सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌

सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌

अध्याय १८

सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌

१, २. परमेश्‍वरको ज्ञान लिनुबाहेक अरू कुन कुराको पनि खाँचो छ?

 मानि लिनुहोस्‌, तपाईं ढुकुटीको ढोकाबाहिर उभिनुभएको छ। ढोकामा ताल्चा लगाएको छ। कुनै आधिकारिक व्यक्‍तिले तपाईंको हातमा साँचो थमाउँदै ढुकुटीका बहुमूल्य सरसामान लिने अनुमति दिएको छ। तर अब तपाईंले साँचो चलाउनै भएन भने के फायदा। यस्तैगरि ज्ञानलाई पनि प्रयोगमा नल्याऊञ्जेल केही फायदा छैन।

विशेषगरि परमेश्‍वरको ज्ञानलाई प्रयोगमा ल्याउनु अत्यावश्‍यक छ। यहोवा परमेश्‍वर र येशू ख्रीष्टको ज्ञान अनन्त जीवन हो। (यूहन्‍ना १७:३) तर ज्ञान लिएर मात्र अनन्त जीवन पाउन सकिंदैन। ढुकुटीको साँचोलाई झैं तपाईंले परमेश्‍वरको ज्ञानलाई जीवनमा लागू गर्नुपर्छ। येशूको भनाइअनुसार परमेश्‍वरको इच्छा गर्नेहरू मात्र परमेश्‍वरको “राज्यमा पस्न पाउनेछन्‌।” यस्तै व्यक्‍तिहरूलाई सधैंभरि परमेश्‍वरको सेवा गर्ने सौभाग्य पनि प्राप्त हुनेछ।—मत्ती ७:२१; १ यूहन्‍ना २:१७.

३. हाम्रालागि परमेश्‍वरको इच्छा के हो?

परमेश्‍वरको इच्छा सिकेपछि सोहीअनुरूप काम गर्नु नितान्त आवश्‍यक छ। तपाईंका लागि परमेश्‍वरको इच्छा के हो? सारांशमा भन्‍ने हो भने: येशूको अनुकरण गर्नु। पहिलो  पत्रुस २:२१ भन्छ: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूको निम्ति दुःख भोग्नुभयो।” अतः परमेश्‍वरको इच्छा गर्नुको अर्थ सकेसम्म येशूको उदाहरण अनुकरण गर्नु हो। यसरी नै तपाईंले परमेश्‍वरको ज्ञानलाई प्रयोगमा ल्याउनुपर्छ।

येशूले परमेश्‍वरको ज्ञानलाई कसरी प्रयोग गर्नुभयो

४. यहोवाबारे त्यतिका धेरै कुरा येशूलाई किन थाह छ र यो ज्ञानको प्रयोग उहाँले कसरी गर्नुभएको छ?

अरू कसैले भन्दा येशूले परमेश्‍वरलाई धेरै नै नजीकबाट चिन्‍नुभएको छ। पृथ्वीमा आउनुभन्दा अघि उहाँले स्वर्गमा यहोवा परमेश्‍वरसँग बस्दै तथा काम गर्दै कैयौं युग बिताइ सक्नुभएको थियो। (कलस्सी १:१५, १६) अब यतिका ठूलो ज्ञानलाई येशूले के गर्नुभयो? उहाँ ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट हुनुभएन। येशूले त्यो ज्ञानअनुसार जीवन बिताउनुभयो। येशूले स्वर्गमा हुनुहुने आफ्नो पिताको अनुकरण गर्नुभयो। उहाँ सह-मानवहरूसित व्यवहार गर्दा अत्यन्त दयालु, धीरजी र मायालु हुनुहुन्थ्यो। यहोवाको व्यक्‍तित्व तथा कार्यप्रणालीबारे आफूसित जे जति ज्ञान थियो, त्यसलाई उहाँले प्रयोगमा ल्याउनुभयो।—यूहन्‍ना ८:२३, २८, २९, ३८; १ यूहन्‍ना ४:८.

५. येशूले बप्तिस्मा किन लिनुभयो र बप्तिस्माको अर्थअनुरूप उहाँले कसरी जीवन बिताउनुभयो?

येशूसित भएको ज्ञानले उहाँलाई एउटा निर्णायक कदम उठाउन पनि प्रेरित गऱ्‍यो। उहाँ गालीलदेखि यर्दन नदीमा आउनुभयो जहाँ यूहन्‍नाले उहाँलाई बप्तिस्मा दिए। (मत्ती ३:१३-१५) येशूको बप्तिस्मा कुन कुराको प्रतीक थियो? येशू यहूदी हुनुभएकोले उहाँको जन्म परमेश्‍वरलाई समर्पित राष्ट्रमा भयो। उहाँ जन्मदेखि नै समर्पित हुनुहुन्थ्यो। (प्रस्थान १९:५, ६) तापनि बप्तिस्मा लिनुभएर पृथ्वीमा उहाँका लागि यहोवाको जे इच्छा थियो, सो पूरा गर्न उहाँले आफ्नो इच्छुकता प्रकट गर्नुभयो। (हिब्रू १०:५, ७) आफ्नो बप्तिस्माको यो अर्थलाई उहाँले पूरा पनि गर्नुभयो। उहाँले यहोवाको सेवामा अथक परिश्रम गर्नुभयो। उहाँ हर बखत मानिसहरूलाई परमेश्‍वरको ज्ञान दिने मौका खोज्नुहुन्थ्यो। परमेश्‍वरको इच्छा गर्नु नै उहाँको निम्ति आनन्द तथा भोजनसरह थियो।—यूहन्‍ना ४:३४.

६. येशूले आफूलाई कसरी इन्कर गर्नुभयो?

तर यहोवाको इच्छा पूरा गर्न उहाँको निम्ति अत्यन्त कठिन हुनेछ अथवा उहाँको ज्यानसमेत जानेछ भनी येशूले पूर्णतः बुझ्नुभएको थियो। तापनि येशूले आफूलाई नकार्नुभयो। उहाँले आफ्ना व्यक्‍तिगत आवश्‍यकताहरूलाई दोस्रो स्थान दिनुभयो। उहाँको जीवनमा सधैं परमेश्‍वरको इच्छाले प्रथम स्थान लिने गऱ्‍यो। अब हामी यस मामिलामा येशूको सिद्ध उदाहरण कसरी अनुकरण गर्नसक्छौं?

अनन्त जीवनतर्फ लैजाने कदमहरू

७. बप्तिस्मा लिने योग्यको हुन कुन कुन कदम चाल्नु आवश्‍यक छ?

हामी येशूजस्तो सिद्ध छैनौं। हामी असिद्ध छौं। यसकारण, बप्तिस्माको महत्त्वपूर्ण सँघारमा पुग्नअघि हामीले अन्य आवश्‍यक कदमहरू चाल्नुपर्छ। सर्वप्रथम हामीले यहोवा परमेश्‍वर र येशू ख्रीष्टको ज्ञान हृदयङ्‌गम गर्नुपर्छ। यसबाट हाम्रो विश्‍वास तथा परमेश्‍वरप्रति गहिरो प्रेम विकसित हुन्छ। (मत्ती २२:३७-४०; रोमी १०:१७; हिब्रू ११:६) परमेश्‍वरका नियम, सिद्धान्त र स्तर स्वीकारेपछि हामी पश्‍चात्ताप गर्न उत्प्रेरित हुनुपर्छ। बितेको समयमा गरिएका पापहरूका लागि हामीले ईश्‍वरीय खेद प्रकट गर्नुपर्छ। अनि हामी मन फिराउँछौं अर्थात्‌ परमेश्‍वरको ज्ञान नहुँदा अपनाइएको गलत मार्गलाई त्याग्छौं। (प्रेरित ३:१९) तर यसपछि पनि हामी धार्मिकताअनुसार हिंड्‌नुको सट्टा गुप्तमा कुनै पाप गरिरहन्छौं भने हामीले मन फिराएका हुनसक्‍तैनौं। नता हामीले परमेश्‍वरलाई नै झुक्याएको हुनेछौं किनकि यहोवाको नजरबाट कपट लुक्न सक्दैन।—लूका १२:२, ३.

८. राज्य प्रचार कार्यमा भाग लिन इच्छुक हुनहुन्छ भने तपाईंले के गर्नुपर्छ?

अब तपाईंले पनि केही समयदेखि परमेश्‍वरको ज्ञान लिंदै आउनुभएको छ। अतः आध्यात्मिक विषयहरूबारे अब तपाईंसित व्यक्‍तिगत तवरमा कुरा गर्नु अनुचित होइन। अहिलेसम्म सिक्दै आउनुभएका कुराहरू शायद तपाईं आफ्नो नातेदार, मित्र तथा अन्य अरू व्यक्‍तिहरूलाई बताउन इच्छुक हुनुहुन्छ। यसो गर्न शायद तपाईंले शुरू समेत गरी सक्नुभएको हुनसक्छ। येशूले पनि अरूहरूलाई अनौपचारिक तवरमा सुसमाचार सुनाउने गर्नुहुन्थ्यो। (लूका १०:३८, ३९; यूहन्‍ना ४:६-१५) तर अब शायद तपाईं अझ बढी गर्न इच्छुक हुनुहुन्छ। यहोवाका साक्षीहरूको नियमित प्रचार कार्यमा भाग लिने योग्यता तपाईंमा छ छैन, सो ठम्याउन मसीही प्राचीनहरू तपाईंसित कुरा गर्न खुशी हुनेछन्‌। तपाईंमा योग्यता छ भने, कुनै एक जना साक्षीसित तपाईंलाई प्रचार कार्यमा पठाउने प्रबन्ध उनीहरूले मिलाउने छन्‌। येशूका चेलाहरूले व्यवस्थित ढङ्‌गमा आफ्नो सेवकाई पूरा गर्न येशूको निर्देशन पालन गर्थे। (मर्कूस ६:७, ३०; लूका १०:१) तपाईंले पनि घर-घर गएर तथा अन्य अरू तरिकाले राज्य समाचार फैलाउँदा त्यस्तै मददकारी निर्देशनबाट लाभ उठाउनुहोस्‌।—प्रेरित २०:२०, २१.

९. परमेश्‍वरको सामु आफूलाई कसरी समर्पित गरिन्छ र सो समर्पणले जीवनमाथि के प्रभाव पार्छ?

मण्डलीलाई सुम्पेको क्षेत्रभरि हर किसिमका मानिसहरूकहाँ सुसमाचार सुनाउन जानु धार्मिक प्रवृत्ति भएका जनहरू फेला पार्ने एउटा तरिका हो। यो एउटा सुकर्म पनि हो जसबाट तपाईंले आफ्नो विश्‍वासको प्रमाण दिनुहुन्छ। (प्रेरित १०:३४, ३५; याकूब २:१७, १८, २६) मसीही सभाहरूमा नियमित रीतिले उपस्थित हुनु र प्रचार कार्यमा अर्थपूर्ण भाग लिनु अत्यावश्‍यक छ। यी गतिविधिहरूबाट तपाईंको प्रायश्‍चित, मन-परिवर्तन तथा परमेश्‍वरको ज्ञानअनुसार जीवन बिताउने अठोट प्रदर्शित हुन्छन्‌। अनि यसपछि? तपाईंले यहोवा परमेश्‍वरसमक्ष आफूलाई समर्पण गर्नुहोस्‌। उहाँसित आफ्नो हृदयको गहिराइबाट प्रार्थना गर्नुहोस्‌। स्वेच्छा तथा तनमनसाथ उहाँको इच्छा गर्न तपाईं आफ्नो जीवन अर्पण गर्दै हुनुहुन्छ भनेर उहाँलाई बताउनुहोस्‌। यही हो, यहोवासामु समर्पण गरेर येशू ख्रीष्टको सजिलो जुवा स्वीकार्ने तरिका।—मत्ती ११:२९, ३०.

बप्तिस्मा—यसले तपाईंको निम्ति के अर्थ राख्छ

१०. यहोवालाई आफ्नो जीवन समर्पण गरी सकेपछि बप्तिस्मा लिनु किन आवश्‍यक छ?

१० येशूको भनाइअनुसार, उहाँको चेला हुने सबैले नै बप्तिस्मा लिनुपर्छ। (मत्ती २८:१९, २०) तर परमेश्‍वरसामु आफूलाई समर्पण गरी सकेपछि पनि बप्तिस्मा लिनु किन आवश्‍यक छ? तपाईंले यहोवालाई जीवन समर्पण गरी सक्नुभएको हुनाले तपाईं उहाँलाई कति प्रेम गर्नुहुन्छ, त्यो उहाँलाई थाह भइसकेको हुन्छ। हो, तर यसबारे अब अरूहरूलाई पनि अवगत गराउन खाँचो छ। र यो काम अर्थात्‌ यहोवासित गरिएको समर्पणको आमघोषणा तपाईं बप्तिस्माद्वारा गर्न सक्नुहुन्छ।—रोमी १०:९, १०.

११. बप्तिस्माको अर्थ के हो?

११ बप्तिस्माको साँच्चै नै गहिरो प्रतीकात्मक अर्थ छ। तपाईं निमज्जन लिनु अथवा एकछिनका लागि “डुब्नु[को]” अर्थ आफ्नो पुरानो जीवनशैली त्याग्नु हो। पानीबाट बाहिर निस्कनुको अर्थ एउटा नयाँ जीवन शुरू गर्नु हो। यो नयाँ जीवन तपाईंको इच्छानुसार नभएर परमेश्‍वरको इच्छानुसार सञ्चालित हुनेछ। तर यसको मतलब तपाईंबाट फेरि कहिल्यै गल्ती हुनेछैन भनेको होइन। हामी सबै असिद्ध भएको हुनाले दिन दिनै पाप गर्छौं। तापनि तपाईं उप्रान्त यहोवाको समर्पित र बप्तिस्माप्राप्त सेवक हुनुहुनेछ। यहोवासित तपाईंको सम्बन्धले विशेष रूप धारण गर्नेछ। तपाईंले पश्‍चात्ताप तथा नम्रतापूर्वक बप्तिस्मा लिनुभएको हुनाकारण येशूको छुडौतीको बलिदानको आधारमा तपाईंका पापहरू क्षमा गर्न यहोवा इच्छुक हुनुहुनेछ। यसप्रकार, बप्तिस्माद्वारा परमेश्‍वरसमक्ष सफा अन्तस्करण हासिल गर्न सकिन्छ।—१ पत्रुस ३:२१.

१२. (क) ‘पिताको नाउँमा’ (ख) ‘पुत्रको नाउँमा’ (ग) “पवित्र अत्माको नाउँमा” बप्तिस्मा लिनुको अर्थ के हो?

१२ येशूले आफ्ना चेलाहरूलाई “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” अझ अरू नयाँ चेलाहरूलाई बप्तिस्मा दिन अह्राउनुभयो। (मत्ती २८:१९) येशूको भनाइको अर्थ के थियो? “पिताको नाउँमा” बप्तिस्मा लिने व्यक्‍तिले यहोवा परमेश्‍वरलाई सारा ब्रह्‍माण्डको सृष्टिकर्ता तथा आधिकारिक सर्वसत्ताधारी स्वीकार्छ। (भजन ३६:९; ८३:१८; उपदेशक १२:१) ‘पुत्रको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ चाहिं येशू ख्रीष्टलाई स्वीकार्नु हो। विशेषगरि उहाँले चढाउनुभएको छुडौतीको बलिदानलाई परमेश्‍वरबाट उपलब्ध मुक्‍तिको एक मात्र साधन मान्‍नु हो। (प्रेरित ४:१२) “पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनेले पवित्र आत्मा अथवा यहोवाको सक्रिय शक्‍तिलाई स्वीकार्छ। यसलाई उसले परमेश्‍वरको त्यो एक मात्र माध्यम मान्छ जसद्वारा परमेश्‍वरले आफ्ना उद्देश्‍यहरू कार्यान्वयन गर्नुहुन्छ। यही माध्यमद्वारा उहाँका सेवकहरूले आत्मा निर्देशित सङ्‌गठनसित मिलेर उहाँको धार्मिक इच्छा पूरा गर्ने शक्‍ति पाउँछन्‌।—उत्पत्ति १:२; भजन १०४:३०; यूहन्‍ना १४:२६; २ पत्रुस १:२१.

के तपाईं बप्तिस्माका लागि तयार हुनुहुन्छ?

१३, १४. यहोवा परमेश्‍वरको सेवा रोज्नदेखि हामी किन डराउनु हुँदैन?

१३ बप्तिस्माको साँच्चै नै गहिरो अर्थ छ। मानिसको जीवनमा यो सबैभन्दा महत्त्वपूर्ण मोड हो। तर यसले गर्दा के हामी बप्तिस्मा लिनदेखि डराउनुपर्छ? पटक्कै पर्दैन! तर बप्तिस्मालाई हल्का ठान्‍नु पनि हुँदैन। जीवनमा योभन्दा बढी बुद्धिमतापूर्ण फैसला अरू छँदै छैन।

१४ आफ्नो बप्तिस्माद्वारा तपाईंले यहोवा परमेश्‍वरको सेवा गर्ने निर्णय जाहेर गर्नुहुन्छ। तर तपाईंसित सम्बन्धित ती विभिन्‍न मानिसहरूबारे सोच्नुहोस्‌। के तिनीहरू सबैले कुनै न कुनै मालिकको सेवा गरेका छैनन्‌ र? कसैले धनको सेवा गर्छन्‌। (मत्ती ६:२४) कतिले भने आफ्नो पेशा अथवा आफ्नै स्वार्थको पिछा गर्छन्‌। आफ्नै अभिलाषाहरूको पूर्तिलाई तिनीहरूले जीवनमा प्राथमिकता दिएका छन्‌। अझ अरूले झूटा देवताहरूको उपासना गर्छन्‌। तर तपाईंले भने साँचो परमेश्‍वर यहोवाको सेवा रोज्नुभएको छ। उहाँले जत्तिको दया, अनुकम्पा र प्रेम अरू कसैले प्रकट गर्दैन। परमेश्‍वरले मानिसलाई मुक्‍तितर्फ लैजाने उद्देश्‍यपूर्ण काम सुम्पनुभएर उसलाई गरिमाले सुसज्जित गर्नुहुन्छ। उहाँले आफ्ना सेवकहरूलाई अनन्त जीवनको पुरस्कार दिनुहुन्छ। निस्सन्देह, येशूको उदाहरण अनुसरण गर्दै यहोवालाई आफ्नो जीवन समर्पण गर्नु कुनै डरको कुरा होइन। वास्तवमा, यो एक मात्र कदम हो जो सम्पूर्णतः मनासिब छ र जसबाट परमेश्‍वर पनि प्रसन्‍न हुनुहुन्छ।—१ राजा १८:२१.

१५. बप्तिस्मा लिनदेखि हामीलाई रोक्ने केही सामान्य बाधाहरू के हुन्‌?

१५ तर बप्तिस्मा अरूको करकापमा परेर लिने कुरा होइन। यो तपाईं र यहोवाबीचको व्यक्‍तिगत मामिला हो। (गलाती ६:४) आध्यात्मिक प्रगति गर्दै जानु हुँदा सम्भवतः तपाईंले “मलाई बप्तिस्मा हुनालाई केले रोक्छ र?” भन्‍ने प्रश्‍न सोध्नुभएको हुनसक्छ। (प्रेरित ८:३५, ३६) अथवा ‘के मलाई पारिवारिक विरोधले रोकिरहेछ?’ ‘मेरो अझ पनि कुनै गैरशास्त्रीय वा पापपूर्ण आनीबानी छ कि?’ ‘आफू समाजमा लोकप्रिय नहोला भनी के म डराउँछु?’ यी विषयहरूमाथि समय लगाएर विचार गर्नु बेस हुनेछ।

१६. यहोवाको सेवा गरेर तपाईं कसरी लाभान्वित हुनुहुनेछ?

१६ तर यहोवाको सेवाद्वारा प्राप्त फायदाहरूको उपेक्षा गर्दै उहाँको सेवामा उठाउनुपर्ने दुःखहरूको मात्र विचार गर्नु व्यवहारिक सोचाइ होइन। उदाहरणको लागि, पारिवारिक विरोधलाई नै विचार गरौं। येशूको पछि लाग्दा उहाँका चेलाहरूले आफ्ना नातेदारहरू गुमाउनु परे तापनि तिनीहरूलाई एउटा अझ विशाल परिवारले अपनाउनेछ भनी येशूले प्रतिज्ञा गर्नुभयो। (मर्कूस १०:२९, ३०) यस परिवारमा हुने विश्‍वासी सङ्‌गीहरूले तपाईंलाई भ्रातृस्नेह देखाउनेछन्‌, सतावटको सामना गर्ने मदद दिनेछन्‌ र जीवनको मार्गमा तपाईंलाई हर सहयोग पुऱ्‍याउनेछन्‌। (१ पत्रुस ५:९) विशेषतः मण्डलीका प्राचीनहरूले तपाईंलाई जीवनका समस्याहरूको सामना गर्ने तथा अन्य चुनौतीहरूको सफलतासाथ मुकाबिला गर्ने सहायता दिनेछन्‌। (याकूब ५:१४-१६) समाजमा अप्रिय हुने डरबारे चाहिं तपाईं नै विचार गर्नुहोस्‌: ‘सारा ब्रह्‍माण्डको सृष्टिकर्ताको अनुमोदन पाउनु र आफूले रोजेको जीवनशैलीद्वारा उहाँलाई प्रसन्‍न तुल्याउनुभन्दा अझ ठूलो कुरा अरू के हुनसक्छ?’—हितोपदेश २७:११.

आफ्नो समर्पण तथा बप्तिस्माअनुरूप जीवन बिताउनुहोस्‌

१७. तपाईंले बप्तिस्मालाई अन्त होइन प्रारम्भ ठान्‍नु किन उचित हो?

१७ बप्तिस्मा तपाईंको आध्यात्मिक प्रगतिको अन्त होइन, सो सम्झिराख्नु अत्यावश्‍यक छ। यो त परमेश्‍वरको नियुक्‍त सेवक तथा यहोवाको एक जना साक्षीले आजीवन गर्ने सेवाको आरम्भ मात्र हो। बप्तिस्मा अत्यन्त महत्त्वपूर्ण कदम भए तापनि यो मुक्‍ति पाउने ग्यारेन्टी चाहिं होइन। येशूले ‘बप्तिस्मा लिने सबै जनाले उद्धार पाउनेछन्‌’ भन्‍नुभएन। बरु “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ” भन्‍नुभयो। (मत्ती २४:१३) यसर्थ, तपाईंले प्रथमतः परमेश्‍वरको राज्यको खोजी गर्नु र त्यसैलाई जीवनमा प्राथमिकता दिन जरुरी छ।—मत्ती ६:२५-३४.

१८. बप्तिस्मापछि आफ्नोसामु कस्ता लक्ष्यहरू राख्नुपर्छ?

१८ अन्तसम्मै यहोवाको सेवामा स्थिर रहन तपाईंले आफ्नोलागि आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ। यस सन्दर्भमा एउटा उपयुक्‍त लक्ष्य हो, परमेश्‍वरको वचनको नियमित तथा व्यक्‍तिगत अध्ययनद्वारा उहाँबारे ज्ञान बढाउनु। दिनहुँ बाइबल पढ्‌ने योजना बनाउनुहोस्‌। (भजन १:१, २) मसीही सभाहरूमा नियमित तवरले उपस्थित हुनुहोस्‌। त्यहाँको सङ्‌गतिबाट आध्यात्मिक बल पाउनुहुनेछ। सभाहरूमा टिप्पणी दिने लक्ष्य किन बनाउनुहुन्‍न? यसबाट यहोवाको प्रशंसा हुन्छ र अरूहरू पनि प्रोत्साहित हुनेछन्‌। (रोमी १:११, १२) यस्तैगरि एउटा अर्को लक्ष्य आफ्ना प्रार्थनाहरूको गुणस्तर बढाउनु हो।—लूका ११:२-४.

१९. पवित्र आत्माले तपाईंलाई के कस्ता गुणहरू प्रदर्शित गर्न मदद दिन्छ?

१९ बप्तिस्माको अर्थअनुरूप जीवन बिताउन चाहनुहुन्छ भने तपाईंले आफ्नो गतिविधिमा निरन्तर ध्यान दिनुपर्छ। प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वास, नम्रता र संयमजस्ता गुणहरूलाई परमेश्‍वरको पवित्र आत्माको मददद्वारा आफूमा फस्टाउन दिनुहोस्‌। (गलाती ५:२२, २३; २ पत्रुस ३:११) कहिल्यै नबिर्सनुहोस्‌, पवित्र आत्माको निम्ति प्रार्थना गर्ने र परमेश्‍वरको विश्‍वासी सेवक भएर उहाँको आज्ञा पालन गर्ने सबैलाई यहोवाले आफ्नो पवित्र आत्मा दिनुहुन्छ। (लूका ११:१३; प्रेरित ५:३२) प्रार्थनामा परमेश्‍वरलाई उहाँको आत्मा माग्ने गर्नुहोस्‌। उहाँलाई प्रसन्‍न तुल्याउने गुणहरू प्रदर्शित गर्ने मददको निम्ति प्रार्थना गर्नुहोस्‌। अनि जसै तपाईंले आफूलाई परमेश्‍वरको आत्माबाट प्रभावित हुन दिनुहुन्छ, उपरोक्‍त गुणहरू तपाईंको बोली र आचरणमा झन्‌ झन्‌ स्पष्टसित झल्किनेछ। हुन त मसीही मण्डलीमा प्रत्येक व्यक्‍तिले “नयाँ चोला” धारण गर्दै ख्रीष्टजस्तो हुने उत्कट प्रयास गरिरहेको हुन्छ। (कलस्सी ३:९-१४) तर यसो गर्दा हरेकले बेग्लाबेग्लै चुनौतीको सामना गर्नुपर्छ। किनकि आध्यात्मिक प्रगतिको उकालीमा हामी सबै एउटै उचाइँमा पुगेका हुँदैनौं। असिद्ध हुनाकारण तपाईंले ख्रीष्टको जस्तो व्यक्‍तित्व हासिल गर्नु खुबै मेहनत गर्नुपर्नेछ। तर हार नमान्‍नुहोस्‌। परमेश्‍वरको मददद्वारा सफल हुन सम्भव छ।

२०. आफ्नो सेवकाईको दौडान कुन कुन ढङ्‌गमा येशूको अनुकरण गर्न सकिन्छ?

२० अन्य आध्यात्मिक लक्ष्यहरूबाहेक तपाईंले येशूको आनन्दमय उदाहरण अझ राम्ररी अनुकरण गर्ने लक्ष्य पनि राख्नुपर्छ। (हिब्रू १२:१-३) ईश्‍वरीय सेवकाईसित येशूको बडो लगाव थियो। तपाईंले पनि राज्य प्रचार गर्ने सुअवसर पाउनु भएमा यसलाई खोक्रो टन्टा कहिल्यै नठान्‍नुहोस्‌। अरूलाई परमेश्‍वरको राज्यबारे शिक्षा दिएर येशूले जस्तै सन्तोष अनुभव गर्ने कोशिश गर्नुहोस्‌। तपाईंलाई अझ उन्‍नत शिक्षक बनाउन मण्डलीले दिएको निर्देशनलाई प्रयोगमा ल्याउनुहोस्‌। तपाईंलाई आफ्नो सेवकाई पूरा गर्ने शक्‍ति यहोवाले दिनुहुनेछ भनी विश्‍वस्त रहनुहोस्‌।—१ कोरिन्थी ९:१९-२३.

२१. (क) यहोवाले बप्तिस्माप्राप्त विश्‍वासी व्यक्‍तिहरूको कदर गर्नुहुन्छ भनी हामी किन भन्‍नसक्छौं? (ख) परमेश्‍वरले यो दुष्ट रीतिरिवाजको न्याय गर्नुहुँदा हाम्रो बचाउका लागि बप्तिस्मा किन महत्त्वपूर्ण छ?

२१ येशूको अनुकरण गर्न खोज्ने समर्पित तथा बप्तिस्माप्राप्त व्यक्‍ति परमेश्‍वरको नजरमा अनमोल हुन्छ। यस्ता व्यक्‍तिहरू कति कम हुन्छन्‌, त्यो उहाँ जान्‍नुहुन्छ किनकि उहाँले अरबौं मानव हृदयहरूको जाँच गर्नुभएको छ। यसैकारण उहाँको दृष्टिमा ती समर्पित तथा बप्तिस्माप्राप्त मानिसहरू बहुमूल्य “धन-सम्पत्ति” सरह हुन्छन्‌। (हाग्गै २:७) चाँडै नै परमेश्‍वरले यो दुष्ट रीतिरिवाजको न्याय गर्नुहुँदा उक्‍त जनहरू बाँच्नेछन्‌। किनकि भविष्यवाणीअनुसार तिनीहरूले परमेश्‍वरको दृष्टिमा बचाउको चिन्ह पाएका छन्‌। (इजकिएल ९:१-६; मलाकी ३:१६, १८) के तपाईंमा “अनन्त जीवनप्रति सही मनोवृत्ति” छ? (प्रेरित १३:४८, न्युव) के तपाईं पनि बचाउको चिन्ह पाउन इच्छुक हुनुहुन्छ? समर्पण र बप्तिस्मा त्यस चिन्हका भाग हुन्‌। बचाउका लागि ती दुवै अत्यावश्‍यक छन्‌।

२२. “ठूलो भीड[ले]” के को प्रत्याशा गर्नसक्छन्‌?

२२ विश्‍वव्यापी जलप्रलयपछि नूह र उनको परिवारले जहाजबाट निस्केर, सफा पारिएको पृथ्वीमाथि पाइला टेके। यस्तैगरी आज पनि यो दुष्ट रीतिरिवाजको अन्त हुँदा, परमेश्‍वरको ज्ञान जीवनमा प्रयोग गर्ने तथा परमेश्‍वरको अनुमोदनप्राप्त मानिसहरूको “ठूलो भीड” समक्ष बाँच्ने आशा छ। तिनीहरूले सदाका लागि सफा पारिएको पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउनेछन्‌। (प्रकाश ७:९, १४) त्यो जीवन कस्तो हुनेछ?

आफ्नो ज्ञान जाँच्नुहोस्‌

तपाईंले यहोवाको ज्ञान कसरी प्रयोग गरेको उहाँ चाहनुहुन्छ?

बप्तिस्मातर्फ डोऱ्‍याउने केही कदमहरू के हुन्‌?

बप्तिस्मा अन्त नभएर शुरू किन हो?

हामी आफ्नो समर्पण र बप्तिस्माअनुरूप कसरी जीवन बिताउनसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १७२-मा भएको चित्र]

के तपाईंले आफ्नो जीवन परमेश्‍वरलाई प्रार्थनाद्वारा समर्पण गर्नुभएको छ ?

[पृष्ठ १७४-मा भएको चित्र]

तपाईंलाई बप्तिस्मा गर्नदेखि कुन कुराले रोकिरहेछ ?