सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रतिद्वन्द्वी राजाहरूको अन्त नजिकै

प्रतिद्वन्द्वी राजाहरूको अन्त नजिकै

अध्याय सोह्र

प्रतिद्वन्द्वी राजाहरूको अन्त नजिकै

१, २. दोस्रो विश्‍वयुद्धपछि उत्तरका राजाको चिनारी कसरी परिवर्तन भयो?

 संयुक्‍त राज्य अमेरिका र रूसको राजनैतिक अवस्थालाई विचार गर्दै फ्रान्सेली दार्शनिक तथा इतिहासकार एलेक्सी डे टकभिलले १८३५ मा यस्तो लेखे: “एउटासित असीमित स्वतन्त्रता छ भने अर्कोसित अनेकन्‌ प्रतिबन्ध। तिनीहरूका . . . मार्ग एकदमै पृथक [छन्‌]; तैपनि, यी दुई राष्ट्रले आधा विश्‍वलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुको पछाडि कुनै दैवीय योजना हुनुपर्छ।” दोस्रो विश्‍वयुद्धपछि यो पूर्वानुमान कत्तिको साँचो साबित भयो? इतिहासकार जे. एम. रबर्टस्‌ यसप्रकार लेख्छन्‌: “दोस्रो विश्‍वयुद्धको अन्ततिर संसारको भविष्य, दुइटा ठूलठूला तर एकदमै पृथक शासन प्रणालीको नियन्त्रणमा रहेको देखियो। एउटा भूतपूर्व रूस र अर्को संयुक्‍त राज्य अमेरिकामा निर्भर थियो।”

दुई विश्‍वयुद्धको दौडान, जर्मनीले उत्तरका राजाको भूमिका निर्वाह गरेको थियो र यो, दक्षिणका राजा अर्थात्‌ एंग्लो-अमेरिकी विश्‍वशक्‍तिको प्रमुख शत्रु थियो। तथापि, दोस्रो विश्‍वयुद्धपछि यो राष्ट्र टुक्रियो। पश्‍चिम जर्मनीले दक्षिणका राजालाई साथ दियो भने पूर्वी जर्मनीले अर्को शक्‍तिशाली शासन प्रणाली अर्थात्‌ सोभियत संघको नेतृत्वमा रहेको साम्यवादी राष्ट्रहरूको समूहसित हात मिलायो। यो समूह वा राजनैतिक प्रणाली, उत्तरका राजाको रूपमा खडा भयो र यसले एंग्लो-अमेरिकी साझेदारीको भीषण विरोध गऱ्‍यो। यी दुई राजाहरूबीचको दुस्मनी शीतयुद्धमा परिणत भयो र १९४८ देखि १९८९ सम्म चल्यो। यसअघि, उत्तरका जर्मन राजा “पवित्र करारको विरुद्धमा” खडा भएका थिए। (दानियल ११:२८, ३०) साम्यवादी समूहले करारप्रति कस्तो व्यवहार गर्ने थियो?

साँचो मसीहीहरू ढलपल भए तापनि दृढ रहन्छन्‌

३, ४. “करार भंग गर्नेहरू” को हुन्‌ र उत्तरका राजासित तिनीहरूको कस्तो सम्बन्ध थियो?

परमेश्‍वरको स्वर्गदूतले यसो भने, “करार भंग गर्नेहरूलाई [उत्तरका राजाले] झूठो प्रशंसा गरेर भ्रष्ट पार्नेछ।” स्वर्गदूतले थप यसो भने: “तर आफ्ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढतासाथ त्यसको विरोध गर्नेछन्‌। जो बुद्धिमान छन्‌, तिनीहरूले धेरै मानिसहरूलाई शिक्षा दिनेछन्‌, यद्यपि केही समयको लागि तिनीहरू तरवारको शिकार बन्‍नेछन्‌ वा आगोले जलाइनेछन्‌ वा कैदमा पर्नेछन्‌ वा लुटिनेछन्‌।”—दानियल ११:३२, ३३, नयाँ संशोधित संस्करण।

“करार भंग गर्नेहरू” मसीहीजगत्‌का नेताहरू हुनुपर्छ जसले मसीही हौं भन्‍ने दाबी त गर्छन्‌ तर आफ्नो कामले मसीहीधर्मको बदनाम गर्छन्‌। रिलिजन इन द सोभियत युनियन पुस्तकका लेखक वल्टर कोलार्ज यसो भन्छन्‌: “[दोस्रो विश्‍वयुद्धको दौडान] सोभियत सरकारले आफ्नो मातृभूमिको सुरक्षाको लागि चर्चहरूबाट भौतिक तथा नैतिक सहयोग प्राप्त गर्ने प्रयास गरे।” उत्तरका राजाको भूमिका निर्वाह गर्ने शक्‍तिको नास्तिकवादी नीतिको बावजूद चर्चका नेताहरूले युद्धपछि पनि त्यो मित्रता कायमै राख्ने प्रयास गरे। तसर्थ, मसीहीजगत्‌ झनै यस संसारको भाग भयो अर्थात्‌ यहोवाको नजरमा घिनलाग्दो धर्मत्यागी साबित भयो।—यूहन्‍ना १७:१६; याकूब ४:४.

५, ६. ‘परमेश्‍वरलाई चिन्‍नेहरू’ को थिए र उत्तरका राजाको शासनमा तिनीहरूको अवस्था कस्तो थियो?

“परमेश्‍वरलाई चिन्‍ने” तथा “बुद्धिमान्‌” मानिसहरू अर्थात्‌ साँचो मसीहीहरू नि? “उच्च अख्तियारवालाहरूका अधीनमा” आज्ञाकारी रहे तापनि उत्तरका राजाको शासनको अधीनमा बसिरहेका मसीहीहरू यस संसारको भाग थिएनन्‌। (रोमी १३:१; यूहन्‍ना १८:३६) “जे जे सिजरका हुन सिजरलाई” दिन सजग हुनुका साथै तिनीहरूले “जे जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई” दिए। (मत्ती २२:२१) यसले गर्दा तिनीहरूको निष्ठाको चुनौती भयो।—२ तिमोथी ३:१२.

परिणामस्वरूप साँचो मसीहीहरू “शिकार” हुनुका साथै “दृढ” रहे। घोर सतावट सहनु परेको र कतिपयले त ज्यानसमेत गुमाउनु परेको हुँदा तिनीहरू सिकार भए। तर तिनीहरू विजयी भए किनभने अधिकांश जन वफादार रहे। तिनीहरू पनि येशूजस्तै संसारमाथि विजयी भए। (यूहन्‍ना १६:३३) यसबाहेक, झ्यालखाना वा यातना शिविरमा थुनिनु परे तापनि तिनीहरूले प्रचार गर्न कहिल्यै छोडेनन्‌। यसरी तिनीहरूले थुप्रैलाई ‘शिक्षा दिए।’ उत्तरका राजाले शासन गरेका प्रायजसो मुलुकहरूमा सतावटको बावजूद यहोवाका साक्षीहरूको संख्यामा वृद्धि भयो। यी “बुद्धिमान्‌” मानिसहरूले गर्दा ती मुलुकहरूमा “ठूलो भीड” दिनानुदिन झन्‌ झन्‌ ठूलो भइरहेको छ।—प्रकाश ७:९-१४.

यहोवाका जनहरू खारिन्छन्‌

७. उत्तरका राजाको शासनअन्तर्गत अभिषिक्‍त मसीहीहरूले कस्तो “थोरै सहायता” पाए?

स्वर्गदूतले यसो भने, “जब [परमेश्‍वरका जनहरू] यसमा लड्‌नेछन्‌, तिनीहरूले थोरै सहायता पाउनेछन्‌।” (दानियल ११:३४क, नयाँ संशोधित संस्करण) दोस्रो विश्‍वयुद्धमा दक्षिणका राजाको विजयले शत्रु राजाको अधीनमा रहेका मसीहीहरूलाई केही राहत पुऱ्‍याएको थियो। (प्रकाश १२:१५, १६ तुलना गर्नुहोस्‌।) त्यस्तै गरी, उत्तराधिकारी राजाद्वारा सताइएका मसीहीहरूले पनि समय समयमा राहत पाए। शीतयुद्धको अन्ततिर थुप्रै नेताहरूले वफादार मसीहीहरू देशको लागि कुनै खतरा होइनन्‌ भनी बुझेर तिनीहरूलाई कानुनी मान्यता दिए। अभिषिक्‍त जनहरूको प्रचारकार्यप्रति सकारात्मक प्रतिक्रिया देखाउने ठूलो भीडको बढ्‌दो संख्याले साथ दिंदा पनि केही हदसम्म मदत मिल्यो।—मत्ती २५:३४-४०.

८. कसरी कोहीकोही “बेइमान” मानिसहरू परमेश्‍वरका जनहरूको समूहमा सामेल भए?

शीतयुद्धको बेला परमेश्‍वरको सेवा गर्न चासो देखाउने सबैको मनसाय राम्रो थिएन। स्वर्गदूतले यस्तो चेताउनी दिएका थिए: “जो इमानदार छैनन्‌, उनीहरू सामेल हुनेछन्‌।” (दानियल ११:३४ख, नयाँ संशोधित संस्करण) सत्यप्रति चासो देखाउने थुप्रै थिए तर तिनीहरू आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्न इच्छुक थिएनन्‌। सुसमाचार स्वीकारेको जस्तो स्वाङ गर्ने अरू कतिचाहिं अख्तियारवालाहरूले खटाएका गुप्तचरहरू थिए। एउटा मुलुकबाट प्राप्त रिपोर्टमा यसो भनिएको छ: “यसरी प्रभुको संगठनमा घुसेका कतिपय फटाहाहरू, कट्टर साम्यवादीहरू थिए। तिनीहरू एकदमै जोसिलो भइटोपले अनि ठूलठूलो जिम्मेवारी वहन गर्नसमेत नियुक्‍त भएका थिए।”

९. फटाहाहरूले गर्दा यहोवाले कोहीकोही वफादार मसीहीहरूलाई किन “ठेस” खान दिनुभयो?

स्वर्गदूतले अझै यसो भने: “बुद्धिमान्‌हरूमध्ये केहीले ठेस खानेछन्‌, यसरी तिनीहरू अन्तको दिनसम्मको लागि खारिऊन्‌, शुद्ध पारिऊन्‌ र दागरहित बनाइऊन्‌, किनभने त्यो दिन तोकिएको समयमा आउनेछ।” (दानियल ११:३५, नयाँ संशोधित संस्करण) यी घुसपैठीहरूले गर्दा कोहीकोही वफादार जन अख्तियारवालाहरूको हातमा परे। आफ्ना जनहरू खारिऊन्‌ र शुद्ध पारिऊन्‌ भनेर यहोवाले यी कार्यहरू हुन दिनुभयो। येशूले “भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभए[झैं]” यी विश्‍वासी जनहरूले विश्‍वासको जाँचबाट धैर्यधारण गर्न सिके। (हिब्रू ५:८; याकूब १:२, ३; तुलना गर्नुहोस्‌ मलाकी ३:३) यसरी तिनीहरू ‘खारिन्छन्‌, शुद्ध पारिन्छन्‌ र दागरहित बनाइन्छन्‌।’

१०. “तोकिएको समयमा” भन्‍ने पद्यांशको अर्थ के हो?

१० “तोकिएको समय” नआउञ्जेल यहोवाका जनहरूले ठेस खाने थिए र खारिने थिए। यस दुष्ट रीतिरिवाजको अन्त नहोञ्जेलसम्म सतावट भोग्नुपर्नेछ भनेर तिनीहरूलाई राम्ररी थाह छ। तथापि, उत्तरका राजाको प्रवेशपछि परमेश्‍वरका जनहरू शुद्ध र दागरहित बनाइने “तोकिएको समय[मा]” थियो। यसर्थ, दानियल ११:३५ मा “तोकिएको समयमा” भन्‍ने पद्यांशले परमेश्‍वरका जनहरूले उत्तरका राजाको आक्रमण सहँदै खारिन चाहिने समयावधिलाई बुझाएको हुनुपर्छ। ठेस खाने कार्य भने यहोवाले तोक्नुभएको समयमा अन्त भयो।

आफूलाई उचाल्ने राजा

११. यहोवाको सार्वभौमिकताप्रति उत्तरका राजाको मनोवृत्ति कस्तो हुनेछ भनेर स्वर्गदूतले बताए?

११ उत्तरका राजाबारे स्वर्गदूतले थप यसो भने: “त्यस राजाले जे मन लाग्यो त्यही गर्नेछ। उसले आफैलाई हरेक देवभन्दा माथि उचाल्नेछ र देवहरूका पनि परमेश्‍वर [यहोवाको सार्वभौमिकता मानिलिन इन्कार गर्दै उहाँको] विरुद्धमा नसुनिएका कुरा गर्नेछ। क्रोधको समय समाप्त नहोउञ्जेल त्यो सफल हुनेछ, किनभने जे निश्‍चय गरिएको छ, त्यो पूरा हुनैपर्छ। आफ्ना पिता-पुर्खाहरूका देवहरू वा स्त्रीहरूले रुचाएका देवको पनि उसले वास्ता गर्नेछैन, नता उसले कुनै पनि देवको वास्ता गर्छ, तर उसले आफैलाई ती सबैभन्दामाथि उचाल्नेछ।”—दानियल ११:३६, ३७, नयाँ संशोधित संस्करण।

१२, १३. (क) उत्तरका राजाले “पिता-पुर्खाहरूका देव[लाई]” कसरी इन्कार गरे? (ख) कुन “स्त्रीहरूले रुचाएका” देवलाई उत्तरका राजाले वास्ता गरेनन्‌? (ग) उत्तरका राजाले कुन “देवतालाई” मान गरे?

१२ यी भविष्यसूचक वचन पूरा गर्दै उत्तरका राजाले “पिता-पुर्खाहरूका देव,” जस्तै, मसीहीजगत्‌को त्रिएक ईश्‍वरलाई मान्‍न इन्कार गरे। साम्यवादी समूहले नास्तिकवादलाई समर्थन गरे। यसरी उत्तरका राजाले ‘सबैभन्दामाथि उचालेर’ आफैलाई देवता बनाए। उत्तरी भियतनामजस्ता आफ्नो इशारामा नाच्ने मुलुकहरू अर्थात्‌ “स्त्रीहरूले रुचाएका” देवको पनि वास्ता नगरी यो राजाले “जे मन लाग्यो त्यही” गरे।

१३ स्वर्गदूतले अझै यस्तो भविष्यवाणी गरे: “तिनीहरूका सट्टा उसले किल्लाहरूको एउटा देवतालाई मान गर्नेछ, आफ्ना पिता-पुर्खाले नजानेको देवतालाई सुन र चाँदी, बहुमूल्य पत्थरहरू र दामी उपहारहरू चढाएर मान गर्नेछ।” (दानियल ११:३८, नयाँ संशोधित संस्करण) भनौं भने, उत्तरका राजाले आधुनिक वैज्ञानिक सैन्यवाद, “किल्लाहरूको एउटा देवतालाई” मान गरे। तिनले यो “देवता[बाट]” छुटकारा खोज्दै यसको वेदीमा धेरै धनसम्पत्ति चढाए।

१४. उत्तरका राजाले कसरी “आक्रमण” गरे?

१४ “उसले एक विदेशी देवताको सहायताले सबैभन्दा शक्‍तिशाली किल्लाहरूमाथि आक्रमण गर्नेछ र उसलाई मान्‍नेहरूलाई उसले ठूलो सम्मान गर्नेछ। उसले उनीहरूलाई धेरै मानिसहरूमाथि शासकहरू तुल्याउनेछ र एउटा मूल्यमा जमीन वितरण गर्नेछ।” (दानियल ११:३९, नयाँ संशोधित संस्करण) आफ्नो सैनिक अर्थात्‌ “विदेशी देवताको” आड लिंदै उत्तरका राजाले “आक्रमण” गरे अनि “आखिरी दिन[को]” शक्‍तिशाली सैन्यशक्‍तिको रूपमा खडा भए। (२ तिमोथी ३:१) तिनको धारणासित सहमत हुनेहरूलाई राजनैतिक, आर्थिक र कहिलेकाहीं सैन्य सहयोग प्रदान गरियो।

अन्तको समयमा “लडाइँ”

१५. दक्षिणका राजाले उत्तरका राजासित कसरी “लडाइँ” गऱ्‍यो?

१५ स्वर्गदूतले दानियललाई यसो भने, “अन्तको समयमा दक्षिणका राजाले ऊसँग लडाइँ गर्नेछन्‌।” (दानियल ११:४०क, नयाँ संशोधित संस्करण) के दक्षिणका राजाले “अन्तको समयमा” उत्तरका राजासित “लडाइँ” गरेको छ? (दानियल १२:४, ९) हो, गरेको छ। प्रथम विश्‍वयुद्धपछि, उत्तरका तत्कालीन राजा, जर्मनीलाई सजाय दिने हेतुले गरिएको शान्ति सन्धि पक्कै पनि प्रतिकार गर्न उस्काउने “लडाइँ” थियो। दक्षिणका राजाले दोस्रो विश्‍वयुद्धमा विजय हासिल गरेपछि आफ्नो विरोधीतिर खतरनाक आणविक हतियारहरू तेर्साएर शक्‍तिशाली सैन्य गठबन्धन, उत्तर एटलान्टिक सन्धि-संगठन (नेटो) स्थापित गरे। नेटोको गतिविधिबारे बेलाइती इतिहासकार यसो भन्छन्‌: “यो सोभियत संघको ‘शक्‍ति विस्तार रोक्ने’ माध्यम थियो किनभने युरोपेली शान्तिको लागि सोभियत संघ ठूलो खतरा ठानिएको थियो। यो ४० वर्षसम्म सक्रिय रह्‍यो र निकै सफलता हासिल गऱ्‍यो।” शीतयुद्धको दौडान दक्षिणका राजाले थालेको “लडाइँ[मा]” उच्च-प्रविधियुक्‍त जासुसी र कुटनैतिक तथा सैनिक आक्रमण थियो।

१६. दक्षिणका राजाले लडाइँ गर्दा उत्तरका राजाले कस्तो प्रतिक्रिया देखाए?

१६ उत्तरका राजाले कस्तो प्रतिक्रिया व्यक्‍त गऱ्‍यो? “उत्तरको राजा रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर उनको विरुद्धमा आँधीझैं आउनेछ। उसले धेरै देशहरूलाई आक्रमण गर्नेछ, ऊ बाढीझैं तिनीहरूमाथि बग्नेछ।” (दानियल ११:४०ख) आखिरी दिनको एउटा पक्ष उत्तरका राजाको विस्तारिकरण पनि हो। दोस्रो विश्‍वयुद्धको दौडान नाजी “राजा[ले]” छेउछाउका मुलुकहरूसम्म आफ्नो सिमाना फैलाए। दोस्रो विश्‍वयुद्धको अन्ततिर यसको उत्तराधिकारी “राजा[ले]” शक्‍तिशाली साम्राज्य निर्माण गरे। शीतयुद्धको बेला उत्तरका राजाले आफ्नो प्रतिद्वन्द्वीसित अरूको नाउँपछाडि लुकेर अफ्रिका, एसिया अनि ल्याटिन अमेरिकामा थुप्रै युद्ध तथा विद्रोहमा सामेल भएर लडे। तिनले साँचो मसीहीहरूलाई सताए, तिनीहरूको गतिविधिमा अवरोध खडा गरे तर तिनीहरूलाई रोक्न भने सकेनन्‌। आफ्नो सैनिक तथा राजनैतिक आक्रमणहरूद्वारा तिनले थुप्रै मुलुक आफ्नो नियन्त्रणमा पारे। स्वर्गदूतले यस्तै हुनेछ भनेर भविष्यवाणी गरेका थिए: “उसले त्यस सुन्दर देशलाई [यहोवाका जनहरूको आध्यात्मिक अवस्थामाथि] पनि हमला गर्नेछ। धेरै देशहरूको पतन हुनेछ।”—दानियल ११:४१क, नयाँ संशोधित संस्करण।

१७. उत्तरका राजाको विस्तारिकरण कसरी सीमित भयो?

१७ तैपनि, उत्तरका राजा विश्‍वमाथि विजयी हुन सकेन। स्वर्गदूतले यस्तो अगमवाणी गरे: “एदोम, मोआब र अम्मोनका अगुवाहरूचाहिं उसको हातबाट बचाइनेछन्‌।” (दानियल ११:४१ख, नयाँ संशोधित संस्करण) पुरातन समयमा एदोम, मोआब र अम्मोन दक्षिणका मिश्री राजा र उत्तरका अरामी राजाका इलाकाको बीचमा पर्थ्यो। आधुनिक समयमा ती राष्ट्रहरूले उत्तरका राजाले आफ्नो अधीनमा पार्न असफल प्रयास गरेका राष्ट्र तथा संगठनहरूलाई संकेत गर्छ।

मिश्र उम्कन सकेन

१८, १९. दक्षिणका राजाले आफ्नो शत्रुको प्रभाव कुन कुन तरिकामा महसुस गऱ्‍यो?

१८ यहोवाको स्वर्गदूतले अझै यसो भने: “[उत्तरका राजाले] धेरै देशहरूमाथि आफ्नो शक्‍ति फैलाउनेछ, मिश्रदेश उम्कनेछैन। उसले लिबियालीहरू र कूशीहरूलाई अधीनमा पारेर मिश्र देशका सुन र चाँदी र सबै सम्पत्तिहरू आफ्नो नियन्त्रणमा लिनेछ।” (दानियल ११:४२, ४३, नयाँ संशोधित संस्करण) दक्षिणका राजा “मिश्र[समेत]” उत्तरका राजाको विस्तारिकरण नीतिको असरबाट बच्न सकेन। उदाहरणका लागि, दक्षिणका राजाले भियतनाममा ठूलो हार भोग्नुपऱ्‍यो। अनि “लिबियालीहरू र कूशीहरू” नि? पुरातन मिश्रका यी छिमेकीहरूले भौगोलिक दृष्टिकोणले वर्तमान “मिश्र” (दक्षिणका राजा) देशका छिमेकी राष्ट्रहरूलाई नै संकेत गरिरहेका हुनसक्छन्‌। कहिलेकाहीं तिनीहरू उत्तरका राजाको “नियन्त्रणमा” परेका छन्‌।

१९ के उत्तरका राजाले ‘मिश्र देशका सबै सम्पत्तिहरू’ नियन्त्रणमा लिएको छ? दक्षिणका राजाले आफ्नो आर्थिक स्रोत कसरी परिचालन गर्छ, त्यसमा उत्तरका राजाले निकै प्रभुता जमाएको छ। शत्रुको डरले गर्दा दक्षिणका राजाले शक्‍तिशाली सेना, जल तथा हवाई सैन्यदल बनाउन निकै धन-सम्पत्ति खर्च गरेको छ। यस अर्थमा उत्तरका राजाले दक्षिणका राजाको धनसम्पत्तिको परिचालन ‘आफ्नो नियन्त्रणमा’ पारेको छ।

अन्तिम अभियान

२०. स्वर्गदूतले उत्तरका राजाको अन्तिम अभियानबारे कसरी वर्णन गर्छन्‌?

२० उत्तर र दक्षिणका राजाबीचको सैनिक, आर्थिक वा अन्य प्रकारको दुस्मनी अब अन्त हुनै लागेको छ। अब हुन बाँकी द्वन्द्वबारे यहोवाको स्वर्गदूतले यसरी वर्णन गरे: “पूर्व र उत्तरबाट आएका खबरहरूले [उत्तरका राजालाई] तर्साउनेछन्‌ र ऊ अति क्रोधित भएर धेरैलाई विनाश र नामेट पार्न अघि बढ्‌नेछ। उसले त्यस सुन्दर पवित्र पर्वतमा समुद्रहरूका बीचमा आफ्ना शाही पालहरू खड़ा गर्नेछ। तापनि उसको अन्त हुनेछ र कसैले पनि उसलाई सहायता गर्नेछैन।”—दानियल ११:४४, ४५, नयाँ संशोधित संस्करण।

२१. उत्तरका राजाबारे अझ के थाह पाउनु बाँकी नै छ?

२१ सन्‌ १९९१ को डिसेम्बरमा सोभियत संघको विघटन भएपछि उत्तरका राजाले ठूलो नोक्सानी बेहोर्नुपऱ्‍यो। दानियल ११:४४, ४५ पूरा हुँदा यो राजा को हुनेछ? के त्यो भूतपूर्व सोभियत संघ विघटनपछि खडा भएको कुनै एउटा देश हुनेछ? अथवा त्यसको चिनारी पहिले भएझैं बिल्कुलै नयाँ हुनेछ? कतै अरू राष्ट्रहरू पनि आणविक होडबाजीमा सामेल हुँदा पो त्यो राजाको चिनारी प्रकट हुने हो कि? यी प्रश्‍नहरूको जवाफ समयले बताउनेछ। हामीले आफ्नै अड्‌कल काट्‌नु बुद्धिमानी हुनेछैन। उत्तरका राजाले आफ्नो अन्तिम अभियान सुरु गर्दा बाइबल आधारित अन्तर्दृष्टि हुने सबैले भविष्यवाणी पूरा भएको छर्लंगै देख्नेछन्‌।—“दानियल अध्याय ११ का राजाहरू” भन्‍ने पृष्ठ २८४ को पेटी हेर्नुहोस्‌।

२२. उत्तरका राजाको अन्तिम अभियानबारे कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

२२ तथापि, उत्तरका राजाले चाँडै कस्तो कदम चाल्नेछ, हामीलाई थाह छैन। “पूर्व र उत्तरबाट आएका” समाचारहरूले तर्सिएर तिनी “धेरैलाई विनाश र नामेट पार्न अघि बढ्‌नेछ।” यो अभियानको मुख्य तारो को हुनेछ? अनि कस्ता “खबरहरूले” यस्तो आक्रमण गर्न उस्काउनेछ?

खलबलाउने समाचारहरू

२३. (क) आरमागेडोनअघि कुन उल्लेखनीय घटना हुनुपर्छ? (ख) “सूर्योदय पट्टिबाट आउने राजाहरू” को हुन्‌?

२३ झूटो धर्मको विश्‍व साम्राज्य, महान्‌ बेबिलोनको पतनबारे प्रकाशको पुस्तकले के भन्छ, त्यसमा ध्यान दिनुहोस्‌। “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ,” आरमागेडोनअघि साँचो उपासनाको यो महा शत्रु “आगोमा भस्म” हुनेछन्‌। (प्रकाश १६:१४, १६; १८:२-८) प्रतीकात्मक यूफ्रेटिस नदीमा खन्याइएको परमेश्‍वरको क्रोधको छैटौं कचौराले त्यसको विनाशलाई चित्रित गर्छ। “सूर्योदय पट्टिबाट आउने राजाहरूको बाटो तयारी होस्‌” भनेर नदीको पानी सुक्यो। (प्रकाश १६:१२) यी राजाहरू को हुन्‌? यहोवा परमेश्‍वर र येशू ख्रीष्ट हुनुहुन्छ!—यशैया ४१:२; ४६:१०, ११ तुलना गर्नुहोस्‌।

२४. यहोवाको कुन कार्यले उत्तरका राजालाई खलबलाउन सक्छ?

२४ प्रकाशको पुस्तकमा महान्‌ बेबिलोनको विनाशबारे यसरी विस्तृत वर्णन गरिएको छ: “तिमीले देखेका ती दश सीङ [अन्तको समयमा शासन गर्ने राजाहरू] र त्यस जानवर [संयुक्‍त राष्ट्र संघले] त्यस वेश्‍यासँग दुश्‍मनी गर्नेछन्‌, र त्यसलाई उजाड़ र नाङ्‌गो पार्नेछन्‌। औ त्यसको मासु खानेछन्‌, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्‌।” (प्रकाश १७:१६) शासकहरूले किन महान्‌ बेबिलोनलाई विनाश गर्नेछन्‌? किनभने परमेश्‍वरले ‘तिनीहरूलाई त्यस्तो मन दिनुभएको’ छ। (प्रकाश १७:१७) यी शासकहरूमध्ये उत्तरका राजा पनि एक हुन्‌। यहोवाले मानव नेताहरूको मनमा झूटो धर्मको प्रतीक महान्‌ वेश्‍यालाई सर्वनाश गर्ने विचार हाल्नुलाई “पूर्व[बाट]” आएको समाचारले संकेत गरेको हुनसक्छ।

२५. (क) उत्तरका राजाको विशेष तारो के हो? (ख) उत्तरका राजाले “आफ्ना शाही पालहरू” कहाँ खडा गर्छन्‌?

२५ तर उत्तरका राजाको क्रोधको एउटा खास तारो छ। तिनले “त्यस सुन्दर पवित्र पर्वतमा समुद्रहरूका बीचमा आफ्ना शाही पालहरू खडा” गर्नेछन्‌ भनी स्वर्गदूत बताउँछन्‌। दानियलको समयको समुद्र, भूमध्यसागर हो र पवित्र डाँडाचाहिं कुनै समय परमेश्‍वरको मन्दिरको केन्द्र, सियोन हो। यसर्थ, भविष्यवाणीको पूर्तिमा उत्तरका क्रोधित राजाले परमेश्‍वरका जनहरू विरुद्ध अभियान सुरु गर्छन्‌। आध्यात्मिक अर्थमा, “पवित्र पर्वतमा समुद्रहरूका बीच[को]” स्थानले यहोवाका अभिषिक्‍त जनहरूको आध्यात्मिक अवस्थालाई बुझाउँछ। तिनीहरू परमेश्‍वरबाट तर्किएको मानवजातिको “समुद्र[बाट]” निस्केका छन्‌ र स्वर्गको सियोन डाँडामा येशू ख्रीष्टसित शासन गर्ने आशा राख्छन्‌।—यशैया ५७:२०; हिब्रू १२:२२; प्रकाश १४:१.

२६. इजकिएलको भविष्यवाणीअनुसार “उत्तरबाट आएका” समाचारको स्रोत के हुनसक्छ?

२६ दानियलका समकालीन इजकिएलले पनि “भविष्यका दिनहरूमा” परमेश्‍वरका जनहरूमाथि आक्रमण गरिनेछ भनेर भविष्यवाणी गरेका थिए। मागोगका गोग, शैतान अर्थात्‌ दियाबलले आक्रमण सुरु गर्नेछ भनी तिनले भविष्यवाणी गरेका थिए। (इजकिएल ३८:१४, १६) प्रतीकात्मक अर्थमा, गोग कुन दिशाबाट आउँछ? इजकिएलमार्फत यहोवा यसो भन्‍नुहुन्छ, “सुदूर उत्तरदेखि” आउनेछ। (इजकिएल ३८:१५) यो आक्रमण जतिसुकै भयानक किन नहोस्‌, यसले यहोवाका जनहरूलाई नाश गर्नेछैन। यहोवाले गोगको सेनालाई खत्तम पार्ने रणनीतिअनुरूप कदम चाल्नुहुँदा भयानक मुठभेड हुनेछ। यसकारण, यहोवा शैतानलाई यसो भन्‍नुहुन्छ: “तेरो मुखमा म बल्छी लगाउनेछु।” “म तँलाई उत्तरको पल्लो छेउदेखि पक्रेर इस्राएलका पर्वतहरूमा ल्याउनेछु।” (इजकिएल ३८:४; ३९:२) तसर्थ, उत्तरका राजालाई क्रोधित बनाउने “उत्तरबाट आएका” समाचारको स्रोत यहोवा हुनुपर्छ। तर “पूर्व र उत्तरबाट आएका” समाचार के हुन्‌, परमेश्‍वरलाई मात्र थाह छ र यसबारे समयले नै बताउनेछ।

२७. (क) गोगले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्न किन उत्तरका राजालगायत अरू राष्ट्रहरूलाई उक्साउनेछ? (ख) गोगको आक्रमणको परिणाम के हुनेछ?

२७ गोगले यस संसारबाट अलग भएका “परमेश्‍वरका इस्राएल” र “अरू भेडा[का]” “ठूलो भीड[को]” संवृद्धि देखेर आफ्नो सारा बलबर्कतले आक्रमण गर्नेछ। (गलाती ६:१६; प्रकाश ७:९; यूहन्‍ना १०:१६; १७:१५, १६; १ यूहन्‍ना ५:१९) “जाति जातिहरूबाट भेला भएका मानिसहरू, . . . [आध्यात्मिक] सम्पत्ति प्राप्त गरेर” बसेका जनहरूलाई गोगले घृणाको दृष्टिले हेर्छ। (इजकिएल ३८:१२) मसीही आध्यात्मिक अवस्थालाई “पर्खाल विनाका गाउँहरू” ठानी गोगले यो अवरोधलाई पनि हटाएर सम्पूर्ण मानवजातिमाथि एकाधिकार जमाउन खोज्छ। तर त्यो सफल हुँदैन। (इजकिएल ३८:११, १८; ३९:४) उत्तरका राजालगायत पृथ्वीका राजाहरू मिलेर यहोवाका जनहरूलाई आक्रमण गर्दा तिनीहरूकै ‘अन्त हुनेछ।’

‘राजाको अन्त हुनेछ’

२८. उत्तरका राजा र दक्षिणका राजाको भविष्यबारे हामीलाई के थाह छ?

२८ उत्तरका राजाको अन्तिम अभियान दक्षिणका राजा विरुद्ध हुनेछैन। त्यसैले, उत्तरका राजाको अन्त आफ्नो प्रमुख शत्रुको हातबाट हुँदैन। त्यस्तै गरी, दक्षिणका राजाको विनाश उत्तरका राजाले गर्ने छैन। दक्षिणका राजाको विनाश “मानव शक्‍तिद्वारा होइन” तर परमेश्‍वरको राज्यद्वारा हुनेछ। a (दानियल ८:२५) वास्तवमा, आरमागेडोनको युद्धमा परमेश्‍वरको राज्यले सबै पार्थिव राजाहरूलाई हटाउनेछ र प्राप्त प्रमाणअनुसार, उत्तरका राजाको हालत पनि यस्तै हुनेछ। (दानियल २:४४) दानियल ११:४४, ४५ ले अन्तिम युद्ध हुनुअघिका घटनाहरू वर्णन गर्छ। उत्तरका राजाको अन्त हुँदा “कसैले पनि उसलाई सहायता गर्नेछैन!”

[फुटनोट]

a यो किताबको अध्याय १० हेर्नुहोस्‌।

तपाईंले के बुझ्नुभयो?

• दोस्रो विश्‍वयुद्धपछि उत्तरका राजाको चिनारी कसरी परिवर्तन भयो?

• उत्तरका राजा र दक्षिणका राजालाई अन्तमा के हुनेछ?

• दुई राजाबीचको द्वन्द्वबारे दानियलको भविष्यवाणीमा ध्यान दिनुभएर तपाईंले कसरी लाभ उठाउनुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २८४-मा भएको पेटी/चित्र]

दानियल अध्याय ११ का राजाहरू

उत्तरका दक्षिणका

राजा राजा

दानियल ११:५ सेल्युकस प्रथम निकेटर टोलेमी प्रथम

दानियल ११:६ एन्टियोकस द्वितीय टोलेमी द्वितीय

(पत्नी लाओडिस) (छोरी बेरेनिस)

दानियल ११:७-९ सेल्युकस द्वितीय टोलेमी तृतीय

दानियल ११:१०-१२ एन्टियोकस तृतीय टोलेमी चौथो

दानियल ११:१३-१९ एन्टियोकस तृतीय टोलेमी पाँचौं

(छोरी क्लिओपात्रा प्रथम) उत्तराधिकारी: टोलेमी छैठौं

उत्तराधिकारीहरू:

सेल्युकस चौथो र

एन्टियोकस चौथो

दानियल ११:२० अगस्तस

दानियल ११:२१-२४ टाइबेरियस

दानियल ११:२५, २६ अरेलियन रानी जेनोबिया

(रोमी साम्राज्य

टुक्रिन्छ)

दानियल ११:२७-३०क जर्मन साम्राज्य बेलाइत, पछि

(प्रथम विश्‍वयुद्ध) एंग्लो-अमेरिकी

विश्‍वशक्‍ति

दानियल ११:३०ख, ३१ हिटलरको तेस्रो राइक एंग्लो-अमेरिकी

(दोस्रो विश्‍वयुद्ध) विश्‍वशक्‍ति

दानियल ११:३२-४३ साम्यवादी समूह एंग्लो-अमेरिकी

(शीतयुद्ध) विश्‍वशक्‍ति

दानियल ११:४४, ४५ देखिन बाँकी b एंग्लो-अमेरिकी

विश्‍वशक्‍ति

[फुटनोट]

b दानियल अध्याय ११ को भविष्यवाणीले बेग्लाबेग्लै समयमा उत्तरका राजा र दक्षिणका राजाको भूमिका निर्वाह गर्ने राजनैतिक शक्‍तिहरूको नाउँ बताउँदैन। घटनाहरू हुन थालेपछि मात्र तिनीहरूको चिनारी स्पष्ट हुन्छ। यसबाहेक, ती दुईबीचको दुस्मनीका बेग्लाबेग्लै भागहरू छन्‌ तर कुनै कुनै भागबीचमा द्वन्द्व नहुने समयावधिहरू पनि छन्‌ अनि एउटाको प्रभुत्व हुँदा अर्को निष्क्रिय हुन्छ।

[पृष्ठ २७१-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ २७९-मा भएका चित्रहरू]

दक्षिणका राजाको “लडाइँमा” उच्च प्रविधियुक्‍त जासुसी र सैन्य आक्रमण पनि समावेश छ