सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विशाल रूखको रहस्य पत्ता लगाउने

विशाल रूखको रहस्य पत्ता लगाउने

अध्याय छ

विशाल रूखको रहस्य पत्ता लगाउने

१. राजा नबूकदनेसरलाई के भयो र यसले कस्ता प्रश्‍नहरू खडा गर्छन्‌?

 यहोवाले राजा नबूकदनेसरलाई विश्‍व शासक हुन दिनुभयो। बेबिलोनका राजाको हैसियतमा तिनीसित प्रशस्त धनसम्पत्ति, चौरासी व्यञ्जन, भव्य दरबार र भनौं भने आफूले चाहेका सबै भौतिक कुराहरू तिनीसित थिए। तर अचानक तिनले ठूलो अपमान सहनुपऱ्‍यो। बौलाहा भएका नबूकदनेसरले पशुले जस्तो व्यवहार गर्न थाले! तिनको राजपद खोसियो अनि दरबारबाट धपाइयो। तिनी जंगलमा बसेर गोरुले जस्तो घाँस खान लागे। यस्तो विपत्ति आइपर्नुको कारण के थियो? अनि यो हाम्रोलागि किन चासोको विषय हुनुपर्ने हो?—अय्यूब १२:१७-१९; उपदेशक ६:१, २ तुलना गर्नुहोस्‌।

राजाले सर्वोच्चलाई महिमा दिन्छन्‌

२, ३. बेबिलोनका राजा आफ्ना प्रजाहरूले कुन कुरा थाह पाएको चाहन्थे र तिनले सर्वोच्च परमेश्‍वरप्रति कस्तो दृष्टिकोण राखे?

मानसिक सन्तुलन ठेगानमा आएको केही समयपछि नबूकदनेसरले आफूमाथि घटेका घटनाहरूबारे चारैतिर राम्रो समाचार पठाए। यहोवाले दानियललाई यी घटनाहरूको सही विवरण जोगाइराख्न प्रेरित गर्नुभयो। विवरणको सुरुमा यसो भनिएको छ: “सारा पृथ्वीमा रहने विभिन्‍न भाषा बोल्ने जाति जातिहरूका मानिसहरूलाई राजा नबूकदनेसरबाट—‘तिमीहरूको भलो भइरहोस्‌। सर्वोच्च परमेश्‍वरले मेरो निम्ति चिह्न र आश्‍चर्यकामहरू गरिदिनुभयो, जो बताउन मलाई असल लाग्यो। उहाँका चिह्नहरू कति महान्‌ छन्‌। उहाँका आश्‍चर्यकामहरू कति शक्‍तिशाली छन्‌! उहाँको राज्य सदा सर्वदा रहने राज्य, औ उहाँको प्रभुत्व पुस्तौं पुस्तौंसम्म रहिरहन्छ।”—दानियल ४:१-३.

नबूकदनेसरका प्रजाहरू “सारा पृथ्वीमा” थिए। किनकि बाइबल विवरणमा उल्लिखित प्रायजसो ठाउँमा तिनको साम्राज्य फैलिएको थियो। दानियलका परमेश्‍वरबारे राजाले यसो भने, “उहाँको राज्य सदा सर्वदा रहने राज्य” हो। ती शब्दहरूले साँच्चै बेबिलोन साम्राज्यभरि यहोवाको महिमा गऱ्‍यो! यसबाहेक, “सदा सर्वदै रहिरहने” परमेश्‍वरको राज्य मात्र हो भनेर नबूकदनेसरलाई देखाइएको यो दोस्रो पटक हो।—दानियल २:४४.

४. नबूकदनेसरको सन्दर्भमा यहोवाका “चिह्न र आश्‍चर्यकामहरू” कसरी सुरु भए?

“सर्वोच्च परमेश्‍वरले” कस्ता “चिह्न र आश्‍चर्यकामहरू” गर्नुभयो? राजा आफैले अनुभव गरेका उक्‍त घटना यी शब्दहरूले स्पष्ट पार्छन्‌: “म, नबूकदनेसर, आफ्नो महलको सुखमा आफ्नो घरमा शान्तिपूर्वक बसिरहेको थिएँ। म पलंगमा ढल्किरहेको बेला मैले यस्तो सपना देखें, जसको कारण म भयभीत भएँ, औ मेरो मनमा आएका कल्पनाहरू र दर्शनहरूले गर्दा म व्याकुल भएँ।” (दानियल ४:४, ५) यस्तो व्याकुल बनाउने सपना देखेपछि बेबिलोनका राजाले के गरे?

५. नबूकदनेसरले दानियलप्रति कस्तो दृष्टिकोण राख्थे र किन?

नबूकदनेसरले बेबिलोनका ज्ञानी पुरुषहरू बोलाएर आफ्नो सपना बताए। तर तिनीहरूको केही सीप लागेन! तिनीहरूले सपनाको अर्थ खुलाउन सकेनन्‌। विवरणमा अझ यसो भनिएको थियो: “फेरि एक जना दानियल भन्‍ने मेरो सामु आए, जसको नाउँ मेरै देवताको जस्तै बेलतसजर थियो, र जससँग पवित्र देवताहरूका आत्मा थियो। औ मैले तिनलाई पनि सपना बताइदिएँ।” (दानियल ४:६-८) दानियलको दरबारिया नाउँ बेलतसजर थियो र राजाले “मेरो देवता” भनेर सम्बोधन गरेको झूटो देव बेल वा नेबो वा मार्डुक हुनसक्छ। नबूकदनेसरले थुप्रै देवहरूको उपासना गर्ने हुँदा दानियलसित पनि “पवित्र देवताहरूका आत्मा” छ भन्ठानेको हुनुपर्छ। अनि दानियल बेबिलोनका सबै ज्ञानी पुरुषहरूमाथि प्रधान बनाइएको हुँदा राजाले तिनलाई “जादूगरहरूका प्रधान” भनेको हुनुपर्छ। (दानियल २:४८; ४:९; तुलना गर्नुहोस्‌ दानियल १:२०) तर वफादार दानियलले यहोवाको उपासना त्यागेर जादुगरी कहिल्यै गरेनन्‌ भन्‍ने कुरामा कुनै शंका छैन।—लेवी १९:२६; व्यवस्था १८:१०-१२.

विशाल रूख

६, ७. नबूकदनेसरले सपनामा देखेको कुरा आफ्नै शब्दमा तपाईं कसरी वर्णन गर्नुहुन्छ?

बेबिलोनका राजालाई व्याकुल पार्ने सपनाको विषयवस्तु के थियो? त्यसबारे नबूकदनेसरले यसो भने, “पलंगमा ढल्किरहेको बेलामा मैले देखेको दर्शन यही थियो—मैले के देखें भने, पृथ्वीको माझमा एउटा अत्यन्त अल्गो रूख रहेछ। त्यो रूख बढ़्‌यो र छिप्पियो। त्यसको टुप्पा आकासम्म पुग्यो। पृथ्वीको पल्लो छेउबाट पनि त्यो देखिन्थ्यो। त्यसका पातहरू सुन्दर सुन्दर र त्यसका फलहरू प्रशस्तै थिए, र सबैका निम्ति खानलाई पुग्थ्यो। त्यसका छाहारीमनि जङ्‌गलका पशुहरू बस्थे, र आकाशका पक्षीहरू त्यसका हाँगाहरूमा बास गर्थे, औ जम्मै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।” (दानियल ४:१०-१२) प्राप्त प्रमाणअनुसार नबूकदनेसरलाई लबाननका देवदारहरू असाध्यै मन पर्थ्यो। त्यसैकारण, तिनी ती रूखहरू हेर्न गएका थिए अनि केही काठ बेबिलोनमा पनि ल्याए। तर सपनामा देखेको जत्रो विशाल रूख तिनले पहिले कहिल्यै देखेका थिएनन्‌। यसले “पृथ्वीको माझमा” महत्त्वपूर्ण ठाउँ ओगटेको थियो र पृथ्वीको चारैतिरबाट देखिन्थ्यो। यसमा निकै फल लाग्ने हुँदा सबै प्राणीहरूको लागि आहार हुन्थ्यो।

नबूकदनेसरले देखेको सपना यति मात्र थिएन किनभने तिनले अझै यसो भने: “पलंगमा ढल्किरहेको बेलामा मैले यो अर्को दर्शन देखें—ध्यानसित हेरिरहेको बेलामा, एउटा हेरचाह–गर्ने, पवित्र जन स्वर्गबाट ओर्लेर आए। तिनले कराएर यसो भने, ‘त्यस रूखलाई ढालिदे, त्यसका हाँगाहरूलाई काटिदे, त्यसका पातहरू झारिदे, र फलहरू छरस्ट पारिदे। जंगलका पशुहरू त्यसका छाहारीबाट र पक्षीहरू त्यसका हाँगाहरूबाट भागिजाऊन्‌। तर त्यसका ठुटा चाहिं जरैसमेत जमीनमानै रहोस्‌। त्यही अवस्थामा, फलामको साङ्‌लाले त्यो बाँधिएको भएर, नरम घाँसले त्यसले आफ्नो पेट भरोस्‌। आकाशको शीतले त्यसलाई भिजाओस्‌ खर्कमा रहने पशुहरूशित त्यो रहोस्‌।’”—दानियल ४:१३-१५.

८. “हेरचाह गर्ने” व्यक्‍ति को थिए?

असल र खराब आत्मिक प्राणीहरूबारे बेबिलोनीहरूको आफ्नै धार्मिक दृष्टिकोण थियो। तर यो स्वर्गबाट “हेरचाह गर्ने” व्यक्‍ति वा पहरादार को थिए? “पवित्र जन” भनिएको उक्‍त पहरादार परमेश्‍वरको प्रतिनिधित्व गर्ने धर्मी स्वर्गदूत थिए। (भजन १०३:२०, २१ तुलना गर्नुहोस्‌।) नबूकदनेसरको मनमा कस्ता प्रश्‍नहरू खेलिरहेका होलान्‌, कल्पना गर्नुहोस्‌ त! यो रूख किन ढाल्ने? फलामको साङ्‌लाले बाँधिएको ठुटाको के काम? साँच्चै, यो जाबो ठुटाको के काम?

९. हेरचाह गर्नेले मुख्यतः के भने र कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

हेरचार गर्नेको यी शब्दहरू सुन्दा नबूकदनेसर स्तब्ध भएको हुनुपर्छ: “त्यसको मानवी–मन बद्‌लेर पशुको मन होओस्‌, सात काल त्यसमाथि त्यस्तै बितोस्‌। हेरचाह गर्नेहरूबाट निर्णय निश्‍चय गरियो, र पवित्र जनहरूबाट फैसलाको घोषणा भयो। यसैले जीवित प्राणीहरूले यो जान्‍नेछन्‌, कि सर्वोच्चकोनै मानिसहरूमाथि सर्वाधिकार छ, र उहाँले इच्छा गर्नुभएकोलाई राज्य दिनुहुनेछ, र मानिसहरूमा सबैभन्दा नम्रलाई राज्यमाथि खड़ा गर्नुहुन्छ।” (दानियल ४:१६, १७) रूखको ठुटामा मानिसको जस्तो मन हुँदैन। त्यसकारण, पशुको मन कसरी रूखको ठुटालाई दिन सकिन्छ? “सात काल” के हो? अनि यो सबै “मानिसहरू[सित]” कसरी सम्बन्धित छ? अवश्‍य पनि नबूकदनेसर यी कुराहरू जान्‍न चाहन्थे।

राजाको लागि नराम्रो समाचार

१०. (क) धर्मशास्त्रीय आधारमा भन्‍ने हो भने रूखले कुन कुन कुराको प्रतिनिधित्व गर्नसक्छ? (ख) ठूलो रूख केको प्रतीक हो?

१० सपना सुनिसकेपछि दानियल एकछिन घोरिए र पछि डराए। नबूकदनेसरले त्यसको अर्थ खुलाउन आग्रह गरेको हुँदा अगमवक्‍ताले यसो भने: “हे मेरा प्रभु, यो सपना हजूरप्रति घृणा गर्नेहरूलाई र त्यसको अर्थ हजूरका दुश्‍मनहरूलाई भएता हुनेथियो! हजूरले देख्नुभएको रूख, जो बढ़ेर छिप्पियो . . . हे महाराज, त्यो रूख हजूरनै हुनुहुन्छ। हजूर बढ़ेर शक्‍तिशाली हुनुभएको छ। हजूरको शक्‍ति बढ़ेर स्वर्गसम्मै पुगेको छ, र हजूरको प्रभुत्व पृथ्वीको पल्लो छेउसम्मै छ।” (दानियल ४:१८-२२) धर्मशास्त्रमा रूखले व्यक्‍तिविशेष, शासक तथा राज्यहरूको प्रतिनिधित्व गर्नसक्छ। (भजन १:३; यर्मिया १७:७, ८; इजकिएल, अध्याय ३१) नबूकदनेसरले सपनामा देखेको ठूलो रूखजस्तै तिनी पनि विश्‍व शासकको हैसियतमा “बढ़ेर शक्‍तिशाली” भएका थिए। तर त्यो ठूलो रूखले सम्पूर्ण मानवजाति विथोलित ‘पृथ्वीको पल्लो छेउसम्मै पुगेको प्रभुत्वलाई’ चित्रण गर्छ। त्यसकारण, यो रूख मुख्यतया यहोवाको विश्‍वव्यापी सार्वभौमिकताको प्रतीक, त्यसमाथि पनि अझ विशेष गरी पृथ्वी र उहाँको सार्वभौमिकताबीचको सबन्ध हो।—दानियल ४:१७.

११. आफ्नो ठूलो अपमान हुनेछ भनेर राजाको सपनाले कसरी देखायो?

११ नबूकदनेसरले ठूलो अपमान सहनुपर्ने थियो। यस घटनालाई औंल्याउँदै दानियलले यसो भने: “हे महाराज, हजूरले स्वर्गबाट आएर यसो भन्‍ने एक हेरचाह गर्ने, एक पवित्र जन देख्नुभयो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदे, तर त्यसको ठुटा जरासँग भूइँमानै छोड़िदे, जबसम्म त्यसमाथि सात काल बित्दैन तबसम्म फलामको साङ्‌लाले त्यो बाँधिएको भएर नरम घाँसले त्यसले आफ्नो पेट भरोस्‌। त्यो आकाशको शीतले भिजोस्‌ र त्यसको भाग जङ्‌गलका पशुहरूसँग होओस्‌।’ त्यसको अर्थ यही हो, ‘हे महाराज, मेरा प्रभु महाराजलाई सर्वोच्चबाट आएको यो एक उर्दी हो।’” (दानियल ४:२३, २४) शक्‍तिशाली राजालाई यस्तो सन्देश सुनाउन पक्कै पनि साहस चाहिन्थ्यो!

१२. नबूकदनेसरमाथि के आइपर्ने थियो?

१२ नबूकदनेसरलाई के हुने थियो? दानियलले यस्तो वर्णन गर्दा राजाले कस्तो प्रतिक्रिया देखाए होलान्‌, कल्पना गर्नुहोस्‌: “हजूर मानिसहरूबाट निकालिनुहुनेछ, र हजूरको बास जङ्‌गलका पशुहरूका साथमा हुनेछ। गोरुले झैं हजूरले घाँस खानुहुनेछ, र हजूर आकाशको शीतले भिजिनुहुनेछ। औ जबसम्म हजूरले यो कुरो जान्‍नुहुनेछैन कि सर्वोच्चकोनै मानिसहरूमाथि सर्वाधिकार छ र जसलाई उहाँले इच्छा गर्नुहुन्छ उसैलाई नै राज्य दिनुहुन्छ, तबसम्म हजूरमाथि सात काल यसरी बित्नेछ।” (दानियल ४:२५) यसो हेर्दा नबूकदनेसरको दरबारकै हाकिमहरूले समेत ‘तिनलाई मानिसहरूबाट निकाल्ने थिए।’ तर के तिनको हेरचाह गर्ने कुनै गोठाला वा दयालु व्यक्‍ति हुने थिए? अहँ, हुने थिएन किनभने नबूकदनेसरले घाँस खाएर “जंगलका पशुहरूसित” बस्नेछन्‌ भनी परमेश्‍वरले घोषणा गर्नुभएको थियो।

१३. रूखको सपनाले विश्‍व शासकको हैसियतमा नबूकदनेसरलाई के हुनेछ भनी देखायो?

१३ रूख ढालिएझैं नबूकदनेसर पनि केही समयका लागि विश्‍व शासक हुने थिएनन्‌। दानियलले यसरी बताए: “रूखको ठुटालाई जरैसमेत छोड़िदिनू भन्‍ने हुकूम भयो। यसद्वारा हजूरले यो जान्‍नुहुनेछ कि स्वर्गको सर्वाधिकार हजूरले स्वीकार गर्नुभएको समयदेखि हजूरको राज्य कायम रहनेछ।” (दानियल ४:२६) नबूकदनेसरले देखेको सपनामा ढालिएको रूखको ठुटा वा जरा नबढोस्‌ भनेर फलामको साङ्‌लाले बाँधिएको भए तापनि त्यो उखालिएको भने थिएन। त्यसरी नै, बेबिलोनको राजाको “ठुटा” “सात काल[सम्म]” फलामको साङ्‌लाले बाँधिए तापनि रहिरहने थियो। विश्‍व शासकको हैसियतमा तिनको ओहदा फलामको साङ्‌लाले बाँधेको रूखको ठुटाजस्तै हुने थियो। सात काल नबितुञ्जेल त्यसरी नै राखिने थियो, कुनै हानि नोक्सानी हुने थिएन। त्यो समयावधिमा नबूकदनेसरका छोरा एबील-मरोदकले कार्यकारी शासकको भूमिका निर्वाह गरेको हुनसक्छ तर बेबिलोनको एकाधिकार अरू कसैलाई नजाओस्‌ भनेर यहोवाले हेर्नुहुने थियो।

१४. दानियलले नबूकदनेसरलाई के गर्ने आग्रह गरे?

१४ नबूकदनेसरबारे अगमवाणी गरिएको कुरालाई दृष्टिगत गर्दै दानियलले निडर भई यस्तो आग्रह गरे: “यसकारण हे महाराज, मेरो यो सल्लाह हजूरले लिनुहोला। आफ्नो पाप त्याग्नुहोस्‌ र धर्मतिर लाग्नुहोस्‌। अत्याचारमा परेकाहरूलाई दया देखाएर आफ्नो अधर्म त्याग्नुहोस्‌। त्यसो गर्नाले हजूरको मनमा शान्ति हुनेछ।” (दानियल ४:२७) नबूकदनेसरले दमन र घमण्ड गर्ने आफ्नो पापी मार्ग त्यागेको खण्डमा तिनी नराम्रो अवस्थाबाट बच्ने थिए। हुन पनि, लगभग दुई शताब्दीअघि यहोवाले अश्‍शूरको राजधानी, निनवेका मानिसहरूलाई नाश गर्ने निधो गर्नुभएको थियो तर त्यहाँको राजा र प्रजाले पश्‍चात्ताप गरेको हुँदा नाश गर्नुभएन। (योना ३:४, १०; लूका ११:३२) घमण्डी नबूकदनेसरले नि? के तिनले आफ्नो मार्ग परिवर्तन गर्ने थिए?

सपनाको प्रारम्भिक पूर्ति

१५. (क) नबूकदनेसरले कस्तो मनोवृत्ति देखाउन छोडेनन्‌? (ख) अभिलेखहरूले नबूकदनेसरको गतिविधिबारे के बताउँछन्‌?

१५ नबूकदनेसरले घमण्ड गर्न छोडेनन्‌। रूखको सपना देखेको १२ महिनापछि राजमहलको कौसीमा टहलिरहेको बेला तिनले यस्तो घमण्ड गरे: “के यो त्यही महान्‌ बाबेल होइन जो मैले आफ्नो ठूलो शक्‍तिले मेरो महोत्तमको गौरवको निम्ति निवासस्थान बनाएको होइन र?” (दानियल ४:२८-३०) बेबिलोनका (बाबेल) संस्थापक निम्रोद थिए तर नबूकदनेसरले त्यसलाई वैभवशाली बनाए। (उत्पत्ति १०:८-१०) एउटा कीलाक्षर अभिलेखमा तिनले यस्तो घमण्ड गरेका छन्‌: “म नेबोपोलासारका छोरा, एसागिला र एजिडाका पुनर्स्थापक, बेबिलोनका राजा नबूकदनेसर हुँ। . . . एसागिला र बेबिलोनका गढहरू सुदृढ बनाउने म नै हुँ र मेरो शासनकालको नाउँ सदाको लागि रहनेछ।” (जर्ज ए. बार्टनको आर्कियोलोजी एण्ड द बाइबल, १९४९, पृष्ठ ४७८-९) अर्को अभिलेखमा तिनले जिर्णोद्धार वा पुनर्निर्माण गरेका २० वटा जति मन्दिरको उल्लेख गरेको पाइन्छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ, “नबूकदनेसरको शासनकालमा बेबिलोन, पुरातन संसारको अत्यन्तै वैभवशाली शहर थियो। निजी विवरणमा राजाले आफ्नो सैन्य गतिविधिबारे खासै उल्लेख गरेनन्‌ तर निर्माण कार्य तथा बेबिलोनियाका देवहरूबारे धेरै कुरा लेखे। बेबिलोनको ह्‍यांगिङ गार्डन सम्भवतः नबूकदनेसरले नै बनाएका थिए र यो पुरातन संसारको सात आश्‍चर्यमध्ये एक थियो।”

१६. नबूकदनेसरको कसरी अपमान हुनै लागेको थियो?

१६ घमण्डी नबूकदनेसरले रवाफ त देखाए तर त्यो धेरै समय टिक्ने थिएन। प्रेरित विवरण यसो भन्छ: “राजाको मुखबाट यो कुरो निस्किसकेकै थिएन, स्वर्गबाट यसो भन्‍ने एउटा वाणी आयो, ‘हे नबूकदनेसर राजा, तँलाईनै यो कुरो भनिएको हो। यो राज्य तेरो हातबाट उम्किसकेको छ। तँ मानिसहरूका समाजबाट धपाइनेछस्‌, र तेरो बास जङ्‌गलका पशुहरूसित हुनेछ, र गोरुलेझैं तैंले घाँस खानेछस्‌। औ सर्वोच्चकोनै मानिसहरूमाथि सर्वाधिकार छ, र जसलाई उहाँले इच्छा गर्नुहुन्छ उसैलाई नै राज्य दिनुहुन्छ भन्‍ने कुरो तैंले नजानुञ्जेल तँमाथि सात काल बित्नेछ।’”—दानियल ४:३१, ३२.

१७. घमण्डी नबूकदनेसरलाई के भयो र तिनले आफूलाई कस्तो अवस्थामा पाए?

१७ त्यसको लगत्तै नबूकदनेसरको सुद्धीबुद्धी हरायो। मानिसहरूको समाजबाट धपाइएपछि तिनले “गोरुले झैं” घाँस खाए। तिनी जंगलका पशुहरूसँगै शीतल हावा खाएर प्रमोदवनजस्तो ठाउँमा मजासित बसिरहेका थिएनन्‌। बेबिलोनका भग्नावशेषहरू भएको ठाउँ, हालको इराकमा गर्मी महिनाको तापक्रम ५० डिग्री सेल्सियससम्म हुन्छ भने जाडो महिनामा कठांग्रिने जाडो। त्यस्तो हावापानीमा नबूकदनेसरको लामो, बाक्लो कपाल बाख्राका भुत्लाहरूजस्तो र हातखुट्टाका नङहरू चराको नङ्‌ग्राजस्तै भए। (दानियल ४:३३) घमण्डी विश्‍व शासकको कत्रो बेइज्जत!

१८. सात कालमा बेबिलोनको सिंहासन के भयो?

१८ नबूकदनेसरले सपनामा देखेको त्यो ठूलो रूख ढालियो र सात कालसम्म नबढोस्‌ भनेर त्यसको ठुटालाई फलामका साङ्‌लाले बाँधियो। त्यसरी नै, यहोवाले नबूकदनेसरलाई बौलाहा तुल्याउनुभएपछि तिनी “आफ्ना सिंहासनबाट खसालिए।” (दानियल ५:२०) भनाइको मतलब, राजाको मन, मानिसको होइन गोरुको जस्तो भयो। यद्यपि, सात काल नबितुञ्जेल परमेश्‍वरले नबूकदनेसरको सिंहासन तिनकै लागि साँचेर राख्नुभयो। एबील-मरोदक अस्थायी प्रमुख भएको बेला दानियल, “बाबेलका सारा प्रदेशका शासक र बाबेलका सबै ज्ञानी पुरुषमाथि प्रधान” नियुक्‍त भएका थिए। दानियलका तीन जना हिब्रू साथीहरूले प्रान्तीय गतिविधि हेर्थे। (दानियल १:११-१९; २:४८, ४९; ३:३०) निर्वासनमा परेका ती चार जना हिब्रू, “सर्वोच्चकोनै मानिसहरूमाथि सर्वाधिकार छ, र जसलाई उहाँले इच्छा गर्नुहुन्छ उसैलाई नै राज्य दिनुहुन्छ भन्‍ने कुरो” राजा नबूकदनेसरले बुझिसकेपछि आफ्नो सिंहासनमा फेरि बसेको हेर्ने प्रतीक्षामा थिए।

नबूकदनेसरको पुनर्स्थापना

१९. यहोवाले नबूकदनेसरलाई तिनको होस फर्काएर सद्दे तुल्याउनुभएपछि बेबिलोनका राजाले कुन कुरा मानिलिए?

१९ सात काल बितेपछि यहोवाले नबूकदनेसरको होस फर्काएर सद्दे तुल्याउनुभयो। अनि सर्वोच्च परमेश्‍वरलाई राजाले यसो भने: “ती दिन बितेपछि, म, नबूकदनेसरले आफ्नो आँखा स्वर्गतिर उठाएँ, र मेरो होश फर्क्यो। औ यसो भन्दै सदा सर्वदै रहिरहनुहुनेलाई प्रशंसा र महिमा दिंदै मैले यसो भनेर धन्यवाद चढ़ाएँ—उहाँको प्रभुत्व सदा–सर्वदाको प्रभुत्व हो, र उहाँको राज्य पुस्ता पुस्तासम्मै रहिरहन्छ। पृथ्वीका सबै बासिन्दाहरू उहाँको लेखीमा तुच्छ छन्‌। स्वर्गको सेनालाई र पृथ्वीका बासिन्दाहरूलाई उहाँले आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। औ उहाँको हात कसैले रोक्नसक्‍तैन, औ उहाँले के गर्नुहुन्छ, कसैले सोध्नसक्‍तैन।” (दानियल ४:३४, ३५) हो, मानवजातिको सार्वभौम शासक सर्वोच्च परमेश्‍वर नै हुनुहुन्छ भनी नबूकदनेसरले मानिलिए।

२०, २१. (क) सपनामा देखेको रूखको ठुटाबाट फलामको साङ्‌ला फुकाइनु र नबूकदनेसरले अनुभव गरेका घटनाबीच के समानता छ? (ख) नबूकदनेसरले कुन कुरा मानिलिए र के यसो गर्दैमा तिनी यहोवाको उपासक भए?

२० नबूकदनेसर आफ्नो सिंहासनमा फर्केपछि सपनामा देखेको रूखको ठुटाबाट फलामको साङ्‌ला फुकाइएझैं भयो। आफ्नो पुनर्स्थापनाबारे तिनले यसो भने: “त्यसै बेला मेरो होश फर्क्यो। औ मेरो राज्यको गौरवको निम्ति मेरो महामहिमा र राजसी शान मकहाँ फर्केर आयो। मेरा सल्लाहकार र भारादारहरू मसँग भेट गर्न आए, र म मेरो राज्यमा पुनर्स्थापन भएँ, र मेरो शक्‍ति झन्‌ झन्‌ बढ़नलाग्यो।” (दानियल ४:३६) बौलाहा राजालाई घृणा गर्ने दरबारका भारदारहरूसमेत अब तिनकै अधीनमा बस्न तयार भएर “भेट गर्न आए।”

२१ सर्वोच्च परमेश्‍वरले कत्ति राम्रा “चिह्न र आश्‍चर्यकामहरू” गर्नुभयो! अतः बेबिलोनका पुनर्स्थापित राजाले यसो भनेकोमा हामी छक्क पर्नुपर्ने कुनै कारण छैन: “अब म, नबूकदनेसर, स्वर्गका महाराजालाई प्रशंसा, स्तुति र सम्मान दिंदैछु, किनभने उहाँका सबै काम ठीक छन्‌, र उहाँका चाल न्यायसंगत छन्‌, औ अहंकारीलाई उहाँले खसाल्नुहुन्छ।” (दानियल ४:२, ३७) तथापि, यसरी मानिलिए तापनि गैर-इस्राएली नबूकदनेसर, यहोवाको उपासक भने भएनन्‌।

के धर्मशास्त्रबाहेक अरू प्रमाण छ?

२२. नबूकदनेसरको बौलाहपनलाई कसैकसैले कुन रोग भनेका छन्‌ तर तिनको बौलाहा अवस्थाबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

२२ कसैकसैले नबूकदनेसरको बौलाहापनलाई लिकान्थ्रोफी भन्छन्‌। एउटा चिकित्सा शब्दकोश यसो भन्छ: “लिकान्थ्रोफी . . . [लिकोस], लुपस, ब्वाँसो; [आन्थ्रोपस], होमो, मानिस अर्थ बुझाउने शब्दबाट लिइएको हो। आफू परिवर्तन भएर पशु भयो भन्ठान्‍ने अनि पशुजस्तै आवाज निकाल्ने वा चिच्च्याउने, पशुको व्यवहार वा हावभाव नक्कल गर्ने रोगलाई यस्तो नाउँ दिइएको थियो। यस्ता मानिसहरू आफू प्रायजसो ब्वाँसो, कुकुर वा बिरालोमा परिवर्तन भएको कल्पना गर्छन्‌; कहिलेकाहीं नबूकदनेसरले जस्तो गोरु भएको पनि सम्झन्छन्‌।” (डिक्श्योनेर डे सजाँस माडिकल, पार उन सोस्याटे डे माड्‌स्यान आ डे शेरयुजाइन, पेरिस, १८१८, खण्ड २९, पृष्ठ २४६) लिकान्थ्रोपीका लक्षणहरू, नबूकदनेसरको बौलाहा अवस्थासित मिल्छ। तथापि, ईश्‍वरीय आदेशअनुरूप तिनलाई त्यस्तो मानसिक रोगले ग्रस्त पारेको हुँदा तिनको रोग यही हो भन्‍न मिल्दैन।

२३. नबूकदनेसरको बौलाहापनबारे धर्मशास्त्रबाहेक अरू कस्तो प्रमाण पनि पाइन्छ?

२३ शास्त्रविद्‌ जोन ई. गोल्डिंगेले नबूकदनेसरको बौलाहापन र पुनर्स्थापनासित मिल्दाजुल्दा थुप्रै समानताहरू उल्लेख गर्छन्‌। उदाहरणका लागि, तिनी भन्छन्‌: “नबूकदनेसरले भोगेको मानसिक असन्तुलन र बेबिलोनको देखभाल नगरी छोडेर गएको विषयमा कीलाक्षरको एउटा टुक्रामा उल्लेख गरिएको छ।” गोल्डिंगेले “बेबिलोनको अय्यूब” नामक कागजातको उल्लेख गर्दै “परमेश्‍वरले दिनुभएको सजाय, बिरामी, अपमान, डरलाग्दो सपनाको अर्थ खोज्नु, रूखजस्तै ढालिनु, बाहिर फ्याँकिनु, घाँस खानु, सुद्धीबुद्धी हराउनु, गोरुजस्तै हुनु, मार्डुकबाट दण्ड पाउनु, नङहरू नंग्राजस्तै हुनु, कपाल भुत्लाजस्तै हुनु, साङ्‌लाले बाँधिनु अनि पुनर्स्थापित भएपछि परमेश्‍वरको प्रशंसा गर्नु इत्यादि कुराहरूको पुष्टि गर्छ” भनी बताउँछन्‌।

हामीलाई प्रभाव पार्ने सात काल

२४. (क) सपनामा देखेको ठूलो रूखले कुन कुरालाई चित्रण गर्छ? (ख) सात कालसम्म के रोकियो र त्यो कसरी भयो?

२४ ठूलो रूखले झैं नबूकदनेसरले विश्‍व शासनको चित्रण गऱ्‍यो। तर नबिर्सनुहोस्‌, रूखले बेबिलोनको राजाको भन्दा अत्यन्तै महान्‌ शासन र सार्वभौमिकताको प्रतिनिधित्व गर्छ। त्यसकारण, यो रूख मुख्यतया “स्वर्गका राजा” यहोवाको विश्‍वव्यापी सार्वभौमिकताको प्रतीक हो, त्यसमाथि पनि अझ विशेष गरी पृथ्वी र उहाँको सार्वभौमिकताबीचको सबन्धमा। बेबिलोनको हातबाट यरूशलेमको विनाश हुनुअघि “परमप्रभुको सिंहासनमा” बसेर राज गर्ने दाऊद र तिनका उत्तराधिकारीहरूले परमेश्‍वरको सार्वभौमिकता अर्थात्‌ पार्थिव सार्वभौमिकताको प्रतिनिधित्व गर्थे। (१ इतिहास २९:२३) नबूकदनेसरलाई सा.यु.पू. ६०७ मा यरूशलेम विनाश गर्न लगाउनुहुँदा परमेश्‍वर स्वयम्‌ले त्यस सार्वभौमिकतालाई ढालेर फलामका साङ्‌लाले बाँधिन दिनुभयो। दाऊदको वंशद्वारा पृथ्वीमा ईश्‍वरीय सार्वभौमिकताको प्रभाव सात कालको लागि रोकियो। यो सात काल कति लामो थियो? यो कहिले सुरु र कहिले अन्त भयो?

२५, २६. (क) नबूकदनेसरको सन्दर्भमा “सात काल” कति लामो थियो र तपाईंले त्यस्तो जवाफ दिनुको कारण के हो? (ख) प्रमुख पूर्तिमा “सात काल” कहिले र कसरी सुरु भयो?

२५ नबूकदनेसर बौलाहा भएको बेला “तिनको कपाल बाख्राका भुत्लाजस्तै लामा लामा र तिनका नङहरू चीलका नङ्‌ग्राहरूजस्तै” भए। (दानियल ४:३३) यो सात दिन वा सात हप्तामा हुने कुरा थिएनन्‌। अरू अनुवादहरूले “सात काल” भनेका छन्‌ भने कतिपयले “तोकिएको (निश्‍चित) समय” वा “समयावधि” भन्छन्‌। (दानियल ४:१६, २३, २५, ३२) एउटा पुरानो युनानी (सेप्टुआजिन्ट) अर्कै अनुवादले “सात वर्ष” भनेको छ। प्रथम शताब्दीको यहूदी इतिहासकार जोसेफसले “सात काल” भनेको “सात वर्ष” हो भनेका थिए। (आन्टिक्वीटीज्‌ अफ द जुज्‌, पुस्तक १०, अध्याय १०, अनुच्छेद ६) अनि कोही कोही हिब्रू शास्त्रविद्‌ले यस “काल[लाई]” “वर्ष” भन्ठानेका छन्‌। एन अमेरिकन ट्रान्सलेशन, टुडेज इंग्लिश भर्सन र जेम्स मोफटको अनुवादमा “सात वर्ष” भनी अनुवाद गरिएको छ।

२६ प्राप्त प्रमाणअनुसार नबूकदनेसरको “सात काल” सात वर्ष थियो। भविष्यवाणीमा, एक वर्षमा ३६० दिन वा प्रति महिना ३० दिनको १२ महिना हुन्छ। (प्रकाश १२:६, १४ तुलना गर्नुहोस्‌।) त्यसकारण, राजाको “सात काल” वा सात वर्ष ७ गुणा ३६० दिन अथवा २,५२० दिन थियो। तर राजाको सपनाको प्रमुख पूर्ति हुँदा नि? भविष्यसूचक “सात काल” २,५२० दिनभन्दा निकै लामो थियो। यो कुरा येशूका यी शब्दहरूबाट स्पष्ट हुन्छ: “अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्‌।” (लूका २१:२४, नयाँ संशोधित संस्करण) सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश भएर यहूदादेखि परमेश्‍वरको प्रतिरूपक राज्य हटेपछि ‘कुल्चन’ सुरु भयो। यो कुल्चीमिल्चीको अन्त कहिले हुने थियो? “सबै थोकको पुनःर्स्थापना” हुने बेलामा अर्थात्‌ प्रतीकात्मक यरूशलेम, परमेश्‍वरको राज्यमार्फत पृथ्वीमा ईश्‍वरीय सार्वभौमिकता पुनः प्रकट भएपछि।—प्रेरित ३:२१.

२७. सा.यु.पू. ६०७ मा सुरु भएको “सात काल” शाब्दिक २,५२० दिनपछि अन्त भएन भनेर तपाईं कसरी भन्‍नसक्नुहुन्छ?

२७ सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश भएदेखि २,५२० शाब्दिक दिन गन्‍ने हो भने हामी सा.यु.पू. ६०० मा पुग्छौं, जुन बेला कुनै धर्मशास्त्रीय महत्त्वका घटना घटेनन्‌। सा.यु.पू ५३७ मा, छुटकारा पाएका यहूदीहरू यहूदा फर्कंदासमेत यहोवाको सार्वभौमिकता पृथ्वीमा प्रकट भइसकेको थिएन। किनभने दाऊदको सिंहासनको उत्तराधिकारी, यरूबाबेललाई राजा होइन तर फारसी प्रान्त यहूदाको राज्यपाल मात्र बनाइएको थियो।

२८. (क) भविष्यसूचक “सात काल[को]” २,५२० दिनको हिसाब निकाल्न कुन नियम लागू गर्नुपर्छ? (ख) भविष्यसूचक “सात काल” कति लामो थियो र त्यसको सुरु र अन्तका वर्ष कुन कुन हुन्‌?

२८ “सात काल” भविष्यसूचक अवधि भएको हुँदा २,५२० दिनमा पनि यो धर्मशास्त्रीय नियम लागू गर्नुपर्छ अर्थात्‌ “प्रत्येक वर्षको लागि एक दिन।” यो नियम, बेबिलोनले यरूशलेमलाई घेरा हालिने समयबारे भविष्यवाणी गर्दा उल्लेख गरिएको थियो। (इजकिएल ४:६, ७; तुलना गर्नुहोस्‌ गन्ती १४:३४) तसर्थ, परमेश्‍वरको राज्यको कुनै हस्तक्षेपविना अन्यजातिले पृथ्वीमाथि प्रभुत्व जमाएको “सात काल” २,५२० वर्ष थियो। सा.यु.पू. ६०७ को सातौं चन्द्र मासमा (तिस्री १५) यहूदा र यरूशलेमको विनाश हुँदा त्यो सात काल सुरु भयो। त्यस बेलादेखि सा.यु.पू. १ सम्म ६०६ वर्ष हुन्छ। (२ राजा २५:८, ९, २५, २६) बाँकी १,९१४ वर्ष त्यस सालदेखि सा.यु. १९१४ सम्म हुन्छ। यसप्रकार, “सात काल” वा २,५२० वर्ष, तिस्री १५ वा सा.यु. १९१४ को अक्टोबर ४/५ तिर अन्त भयो।

२९. “मानिसहरूमा सबैभन्दा नम्र” को हुनुहुन्छ र यहोवाले उहाँलाई सिंहासनमा बसाल्न के गर्नुभयो?

२९ त्यस वर्ष “अन्यजातिहरूको समय” पूरा भयो अनि परमेश्‍वरले “मानिसहरूमा सबैभन्दा नम्र” येशू ख्रीष्टलाई शासन दिनुभयो, जसलाई उहाँका शत्रुहरूले एकदमै तुच्छ ठानेर शूलीमा समेत टाँगेका थिए। (दानियल ४:१७) मसीही राज्यलाई सिंहासनमा बसाल्न यहोवाले आफ्नै सार्वभौमिकताको “जराको ठुटामा” बाँधिएको प्रतिकात्मक फलामको साङ्‌ला खुकुलो पार्नुभयो। यसरी सर्वोच्च परमेश्‍वरले दाऊदको सबैभन्दा महान्‌ उत्तराधिकारी, येशू ख्रीष्टले चलाउनुहुने स्वर्गीय राज्यद्वारा पृथ्वीमा ईश्‍वरीय सार्वभौमिकता प्रकट गर्न शाही “टुसा” पलाउन दिनुभयो। (यशैया ११:१, २, नयाँ संशोधित संस्करण; अय्यूब १४:७-९; इजकिएल २१:२७) यस्तो सुखद परिणाम र त्यो ठूलो रूखको रहस्य खोलिदिनुभएको लागि हामी यहोवालाई मुरी-मुरी धन्यवाद दिन्छौं!

तपाईंले के बुझ्नुभयो?

• नबूकदनेसरको सपनाको ठूलो रूख कुन कुराको प्रतीक थियो?

• सपनामा देखेको रूखको प्रारम्भिक पूर्ति हुँदा नबूकदनेसरलाई के भयो?

• आफ्नो सपनाको अर्थ पूरा भएपछि नबूकदनेसरले कुन कुरा मानिलिए?

• भविष्यसूचक रूखको सपनाको प्रमुख पूर्ति हुँदा “सात काल” कति लामो भयो र त्यसको सुरुआत तथा अन्त कहिले भयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ८०-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ९१-मा भएको पृष्ठभरिको चित्र]