सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीहको आगमनको समय प्रकट गरियो

मसीहको आगमनको समय प्रकट गरियो

अध्याय एघार

मसीहको आगमनको समय प्रकट गरियो

१. यहोवा समय तालिका राख्नुहुने महान्‌ व्यक्‍ति हुनुभएकोले हामी कुन कुरामा ढुक्क हुनसक्छौं?

 यहोवा समय तालिका एकदमै ख्याल राख्नुहुने महान्‌ व्यक्‍ति हुनुहुन्छ। आफ्नो कामसित सम्बन्धित हर समय र बखत उहाँकै नियन्त्रणमा छ। (प्रेरित १:७) उहाँले ती समय र बखतको लागि तोक्नुभएका सबै घटनाहरू अवश्‍य हुनेछन्‌। त्यसै बेकार जानेछैन।

२, ३. दानियलले कुन भविष्यवाणीलाई ध्यान दिए अनि त्यतिबेला बेबिलोनमाथि कुन साम्राज्यले शासन गरिरहेको थियो?

धर्मशास्त्रको लगनशील विद्यार्थी, दानियललाई यहोवाले घटनाक्रमको तालिका बनाउनुहुन्छ र त्यसैअनुसार गर्न पनि सक्नुहुन्छ भन्‍ने कुरामा पूरा विश्‍वास थियो। दानियलले यरूशलेमको विनाशसित सम्बन्धित भविष्यवाणीहरूमा विशेष चासो राखेका थिए। परमेश्‍वरले प्रकट गर्नुभएअनुसार त्यो पवित्र शहर कतिञ्जेल उजाड रहनेछ भनी यर्मियाले लिपिबद्ध गरेका थिए अनि दानियलले यो भविष्यवाणीलाई गहिरिएर केलाए। तिनले यसप्रकार लेखे: “अहासूरसको छोरा दाराको (जो मादी वंशमा जन्मेका थिए, औ जो कल्दीहरूका राज्यमा राजा नियुक्‍त भएका थिए) शासनकालको पहिलो वर्षमा, सत्तरी वर्ष नबितुञ्जेल यरूशलेम नाशको अवस्थामा रहनेछ। यर्मिया अगमवक्‍तालाई परमप्रभुबाट आएको वचनमा म, दानियलले धर्मशास्त्र पढ़ेर विचार गरिरहेको थिएँ।”—दानियल ९:१, २; यर्मिया २५:११.

त्यतिबेला मादी दाराले “कल्दीहरूका राज्यमा” शासन गरिरहेका थिए। दानियलले भित्तामा लेखिएका अक्षरहरूबारे गरेको अघिल्लो भविष्यवाणी पूरा हुन ढिलो भएन। बेबिलोन साम्राज्य पतन भइसकेको थियो। यो साम्राज्य सा.यु.पू. ५३९ मा “मादी र फारसीहरूलाई” दिइसकेको थियो।—दानियल ५:२४-२८, ३०, ३१.

दानियल नम्र भई यहोवालाई अन्तर-बिन्ती गर्छन्‌

४. (क) परमेश्‍वरबाट छुटकारा पाउन के चाहिन्थ्यो? (ख) दानियलले कसरी यहोवालाई पुकारे?

यरूशलेमको ७० वर्षे उजाड अवस्था पूरा हुनै लागेको छ भनी दानियललाई थाह थियो। अब तिनले के गर्नेथिए? तिनी आफै यसो भन्छन्‌: “अब प्रार्थना र अन्तर–बिन्ती गरी, उपवास बस्तै भाङरा ओढ़ेर खरानी घसी मैले आफ्नो मोहोड़ा परमप्रभु परमेश्‍वरतिर फर्काएँ। पश्‍चाताप गर्दै मैले परमप्रभु मेरा परमेश्‍वरलाई . . . प्रार्थना गरें।” (दानियल ९:३, ४) परमेश्‍वरले दिनुहुने करूणामय छुटकारा पाउन हृदयको अवस्था राम्रो हुनुपर्थ्यो। (लेवी २६:३१-४६; १ राजा ८:४६-५३) विश्‍वास चाहिन्थ्यो, नम्र मनोभाव हुनुपर्थ्यो अनि जुन पापको लागि तिनीहरू निर्वासन र दासत्वमा परेको थिए, त्यसका लागि पूरा पश्‍चात्ताप गर्नु जरूरी थियो। अतः आफ्ना पापी जनहरूको खातिर दानियलले परमेश्‍वरलाई पुकारे। कसरी? पश्‍चात्ताप अनि निष्कपट हृदय देखाउन उपवास बसेर, बिलौना गरेर अनि भाङ्‌ग्रा ओडेर।

५. यहूदीहरू आफ्नो मातृभूमिमा पुनर्स्थापित हुनेछन्‌ भनेर दानियल किन ढुक्क हुन सके?

यर्मियाको भविष्यवाणीले दानियललाई आशा प्रदान गरेको थियो किनभने यसले यहूदीहरू अब चाँडै आफ्नो मातृभूमि यहूदा फर्कन पाउनेछन्‌ भनेर संकेत गऱ्‍यो। (यर्मिया २५:१२; २९:१०) निस्सन्देह, अरूको अधीनमा परेका यहूदीहरू अब चाँडै मुक्‍त हुनेछन्‌ भनेर दानियल ढुक्क भएको हुनुपर्छ किनभने कोरेस नाउँको व्यक्‍तिले फारसमा शासन गर्न थालिसकेको थियो। के यरूशलेम र त्यसको मन्दिर पुनर्निर्माण गर्न यहूदीहरूलाई छुटकारा दिने कार्यमा कोरेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्‌ भनेर यशैयाले पहिल्यै भविष्यवाणी गरिसकेका थिएनन्‌ र? (यशैया ४४:२८-४५:३) तर यो कसरी हुनेछ भनेर दानियललाई अत्तोपत्तो थिएन। त्यसकारण तिनले यहोवालाई प्रार्थनामा बिन्ती गर्न छोडेनन्‌।

६. दानियलले प्रार्थनामा कुन कुरा मानिलिए?

दानियलले परमेश्‍वरको दया र अनुग्रहको निम्ति पुकारा गरे। यहूदीहरूले विद्रोह गरे, यहोवाका आज्ञाहरू पालन गरेनन्‌ अनि उहाँका अगमवक्‍ताहरूलाई टेरेनन्‌ भनी दानियलले नम्र भई स्वीकारे। त्यसैकारण परमेश्‍वरले “तिनीहरूको विश्‍वासघातले गर्दा . . . धपाउनु” उचित थियो। दानियलले यस्तो प्रार्थना गरे: “हे परमप्रभु, हाम्रा राजाहरू, शासकहरू र पिता–पुर्खाहरूलेझैं हामीले लज्जित हुनुपरेको छ। हामी सबैले तपाईंको विरुद्धमा पाप गरेका छौं। हामी उहाँको विरुद्धमा वागी भए तापनि करुणा र क्षमा परमप्रभु, हाम्रा परमेश्‍वरकै हुन्‌। औ हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञा पालन गरेका छैनौं। आफ्ना दास अगमवक्‍ताहरूद्वारा हामीलाई दिनुभएको व्यवस्था हामीले मानेका छैनौं। तपाईंको वचन पालन नगरेर सारा इस्राएलले तपाईंको व्यवस्था भङ्‌ग गरेका छन्‌ र त्यसदेखि तर्किगएका छन्‌, औ परमेश्‍वरका दास मोशाको व्यवस्थामा देखाएका आज्ञा र ठहराइएका शपथमा पाउने सराप हामीमाथि पानीझैं खनिएको छ, किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं।”—दानियल ९:५-११; प्रस्थान १९:५-८; २४:३, ७, ८.

७. यहूदीहरूलाई निर्वासनमा जान दिनुभएर यहोवाले सही कदम चाल्नुभयो भनी किन भन्‍न सक्छौं?

अनाज्ञाकारी हुँदा अनि उहाँले बाँध्नुभएको करारको बेवास्ता गर्दा कस्तो परिणाम भोग्नुपर्नेछ भनेर परमेश्‍वरले इस्राएलीहरूलाई चेताउनी दिइसक्नुभएको थियो। (लेवी २६:३१-३३; व्यवस्था २८:१५; ३१:१७) दानियल परमेश्‍वरका कार्यहरू उचित छन्‌ भनी मानिलिंदै यसो भन्छन्‌: “हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूका विषयमा भन्‍नुभएका कुरा सबै तपाईंले पूरा गर्नुभएको छ। हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाका पुस्तकमा पहिलेनै दर्शाएका थिए, तापनि हामीले आफ्ना परमेश्‍वरलाई मनाउनलाई केही गरेका छैनौं। आफ्ना अधर्मका कामबाट नता हामीले पश्‍चाताप गऱ्‍यौं, न तपाईं आफ्नो वचनमा सत्य हुनुहुन्छ भन्‍ने कुरामा हामीले ध्यान दियौं। यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनुभयो। आफूले गर्नुभएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्‍वर ठीकै हुनुहुन्छ, तापनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।”—दानियल ९:१२-१४.

८. दानियलले कुन कुरालाई ध्यानमा राख्दै यहोवालाई बिन्ती गर्छन्‌?

दानियल आफ्ना जनका कार्यहरूको सफाइ दिन खोज्दैनन्‌। तिनीहरू निर्वासित हुन योग्यका थिए भनी तिनी यसरी मानिलिन्छन्‌: “हामीले पाप गरेका छौं, हामीले खराबी गरेका छौं।” (दानियल ९:१५) तिनी दुःखकष्टबाट मुक्‍त हुन मात्र चिन्तित थिएनन्‌। तिनी यहोवाको महिमा र आदरलाई ध्यानमा राख्दै बिन्ती गर्छन्‌। यहूदीहरूलाई माफ दिनुका साथै तिनीहरूलाई मातृभूमिमा पुनर्स्थापित गर्नुभएर यहोवाले यर्मियामार्फत गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुने थियो र आफ्नो पवित्र नाउँ उच्च पार्नुहुने थियो। दानियल यसरी बिन्ती गर्छन्‌: “हे परमप्रभु, तपाईंको उद्धारका कामहरूद्वारा आफ्नो शहर, आफ्नो पवित्र डाँड़ा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनुहोस्‌। हाम्रा पाप र हाम्रा पिता–पुर्खाहरूका दोषले गर्दा यरूशलेम र तपाईंको लोक हाम्रा सबै छिमेकीहरूका बीचमा एउटा गिल्ला भएका छन्‌।”—दानियल ९:१६.

९. (क) दानियलले आफ्नो प्रार्थनाको अन्तमा कस्तो बिन्ती गरेका छन्‌? (ख) दानियल कुन कुराले गर्दा चिन्तित छन्‌ तर तिनले यहोवाको नाउँप्रति कसरी आदर देखाउँछन्‌?

दानियल यस्तो व्यग्र प्रार्थना गर्छन्‌: “यसकारण अब हे हाम्रा परमेश्‍वर, आफ्नो दासको प्रार्थना र अन्तर–बिन्ती सुन्‍नुहोस्‌। हे परमप्रभु, तपाईं आफ्नै खातिर, आफ्नो उजाड़ भएको पवित्रस्थानमा आफ्नो रूप प्रकाश गर्नुहोस्‌। हे परमेश्‍वर, आफ्नो कान थापेर सुन्‍नुहोस्‌, आफ्नो आँखा खोल्नुहोस्‌, र हाम्रो उजाड़ अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नुहोस्‌। हाम्रा आफ्नै धार्मिकताद्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईको सामने हामी आफ्नो अन्तर–बिन्ती टक्राउँदछौं। हे परमप्रभु, सुन्‍नुहोस्‌। हे परमप्रभु, क्षमा गर्नुहोस्‌। हे परमप्रभु, सुनेर त्यसैअनुसार गरिदिनुहोस्‌। आफ्नै नाउँको खातिर ढीलो नगर्नुहोस्‌। हे परमेश्‍वर, किनभने तपाईंको शहर र तपाईंको लोक तपाईंकै नाउँले कहलाइएका छन्‌।” (दानियल ९:१७-१९) परमेश्‍वरले आफ्ना जनहरूलाई क्षमा नगरीकन निर्वासित रहन दिनुभयो, आफ्नो पवित्र शहर यरूशलेमलाई अनिश्‍चित कालसम्म उजाड छोड्‌नुभए पछि पनि के राष्ट्रहरूले उहाँलाई सार्वभौम सत्ताधारीको रूपमा स्वीकार्ने थिए? यहोवा त बेबिलोनका देवहरूको सामु कमजोर हुनुहुँदो रहेछ भन्‍ने निष्कर्षमा के तिनीहरू पुग्ने थिएनन्‌ र? हो, यहोवाको नाउँमा कलंक लाग्ने थियो र यसैले गर्दा दानियल असाध्यै चिन्तित हुन्छन्‌। दानियलको पुस्तकमा ईश्‍वरीय नाउँ, यहोवा जम्मा १९ चोटि प्रयोग गरिएको छ र त्यसमध्ये १८ चोटि त दानियलको प्रार्थनामै पाइन्छ!

गब्रिएल तुरुन्तै देखा पर्छन्‌

१०. (क) दानियलकहाँ को पठाइयो र किन? (ख) दानियलले गब्रिएललाई किन “मानिस” भने?

१० दानियलले प्रार्थना गरिरहेकै बेला गब्रिएल स्वर्गदूत देखा पर्छन्‌। तिनी यसो भन्छन्‌: “हे दानियल, अहिले म तिम्रो समझ खोलिदिनलाई आएको छु। जब तिमीले आफ्नो बिन्ती शुरू गरिरहेका थियौ तब एउटा वचन निस्क्यो। त्यही म तिमीलाई दिनलाई आएको छु, किनभने तिमी अति प्रिय मानिस छौ। त्यो वचन राम्ररी विचार गर, त्यस दर्शनलाई विचार गर।” तर दानियल किन तिनलाई “मानिस, गब्रिएल” भन्छन्‌? (दानियल ९:२०-२३) दानियलले यसअघि दर्शनमा देखेको साँढ-भेडा र बोकाको अर्थ बुझ्न खोज्दा “मानिसको रूप भएको कोही एक जना” देखेका थिए। त्यो दानियललाई अन्तरदृष्टि दिन पठाइएको गब्रिएल स्वर्गदूत थियो। (दानियल ८:१५-१७) त्यसरी नै, दानियलले प्रार्थना गरिसकेपछि यो स्वर्गदूत मानिसजस्तै भएर तिनी नजिकै आए अनि मानिसले जस्तै तिनीसित कुरा गरे।

११, १२. (क) बेबिलोनमा यहोवाको मन्दिर वा वेदी नभए तापनि भक्‍त यहूदीहरूले व्यवस्थाअनुसार चढाइने बलिदानहरूप्रति कसरी सम्मान देखाए? (ख) दानियललाई किन “अति प्रिय मानिस” भनियो?

११ गब्रिएल “साँझको बलिदानको समयमा” आइपुग्छन्‌। यरूशलेमको मन्दिर विनाश हुँदा यहोवाको वेदी पनि भत्काइएको थियो अनि यहूदीहरू मूर्तिपूजक बेबिलोनीहरूका बन्दी भएका थिए। त्यसैले बेबिलोनमा यहूदीहरूले परमेश्‍वरलाई बलिदान चढाउँदैनथे। तथापि, मोशाको व्यवस्थाअनुसार बलिदान चढाउनुपर्ने तोकिएको समयमा बेबिलोनका भक्‍तालु यहूदीहरूले यहोवालाई प्रशंसा र अन्तरबिन्ती चढाउनु उचित थियो। दानियल परमेश्‍वरको असाध्यै भक्‍त भएको हुँदा तिनलाई “अति प्रिय मानिस” भनियो। “प्रार्थना सुन्‍नुहुने” यहोवालाई दानियल मन पर्थ्यो र तिनले आफ्नो पूर्ण विश्‍वास झल्काउँदै प्रार्थना गर्दा त्यसको जवाफ दिन तुरुन्तै गब्रिएललाई पठाउनुभयो।—भजन ६५:२.

१२ यहोवालाई प्रार्थना गर्दा आफ्नो ज्यान खतरामा पर्ने भए तापनि दानियलले परमेश्‍वरलाई दिनमा तीन चोटि प्रार्थना गर्न छोडेनन्‌। (दानियल ६:१०, ११) अतः यहोवाले तिनलाई अति प्रिय ठान्‍नु कुनै अचम्मलाग्दो कुरा होइन! प्रार्थनाको अलावा परमेश्‍वरको वचन पनि मनन गरेको हुनाले यहोवाको इच्छाअनुसार गर्ने दानियलको संकल्प अझ सुदृढ भयो। दानियलले प्रार्थना गर्न छोडेनन्‌ र आफ्नो प्रार्थनाको जवाफ पाउन यहोवालाई पुकार्ने सही तरिका तिनलाई थाह थियो। तिनले परमेश्‍वरको धार्मिकतालाई जोड दिए। (दानियल ९:७, १४, १६) अनि शत्रुहरूले कुनै दोष नदेखे तापनि आफू परमेश्‍वरको नजरमा पापी हो भनी दानियललाई थाह थियो र तिनले आफ्नो पाप स्वीकारे।—दानियल ६:४; रोमी ३:२३.

पापको अन्त गर्न “सत्तरी हप्ता”

१३, १४. (क) गब्रिएलले दानियललाई कुन महत्त्वपूर्ण जानकारी बताए? (ख) “सत्तरी हप्ता” कति लामो समयावधि हो र हामी यो कसरी थाह पाउँछौं?

१३ प्रार्थनामा लागिरहने दानियलले साह्रै राम्रो जवाफ पाए! यहोवाले दानियललाई यहूदीहरू आफ्नो मातृभूमिमा पुनर्स्थापित हुनेछन्‌ भन्‍ने आश्‍वासन मात्र होइन तर त्योभन्दा निकै महत्त्वपूर्ण कुरा अर्थात्‌ प्रतिज्ञा गरिएको मसीह देखा पर्ने विषयमा अन्तरदृष्टि पनि दिनुहुन्छ। (उत्पत्ति २२:१७, १८; यशैया ९:६, ७) गब्रिएल दानियललाई यसो भन्छन्‌: “तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्‍चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लाएर बन्द गर्न र महापवित्रस्थानलाई अभिषेक गर्न सत्तरी हप्ताहरूको आदेश तोकिएको छ। यो जान र बुझ, यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्‍त जन [मसीह], अर्थात्‌ एक शासक नआउञ्जेलसम्म सात हप्ताहरू र बयसट्ठी हप्ताहरू हुनेछन्‌। गल्ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दुःखको समयमा।”—दानियल ९:२४, २५, नयाँ संशोधित संस्करण।

१४ यो साँच्चै सुसमाचार थियो! यरूशलेमको पुनर्निर्माण अनि नयाँ मन्दिरमा उपासना पुनर्स्थापित हुने मात्र होइन तर तोकिएको समयमा “अभिषेक जन” मसीह पनि देखा पर्ने थियो। यो “सत्तरी हप्ता[भित्र]” हुने थियो। गब्रिएलले दिनको उल्लेख नगरेको हुँदा यो एक वर्ष र चार महिना अर्थात ४९० दिनको सात दिने हप्ताहरू होइनन्‌। भविष्यवाणीअनुसार यरूशलेमको पुनर्निर्माण गर्न अनि “गल्ली र सुरुङहरू” बनाउन त्योभन्दा धेरै समय लाग्यो। हप्ताहरू भनेको एक दिन बराबर एक वर्षको रूपमा गणना गरिने हप्ताहरू हुन्‌। हरेक हप्ताको अर्थ सात वर्ष लामो समयावधि हो भनेर थुप्रै आधुनिक अनुवादहरूले देखाउँछ। उदाहरणका लागि, यहूदी प्रकाशन समाजद्वारा प्रकाशित तनाख—द होली स्क्रिप्चर्स-मा दानियल ९:२४ को पादटिप्पणीमा “वर्षहरूको सत्तरी हप्ता” भनेर अनुवाद गरिएको छ। एन अमेरिकन ट्रान्सलेशन-मा यसो भनिएको छ: “तिम्रा जनहरू र तिम्रो पवित्र शहरको लागि वर्षहरूको सत्तरी हप्ता तोकिएको छ।” मोफट र रदरमको अनुवादमा पनि यस्तै पाइन्छ।

१५. “सत्तरी हप्ता[लाई]” कुन तीन समयावधिमा विभाजन गरिएको छ र त्यो कहिले सुरु हुने थियो?

१५ स्वर्गदूतले बताएअनुसार “सत्तरी हप्ता” तीन भागमा छुट्याइने थिए, ती हुन्‌: (१) “सात हप्ता,” (२) “ब्यासट्ठी हप्ता” र (३) एक हप्ता। त्यो ४९ वर्ष, ४३४ वर्ष र ७ वर्ष गरेर कुल ४९० वर्ष हुने थियो। चाखलाग्दो कुरा, द रिभाइज्ड इंग्लिस बाइबल यसो भन्छ: “परमेश्‍वरले तिम्रा जन र तिम्रो पवित्र शहरको लागि सात गुणा सत्तरी वर्ष तोक्नुभएको छ।” यहूदीहरूले बेबिलोनमा ७० वर्ष लामो निर्वासन र दुःखकष्ट सहिसकेपछि ४९० वर्ष अथवा ७ गुणा ७० वर्ष परमेश्‍वरबाट विशेष अनुग्रह पाउने थिए। त्यसको सुरुआत “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निमाण हुनेछ भन्‍ने वचन निस्केको समय[देखि]” हुने थियो। तर यो समय कहिले हुने थियो?

“सत्तरी हप्ता” सुरु हुन्छ

१६. कोरेसको उर्दीले देखाएअनुसार यहूदीहरूलाई तिनीहरूको मातृभूमिमा पुनर्स्थापित गर्नुको उद्देश्‍य के थियो?

१६ “सत्तरी हप्ता” सुरु हुने सन्दर्भमा तीनवटा उल्लेखनीय घटनाहरूमा ध्यान दिनु उपयुक्‍त छन्‌। पहिलो घटना, सा.यु.पू. ५३७ मा भयो जब कोरेसले यहूदीहरूलाई आफ्नो मातृभूमिमा पुनर्स्थापित गर्ने उर्दी निकाले। उक्‍त उर्दीमा यसो भनिएको छ: “फारसका राजा कोरेस यसो भन्दछन्‌—परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। उहाँलेनै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा भवन बनाउन आज्ञा गर्नुभएको छ। अहिले तिनीहरूका बीचमा हुने उहाँको प्रजाको हरेक मानिसलाई म यो भन्दछु, ‘परमेश्‍वर त्यससँग रहून्‌। त्यो मानिस यहूदाको यरूशलेममा उक्लेर जाओस्‌, र यरूशलेम शहरमा हुनुहुने परमेश्‍वरको भवन त्यसले फेरि निर्माण गरोस्‌। बाँकी जहाँसुकै बस्ने हरेक यहूदीले यरूशलेममा भएको परमेश्‍वरको भवनको निम्ति राजीखुशीले दिएको भेटीबाहेक चाँदी, सुन, धन-सम्पत्ति र गाई-वस्तुहरू त्यही ठाउँमा आफ्नो छिमेकीबाट सहायताको लागि दाबी गर्नसक्छ।’” (एज्रा १:२-४) स्पष्टतः यो विशेष उर्दीको उद्देश्‍य “परमेश्‍वरको भवन” त्यसको पुरानो ठाउँमै पुनर्निर्माण गर्नु थियो।

१७. पत्रमा उल्लिखित कुन कुराले गर्दा एज्राले यरूशलेमको यात्रा गरे?

१७ दोस्रो घटना, फारसी राजा आर्टजारसेजको शासनको (जारसेज प्रथमको छोरा, आर्टजारसेज लंगिमानस) सातौं वर्षमा भयो। त्यतिबेला, शास्त्री एज्राले बेबिलोनदेखि यरूशलेमसम्म चार महिना लामो यात्रा गरे। तिनले राजाको विशेष पत्र बोकेका थिए तर त्यसमा यरूशलेमको पुनर्निर्माण गर्ने अख्तियार भने दिइएको थिएन। एज्राले ‘यहोवाको भवनको महिमा बढाउने’ मात्र जिम्मा पाएका थिए। त्यसैकारण त तिनले बोकेको त्यस पत्रमा सुन र चाँदी, पवित्र भाँडाहरू, मन्दिरमा उपासनाको लागि गहुँ, दाखमद्य, तेल र नून चन्दा दिनेबारे अनि साथै त्यहाँ सेवा गर्नेहरूले पाउने कर छुटबारे उल्लेख गरिएको थियो।—एज्रा ७:६-२७.

१८. कुन कुरा थाह पाएर नहेम्याह चिन्तित भए अनि आर्टजारसेजलाई यसबारे कसरी थाह भयो?

१८ तेस्रो घटना, १३ वर्षपछि फारसी राजा आर्टजारसेजको २० औं वर्षमा भयो। त्यतिबेला नहेम्याह, “शूशनमा” राजालाई मद्य चढाउने काम गर्थे। बेबिलोनबाट फर्केका शेष जनले केही हदसम्म यरूशलेमको पुनर्निर्माण गर्न थालिसकेका थिए। तर सम्पूर्ण अवस्था सन्तोषजनक थिएन। यरूशलेमको “पर्खाल भत्काइयो र त्यसका मूल-ढोकाहरू आगोले नष्ट भए” भन्‍ने कुरा नहेम्याहले थाह पाए। यो थाह पाएर नहेम्याह औधी चिन्तित भए र उदास देखिए। उदास देखिनुको कारण सोध्दा नहेम्याहले यस्तो जवाफ दिए: “राजा सदा सर्वदै अमर रहोस्‌। तर मेरा पुर्खाहरू गाड़िएको शहर उजाड़ भइरहेको छ। त्यसका मूल-ढोकाहरू आगोले जलेका छन्‌ भने म किन उदास नहुने?”—नहेम्याह १:१-३; २:१-३.

१९. (क) राजा आर्टजारसेजले प्रश्‍न गर्दा नहेम्याहले सबैभन्दा पहिला के गरे? (ख) नहेम्याहले के बिन्ती चढाए अनि तिनले यसमा परमेश्‍वरको हात थियो भनेर कसरी मानिलिए?

१९ नहेम्याहबारे विवरण अझै यसो भन्छ: “राजाले भन्‍नुभयो, ‘मबाट तिमी के चाहन्छौ?’ मैले स्वर्गका परमेश्‍वरलाई प्रार्थना गरें। त्यसपछि मैले यो जवाफ दिएँ, ‘हजूरलाई असल लागे, र म हजूरको निगाह पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको शहरलाई मैले पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्सिओस्‌।’” यो प्रस्ताव आर्टजारसेजलाई मन पऱ्‍यो र तिनले नहेम्याहको यो थप आग्रह पनि स्वीकारे: “हजूरलाई असल लागे यूफ्रेटिस-पारिका प्रान्तका राज्यपालहरूलाई यहूदाको मेरो यात्रामा मलाई चाहिने सहायता दिइओस्‌ भनी आज्ञा-पत्र दिबक्सिओस्‌। महलसित गाँसिएका गढ़ीका मूल-ढोकाहरू, औ शहरको पर्खाल र म बस्ने घरको निम्ति बीमहरू बनाउन मलाई काठ-पात जुटाइदेऊन्‌ भनी हजूरको शाही-वनका देखरेख गर्ने मानिस आसापलाई आदेश दिएर मलाई एउटा पत्र दिबक्सिओस्‌।” यसमा यहोवाको हात भएको मानिलिंदै नहेम्याहले यसो भने: “राजाले मेरो बिन्ती मञ्जूर गर्नुभयो। किनभने मेरा परमेश्‍वरको कृपालु हात ममाथि रहेको थियो।”—नहेम्याह २:४-८.

२०. (क) “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण” गर्ने वचनअनुसार वास्तवमा काम कहिले सुरु गरियो? (ख) “सत्तरी हप्ता” कहिले सुरु र अन्त भयो?

२० आर्टजारसेज राजाको शासनको २० औं वर्ष, नीसान महिनामा अनुमति दिइएको भए तापनि “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्‍ने वचन निस्केको” केही महिनापछि मात्र काम सुरु भयो। नहेम्याह यरूशलेम आएर पुनर्स्थापनाको कार्य थालेपछि मात्र काम सुरु भयो। (नहेम्याह २:११; ६:१५) भविष्यवाणी गरिएको “सत्तरी हप्ता” अथवा ४९० वर्ष, सा.यु.पू. ४५५ मा नहेम्याह यरूशलेम पुगेको समयदेखि सुरु भयो। यो समयावधि सा.यु. ३६ मा सिद्धिने थियो।—पृष्ठ १९७ मा “आर्टजारसेजको शासन कहिले सुरु भयो?” भन्‍ने पेटी हेर्नुहोस्‌।

“मसीह” देखा पर्छन्‌

२१. (क) सुरुको “सात हप्ता[मा]” कस्तो अवस्थाको बावजूद के हुनुपर्ने थियो? (ख) मसीह कुन वर्षमा देखा पर्नुपर्ने थियो र सुसमाचार पुस्तकका लेखक, लूका त्यतिबेला भएको घटनाबारे के भन्छन्‌?

२१ यरूशलेम साँच्चै पुनर्निर्माण हुनुअघि कति वर्ष बित्यो? यहूदीहरूबीचको बेमेल र सामरी तथा अरूबाट भोग्नुपरेको सतावटले गर्दा शहरको पुनर्निर्माण “दुःखको समयमा” हुनुपर्ने थियो। प्राप्त प्रमाणअनुसार सा.यु.पू. ४०६ अर्थात्‌ “सात हप्ता” वा ४९ वर्षभित्र आवश्‍यक काम पूरा भइसकेको थियो। (दानियल ९:२५) त्यसपछि ६२ हप्ता अथवा ४३४ वर्ष सुरु हुने थियो। यो समयावधिपछि लामो समयदेखि प्रतीक्षा गरिरहेको मसीह देखा पर्ने थियो। सा.यु.पू. ४५५ बाट ४८३ वर्ष (४९ जोड ४३४) गणना गर्दा सा.यु. २९ मा पुगिन्छ। त्यतिबेला के भयो? सुसमाचार पुस्तकका लेखक लूका यसो भन्छन्‌: “सिजर टाइबेरियसको शासनकालको पन्ध्रौं वर्षमा पन्तियस पिलातुस यहूदियामा बड़ा हाकिम, गालीलमा हेरोद . . . हुँदा, . . . परमेश्‍वरको वचन उजाड़स्थानमा जकरियाको छोरो यूहन्‍नाकहाँ आयो। औ तिनी पापमोचनको निम्ति पश्‍चातापको बप्तिस्माको प्रचार गर्दै यर्दन नदीका आसपासका सबै जिल्ला हुँदो आए।” त्यतिबेला “मानिसहरू” मसीहको “आशा गरिरहेकै थिए।”—लूका ३:१-३, १५.

२२. येशू कहिले र कसरी प्रतिज्ञा गरिएको मसीह हुनुभयो?

२२ यूहन्‍ना, प्रतिज्ञा गरिएको मसीह थिएनन्‌। तर सा.यु. २९ को शरद्‌ऋतुमा येशूको बप्तिस्मा हुँदा आफूले देखेको घटनाबारे यूहन्‍नाले यसो भने: “मैले आत्मालाई स्वर्गबाट परेवाझैं ओर्लदै गर्नुभएको देखें, र उहाँमाथि बस्नुभयो। औ मैले उहाँलाई चिनेको थिइनँ, तर मलाई पानीले बप्तिस्मा दिन पठाउनुहुनेलेनै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी आत्मालाई ओर्लदै र बस्तैगर्नुभएको देखौला, पवित्र आत्माले बप्तिस्मा दिने उहाँनै हुनुहुन्छ।’ औ मैले देखेको छु, औ परमेश्‍वरका पुत्र उहाँनै हुनुहुन्छ भनेर गवाही दिएको छु।” (यूहन्‍ना १:३२-३४) येशूले बप्तिस्मा लिनुहुँदा उहाँ अभिषिक्‍त जन, मसीह वा ख्रीष्ट हुनुभयो। त्यसपछि केही समय नबित्दै यूहन्‍नाका चेला अन्द्रियासले अभिषिक्‍त येशूलाई भेटे र शिमोन पत्रुसलाई यसो भने: “हामीले मसीहलाई भेट्टाएका छौं।” (यूहन्‍ना १:४१) यसरी ठ्याक्कै तोकिएको समयमा अर्थात्‌ ६९ हप्ताको अन्तमा “मसीह” देखा पर्नुभयो!

अन्तिम हप्ताका घटनाहरू

२३. “मसीह” किन मर्नुपऱ्‍यो र यो कहिले हुने थियो?

२३ सत्तरीऔं हप्तामा कुन कुरा पूरा हुनुपर्ने थियो? गब्रिएलले बताएअनुसार “सत्तरी हप्ता[को]” अवधिमा ‘विद्रोह थामिने थियो, पापको अन्त गरिने थियो, अपराधको प्रायश्‍चित हुने थियो, अनन्तको धार्मिकता सुरु गरिने थियो, दर्शन र आमवाणीमा छाप लगाएर अन्त गरिने थियो अनि सबैभन्दा पवित्रस्थान पवित्र तुल्याइने थियो।’ यो काम पूरा हुन “मसीहको” मृत्यु हुनु पर्ने थियो। तर कहिले? गब्रिएलले यसो भने: “बयसट्ठी हप्ताहरूपछि ती अभिषिक्‍त जन हटाइनेछन्‌ . . . धेरै जनासित एक हप्ताको लागि तिनले एउटा करारको सदर गर्नेछन्‌। साताको बीचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन्‌।” (दानियल ९:२६क, २७क, नयाँ संशोधित संस्करण) त्यो कठिन समय “आधा हप्ता[मा]” अर्थात्‌ वर्षमा गणना गरिने हप्ताको अन्तिम हप्ताको बीचमा थियो।

२४, २५. (क) भविष्यवाणी गरिएअनुसार ख्रीष्ट कहिले मर्नुभयो र उहाँको मृत्यु अनि पुनरुत्थानले कुन कुराको अन्त गऱ्‍यो? (ख) येशूको मृत्युले कुन कुरा सम्भव तुल्यायो?

२४ येशू ख्रीष्टले सा.यु. २९ को अन्ततिर आफ्नो जन सेवकाई थाल्नुभयो र साढे तीन वर्षसम्म गर्नुभयो। भविष्यवाणी गरिएझैं सा.यु. ३३ को सुरुतिर ख्रीष्ट काठमा लट्‌काइएर मारिनुहुँदा ‘हटाइनुभयो’ र उहाँले आफ्नो मानव जीवन मानिसजातिको छुडौतीको लागि अर्पण गर्नुभयो। (यशैया ५३:८; मत्ती २०:२८) येशूले आफूले बलिदान दिनुभएको मानव जीवनको मोल स्वर्गमा परमेश्‍वरलाई चढाउनुभएपछि व्यवस्थाअनुसार पशुबलि र भेटीहरू चढाउनु आवश्‍यक परेन। सा.यु. ७० मा यरूशलेमको मन्दिर विनाश नहोउञ्जेल यहूदी पूजाहारीहरूले बलिदान चढाउन नछाडे तापनि त्यस्ता बलिदानहरू परमेश्‍वरलाई अस्वीकार्य भइसकेको थियो। त्यसको बदलामा उत्तम बलिदानको प्रबन्ध गरिसकिएको थियो, जुन पटक पटक चढाइरहनु आवश्‍यक थिएन। प्रेरित पावलले यसप्रकार लेखे: “ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढ़ा[उनुभयो] . . . एउटै बलिदानले पवित्र भएकाहरूलाई उहाँले सधैंको निम्ति सिद्ध गराउनुभएको छ।”—हिब्रू १०:१२, १४.

२५ पाप र मृत्युले मानिसजातिलाई पिरोलिरहे तापनि येशूको मृत्यु अनि पछि स्वर्गीय जीवनको लागि पुनरुत्थान हुनुहुँदा उहाँबारे गरिएको भविष्यवाणी पूरा भयो। यसले ‘विद्रोह थाम्यो, पापको अन्त गऱ्‍यो, अपराधको प्रायश्‍चित भयो, अनन्तको धार्मिकता सुरु भयो।’ यहूदीहरू पापी हुन्‌ भनी पर्दाफास गर्ने व्यवस्थाको करारलाई परमेश्‍वरले हटाइसक्नुभएको थियो। (रोमी ५:१२, १९, २०; गलाती ३:१३, १९; एफिसी २:१५; कलस्सी २:१३, १४) अब भने आफ्नो गल्तीको पश्‍चात्ताप गर्नेहरूको पाप क्षमा हुन र सजायदेखि पनि बच्न सकिने भयो। मसीहको छुडौतीको बलिदानले गर्दा विश्‍वास गर्नेहरूले परमेश्‍वरसित मिलाप गर्न सक्ने भए। तिनीहरूले परमेश्‍वरको वरदान अर्थात्‌ “येशू ख्रीष्टमा अनन्त जीवन[को]” आशा गर्न सक्ने भए।—रोमी ३:२१-२६; ६:२२, २३; १ यूहन्‍ना २:१, २.

२६. (क) व्यवस्थाको करार हटाइसके पनि कुन करार ‘एक हप्ताको लागि सदर गरियो’? (ख) सत्तरीऔं हप्ताको अन्तमा के भयो?

२६ यसप्रकार यहोवाले सा.यु. ३३ मा ख्रीष्टको मृत्युद्वारा व्यवस्थाको करार खारेज गर्नुभयो। त्यसोभए, मसीहले “धेरै जनासित एक हप्ताको लागि तिनले एउटा करारको सदर गर्नेछन्‌” भनेर कसरी भन्‍न सकिन्छ? किनभने तिनले अब्राहामको करारलाई सदर गरे। सत्तरी हप्ता नबितुञ्जेलसम्म परमेश्‍वरले अब्राहामका हिब्रू सन्तानहरूलाई उक्‍त करारका आशिष्‌ दिइरहनुभयो। तर वर्षमा गणना गरिने “सत्तरी हप्ता[को]” अन्त अर्थात्‌ सा.यु. ३६ मा प्रेरित पत्रुसले एक जना भक्‍त इटालेली पुरुष कर्नीलियस, तिनको घराना र अन्यजातिहरूलाई प्रचार गरे। अनि त्यस दिनदेखि सुसमाचार सारा राष्ट्रका मानिसहरूलाई प्रचार गरिन थालियो।—प्रेरित ३:२५, २६; १०:१-४८; गलाती ३:८, ९, १४.

२७. कुन “सबैभन्दा पवित्रस्थान[लाई]” अभिषेक गरियो र कसरी?

२७ भविष्यवाणीमा “सबैभन्दा पवित्रस्थान[को]” अभिषेकबारे पनि अगमवाणी गरिएको थियो। तर यसले यरूशलेमको मन्दिरको अति पवित्र वा भित्री कोठाको अभिषेकलाई संकेत गर्दैन। यहाँ “सबैभन्दा पवित्रस्थान” भन्‍ने अभिव्यक्‍तिले स्वर्गमा परमेश्‍वरको पवित्रस्थानलाई बुझाउँछ। त्यहाँ येशूले आफ्नो मानव बलिदानको मोल पितालाई चढाउनुभयो। सा.यु. २९ मा येशूको बप्तिस्माले पार्थिव पवित्रस्थान र पछि मन्दिरको अति पवित्र स्थानलाई प्रतिनिधित्व गर्ने स्वर्गीय, आत्मिक प्रबन्धलाई अभिषेक गऱ्‍यो वा अलग्गै छुट्यायो।—हिब्रू ९:११, १२.

परमेश्‍वरले पुष्टि गर्नुभएको भविष्यवाणी

२८. ‘दर्शन र अगमवाणीमा छाप लगाउनुको’ अर्थ के थियो?

२८ गब्रिएल स्वर्गदूतले मसीहबारे गरेको भविष्यवाणीमा ‘दर्शन र अगमवाणीमा छाप लगाइनेबारे’ पनि उल्लेख गरिएको थियो। यसको मतलब मसीहबारे गरिएको सबै भविष्यवाणी अर्थात्‌ उहाँले आफ्नो बलिदान, पुनरुत्थान र स्वर्गमा देखा पर्नुभएर पूरा गर्नुभएका कुराहरूलगायत ७० औं हप्तामा हुने अन्य कुरामा ईश्‍वरीय अनुमतिको छाप लगाइने थियो अर्थात्‌ त्यो सत्य साबित हुनुका साथै भरोसायोग्य हुने थियो। दर्शनमा छाप लगाइने थियो र यो दर्शन मसीहमा मात्रै लागू हुने थियो। उहाँमा र उहाँद्वारा परमेश्‍वरले गर्नुहुने कार्यमा यसको पूर्ति हुने थियो। भविष्यवाणी गरिएको मसीहमा पूरा भएपछि मात्र हामी दर्शनको सही अर्थ बुझ्नसक्ने थियौं। अरू कुनैले यसको अर्थ खोल्न सक्ने थिएन।

२९. पुनर्निर्माण गरिएको यरूशलेमलाई के हुने थियो र यसो हुनुको कारण के हो?

२९ गब्रिएलले यरूशलेमको पुनर्निर्माण हुनेछ भनेर भविष्यवाणी गरिसकेका थिए। अब तिनी पुनर्निर्माण भइसकेको शहर र त्यसको मन्दिर विनाश हुनेछ भनेर यसरी भविष्यवाणी गर्छन्‌: “तब चढ़ाइ गर्ने कुनै एक राजकुमारको सेनाले त्यस शहर र पवित्रस्थानलाई विध्वंस गर्नेछ। त्यसको अन्त चाहिं प्रलय, ठूलो त्राससमेत टार्न नसकिने लड़ाइँ हुनेछ। . . . यिनै घृणित कुराहरूको साथमा नाशको कर्त्ता आउनेछ। त्यसपछि अन्तमा उजाड़ सम्बन्धी उर्दी पूरा गरिनेछ।” (दानियल ९:२६ख, २७ख) यो विनाश “सत्तरी हप्ता[पछि]” हुने भए तापनि यो अन्तिम “हप्ता[मा]” भएका घटनाहरूको प्रत्यक्ष परिणाम हुने थियो, जुनबेला यहूदीहरूले ख्रीष्टलाई तिरस्कार गरेर मारे।—मत्ती २३:३७, ३८.

३०. ऐतिहासिक विवरणले देखाएअनुसार समय तालिका राख्नुहुने महान्‌ परमेश्‍वरको आदेश कसरी पूरा भयो?

३० ऐतिहासिक विवरणहरूले देखाएअनुसार सा.यु. ६६ मा अरामी सेनापति सेस्टियस ग्यालसको नेतृत्वमा आएको रोमी सेनाले यरूशलेमलाई घेऱ्‍यो। यहूदीहरूले प्रतिरोध गरे तापनि अनेकन्‌ मूर्तिपूजक चिह्न वा प्रतीकहरू बोकेका रोमी सेनाहरू शहरमा घुसे र उत्तरतिर मन्दिरका पर्खालहरूमनि सुरुङ खन्‍न थाले। तिनीहरू त्यहाँ खडा हुनु नै उजाड गर्ने “घृणित कुरा” थियो। (मत्ती २४:१५, १६) सा.यु. ७० मा सेनापति टाइटसको नेतृत्वमा आएका रोमीहरू “बाढीसरह” आए अनि शहर र मन्दिरलाई तहसनहस पारे। कुनै कुराले तिनीहरूलाई रोक्न सकेन किनभने यो परमेश्‍वरद्वारा “गरिएको” आदेशअनुसार थियो। समय तालिका राख्नुहुने महान्‌ परमेश्‍वर यहोवाले फेरि पनि आफ्नो वचन पूरा गर्नुभयो!

तपाईंले के बुझ्नुभयो?

• यरूशलेम उजाड भएको ७० हप्ता सिद्धिनै लाग्दा दानियलले यहोवालाई कस्तो बिन्ती गरे?

• “सत्तरी हप्ता” कति लामो थियो र त्यो कहिले सुरु तथा अन्त भयो?

• “मसीह” कहिले देखा पऱ्‍यो र कस्तो कठिन समयमा ‘हटाइयो’?

• कुन करार “धेरै जनासित एक हप्ताको लागि . . . सदर” गरियो?

• “सत्तरी हप्ता[पछि]” के भयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १९७-मा भएको पेटी/चित्र]

आर्टजारसेजको शासन कहिले सुरु भयो?

फारसी राजा आर्टजारसेजले शासन सुरु गरेको मितिमा इतिहासकारहरू सहमत छैनन्‌। कसै कसैले तिनी सा.यु.पू. ४६५ मा सिंहासनमा बसे भन्छन्‌ किनभने तिनको बुबा जारसेजले सा.यु.पू. ४८६ मा शासन गर्न थालेका थिए र तिनको शासनकालको २१ औं वर्षमा मृत्यु भएको थियो। तर, सा.यु.पू. ४७५ मा आर्टजारसेज सिंहासनमा बसे र तिनको शासनको प्रथम वर्ष, सा.यु.पू. ४७४ हो भन्‍ने प्रमाण पाइन्छ।

पुरातन फारसी राजधानी पर्सिपोलिसमा उत्खनन गरिएका शिलालेख र मूर्तिहरूले जारसेज र तिनको बुबा, दारा प्रथम दुवै मिलेर शासन गरेको संकेत गर्छ। यदि तिनीहरू दुवै मिलेर १० वर्ष शासन गरेका रहेछन्‌ भने सा.यु.पू. ४८६ मा दाराको मृत्युपछि जारसेज एक्लैले ११ वर्ष शासन गरे। यसो हो भने, आर्टजारसेजको शासनको प्रथम वर्ष सा.यु.पू. ४७४ हुन आउँछ।

अर्को प्रमाण, एथेनी सेनापति थेमिस्टोकल्ससित सम्बन्धित छ जसले सा.यु.पू. ४८० मा जारसेजको सेनालाई परास्त गरे। पछि तिनलाई युनानीहरूले मन पराउन छोडे र राजद्रोहको आरोप लगाए। थेमिस्टोकल्स भागेर फारसी अदालतमा गुहार माग्न पुगे र त्यहाँ तिनलाई सम्मान गरियो। युनानी इतिहासकार थुसिडाइडसका अनुसार यो घटना आर्टजारसेज “भर्खरै सिंहासनमा बसेको” बेला घटेको थियो। युनानी इतिहासकार डायोडोरस सिकलसअनुसार थेमिस्टोकल्सको मृत्यु सा.यु.पू. ४७१ मा भयो। थेमिस्टोकल्सले राजा आर्टजारसेजसित दर्शन भेट गर्नुअघि एक वर्ष फारसी भाषा सिक्ने बिन्ती गरेको हुँदा तिनी सा.यु.पू. ४७३ अघि नै एसिया माइनर पुगिसकेको हुनुपर्छ। त्यो मितिसित जेरोमको क्रोनिकल अफ युसिबस सहमत छ। थेमिस्टोकल्स सा.यु.पू. ४७३ मा एसिया आउँदा आर्टजारसेज “भर्खरै सिंहासनमा बसेको” हुँदा जर्मन शास्त्रविद्‌ अन्स्ट हेंग्स्टनबर्गले क्रिस्टोलोजी अफ द ओल्ड टेस्टामेन्ट-मा आर्टजारसेजले सा.यु.पू. ४७४ मा शासन गर्न थाले भने र यो मितिमा अरूहरू पनि सहमत छन्‌। तिनले थप यसो भने: “आर्टजारसेजको शासनको बीसौं वर्ष भनेको ख्रीष्ट जन्मनुभन्दा ४५५ वर्ष अघिको कुरा हो।”

[चित्र]

थेमिस्टोकल्सको अर्धमूर्ति

[पृष्ठ १८८, १८९-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

“सत्तरी हप्ता”

४५५ सा.यु.पू. ४०६ सा.यु.पू. २९ सा.यु. ३३ सा.यु. ३६ सा.यु.

“यरूशलेमको . . . पुनर्निर्माण मसीह मसीह “सत्तरी

पुनर्निर्माण हुनेछ गरिएको यरूशलेम देखापर्छन्‌ हटाइन्छ हप्ता[को]”

भन्‍ने वचन” अन्त

७ हप्ता ६२ हप्ता १ हप्ता

४९ वर्ष ४३४ वर्ष ७ वर्ष

[पृष्ठ १८०-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ १९३-मा भएको पृष्ठभरिको चित्र]