिकाउँदै हिंड्‌नुहुन्थ्यो। (मत्ती ४:१७) उहाँले धैर्य र विवेकको उच्चस्तरीय उदाहरण कायम गर्नुभयो। उहाँलाई आफ्ना चेलाहरूले निराश तुल्याउँदा उहाँले सहानुभूति दर्शाउँदै यसो भन्‍नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर कमजोर छ।” (मर्कूस १४:३७, ३८) तथापि, सच्चाइलाई दबाउने तथा असहायहरूमाथि थिचोमिचो गर्नेहरूको सामु येशू साहसी र निडर हुनुहुन्थ्यो। (मत्ती २३:२७-३३) सबैभन्दा ठूलो, येशूले आफ्नो पिताको प्रेमको पूर्णतः अनुकरण गर्नुभयो। असिद्ध मानिसजातिको भविष्य आशाविहीन नहोस्‌ भनेर येशू आफ्नो ज्यानसमेत दिन तयार हुनुभयो। यसैकारण त हामी येशूलाई परमेश्‍वरको ज्ञानको कुञ्जी मान्छौं! हो, उहाँ जीवित कुञ्जी हुनुहुन्छ! तर जीवित कुञ्जी किन? यसका लागि अब हामीले उहाँको जीवनको तेस्रो भागमाथि ध्यान दिनुपर्छ।

येशू वर्तमानमा

१८. हामीले आज येशू ख्रीष्टलाई कुन नजरले हेर्नुपर्छ?

१८ बाइबलमा येशूको मृत्युको चर्चा गरिएको भए तापनि उहाँ अहिले जीवित हुनुहुन्छ! प्रथम शताब्दीका सयौं मानिसहरू उहाँको पुनरुत्थानका प्रत्यक्षदर्शीहरू थिए। (१ कोरिन्थी १५:३-८) पुनरुत्थानपछि उहाँ भविष्यवाणीअनुसार आफ्नो पिताको दाहिने हातमा बस्नुभयो। स्वर्गमा राजकीय अख्तियार नपाउञ्जेल उहाँ पर्खनुभयो। (भजन ११०:१; हिब्रू १०:१२, १३) तसर्थ, आज हामीले येशूलाई कुन दृष्टिले हेर्नुपर्छ? के आज पनि उहाँ डुँढमा सुतिरहेको सानो असहाय बच्चा हुनुहुन्छ? कि मर्नै लागेको पीडित मानिस हुनुहुन्छ? होइन। आज उहाँ शक्‍तिशाली शासनारूढ राजा हुनुहुन्छ! अब चाँडै नै उहाँले हाम्रो सङ्‌कटग्रस्त पृथ्वीमाथि आफ्नो शासन प्रत्यक्षतः दर्शाउनुहुनेछ।

१९. येशूले चाँडै भविष्यमा के कारबाई गर्नुहुनेछ?

१९ प्रकाश १९:११-१५ मा येशू ठूलो शक्‍तिसाथ दुष्टहरूलाई नाश गर्न आउनुहुने चित्र प्रस्तुत छ। आज करोडौंमाथि आइपरेको पीडा अन्त गर्न यी मायालु स्वर्गीय शासक अवश्‍य कत्ति उत्सुक हुनुहुन्छ! साथै आफू पृथ्वीमा हुनुहुँदा कायम गर्नुभएको सिद्ध उदाहरण अनुकरण गर्न खोज्नेहरूलाई मदत दिन पनि उहाँ त्यतिकै इच्छुक हुनुहुन्छ। (१ पत्रुस २:२१) तिनीहरू उहाँको स्वर्गीय राज्यको प्रजा भएर सधैं बाँच्न सकून्‌ भनेर तिनीहरूलाई चाँडै आउन लागेको “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” अर्थात्‌ आरमागेडोनमा उहाँ बचाउन चाहनुहुन्छ।—प्रकाश ७:९, १४; १६:१४, १६.

२०. येशूले उहाँको हजार वर्षीय शासनको दौडान मानिसजातिका लागि के गर्नुहुनेछ?

२० भविष्यवाणीअनुसार, येशूले शासन गर्नुहुने हजार वर्षीय राज्यमा मानिसजातिका लागि उहाँले थुप्रै चमत्कारहरू गर्नुहुनेछ। (यशैया ९:६, ७; ११:१-१०; प्रकाश २०:६) येशूले हरप्रकारको रोग निको पार्नुहुनेछ र मृत्युको अन्त गरी दिनुहुनेछ। उहाँले अरबौं मानिसहरूको पुनरूत्थान गर्नुहुनेछ जसबाट तिनीहरूले पनि पृथ्वीमा सधैंभरि बाँच्ने मौका पाउनेछन्‌। (यूहन्‍ना ५:२८, २९) यो मसीही राज्यबारे अर्को अध्यायमा अझ अन्य कुराहरू सिक्नु भएपछि तपाईं निश्‍चय रमाउनुहुनेछ। तथापि यो एउटा कुरा मनमा टिपी राख्नुहोस्‌: परमेश्‍वरको राज्यमा हाम्रो जीवन अति नै आनन्दमय हुनेछ। त्यसको हामी अहिले कल्पनासमेत गर्न सक्दैनौं। अतः येशू ख्रीष्टबारे अझ राम्ररी परिचित हुनु नितान्त आवश्‍यक छ। हो, अनन्त जीवनतर्फ डोऱ्‍याउने परमेश्‍वरको ज्ञानको जीवित कुञ्जी, येशूलाई हामी कहिल्यै नबिर्सौं!

[फुटनोटहरू]

a यस्तो दर्ताले गर्दा रोमी साम्राज्यलाई मानिसहरूबाट कर धुत्न अझ सजिलो भयो। साथै, ‘एक राजाले कर उठाउनलाई एउटा अफसर पठाउनेछ’ भन्‍ने भविष्यवाणी पूरा गर्नमा अगस्टसले अनजानमा मदत पुऱ्‍यायो। यसै राजाको उत्तराधिकारीको पालोमा “करारअनुसारको राजकुमार” अथवा मसीह पनि “परास्त” हुनेछ भनी सोही भविष्यवाणीमा अग्रिमवाणी गरिएको थियो। अगस्टसको उत्तराधिकारी टाइबेरियसकै शासनकालमा येशूको हत्या भयो।—दानियल ११:२०-२२.

b प्राचीन यहूदीहरूले हरेक सात वर्षलाई पनि एक हप्ता ठान्‍ने गर्थे। उदाहरणको लागि, प्रत्येक सातौं दिन विश्राम दिन हुन्थ्यो भने प्रत्येक सातौं वर्षलाई विश्राम वर्ष मानिन्थ्यो।—प्रस्थान २०:८-११; २३:१०, ११.

आफ्नो ज्ञान जाँच्नुहोस्‌

मसीह हुने येशूको दाबीलाई उहाँको पुर्खौलीले कसरी पुष्टि दियो?

येशूमा पूरा भएका केही मसीही भविष्यवाणीहरू के के हुन्‌?

परमेश्‍वरले येशू नै उहाँको अभिषिक्‍त जन हुनुहुन्छ भनी कसरी प्रत्यक्षतः प्रदर्शित गर्नुभयो?

येशू किन परमेश्‍वरको ज्ञानको जीवित कुञ्जी हुनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३७-मा भएको पेटी]

केही उल्लेखनीय मसीही अगमवाणीहरू

भविष्यवाणी घटना पूर्ति

उहाँको प्रारम्भिक जीवन

यशैया ७:१४ कन्याद्वारा जन्म मत्ती १:१८-२३

यर्मिया ३१:१५ उहाँको जन्मपश्‍चात्‌ शिशुहरूको हत्या मत्ती २:१६-१८

उहाँको सेवकाई

यशैया ६१:१, २ उहाँको ईश्‍वर-प्रदत्त सेवकाई लूका ४:१८-२१

यशैया ९:१, २ उहाँको सेवकाईद्वारा मानिसहरूले ठूलो ज्योति देखे मत्ती ४:१३-१६

भजन ६९:९ यहोवाको घरका लागि जोश यूहन्‍ना २:१३-१७

यशैया ५३:१ उहाँमाथि विश्‍वास गरिंदैन यूहन्‍ना १२:३७, ३८

जकरिया ९:९; गधैनीको पाजीमाथि चढ्‌नु मत्ती २१:१-९

भजन ११८:२६ भएर यरूशलेमभित्र प्रवेश राजा

तथा; यहोवाको नाउँमा आउने

व्यक्‍तिको रूपमा स्वागत गरिएको

विश्‍वासघात र मृत्यु

भजन ४१:९; १०९:८ एक जना अविश्‍वासी प्रेरित; उसले येशूको प्रेरित १:१५-२०

विश्‍वासघात गर्छर पछि उसको ठाउँ लिन

अर्कै व्यक्‍ति नियुक्‍त गरिन्छ

जकरिया ११:१२ उहाँ चाँदीका ३० टुक्राहरूका मत्ती २६:१४, १५

निम्ति बेचिनुहुन्छ

भजन २७:१२ उहाँको खिलाफमा झूटा मत्ती २६:५९-६१

साक्षीहरू खडा गरिन्छ

भजन २२:१८ उहाँले लाउनुभएको वस्त्रका लागि चिट्ठा हालिन्छ यूहन्‍ना १९:२३, २४

यशैया ५३:१२ पापीहरूमध्ये गनिनुहुन्छ मत्ती २७:३८

भजन २२:७, ८ मर्ने बेलामा ठट्टामा उडाइनुहुन्छ मर्कूस १५:२९-३२

भजन ६९:२१ पिउनलाई सिर्का दिइन्छ मर्कूस १५:२३, ३६

यशैया ५३:५; भालाले रोपिनुहुन्छ यूहन्‍ना १९:३४, ३७

जकरिया १२:१०

यशैया ५३:९ धनीहरूसित गाडिनुहुन्छ मत्ती २७:५७-६०

भजन १६:८-११ कुहिनअघि नै उहाँको पुनरुत्थान हुन्छ प्रेरित २:२५-३२; १३:३४-३७

[पृष्ठ ३५-मा भएको चित्र]

परमेश्‍वरले येशूलाई रोगीहरू निको पार्ने शक्‍ति दिनुभयो