सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?

हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?

अध्याय ९

हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?

१. आफ्नो प्रियजनको मृत्यु हुँदा मानिसलाई कस्तो लाग्छ?

 “आफ्नो प्रियजन मर्दा तथा उनी त्यो अथाह शून्यमा लोप हुँदा बडो दुःख लाग्छ।” यो विचार एउटा छोराले आफ्नो बुबा र त्यसको केही समयपछि आफ्नी आमाको मृत्युपश्‍चात्‌ व्यक्‍त गरे। गहिरो चोट र क्षतिको बोझले उनका भावनाहरू मानौं निस्सासिन थालेका थिए। यस्तो दुःख शायद तपाईंले पनि अनुभव गर्नुभएको हुनसक्छ। तपाईंका प्रियजनहरू अब कहाँ छन्‌? उनीहरूलाई फेरि देख्न पाइन्छ कि पाइँदैन? यसबारे तपाईंले पनि सोच्नुभएको हुनसक्छ।

२. मृत्युबारे अन्योलमा पार्ने के कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

“परमेश्‍वरले सर्वसुन्दर फूलहरू टिपेर आफूकहाँ स्वर्ग लैजानुहुन्छ।” यसो भन्‍ने सान्त्वना केही शोकाकुल आमा-बाबुहरूलाई दिने गरिन्छ। तर के यो साँचो हो? के हाम्रा प्रिय मृतजनहरू कुनै आत्मिक संसारमा गएका छन्‌ र? के उनीहरूलाई निर्वाण अर्थात्‌ हर पीडा र इच्छाबाट मुक्‍ति तथा परमानन्द प्राप्त भएको छ र? हामीले माया गर्ने मानिसहरू प्रमोदवनमा अमरत्वतर्फ लैजाने ढोकाभित्र पो छिरिसकेका छन्‌ कि? अथवा मृत्यु परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउनेहरूले भोग्नुपर्ने अनन्तकालीन सन्तापको शुरू हो कि? मृतजनहरूले के हाम्रो जीवनमाथि कुनै प्रभाव पार्नसक्छन्‌? यी प्रश्‍नहरूको साँचो जवाफ पाउन हामीले परमेश्‍वरको वचन, बाइबलमै हेर्नुपर्छ।

मानिस के हो?

३. मरेकाहरूबारे सुकरात तथा प्लेटोको विचार के थियो र यसबाट आज मानिसहरू कसरी प्रभावित भएका छन्‌?

प्राचीन युनानी दार्शनिक सुकरात र प्लेटोको भनाइअनुसार पुरुष तथा स्त्रीको केही न केही अंश अमर हुनैपर्छ। अर्थात्‌ मृत्युपछि पनि कहिल्यै नमर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। यही विचारलाई आज पृथ्वीभरि लाखौं मानिसहरूले विश्‍वास गर्छन्‌। यसै विश्‍वासको आधारमा मृतकहरूको डर मानिन्छ भने तिनीहरूको कुशलताको पनि उति नै चिन्ता गरिन्छ। तर बाइबलले मानिस के हो र मानिस मरेपछि के हुन्छ, त्यसबारे निकै नै बेग्लै शिक्षा दिन्छ।

४. (क) मानिस के हो भन्‍नेबारे उत्पत्तिको पुस्तकले हामीलाई के भन्छ? (ख) आदमलाई जीवित तुल्याउन परमेश्‍वरले उनमा के हालिदिनुभयो?

मानिसको सृष्टि कसरी भयो, त्यसबारे बाइबलले दिने जानकारी सरल र युक्‍तिसंगत हुनुका साथै जटिल दर्शन अनि मानिसहरूको अन्धविश्‍वासबाट मुक्‍त छ। बाइबलको पहिलो किताब उत्पत्ति २:७ मै यसो भनिएको छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित नेफेस  a[हिब्रूमा अक्षरसः अर्थ, “सास फेर्ने”] भयो।” ध्यान दिनुहोस्‌, यहाँनेर मानिसलाई आत्मा दिइयो भनिएको छैन। बरु, निर्जीव शरीरमा शक्‍ति वा “जीवनको सास” फुकियो अनि त्यसपछि त्यो निर्जीव शरीर मानिस वा जीवित व्यक्‍ति भयो भनिएको छ। तसर्थ, कुरा स्पष्ट छ, जीवित अनि सचेत व्यक्‍ति बन्‍न मानिससित आत्मा हुनु आवश्‍यक छैन। सासले आदमको जीवनलाई टेवा दियो। तर परमेश्‍वरले आदममा जीवनको सास फुकिदिनु हुँदा उहाँले मानिसको फोक्सोमा हावा मात्र भरिदिनुभएन। पार्थिव जीवहरूमा हुने सक्रिय “सास[बारे] [“जीवन-शक्‍ति,” न्युव]” बाइबलमा चर्चा गरिएको छ।—उत्पत्ति ७:२२.

५, ६. (क) “जीवन-शक्‍ति” के हो? (ख) भजन १४६:४ मा उल्लिखित “सास[ले]” शरीरलाई सजीव पार्न छाडेपछि के हुन्छ?

अब यो “जीवन-शक्‍ति” के हो? यो उही जीवनदायी तत्त्व हो जो परमेश्‍वरले आदमको निर्जीव शरीरमा राखिदिनुभयो। अनि यो शक्‍तिलाई श्‍वासप्रश्‍वासले टेवा दियो। तर भजन १४६:४ मा उल्लिखित “सास” के हो? यस पदले मृत जनबारे यसो भन्छ: “त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” बाइबलका लेखकहरूले यहाँ “सास” भन्‍ने शब्द प्रयोग गर्दा तिनीहरूले शरीर मरेपछि पनि बाँची रहने आत्माको कल्पना गरेका थिएनन्‌।

मानिस मर्दा निस्कने “सास” जीवन-शक्‍ति हो जसको मूल सृष्टिकर्ता हुनुहुन्छ। (भजन ३६:९; प्रेरित १७:२८) जीवन-शक्‍तिले सजीव जीवधारीको रूप धारण गर्दैन। जसरी विद्युत शक्‍तिमा पनि चलायमान यन्त्रका विशेषताहरू हुँदैनन्‌। मानिस मर्दा सासले (जीवन-शक्‍ति) शरीरका कोषहरूलाई सजीव राख्न छाड्‌छ जसरी विद्युत शक्‍ति बन्द हुँदा बत्ती निभ्छ। जीवन-शक्‍तिले मानव शरीरलाई टेवा दिन छाडेपछि मानिस मर्छ।—भजन १०४:२९.

“तँ माटैमा फर्किजानेछस्‌”

७. परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेमा आदमलाई के हुने थियो?

पापी आदमको लागि मृत्युले के अर्थ राख्नेछ, सो यहोवाले स्पष्टगरि बताइ दिनुभयो। परमेश्‍वरले भन्‍नुभयो: “तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) आदम कहाँ फर्कने थिए? माटोमा अर्थात्‌ जसबाट उनी सृजिएका थिए। मृत्युपश्‍चात्‌ आदमको अस्तित्व नै हुने थिएन!

८. मानिस जनावरहरूभन्दा किन श्रेष्ठ होइन?

यस सन्दर्भमा मानव मृत्यु र जनावरहरूको मृत्यु एक समान छ। जनावरहरू पनि नेफेस हुन्‌ र तिनीहरूले उही “सास” अथवा जीवन-शक्‍तिबाट बल पाउँछन्‌। (उत्पत्ति १:२४) उपदेशक ३:१९, २० मा बुद्धिमान मानिस सुलेमान हामीलाई यसो भन्छन्‌: “ती दुवैमाथि मृत्यु आइपर्दछ। ती दुवैको एउटै सास छ। मानिसहरूको पशुहरूमाथि कुनै प्राधान्यता हुँदैन। सबै माटैले बनिएका हुन्‌ औ सबै माटैमा मिल्नेछन्‌।” जनावरभन्दा मानिस श्रेष्ठ थिए किनकि उनी परमेश्‍वरको स्वरूपमा सृजिएका थिए। उनले यहोवाका गुणहरू प्रतिबिम्बित गर्नसक्थे। (उत्पत्ति १:२६, २७) तापनि मर्दा चाहिं मानिस होस्‌ वा जनावर, दुवै माटैमा फर्कन्छन्‌।

९. मृत जनहरू कुन अवस्थामा हुन्छन्‌ र तिनीहरू कहाँ जान्छन्‌?

सुलेमानले मृत्युको अर्थलाई अझ खुलस्त पार्दै यसो भने: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” हो, मरेकाहरूलाई केही पनि थाह हुँदैन। यसै कुरालाई दृष्टिगत गर्दै सुलेमानले यो आग्रह गरे: “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर, किनभने मृत्युमा, [“शिओल,” न्युव] जहाँ त जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०) अतः मरेकाहरू कहाँ जान्छन्‌? शिओल (हिब्रू , शिओल) अर्थात्‌ मानव चिहानमा। हाम्रा मृत प्रियजनहरूलाई कुनै पनि कुराको चेतना छैन। उनीहरूलाई कुनै प्रकारको दुःख छैन नता उनीहरूले हाम्रो जीवनमा कुनै असर नै पार्नसक्छन्‌।

१०. किन मृत्यु नै मानिसको अन्तिम दशा हुनु पर्दैन?

१० तर हामी र हाम्रा प्रियजनहरू केही वर्ष बाँचेर अन्ततः मर्नैपर्छ र? बाइबलको शिक्षाअनुसार पर्दैन। आदमले जुन बेला विद्रोह गऱ्‍यो, उही बेला यहोवा परमेश्‍वरले मानव पापको भीषण परिणामलाई सोझ्याउने प्रबन्ध मिलाउनुभयो। परमेश्‍वरले मानिसलाई मर्नका लागि बनाउनुभएको थिएन। (इजकिएल ३३:११; २ पत्रुस ३:९) यसकारण हाम्रो र हाम्रा प्रियजनहरूको अन्तिम दशा मृत्यु हुनु पर्दैन।

“निद्रामा परेका छन्‌”

११. येशूले आफ्नो मृत साथी लाजरसको अवस्थालाई कुन शब्दहरूमा वर्णन गर्नुभयो?

११ यहोवाले हामीलाई तथा हाम्रा प्रियजनहरूलाई आदमबाट आएको मृत्युबाट बचाउने उद्देश्‍य रच्नुभएको छ। यसैकारण, परमेश्‍वरको वचनमा मृत जनहरूलाई निद्रामा परेकाहरूसित तुलना गरिएको छ। उदाहरणको लागि, आफ्नो मित्र लाजरसको मृत्युको खबर सुनेपछि येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्‌, तर म तिनलाई निद्राबाट बिउँझाउनालाई जाँदैछु।” यस अभिव्यक्‍तिलाई चेलाहरूले तुरुन्तै नबुझ्दा येशूले सरल भाषामा भन्‍नुभयो: “लाजरस मरेका छन्‌।” (यूहन्‍ना ११:११, १४) यसपछि येशू बेथानी शहरमा जानुभयो जहाँ लाजरसकी दिदी मरियम र मार्था शोक मनाउँदै थिए। येशूले मार्थालाई “तिम्रो भाइ फेरि बिउँतनेछ” भन्‍नुभयो। यसको जवाफमा मार्थाले मानव परिवारमाथि आइपरेको मृत्युको असरलाई नामेट पार्ने परमेश्‍वरको उद्देश्‍यमाथि विश्‍वास प्रकट गरिन्‌। तिनले भनिन्‌: “म जान्दछु कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।”—यूहन्‍ना ११:२३, २४.

१२. शोकाकुल मार्थाले पनि मरेकाहरूबारे के आशा राखेकी थिइन्‌?

१२ मार्थाले यहाँ मृत्युपश्‍चात्‌ बाँचिरहने अमर आत्माको चर्चा गरिनन्‌। लाजरस कुनै आत्मिक संसारमा बाँची नै रहेका छन्‌ भनी तिनी विश्‍वास गर्दिनथिइन्‌। बरु मृतावस्थाबाट हुने पुनरुत्थानको अद्‌भुत आशामा मार्था विश्‍वास गर्थिन्‌। तिनले बुझेअनुसार, लाजरसको शरीरबाट कुनै अमर आत्मा निस्केर गएको थिएन। बरु तिनको भाइ नै अस्तित्वहीन भएको थियो। अतः भाइको पुनरुत्थान नै समस्याको समाधान थियो।

१३. येशूमा ईश्‍वरप्रदत्त कुन शक्‍ति छ र उहाँले यो कसरी प्रदर्शित गर्नुभयो?

१३ यहोवा परमेश्‍वरले मानिसजातिलाई छुटकारा दिने अख्तियार येशू ख्रीष्टलाई सुम्पनुभएको छ। (होशे १३:१४) यसैकारण त मार्थालाई जवाफ दिनुहुँदै येशूले भन्‍नुभयो: “पुनरुत्थान र जीवन मै हुँ। मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ।” (यूहन्‍ना ११:२५) येशूले आफ्नो यो ईश्‍वरप्रदत्त शक्‍ति प्रदर्शित पनि गर्नुभयो। चिहानमा जानुभएर उहाँले चार दिनअघि मरेको लाजरसलाई फेरि जीवित पार्नुभयो। (यूहन्‍ना ११:३८-४४) येशू ख्रीष्टले त्यस बेला र अरू समयमा पनि गर्नुभएका पुनरुत्थानहरू देखेर मानिसहरू कति हर्षित भए होलान्‌!—मर्कूस ५:३५-४२; लूका ७:१२-१६.

१४. आत्माको अमरतामाथिको विश्‍वास अनि पुनरुत्थान किन आपसमा मेल खाँदैन?

१४ एकछिन सोच्नुहोस्‌: मानिस मरेपछि उसको आत्मा अमर रहन्छ भने  कसैको पुनरुत्थान गर्ने आवश्‍यकता नै हुँदैन। स्वर्गमा सुन्दर इनाम पाइसकेका लाजरसजस्तो व्यक्‍तिलाई पुनरुत्थान गराएर पृथ्वीमा फेरि असिद्ध जीवन बिताउन ल्याउनु दया गरेको हुने थिएन। तसर्थ “अमर आत्मा” भन्‍ने अभिव्यक्‍ति बाइबलमा कतै पनि पाइँदैन। बरु पाप गर्ने नेफेस  मर्छ भनी शास्त्रमा उल्लेख गरिएको छ। (इजकिएल १८:४, २०) साथै, मृत्युको अचूक समाधान पुनरुत्थान नै हो भनेर बाइबलले सङ्‌केत गर्दछ।

“चिहानमा हुनेहरू सबै”

१५. (क) “पुनरुत्थान” शब्दको अक्षरशः अर्थ के हो? (ख) विभिन्‍न व्यक्‍तिहरूको पुनरुत्थान गर्नु यहोवा परमेश्‍वरको निम्ति किन गाह्रो हुनेछैन?

१५ येशूका चेलाहरूले “पुनरुत्थान”-को निम्ति प्रयोग गरेको शब्दको अक्षरशः अर्थ “उठ्‌नु” अथवा “उभिनु” हो। किनकि पुनरुत्थान हुँदा मानिस निर्जीव मृतावस्थाबाट उठ्‌नेछ अर्थात्‌ मानव चिहानबाट निस्केर उनी उभिएझैं हुनेछ। यहोवा परमेश्‍वरले सजिलैसित कुनै पनि व्यक्‍तिको पुनरुत्थान गराउन सक्नुहुन्छ। किन? किनभने यहोवा नै जीवनको मूल हुनुहुन्छ। आज मानिसहरूले पुरुष तथा स्त्रीहरूको आवाज र रूपलाई भिडिओ टेपमा रिकर्ड गरेर राख्नसक्छन्‌। अनि ती पुरुष तथा स्त्री मरी सकेपछि पनि यी भिडिओ टेपहरू हेर्न सकिन्छ। अतः हाम्रो सृष्टिकर्ताले हरेक व्यक्‍तिको ठूलोदेखि सानो सबै कुरा अभिलेख गर्न सक्नुहुन्छ। समयमा तिनीहरूलाई नयाँ शरीर दिनुहुँदै उहाँले फेरि त्यही व्यक्‍तिहरूको पुनरुत्थान गर्न सक्नुहुन्छ।

१६. (क) सम्झनाको चिहानमा हुनेहरूबारे येशूले के प्रतिज्ञा गर्नुभयो? (ख) प्रत्येकको पुनरुत्थान कस्तो पुनरुत्थान साबित हुनेछ, सो कुन कुराबाट निर्णय हुनेछ?

१६ येशू ख्रीष्टले भन्‍नुभयो: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको [येशूको] सोर सुन्‍नेछन्‌। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) यहोवाको सम्झनामा रहेका सबै जनाको पुनरुत्थान गराइनेछ। तिनीहरूले उहाँको मार्गमा हिंड्‌ने शिक्षा पाउनेछन्‌। परमेश्‍वरको ज्ञानअनुसार हिंड्‌नेहरूका लागि यो पुनरुत्थान जीवनको पुनरुत्थान साबित हुनेछ। तथापि, परमेश्‍वरको शिक्षा र शासन तिरस्कार गर्नेहरूका लागि चाहिं यो दण्ड तथा न्यायको पुनरुत्थान हुनेछ।

१७. क-कसको पुनरुत्थान हुनेछ?

१७ स्वभावतः यहोवाका सेवकहरू भएर धार्मिकताको बाटोमा हिंड्‌ने सबैको पुनरुत्थान गराइनेछ। भनौं भने यही पुनरुत्थानको आशाले धेरैलाई क्रूर सतावट तथा मृत्युसमेतको सामना गर्ने बल दिएको थियो। परमेश्‍वरले तिनीहरूलाई फेरि पुनःजीवित पार्न सक्नुहुन्छ भनी तिनीहरू जान्दथिए। (मत्ती १०:२८) तथापि, लाखौं मानिसहरू परमेश्‍वरका धार्मिक स्तरअनुरूप हिंडनेछन्‌ वा छैनन्‌, सो प्रदर्शित गर्ने मौका नपाइकनै मरे। तर यिनीहरूको पनि पुनरुत्थान हुनेछ। यो काम यहोवाले निश्‍चय गर्नुहुनेछ भनी विश्‍वस्त हुँदै प्रेरित पावलले भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।”—प्रेरित २४:१५.

१८. (क) प्रेरित यूहन्‍नाले पुनरुत्थानबारे के दर्शन पाए? (ख) “अग्नि कुण्डमा” के नष्ट गरिनेछ र यो “कुण्ड” के को प्रतीक हो?

१८ परमेश्‍वरको सिंहासनको सामु पुनरुत्थान भएका जनहरू उभिरहेको भव्य दर्शन प्रेरित यूहन्‍नाले पाए। अनि यूहन्‍नाले लेखे: “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो। औ मृत्यु र पाताल अग्नि कुण्डमा फालिए। योचाहिं, अर्थात्‌ अग्नि कुण्ड, दोस्रो मृत्यु हो।” (प्रकाश २०:१२-१४) सोच्नुहोस्‌! परमेश्‍वरको सम्झनामा रहेका सबै मृत जनहरू पाताल (युनानी, हैडिस) अथवा मानिसजातिको चिहान, शिओलबाट मुक्‍त हुनेछन्‌। (भजन १६:१०; प्रेरित २:३१) तिनीहरूले परमेश्‍वरको सेवा गर्नेछन्‌ वा छैनन्‌, सो प्रदर्शित गर्ने मौका पाउनेछन्‌। यसपछि “मृत्यु र पाताल” “अग्नि कुण्ड[मा]” फालिनेछ। यो “अग्नि कुण्ड” तथा “गेहेन्‍ना” भन्‍ने दुवै अभिव्यक्‍ति पूर्ण सर्वनाशका प्रतीक हुन्‌। (लूका १२:५) मानिसजातिको चिहान रित्तिनेछ र पुनरुत्थान समाप्त भइसकेपछि चिहान भन्‍ने चीजै हुनेछैन। कसैलाई पनि परमेश्‍वरले शास्ति दिनुहुन्‍न। बाइबलको यो शिक्षा कति आरामदायी छ!—यर्मिया ७:३०, ३१.

पुनरुत्थानपछि कहाँ जाने?

१९. केही मानिसहरू पुनरुत्थानपछि किन स्वर्ग लगिनेछन्‌ र परमेश्‍वरले तिनीहरूलाई कस्तो शरीर दिनुहुनेछ?

१९ सीमित सङ्‌ख्याका केही पुरुष तथा स्त्रीहरूले पुनरुत्थानपश्‍चात्‌ स्वर्गीय जीवन पाउनेछन्‌। उनीहरू येशूसित राजा तथा पूजाहारीहरू हुनेछन्‌। प्रथम पुरुष आदमबाट वंशानुगत आएको मृत्युको प्रभावलाई हटाउने काममा उनीहरूले भाग लिनेछन्‌। (रोमी ५:१२; प्रकाश ५:९, १०) ख्रीष्टसित यसरी स्वर्गमा शासन गर्न परमेश्‍वरले पृथ्वीबाट कति जना लैजानुहुनेछ? बाइबलअनुसार १,४४,००० मात्र। (प्रकाश ७:४; १४:१) यहोवाले ती प्रत्येकलाई पुनरुत्थानपछि आत्मिक शरीर दिनुहुनेछ। यसले गर्दा तिनीहरू स्वर्गमा बस्नसक्ने छन्‌।—१ कोरिन्थी १५:३५, ३८, ४२-४५; १ पत्रुस ३:१८.

२०. पुनरुत्थान भएका जनहरूलगायत आज्ञाकारी मानिसहरूले के अनुभव गर्नेछन्‌?

२० तर धेरैजसो मृत जनहरूले पुनरुत्थानपछि पार्थिव प्रमोदवनमा नै जीवन पाउनेछन्‌। (भजन ३७:११, २९; मत्ती ६:१०) केही मानिसहरूलाई पुनरुत्थानपछि स्वर्ग लैजानुको एउटा कारण परमेश्‍वरको पार्थिव उद्देश्‍य पूरा गर्नु हो। हाम्रा प्रथम आमा-बाबुद्वारा गुमाइएको सिद्धता पृथ्वीमा आज्ञाकारी मानिसजातिलाई बिस्तारै पुनः प्राप्त गर्ने मदद स्वर्गबाट येशू ख्रीष्ट र १,४४,००० ले दिनेछन्‌। पृथ्वीमा ती आज्ञाकारी मानिसहरूमध्ये पुनरुत्थानप्राप्त जनहरू पनि हुनेछन्‌। यसलाई सङ्‌केत गर्नुहुँदै येशूले उहाँको छेउमा मर्न लागेको मान्छेलाई भन्‍नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:४२, ४३, न्युव.

२१. अगमवक्‍ता यशैया र प्रेरित यूहन्‍नाअनुसार मृत्युलाई के हुनेछ?

२१ आज जीवनलाई निरर्थक पार्ने मृत्यु, पार्थिव प्रमोदवनबाट हटाइनेछ। (रोमी ८:१९-२१) यहोवाले “मृत्युलाई सदाका निम्ति निल्नु” हुनेछ भनी अगमवक्‍ता यशैयाले घोषित गरेका थिए। (यशैया २५:८) प्रेरित यूहन्‍नालाई चाहिं आज्ञाकारी मानिसजाति पीडा तथा मृत्युबाट मुक्‍त हुने समयको दर्शन दिइएको थियो। हो, “परमेश्‍वर आफै तिनीहरूसँग . . . हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनु हुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:१-४.

२२. पुनरुत्थानको ज्ञानले तपाईंमाथि कस्तो प्रभाव पारेको छ?

२२ बाइबलका यी स्पष्ट शिक्षाहरूले मृत जनहरूको अवस्थाबारे हामीलाई अन्योलमा पर्न दिंदैन। मृत्यु “सबैभन्दा पछि नामेट हुने शत्रु” हो भनेर शास्त्रमा छर्लङ्‌गै बताइएको छ। (१ कोरिन्थी १५:२६) पुनरुत्थान पाउने आशाको ज्ञानले हामीलाई कति ठूलो बल तथा सान्त्वना प्रदान गर्छ! साथै परमेश्‍वरको सम्झनामा हुने हाम्रा मृत प्रियजनहरू मृत्युको निद्राबाट बिउँझनेछन्‌। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति तयार पारिएका असल कुराहरूबाट आनन्द उठाउनेछन्‌। यो सम्झेर आज हामी कति आनन्दित छौं! (भजन १४५:१६) यी सबै आशिष्‌हरू परमेश्‍वरको राज्यद्वारा सम्भव हुनेछन्‌। तर यो राज्यले शासन कहिलेदेखि गर्न थाल्छ? हामी हेरौं।

[फुटनोट]

a बाइबलमा हिब्रू शब्द नेफेस ७०० भन्दा धेरै ठाउँमा पाइन्छ। नेफेस शब्दले मानिसको शरीरभन्दा भिन्दै अलौकिक वस्तुलाई संकेत गर्ने किसिमको अर्थ कहिल्यै दिंदैन। बरु, त्यसले सधैं भौतिक अर्थात्‌ छुन वा देख्न सकिने वस्तुलाई संकेत गर्छ।

आफ्नो ज्ञान जाँच्नुहोस्‌

मानिस के हो?

मृत जनहरूको स्थिति तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

कसको पुनरुत्थान हुनेछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ८५-मा भएको चित्र]

येशूले लाजरसलाई चिहानबाट उठाउनुभए जस्तैगरि लाखौं मानिसहरूको पुनरुत्थान हुनेछ

[पृष्ठ ८६-मा भएको चित्र]

‘परमेश्‍वरले मृत्युलाई सदाका लागि निल्नु हुँदा’ जताततै खुसियाली छाउनेछ