सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कठिन परीक्षामा तिनीहरूको विश्‍वास ढलपल भएन

कठिन परीक्षामा तिनीहरूको विश्‍वास ढलपल भएन

अध्याय पाँच

कठिन परीक्षामा तिनीहरूको विश्‍वास ढलपल भएन

१. थुप्रै मानिस परमेश्‍वर र मातृभूमिप्रतिको भक्‍तिबारे कस्तो दृष्टिकोण राख्छन्‌?

 तपाईं कसको भक्‍त हुनुपर्छ, परमेश्‍वरको कि मातृभूमिको? थुप्रैले यस्तो जवाफ देलान्‌, ‘म दुवैलाई श्रद्धा गर्छु। म मेरो धर्मअनुसार परमेश्‍वरको उपासना गर्छु; अर्कोतिर, मातृभूमिप्रति पनि वफादार छु।’

२. कुन अर्थमा बेबिलोनका राजा धर्म र राजनीतिको प्रतीक हुन्थे?

अहिले धार्मिक भक्‍ति र देशभक्‍तिबीच त्यति स्पष्ट भिन्‍नता देखिंदैन होला तर पुरातन बेबिलोनमा त भिन्‍नता नै थिएन भने पनि हुन्छ। निजामती र पवित्र कुराहरू यतिबिघ्न मुछिएका हुन्थे कि, कहिलेकाहीं त छुट्याउनै सकिंदैनथ्यो। प्राध्यापक चार्ल्स एफ. फाइफर यस्तो लेख्छन्‌, “पुरातन बेबिलोनमा राजा नै मुख्य पूजाहारी र निजामती शासक हुन्थे। तिनले नै बलिहरू चढाउँथे र आफ्ना प्रजाहरूको धार्मिक जीवन कस्तो हुनुपर्छ, सो निर्धारण गर्थे।”

३. नबूकदनेसर असाध्यै धर्मकर्म गर्नुपर्ने व्यक्‍ति थिए भनेर कुन कुराले देखाउँछ?

राजा नबूकदनेसरलाई नै विचार गर्नुहोस्‌। तिनको नाउँको अर्थ नै, “हे नेबो, उत्तराधिकारीको रक्षा गर्नुहोस्‌!” थियो। नेबो, बुद्धि र खेतीपातीको बेबिलोनी देव थियो। नबूकदनेसर असाध्यै धर्मकर्म गर्नुपर्ने व्यक्‍ति थिए। अघिल्लो लेखमा उल्लेख गरिएझैं तिनले थुप्रै बेबिलोनी देवदेवीहरूको मन्दिर निर्माण गरेर सिंगारे र तिनी विशेष गरी मार्डुकका भक्‍त हुनुका साथै आफ्ना सैन्य विजयहरूको श्रेय तिनैलाई दिन्थे। a रणनीतिहरू तय गर्न नबूकदनेसर जोखनाविद्यामा पूर्णतया भर पर्थे जस्तो पनि देखिन्छ।—इजकिएल २१:१८-२३.

४. बेबिलोनको धार्मिक वातावरण कस्तो थियो? वर्णन गर्नुहोस्‌।

साँच्चै, बेबिलोनभरि धार्मिक वातावरण छाएको थियो। शहरमा ५० वटाभन्दा बढी मन्दिरहरू थिए। अनु (आकाशको देव), एन्लिल (धर्ती, हावा अनि आँधीको देव) र इया (पानीको देव) मिलेर बनेको त्रिदेवलगायत असंख्य देवदेवीहरूको उपासना गरिन्थ्यो। अर्को त्रिएक, सिन (चन्द्र-देव), शमाश (सूर्य-देव) र इश्‍तार (प्रजनन देवी) मिलेर बनेको थियो। बेबिलोनी उपासनामा जादु, टुनामुना र ज्योतिषविद्याले ठूलो भूमिका खेल्थ्यो।

५. बेबिलोनको धार्मिक वातावरणले यहूदी कैदीहरूसामु कस्तो चुनौती खडा गऱ्‍यो?

विभिन्‍न देवदेवीहरूको उपासना गर्ने मानिसहरूको माझमा बस्नु यहूदी बन्दीहरूको लागि एउटा ठूलो चुनौती थियो। शताब्दीयौंअघि, सर्वोच्च नियमदातासँग विद्रोह गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्नेछ भनी मोशाले इस्राएलीहरूलाई चेताउनी दिइसकेका थिए। मोशाले तिनीहरूलाई यसो भनेका थिए: “तिमीहरूलाई र तिमीहरूले नियुक्‍त गरेको राजालाई परमप्रभुले, तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा ल्याउनु हुनेछ र त्यहाँ तिमीहरूले काठ र ढुङ्‌गाका अन्य देवताहरूको पूजा गर्नेछौ।”—व्यवस्था २८:१५, ३६.

६. बेबिलोनमा बस्नु दानियल, हनन्याह, मिशाएल र अजर्याहको लागि किन अरूहरूलाई भन्दा चुनौतीपूर्ण थियो?

अहिले यहूदीहरू त्यस्तै अवस्थामा थिए। विशेष गरी दानियल, हनन्याह, मीशाएल र अजर्याहलाई यहोवाप्रति निष्ठा कायम गर्न गाह्रो हुने थियो। यी चार जना हिब्रू जवानहरू खास गरी सरकारी सेवा गर्नका लागि प्रशिक्षण पाउन नियुक्‍त भएका थिए। (दानियल १:३-५) सम्झनुहोस्‌ त, तिनीहरूलाई बेलतशजर, शद्रक, मेशक र अबेद्‌नगो भन्‍ने बेबिलोनी नाउँसमेत दिइएको थियो। हुनसक्छ, नयाँ वातावरणमा घुलमिल होऊन्‌ भनेर तिनीहरूलाई यो नाउँ दिइएको थियो। b यी जवानहरूको उच्च ओहदाले गर्दा त्यस देशका देवहरूको उपासना गर्न इन्कार गरेमा सबैले त्यो देख्ने थियो र तिनीहरूलाई राजद्रोहको दोषसमेत लाग्नसक्थ्यो।

सुनको मूर्तिले खतरा उत्पन्‍न गर्छ

७. (क) नबूकदनेसरले खडा गरेको मूर्तिको वर्णन गर्नुहोस्‌। (ख) मूर्ति खडा गर्नुको उद्देश्‍य के थियो?

अवश्‍य पनि, नबूकदनेसरले आफ्नो साम्राज्यको एकता सुदृढ पार्न दूराको मैदानमा सुनको मूर्ति बनाएका थिए। यसको उचाइ ६० हात (२७ मिटर) र चौडाइ ६ हात (२.७ मिटर) थियो। c कसै कसैको विचारमा यो मूर्ति नभई, ठाडो खम्बा वा माथिपट्टि चुच्चो परेको चारपाटे स्तम्भ थियो। त्यो एकदमै अग्लो जग अनि त्यसमाथि मानिसको रूपमा बनाइएको ठूलो मूर्ति पनि हुनसक्छ र त्यो मूर्ति नबूकदनेसर वा नेबो देवको हुनसक्छ। जे नै भए पनि, त्यो अग्लो स्मारक बेबिलोन साम्राज्यको प्रतीक थियो। अतः सबैले त्यसको श्रद्धा गर्नु पर्ने थियो।—दानियल ३:१.

८. (क) मूर्तिको उद्‌घाटन समारोहमा क-कसलाई बोलाइयो र उपस्थित सबैले के गर्नुपर्थ्यो? (ख) मूर्तिको सामु घोप्टो नपरेको खण्डमा कस्तो सजाय भोग्नुपर्थ्यो?

आफ्नो योजनाअनुरूप नबूकदनेसरले उद्‌घाटन समारोहको आयोजना गरे। तिनले प्रान्त प्रान्तका बड़ा–हाकिम, शासक, राज्यपाल, सल्लाहकार, खजाञ्ची, न्यायधीश, हाकिम र प्रान्त प्रान्तका सबै राजकर्मचारीहरूलाई भेला गराए। तब झ्याली पिट्‌नेले चर्को सोरमा कराएर भन्यो, “हे विभिन्‍न भाषा बोल्ने जाति जातिका मानिस हो, तिमीहरूलाई यो हुकूम सुनाइँदैछ कि जब नरसिङ्‌गा, बाँसुरी, वीणा, सारङ्‌गी, सितार, मसक–बाजा र सबै किसिमका बाजाहरूको सोर तिमीहरू सुन्छौ तब नबूकदनेसर राजाले खड़ा गरेको यस सुनको मूर्तिलाई घोप्टो परेर तिमीहरू सबैले दण्डवत्‌ गर्नुपर्छ। औ घोप्टो परेर दण्डवत्‌ नगर्ने जति चाहिं उत्तिखेरै दन्केको आगोको भट्टीमा हालिदिइनेछ।”—दानियल ३:२-६.

९. नबूकदनेसरले स्थापना गरेको मूर्तिको सामु घोप्टो परेर दण्डवत्‌ गर्नुको अर्थ के हुनसक्छ?

कसै कसैको विचारमा, नबूकदनेसरले यस्तो समारोह आयोजना गरेर यहूदीहरूलाई यहोवाको उपासनाको सम्झौता गराउन खोजेका थिए। तर यसो हुन सक्दैन थियो किनभने यस समारोहमा सरकारी अफिसरहरूलाई मात्र बोलाइएको थियो। तसर्थ, यस समारोहमा उपस्थित हुने यहूदीहरू सबै सरकारी ओहदामा भएका व्यक्‍तिहरू मात्र हुने थिए। त्यसकारण, मूर्तिको सामु घोप्टो परेर दण्डवत्‌ गराउनु शासकीय वर्गको एकतालाई अझ बलियो बनाउने समारोह हुनसक्छ। बाइबलविद्‌ जोन एफ. वालभुर्ड यस्तो टिप्पणी गर्छन्‌: “त्यसरी हाकिमहरूलाई एक ठाउँमा भेला गराउनुको अर्थ नबूकदनेसरको साम्राज्यको शक्‍ति प्रदर्शन गर्नु थियो भने अर्कोतिर आफूलाई विजयी तुल्याउने देवदेवीहरूलाई जनसमक्ष स्वीकार्नु पनि थियो।”

यहोवाका सेवकहरू सम्झौता गर्न इन्कार गर्छन्‌

१०. नबूकदनेसरको आज्ञा पालन गर्न गैर-यहूदीहरूलाई किन कुनै अप्ठ्यारो पर्ने थिएन?

१० आ-आफ्नै विभिन्‍न संरक्षक देवहरूप्रतिको भक्‍तिको बावजूद नबूकदनेसरको मूर्तिको अगाडि भेला हुनेहरूका लागि यसको उपासना गर्न कुनै आपत्तिजनक कुरो थिएन। एक जना बाइबलविद्‌ले यसो भने: “तिनीहरूलाई मूर्तिपूजा गर्ने बानी परिसकेको थियो र कुनै एउटा देवको उपासना गर्ने भन्दैमा अर्कोको उपासना गर्नै नमिल्ने अवस्था थिएन।” तिनले अझै यसो भने: “थुप्रै देवहरू छन्‌ . . . र अर्कै जाति वा देशको देवको उपासना गर्नु गलत होइन भन्‍ने तिनीहरूको मूर्तिपूजक धारणासित तिनीहरूको उक्‍त कदम मेल खान्थ्यो।”

११. शद्रक, मेशक र अबेद्‌नगोले किन मूर्तिको सामु घोप्टो पर्न इन्कार गरे?

११ तर, यहूदीहरूको लागि भने कुरा अर्कै थियो। तिनीहरूका परमेश्‍वर यहोवाले तिनीहरूलाई यस्तो आज्ञा दिनुभएको थियो: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तेरा परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ, पिता-पुर्खाले गरेको अधर्म र मेरो अवहेलनाको दण्ड तिनीहरूका सन्तानहरू, तिनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु।” (प्रस्थान २०:४, ५) तसर्थ, बाजा बजेपछि त्यहाँ उपस्थित सबै मूर्तिको सामु घोप्टो परे तर तीन जना हिब्रू जवानहरू शद्रक, मेशक र अबेद्‌नगो भने ठिंगै उभिरहे।—दानियल ३:७.

१२. कोहीकोही कल्दीहरूले तीन जना हिब्रूमाथि कस्तो अभियोग लगाए र किन?

१२ यी तीन जना हिब्रूहरूले मूर्तिलाई दण्डवत्‌ गर्न इन्कार गरेको देखेर कोहीकोही कल्दीहरू रिसले चूर भए। तिनीहरू सरासर राजाकहाँ गए र “यहूदीहरूका विरुद्धमा अभियोग लगाए।” d तिनीहरू कुनै प्रकारको बयान सुन्‍न तयार थिएनन्‌। यी हिब्रूहरूलाई देशद्रोह र राजद्रोहको आरोपमा सजाय दिन खोज्दै तिनीहरूले यसो भने: “यहाँ कोही यहूदीहरू छन्‌ जसलाई हजूरले बेबिलोनका प्रान्तको शासनको काममा नियुक्‍त गर्नुभएको छ—शद्रक, मेशक र अबेद्‌नगो। हे महाराज, यी मानिसहरू हजूरको हुकूमको वास्ता गर्दैनन्‌। तिनीहरू हजूरका देवताको सेवा गर्दैनन्‌।”—दानियल ३:८-१२.

१३, १४. शद्रक, मेशक र अबेद्‌नगोको काम देखेर नबूकदनेसरले कस्तो प्रतिक्रिया देखाए?

१३ तीन जना हिब्रूले आफ्नो आदेश नमानेको कुरा सुन्‍नु पर्दा नबूकदनेसर कस्तो दिक्क भए होलान्‌! किनकि तिनी शद्रक, मेशक र अबेद्‌नगोलाई बेबिलोन साम्राज्यका समर्थकहरू बनाउन असफल भएको कुरा स्पष्ट भयो। के तिनले नै तिनीहरूलाई कल्दीहरूको शिक्षादीक्षा दिन लगाएका होइनन्‌ र? त्यति मात्र कहाँ हो र, तिनले ती हिब्रूहरूको नाउँसमेत परिवर्तन गरिदिएका थिए! तिनीहरूलाई दिइएको शाही शिक्षादीक्षाले नयाँ उपासना अँगाल्न वा नाउँ परिवर्तन गर्दैमा तिनीहरूको व्यक्‍तित्व नै अर्कै हुनेछ भन्‍ने सोचाइ नबूकदनेसरले राखेका भए, तिनको सोचाइ साह्रै गलत रहेछ। शद्रक, मेशक र अबेद्‌नगो यहोवाका वफादार सेवक हुन छाडेनन्‌।

१४ राजा नबूकदनेसर क्रोधित भए। तिनले शद्रक, मेशक र अबेद्‌नगोलाई तुरुन्तै हाजिर गराउने हुकुम दिए। अनि तिनीहरूसित प्रश्‍न गरे: “ए शद्रक, मेशक र अबेद्‌नगो, के यो कुरो साँचो हो कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ, औ मैले खड़ा गरेको सुनको मूर्तिलाई दण्डवत्‌ गर्दैनौ?” नबूकदनेसरले पक्कै पनि यो कुरा पत्याउनै नसकेर यस्तो प्रश्‍न सोधेका हुनुपर्छ। नहून्‌ पनि किन, किनकि तिनले यस्तो तर्क गरेको हुनुपर्छ, ‘आज्ञा पालन नगरेको खण्डमा कडा सजाय भोग्नुपर्ने कुरा थाह हुँदाहुँदै पनि दिमाग ठेगानमा भएको मानिसले यस्तो हुकुम बेवास्ता गर्थ्यो होला र?’—दानियल ३:१३, १४.

१५, १६. नबूकदनेसरले तीन जना हिब्रूलाई कुन अर्को मौका दिए?

१५ नबूकदनेसर यी तीन जना हिब्रूहरूलाई अर्को मौका दिन तयार थिए। तिनले भने, “यदि तिमीहरू नरसिङ्‌गा, बाँसुरी, वीणा, सारङ्‌गी, सितार, मसक–बाजा र सबै किसिमका वाद्यहरूको सोर सुन्‍ने बित्तिकै मूर्तिलाई दण्डवत्‌ गर्नलाई तयार भयौ भने भलो र राम्रै हुनेछ, तर यदि दण्डवत्‌ गरेनौ भनेता तिमीहरू उत्तिखेरै दन्केको आगोको भट्टीमा हालिनेछौ, र कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउनसक्ला?”—दानियल ३:१५.

१६ निस्सन्देह, सपनामा देखेको मूर्तिले (दानियल अध्याय २ मा लिपिबद्ध) सिकाएको पाठले नबूकदनेसरको मन अनि हृदय पटक्कै छोएको रहेनछ भन्‍ने कुरा यहाँनेर स्पष्ट हुन्छ। हुनसक्छ, आफूले दानियललाई भनेको यो कुरा तिनले बिर्सिसके: “तिमीहरूका परमेश्‍वर ईश्‍वरहरूका परमेश्‍वर, राजाहरूका प्रभु . . . हुनुहुँदो रहेछ।” (दानियल २:४७) अब भने नबूकदनेसरले यहोवालाई चुनौती दिंदै उहाँले पनि ती हिब्रूहरूलाई त्यो दण्डबाट बचाउन सक्नुहुनेछैन भनिरहेका थिए जस्तो देखिन्छ।

१७. राजाले अर्को मौका दिंदा शद्रक, मेशक र अबेद्‌नगोले कस्तो जवाफ दिए?

१७ शद्रक, मेशक र अबेद्‌नगोले अब के गर्ने भनेर फेरि सोच्ने आवश्‍यकता नै महसुस गरेनन्‌। तिनीहरूले तुरुन्तै जवाफ दिए: “हे महाराज, यस कुरामा हामीले हजूरलाई जवाफ दिनु केही खाँचो छैन। हामीलाई दन्केको आगोको भट्टीबाट बचाउनसक्ने कोही ईश्‍वर हुनुहुन्छ भने हामीले सेवा गरेका परमेश्‍वरनै हुनुहुन्छ। औ उहाँले हामीलाई हजूरको हातबाट पनि बचाउनुहुनेछ। तर त्यसो भएन भने पनि, हे महाराज, यो कुरो हजूरलाई थाह होस्‌, कि हामी हजूरका देवताहरूको सेवा गर्नेछैनौं, अथवा हजूरले खड़ा गर्नुभएको यस सुनको मूर्तिलाई हामी दण्डवत्‌ गर्नेछैनौं।”—दानियल ३:१६-१८.

दन्केको आगोको भट्टीमा!

१८, १९. दन्केको आगोको भट्टीमा फ्याँकिएका तीन जना हिब्रूहरूलाई के भयो?

१८ रिसले चूर भएका नबूकदनेसरले आफ्ना सेवकहरूलाई आगोको भट्टी सात गुणा बढी दन्काउने आदेश दिए। त्यसपछि तिनले शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर “दन्केको आगोको भट्टीमा” हालिदिनु भनी “बलिया बलिया मानिसहरूलाई” हुकुम गरे। तिनीहरूले राजाको हुकुमअनुसारै तिनीहरूका लुगाहरूसितै बाँधेर दन्केको आगोको भट्टीमा हालिदिए। आगोले छिट्टै भस्म गरोस्‌ भनेर सायद त्यसो गरेको हुनुपर्छ। तर उल्टा नबूकदनेसरका चाकरहरू आफै आगोले भस्म भए।—दानियल ३:१९-२२.

१९ त्यसपछि, अचम्मको कुरा भयो। हुन त, शद्रक, मेशक र अबेद्‌नगो दन्केको आगोको भट्टीमा थिए तर तिनीहरूलाई आगोले अलिकता पनि छोएको थिएन। यो देखेर नबूकदनेसर कत्ति छक्क परे होलान्‌, कल्पना गर्नुहोस्‌ त! तिनीहरूलाई पाता फर्काएर टनक्क बाँधी दन्केको आगोमा फ्याँकिएको थियो तर तिनीहरू जिउँदै थिए। त्यति मात्र कहाँ हो र, तिनीहरू त आगोमा मजाले हिंडिरहेका पो थिए! तर नबूकदनेसरले अर्को एउटा कुरा देखे। राजाले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेका होइनौं?” तिनीहरूले राजालाई जवाफ दिए, “हो महाराज!” नबूकदनेसरले चिच्याउँदै भने, “तर हेर, चार जना मानिसहरू पो स्वतन्त्र भएर आगोमा हिंड़िरहेका छन्‌, औ तिनीहरूलाई केही हानि भएको देखिंदैन! औ चौथोको अनुहारचाहिं एक ईश्‍वरजस्तै देखिन्छ!”—दानियल ३:२३-२५.

२०, २१. (क) शद्रक, मेशक र अबेद्‌नगो आगोको भट्टीबाट निस्कँदा नबूकदनेसरले के देखे? (ख) नबूकदनेसर कुन कुरा मानिलिन बाध्य भए?

२० नबूकदनेसर त्यस दन्केको भट्टीको ढोका नजिकै गएर भने, “हे शद्रक, मेशक र अबेद्‌नगो, सर्वोच्च परमेश्‍वरका सेवक हो, निस्केर आऊ।” तब ती तीन जना हिब्रू आगोबाट सरासर बाहिर निस्के। यो चमत्कार देख्ने बडा-हाकिम राज्यपाल, सल्लाहकार र भारदारहरू सबै तीन छक्क परे। छक्क पर्नुको कारण स्पष्ट छ, यी तीन जना केटाहरू आगो भित्र छिर्दै नछिरेका जस्ता देखिन्थे! तिनीहरूको शरीरमा आगोको गन्धसमेत थिएन र एउटा केशसमेत खह्रिएको थिएन।—दानियल ३:२६, २७.

२१ अब भने यहोवा नै सर्वोच्च परमेश्‍वर हुनुहुन्छ भनी मानिलिन राजा नबूकदनेसर बाध्य भए। तिनले यस्तो घोषणा गरे: “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वर धन्यका होऊन्‌, जसले उहाँमाथि विश्‍वास गर्ने र राजाको हुकूमलाई नमानी आफ्नै परमेश्‍वरबाहेक हामी अरू देवताको सेवा गर्नेछैनौं भनी आफूलाई आगोमा तर्पिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्ना स्वर्गदूतहरू पठाउनुभयो।” त्यसपछि राजाले यस्तो कडा उर्दी जारी गरे, “कुनै मानिस, जुनसुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्‌, जसले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको निन्दा गर्ला त्यो टुक्रै–टुक्रा बनाइनेछ, र त्यसको घर उजाड़ पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैन।” त्यसपछि ती तीन जना हिब्रूलाई शाही निगाह बक्स भयो र राजाले तिनीहरूको ‘बाबेलको प्रान्तमा मान बढ़ाइदिए।’—दानियल ३:२८-३०.

अहिले हाम्रो विश्‍वास र कठिन परीक्षा

२२. कुन अर्थमा यहोवाका वर्तमान सेवकहरूले शद्रक, मेशक र अबेद्‌नगोले सामना गर्नुपरेका जस्तै परिस्थितिहरूको सामना गर्छन्‌?

२२ अहिले पनि यहोवाका उपासकहरू शद्रक, मेशक र अबेद्‌नगोले सामना गर्नुपरेका जस्तै परिस्थितिहरूको सामना गर्छन्‌। हो, अहिले परमेश्‍वरका जनहरू शाब्दिक अर्थमा अर्को देशमा निर्वासित हुनु परेको छैन होला। यद्यपि, येशूले आफ्ना अनुयायीहरू यस “संसारका होइनन्‌” भन्‍नुभयो। (यूहन्‍ना १७:१४) आफू वरपरको संसारको गैरशास्त्रीय परम्परा, मनोवृत्ति र प्रचलनहरू नअपनाउने हुँदा तिनीहरू “विदेशीहरू” हुन्‌। प्रेरित पावलले लेखेझैं मसीहीहरू ‘यस संसारसित एकै चालका हुँदैनन्‌।’—रोमी १२:२.

२३. तीन जना हिब्रूहरूले कसरी अटल विश्‍वास देखाए र अहिले मसीहीहरूले कसरी तिनीहरूको अनुकरण गर्न सक्छन्‌?

२३ यी तीन जना हिब्रूहरूले बेबिलोनी चालढालमा हिंड्‌न इन्कार गरे। कल्दीहरूको गहिरो शिक्षादीक्षाले समेत तिनीहरूलाई बहकाउन सकेन। तिनीहरूले यहोवाको उपासनासँग सम्झौता गरेनन्‌ र यहोवाप्रति निष्ठावान्‌ रहे। अहिलेका मसीहीहरू पनि त्यस्तै अटल हुनुपर्छ। आफू संसारभन्दा भिन्‍न भएकोमा शर्म मान्‍नुपर्ने कुनै कारण छैन। यो “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ” भन्‍ने कुरामा कुनै शंका छैन। (१ यूहन्‍ना २:१७) त्यसकारण, यस मरणशील रीतिरिवाजको चालढालअनुसार हिंड्‌न खोज्नु मूर्खता र व्यर्थ हुनेछ।

२४. साँचो मसीहीहरूको र तीन जना हिब्रूहरूको अडान कसरी तुलना गर्न सकिन्छ?

२४ मसीहीहरू प्रत्यक्ष र अप्रत्यक्ष, हर प्रकारको मूर्तिपूजादेखि होसियार हुनुपर्छ। e (१ यूहन्‍ना ५:२१) शद्रक, मेशक र अबेद्‌नगो आज्ञाकारी भई आदर देखाउँदै सुनको मूर्तिको अगाडि उभिए तर त्यसको सामु घोप्टो परेर दण्डवत्‌ गर्नु सामान्य आदरभावको कुरा मात्र होइन भनेर तिनीहरूलाई थाह थियो। यो एक प्रकारको उपासना थियो र त्यसो गरेको खण्डमा यहोवाको क्रोध भोग्नुपर्ने थियो। (व्यवस्था ५:८-१०) जोन. एफ. वालभुर्ड यसप्रकार लेख्छन्‌: “यो वास्तवमा झण्डा सलामी गर्नु बराबर थियो तर धार्मिक र राष्ट्रिय निष्ठा एकअर्कासित मिसिएको हुँदा त्यसको धार्मिक महत्त्व पनि हुनसक्थ्यो।” आज, साँचो मसीहीहरू मूर्तिपूजा विरुद्ध त्यस्तै दृढ अडान लिन्छन्‌।

२५. शद्रक, मेशक र अबेद्‌नगोसित सम्बन्धित सत्य घटनाबाट तपाईंले कस्तो पाठ सिक्नुभयो?

२५ शद्रक, मेशक र अबेद्‌नगोबारे बाइबलमा दिइएको विवरण यहोवालाई ऐकान्तिक भक्‍ति चढाउन कटिबद्ध हामी सबैको निम्ति व्यावहारिक उदाहरण हो। विश्‍वास प्रदर्शन गर्ने थुप्रै व्यक्‍ति र ‘आगोका ज्वाला निभाउने’ व्यक्‍तिहरूबारे बताउँदा प्रेरित पावलले यी तीन जना हिब्रूहरूलाई नै संकेत गरिरहेको हुनुपर्छ। (हिब्रू ११:३३, ३४) त्यस्तो विश्‍वासको अनुकरण गर्ने सबैलाई यहोवाले आशिष्‌ दिनुहुनेछ। यहोवाले यी तीन जना हिब्रूलाई दन्केको आगोको भट्टीबाट बचाउनुभयो तर उहाँप्रति निष्ठावान्‌ रहेर आफ्नो ज्यान गुमाउने सबै वफादार जनहरूलाई उहाँले पुनरुत्थान गर्नुहुनेछ र तिनीहरूलाई अनन्त जीवन दिनुहुनेछ भनी हामी ढुक्क हुनसक्छौं। यसरी एक न अर्को तरिकाबाट यहोवाले “आफ्ना पवित्र जनहरूका प्राणलाई जोगाइराख्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टका हातबाट छुटाउनुहुन्छ।”—भजन ९७:१०.

[फुटनोटहरू]

a कसैकसैको विचारमा बेबिलोन साम्राज्यको संस्थापक मानिने मार्डुक, निम्रोदको दैवी रूप हुन्‌। तथापि, यो किटेर भन्‍न सकिंदैन।

b “बेलतशजर” नाउँको अर्थ हो, “राजाको जीवन रक्षा गर्नुहोस्‌।” “शद्रक” भनेको सुमेरु, चन्द्र-देव, “आकुको आज्ञा” हुनसक्छ। “मेशक” सुमेरु देवको नाउँ हुनसक्छ र “अबेद्‌नगो” नाउँको अर्थ नेबो वा “नेगोको सेवक” हो।

c मूर्तिको विशाल आकारलाई विचार गर्दा कोही कोही शास्त्रविद्‌ यो काठले बनिएको अनि त्यसमाथि सुनको जलप लगाइएको हुनुपर्छ भन्छन्‌।

d “अभियोग लगाए” भनी अनुवाद गरिएको अरामी अभिव्यक्‍तिको अर्थ मानौं, निन्दाचर्चा गरेर बर्बाद पार्नु वा ‘टुक्रा टुक्रा खानु’ हो।

e उदाहरणका लागि, बाइबलले घिचुवापन र लोभलाई मूर्तिपूजासित तुलना गरेको छ।—फिलिप्पी ३:१८, १९; कलस्सी ३:५.

तपाईंले के बुझ्नुभयो?

• नबूकदनेसरले खडा गरेको मूर्तिको अगाडि शद्रक, मेशक र अबेद्‌नगोले घोप्टो पर्न किन इन्कार गरे?

• तीन जना हिब्रूहरूले लिएको अडानप्रति नबूकदनेसरले कस्तो प्रतिक्रिया देखाए?

• यहोवाले तीन जना हिब्रूहरूको विश्‍वासको खातिर कस्तो इनाम दिनुभयो?

• शद्रक, मेशक र अबेद्‌नगोको सत्य कथामा ध्यान दिनुभएर तपाईंले के सिक्नुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ६८-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ७०-मा भएको चित्र]

१. बेबिलोनमा मन्दिरको धरहरा (जिगुरात)

२. मार्डुकको मन्दिर

३. मार्डुक (बायाँ) र नेबोलाई (दायाँ) ड्रागनमाथि उभिरहेका चित्रण गरिएको ताम्रपत्र

४. निर्माणकार्यको लागि ख्यातिप्राप्त नबूकदनेसरको चित्र कुँदिएको तक्मा

[पृष्ठ ७६-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ७८-मा भएको पृष्ठभरिको चित्र]