सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुई राजाको चिनारी परिवर्तन हुन्छ

दुई राजाको चिनारी परिवर्तन हुन्छ

अध्याय चौध

दुई राजाको चिनारी परिवर्तन हुन्छ

१, २. (क) कुन कुराले गर्दा एन्टियोकस चौथो रोमका मागहरू स्वीकार्न बाध्य हुन्छन्‌? (ख) अराम कहिले रोमी प्रान्त भयो?

 अरामी राजा एन्टियोकस चौथोले मिश्रमाथि आक्रमण गरेर आफूलाई राजा घोषित गर्छन्‌। मिश्री राजा टोलेमी छैठौंको निवेदनमा रोमले राजदूत कायस पोपिलियस लिनासलाई मिश्र पठाउँछन्‌। तिनको नेतृत्वमा एउटा ठूलो नौसेना र रोमी संसदले पठाएको आदेश पनि छ। त्यसमा एन्टियोकस चौथोलाई मिश्रको राजपाट त्यागेर देश छोड्‌ने आदेश दिइएको छ। एलेक्जान्ड्रियाको शहरबाहिर इल्युसेजमा अरामी राजा र रोमी राजदूतको मुठभेड हुन्छ। एन्टियोकस चौथोले आफ्ना सल्लाहकारहरूको राय लिन समय माग्छन्‌ तर लिनासले राजालाई बीचमा पारेर एउटा घेरा कोर्छन्‌ र त्यो रेखा पार नगरी जवाफ दिनुपर्ने दबाउ दिन्छन्‌। यसरी, अपमानित हुनुपरेको एन्टियोकस चौथोले रोमीहरूको कुरा मान्छन्‌ र सा.यु.पू. १६८ मा अराम फर्कन्छन्‌। यसरी उत्तरका सिरियाली राजा र दक्षिणका मिश्री राजाबीचको दुस्मनी अन्त हुन्छ।

मध्यपूर्वको क्रियाकलापमा प्रमुख भूमिका निर्वाह गर्दै रोमले अरामलाई आफ्नो नियन्त्रणमा राख्छ। यसर्थ, सा.यु.पू. १६३ मा एन्टियोकस चौथोको मृत्युपछि सेल्युकाली राजकुलका अरू राजाहरूले अराममाथि शासन गरे तापनि तिनीहरूले “उत्तरका राजा[को]” भूमिका निर्वाह गर्दैनन्‌। (दानियल ११:१५) अन्ततः अराम, सा.यु.पू. ६४ मा रोमी प्रान्त बन्छ।

३. रोमले कहिले अनि कसरी मिश्रमाथि प्रभुत्व जमायो?

मिश्रको टोलेमी राजकूलले एन्टियोकस चौथोको मृत्युपछि लगभग १३० वर्षसम्म “दक्षिणका राजाको” भूमिका निर्वाह गर्छन्‌। (दानियल ११:१४) सा.यु.पू. ३१ मा एक्टियमको युद्धमा रोमी शासक अक्टेभियनले अन्तिम टोलेमी रानी, क्लीयोपात्रा सातौं र तिनको रोमी प्रेमी, मार्क एन्टोनीको संयुक्‍त सैन्यदललाई पराजित गर्छन्‌। त्यसपछिको साल क्लीयोपात्राले आत्महत्या गरिन्‌ र त्यसै सालदेखि मिश्र पनि रोमी प्रान्त भयो अनि मिश्रले दक्षिणको राजाको भूमिका निर्वाह गर्न छोड्यो। सा.यु.पू. ३० तिर रोमले अराम र मिश्र दुवैमाथि प्रभुत्व जमाइसकेको थियो। के अब हामी अरू शासनले उत्तरका राजा र दक्षिणका राजाको भूमिका निर्वाह गर्ने आशा गर्न सक्छौं?

नयाँ राजाले “एक जना कर उठाउने व्यक्‍तिलाई” पठाउँछन्‌

४. उत्तरका राजाको भूमिका अर्कै शासकले निर्वाह गर्ने थियो भनी हामी किन आशा गर्न सक्छौं?

सा.यु. ३३ को वसन्तऋतुमा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जब तिमीहरूले दानियल अगमवक्‍ताबाट बोलिएको उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला . . . तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।” (मत्ती २४:१५, १६) दानियल ११:३१ बाट उद्धरण गर्दै येशूले आफ्ना अनुयायीहरूलाई भविष्यमा देखा पर्ने ‘उजाड गर्ने घृणित कुराबारे’ चेताउनी दिनुभयो। उत्तरका राजासम्बन्धी यो भविष्यवाणी राजाको भूमिका निर्वाह गर्ने अन्तिम अरामी राजा, एन्टियोकस चौथोको मृत्यु भएको १९५ वर्षपछि गरिएको थियो। निस्सन्देह, अर्को शासकले उत्तरका राजाको भूमिका निर्वाह गर्नुपर्ने थियो। त्यो को हुने थियो?

५. एन्टियोकस चौथोले ओगटेको ठाउँमा देखा परेको उत्तरका राजा को थिए?

यहोवा परमेश्‍वरको स्वर्गदूतले यस्तो अगमवाणी गरे: “शाही वैभवलाई कायम राख्न [एन्टियोकस चौथोका] उत्तराधिकारीले एक जना कर उठाउने व्यक्‍तिलाई पठाउनेछन्‌। तर केही वर्षमा नै कुनै रीसभाव वा लडाइँमा नपरीकनै यिनी नाश गरिनेछन्‌।” (दानियल ११:२०, नयाँ संशोधित संस्करण) यसरी ‘पठाइएको’ व्यक्‍ति, प्रथम रोमी सम्राट अक्टेभियन थिए। तिनी सिजर अगस्तस भनेर पनि चिनिन्थे।—पृष्ठ २४८ मा “एक जना सम्मानित, अर्का तिरस्कृत” भन्‍ने पेटी हेर्नुहोस्‌।

६. (क) “शाही वैभव” कायम राख्न “एक जना कर उठाउने व्यक्‍तिलाई” कहिले पठाइयो र यसको महत्त्व के थियो? (ख) अगस्तस “कुनै रीसभाव वा लडाइँमा” मरेनन्‌ भनेर किन भन्‍न सकिन्छ? (ग) उत्तरका राजाको चिनारीमा कस्तो परिवर्तन आयो?

अगस्तसको “शाही वैभव[मा]” रोमी प्रान्त, यहूदिया अर्थात्‌ “असल देश” पनि समावेश थियो। (दानियल ११:१६) सा.यु.पू. २ मा अगस्तसले कर तिर्न सक्ने र सेनामा भर्ती हुन सक्नेहरू कति छन्‌ भनी जान्‍ने उद्देश्‍यले मानिसहरूको नाउँ दर्ता गर्न अथवा जनगणना लिन “एक जना कर उठाउने व्यक्‍तिलाई” पठाए। यस्तो आदेशले गर्दा यूसुफ र मरियम नाउँ दर्ता गर्न बेतलेहेम गए र भविष्यवाणी गरिएकै ठाउँमा येशूको जन्म भयो। (मीका ५:२; मत्ती २:१-१२) सा.यु. १४ अगस्त महिनामा यो आदेश जारी गरेको धेरै समय नबित्दै अथवा “केही वर्षमा” ७६ वर्षको उमेरमा “कुनै रीसभाव” वा “लडाइँ[बाट]” नभई रोगबिमारले गर्दा अगस्तसको मृत्यु भयो। उत्तरका राजाले साँच्चै आफ्नो चिनारी बदलिसकेको थियो! यो राजा अब सम्राटहरूको रोमी साम्राज्य भइसकेको थियो।

‘तिरस्कृत व्यक्‍तिले स्थान लिन्छन्‌’

७, ८. (क) अगस्तसको ठाउँमा कसले उत्तरका राजाको भूमिका निर्वाह गरे? (ख) “शाही सम्मान” किन नचाहँदा नचाहँदै पनि अगस्तस सिजरका उत्तराधिकारीलाई दिइयो?

भविष्यवाणीलाई अझ अघि बढाउँदै स्वर्गदूतले यसो भने: “शाही सम्मान नपाएको एक तिरस्कृत व्यक्‍तिद्वारा उनको [अगस्तसको] स्थान लिइनेछ। जब मानिसहरूले सुरक्षाको महसुस गरिरहेका हुनेछन्‌, त्यसले त्यस राज्यमाथि आक्रमण गर्नेछ र त्यसले षड्यन्त्रद्वारा त्यस राज्यलाई लिनेछ। त्यसपछि त्यसको सामु एउटा शक्‍तिशाली सेना खतम पारिनेछ, र साथै करारका राजकुमार पनि नाश गरिनेछन्‌।”—दानियल ११:२१, २२, नयाँ संशोधित संस्करण।

अगस्तसकी तेस्रो पत्नी, लिभियाका छोरा टाइबेरियस सिजर नै यो “तिरस्कृत व्यक्‍ति” थिए। (पृष्ठ २४८ मा “एक जना सम्मानित, अर्को तिरस्कृत” हेर्नुहोस्‌।) अगस्तसलाई यो सौतेला छोराका नराम्रा बानीहरूले गर्दा पटक्कै मन पर्दैनथ्यो र आफ्नो मृत्युपछि तिनी सिजर बनेको चाहँदैनथे। तिनका उत्तराधिकारीहरू सबैको मृत्यु भएर कोही पनि बाँकी नभएको हुँदा, नचाहँदा नचाहँदै तिनलाई “शाही सम्मान” दिइएको थियो। अगस्तसले सा.यु. ४ मा टाइबेरियसलाई स्वीकारे अनि राजगद्दीको उत्तराधिकारी बनाए। अगस्तसको मृत्युपछि ५४ वर्षीय टाइबेरियस अर्थात्‌ तिरस्कृत व्यक्‍तिले ‘स्थान लिए’ र रोमी सम्राट अनि उत्तरका राजाको भूमिका निर्वाह गरे।

९. टाइबेरियसले कसरी ‘षड्यन्त्रद्वारा त्यस राज्यलाई लिए’?

द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “टाइबेरियसले संसदसित राजनैतिक चाल चलेर [अगस्तसको मृत्यु भएको] एक महिनापछिसम्म पनि आफूलाई सम्राट घोषणा गर्न दिएनन्‌।” तिनले संसदलाई, अगस्तसबाहेक रोमी साम्राज्यमाथि शासन गर्नसक्ने अरू कोही छैन भने। अनि त्यस्तो अधिकार कुनै व्यक्‍तिलाई होइन तर समूहलाई दिई गणतन्त्र शासन प्रणाली बनाउन सांसदहरूलाई आग्रह गरे।” इतिहासकार विल डुरान्टले यसप्रकार लेखे, “तिनको यस्तो कुरा स्वीकार्न संसदले आँट गरेन र तिनले यो ओहदा नस्वीकारुञ्जेल बिन्तीभाउ गरिरह्‍यो।” डुरान्टले अझ यसो भने: “यो दुवै पक्षले चालेको राम्रो चाल थियो। टाइबेरियस पुरातन रोमी सम्राटहरूको शासन प्रणाली चाहन्थे अथवा आफूले चाहेको कुरा प्राप्त नहुने संकेत देखेको खण्डमा त्यसको विरोध गर्ने थिए; संसद तिनीसित डराउँथ्यो र तिनलाई मन पनि पराउँदैनथ्यो। अर्कोतिर संसदले सैद्धान्तिक सार्वभौम विधायकको आधारमा पुरातन समयको जस्तो गणतन्त्र पनि स्थापित गर्न चाहँदैनथ्यो।” यसरी टाइबेरियसले ‘षड्यन्त्रद्वारा त्यस राज्यलाई लिए।’

१०. ‘एउटा शक्‍तिशाली सेनालाई’ कसरी खतम पारियो?

१० “एउटा शक्‍तिशाली सेना” अर्थात्‌ वरपरका राष्ट्रहरूको सैन्यदलबारे स्वर्गदूतले यसो भने: ‘त्यसले खतम पार्नेछ।’ टाइबेरियस, उत्तरका राजा हुँदा तिनका भानिज जर्मानिकस सिजर, राइन नदीमा तैनाथ रोमी सेनाको सेनापति थिए। सा.यु. १५ मा जर्मानिकसले जर्मन वीर, आर्मिनियस विरुद्ध आफ्नो सैन्यदल परिचालन गरे तापनि खासै सफलता हासिल गर्न सकेनन्‌। तथापि, तिनले हासिल गरेका केही सफलताहरूको लागि पनि ठूलो मोल चुकाउनुपऱ्‍यो। त्यसैकारण, टाइबेरियसले जर्मनीमाथि आक्रमण गर्न छोडे। बरु, तिनले गृहयुद्ध मच्चाएर जर्मन जनजातीहरूलाई एकताबद्ध हुन नदिने प्रयास गरे। टाइबेरियसले प्रायजसो रक्षात्मक विदेशी नीति अपनाएर आफ्नो सीमा बलियो बनाउन खोजे। यो नीति सफल साबित भयो। यसरी “एउटा शक्‍तिशाली सेना[माथि]” नियन्त्रण जमाइयो अनि “खतम” पारियो।

११. “करारका राजकुमार[लाई]” कसरी “नाश” गरियो?

११ पृथ्वीका सबै परिवारहरूलाई आशिष्‌ दिन यहोवा परमेश्‍वरले अब्राहामसित बाँध्नुभएको “करारका राजकुमार” पनि “नाश” गरियो। त्यस करारमा प्रतिज्ञा गरिएको अब्राहामको वंश येशू ख्रीष्ट हुनुहुन्थ्यो। (उत्पत्ति २२:१८; गलाती ३:१६) सा.यु. ३३ नीसान १४ का दिन येशूलाई यरूशलेममा रोमी राज्यपालको दरबारमा पोन्तियस पिलातसको सामु हाजिर गराइयो। यहूदी पूजाहारीहरूले येशूमाथि राजद्रोहको आरोप लगाएका थिए। तर येशूले पिलातसलाई यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन। . . . मेरो राज्य यहाँको होइन।” रोमी राज्यपालले निर्दोष येशूलाई मुक्‍त नगरून्‌ भन्‍ने हेतुले यहूदीहरू यसो भन्दै चिच्च्याए: “यदि तपाईंले यस मानिसलाई छोड़िदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍न। आफैलाई राजा बनाउने प्रत्येक सिजरका विरुद्धमा बोल्छ।” येशूको मृत्युदण्डको माग गरिसकेपछि तिनीहरूले यसो भने: “सिजरबाहेक हाम्रा अरू राजै छैन।” “सम्राटको विरोध गर्न नपाइने” नियममा टाइबेरियसले सिजर विरुद्ध कुनै पनि अपमानजनक कुरा गर्न नपाइने कुरा समावेश गरेका थिए। यसैकारण, येशूलाई “खतम” गर्न अथवा शूलीमा लट्‌काएर मार्न सुम्पियो।—यूहन्‍ना १८:३६; १९:१२-१६; मर्कूस १५:१४-२०.

निरंकुश शासकले ‘षड्यन्त्र गर्छन्‌’

१२. (क) टाइबेरियससित कसले सन्धि गऱ्‍यो? (ख) टाइबेरियसले कसरी ‘थोरै मानिसहरूसहित अधिकार जमाए?’

१२ टाइबेरियसबारे अझै भविष्यवाणी गर्दै स्वर्गदूतले यसो भने: “त्यससँग सन्धि गरिसकेपछि त्यसले छलपूर्ण तरीकाले काम गर्नेछ र थोरै मानिसहरूसहित त्यसले अधिकार जमाउनेछ।” (दानियल ११:२३, नयाँ संशोधित संस्करण) रोमी संसदका सदस्यहरूले संवैधानिक तवरमै टाइबेरियससित ‘सन्धि गरे।’ तिनी आधिकारिक तवरमा सबै कुरामा तिनीहरूमाथि नै निर्भर थिए। तर तिनी छली भएको हुँदा तिनले ‘थोरै मानिसहरूसहित अधिकार जमाए।’ त्यो थोरै मानिस, रोमी पर्खाल छेवैको रोमन प्रेटोरियन गार्ड थियो। यसरी नजिक राखिएको गार्डले गर्दा संसदलाई डर हुन्थ्यो। अनि टाइबेरियसले जनसाधारणबाट उठ्‌नसक्ने विरोधलाई कडा निगरानीमा राख्न सके। तसर्थ, लगभग १०,००० सुरक्षाकर्मीहरूको आडले गर्दा टाइबेरियस शक्‍तिशाली भए।

१३. कुन कुरामा टाइबेरियसले आफ्ना पुर्खाहरूलाई उछिने?

१३ स्वर्गदूतले यसरी थप भविष्यसूचक जानकारी दिए: “सबैभन्दा धनी प्रान्तहरूले सुरक्षाको महसुस गरिराखेको बेला त्यसले तिनीहरूमाथि आक्रमण गर्नेछ, र त्यसका पिता-पुर्खाहरूले नगरेका काम त्यसले गर्नेछ। त्यसले लुटेका सामान र सम्पत्तिहरू आफ्नो पछि लाग्नेहरूका बीचमा बाँड्‌नेछ। त्यसले किल्लाहरूका हारको निम्ति षडयन्त्र गर्नेछ—तर थोरै समयको लागि मात्र।” (दानियल ११:२४, नयाँ संशोधित संस्करण) टाइबेरियस असाध्यै शंकालु थिए अनि तिनले आफ्नो शासनकालमा धेरैको हत्या गर्ने आदेश दिए। मुख्यतया रोमी शाही गार्ड अर्थात्‌ प्रेटोरियन गार्डका सेनापति, सेजानसको प्रभावले गर्दा तिनको शासनकालको अन्ततिरको समय डर र त्रासले भरिएको थियो। अन्ततः सेजानस पनि सम्राटको शंकाको सिकार भए र मारिए। प्रजाहरूमाथि निरंकुश व्यवहार गर्ने सन्दर्भमा टाइबेरियसले आफ्ना पुर्खाहरूलाई उछिने।

१४. (क) टाइबेरियसले कसरी “लुटेका सामान र सम्पत्तिहरू” रोमी प्रान्तहरूमा बाँडे? (ख) टाइबेरियसको मृत्यु हुँदा तिनी के भनेर चिनिए?

१४ तथापि, टाइबेरियसले “लुटेका सामान र सम्पत्तिहरू” रोमी प्रान्तभरि बाँडे। तिनको मृत्यु होऊञ्जेलसम्ममा तिनका सबै प्रजाहरूको फलिफाप भइरहेको थियो। कर चर्को थिएन अनि कठिनाइ भोगिरहेका जनताहरूसित तिनी उदार पनि हुन्थे। सिपाही वा हाकिमहरूले कसैलाई थिचोमिचो वा भ्रष्टाचार गरेको खण्डमा तिनीहरूले शाही क्रोध भोग्नुपर्न सक्थ्यो। राज्यशक्‍तिमाथिको बलियो पकडले गर्दा सार्वजनिक सुरक्षा थियो र सञ्चारमाध्यममा भएको विकासले गर्दा अर्थतन्त्र फस्टायो। टाइबेरियसले रोमभित्र र बाहिर निष्पक्ष तथा सुचारुरूपले शासन व्यवस्था चलाए। नियमकानुनहरू सुधारिए अनि अगस्तस सिजरले स्थापना गरेका सुधार नीतिले सामाजिक तथा नैतिक नीतिनियमहरू अझ सुदृढ बनायो। यद्यपि, टाइबेरियसले अनेकन्‌ ‘षड्यन्त्र’ गरेको हुँदा रोमी इतिहासकार टासिटसले तिनलाई अरूलाई छक्याउन खप्पिस अनि ढोंगी भने। सा.यु. ३७ मार्चमा तिनको मृत्यु हुँदा टाइबेरियस निरंकुश शासक थिए भनेर चिनिए।

१५. सा.यु. प्रथम शताब्दीको अन्त र दोस्रो शताब्दीको सुरुतिर रोमको अवस्था कस्तो थियो?

१५ उत्तरका राजाको भूमिका निर्वाह गर्ने, टाइबेरियसका उत्तराधिकारीहरूमा गायस सिजर (कालिगुला), क्लडियस प्रथम, नेरो, भेस्पासियन, टाइटस, डोमिसियन, नर्भा, ट्राजान र हेड्रियन पर्छन्‌। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “प्रायजसो अवस्थामा अगस्तसका उत्तराधिकारीहरूले तिनका प्रशासकीय नीतिनियम र निर्माण कार्यक्रमहरूलाई कायम गरे तापनि तिनको जस्तो जोस देखाएनन्‌ बरु झन्‌ तिनले भन्दा धेरै देखावटी कामहरू गरे।” त्यही पुस्तक अझ यसो भन्छ: “प्रथम शताब्दीको अन्त र दोस्रो शताब्दीको सुरुतिर रोम वैभव र जनसंख्याको पराकाष्ठामा पुगिसकेको थियो।” त्यतिबेलातिर रोमका शाही सिमानानेर केही समस्याहरू उत्पन्‍न भए तापनि भविष्यवाणी गरिएअनुसार दक्षिणका राजासित प्रथम मुठभेड सा.यु. तेस्रो शताब्दीमा मात्रै भयो।

दक्षिणका राजा विरुद्ध उक्साइएका

१६, १७. (क) दानियल ११:२५ मा उल्लिखित उत्तरका राजाको भूमिका कसले निर्वाह गऱ्‍यो? (ख) दक्षिणका राजाको भूमिका कसले निर्वाह गऱ्‍यो र यो कसरी हुन गयो?

१६ परमेश्‍वरको स्वर्गदूतले भविष्यवाणीलाई अगाडि बढाउँदै यसो भने: “ठूलो सेनाका साथ दक्षिणका राजाको विरुद्ध [उत्तरका राजाले] आफ्नो बल र साहसलाई उत्तेजित पार्नेछ। दक्षिणका राजाले एक विशाल र अत्यन्तै शक्‍तिशाली सेना उठाएर लडाइँ गर्नेछन्‌, तर उनको विरुद्धमा रचिएका षडयन्त्रको कारण [उत्तरका राजा] खडा हुन सक्नेछैनन्‌। उनकै खाना खानेहरूले उनलाई नष्ट पार्न प्रयत्न गर्नेछन्‌। उनको सेना परास्त गरिनेछ र धेरै जना लडाइँमा मर्नेछन्‌।”—दानियल ११:२५, २६, नयाँ संशोधित संस्करण।

१७ अक्टेभियनले मिश्रलाई रोमी प्रान्त बनाएको लगभग ३०० वर्षपछि रोमी सम्राट अरेलियनले उत्तरका राजाको भूमिका निर्वाह गरे। त्यतिञ्जेल, रोमी प्रान्त पाल्मीराकी रानी सेप्टिमिया जेनोबियाले दक्षिणका राजाको भूमिका निर्वाह गरिन्‌। a (पृष्ठ २५२ मा “जेनोबिया—पाल्मीराकी योद्धा रानी” हेर्नुहोस्‌।) रोमलाई सुरक्षा प्रदान गर्ने बहानामा पाल्मीराको सेनाले सा.यु. २६९ मा मिश्रमाथि कब्जा जमायो। जेनोबिया, पाल्मीरालाई पूर्वको प्रमुख शहर बनाएर रोमका पूर्वी प्रान्तहरूमाथि शासन गर्न चाहन्थिन्‌। जेनोबियाको महत्त्वाकांक्षा देखेर अरेलियनले तिनी विरुद्ध “आफ्नो बल र साहस” बढाए।

१८. उत्तरका राजा, सम्राट अरेलियन र दक्षिणका राजा, रानी जेनोबियाबीच भएको दुस्मनीको परिणाम कस्तो भयो?

१८ जेनोबियाको राजशासनको नेतृत्वमा गएको दल, अर्थात्‌ दक्षिणका राजा आफ्ना दुई जना सेनापति जब्दास र जब्बै अनि “एक विशाल र अत्यन्तै शक्‍तिशाली सेना” लिएर उत्तरका राजा विरुद्ध युद्ध गर्न ‘उत्प्रेरित भए’ तर अरेलियनले मिश्रलाई आफ्नो कब्जामा लियो र एसिया माइनर अनि अरामतिर अघि बढ्यो। जेनोबियालाई एमिसामा (हाल होम्स) परास्त गरियो र त्यसपछि तिनी पाल्मीरा फर्किन्‌। अरेलियनले त्यस शहरलाई घेरा लाउँदा जेनोबियाले साहसी भई प्रतिरोध गरिन्‌ तर सफल भने हुन सकिनन्‌। तिनी र तिनको छोरा फारसतिर भागे तर रोमीहरूले तिनीहरूलाई यूफ्रेटिस नदीमा पुग्दा पक्रे। पाल्मीरावासीहरूले सा.यु. २७२ मा आत्मसमर्पण गरे। अरेलियनले जेनोबियाको ज्यान लिएनन्‌ तर सा.यु. २७४ को विजय जुलुसको प्रमुख आकर्षण नै जेनोबियालाई बनाए। रोमीसित विवाह गरेर तिनले प्रतिष्ठित जीवन बिताइन्‌।

१९. आफ्नो “विरुद्धमा रचिएका षड्यन्त्रको कारण” अरेलियनको कसरी पतन भयो?

१९ अरेलियन पनि ‘तिनको विरुद्धमा रचिएको षड्यन्त्रको कारण खडा हुन सकेनन्‌।’ सा.यु. २७५ मा तिनी फारसीहरू विरुद्ध आक्रमण गर्न तम्सिए। एसिया माइनरमा प्रवेश गर्न थ्रेसमा मौका कुरिरहेको बेला तिनकै ‘खाना खानेहरूले’ तिनी विरुद्ध षडयन्त्र रचेर तिनलाई “परास्त” गरे। तिनले यस्ता गोलमालहरूको लेखा लिन आफ्नो सचिव एरोसलाई दण्ड दिने विचार गर्दैथिए। तथापि, एरोसले मृत्युदण्ड दिन छुट्याइएकाहरू भनी केही खास खास हाकिमहरूको नाउँ लेखेर नकली सूची तयार पारे। यस्तो सूची देखेपछि ती हाकिमहरूले अरेलियनको हत्या गर्ने षड्यन्त्र रचे।

२०. उत्तरका राजाको “सेना” कसरी “परास्त” भयो?

२० सम्राट अरेलियनको मृत्युपछि उत्तरका राजाको शासन अन्त भएन। त्यसपछि अरू रोमी शासकहरू देखा परे। केही समयको लागि पश्‍चिम र पूर्वमा दुई बेग्लाबेग्लै सम्राटहरू थिए। उत्तरबाट आएका जर्मन जनजातीहरूको आक्रमणले गर्दा यी सम्राटहरूको अधीनमा उत्तरका राजाको “सेना” “परास्त” अथवा “तितरबितर” b पारियो र थुप्रै ‘लडाइँमा मारिए।’ गथहरूले सा.यु. चौथो शताब्दीमा रोमी सीमा तोडे। एकपछि अर्को आक्रमणहरू भइरह्‍यो। सा.यु. ४७६ मा जर्मन नेता ओडासरले रोमका अन्तिम सम्राटलाई पदच्युत गरे। छैठौं शताब्दीको सुरुतिर पश्‍चिमको रोमी साम्राज्य भताभुंग भइसकेको थियो र ब्रिटानिया, गल, इटाली, उत्तर अमेरिका र स्पेनमा जर्मन राजाहरूले शासन गर्न थाले। रोमी साम्राज्यको पूर्वी भाग भने १५ औं शताब्दीसम्म यथावत्‌ रह्‍यो।

एउटा ठूलो साम्राज्य टुक्रियो

२१, २२. सा.यु. चौथो शताब्दीमा कन्स्टान्टिनले कस्ता परिवर्तनहरू गरे?

२१ निकै शताब्दीसम्म शासन गर्ने रोमी साम्राज्यको पतनबारे अनावश्‍यक विवरणहरू नदिई यहोवाको स्वर्गदूतले उत्तरका राजा र दक्षिणका राजाका अन्य पराक्रमहरूबारे भविष्यवाणी गरे। तथापि, समयको दौडान रोमी साम्राज्यमा भएका केही घटनाक्रम केलायौं भने पछि देखा पर्ने यी दुई दुस्मन राजाहरू को हुन्‌ भनेर चिन्‍न सक्नेछौं।

२२ चौथो शताब्दीमा रोमी सम्राट कन्स्टान्टिनले धर्मत्यागी मसीहीजगत्‌लाई राष्ट्र सरहको मान्यता दिए। तिनी आफैले सा.यु. ३२५ मा एसिया माइनरको नाइसियामा चर्च निकायको सभा बोलाएर त्यसको अध्यक्षता समेत गरे। पछि, कन्स्टान्टिनले शाही दरबार रोमबाट बाइजान्टियम अथवा कन्स्टान्टिनोपलमा सारे र यसैलाई नयाँ राजधानी बनाए। सा.यु. ३९५ जनवरी १७ तारिखका दिन, सम्राट थियोडोसियस प्रथमको मृत्यु नहोऊञ्जेलसम्म रोमी साम्राज्य एकल सम्राटको अधीनमा थियो।

२३. (क) थियोडोसियसको मृत्युपछि रोमी साम्राज्यमा कस्तो विभाजन भयो? (ख) पूर्वी साम्राज्यको कहिले अन्त भयो? (ग) मिश्रमाथि १५१७ तिर कसले शासन गऱ्‍यो?

२३ थियोडोसियसको मृत्युपछि रोमी साम्राज्य तिनका दुई छोराहरूमा बाँडियो। हनरियसले पश्‍चिमी भाग र आर्काडियसले पूर्वी भाग लिए। पूर्वी भागको राजधानी चाहिं कन्स्टान्टिनोपल नै रह्‍यो। पश्‍चिमी भागमा परेका प्रान्तहरू ब्रिटानिया, गल, इटाली, स्पेन र उत्तर अफ्रिका थिए। पूर्वी भागमा परेका प्रान्तहरू भने म्यासिडोनिया, थ्रेस, एसिया माइनर, अराम र मिश्र थिए। सा.यु. ६४२ मा मिश्री राजधानी, एलेक्जान्ड्रिया, सारासेनहरूको (अरबीहरू) हातमा पऱ्‍यो र मिश्र खलिफाहरूको प्रान्त भयो। जनवरी १४४९ मा कन्स्टान्टिन एघारौं पूर्वका अन्तिम सम्राट भए। सुलतान मेमेद द्वितीयको नेतृत्वमा ओटोम्यान तुर्कीहरूले मे २९, १४५३ मा कन्स्टान्टिनोपल आफ्नो कब्जामा लिएपछि पूर्वी रोमी साम्राज्यको अन्त भयो। सन्‌ १५१७ मा मिश्र, टर्कीको प्रान्त भयो। तर समयको दौडान दक्षिणका पुरातन राजाको यो भूमि, पश्‍चिमी इलाकाका अर्कै साम्राज्यको अधीनमा हुने थियो।

२४, २५. (क) केही इतिहासकाहरूका अनुसार पवित्र रोमी साम्राज्यको सुरुआत कुन घटनाबाट भयो? (ख) पवित्र रोमी साम्राज्यको “सम्राट” भन्‍ने पदवी पछि गएर के भयो?

२४ रोमी साम्राज्यको पश्‍चिमी इलाकामा रोमको क्याथोलिक पादरी, मुख्यतया पोप लियो प्रथम देखा परे। तिनी सा.यु. पाँचौं शताब्दीमा पोपतन्त्र घोषणा गर्ने पादरीको रूपमा प्रख्यात छन्‌। समय बित्दै जाँदा पोपले पश्‍चिमी इलाकाको सम्राटलाई राज्याभिषेक गर्ने काम पनि आफ्नै जिम्मामा लिए। यो, सा.यु. ८०० क्रिसमसका दिन भयो जब पोप लियो तृतीयले फ्रांकेली राजा चार्ल्सलाई (चार्लमेन) नयाँ पश्‍चिमी रोमी साम्राज्यको सम्राट बनाउन राज्याभिषेक गरे। यो राज्याभिषेकले रोममा सम्राटतन्त्र पुनः स्थापित भयो र केही इतिहासकारहरूका अनुसार पवित्र रोमी साम्राज्यको सुरुआत पनि भयो। त्यस बेलादेखि पूर्वी साम्राज्य र पश्‍चिममा पवित्र रोमी साम्राज्यको सुरुआत भयो। यी दुवै ठाउँका मानिसहरूले मसीही हौं भन्‍ने दाबी गर्थे।

२५ समय बित्दै जाँदा, चार्लमेनका उत्तराधिकारीहरू काम नलाग्ने शासक साबित भए। एक चोटि त सम्राटको पदसमेत रिक्‍त भयो। त्यतिञ्जेल जर्मन राजा ओटो प्रथमले उत्तरी र मध्य इटालीका प्रायजसो भागमाथि आफ्नो नियन्त्रण जमाइसकेका थिए। तिनले आफूलाई इटालीका राजा घोषित गरे। सा.यु. ९६२ फेब्रुअरी २ का दिन, पोप जोन बाह्रौंले ओटो प्रथमलाई पवित्र रोमी साम्राज्यको सम्राट घोषित गरे। यसको राजधानी जर्मनी थियो, यसका सम्राट र अधिकांश प्रजाहरू जर्मन थिए। पाँच शताब्दीपछि हाप्सवर्गको अस्ट्रियन परिवारले “सम्राट” भन्‍ने पदवी पाए र पवित्र रोमी साम्राज्य अस्तित्वमा रहुञ्जेल शासन गरिरहे।

दुई राजाको चिनारी फेरि स्पष्ट हुन्छ

२६. (क) पवित्र रोमी साम्राज्यको अन्तबारे के भन्‍न सकिन्छ? (ख) उत्तरका राजाको हैसियतमा को देखा परे?

२६ नेपोलियन प्रथमले सन्‌ १८०५ को दौडान जर्मनी कब्जा गरेपछि पवित्र रोमी साम्राज्यको अस्तित्व स्वीकार्न इन्कार गर्दा रोमी साम्राज्यलाई ठूलो आघात पुग्यो। आफ्नो राजकीय पद जोगाउन असफल भएका सम्राट फ्रान्सिस द्वितीयले अगस्त ६, १८०६ का दिन रोमी शाही ओहदाबाट राजिनामा दिए अनि अस्ट्रियाका सम्राटको हैसियतमा राष्ट्रिय सरकारको जिम्मा लिए। रोमन क्याथोलिक पोप, लियो तृतीय र फ्रांकेली राजा, चार्लमेनले स्थापना गरेको पवित्र रोमी साम्राज्य १,००६ वर्षपछि अन्त भयो। सन्‌ १८७० मा भ्याटिकनबाट मुक्‍त स्वतन्त्र राज्य इटालीको राजधानी रोम भयो। त्यसपछिको साल, भिलहेल्म प्रथमलाई सिजर वा कैसर घोषणा गरेपछि जर्मन साम्राज्य सुरु भयो। यसरी वर्तमान समयको उत्तरका राजा, अर्थात्‌ जर्मनी देखा पऱ्‍यो।

२७. (क) मिश्र कसरी बेलाइत अधीनस्थ देश भयो? (ख) दक्षिणका राजाको स्थान कसले ओगट्यो?

२७ तर आधुनिक समयको दक्षिणका राजा को थिए? इतिहासले देखाएअनुसार ब्रिटेनले १७ औं शताब्दीमा शाही शक्‍ति ग्रहण गऱ्‍यो। बेलाइती व्यापार मार्गहरूमा दखल पुऱ्‍याउने मनसाय राखेर नेपोलियन प्रथमले १७९८ मा मिश्र कब्जा गरे। लडाइँ सुरु भयो र बेलाइती-ओटोम्यान संयुक्‍त सेनाले फ्रान्सेलीहरूलाई मिश्र छोड्‌न बाध्य तुल्यायो अनि यो लडाइँ सुरु हुँदा दक्षिणका राजा, बेलाइती-ओटोम्यान रहेछन्‌ भनेर प्रस्ट भयो। त्यसपछिको शताब्दीमा मिश्रमाथि बेलाइती प्रभुत्व बढ्‌दै गयो। सन्‌ १८८२ पछि मिश्र पूर्णतया बेलाइतको अधीनमा भयो। सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध सुरु हुँदा मिश्र, टर्कीको अधीनमा थियो र खेदिभ अथवा वाइसरायले शासन गर्थे। तथापि, त्यो युद्धमा टर्कीले जर्मनीलाई साथ दिएपछि बेलाइतले खेदिभलाई पदच्युत गरेर मिश्रलाई बेलाइत अधीनस्थ देश घोषित गऱ्‍यो। बेलाइत र संयुक्‍त राज्य अमेरिकाले आपसमा बलियो सम्बन्ध गाँस्दै लगेपछि एंग्लो-अमेरिकी विश्‍व शक्‍ति देखा पऱ्‍यो। ती दुवै संयुक्‍त रूपमा दक्षिणका राजा भए।

[फुटनोटहरू]

a “उत्तरका राजा” र “दक्षिणका राजा” पदवीहरू भएका कारण यसले राजा, रानी वा राष्ट्रहरूको समूहलगायत कुनै पनि शासन प्रणालीलाई बुझाउन सक्छ।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होलि स्क्रिप्चर्स—विथ रेफरेन्स-मा दानियल ११:२६ को पादटिप्पणी हेर्नुहोस्‌।

तपाईंले के बुझ्नुभयो?

• कुन रोमी सम्राट सर्वप्रथम उत्तरका राजाको रूपमा देखा परे र तिनले “कर उठाउने व्यक्‍तिलाई” कहिले पठाए?

• अगस्तसपछि उत्तरका राजा को भए र “करारका राजकुमार” कसरी “नाश” गरिए?

• उत्तरका राजा अरेलियन र दक्षिणका राजा जेनोबियाबीच संघर्षको परिणाम के भयो?

• रोमी साम्राज्यको हालत कस्तो भयो र १९ औं शताब्दीको अन्ततिर दुई राजाको भूमिका निर्वाह गर्ने शक्‍तिहरू को को भए?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४८-२५१-मा भएको पेटी/चित्र]

एक जना सम्मानित, अर्का तिरस्कृत

एक जना सम्राटले समस्याग्रस्त गणतन्त्रलाई विश्‍व साम्राज्य बनाए। अर्काले २३ वर्षको अवधिमा सम्राज्यलाई बीस गुणा धनी बनाए। एक जनाको मृत्यु हुँदा ठूलो सम्मान गरियो भने अर्काचाहिं तिरस्कृत भए। यी दुई रोमी सम्राटहरूको शासनकालमै येशूको जीवन र सेवकाई बित्यो। तिनीहरू को थिए? अनि किन एक जना सम्मानित र अर्काचाहिं तिरस्कृत भए?

तिनले “ढुंगाको रोमलाई संगमरमरले सिंगारे”

सा.यु.पू. ४४ मा जुलियस सिजरको हत्या हुँदा तिनको बहिनीका नाति गायस अक्टेभियन भर्खर १८ वर्ष पुगेका थिए। जुलियस सिजरको धर्मपुत्र र तिनको प्रमुख निजी उत्तराधिकारी भएको हुँदा अक्टेभियनले रोमसित आफ्नो अंश दाबी गर्न कुनै ढिलासुस्ती गरेनन्‌। त्यहाँ तिनले एक जना शक्‍तिशाली विरोधीको सामना गर्नुपऱ्‍यो। तिनी थिए, सिजरका प्रमुख लप्टन मार्क एन्टोनी जो जुलियस सिजरको उत्तराधिकारी बन्‍ने आशामा थिए। त्यसपछि १३ वर्षसम्म राजनैतिक जालसाजी र शक्‍ति संघर्ष चल्यो।

मिश्री रानी क्लीयोपात्रा र तिनको प्रेमी मार्क एन्टोनीको (सा.यु.पू. ३१ मा) संयुक्‍त सेनालाई परास्त गरेपछि मात्र अक्टेभियन, रोमी साम्राज्यको निर्विरोध शासक हुन सके। त्यसपछिको साल एन्टोनी र क्लीयोपात्राले आत्महत्या गरे अनि अक्टेभियनले मिश्रलाई रोममा गाभे। यसरी युनान साम्राज्यको अन्तिम चिनो हटाइयो अनि रोम, विश्‍व शक्‍ति बन्यो।

जुलियस सिजरको एकलौटी शासनले गर्दा तिनको हत्या गरिएको कुरा अक्टेभियनलाई राम्ररी थाह भएको हुँदा अक्टेभियन त्यस्तो गल्ती दोहऱ्‍याउनदेखि सतर्क थिए। गणतन्त्र मन पराउने रोमी भावनामा धक्का नपुऱ्‍याउन तिनले राजतन्त्रलाई बाहिरबाट गणतन्त्रीय शासनले लपेटे। तिनले “राजा” र “तानाशाह” भन्‍ने पदवी धारण गर्न अस्वीकार गरे। यसबाहेक, आफूले अधिकार जमाएका सबै प्रान्तहरू रोमी संसदलाई सुम्पन अनि आफ्नो ओहदाबाट राजिनामा दिनसमेत तयार रहेको कुरा व्यक्‍त गरे। यो दाउपेच सफल भयो। यस्तो कदम चाल्न तयार राजाप्रति मूल्यांकन व्यक्‍त गर्दै संसदले अक्टेभियनलाई ओहदा नत्याग्न र केही प्रान्तहरूमाथि नियन्त्रण कायम राख्न आग्रह गरे।

साथै, सा.यु.पू. २७, जनवरी १६ का दिन संसदले अक्टेभियनलाई “अगस्तस” भन्‍ने पदवी दियो र त्यसको अर्थ हो, “महिमित, पवित्र।” अक्टेभियनले यो पदवी स्वीकार्नुको साथै आफ्नै नाउँबाट एउटा महिनाको नामाकरण गरे अनि फेब्रुअरीबाट एक दिन सापटी लिएर अगस्त महिनामा थपे। यसो गर्दा जुलियस सिजरको नाउँबाट राखिएको जुलाई र अगस्त दुवै महिनामा बराबर दिन हुने थियो। यसरी अक्टेभियन रोमको पहिलो सम्राट भए अनि त्यसपछि तिनी सिजर अगस्तस अथवा “महिमित जन” भनेर चिनिए। पछि तिनले “पोन्टिफेक्स म्याक्सिमस” (प्रधान पूजाहारी) भन्‍ने पदवी पनि ग्रहण गरे अनि येशू जन्मिएको वर्ष, सा.यु.पू. २ मा संसदले तिनलाई पाटर पाट्री अथवा “राष्ट्रपिता” भन्‍ने पदवी पनि दिए।

त्यही वर्ष “सिजर अगस्तसले सारा जगत्‌को जनसंख्या लिनू भन्‍ने उर्दी गरे। . . . औ सबै जना नाउँ लेखाउनालाई आफ्नो आफ्नो शहर गए।” (लूका २:१-३) यो उर्दीको कारण भविष्यवाणीअनुसारै येशू बेतलेहेममा जन्मिनुभयो।—दानियल ११:२०; मीका ५:२.

अगस्तसले चलाएको सरकारले इमानदारी र स्थिर अर्थतन्त्रको व्यवस्था मिलाएको थियो। अगस्तसले प्रभावकारी हुलाक सेवा स्थापना गर्नुका साथै सडक र पुलहरू निर्माण गरे। तिनले सेनालाई पुनः संगठित गरे, स्थायी जलसेना बनाए अनि प्रेटोरियन गार्ड भनेर चिनिने शाही अंगरक्षकहरूको उच्च सैन्य दल खडा गरे। (फिलिप्पी १:१३) तिनकै छत्रछायाँमा भर्जिल र होरेसजस्ता लेखकहरू फस्टाए अनि मूर्तिकारहरूले राम्रा राम्रा कलाकृतिहरू बनाए जसलाई अहिले क्लासिकल शैली भनिन्छन्‌। जुलियस सिजरले अधूरो छोडेका थुप्रै भवनहरूको निर्माणकार्य अगस्तसले सिध्याए अनि थुप्रै मन्दिरहरूको जीर्णोद्धार गरे। तिनले सुरु गरेको पाक्स रोमाना (“रोमी शान्ति”) लगभग २०० वर्षसम्म चल्यो। सा.यु. १४ अगस्त १९ का दिन ७६ वर्षको उमेरमा अगस्तसको मृत्यु भयो र त्यसपछि तिनलाई सन्त घोषित गरियो।

अगस्तसले “ढुंगाको रोमलाई संगमरमर बनाएको” घमण्ड गर्थे। रोम फेरि पहिलेको समस्याग्रस्त गणतन्त्रजस्तो नहोस्‌ भनेर तिनले आफ्नो उत्तराधिकारीलाई राम्रो प्रशिक्षण दिने विचार गरे। तर तिनले उत्तराधिकारी को बनाउने भनेर छान्‍नै परेन। तिनका भानिज, दुई जना नाति, ज्वाईं र सौतेनी छोरा सबै मरिसकेका थिए र उत्तराधिकारी हुन सौतेनी छोरा टाइबेरियस मात्र बाँकी थिए।

“तिरस्कृत व्यक्‍ति”

अगस्तसको मृत्यु भएको महिना दिन पनि नबित्दै रोमी संसदले ५४ वर्षीय टाइबेरियसलाई सम्राट घोषणा गऱ्‍यो। टाइबेरियसले सा.यु. ३७ मार्चसम्म शासन गरे। येशूको जनसेवकाईको दौडान तिनी रोमका सम्राट थिए।

सम्राटको हैसियतमा टाइबेरियसका सद्‌गुण र दुर्गुण दुवै थिए। तिनको सद्‌गुण भनेको सुखविलासमा पैसा खर्च गर्न नचाहनु थियो। फलस्वरूप, सारा साम्राज्यको संवृद्धि भयो र प्राकृतिक प्रकोप वा कठिनाइको बेला सहायता गर्न कोशको प्रबन्ध मिलाइयो। टाइबेरियसले आफूलाई साधारण मानिस ठान्थे, सम्माननीय पदवीहरू ग्रहण गर्न इन्कार गरे अनि आफूलाई होइन अगस्तसकै सम्राट उपासना गर्न लगाए। तिनले अगस्तस र जुलियस सिजरले जस्तो आफ्नो नाउँबाट कुनै महिनाको नाउँ राखेनन्‌ अनि अरूलाई त्यस्तो सम्मान गर्न पनि दिएनन्‌।

तथापि, टाइबेरियसका सद्‌गुणभन्दा दुर्गुणहरू बढी थिए। तिनी असाध्यै शंकालु र कपटी व्यवहार गर्थे अनि तिनले आफ्नो शासनकालभरि थुप्रैको हत्या गर्न लगाए। यसमध्ये कतिपय त तिनका आफ्नै पुराना मित्रहरू थिए। तिनले लेस माजेस्टेमा (सिजर विरुद्ध कुनै अपमानजनक कुरा गर्न नपाइने नियम) देशद्रोहबाहेक सिजर विरुद्ध सानातिना अपमानजक शब्दहरूसमेत उच्चारण गर्न नहुने बुँदा समावेश गरे। हुनसक्छ, यही नियमको आडमा यहूदीहरूले रोमी राज्यपाल पोन्तियस पिलातसलाई येशूलाई मार्न जोड दिए।—यूहन्‍ना १९:१२-१६.

टाइबेरियसले शहरको पर्खालका उत्तरतिर सुरक्षित छाउनीहरू बनाए र रोम नजिकै प्रेटोरियन गार्डहरू राखे। गार्डहरूले गर्दा रोमी संसद भयभित भयो। संसद तिनको शक्‍तिको लागि खतरा थियो। शाही गार्डले गर्दा जनताहरू पनि विद्रोह गर्न डराउँथे। टाइबेरियसले सुराकी प्रणालीलाई पनि प्रोत्साहन दिए र तिनको शासनकालको अन्ततिर डरत्रासको वातावरण छाएको थियो।

टाइबेरियसको मृत्यु हुँदा तिनी तानाशाह भनेर चिनिन्थे। तिनको मृत्यु हुँदा रोमीहरू रमाए र संसदले तिनलाई सन्त बनाउन मानेन। यी तथा अन्य कारणहरूले गर्दा “तिरस्कृत व्यक्‍ति” पछि “उत्तरका राजा” भएर देखा पर्नेछन्‌ भन्‍ने भविष्यवाणी टाइबेरियसमा पूरा भयो भन्‍न सकिन्छ।—दानियल ११:१५, २१.

तपाईंले के बुझ्नुभयो?

• अक्टेभियन कसरी रोमका प्रथम सम्राट भए?

• अगस्तसको सरकारका उपलब्धिहरूबारे के भन्‍न सकिन्छ?

• टाइबेरियसका सद्‌गुण तथा दुर्गुणहरू के के थिए?

• “तिरस्कृत व्यक्‍ति[बारे]” गरिएको भविष्यवाणी कसरी टाइबेरियसमा पूरा भयो?

[चित्र]

टाइबेरियस

[पृष्ठ २५२-२५५-मा भएको पेटी/चित्र]

जेनोबिया–पाल्मीराकी योद्धा रानी

“उनी कालो वर्णकी थिइन्‌ . . . उनको दाँत मोतीजस्तो चम्किलो र ठूलठूला कालो आँखामा असामान्य चमक थियो र तिनी अत्यन्तै मिजासिलो स्वभावकी थिइन्‌। तिनको स्वर गहकिलो र सुरिलो थियो। उनका यी बलिया गुणहरूलाई उनको अध्ययनले झनै सुनमा सुगन्ध थपेको थियो। उनले ल्याटिन भाषा जानेकी थिइन्‌ साथै तिनी युनानी, सिरियाक अनि मिश्री भाषाहरूमा पनि उत्तिकै पोख्त थिइन्‌।” सिरियाली शहर, पाल्मीराकी योद्धा रानी, जेनोबियालाई इतिहासकार एड्‌वर्ड गिबनले त्यसरी प्रशंसा गरिन्‌।

जेनोबियाका पति, पाल्मीराका कुलघरानियाँ आदिनाथस थिए र तिनी रोमी साम्राज्यको खातिर फारस विरुद्धको अभियानमा सफल भएकाले सा.यु. २५८ मा रोमको विशेष दूत नियुक्‍त भएका थिए। दुई वर्षपछि आदिनाथसले रोमी सम्राट ग्यालिनसबाट करेक्टर टोट्यस ओरियन्टिस (पूर्वका राज्यपाल) भन्‍ने पदवी पाए। यो मान्यता तिनलाई फारसका राजा शापुर प्रथम विरुद्ध प्राप्त गरेको विजय बापत दिइएको थियो। अन्ततः आदिनाथसले आफैलाई “राजाहरूका राजा” भन्‍ने पदवी दिए। आदिनाथसका यी सफलताहरूको श्रेय निकै हदसम्म जेनोबियाको साहस र चातुर्यलाई दिन सकिन्छ।

जेनोबियाले साम्राज्य निर्माण गर्ने मनोकांक्षा राख्छन्‌

सा.यु. २६७ मा सफलताको चुलीमा पुगेको बेला आदिनाथस र तिनको उत्तराधिकारीको हत्या गरियो। जेनोबियाको छोरा सानै भएको हुँदा उनले आफ्नो पतिको स्थान ओगटे। राम्री, महत्त्वाकांक्षी, योग्य प्रशासक, पतिसित सैन्य क्रियाकलापमा सामेल भइसकेकी, थुप्रै भाषामा पोख्त भएकी हुँदा आफ्ना प्रजाहरूको आदर र सहयोग जित्न तिनी सफल भइन्‌। जेनोबिया नयाँ नयाँ कुरा सिक्न उत्सुक थिइन्‌ र बुद्धिजीवीहरूसित सरसंगत गर्थिन्‌। उनका एक जना सल्लाहकार क्यासियस लंगिनस, दार्शनिक र कुशल वक्‍ता थिए। भनिन्छ, तिनी “जिउँदो संग्रहालय तथा ज्ञानको भण्डार” थिए। लेखक रिचर्ड स्टोनम्यान पाल्मीरा एण्ड इट्‌स एम्पायर—जेनोबियास रिभोल्ट अगेन्स्ट रोम भन्‍ने पुस्तकमा यस्तो टिप्पणी गर्छन्‌: “आदिनाथसको मृत्यु भएको पाँच वर्षभित्र . . . जेनोबियाले आफूलाई आफ्ना प्रजाहरूको माझमा पूर्वकी रानी भनेर चिनाइसकेकी थिइन्‌।”

जेनोबियाको अधीनमा एकातिर फारस थियो। यसलाई उनी र उनको पतिले कमजोर तुल्याइसकेका थिए भने अर्कोतिर दिनानुदिन अस्थिर हुँदै गइरहेको रोम थियो। त्यतिबेला रोमी साम्राज्यको अवस्थाबारे इतिहासकार जे. एम. रबर्टस्‌ यसो भन्छन्‌: “रोमको पूर्वी र पश्‍चिमी सीमा दुवैको लागि . . . तेस्रो शताब्दी, अत्यन्तै नाजुक समय थियो भने रोममा पनि गृहयुद्ध तथा उत्तराधिकारीहरूको खिचलोको नयाँ युग सुरु भइरहेको थियो। त्यस समयमा बाइस जना सम्राटहरूले (नकली सम्राटहरूबाहेक) शासन गरे।” रोमको अवस्था यस्तो थियो भने अर्कोतिर सिरियाली रानी आफ्नो इलाकाको स्वायत्त शासक थिइन्‌। स्टोनम्यान भन्छन्‌, “दुइटा साम्राज्य [फारस र रोम] आफ्नो नियन्त्रणमा राख्दै उनले यी दुवैलाई अधीनमा राख्ने तेस्रो साम्राज्य निर्माण गर्ने आकांक्षा राखेकी थिइन्‌।”

सा.यु. २६९ मा रोमको शासनमाथि प्रश्‍न गर्ने झूटा शासक मिश्रमा देखा परेपछि जेनोबियाले आफ्नो शाही शक्‍ति अझ विस्तार गर्ने मौका पाइन्‌। जेनोबियाको सेना द्रूत गतिले मिश्रतिर लम्क्यो अनि विद्रोहीहरूलाई खतम पारेर त्यो देश आफ्नो कब्जामा लियो। आफूलाई मिश्रकी रानी घोषित गरेर उनकै नाउँमा पैसा कुँद्‌न लगाइन्‌। उनको राज्य नाइल नदीदेखि यूफ्रेटिस नदीसम्म फैलियो। यतिबेला जेनोबियाले “दक्षिणका राजाको” भूमिका निर्वाह गरिन्‌।—दानियल ११:२५, २६.

जेनोबियाको राजधानी शहर

जेनोबियाले राजधानी शहर, पाल्मीरालाई असाध्यै बलियो अनि सुसज्जित पारेकी हुँदा यो रोमी संसारका ठूलठूला शहरहरूको हाराहारीमा पुग्न सक्यो। यहाँको जनसंख्या १,५०,००० भन्दा बढी पुगेको थियो। एक्काइस किलोमिटर परिधि भएको पर्खालले घेरिएको पाल्मीरा शहरभित्र भव्य सार्वजनिक भवन, मन्दिर, बगैंचा, खाँबा तथा स्मारकहरू थिए। लगभग १,५०० जति १५ मिटर अग्ला कोरिन्थी स्तम्भहरू मूल सडकको दायाँबायाँ निर्माण गरिएका थिए। शहरभरि वीर पुरुष तथा धनी परोपकारीहरूको मूर्ति तथा अर्धप्रतिमाहरू थिए। सा.यु. २७१ मा जेनोबियाले आफू र आफ्ना मृत पतिको प्रतिमा निर्माण गर्न लगाइन्‌।

पाल्मीराका राम्रा आकृतिहरूमध्ये सूर्य मन्दिर पनि एउटा थियो अनि यसले त्यस शहरको धार्मिक गतिविधिमा ठूलो प्रभुत्व जमाएको थियो भन्‍ने कुरामा कुनै शंका छैन। जेनोबिया पनि सूर्य-देवसित सम्बन्धित देवको उपासना गर्थिन्‌ होला। तथापि, तेस्रो शताब्दीको सिरियामा थुप्रै धर्म थिए। जेनोबियाको अधीनमा भएको इलाकामा मसीही भनौंदाहरू, यहूदी अनि सूर्य चन्द्रका उपासकहरू थिए। यस्ता विभिन्‍न उपासकहरूप्रति उनको दृष्टिकोण कस्तो थियो? लेखक स्टोनम्यान यस्तो टिप्पणी गर्छन्‌: “बुद्धिमान्‌ शासकले आफ्ना प्रजाहरूलाई उचित लाग्ने कुनै पनि प्रचलनको बेवास्ता गर्दैन। . . . देवताहरू . . . पाल्मीराको पक्षमा थिए जस्तो देखिन्छ।” स्पष्टतः जेनोबियाले सबैलाई धार्मिक स्वतन्त्रता प्रदान गरेकी थिइन्‌।

यस्तो आकर्षक व्यक्‍तित्वको कारण जेनोबियाले थुप्रैको प्रशंसा जितेकी थिइन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा त, दानियलको भविष्यवाणीमा अगमवाणी गरिएको राजनैतिक भूमिका निर्वाह गर्नु थियो। तथापि, उनको शासनकाल पाँच वर्ष पनि टिकेन। रोमी सम्राट अरेलियनले सा.यु. २७२ मा जेनोबियालाई हराएर पाल्मीरा शहरलाई तहसनहस पारे। तर जेनोबियालाई भने दया देखाइयो। भनिन्छ, उनले रोमी सांसदसित विवाह गरेर बाँकी जीवन राजनैतिक गतिविधिबाट मुक्‍त भई बिताइन्‌।

तपाईंले के बुझ्नुभयो?

• जेनोबियाको व्यक्‍तित्व कसरी वर्णन गरिएको छ?

• जेनोबियाका केही कार्यहरू के हुन्‌?

• धर्मप्रति जेनोबियाको कस्तो दृष्टिकोण थियो?

[चित्र]

आफ्ना सिपाहीहरूलाई सम्बोधन गरिरहेकी रानी जेनोबिया

[पृष्ठ २४६-मा भएको पेटी/चित्र]

दानियल ११:२०-२६ का राजाहरू

उत्तरका दक्षिणका

राजा राजा

दानियल ११:२० अगस्तस

दानियल ११:२१-२४ टाइबेरियस

दानियल ११:२५, २६ अरेलियन रानी जेनोबिया

भविष्यवाणीअनुसार जर्मन बेलाइत,

रोमी साम्राज्यको साम्राज्य त्यसपछि

पतन हुँदा एंग्लो-अमेरिकी

बनेका विश्‍व शक्‍ति

साम्राज्यहरू

[चित्र]

टाइबेरियस

[चित्र]

अरेलियन

[चित्र]

चार्लमेनको सालिक

[चित्र]

अगस्तस

[चित्र]

१७ औं शताब्दीको बेलाइती युद्धपोत

[पृष्ठ २३०-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ २३३-मा भएको चित्र]

अगस्तस

[पृष्ठ २३४-मा भएको चित्र]

टाइबेरियस

[पृष्ठ २३५-मा भएको चित्र]

अगस्तसको आदेशले गर्दा यूसुफ र मरियम बेतलेहेम गए

[पृष्ठ २३७-मा भएको चित्र]

भविष्यवाणी गरिएझैं येशूको हत्या गरेर “नाश” गरियो

[पृष्ठ २४५-मा भएको चित्र]

१. चार्लमेन २. नेपोलियन प्रथम ३. भिलहेल्म प्रथम ४. जर्मन सिपाहीहरू, प्रथम विश्‍वयुद्ध