सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रतिद्वन्द्वी राजाहरू २० औं शताब्दीमा प्रवेश गर्छन्‌

प्रतिद्वन्द्वी राजाहरू २० औं शताब्दीमा प्रवेश गर्छन्‌

अध्याय पन्ध्र

प्रतिद्वन्द्वी राजाहरू २० औं शताब्दीमा प्रवेश गर्छन्‌

१. एक जना इतिहासकारले १९ औं शताब्दीको युरोपका नेताहरू को थिए भनेका छन्‌?

 “उन्‍नाइसौं शताब्दीको युरोप बेजोड छ, यस्तो पहिले कहिल्यै भएको थिएन” भनी इतिहासकार नर्मन डेभिस लेख्छन्‌। तिनी थप यसो भन्छन्‌: “यो युगमा युरोप जति शक्‍तिशाली भयो, त्यति पहिले कहिल्यै भएको थिएन। युरोप पहिले कहिल्यै नपुगेको प्राविधिक, आर्थिक, सांस्कृतिक तथा अन्तर महादेशीय शक्‍तिको शिखरमा पुगेको थियो। युरोपका विजयी ‘शक्‍ति शताब्दीका’ नेताहरू सुरुमा बेलाइत . . . र पछि गएर जर्मनी भयो।”

‘दुष्ट हृदय लिएका’

२. उन्‍नाइसौं शताब्दीको अन्ततिर “उत्तरका राजा” र “दक्षिणका राजाको” भूमिका कुन कुन शक्‍तिले निर्वाह गरे?

उन्‍नाइसौं शताब्दीको अन्ततिर जर्मन साम्राज्य “उत्तरका राजा” र बेलाइत “दक्षिणका राजा” भए। (दानियल ११:१४, १५) “ती दुइ राजाहरू[बारे]” यहोवाको स्वर्गदूतले यसो भने, तिनीहरूले “दुष्ट हृदय लिएर एउटै टेबलमा बसेर एक-अर्कासँग झूट बोल्नेछन्‌।” अझै यसो पनि भने: “तर कुनै लाभ मिल्नेछैन, किनभने अन्तको दिनचाहिं तोकिएको समयमा नै आउनेछ।”—दानियल ११:२७, नयाँ संशोधित संस्करण।

३, ४. (क) जर्मन राइकका प्रथम सम्राट को भए र कस्तो सन्धि गरियो? (ख) कैसर भिलहेल्मले कस्तो नीति तय गरे?

जनवरी १८, १८७१ मा भिलहेल्म प्रथम, जर्मन राइक अथवा जर्मन साम्राज्यको पहिलो सम्राट भए। तिनले ओटो भोन बिस्मार्कलाई चान्सलर नियुक्‍त गरे। नयाँ साम्राज्य खडा गर्न तल्लीन बिस्मार्कले अरू राष्ट्रहरूसित कचमच गरेनन्‌ बरु अस्ट्रिया-हंगेरी अनि इटालीसित सम्बन्ध गाँसे, जसलाई त्रीगठबन्धन अर्थात्‌ ट्रिपल एलायन्स भनेर पनि चिनिन्छ। तर उत्तरका यो नयाँ राजाको दक्षिणका राजासित पटक्कै कुरा मिलेन।

भिलहेल्म प्रथम र तिनका उत्तराधिकारी, फ्रेडरिक तृतीयको १८८८ मा मृत्यु भएपछि २९ वर्षीय भिलहेल्म द्वितीय राजगद्दीमा बसे। भिलहेल्म द्वितीय वा कैसर भिलहेल्मले बिस्मार्कलाई जबरजस्ती राजिनामा दिन लगाए र संसारभरि जर्मनीको प्रभुत्व फैलाउने नीति तय गरे। एक जना इतिहासकार यसो भन्छन्‌, “भिलहेल्म द्वितीयको शासनमा [जर्मनीले] अहंकारी र निरंकुश वातावरण सृजना गऱ्‍यो।”

५. दुई राजाहरू कसरी “एउटै टेबलमा बसे” र कस्ता कुराकानी गरे?

रूसका जार निकोलस द्वितीयले अगस्त २४, १८९८ का दिन नेदरल्याण्ड्‌सको हेगमा शान्ति अधिवेशन बोलाउँदा अन्तरराष्ट्रिय तनाउको वातावरण थियो। यो र यसपछि १९०७ मा सम्पन्‍न अधिवेशनले हेगको महासन्धिबमोजिम स्थायी मध्यस्थतासम्बन्धी अदालत स्थापना गऱ्‍यो। यस अदालतका सदस्यहरू भएर जर्मन राइक र बेलाइतले शान्ति चाहेजस्तो ढोंग गरे। तिनीहरू “एउटै टेबलमा बसेर” मित्रैलो भई टोपल्थे तर तिनीहरूको ‘दुष्ट हृदय’ खराब काम गर्न अग्रसर थियो। ‘एउटै टेबलमा बसेर झूट बोल्ने’ कुटनीतिले साँचो शान्ति प्रदान गर्न सक्दैन। तिनीहरूको कुनै पनि राजनैतिक, आर्थिक र सैनिक लक्ष्यबाट ‘लाभ मिल्ने थिएन’ किनभने यी दुवैको अन्त यहोवा परमेश्‍वरद्वारा “तोकिएको समयमा नै आउनेछ।”

“पवित्र करारको विरुद्धमा”

६, ७. (क) उत्तरका राजा कुन अर्थमा “आफ्नै देश” फर्क्यो? (ख) दक्षिणका राजाले उत्तरका राजाको व्यापक प्रभावप्रति कस्तो प्रतिक्रिया देखाए?

परमेश्‍वरको स्वर्गदूतले अझ यसो भने: “ठूलो सम्पत्तिको साथ उत्तरको राजा आफ्नै देशमा फर्कनेछ, तर त्यसको हृदय पवित्र करारको विरुद्ध हुनेछ। त्यसले यसको विरुद्ध काम गर्नेछ, अनि आफ्नै देश फर्कनेछ।”—दानियल ११:२८, नयाँ संशोधित संस्करण।

कैसर भिलहेल्म, उत्तरका पुरातन राजाको “देश” अथवा पार्थिव अवस्थामा फर्के। कसरी? जर्मन राइक र यसको प्रभाव फैलाउने शाही शासन निर्माण गरेर। भिलहेल्म द्वितीयले अफ्रिका र अन्य ठाउँहरूमा उपनिवेशहरू खडा गरे। बेलाइती सामुद्रिक प्रभुत्वलाई चुनौती दिन तिनले एउटा शक्‍तिशाली जलसेना तयार गरे। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “जर्मनीको जलसेना सुरुमा नगन्य भए तापनि लगभग दस वर्षभित्र बेलाइतपछि दोस्रो ठूलो जलसेना हुनपुग्यो।” आफ्नो प्रभुत्व कायमै राख्न बेलाइतले जलसेना बढाउनु पऱ्‍यो। बेलाइतले फ्रान्स र रूससित पारस्परिक सम्झौता ट्रिपल एन्टेन्टे कायम गऱ्‍यो। यसले गर्दा युरोप दुइटा सैनिक समूहमा विभाजित भयो—एकातिर ट्रिपल एलायन्स र अर्कोतिर ट्रिपल एन्टेन्टे।

८. जर्मन साम्राज्यले कसरी “ठूलो सम्पत्ति” जम्मा गऱ्‍यो?

जर्मन साम्राज्यले कठोर नीति बनाएको हुँदा जर्मनीले “ठूलो सम्पत्ति” जम्मा गऱ्‍यो किनभने जर्मनी ट्रिपल एलायन्सको प्रमुख पक्ष थियो। अस्ट्रिया-हंगेरी र इटाली, रोमन क्याथोलिक थिए। तसर्थ, ट्रिपल एलायन्सलाई पोपको पनि समर्थन थियो भने ट्रिपल एन्टेन्टे मुख्यतः गैर-क्याथोलिक भएकोले, दक्षिणका राजाले पोपको समर्थन पाएन।

९. उत्तरका राजाको हृदय कसरी ‘पवित्र करार विरुद्ध’ थियो?

यहोवाका जनहरू नि? तिनीहरूले “अन्यजातिहरूको समय” १९१४ मा अन्त हुनेछ भनेर घोषणा गरिरहेको धेरै समय भइसकेको थियो। a (लूका २१:२४, नयाँ संशोधित संस्करण) त्यही साल, राजा दाऊदका उत्तराधिकारी येशू ख्रीष्टको नेतृत्वमा परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भयो। (२ शमूएल ७:१२-१६; लूका २२:२८, २९) आजभन्दा धेरैअघि मार्च १८८० मै वाच टावर पत्रिकाले परमेश्‍वरको राज्य सुरु हुँदा “अन्यजातिहरूको समय” अन्त हुनेछ भनेर बताइसकेको थियो। तर उत्तरका जर्मन राजाको हृदय ‘परमेश्‍वरको राज्यको पवित्र करार विरुद्ध’ थियो। परमेश्‍वरको राज्यलाई स्वीकार्नुको साटो कैसर भिलहेल्मले विश्‍व प्रभुत्व जमाउने योजना अघि बढाउँदै ‘यसको विरुद्ध काम गरे।’ यसरी तिनले प्रथम विश्‍वयुद्धको बीउ रोपे।

राजाले युद्धमा “हरेस” खान्छन्‌

१०, ११. प्रथम विश्‍वयुद्ध कसरी सुरु भयो र यो कसरी “तोकिएको समयमा” हुन गयो?

१० स्वर्गदूतले यस्तो अगमवाणी गरे, “तोकिएको समयमा [उत्तरका राजाले] फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्टको परिणाम पहिलाको भन्दा फरक हुनेछ।” (दानियल ११:२९, नयाँ संशोधित संस्करण) पृथ्वीमा अन्यजातिको प्रभुत्व अन्त गर्ने “तोकिएको समय” १९१४ मा स्वर्गमा राज्य स्थापना हुँदा सुरु भयो। त्यही सालको जून २८ तारिखका दिन सर्बियाली आतंककारीले सारायेभो, बोस्नियामा अस्ट्रियाली आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र तिनकी पत्नीको हत्या गरे। यो घटनाले प्रथम विश्‍वयुद्धको आगो सल्कायो।

११ कैसर भिलहेल्मले अस्ट्रिया-हंगेरीलाई सर्बिया विरुद्ध आक्रमण गर्न आग्रह गरे। जर्मनको समर्थन पाउने ढुक्क भएर अस्ट्रिया-हंगेरीले जुलाई २८, १९१४ मा सर्बिया विरुद्ध युद्धको घोषणा गऱ्‍यो। तर रूसले सर्बियालाई मदत गऱ्‍यो। जर्मनीले रूस विरुद्ध युद्ध घोषणा गरेपछि फ्रान्सले (ट्रिपल एन्टेन्टेको एउटा पक्ष) रूसलाई समर्थन गऱ्‍यो। त्यसपछि जर्मनीले फ्रान्स विरुद्ध युद्ध घोषणा गऱ्‍यो। पेरिस आवतजावत गर्न कुनै रोकटोक नहोस्‌ भनेर जर्मनीले बेल्जियममाथि आक्रमण गऱ्‍यो। त्यतिखेर बेलाइतले बेल्जियमको निष्पक्षतालाई समर्थन गरेको थियो। त्यसकारण, बेलाइतले जर्मनी विरुद्ध युद्धको घोषणा गऱ्‍यो। अरू राष्ट्रहरू पनि युद्धमा मुछिए र इटालीले कहिले एउटालाई त कहिले अर्कै पक्षलाई समर्थन गऱ्‍यो। युद्धको बेला बेलाइतले इजिप्टलाई आफ्नो पक्षमा लियो र यसो गर्नुको प्रमुख उद्देश्‍य, उत्तरका राजाले स्वेज कनाल बन्द नगरोस्‌ र दक्षिणका राजाको पुरातन भूमि अर्थात्‌ मिश्रमाथि आक्रमण नगरोस्‌ भनेर हो।

१२. प्रथम विश्‍वयुद्धमा कुन अर्थमा परिणाम ‘पहिलाको भन्दा फरक भयो?’

१२ द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ, “संयुक्‍त सेनाको दल र सामर्थ्यको बावजूद जर्मनीले नै युद्ध जित्ला जस्तो देखिन्थ्यो।” यसअघि दुई राजाबीचका युद्धहरूमा उत्तरका राजा अर्थात्‌ रोमी साम्राज्य लगातार विजयी भएको थियो। तर यस पल्टको परिणाम ‘पहिलाको भन्दा फरक भयो।’ उत्तरका राजा युद्धमा पराजित भए। यसको कारण दिंदै स्वर्गदूतले यसो भने: “पश्‍चिमी किनारका [“कित्तीमका जहाजहरू,” NW] देशहरूबाट त्यसको विरुद्धमा आउनेछन्‌, र त्यसले हरेस खानेछ।” (दानियल ११:३०क, नयाँ संशोधित संस्करण) “कित्तीमका जहाजहरू” के थिए?

१३, १४. (क) उत्तरका राजा विरुद्ध आएका “कित्तीमका जहाजहरू” मुख्यतः के थिए? (ख) प्रथम विश्‍वयुद्धको दौडान कित्तीमबाट कसरी अझ धेरै जहाजहरू आए?

१३ दानियलको समयमा कित्तीम, साइप्रस थियो। प्रथम विश्‍वयुद्धको सुरुतिर साइप्रस बेलाइतमा गाभियो। यसबाहेक, जन्डरभान पिक्टोरियल इन्साइक्लोपीडिया अफ द बाइबल-अनुसार कित्तीमले “सामान्यतया पश्‍चिमी भूमाग तर विशेष गरी पश्‍चिमी समुद्री इलाकालाई” बुझाउँछ। “कित्तीमका जहाजहरू[लाई]” न्यु इन्टरनेसनल भर्सन-ले “पश्‍चिमी किनारका जहाजहरू” भनी अनुवाद गरेको छ। प्रथम विश्‍वयुद्धको दौडान मुख्यतया युरोपको पश्‍चिमी समुद्रीतटमा तैनाथ बेलाइतबाट आएका जहाजहरू कित्तीमका जहाजहरू साबित भए।

१४ युद्धको दौडान बेलाइती जलसेनालाई कित्तीमका अरू थप जहाजहरूले शक्‍तिशाली बनाए। मे ७, १९१५ का दिन जर्मन पनडुब्बी यू-ट्‌वेन्टी-ले यात्रुवाहक जहाज, लुसिटानिया-लाई आयरल्याण्डको दक्षिणी समुद्री किनारनेर डुबायो। यसमा मर्नेहरूमध्ये १२८ जना अमेरिकी थिए। पछि, जर्मनीले आन्द्र महासागरसम्मै पनडुब्बी युद्ध सुरु गऱ्‍यो। फलतः त्यसको लगत्तै अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले अप्रिल ६, १९१७ मा जर्मनी विरुद्ध युद्ध घोषणा गरे। अमेरिकी युद्ध जहाज तथा सेनाद्वारा शक्‍तिशाली बनाइएको दक्षिणका राजाले, जो अबचाहिं एंग्लो-अमेरिकी विश्‍वशक्‍ति थियो, आफ्नो प्रतिद्वन्द्वी राजासित घमासान युद्ध गऱ्‍यो।

१५. उत्तरका राजाले कहिले “हरेस” खाए?

१५ एंग्लो-अमेरिकी विश्‍व शक्‍तिको आक्रमणको सामना गर्नुपरेपछि उत्तरका राजाले “हरेस” खाएर नोभेम्बर १९१८ मा हार स्वीकाऱ्‍यो। भिलहेल्म द्वितीय निर्वासित जीवन बिताउन नेदरल्याण्ड्‌सतिर भागे र जर्मनी गणतन्त्र भयो। तर उत्तरका राजा अझै खतम भइसकेको चाहिं थिएन।

राजाले “त्यसको विरुद्ध काम” गर्छ

१६. भविष्यवाणीअनुसार उत्तरका राजाले आफ्नो पराजय हुँदा कस्तो प्रतिक्रिया देखाउने थिए?

१६ “[उत्तरका राजा] फर्केर पवित्र करारको विरुद्धमा त्यसले आफ्नो रीस पोख्नेछ। त्यो फर्कनेछ र त्यसले पवित्र करार त्याग्नेहरूलाई कृपा देखाउनेछ।” (दानियल ११:३०ख, नयाँ संशोधित संस्करण) स्वर्गदूतले त्यस्तो भविष्यवाणी गरे अनि त्यस्तै भयो पनि।

१७. हिटलरको उत्थान हुनुको कारण के थियो?

१७ सन्‌ १९१८ मा युद्ध अन्त भएपछि विजयी संयुक्‍त सेनाले जर्मनीलाई दण्ड दिने मनसाय राखेर शान्ति सन्धि गऱ्‍यो। जर्मनीका मानिसहरूलाई यो सन्धिका मागहरू कठोर लाग्यो र यो नयाँ गणतन्त्र सुरुदेखि नै कमजोर थियो। जर्मनीले केही वर्षसम्म अत्यन्तै अस्थिरता खप्नु पऱ्‍यो र त्यसपछि भएको महामन्दीले गर्दा ६० लाख जति मानिसहरू बेरोजगार भए। सन्‌ १९३० दशकको सुरुतिर अडोल्फ हिटलरको उत्थान हुने उपयुक्‍त वातावरण बनिसकेको थियो। तिनी जनवरी १९३३ मा चान्सलर भए। त्यसपछिको साल, राष्ट्रपतिको पद ग्रहण गरे र तिनलाई नाजीहरू तेस्रो राइक भन्थे। b

१८. हिटलरले कसरी अरूको “विरुद्ध काम” गरे?

१८ आफू शक्‍तिशाली हुने बित्तिकै हिटलरले येशू ख्रीष्टका अभिषिक्‍त भाइहरूले प्रतिनिधित्व गर्ने “पवित्र करार” विरुद्ध भीषण आक्रमण सुरु गरे। (मत्ती २५:४०) यसरी तिनले वफादार मसीहीहरू “विरुद्ध काम” गरे अनि तिनीहरूमध्ये थुप्रैलाई निर्ममतासाथ सताए। हिटलरले आर्थिक र कुटनैतिक क्षेत्रमा पनि त्यसको “विरुद्ध काम” गर्दै सफलता हासिल गरे। केही वर्षभित्रै तिनले जर्मनीलाई शक्‍तिशाली राष्ट्रको रूपमा खडा गरे।

१९. सहयोगको लागि हिटलरले कोसित सम्झौता गरे?

१९ हिटलरले पवित्र करार “त्याग्नेहरूलाई कृपा” देखाए। यिनीहरू को थिए? प्राप्त प्रमाणअनुसार यी मसीहीजगत्‌का नेताहरू थिए। तिनीहरू परमेश्‍वरसित करारमा बाँधिएको दाबी गर्थे तर येशू ख्रीष्टका चेलाहरू हुन छाडिसकेका थिए। हिटलरले ‘पवित्र करार त्याग्नेहरूसित’ सहयोग मागे अनि आफूले खोजेजस्तो सहयोग पाए पनि। उदाहरणका लागि, तिनले रोमका पोपसित एउटा सम्झौता गरे। हिटलरले १९३५ मा चर्चका गतिविधिहरू हेर्न एउटा मन्त्रालय खडा गरे। यसो गर्नुको एउटा उद्देश्‍य, इभान्जेलिकल चर्चहरूलाई सरकारको नियन्त्रणमा राख्नु थियो।

राजाले पठाएका “सशस्त्र सेना”

२०. उत्तरका राजाले कस्तो “सशस्त्र सेना” प्रयोग गऱ्‍यो र कसको विरुद्धमा?

२० स्वर्गदूतले भविष्यवाणी गरेअनुसारै हिटलर चाँडै युद्ध गर्न सुरिए: “त्यसको सशस्त्र सेना मन्दिरको किल्लालाई बिटुलो पार्न खडा हुनेछ र दैनिक बलिदान रोक्नेछ।” (दानियल ११:३१क, नयाँ संशोधित संस्करण) यहाँ “सशस्त्र सेना” उत्तरका राजाले दक्षिणका राजासित लड्‌न दोस्रो विश्‍वयुद्धमा प्रयोग गरेको सैन्यशक्‍ति थियो। सेप्टेम्बर १, १९३९ का दिन नाजी “सशस्त्र सेना” पोल्याण्डभित्र घुस्यो। त्यसको दुई दिनपछि बेलाइत र फ्रान्सले पोल्याण्डलाई सघाउन जर्मन विरुद्ध युद्ध घोषणा गरे। यसरी दोस्रो विश्‍वयुद्ध सुरु भयो। पोल्याण्डको पतन हुन धेरै समय लागेन र त्यसको लगत्तै जर्मन सेनाहरूले डेनमार्क, नर्वे, नेदरल्याण्ड्‌स, बेल्जियम, लक्जमबर्ग र फ्रान्स कब्जा गरे। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ, “सन्‌ १९४१ को अन्तमा नाजी जर्मनीले सम्पूर्ण महादेशमाथि प्रभुता जमायो।”

२१. दोस्रो विश्‍वयुद्धको बेला उत्तरका राजा विरुद्ध कसरी पासा पल्ट्यो र यसको परिणाम के भयो?

२१ जर्मनी र सोभियत संघले मित्रता, सहयोग र सीमा सन्धि गरिसकेको भए तापनि जून २२, १९४१ मा हिटलर सोभियत इलाकाभित्र घुस्न थाले। यसकारण, सोभियत संघले बेलाइतको पक्ष लियो। जर्मन सेनाको अप्रत्याशित आक्रमणलाई सोभियत सेनाले डटेर प्रतिरोध गऱ्‍यो। डिसेम्बर ६, १९४१ मा जर्मन सेना मस्कोमा साँच्चै पराजित भयो। त्यसको भोलिपल्ट, जर्मनीको मित्र जापानले हवाईको पर्ल हार्बरमा बम खसाल्यो। यो घटनाबारे थाह पाएपछि हिटलरले आफ्ना सहयोगीहरूलाई यसो भने: “अब हामी कुनै हालतमा युद्ध हार्नेछैनौं।” डिसेम्बर ११ का दिन तिनले कुनै सोचविचारै नगरी संयुक्‍त राज्य अमेरिका विरुद्ध युद्ध घोषणा गरे। तर तिनले सोभियत संघ र संयुक्‍त राज्य अमेरिका कत्ति शक्‍तिशाली राष्ट्र हुन्‌ भनेर गलत अनुमान लगाइरहेका थिए। सोभियत सेनाले पूर्व र बेलाइती तथा अमेरिकी सेनाले पश्‍चिमबाट आक्रमण गर्दा हिटलरको पासा पल्टियो। जर्मन सेनाले एकपछि अर्का इलाकाहरू गुमाउन थाल्यो। हिटलरले आत्महत्या गरेपछि जर्मनीले मे ७, १९४५ मा संयुक्‍त सेनाको अगाडि आत्मसमर्पण गऱ्‍यो।

२२. उत्तरका राजाले कसरी ‘पवित्रस्थानलाई बिटुलो पारेर दैनिक बलिदान रोके’?

२२ स्वर्गदूतले यसो भने, “[नाजी सेनाहरू] मन्दिरको किल्लालाई बिटुलो पार्न खडा हुनेछ र दैनिक बलिदान रोक्नेछ।” पुरातन यहूदामा, पवित्रस्थान, यरूशलेमको मन्दिरको भाग थियो। तथापि, यहूदीहरूले येशूलाई तिरस्कार गर्दा यहोवाले तिनीहरू र तिनीहरूको मन्दिरलाई समेत तिरस्कार गर्नुभयो। (मत्ती २३:३७-२४:२) सा.यु. प्रथम शताब्दीदेखि यहोवाको मन्दिर, आध्यात्मिक भएको छ। यसको अति पवित्रस्थान स्वर्गमा र आध्यात्मिक चोक पृथ्वीमा बसालिएको छ। त्यहाँ प्रधान पूजाहारी, येशू ख्रीष्टका भाइहरूले सेवा गर्छन्‌। सन्‌ १९३० दशकदेखि “ठूलो भीडले” अभिषिक्‍त शेषजनसँगसँगै उपासना गरिरहेका छन्‌। त्यसैले, तिनीहरू ‘परमेश्‍वरको मन्दिरमा’ सेवा चढाउँछन्‌ भन्‍नु उपयुक्‍त छ। (प्रकाश ७:९, १५; ११:१, २; हिब्रू ९:११, १२, २४) उत्तरका राजाले आफ्नो नियन्त्रणमा रहेका मुलुकहरूमा अभिषिक्‍त शेषजन र तिनीहरूका सहयोगीहरूलाई निरन्तर सताएर मन्दिरको पार्थिव चोकलाई बिटुलो पारे। यो सतावट एकदमै कठोर भएकोले “दैनिक बलिदान” अर्थात्‌ यहोवाको नाउँको प्रशंसाका लागि चढाइने स्तुतिको बलिदान बन्द भयो। (हिब्रू १३:१५) तथापि, दोस्रो विश्‍वयुद्धको दौडान क्रूर सतावटको बावजूद विश्‍वासी अभिषिक्‍त मसीहीहरू र “अरू भेड़ा[ले]” प्रचार गर्न छाडेनन्‌।—यूहन्‍ना १०:१६.

‘घृणित कुरा स्थापना गर्छन्‌’

२३. प्रथम शताब्दीको “घृणित कुरा” के थियो?

२३ दोस्रो विश्‍वयुद्धको अन्त हुनै लाग्दा परमेश्‍वरको स्वर्गदूतले घोषणा गरेझैं अर्को एउटा घटना घट्यो। “तिनीहरूले विनाशकारी घृणित थोकको स्थापना गर्नेछन्‌।” (दानियल ११:३१ख, नयाँ संशोधित संस्करण) येशूले पनि “घृणित कुरा[बारे]” बताउनुभएको थियो। सा.यु. ६६ मा यहूदी विद्रोह दबाउन यरूशलेम आएको रोमी सेना नै प्रथम शताब्दीको लागि त्यो घृणित कुरा थियो। cमत्ती २४:१५; दानियल ९:२७.

२४, २५. (क) वर्तमान समयमा ‘स्थापित घृणित कुरा’ के हो? (ख) कहिले र कसरी “घृणित कुरा” स्थापना भयो?

२४ आधुनिक समयमा कुन ‘घृणित कुरा स्थापित’ भएको छ? स्पष्टतः यो “घृणित” कुरा, परमेश्‍वरको राज्यको नकली रूप हो। यो राष्ट्र संघ अर्थात्‌ चहकिलो रातो रंगको जंगली जनावर थियो। त्यसलाई अगाध खाँदमा फ्याँकिएको थियो अर्थात्‌ दोस्रो विश्‍वयुद्ध सुरु हुँदा यो विश्‍वशान्ति संगठनको रूपमा उभिन छोडिसकेको थियो। (प्रकाश १७:८) तथापि, “त्यो जानवर . . . अगाध खाँदबाट . . . आउनलागेको” थियो। अक्टोबर २४, १९४५ मा भूतपूर्व सोभियत संघलगायत ५० सदस्य राष्ट्रहरूद्वारा गठित संयुक्‍त राष्ट्र संघको स्थापना हुँदा यो अगाध खाँदबाट फेरि बाहिर निस्क्यो। तसर्थ, स्वर्गदूतले भविष्यवाणी गरेझैं “घृणित कुरा” अर्थात्‌ संयुक्‍त राष्ट्र संघको स्थापना भयो।

२५ दुवै विश्‍वयुद्धमा दक्षिणका राजाको प्रमुख शत्रुको हैसियतमा जर्मनीले उत्तरका राजाको भूमिका निर्वाह गरेको थियो। अब यसको ठाउँ कसले लिने थियो?

फुटनोटहरू]

a यो पुस्तकको अध्याय ६ हेर्नुहोस्‌।

b पवित्र रोमी साम्राज्य प्रथम राइक र जर्मन साम्राज्य दोस्रो राइक थियो।

c यो पुस्तकको अध्याय ११ हेर्नुहोस्‌।

तपाईंले के बुझ्नुभयो?

• उन्‍नाइसौं शताब्दीको अन्ततिर उत्तरका राजा र दक्षिणका राजाको भूमिका क-कसले निर्वाह गरे?

• प्रथम विश्‍वयुद्धको दौडान उत्तरका राजाको लागि किन “परिणाम पहिलाको भन्दा फरक” भयो?

• प्रथम विश्‍वयुद्धपछि हिटलरले कसरी जर्मनीलाई विश्‍वमा शक्‍तिशाली राष्ट्रको रूपमा खडा गरे?

• दोस्रो विश्‍वयुद्धमा उत्तरका राजा र दक्षिणका राजाबीच दुस्मनीको कस्तो परिणाम भयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६८-मा भएको पेटी/चित्र]

दानियल ११:२७-३१ का राजाहरू

उत्तरका दक्षिणका

राजा राजा

दानियल ११:२७-३०क जर्मन साम्राज्य बेलाइत, त्यसपछि

(प्रथम विश्‍वयुद्ध) एंग्लो-अमेरिकी

विश्‍वशक्‍ति

दानियल ११:३०ख, ३१ हिटलरको तेस्रो राइक एंग्लो-अमेरिकी

(दोस्रो विश्‍वयुद्ध) विश्‍वशक्‍ति

[चित्र]

राष्ट्रपति वुड्रो विल्सन र राजा जर्ज पाँचौं

[चित्र]

यातना शिविरहरूमा थुप्रै मसीहीहरूलाई सताइयो

[चित्र]

मसीहीजगत्‌का नेताहरूले हिटलरको समर्थन गरे

[चित्र]

यो गाडीमा सवार हुँदा आर्कड्युक फर्डिनान्डको हत्या गरिएको थियो

[चित्र]

जर्मन सिपाहीहरू, प्रथम विश्‍वयुद्ध

[पृष्ठ २५७-मा भएको चित्र]

सन्‌ १९४५ याल्टामा बेलाइती प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकी राष्ट्रपति फ्रांक्लिन डि. रुजभेल्ट र सोभियत प्रधानमन्त्री जोसेफ स्टालिन जर्मनीमाथि कब्जा गर्ने, पोल्याण्डमा नयाँ सरकार गठन गर्ने र संयुक्‍त राष्ट्र संघ खडा गर्न अधिवेशन गर्ने योजनासित सहमत भएका थिए

[पृष्ठ २५८-मा भएको चित्र]

१. आर्कड्युक फर्डिनान्ड २. जर्मन जलसेना ३. बेलाइती जलसेना ४. लुसिटानिया ५. अमेरिकाको युद्ध घोषणा

[पृष्ठ २६३-मा भएको चित्र]

जर्मनीको युद्धमित्र जापानले पर्ल हार्बरमा बम खसाल्दा अडोल्फ हिटलर आफू विजयी हुनेछु भनी ढुक्क भए