सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो परमेश्‍वर को हुनुहुन्छ?

साँचो परमेश्‍वर को हुनुहुन्छ?

अध्याय ३

साँचो परमेश्‍वर को हुनुहुन्छ?

१. बाइबलका प्रारम्भिक शब्दहरूसित धेरै जना किन सहमत छन्‌?

 राती, खुला आकाशमा लाखौं ताराहरू झलमलाएको देखेर के तपाईंलाई उदेक लाग्दैन? ती कहाँबाट आए? ती रंगीन फूलहरू, सुमधुर गीत गाउने चराचुरुंगीहरू र समुद्रमा उफ्रने ह्वेल माछाहरूजस्ता पृथ्वीका अनगिन्ती जीवित प्राणीहरूबारे नि? ती संयोगले आएका हुनसक्दैनन्‌। त्यसैले त धेरै मानिसहरू बाइबलका यी प्रारम्भिक शब्दहरूसित सहमत छन्‌: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो!”—उत्पत्ति १:१.

२. बाइबलले परमेश्‍वरबारे के भन्छ र हामीलाई के गर्न प्रोत्साहित गर्छ?

परमेश्‍वरको विषयलाई लिएर मानिसजाति साह्रै नै विभाजित छ। कसै कसैको विचारमा परमेश्‍वर व्यक्‍तित्वहीन शक्‍ति मात्र हुनुहुन्छ। लाखौंले आफ्नै मृत पुर्खाहरूको उपासना गर्छन्‌। तिनीहरूको भनाइअनुसार परमेश्‍वरसित सम्पर्क राख्न सम्भव छैन किनकि उहाँ हामीबाट धेरै नै टाढा हुनुहुन्छ। तर सत्य परमेश्‍वर हामीमा व्यक्‍तिगत तथा मायालु चासो लिनुहुने साँच्चैको व्यक्‍ति हुनुहुन्छ भनी बाइबलले प्रकाश पार्दछ। “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न” भन्दै बाइबलले हामीलाई “परमेश्‍वरको खोजी” गर्न प्रोत्साहित गर्छ।—प्रेरित १७:२७.

३. परमेश्‍वरको कुनै प्रतिमा बनाउन किन असम्भव छ?

परमेश्‍वर हेर्नमा कस्तो हुनुहुन्छ? उहाँका केही सेवकहरूले उहाँको महिमावान्‌ उपस्थितिको दर्शन पाए। यी दर्शनहरूमा उहाँलाई सिंहासनमा विराजमान तथा भयावह ज्योतिमा ओतप्रोत व्यक्‍तिको रूपमा चित्रित गरिएको छ। तर यी दर्शन पाउनेहरूले कुनै खास अनुहार देखेको चर्चा गरेका छैनन्‌। (दानियल ७:९, १०: प्रकाश ४:२, ३) किनकि “परमेश्‍वर आत्मा हुनुहुन्छ”; उहाँको कुनै भौतिक शरीर छैन। (यूहन्‍ना ४:२४) वास्तवमा, हाम्रो सृष्टिकर्ताको कुनै भौतिक प्रतिमा बनाउन असम्भव छ किनकि “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (यूहन्‍ना १:१८; प्रस्थान ३३:२०) तापनि बाइबलले हामीलाई परमेश्‍वरबारे धेरै कुरा सिकाउँछ।

साँचो परमेश्‍वरको एउटा नाउँ छ

४. परमेश्‍वरलाई सम्बोधन गर्न बाइबलमा प्रयोग गरिएका केही अर्थपूर्ण अभिव्यक्‍तिहरू के हुन्‌?

बाइबलमा साँचो परमेश्‍वरलाई सम्बोधन गर्न “सर्वशक्‍तिमान परमेश्‍वर,” “सर्वोच्च,” “सृष्टिकर्ता,” “महान्‌ गुरु,” “सर्वसत्ताधारी प्रभु,” “अनन्त राजा” जस्ता अभिव्यक्‍तिहरू प्रयोग गरिएका छन्‌। (उत्पत्ति १७:१; भजन ५०:१४; उपदेशक १२:१; यशैया ३०:२०, न्युव; प्रेरित ४:२४, न्युव; १ तिमोथी १:१७) यी अभिव्यक्‍तिहरूमाथि मनन गर्दा परमेश्‍वरबारे आफ्नो ज्ञान बढाउनमा मदत मिल्नसक्छ।

५. परमेश्‍वरको नाउँ के हो र बाइबलमा त्यो कति पटक उल्लेख गरिएको छ?

तथापि, परमेश्‍वरको अद्वितीय नाउँ पनि छ। यो नाउँ हिब्रू शास्त्रमा करिब ७,००० पटक देखा पर्छ। माथि उल्लिखित कुनै पद पनि यतिका धेरै पटक प्रयोग भएको छैन। तर अन्धविश्‍वासको कारण आजभन्दा प्रायः १,९०० वर्षअघि यहूदीहरूले ईश्‍वरको यो नाउँ उच्चारण गर्न छाडे। बाइबलीय हिब्रू लेख्दा स्वरवर्ण संकेत गरिंदैन थियो। अतः मोशा, दाऊद अथवा प्राचीनकालीन अन्य व्यक्‍तिहरूले ईश्‍वरीय नाउँका ती चार व्यञ्जनवर्णहरूको (יהוה) उच्चारण कसरी गर्थे, सो ठीकसित ठम्याउन सकिंदैन। केही शास्त्रज्ञहरूअनुसार परमेश्‍वरको नाउँ “याहवे” भनेर उच्चारण गरिन्थ्यो तर यसबारे तिनीहरू निश्‍चित छैनन्‌। तथापि “जेहोभा” भनी अंग्रेजीमा उच्चारण गर्ने चलन शताब्दीयौंदेखि प्रचलित तथा विस्तृत रूपमा स्वीकृत पनि भएको छ।—प्रस्थान ६:३ र यशैया २६:४ किङ जेम्स भर्सन अनुवादमा हेर्नुहोस्‌।

परमेश्‍वरको नाउँको प्रयोग गर्नु किन आवश्‍यक छ

६. भजन ८३:१८ ले यहोवाबारे के भन्छ र हामीले उहाँको नाउँ किन प्रयोग गर्नुपर्छ?

परमेश्‍वरको अद्वितीय नाउँ यहोवाले उहाँलाई अरू सबै देवताहरूबाट अलग्ग छुट्याउँछ। यसैकारण त्यो नाउँ बाइबलमा विशेष गरी हिब्रू शास्त्रमा हजारौं पटक देखा पर्छ। थुप्रै अनुवादकहरूले ईश्‍वरको नाउँ प्रयोग नगरे तापनि भजन ८३:१८ मा स्पष्ट गरी यसो भनिएको छ: “तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” न्युव] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” अतः परमेश्‍वरबारे कुरा गर्दा हामीले उहाँको व्यक्‍तिगत नाउँको प्रयोग गर्नु उचित हो।

७. यहोवा नाउँको अर्थले हामीलाई परमेश्‍वरबारे के सिकाउँछ?

यहोवा नाउँ, “गराउनु” अर्थ भएको हिब्रू क्रियापदबाट लिइएको हो। यसर्थ परमेश्‍वरको नाउँको अर्थ हो “उहाँले गराउनुहुन्छ”। यसप्रकार यहोवा परमेश्‍वरले आफूलाई उद्देश्‍य पूरा गराउने महान्‌ व्यक्‍तिको हैसियतमा प्रकट गर्नुहुन्छ। उहाँले आफ्ना उद्देश्‍यहरूलाई सधैं नै वास्तविकतामा परिणत गराउनुहुन्छ। यो नाउँ साँचो परमेश्‍वरलाई मात्र धारण गर्न सुहाउँछ किनकि मानिसहरू आफ्ना योजनाहरूको सफलताबारे कहिल्यै निश्‍चित हुन सक्दैनन्‌। (याकूब ४:१३, १४) यहोवाले मात्र यसो भन्‍न सक्नुहुन्छ: “त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। . . . जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

८. मोशाद्वारा यहोवाले आफ्नो कुन उद्देश्‍य घोषणा गर्नुभयो?

ईश्‍वरीय नाउँको पूरा महत्त्व थाह नभए तापनि हिब्रू कुलपिताहरू अब्राहाम, इसहाक र याकूब प्रत्येकले “परमेश्‍वरको नाउँको पुकारा गरे।” (उत्पत्ति २१:३३; २६:२५; ३२:९; प्रस्थान ६:३) पछि यहोवाले उनीहरूको सन्तान इस्राएलीहरूलाई मिश्रको दासत्वबाट मुक्‍त गराएर “दूध र मह बहने देशमा” लैजाने आफ्नो उद्देश्‍य प्रकट गर्नुभयो। सुरुमा त यो असम्भव देखियो होला। (प्रस्थान ३:१७) तरैपनि परमेश्‍वरले आफ्नो नाउँको अनन्तकालीन महत्त्वमाथि जोड दिनुहुँदै अगमवक्‍ता मोशालाई यसो भन्‍नुभयो: “इस्राएलीहरूलाई भन, तिमीहरूका पिता-पुर्खाका परमप्रभु, [“यहोवा,” न्युव] परमेश्‍वर अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।”—प्रस्थान ३:१५.

९. फिरऊनले यहोवालाई कुन दृष्टिले हेर्ने गर्थ्यो?

उजाडस्थानमा यहोवाको उपासना गर्न इस्राएलीहरूलाई जान दिन भनी मोशाले मिश्रको राजा फिरऊनसित अनुरोध गरे। तर स्वयम्‌ आफूलाई देवता ठान्‍ने तथा अन्य मिश्री देवताहरूको उपासना गर्ने फिरऊनले जवाफमा यसो भने: “परमप्रभु [यहोवा] को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जानदिऊँ? परमप्रभुलाई [यहोवा] म चिन्दिनँ, औ इस्राएलीहरूलाई म जान पनि दिंदिन।”—प्रस्थान ५:१, २.

१०. यहोवाले इस्राएलीहरूसम्बन्धी आफ्नो उद्देश्‍य पूरा गर्न प्राचीन मिश्रमा के कारबाई गर्नुभयो?

१० यसपछि यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न एकपछि अर्को कदम चाल्नुभयो। उहाँले आफ्नो नाउँको अर्थबमोजिम काम सुरु गर्नुभयो। ती प्राचीन मिश्रीहरूमाथि उहाँले दश विपत्तिहरू ल्याउनुभयो। अन्तिम विपत्तिद्वारा अहंकारी फिरऊनको पुत्रलगायत जम्मै मिश्रीहरूका ज्येष्ठ सन्तान मारिए। तब भने इस्राएलीहरूलाई पठाउन मिश्रीहरू आतुर भए। तथापि केही मिश्रीहरू यहोवाको शक्‍ति देखेर अति नै प्रभावित भए। तिनीहरूले पनि इस्राएलीहरूसँगसँगै मिलेर मिश्र देश छाडे।—प्रस्थान १२:३५-३८.

११. यहोवाले लाल समुद्रमा के चमत्कार गर्नुभयो र उहाँका शत्रुहरू कुन कुरा स्वीकार्न बाध्य भए?

११ तर अटेर फिरऊन फौजका सयौं रथहरू लिएर आफ्ना दासहरूलाई बाटैमा फेरि कब्जा गर्न निस्के। मिश्रीहरू नजिक आइपुग्दा परमेश्‍वरले चमत्कारपूर्वक लाल समुद्रलाई दुई भाग पार्नुभयो। इस्राएलीहरू सुक्खा जमिनमा हिंड्‌दै पार तर्न सके। तर पिछा गर्नेहरूले समुद्रको पींधमा पाइला टेक्नासाथै यहोवाले “तिनीहरूका रथका पाङ्‌राहरू अड्‌काइ दिनुभयो औ तिनीहरूलाई ती चलाउन कठीन पऱ्‍यो।” मिश्री योद्धाहरू कराउँदै भन्‍न थाले: “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्‌दैहुनुहुन्छ।” तर तिनीहरूले भाग्ने मौका पाएनन्‌। पानीका ती विशाल पर्खालहरू गर्ल्यामगुर्लुम खसेर “रथहरू, घोडचढीहरू, अर्थात्‌ इस्राएलका पछिपछि आएका फिरऊनका जम्मै सेनालाई पनि छोप्यो र तिनीहरूमध्ये एउटै पनि बाँचेन।” (प्रस्थान १४:२२-२५, २८) यसप्रकार यहोवाले आफ्नोलागि ठूलो नाउँ खडा गर्नुभयो जसलाई आजसम्मै बिर्सन सकिएको छैन।—यहोशू २:९-११.

१२, १३. (क) परमेश्‍वरको नाउँले आज हाम्रोलागि के अर्थ राख्छ? (ख) मानिसहरूले के सिक्न अत्यावश्‍यक छ र किन?

१२ परमेश्‍वरले आफ्नोलागि खडा गर्नुभएको नाउँले आज हाम्रोनिम्ति ठूलो अर्थ राख्छ। उहाँको नाउँ यहोवा, उहाँले रच्नुभएको जम्मै उद्देश्‍य पूरा हुनेछ भन्‍ने ग्यारेन्टीको रूपमा खडा छ। हाम्रो पृथ्वीलाई प्रमोदवन बनाउने उहाँको प्रारम्भिक उद्देश्‍य पनि त्यसमा समाविष्ट छ। (उत्पत्ति १:२८; २:८) उहाँको सार्वभौमिकताका सबै वर्तमान विरोधीहरूलाई उहाँले नष्ट गर्नुहुनेछ। यसबारे उहाँ स्वयंले यसो भन्‍नुभएको छ: “तिनीहरूले मनै परमप्रभु [यहोवा] हुँ भनी जान्‍नेछन्‌।” (इजकिएल ३८:२३) त्यसपछि आफ्ना उपासकहरूलाई नयाँ धार्मिक संसारमा प्रवेश गराउने उहाँको प्रतिज्ञा पनि उक्‍त उद्देश्‍यमा सामेल छ।—२ पत्रुस ३:१३.

१३ परमेश्‍वरको अनुग्रह चाहने सबै जनाले विश्‍वाससहित उहाँको नाउँ पुकार्न सिक्नुपर्छ। बाइबलमा यो प्रतिज्ञा गरिएको छ: “प्रभुको [“यहोवा,” न्युव] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” (रोमी १०:१३) हो, यहोवाको नाउँ धेरै नै अर्थपूर्ण छ। यहोवालाई आफ्नो परमेश्‍वर र मुक्‍तिदाता मान्दै पुकार्नुभयो भने तपाईंलाई कहिल्यै अन्त नहुने आनन्द प्राप्त हुनेछ।

साँचो परमेश्‍वरका गुणहरू

१४. बाइबलमा परमेश्‍वरका कुन मूलभूत गुणहरू प्रकाश पारिएका छन्‌?

१४ इस्राएलीहरूले मिश्रबाट पाएको छुटकारा अध्ययन गर्दा परमेश्‍वरका चारवटा गुणहरू देख्न सकिन्छ। यी गुणहरू उहाँमा पूर्णतः सन्तुलित मात्रामा निहित छ। उहाँले फिरऊनसित गर्नुभएको व्यवहारबाट उहाँको भयानक शक्‍ति झल्किन्छ। (प्रस्थान ९:१६) परमेश्‍वरले जुन निपुणतासाथ त्यो जटिल समस्याको समाधान गर्नुभयो, त्यसबाट हामी उहाँको बेजोड बुद्धि देख्छौं। (रोमी ११:३३) अटेर विरोधीहरू र उहाँका मानिसहरूका शोषकहरूलाई सजाय दिनु भएर उहाँले आफ्नो न्याय प्रकट गर्नुभयो। (व्यवस्था ३२:४) यहोवाको मुख्य गुण प्रेम हो। अतः यहोवाले अब्राहामका सन्तानहरूसम्बन्धी आफ्नो प्रतिज्ञा पूरा गर्नु भएर ठूलो प्रेम प्रदर्शित गर्नुभयो। (व्यवस्था ७:८) उहाँले केही मिश्रीहरूलाई समेत झूटा देवताहरू त्याग्न र एक मात्र साँचो परमेश्‍वरको पक्षमा अडान लिएर लाभ उठाउने मौका दिनुभयो।

१५, १६. परमेश्‍वरले कुन कुन ढङ्‌गमा प्रेम प्रदर्शित गर्नुभएको छ?

१५ बाइबल पढ्‌दै जानु हुँदा तपाईंले परमेश्‍वरको मुख्य गुण प्रेम रहेछ भनी बुझ्नुहुनेछ। उहाँले यो गुण विभिन्‍न ढङ्‌गमा प्रकट गर्नुहुन्छ। उदाहरणको लागि, प्रेमले गर्दा नै उहाँ सृष्टिकर्ता हुनुभयो। उहाँले प्रथमतः आफैले सृजनु भएका आत्मिक व्यक्‍तिहरूलाई जीवनको आनन्दमा भाग लिने मौका दिनुभयो। ती अरबौं स्वर्गदूतहरूले परमेश्‍वरसित प्रेम र उहाँको जयजयकार गर्छन्‌। (अय्यूब ३८:४, ७; दानियल ७:१०) परमेश्‍वरले पृथ्वी सृजनुभयो र त्यसलाई मानिसहरू आनन्दपूर्वक बस्न सक्नेगरि सुसज्जित पार्नुभयो। यो पनि उहाँको प्रेमको महान्‌ प्रदर्शन हो।—उत्पत्ति १:१, २६-२८; भजन ११५:१६.

१६ परमेश्‍वरको प्रेमबाट हामी अनगिन्ती लाभ उठाउँछौं। एउटा त परमेश्‍वरले हाम्रो शरीरलाई बडो प्रेमसाथ अति नै अद्‌भुत रीतिले बनाउनुभएको छ। यसैले गर्दा आज हामी जीवनको आनन्द लिनसक्छौं। (भजन १३९:१४) उहाँले ‘स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिनु भएर भलाई गर्नुभएको छ’ तथा ‘हाम्रो हृदयलाई खुराक र आनन्दले भरिदिनुभएर’ प्रेम प्रदर्शित गर्नुभएको छ। (प्रेरित १४:१७) परमेश्‍वरले “दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइ दिनुहुन्छ र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) प्रेमले गर्दा नै हाम्रा सृष्टिकर्ताले हामीलाई उहाँको ज्ञान हासिल गर्न तथा उहाँका उपासकहरू भएर आनन्दपूर्वक उहाँको सेवा गर्ने मदत दिनुहुन्छ। साँच्चै नै, परमेश्‍वर “प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) तर उहाँको व्यक्‍तित्वका अझ अन्य पक्षहरू पनि छन्‌।

“टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर”

१७. प्रस्थान ३४:६, ७ बाट हामी परमेश्‍वरबारे के सिक्छौं?

१७ लाल समुद्र पार गरेपछि इस्राएलीहरूले परमेश्‍वरलाई अझ राम्ररी चिन्‍नु परेको थियो। मोशाले यो खाँचो महसुस गर्दै यसप्रकार प्रार्थना गरे: “बिन्ती छ, यदि तपाईंको निगाह ममाथि भएको छ भने अब मलाई तपाईंको मार्ग देखाउनुहोस्‌, र म तपाईंलाई चिन्‍नसकूँ र तपाईंको दृष्टिमा निगाह पाऊँ।” (प्रस्थान ३३:१३) स्वयं परमेश्‍वरले गर्नुभएको यो घोषणा सुनेपछि मोशाले परमेश्‍वरलाई अझ राम्ररी चिन्‍न सके: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध र पाप क्षमा गर्नु हुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनु हुने।” (प्रस्थान ३४:६, ७) परमेश्‍वरको प्रेम र न्याय दुवै सन्तुलित छन्‌। जानाजानी पाप गर्नेहरूलाई उहाँले तिनीहरूको गलत कार्यको परिणाम भोग्न दिनुहुन्छ।

१८. यहोवा कसरी दयावन्त साबित हुनुभएको छ?

१८ तर यहोवा दया देखाउनुहुन्छ भन्‍ने कुरा पनि मोशाले बुझ्न पाए। दयावन्त व्यक्‍ति पीडित मानिसहरू देखेर द्रवित हुन्छ। ऊ तिनीहरूको बोझ हल्का पार्न खोज्छ। यस्तैगरि परमेश्‍वरले पनि मानिसजातिप्रति अनुकम्पा व्यक्‍त गर्नुभएको छ। उहाँले मानिसलाई पीडा, रोग तथा मृत्युबाट सधैंका लागि मुक्‍त पार्ने प्रबन्ध मिलाउनुभएको छ। (प्रकाश २१:३-५) हुन त यस दुष्ट संसारका परिस्थितिहरूको कारण परमेश्‍वरका उपासकहरूले पनि संकष्टहरू भोग्नसक्छन्‌। आफ्नो कामकुरोमा बुद्धि नपुऱ्‍याउँदा तिनीहरूमाथि पनि आपत्‌-विपत्‌ आइ पर्नसक्छ। तर तिनीहरूले नम्रतापूर्वक यहोवासित मदत मागेमा उहाँले तिनीहरूलाई सान्त्वना र सहायता प्रदान गर्नुहुन्छ। किन? किनभने आफ्ना उपासकहरूप्रति उहाँ कोमल तथा विवेकशील हुनुहुन्छ।—भजन ८६:१५; १ पत्रुस ५:६, ७.

१९. परमेश्‍वर दयावन्त तथा कृपालु हुनुहुन्छ भनी हामी किन भन्‍नसक्छौं?

१९ अख्तियारप्राप्त थुप्रै व्यक्‍तिहरूले अरूसित कठोर व्यवहार गर्छन्‌। तर यसको ठीक विपरीत यहोवाचाहिं आफ्ना नम्र सेवकहरूप्रति दयालु हुनुहुन्छ! ब्रह्‍माण्डको सर्वोच्च अधिकारी हुनु भएर पनि उहाँले साधारणतः सारा मानिसजातिप्रति ठूलो दया देखाउनुहुन्छ। (भजन ८:३, ४; लूका ६:३५) यहोवा व्यक्‍ति विशेषप्रति पनि दयावन्त हुनुहुन्छ। तिनीहरूका खास बिन्तीहरू सुन्‍नुहुन्छ। (प्रस्थान २२:२६, २७; लूका १८:१३, १४) तथापि परमेश्‍वर कसैलाई पनि दया देखाउन बाध्य हुनुहुन्‍न। (प्रस्थान ३३:१९) यसकारण हामीले परमेश्‍वरको दया तथा अनुकम्पाको गहिरो मूल्यांकन गर्नु आवश्‍यक छ।—भजन १४५:१, ८.

रिस गर्नमा ढीलो, निष्पक्ष र धर्मी

२०. यहोवा रिस गर्नमा ढीलो र निष्पक्ष हुनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

२० यहोवा रिस गर्नमा ढीलो हुनुहुन्छ। तर यसको अर्थ उहाँले कुनै कारबाई गर्नुहुन्‍न भनेको होइन। किनकि उहाँले अटेर फिरऊन र उनको सारा सेनालाई लाल समुद्रमा नाश गर्नु भएर आवश्‍यक कारबाई गर्नुभयो। यहोवा निष्पक्ष पनि हुनुहुन्छ। यसैकारण उहाँको अनुग्रहप्राप्त इस्राएलीजातिले पनि बारम्बार गल्ती गरेपछि उहाँको अनुग्रह गुमाए। परमेश्‍वर सबै जातिका मानिसहरूलाई आफ्नो उपासकको रूपमा स्वीकार्न तयार हुनुहुन्छ। तर ती मानिसहरूले पनि उहाँको धार्मिक मार्ग अपनाउनुपर्छ।—प्रेरित १०:३४, ३५.

२१. (क) प्रकाश १५:२-४ ले हामीलाई परमेश्‍वरबारे के सिकाउँछ? (ख) परमेश्‍वरको नजरमा जे ठीक छ, सोही गर्न कसरी अझ सजिलो हुनसक्छ?

२१ प्रकाशको पुस्तकले परमेश्‍वरका “धार्मिक कार्यहरू” सिक्ने महत्त्वमाथि जोड दिन्छ। त्यसमा स्वर्गका सेनाहरूले यसो भन्दै गाएको उल्लेख गरिएको छ: “हे परमप्रभु, परमेश्‍वर सर्वशक्‍तिमान, तपाईंका काम ठूला र आश्‍चर्यपूर्ण छन्‌। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्‌। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरू तपाईंको सामने आएर दण्डवत्‌ गर्नेछन्‌। किनभने तपाईंको धार्मिक कार्यहरू प्रकट भएका छन्‌।” (प्रकाश १५:२-४) जुन कुरा यहोवाको नजरमा ठीक हुन्छ, हामी सोहीअनुसार हिंड्‌दा यहोवाप्रति स्वस्थकर भय तथा श्रद्धा दर्शाउँछौं। परमेश्‍वरको बुद्धि र प्रेमबारे आफूलाई सम्झाइरह्‍यौं भने उहाँको मार्गमा हिंड्‌न धेरै नै सजिलो हुनसक्छ। किनकि उहाँका सबै आदेशहरू हाम्रै भलाइका लागि हुन्‌।—यशैया ४८:१७, १८.

“परमप्रभु [यहोवा] हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ”

२२. बाइबल स्वीकार्नेहरूले त्रिएकको उपासना किन गर्दैनन्‌?

२२ प्राचीन मिश्रीहरूले थुप्रै देवताहरूको उपासना गर्थे। तर यहोवा “डाह गर्ने परमेश्‍वर” हुनुहुन्छ। (प्रस्थान २०:५) यहोवा “हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ” भनी इस्राएलीहरूलाई मोशाले सम्झना गराए। (व्यवस्था ६:४) यी नै शब्दहरूलाई पछि येशूले दोहऱ्‍याउनुभयो। (मर्कूस १२:२८, २९) तसर्थ, बाइबललाई परमेश्‍वरको वचन मान्‍नेहरूले त्रिएक अर्थात्‌ तीन जना व्यक्‍तिहरूले बनेको देवता पुज्दैनन्‌। वास्तवमा, बाइबलमा “त्रिएक” भन्‍ने शब्द नै छैन। साँचो परमेश्‍वर एकै जना व्यक्‍ति हुनुहुन्छ। उहाँ येशू ख्रीष्टभन्दा बेग्लै व्यक्‍ति हुनुहुन्छ। (यूहन्‍ना १४:२८; १ कोरिन्थी १५:२८) परमेश्‍वरको पवित्र आत्मा कुनै एउटा व्यक्‍ति होइन। त्यो त यहोवाको सक्रिय शक्‍ति हो जसलाई सर्वशक्‍तिमानले आफ्ना उद्देश्‍यहरू पूरा गर्दा प्रयोग गर्नुहुन्छ।—उत्पत्ति १:२; प्रेरित २:१-४, ३२, ३३; २ पत्रुस १:२०, २१.

२३. (क) परमेश्‍वरप्रति तपाईंको प्रेम कसरी बढ्‌नसक्छ? (ख) परमेश्‍वरलाई प्रेम गर्ने सम्बन्धमा येशूले के सिकाउनुभयो र ख्रीष्टबारे हामीले के सिक्न जरुरी छ?

२३ यहोवाको अद्‌भुत महानताबारे सोच्दा उहाँ साँच्चै नै तपाईंको उपासना पाउने योग्यको हुनुहुन्छ, होइन र? उहाँको वचन बाइबल अध्ययन गर्दै जानु हुँदा उहाँलाई अझ राम्ररी चिन्‍नुहुनेछ। तपाईंकै अनन्त भलाइ तथा आनन्दका लागि उहाँ तपाईंबाट के चाहनुहुन्छ, सो सिक्नुहुनेछ। (मत्ती ५:३, ६) साथै, परमेश्‍वरका लागि तपाईंको प्रेम बढ्‌नेछ। यस्तो हुनु उचित पनि हो किनभने येशूले यसो भन्‍नुभएको थियो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर।” (मर्कूस १२:३०) निस्सन्देह, येशूले पनि परमेश्‍वरसित यस्तैप्रकारको प्रेम गर्नुहुन्थ्यो। तर बाइबलले येशू ख्रीष्टबारे के भन्छ? यहोवाको उद्देश्‍यमा येशूको भूमिका के हो?

आफ्नो ज्ञान जाँच्नुहोस्‌

परमेश्‍वरको नाउँ के हो र त्यसलाई बाइबलमा कति पटक प्रयोग गरिएको छ?

तपाईंले परमेश्‍वरको नाउँ लिनु किन उचित हो?

यहोवा परमेश्‍वरका कुन चाहिं गुणहरू तपाईंलाई खास मन परेको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको चित्र]

यावत्‌ थोकका सृजनहारलाई तपाईं कतिको राम्ररी चिन्‍नुहुन्छ?