सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राजकुमारहरूका राजकुमार विरुद्ध को खडा हुनसक्छ?

राजकुमारहरूका राजकुमार विरुद्ध को खडा हुनसक्छ?

अध्याय दस

राजकुमारहरूका राजकुमार विरुद्ध को खडा हुनसक्छ?

१, २. दानियलले बेलसजरको शासनको तेस्रो वर्षमा देखेको दर्शन हाम्रोलागि किन महत्त्वपूर्ण छ?

 यरूशलेममा यहोवाको मन्दिर विनाश भएको ५७ वर्ष भइसक्यो। बेलसजर र उनको बुबा, नाबोनिडस दुवै मिलेर बेबिलोन साम्राज्यमाथि शासन गर्छन्‌ र यो बाइबलमा भविष्यवाणी गरिएको तेस्रो विश्‍वशक्‍ति हो। a परमेश्‍वरको अगमवक्‍ता दानियल बेबिलोनमा निर्वासित छन्‌। “बेलसजर राजाको शासनकालको तेस्रो वर्षमा” यहोवाले साँचो उपासनाको पुनर्स्थापनासम्बन्धी खास खास जानकारी प्रकट गर्न दानियललाई एउटा दर्शन दिनुहुन्छ।—दानियल ८:१.

आफूले देखेको भविष्यसूचक दर्शनले दानियललाई गहिरो असर पाऱ्‍यो र हामी “अन्तको समय[मा]” बाँचिरहेका मानिसहरूका लागि पनि यो निकै चासोको विषय हो। गब्रिएल स्वर्गदूत दानियललाई यसो भन्छन्‌: “क्रोधको समयमा पछि के हुनेछ, म तिमीलाई बताउन लागिरहेछु, किनभने दर्शनले तोकिएको अन्तको समयलाई बताउँदछ।” (दानियल ८:१६, १७, १९, २७, नयाँ संशोधित संस्करण) त्यसकारण आउनुहोस्‌, दानियलले के देखे र त्यसले अहिले हाम्रोलागि के अर्थ राख्छ, त्यसबारे गहिरो चासो दिएर हेरौं।

दुई सीङ भएको साँढ-भेडा

३, ४. दानियलले नदीको छेउमा कस्तो जनावर देखे र यसले कसको प्रतिनिधित्व गर्छ?

दानियल यस्तो लेख्छन्‌: “मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ।” (दानियल ८:२, नयाँ संशोधित संस्करण) दानियल साँच्चै बेबिलोनबाट झन्डै ३५० किलोमिटर पूर्वतिर एलामको राजधानी शूशनमै (सुसा) थिए वा त्यो दर्शन मात्र थियो, त्यसबारे केही बताइएको छैन।

दानियल अझै यसो भन्छन्‌: “मैले मेरो आँखा उठाएर हेरें, र मेरो बीचमा दुइ सीङ भएको एउटा साँढ-भेडा उभिरहेको मैले देखें।” (दानियल ८:३क) यो साँढ-भेडाको चिनारी दानियलको निम्ति रहस्य नै रहिरहँदैन। किनभने गब्रिएल स्वर्गदूत पछि यसो भन्छन्‌: “तिमीले देखेको दुइ–सीङे साँढ़–भेड़ा मादी देश र फारस देशका राजाहरू हुन्‌।” (दानियल ८:२०) मादीहरू अश्‍शूरको पूर्वीय पहाडी इलाकाबाट आए भने फारसीहरू फारसी खाडीको उत्तरी इलाकामा फिरन्ते जीवन बिताउँथे। तथापि, मादी-फारसी साम्राज्य बढ्‌दै गएपछि यहाँका बासिन्दाहरू अत्यन्तै सुखविलासी हुन थाले।

५. “पछि उम्रेको” सीङ कसरी अर्कोभन्दा लामो भयो?

दानियल भन्छन्‌, “ती सीङहरू लामा थिए। तीमध्ये एउटा अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।” (दानियल ८:३ख) पछि उम्रेको लामो सीङले फारसीहरू र अर्को सीङले मादीहरूको चित्रण गर्छ। सुरुमा मादीहरूले प्रभुत्व जमाए। तर सा.यु.पू. ५५० मा फारसको शासक कोरेसले मादी राजा अस्टियाजेसमाथि सजिलै विजय हासिल गरे। कोरेसले यी दुवै मानिसहरूको नियमकानुन तथा परम्परा एकसाथ गाँसे, एकीकरण गरे अनि आफ्नो विजय अभियान विस्तार गर्न थाले। त्यसपछि यो द्वय विश्‍वशक्‍ति हुन थाल्यो।

साँढ-भेडाले आफ्नो शक्‍ति प्रदर्शन गर्छ

६, ७. कसरी साँड-भेडाको अगाडि “कुनै पनि जन्तु अडिन” सकेन?

साँढ-भेडाबारे वर्णन गर्दै दानियल अझ यसो भन्छन्‌: “त्यस भेड़ाले पश्‍चिम, उत्तर र दक्षिणतिर सीङले हानिरहेको मैले हेरिरहेको थिएँ। औ कुनै पनि जन्तु त्यसको सामने अड़िनसक्‍तैन थियो। औ त्यसको शक्‍तिबाट कसैले कसैलाई छुटाउनसक्‍तैन थियो। त्यसले आफू–खुशी गरेर आफ्नो शक्‍तिको प्रदर्शन गर्थ्यो।”—दानियल ८:४.

यसअघि दानियललाई दिइएको दर्शनमा समुद्रबाट निस्केको जन्तुले बेबिलोनको चित्रण गरेको थियो र त्यो चीलको पखेटा भएको सिंहजस्तो थियो। (दानियल ७:४, १७) यो नयाँ दर्शनको “साँढ-भेडा[को]” अगाडि त्यो प्रतीकात्मक जन्तु खडा हुन सकेन। सा.यु.पू. ५३९ मा महान्‌ कोरेसको हातबाट बेबिलोनले पराजय भोग्नुपऱ्‍यो। त्यसपछि, झन्डै ५० वर्षसम्म बाइबल भविष्यवाणीको चौथो विश्‍वशक्‍ति मादी-फारसको सामु “कुनै पनि जन्तु” वा राजनैतिक सरकार अडिन सकेन।

८, ९. (क) “साँढ-भेडा[ले]” कसरी “पश्‍चिम, उत्तर र दक्षिणतिर सीङले” हान्यो? (ख) फारसी राजा दारा प्रथमको उत्तराधिकारीबारे एस्तरको पुस्तकले के बताउँछ?

“पूर्वबाट” निस्केको मादी-फारसी विश्‍वशक्‍तिले आफूखुसी गर्दै “पश्‍चिम, उत्तर र दक्षिणतिर सीङले” हानिरह्‍यो। (यशैया ४६:११) महान्‌ कोरेसको उत्तराधिकारी, राजा क्याम्बिसेज द्वितीय मिश्रमाथि विजयी भए। तिनका उत्तराधिकारी फारसी राजा दारा प्रथम थिए र तिनी सा.यु.पू. ५१३ मा बोसपोरसको घाटीपारि पश्‍चिमतिर लागे अनि थ्रेसको युरोपेली इलाकामाथि आक्रमण गरे, जसको राजधानी बाइजान्टियम (हाल इस्तानबुल) थियो। तिनले सा.यु.पू. ५०८ मा थ्रेसलाई आफ्नो अधीनमा पारे अनि सा.यु.पू. ४९६ मा म्यासिडोनिया कब्जा गरे। यसप्रकार, दाराको समयसम्ममा मादी-फारसी “साँढ-भेडा[ले]” तीनवटा प्रमुख दिशामा कब्जा जमाइसकेको थियो: उत्तरमा बेबिलोन र अश्‍शूर, पश्‍चिममा एसिया माइनर अनि दक्षिणमा मिश्र।

मादी-फारसी साम्राज्यको विशालताको पुष्टि दिंदै बाइबलले दाराको उत्तराधिकारी जारसेज प्रथमलाई “तिनी त्यही अहासूरस थिए जसले भारतवर्षदेखि लिएर कूश देशसम्म एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे” भनेका छन्‌। (एस्तर १:१) तर यो ठूलो साम्राज्यलाई अर्को साम्राज्यले परास्त गर्ने थियो र यस सन्दर्भमा दानियलको विवरणमा बताइएका केही रोचक विवरणहरूले परमेश्‍वरको भविष्यसूचक वचनमाथिको हाम्रो विश्‍वासलाई बलियो बनाउनुपर्ने हो।

बोकाले साँढ-भेडालाई हान्छ

१०. दानियलको दर्शनमा कुन जन्तुले “साँढ-भेडा[लाई]” हान्यो?

१० अबको दृश्‍य देख्दा दानियल कत्ति छक्क परे होलान्‌, कल्पना गर्नुहोस्‌। विवरण यसो भन्छ: “जसै मैले यसबारे विचार गर्दैथिएँ, अचानक आँखाहरूका बीचमा एउटा विशेष सीङ भएको एउटा बोका जमीनलाई नछोईकन पूरा पृथ्वीलाई पार गर्दै पश्‍चिमबाट आयो। मैले देखेको नहरको छेउमा खडा भएको दुइ सीङे भेडातिर त्यो आयो र ठूलो झोंकले त्यसलाई हान्यो। रीसले चूर भई त्यसले भेडालाई आक्रमण गरी हानेर त्यसका दुइओटै सीङ भाँचिदिएको मैले देखें। त्यसको विरुद्ध खडा हुन त्यो भेडा शक्‍तिहीन थियो। त्यस बोकाले त्यसलाई जमीनमा पछारिदियो र त्यसमाथि टेक्यो, र त्यसको शक्‍तिबाट भेडालाई छुटाउन कसैले पनि सकेन।” (दानियल ८:५-७, नयाँ संशोधित संस्करण) यसको अर्थ के हो?

११. (क) गब्रिएल स्वर्गदूतले “बोका” र त्यसको “सीङ[बारे]” कस्तो वर्णन गरे? (ख) प्रस्टै देखिने सीङले कसलाई चित्रित गऱ्‍यो?

११ यो दर्शनको अर्थबारे न त दानियल न हामीले नै अड्‌कल काट्‌नु खाँचो छ। गब्रिएल स्वर्गदूत दानियललाई यसो भन्छन्‌, “त्यो रौंले ढाकेको बोकाचाहिं ग्रीसको (युनान) राजा हो, र त्यसका आँखाका बीचमा भएको ठूलो सीङ त्यसको प्रथम राजा हो।” (दानियल ८:२१) सा.यु.पू. ३३६ मा फारस साम्राज्यको अन्तिम राजा, दारा तृतीयलाई (काडोमानस) राजा बनाइयो। त्यही वर्ष सिकन्दर, म्यासिडोनियाका राजा भए। इतिहासले देखाएअनुसार “युनानको” प्रथम “राजा” भविष्यवाणीअनुरूप महान्‌ सिकन्दर भए। सा.यु.पू. ३३४ मा “पश्‍चिमबाट” सुरु गरेर सिकन्दर तेज रफ्तारमा अघि बढे। ‘जमिनलाई नछोएझैं’ तिनले थुप्रै इलाकाहरूमाथि कब्जा गरे अनि “साँढ-भेडा[लाई]” हाने। लगभग दुई शताब्दी लामो मादी-फारसी प्रभुत्वलाई अन्त गर्दै युनान, बाइबल विवरणअनुरूप पाँचौं विश्‍वशक्‍ति भयो। ईश्‍वरीय भविष्यवाणीको कस्तो अद्‌भुत पूर्ति!

१२. प्रतीकात्मक बोकाको “विशाल सीङ” कसरी “भाँचियो” र त्यसको ठाउँमा उम्रेका चारवटा सीङहरू के हुन्‌?

१२ तर सिकन्दरको शासन अल्पकालीन थियो। उक्‍त दर्शन अझ यसो भन्छ: “त्यो बोका अति ठूलो भयो, तर त्यसका शक्‍तिको चरम सीमामा त्यसको विशाल सीङ भाँचियो र त्यसको सट्टामा आकाशका चारै बतासतर्फ विशेष सीङहरू उम्रे।” (दानियल ८:८) भविष्यवाणीको अर्थ खुलाउँदै गब्रिएल यसो भन्छन्‌: “त्यो भाँचिएको सीङको सट्टामा उम्रेका चार सीङहरूचाहिं त्यसैबाट निस्केका चार राज्यहरू हुन्‌, तर पहिलो राज्यजस्तो ती बलिया हुनेछैनन्‌।” (दानियल ८:२२) अगमवाणी गरिएझैं आफ्नो विजय अभियानको चरमबिन्दुमा पुगेको बेला ३२ वर्षको उमेरमा सिकन्दर “भाँचिए” वा मरे। अनि तिनको विशाल साम्राज्य टुक्रिएर चार जना सेनापतिहरूको भागमा बाँडियो।

रहस्यमय सानो सीङ

१३. चारवटा सीङमध्ये एउटाबाट के उम्रियो र त्यसले कस्तो व्यवहार गऱ्‍यो?

१३ यसपछिको दर्शनको भागले २,२०० वर्षभन्दा बढी समयावधिलाई ढाक्छ भने त्यसको पूर्ति आधुनिक समयसम्म भइरहेको छ। दानियल लेख्छन्‌: “तिनीहरूमध्येबाट अर्को एउटा सीङ आयो, जो सानोबाट सुरु भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्‍तिशाली हुँदै बढ्‌दैगयो। स्वर्गका सेनाहरूसम्म नपुगुञ्जेल त्यो बढ्‌दैगयो, र त्यसले केही ताराका दललाई तल पृथ्वीमा खसाल्यो र तीमाथि खुट्टाले कुल्च्यो। त्यसले आफैलाई राजकुमार जत्तिकै महान्‌ तुल्यायो। त्यसले उहाँबाट दैनिक बलिदान खोस्यो, र उहाँको पवित्रस्थान तल झारियो। विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्यसलाई सुम्पियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो, र सत्यलाई भूइँमा फ्याँकियो।”—दानियल ८:९-१२, नयाँ संशोधित संस्करण।

१४. प्रतीकात्मक सानो सीङको गतिविधिबारे गब्रिएल स्वर्गदूतले के भने अनि त्यो सीङलाई के हुने थियो?

१४ यहाँ भर्खरै उद्धरण गरिएका शब्दहरूको अर्थ बुझ्नुअघि हामीले परमेश्‍वरको स्वर्गदूतको कुरामा ध्यान दिनुपर्छ। सिकन्दरको साम्राज्यबाट निस्कने चार राज्यहरू औंल्याइसकेपछि गब्रिएल स्वर्गदूत यसो भन्छन्‌: “तिनीहरूका राज्यकालका पछिल्ला दिनहरूमा जब विद्रोहीहरूको दुष्टता चरम सीमामा पुगेको हुनेछ, तब एउटा हठी, षड्यन्त्रमा पोख्त राजा उठ्‌नेछ। त्यो धेरै बलवान हुनेछ, तर त्यसको आफ्नो शक्‍तिले होइन। त्यसले अचम्मको विध्वंश ल्याउनेछ, र जे गर्छ त्यसमा सफल हुनेछ। त्यसले शक्‍तिशाली मानिसहरू र पवित्र जनहरूलाई नाश गर्नेछ। त्यसले छललाई सफल पार्नेछ र आफैलाई उच्च ठान्‍नेछ। जब तिनीहरूले सुरक्षाको महसुस गर्छन्‌, त्यसले धेरैलाई नष्ट गर्नेछ र राजकुमारहरूका राजकुमारको विरुद्धमा त्यो खडा हुनेछ। तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्‍तिद्वारा होइन।”—दानियल ८:२३-२५, नयाँ संशोधित संस्करण।

१५. स्वर्गदूतले दानियललाई दर्शनबारे के भने?

१५ स्वर्गदूत दानियललाई यसो भन्छन्‌, “यो दर्शन तिमीले गुप्त राख्नैपर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।” (दानियल ८:२६) दर्शनको यो भागको पूर्ति “धेरै पछि आउने दिनहरूमा” हुने थियो र दानियलले “यो दर्शन . . . गुप्त” राख्नुपर्ने थियो। दानियलको निम्ति यसको अर्थ रहस्य नै रह्‍यो जस्तो छ। तथापि, अहिले ती “धेरै पछि आउने दिनहरू” बितिसकेको हुनुपर्छ। त्यसैले, हामी यस्तो प्रश्‍न गर्छौं: ‘यस भविष्यसूचक दर्शनको पूर्तिबारे विश्‍व इतिहासले के देखाउँछ?’

सानो सीङ शक्‍तिशाली हुन्छ

१६. (क) कुन प्रतीकात्मक सीङबाट सानो सीङ निस्क्यो? (ख) रोम कसरी बाइबल भविष्यवाणीको छैठौं विश्‍वशक्‍ति भयो तर यो प्रतीकात्मक सानो सीङ किन थिएन?

१६ इतिहासअनुसार यो सानो सीङ चारवटा प्रतीकात्मक सीङहरूमध्ये एउटा अर्थात्‌ सबैभन्दा टाढा पश्‍चिमबाट निस्केको हाँगा थियो। यो म्यासिडोनिया र युनानमाथि शासन गर्ने सेनापति क्यासान्डरको युनानी राज्य थियो। पछि, यो राज्यलाई थ्रेस र एसिया माइनरका राजा, सेनापति लाइसिमाकसले आफ्नो कब्जामा लिए। सामान्य युगपूर्व दोस्रो शताब्दीमा रोमले यी युनानी राज्यका पश्‍चिमी इलाकाहरू कब्जा गरे। अनि सा.यु.पू. ३० सम्ममा रोमले सबै युनानी राज्यलाई आफ्नो कब्जामा पारेर बाइबलको भविष्यवाणीअनुसार छैठौं विश्‍वशक्‍तिको रूपमा खडा भइसकेको थियो। तर दानियलको दर्शनको सानो सीङ रोमी साम्राज्य थिएन किनभने त्यो साम्राज्य “तोकिएको अन्तको समय[सम्म]” रहेन।—दानियल ८:१९.

१७. (क) बेलाइतको रोमी साम्राज्यसित कस्तो सम्बन्ध थियो? (ख) बेलाइती साम्राज्यको म्यासिडोनिया र ग्रीसका युनानी राज्यहरूसित कस्तो सम्बन्ध छ?

१७ त्यसोभए, त्यो झगडालु ‘हठी राजा’ को हो भनेर इतिहासले देखाउँछ? बेलाइत वास्तवमा रोमी साम्राज्यबाट निस्केको उत्तरपश्‍चिमी हाँगा थियो। सा.यु. पाँचौं शताब्दीको सुरुतिरसम्म पनि वर्तमान बेलाइतमा रोमी प्रान्तहरू थिए। समय बित्दै जाँदा रोमी साम्राज्य खस्कँदै गयो तर रोमी प्रभुताको अधीनमा रहेका बेलाइत र युरोपका अरू भागहरूमा युनानी-रोमी सभ्यताको प्रभाव कायमै रह्‍यो। नोबेल पुरस्कार विजेता मेक्सिकाली कवि र लेखक, ओक्टाब्यो पाजले “रोमी साम्राज्यको पतनपछि चर्च प्रभावशाली भयो” भनेर लेखे। तिनले अझ यसो भने: “चर्चका धर्मगुरु र पछि विद्वान्‌हरूले युनानी दर्शनलाई मसीही धर्मसिद्धान्तसित मिसाए।” अनि २० औं शताब्दीका दर्शनशास्त्री तथा गणितज्ञ बट्रान्ड रसलले यस्तो टिप्पणी गरे: “युनानी मूलबाट निस्केको पश्‍चिमी सभ्यता, साढे दुई हजार वर्षअघि [एसिया माइनरको एउटा युनानी शहर] माइलेटसमा सुरु भएको दार्शनिक तथा वैज्ञानिक परम्परामा आधारित छ।” त्यसैकारण, बेलाइती साम्राज्यको सांस्कृतिक स्रोत, म्यासिडोनिया र ग्रीसका युनानी राज्य हुन्‌ भन्‍न सकिन्छ।

१८. “अन्तको समय[मा]” “हठी . . . राजा” बनेको सानो सीङ के हो? वर्णन गर्नुहोस्‌।

१८ सन्‌ १७६३ सम्ममा बेलाइती साम्राज्यले आफ्ना शक्‍तिशाली प्रतिद्वन्द्वी, स्पेन र फ्रान्सलाई हराइसकेको थियो। त्यस बेलादेखि उनी समुद्रकी मालिक्नी र बाइबल भविष्यवाणीअनुसार सातौं विश्‍वशक्‍ति भइन्‌। सन्‌ १७७६ मा बेलाइतबाट १३ वटा अमेरिकी उपनिवेश छुट्टिएर संयुक्‍त राज्य अमेरिका निर्माण भए तापनि बेलाइती साम्राज्य विस्तार हुँदै गयो र यसले पृथ्वीको एक चौथाइ भूमि ओगट्यो। यसको अधीनमा कुल जनसंख्याको एक चौथाइ थियो। संयुक्‍त राज्य अमेरिकाले बेलाइतसित मिलेर एंग्लो-अमेरिकी द्वय विश्‍वशक्‍ति बनाउँदा यो सातौं विश्‍वशक्‍ति झनै शक्‍तिशाली भयो। आर्थिक र सैन्य दृष्टिकोणले यो विश्‍वशक्‍ति साँच्चै “हठी . . . राजा” बन्यो। अतः “अन्तको समय[मा]” भयावह राजनैतिक शक्‍ति बनेको यो सानो सीङ एंग्लो-अमेरिकी विश्‍वशक्‍ति हो।

१९. दर्शनमा बताइएको “सुन्दर भूमि” के हो?

१९ दानियलले यो सानो सीङ “सुन्दर भूमितिर शक्‍तिशाली हुँदै बढ्‌दै” गएको देखे। (दानियल ८:९) यहोवाले आफ्ना चुनिएका जनहरूलाई दिनुभएको प्रतिज्ञाकृत देश असाध्यै सुन्दर भएकोले यसलाई पृथ्वीमा “सबै देशहरूभन्दा सुन्दर” देश भनिन्थ्यो। (इजकिएल २०:६, १५) हुन त हो, बेलाइतले १९१७ डिसेम्बर ९ तारिखका दिन यरूशलेम कब्जा गऱ्‍यो र १९२० मा राष्ट्र संघले बेलाइतलाई प्यालेस्टाइनमाथि आधिपत्य जमाउने आदेश दियो र १९४८ मे १४ सम्म कायमै रह्‍यो। तर यो दर्शन भविष्यसूचक हो जसमा थुप्रै चिह्नहरू छन्‌। अनि दर्शनमा उल्लिखित “सुन्दर भूमि[ले]” यरूशलेमलाई होइन तर सातौं विश्‍वशक्‍तिको बेला परमेश्‍वरले पवित्र ठान्‍नुहुने आफ्ना जनहरूको पार्थिव अवस्थालाई बुझाउँछ। आउनुहोस्‌ हामी हेरौं, एंग्लो-अमेरिकी विश्‍वशक्‍तिले कसरी पवित्र जनहरूलाई तर्साउन खोज्छ।

“उहाँको पवित्रस्थान” तल झारियो

२०. सानो सीङले खसाल्न खोज्ने “स्वर्गका सेना” र “ताराका दल” को हुन्‌?

२० सानो सीङ “स्वर्गका सेनाहरूसम्म नपुगुञ्जेल त्यो बढ्‌दैगयो, र त्यसले केही ताराका दललाई तल पृथ्वीमा खसाल्यो।” स्वर्गदूतको वर्णनअनुसार यो सानो सीङले खसाल्न खोजेको “ताराका दल” र “स्वर्गका सेना” “पवित्र जनहरू” हुन्‌। (दानियल ८:१०, २४) यी “पवित्र जनहरू” आत्मा-अभिषिक्‍त मसीहीहरू हुन्‌। येशू ख्रीष्टले बगाउनुभएको रगतले गर्दा लागू भएको नयाँ करारद्वारा परमेश्‍वरसित एउटा विशेष सम्बन्धमा गाँसिएका यी पवित्र जनहरू उच्च पारिएका, पखालिएका र परमेश्‍वरको ऐकान्तिक सेवाको लागि छुट्याइएका छन्‌। (हिब्रू १०:१०; १३:२०) यहोवाले तिनीहरूलाई आफ्नो पुत्रसित स्वर्गमा उत्तराधिकारी नियुक्‍त गर्नुभएर पवित्र तुल्याउनुहुन्छ। (एफिसी १:३, ११, १८-२०) त्यसकारण, दानियलको दर्शनका “स्वर्गका सेना” थुमासँगै शासन गर्ने १,४४,००० “पवित्र जनहरू[मध्ये]” पृथ्वीमा बाँकी रहेका जनहरू हुन्‌।—प्रकाश १४:१-५.

२१. सातौं विश्‍वशक्‍तिले उजाड पार्न खोज्ने “पवित्रस्थान[मा]” को छ?

२१ अहिले १,४४,००० का शेष जनहरू, परमेश्‍वरको शहररूपी राज्य अर्थात्‌ “स्वर्गीय यरूशलेम” र यसको मन्दिरसम्बन्धी प्रबन्धका पार्थिव प्रतिनिधिहरू हुन्‌। (हिब्रू १२:२२, २८; १३:१४) यस अर्थमा तिनीहरू सातौं विश्‍वशक्‍तिले कुल्चीमिल्ची गरेर उजाड पार्न खोज्ने “पवित्रस्थान[मा]” छन्‌। (दानियल ८:१३) त्यो पवित्रस्थानलाई “[यहोवाको] पवित्रस्थान” भनेर उल्लेख गर्दै दानियल यसो भन्छन्‌: “त्यसले [यहोवाबाट] दैनिक बलिदान खोस्यो, र उहाँको पवित्रस्थान तल झारियो। विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्यसलाई सुम्पियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो, र सत्यलाई भुइँमा फ्याँकियो।” (दानियल ८:११, १२) यो कसरी पूरा भयो?

२२. दोस्रो विश्‍वयुद्धको दौडान सातौं विश्‍वशक्‍तिले कसरी एकदमै ठूलो “विद्रोह” गऱ्‍यो?

२२ यहोवाका साक्षीहरूले दोस्रो विश्‍वयुद्धको दौडान कस्तो अवस्था सामना गरे? तिनीहरूले घोर सतावट भोगे! यो सतावट नाजीवाद र फासिस्ट शासन व्यवस्था भएका राष्ट्रहरूबाट सुरु भयो। तर धेरै समय नबित्दै ‘शक्‍तिशाली हुँदै गएको सानो सीङले’ प्रभुत्व जमाएको व्यापक इलाकामा “सत्यलाई भुइँमा फ्याँकियो।” परमेश्‍वरको राज्य उद्‌घोषकहरूको “सेना” र तिनीहरूको “सुसमाचार” प्रचारकार्य बेलाइती राष्ट्रमण्डलका प्रायजसो सबै राष्ट्रहरूमा प्रतिबन्धित भयो। (मर्कूस १३:१०) यी राष्ट्रहरूले आफ्नो देशका मानिसहरूलाई अनिवार्य सैन्य सेवामा भर्ती गराउँदा यहोवाका साक्षीहरूलाई यो सेवाबाट छुट दिन इन्कार गरेर परमेश्‍वरका सेवकहरूको हैसियतमा तिनीहरूले पाएको ईश्‍वरतान्त्रिक नियुक्‍तिलाई पटक्कै आदर देखाएनन्‌। संयुक्‍त राज्यमा यहोवाका वफादार सेवकहरूले हुलदंगा र अपमान सहनुपऱ्‍यो। वास्तवमा भन्‍ने हो भने, सातौं विश्‍वशक्‍तिले यहोवाका जनहरूले परमेश्‍वरको उपासना गर्न “दैनिक बलिदान[को]” रूपमा सधैं चढाइरहेको स्तुतिको बलिदान अर्थात्‌ “ओंठको फल” खोस्ने प्रयास गऱ्‍यो। (हिब्रू १३:१५) यसरी त्यो विश्‍वशक्‍तिले सर्वोच्च परमेश्‍वरको “पवित्रस्थान[को]” हकलाग्ने ठाउँमा आक्रमण गरेर “विद्रोह” गऱ्‍यो।

२३. (क) दोस्रो विश्‍वयुद्धको दौडान एंग्लो-अमेरिकी विश्‍वशक्‍ति कसरी “राजकुमारहरूका राजकुमार” विरुद्ध खडा भयो? (ख) “राजकुमारहरूका राजकुमार” को हो?

२३ दोस्रो विश्‍वयुद्धको दौडान “पवित्र जनहरू[लाई]” सताएर यो सानो सीङले आफूलाई सेनाहरूका “राजकुमार जत्तिकै महान्‌” तुल्याउन खोज्यो। अथवा, गब्रिएल स्वर्गदूतले भनेझैं त्यो “राजकुमारहरूका राजकुमार” विरुद्ध खडा भयो। (दानियल ८:११, २५) “राजकुमारहरूका राजकुमार” भन्‍ने पदवी, यहोवा परमेश्‍वरलाई मात्रै लागू हुन्छ। “राजकुमार” भनेर अनुवाद गरिएको हिब्रू शब्द सार-को अर्थ, “प्रभुत्व जमाउनु” भन्‍ने अर्थ बुझाउने क्रियासित मिल्दोजुल्दो छ। राजाका छोरा वा शाही ओहदाका मानिसलाई संकेत गर्नुका साथै मूल व्यक्‍ति वा शिरलाई पनि त्यसले संकेत गर्छ। दानियलको पुस्तकले अरू स्वर्गदूतीय राजकुमारहरूबारे पनि उल्लेख गर्छ। जस्तै, माइकल। त्यस्ता सबै राजकुमारहरूको प्रमुख राजकुमार, परमेश्‍वर हुनुहुन्छ। (दानियल १०:१३, २१; तुलना गर्नुहोस्‌ भजन ८३:१८) के हामी राजकुमारहरूका राजकुमार अर्थात्‌ यहोवाको सामु कोही खडा भएको कल्पना गर्नसक्छौं?

“पवित्रस्थान[लाई]” उचित स्थानमा ल्याइयो

२४. दानियल ८:१४ ले हामीलाई कस्तो आश्‍वासन दिन्छ?

२४ राजकुमारहरूका राजकुमार विरुद्ध कोही पनि खडा हुन सक्दैन, एंग्लो-अमेरिकी विश्‍वशक्‍तिजस्तो “हठी” राजासमेत खडा हुन सक्दैन! परमेश्‍वरको पवित्रस्थान उजाड पार्ने राजाको प्रयास सफल हुँदैन। सन्देशवाहक स्वर्गदूत यसो भन्छन्‌, “दुई हजार तीन सय साँझ र बिहान” बितिसकेपछि “पवित्रस्थानलाई उचित स्थानमा ल्याइनेछ” वा “विजयी हुनेछ।”—दानियल ८:१३, १४; द न्यु इंग्लिश बाइबल।

२५. यो २,३०० दिनको भविष्यसूचक समयावधि कति लामो छ र यो कुन घटनासित सम्बन्धित हुनुपर्छ?

२५ यो २,३०० दिन भविष्यसूचक अवधि हो। यसैले, यसमा ३६० दिने भविष्यसूचक वर्ष यहाँ पनि लागू हुन्छ। (प्रकाश ११:२, ३; १२:६, १४) त्यसोभए, यो २,३०० दिन ६ वर्ष, ४ महिना, २० दिन हुनेछ। यो अवधि कहिले भयो? सन्‌ १९३० को दशकतिर थुप्रै मुलुकमा परमेश्‍वरका जनहरूमाथि सतावट चर्कियो। अनि दोस्रो विश्‍वयुद्धको बेला एंग्लो-अमेरिकी द्वय विश्‍वशक्‍तिले शासन गरेका मुलुकहरूमा यहोवाका साक्षीहरूले क्रूर शासना भोग्नु पऱ्‍यो। किन? किनभने तिनीहरू ‘मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नुपर्छ’ भन्‍ने कुरामा अटल थिए। (प्रेरित ५:२९) तसर्थ, त्यो २,३०० दिन त्यही युद्धसित सम्बन्धित हुनुपर्छ। b तर यो भविष्यसूचक समयको सुरु र अन्तबारे के भन्‍न सकिन्छ?

२६. (क) यो २,३०० दिन गन्‍ने सुरुको मिति कुन हो? (ख) यो २,३०० दिन कहिले अन्त भयो?

२६ “पवित्रस्थान[लाई]” उचित स्थानमा ‘ल्याउन’ वा पुनर्स्थापित गर्न, परमेश्‍वरको नजरमा पहिले जुनबेला त्यो “उचित स्थानमा” थियो, त्यही बेला देखिनै २,३०० दिन सुरु भएको हुनुपर्छ। त्यसको सुरुको मिति जून १, १९३८ हुनुपर्छ, जब द वाचटावर-ले “संगठन” शीर्षक लेखको भाग १ प्रकाशित गऱ्‍यो। जून १५, १९३८ को अंकमा भाग २ प्रकाशित भयो। जून १ वा १५, १९३८ बाट (हिब्रू पात्रोअनुसार ६ वर्ष, ४ महिना अनि २० दिन) २,३०० दिनको गन्ती गर्दा अक्टोबर ८ वा २२, १९४४ हुन्छ। सं.रा.अ.-को पिट्‌सबर्ग, पेन्सल्भेनियामा सेप्टेम्बर ३० र अक्टोबर १, १९४४ का दिन सम्पन्‍न विशेष सम्मेलनको पहिलो दिन वाच टावर सोसाइटीका अध्यक्षले “वर्तमान ईश्‍वरतान्त्रिक सुधार” विषयमा भाषण दिए। अक्टोबर २ का दिन संगठनको वार्षिक सभामा, कानुनले दिएसम्म सोसाइटीको विधानलाई ईश्‍वरतान्त्रिक प्रबन्धअनुरूप बनाउन छाँटकाँट गरियो। अनि बाइबलका आवश्‍यकताहरूबारे प्रकाशनमा स्पष्ट पारिएपछि यहोवाका साक्षीहरूको मण्डलीमा पनि तुरुन्तै ईश्‍वरतान्त्रिक व्यवस्थापन लागू गरियो।

२७. दोस्रो विश्‍वयुद्धको दौडान सतावटले गर्दा “दैनिक बलिदान” प्रतिबन्धित भएको थियो भन्‍ने के प्रमाण छ?

२७ सन्‌ १९३९ मा सुरु भएको दोस्रो विश्‍वयुद्धको दौडान २,३०० दिन पूरा भयो तर सतावटले गर्दा परमेश्‍वरको पवित्रस्थानमा “दैनिक बलिदान” चढाउन असाध्यै गाह्रो भयो। सन्‌ १९३८ मा वाच टावर सोसाइटीका ३९ वटा शाखाले साक्षीहरूको विश्‍वव्यापी कार्यको सुपरिवेक्षण गरिरहेको थियो भने १९४३ मा २१ वटा मात्र थियो। त्यो समयावधिमा परमेश्‍वरको राज्य उद्‌घोषकहरूको पनि धेरै वृद्धि भएन।

२८, २९. (क) दोस्रो विश्‍वयुद्धको अन्ततिर यहोवाको संगठनमा के-कस्ता परिवर्तन भए? (ख) “पवित्रस्थान” उजाड पारेर नाश गर्ने शत्रुहरूको दुष्ट प्रयासबारे के भन्‍न सकिन्छ?

२८ हामीले भर्खरै छलफल गरेझैं दोस्रो विश्‍वयुद्धको आखिरी महिनाहरूमा यहोवाका साक्षीहरू ईश्‍वरतान्त्रिक संगठनको हैसियतले परमेश्‍वरको शासनको महिमा गर्न पुनः कटिबद्ध भए। यही उद्देश्‍य राखेर १९४४ मा तिनीहरूको काम र प्रशासकीय संरचनालाई पुनः व्यवस्थित गरियो। यसैअनुरूप अक्टोबर १५, १९४४ को प्रहरीधरहरा-मा “अन्तिम कार्यको लागि व्यवस्थित” भन्‍ने लेख छापिएको थियो। यो र सेवासित सम्बन्धित एउटै समयका अन्य लेखहरूले २,३०० दिन पूरा भइसक्यो र “पवित्रस्थान[लाई]” “उचित स्थानमा” ल्याइसक्यो भन्‍ने संकेत गऱ्‍यो।

२९ “पवित्रस्थान” उजाड पारेर खत्तम पार्ने शत्रुको दुष्ट प्रयास पूर्णतया विफल भयो। निस्सन्देह, पृथ्वीमा बाँकी रहेका “पवित्र जनहरू” र तिनीहरूका सहयोगी “ठूलो भीड” विजयी भए। (प्रकाश ७:९) अनि उचित ईश्‍वरतान्त्रिक अवस्थामा ल्याइएको पवित्रस्थानले अहिले यहोवालाई पवित्र सेवा चढाइरहेको छ।

३०. “हठी . . . राजा[लाई]” चाँडै के हुनेछ?

३० एंग्लो-अमेरिकी विश्‍वशक्‍ति अझै शक्‍तिशाली छ। तर गब्रिएल स्वर्गदूतले भनेझैं, “यो नष्ट हुनेछ।” (दानियल ८:२५) चाँडै, बाइबल भविष्यवाणीको यो सातौं विश्‍वशक्‍ति अर्थात्‌ “हठी . . . राजा” नष्ट हुनेछ तर यो कुनै मानिसको हातबाट नभई आरमागेडोनमा असामान्य शक्‍तिबाट हुनेछ। (दानियल २:४४; प्रकाश १६:१४, १६) तब राजकुमारहरूका राजकुमार, यहोवा परमेश्‍वरको सार्वभौमिकता उच्च पारिनेछ भनेर थाह पाउनु कस्तो रोमाञ्चकारी कुरा हो!

[फुटनोटहरू]

a बाइबलमा विशेष महत्त्व राख्ने सात विश्‍वशक्‍तिहरू मिश्र, अश्‍शूर, बेबिलोन, मादी-फारस, युनान, रोम र एंग्लो-अमेरिकी द्वय विश्‍वशक्‍ति हुन्‌। यी सबै उल्लेखनीय छन्‌ किनभने ती विश्‍वशक्‍तिहरूले यहोवाका जनहरूलाई असर गऱ्‍यो।

b दानियल ७:२५ मा पनि ‘सर्वोच्चका पवित्र जनहरूलाई अत्याचार गर्ने’ समयबारे बताइएको छ। यसअघिको लेखमा बताइएझैं यो पहिलो विश्‍वयुद्धसित सम्बन्धित थियो।

तपाईंले के बुझ्नुभयो?

• यी कुराहरूले केलाई चित्रित गर्छ

“दुई सीङ” भएको “साँढ-भेडा”?

“विशाल सीङ” भएको “बोका”?

“विशाल सीङको” सट्टामा निस्केको चार सीङ?

चारवटा सीङमध्ये एउटाबाट निस्केको सानो सीङ?

• दोस्रो विश्‍वयुद्धको बेला एंग्लो-अमेरिकी विश्‍वशक्‍तिले “पवित्रस्थान[लाई]” कसरी उजाड पारेर नाश गर्न खोज्यो अनि के त्यो सफल भयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६६-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मादी-फारसी साम्राज्य

म्यासिडोनिया

मिश्र

मेम्फिस

इथियोपिया

यरूशलेम

बेबिलोन

एक्बाताना

सुसा

पर्सिपोलिस

भारत

[पृष्ठ १६९-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

युनानी साम्राज्य

म्यासिडोनिया

मिश्र

बेबिलोन

सिन्धु नदी

[पृष्ठ १७२-मा भएको नक्सा]

रोमी साम्राज्य

ब्रिटानिया

इटाली

रोम

यरूशलेम

मिश्र

[पृष्ठ १६४-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ १७४-मा भएका चित्रहरू]

एंग्लो-अमेरिकी विश्‍वशक्‍तिका केही गन्यमान्य व्यक्‍तिहरू:

१. जर्ज वाशिङ्‌टन, अमेरिकाका प्रथम राष्ट्रपति (१७८९-९७)

२. बेलाइतकी महारानी भिक्टोरिया (१८३७-१९०१)

३. वुड्रो विल्सन, अमेरिकाका राष्ट्रपति (१९१३-२१)

४. डेभिड लोइड जर्ज, बेलाइतका प्रधानमन्त्री (१९१६-२२)

५. विन्स्टन चर्चिल, बेलाइतका प्रधानमन्त्री (१९४०-४५, १९५१-५५)

६. फ्रांक्लिन डि. रूजभेल्ट, अमेरिकाका राष्ट्रपति (१९३३-४५)