सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी किन बूढो हुन्छौं र मर्छौं?

हामी किन बूढो हुन्छौं र मर्छौं?

अध्याय ६

हामी किन बूढो हुन्छौं र मर्छौं?

१. वैज्ञानिकहरूले मानव जीवनबारे कुन कुराको व्याख्या गर्नसकेका छैनन्‌?

 मानिसहरू किन बूढो हुन्छन्‌ र मर्छन्‌, वैज्ञानिकहरू जान्दैनन्‌। हेर्दा त हाम्रा कोषहरू निरन्तर नवीकृत हुँदै हामी सधैं बाँचिरहनुपर्ने हो। ह्‍योजिन सोशिकेगाकुल (स्टेन्डर्ड हिस्टोलोजी) नाउँ भएको पुस्तक भन्छ: “कोषहरू पुरानो हुनु र मानिस बूढो भएर मर्नु, यी दुवै बीचको सम्बन्ध एउटा ठूलो रहस्य हो।” अधिकांश वैज्ञानिकहरूअनुसार जीवन “स्वभावतः सीमित छ।” के तिनीहरूको यो विचार ठीक हो?

२. जीवनको क्षणभङ्‌गुरता देखेर कसै कसैले के पनि गरेका छन्‌?

मान्छेले सधैं नै चिरायु हुने कामना गर्दै आएको छ। उसले अमरता प्राप्त गर्ने प्रयास गरेको छ। सा.यु.पू. चौथो शताब्दीदेखि चिनियाँ सामन्तीहरूको ध्यान मानिसलाई अमरता प्रदान गर्नसक्छ भनी ठान्‍ने औषधिहरूतर्फ जान थाल्यो। यी तथाकथित महौषधिहरू पारोले बनेका हुन्थे। ती सेवन गरेपछि केही चिनियाँ सम्राटहरू पारोको विष लागेर मरे। तर पृथ्वीभरि केही यस्ता मानिसहरू पनि छन्‌ जसको विचारमा मृत्यु तिनीहरूको अस्तित्वको अन्त होइन। बौद्ध, हिन्दू तथा मुसलमान धर्मावलम्बीहरूले मृत्युपश्‍चात्‌ पाउने जीवनको ठूलो आशा राखेका छन्‌। मसीहीजगतका धेरै जनाले चाहिं स्वर्गमा परमानन्द प्राप्त गर्ने परिकल्पना गर्छन्‌।

३. (क) मानिसहरू अनन्त जीवनको अभिलाषा किन गर्छन्‌? (ख) मृत्युबारे कुन प्रश्‍नहरूको जवाफ पाउनु जरुरी छ?

मृत्युपश्‍चात्‌ आनन्द अनुभव गर्ने यी परिकल्पनामा अनन्त जीवनको तृष्णा झल्किन्छ। परमेश्‍वरले हामीमा राखी दिनुभएको अनन्तकालको चेतनाबारे बाइबल यसो भन्छ: “उहाँले मानिसलाई अनन्तकालको चेतना दिनुभएको छ।” (उपदेशक ३:११, न्युव) उहाँले प्रथम मानव दम्पतीलाई पृथ्वीमा सधैंभरि बाँच्नका लागि बनाउनुभएको थियो। (उत्पत्ति २:१६, १७) तर त्यसो हो भने, मानिस मर्छन्‌ किन? संसारमा मृत्युको आरम्भ कसरी भयो? यी प्रश्‍नहरूमाथि परमेश्‍वरको ज्ञानले ज्योति दिन्छ।—भजन ११९:१०५.

एउटा दुष्ट षड्यन्त्र

४. मानव मृत्युका लागि जिम्मेवार अपराधीलाई येशूले कसरी औंल्याउनुभयो?

अपराधीले जहिले पनि आफूलाई दोषी ठहराउने सबै प्रमाण मेटाउने प्रयास गर्छ। यस्तै कुरा त्यो व्यक्‍तिले पनि गरेको छ जसको अपराधको कारण अरबौं मानिसहरू मरे। उसले मानव मृत्युलाई सकेसम्म रहस्यमय बनाउने जालो बुनेको छ। यसै अपराधीलाई औंल्याउँदै येशू ख्रीष्टले आफ्नो हत्या गर्न खोज्नेहरूलाई भन्‍नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्ना पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो, र सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन।”—यूहन्‍ना ८:३१, ४०, ४४.

५. (क) पछिबाट शैतान अर्थात्‌ दियाबल हुने व्यक्‍ति शुरूमा को थियो? (ख) “शैतान” र “दियाबल” भन्‍ने शब्दहरूको अर्थ के हो?

हो, दियाबल एउटा दुच्छर “हत्यारा” हो। एक जना व्यक्‍तिको हृदयमा हुने ऊ कुनै खराब भावना होइन। बरु ऊ एउटा साँच्चैको व्यक्‍ति हो। (मत्ती ४:१-११) बाइबल भन्छ, ऊ धर्मी स्वर्गदूतको रूपमा सृजिएको थियो। तर ऊ “सत्यमा ठहरेन।” यसैकारण उसलाई दियाबल तथा शैतान भन्‍नु सुहाउँछ! (प्रकाश १२:९) परमेश्‍वरको विरोध तथा विद्रोह गरेको हुनाले उसलाई “शैतान” अथवा “विरोधी” भनिन्छ। तर उसले परमेश्‍वरको निन्दा तथा गलत प्रतिनिधित्व गरेको हुनाकारण उसको नाउँ “दियाबल” अर्थात्‌ “निन्दक” पनि हो।

६. शैतानले परमेश्‍वरको विद्रोह किन गऱ्‍यो?

शैतानले परमेश्‍वरको विरोध किन गऱ्‍यो? लोभले गर्दा। यहोवाले मानिसहरूबाट पाउनुहुने उपासनाको उसले लोभ गऱ्‍यो। सृष्टिकर्ताको मात्र हक लाग्ने उपासनाको ऊ लालची भयो। (इजकिएल २८:१२-१९ तुलना गर्नुहोस्‌।) पछि गएर शैतान हुने यो स्वर्गदूतले त्यो लोभलाई बढ्‌न दियो। यही लोभ बढ्‌दै गएर अन्ततः पापलाई जन्म दियो।—याकूब १:१४, १५.

७. (क) मानव मृत्युको कारण के हो? (ख) पाप के हो?

यहाँसम्म त हामीले त्यो बदमाशलाई ठम्याएका छौं जसको अपराधले गर्दा मानिसहरू मर्दै आएका छन्‌। तर मानव मृत्युको खास कारण के हो? बाइबल भन्छ: “मृत्युको खील पाप हो।” (१ कोरिन्थी १५:५६) र पाप के हो? यो शब्दलाई बुझ्न हामी बाइबलका मूल भाषाहरूमा यसको अर्थ के थियो, सो विचार गरौं। “पाप गर्नु” भनी साधारणतः अनुवाद गरिएका हिब्रू र युनानी क्रियापदहरूको अर्थ कुनै लक्ष्यबाट “चुक्नु” अर्थात्‌ त्यसलाई प्राप्त गर्न नसक्नु हो। तर हामी सबैबाट कुन लक्ष्य चुकिरहेको छ? परमेश्‍वरप्रति सम्पूर्णतः आज्ञाकारी हुने लक्ष्य। तथापि, संसारमा पाप आयो कसरी?

षड्यन्त्र कसरी सफल भयो

८. शैतानले मानिसहरूको उपासना कसरी हडप्न खोज्यो?

बडो चलाकीसाथ शैतानले अन्ततः सबै मानिसहरूमाथि शासन गर्ने तथा तिनीहरूको उपासना पाउने षड्यन्त्र रच्यो। उसले प्रथम मानव दम्पती, आदम तथा हव्वालाई परमेश्‍वरको विरुद्ध पाप गर्न उस्काउने निर्णय गऱ्‍यो। यहोवाले हाम्रा प्रथम आमा-बाबुलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान दिनुभएको थियो। आफ्नो सृष्टिकर्ताको भलाइबारे तिनीहरू अज्ञान थिएनन्‌। उहाँले तिनीहरूलाई बस्नका लागि अदनको सुन्दर बगैंचा दिनुभएको थियो। परमेश्‍वरबाट एउटी सुन्दर तथा मददकारी पत्नी पाउँदा आदमले आफ्नो स्वर्गमा हुनुहुने पिताको भलाइ महसुस गर्ने खास मौका पाएका थिए। (उत्पत्ति १:२६, २९; २:७-९, १८-२३) यो प्रथम मानव दम्पतीको जीवन परमेश्‍वरको आज्ञा पालन गर्नुमा नै निर्भर थियो।

९. परमेश्‍वरले प्रथम मानव दम्पतीलाई के आज्ञा दिनुभयो र यो आज्ञा किन मनासिब थियो?

परमेश्‍वरले आदमलाई यो आज्ञा दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌, त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) यहोवा परमेश्‍वर सृष्टिकर्ता हुनुभएकोले आफ्ना सारा सृष्टिका लागि नैतिकस्तरहरू निर्धारण गर्ने तथा के असल के खराब हो, सो निर्णय गर्ने उहाँको अधिकार थियो। उहाँले आदम र हव्वालाई दिनुभएको आज्ञा पनि सरासर मनासिब थियो। तिनीहरूले चाहेमा बगैंचाका बाँकी सबै रूखबाट खान सक्थे। हठपूर्वक आफ्नै नैतिकस्तरहरू कायम गर्नुको सट्टा तिनीहरूले यो आज्ञा पालन गर्दै यहोवाको वैध शासनप्रति आफ्नो मूल्याङ्‌कन व्यक्‍त गर्न सक्थे।

१०. (क) शैतानले प्रथम मानव दम्पतीलाई आफ्नो पक्षमा तान्‍न के गऱ्‍यो? (ख) शैतानले यहोवाको नियतमाथि के शङ्‌का उत्पन्‍न गऱ्‍यो? (ग) शैतानले परमेश्‍वरमाथि गरेको आक्रमणबारे तपाईंको के विचार छ?

१० तर दियाबलले प्रथम मानव दम्पतीलाई परमेश्‍वरबाट टाढा लैजाने चाल चल्यो। तिनीहरूलाई फकाइ फुस्लाइ आफ्नो हातमा पार्न शैतानले झूट बोल्यो। चटकबाजले पुतलीको प्रयोग गरेझैं दियाबलले पनि सर्पको प्रयोग गर्दै हव्वालाई यो प्रश्‍न सोध्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” हव्वाले परमेश्‍वरको आज्ञा बताएपछि शैतानले किटेर भन्यो: “तिमीहरू कदापि मर्दैनौ।” यसपछि उसले यहोवाको नियतलाई नै शङ्‌कास्पद तुल्याउँदै यसो भन्यो: “परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” (उत्पत्ति ३:१-५) शैतानको भनाइअनुसार परमेश्‍वरले मानिसलाई राम्रो कुराबाट वञ्चित गराउनुहुँदै थियो। स्वर्गमा हुनुहुने सत्यवादी र प्रेमपूर्ण पिताको कत्ति ठूलो बदनाम!

११. आदम र हव्वा शैतानका सहअपराधी कसरी भए?

११ हव्वाले फेरि रूखलाई हेरिन्‌। त्यसको फल हेर्नमा निकै रहरलाग्दो हुन थाल्यो। तिनले त्यसको फल टिपेर खाइन्‌। परमेश्‍वरको अवज्ञा गर्ने यस पापपूर्ण कार्यमा तिनलाई पछिबाट तिनको पतिले जानाजानी साथ दियो। (उत्पत्ति ३:६) हुन त त्यहाँ हव्वा मात्र ठगाइमा परिन्‌। तर सारा मानवजातिमाथि शासन गर्ने शैतानको षड्यन्त्रलाई समर्थन चाहिं आदम र हव्वा दुवैले गरे। तिनीहरू वास्तवमा शैतानका सहअपराधी भए।—रोमी ६:१६; १ तिमोथी २:१४.

१२. परमेश्‍वरको विरुद्ध मानव परिवारले गरेको विद्रोहको परिणाम के भयो?

१२ आदम र हव्वाले आफ्नो कामको परिणाम भोग्नुपऱ्‍यो। तिनीहरू परमेश्‍वरजस्तै भएनन्‌ नता तिनीहरूले विशेष ज्ञान नै हासिल गर्न सके। बरु तिनीहरू लज्जित भएर लुके। यहोवाले आदमलाई जवाफदेही ठान्‍नुहुँदै यो दण्ड घोषित गर्नुभयो: “औ माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) “जुन दिन” हाम्रा प्रथम आमा-बाबुले असल र खराबको ज्ञानको रूखबाट खाए, त्यसै दिन परमेश्‍वरले तिनीहरूलाई दण्डाज्ञा सुनाउनुभयो र उहाँको नजरमा त्यही दिन तिनीहरू मरे। यसपछि तिनीहरू प्रमोदवनबाट हटाइए र शारीरिक तवरमा पनि मर्न थाले।

पाप र मृत्यु कसरी फैलियो

१३. सारा मानव परिवारभरि पाप कसरी फैलियो?

१३ मानिसहरूबाट पूजनीय श्रद्धा पाउने शैतानको षड्यन्त्र सफल भएजस्तै देखियो। तर उसले आफ्ना उपासकहरूलाई जिउँदो चाहिं राख्न सकेन। प्रथम मानव दम्पतीमा पाप क्रियाशील हुन थालेपछि तिनीहरूले सिद्ध सन्तान जन्माउन सकेनन्‌। ढुङ्‌गामाथि खोपेको अक्षरजस्तै हाम्रा प्रथम आमा-बाबुका कोषहरूमा पापको गहिरो छाप बस्यो। तिनीहरूले असिद्ध सन्तान मात्र जन्माउन सके। आदम र हव्वाले पाप गरेपछि मात्र तिनीहरूको सन्तान जन्मेको हुनाकारण तिनीहरूका सन्तानले वंशानुगत पाप र मृत्यु मात्र पाउन सके।—भजन ५१:५; रोमी ५:१२.

१४. (क) आफ्नो पाप स्वीकार नगर्ने मानिसहरूलाई हामी कोसित तुलना गर्नसक्छौं? (ख) इस्राएलीहरूलाई तिनीहरूको पापको चेतना कसरी गराइयो?

१४ तथापि आज धेरैले आफूलाई पापी ठान्दैनन्‌। संसारका केही भागहरूमा त साधारणतः पापको चेतनासमेत छैन। तर यस्तो हुँदैमा पाप नाउँको कुनै चीजै छैन भन्‍नु मिल्दैन। किनकि फोहोर अनुहार भएको केटोले पनि आफूलाई सफै ठान्ला। तर ऐनामा हेरेपछि चाहिं उसले आफ्नो विचार बदल्नसक्छ। यस्तैगरि, प्राचीन इस्राएलीहरू पनि परमेश्‍वरको अगमवक्‍ता मोशाद्वारा ईश्‍वरीय व्यवस्था थाप्ने बेलामा त्यो फोहोर अनुहार भएको केटोजस्तै थिए। तर व्यवस्था पाएपछि तिनीहरू पापको अस्तित्वबारे स्पष्ट भए। यसको व्याख्या गर्दै प्रेरित पावलले भने: “व्यवस्था नभएदेखि म पाप थाह पाउने थिइनँ।” (रोमी ७:७-१२) त्यो केटोले ऐनामा हेरेजस्तै इस्राएलीहरूले पनि व्यवस्थाद्वारा आफूलाई हेर्न सके। तिनीहरू यहोवाको नजरमा कति अशुद्ध छन्‌, सो थाह पाउन सके।

१५. परमेश्‍वरको वचनको ऐनामा हेर्दा के प्रकट हुन्छ?

१५ परमेश्‍वरको वचनको ऐनामा हेर्दै त्यहाँ उल्लिखित स्तरहरूमाथि मनन गऱ्‍यौं भने हामीले आफ्नो असिद्धता देख्नेछौं। (याकूब १:२३-२५) उदाहरणको लागि, मत्ती २२:३७-४० मा येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई परमेश्‍वर तथा छिमेकीसित प्रेम गर्ने विषयमा के भन्‍नुभयो, सो विचार गर्नुहोस्‌। यस सम्बन्धमा मानिसहरू धेरै पटक चुक्छन्‌! तर कतिपय मानिसहरूले चाहिं परमेश्‍वर तथा छिमेकीहरूप्रति प्रेम नदेखाउँदा पनि आत्मामा ग्लानी महसुस गर्दैनन्‌।—लूका १०:२९-३७.

शैतानका धूर्त चालहरूदेखि होशियार !

१६. शैतानका धूर्त जालोहरूको शिकार नहुन हामीले के गर्नुपर्छ र सो गर्नु किन गाह्रो छ?

१६ शैतान हामीलाई जानाजानी पापमा फसाउन खोज्छ। (१ यूहन्‍ना ३:८) उसका यी पासोहरूको शिकार नहुने के कुनै उपाय छ? छ। जानाजानी पाप गर्ने झुकावको विरुद्धमा जोडदार सङ्‌घर्ष गर्नुपर्छ। तर यसो गर्नु सजिलो हुँदैन। पाप गर्ने हाम्रो आन्तरिक झुकाव अत्यन्त बलियो छ। (एफिसी २:३) पावलले पनि ठूलो सङ्‌घर्ष गर्नुपऱ्‍यो। किन? किनभने उनमा पाप थियो। हामी पनि परमेश्‍वरको अनुमोदन चाहन्छौं भने आफूमा भएका पापी झुकावहरूसित सङ्‌घर्ष गर्नै पर्छ।—रोमी ७:१४-२४; २ कोरिन्थी ५:१०.

१७. कुन कारणले गर्दा हाम्रा पापी झुकावहरूसित संघर्ष गर्न अझ गाह्रो हुन्छ?

१७ तर पापसित लडाइँ गर्नु त्यति सजिलो छैन। हामीलाई फकाइ फुस्लाइ परमेश्‍वरका नियमहरू तोड्‌न लाउने मौका शैतानले बारम्बार खोजी रहन्छ। (१ पत्रुस ५:८) सह-मसीहीहरूका लागि चिन्ता व्यक्‍त गर्दै पावलले भने: “तर जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापन र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान्‌ कि भन्‍ने मलाई डर लागेको छ।” (२ कोरिन्थी ११:३) आज पनि शैतानले यस्तै चाल चल्छ। उसले यहोवाको भलाइ र परमेश्‍वरका नियमहरू मान्दा अनुभव गर्न सकिने लाभबारे हाम्रो हृदयमा शङ्‌का, उपशङ्‌काको बीउ छर्न खोज्छ। दियाबलले हाम्रो असिद्ध तथा पापी झुकावहरूको नाजायज फायदा उठाउने कोशिश गर्छ। त्यसले हामीलाई घमण्ड, लोभ, घृणा र पूर्वाग्रहको मार्गमा चल्न लगाउने प्रयास गर्छ।

१८. पापलाई बढावा दिन शैतानले संसारको प्रयोग कसरी गर्छ?

१८ दियाबलले हाम्रो विरुद्ध प्रयोग गर्ने एउटा हतियार त्यसैको वशमा रहेको यो संसार हो। (१ यूहन्‍ना ५:१९) संसारका भ्रष्ट तथा बेइमान मानिसहरूले परमेश्‍वरका नैतिकस्तरहरू उल्लङ्‌घन गर्ने पापी जीवनपद्धतिको साँचोमा हामीलाई पनि ढाली दिनसक्छन्‌। (१ पत्रुस ४:३-५) धेरैले परमेश्‍वरका नियमहरूको वास्तै गर्दैनन्‌। तिनीहरूले आफ्नो अन्तस्करणको आवाजलाई दबाउँछन्‌ तथा बन्द नै गरिदिएका छन्‌। (रोमी २:१४, १५; १ तिमोथी ४:१, २) कसै कसैले चाहिं बिस्तारै एउटा यस्तो जीवनपद्धति अपनाउँछन्‌ जो केही समयअघि तिनीहरूकै असिद्ध अन्तस्करणलाई पनि स्वीकार्य थिएन।—रोमी १:२४-३२; एफिसी ४:१७-१९.

१९. नैतिक जीवन बिताएर मात्र किन पुग्दैन?

१९ नैतिक जीवन बिताउन सक्नु यो संसारमा ठूलो उपलब्धि हो। तर सृष्टिकर्तालाई प्रसन्‍न तुल्याउन यतिले मात्र पुग्दैन। हामीले परमेश्‍वरमाथि विश्‍वास गर्नुपर्छ र उहाँसामु आफूलाई जवाफदेही सम्झनुपर्छ। (हिब्रू ११:६) “जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ।” (याकूब ४:१७) हो, परमेश्‍वर र उहाँका नियमहरूको जानाजानी बेवास्ता गर्नु एक प्रकारको पाप हो।

२०. सही काम गर्नदेखि तपाईंलाई रोक्न शैतानले के प्रयास गर्नसक्छ तर यी दबाबहरूको सामना गर्ने मदद तपाईंले कसरी पाउन सक्नुहुन्छ?

२० बाइबल अध्ययनद्वारा परमेश्‍वरको ज्ञान लिने प्रयास गर्नुहुँदा शैतानले तपाईंको कडा विरोध गर्नसक्छ। तर यस्ता दबाउहरूको कारण तपाईं असल काम गर्नदेखि पछि नहट्‌नुहोस्‌। (यूहन्‍ना १६:२) येशूको सेवकाई दौडान थुप्रै शासकहरूले उहाँमाथि विश्‍वास गर्न त गरे। तर तिनीहरूलाई आफ्नो समाजबाट बहिष्कृत हुने डर थियो। अतः तिनीहरूले आफ्नो विश्‍वास खुलेआम व्यक्‍त गरेनन्‌। (यूहन्‍ना १२:४२, ४३) यस्तैप्रकार, शैतानले आज पनि परमेश्‍वरको ज्ञानको खोजी गर्ने हरेकलाई क्रूरतापूर्वक धम्काउन खोज्छ। तथापि, यहोवाका अद्‌भुत कार्यहरूलाई सधैं सम्झनुहोस्‌, तिनीहरूको कदर गर्नुहोस्‌। तपाईंले समयमा विरोधीहरूलाई पनि यस्तै कदर व्यक्‍त गर्ने मदद दिन सक्नुहुन्छ।

२१. संसार र आफ्ना पापी झुकावहरूमाथि हामी कसरी विजयी हुनसक्छौं?

२१ हामी असिद्ध होऊञ्जेल पाप गर्नेछौं। (१ यूहन्‍ना १:८) तर यो सङ्‌घर्षमा हामीलाई मदद उपलब्ध छ। हो, त्यो दुष्ट जन दियाबल अर्थात्‌ शैतानसितको युद्धमा हामी विजयी हुनसक्छौं। (रोमी ५:२१) आफ्नो पार्थिव सेवकाईको अन्तमा येशूले उहाँक  अनुयायीहरूलाई यी शब्दहरूद्वारा प्रोत्साहित गर्नुभयो: “संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर ढाडस गर, मैले संसारलाई जितेको छु।” (यूहन्‍ना १६:३३) असिद्ध मानिसहरू पनि परमेश्‍वरको मददद्वारा यो संसारमाथि विजयी हुनसक्छन्‌। शैतानको विरोध गर्ने र ‘परमेश्‍वरको अधीनमा बस्ने’ मानिसहरूलाई शैतानले आफ्नो कब्जामा राख्न सक्दैन। (याकूब ४:७; १ यूहन्‍ना ५:१८) परमेश्‍वरले पाप र मृत्युको बन्धनबाट हामीलाई मुक्‍त गराउने एउटा बाटो खोलि दिनुभएको छ र त्यो अब हामी देख्नेछौं।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

शैतान अर्थात्‌ दियाबल को हो?

मानिसहरू किन बूढो हुन्छन्‌ र मर्छन्‌?

पाप के हो?

शैतानले मानिसहरूलाई परमेश्‍वरको विरुद्धमा जानाजानी पाप गर्न कसरी उस्काउँछ?

[अध्ययनका लागि प्रश्‍नहरू ]

[पृष्ठ ५४-मा भएको पृष्ठभरिको चित्र]