सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सिंहको मुखबाट छुटकारा!

सिंहको मुखबाट छुटकारा!

अध्याय आठ

सिंहको मुखबाट छुटकारा!

१, २. (क) मादी दाराले आफ्नो विस्तृत साम्राज्यलाई कसरी सुव्यवस्थित पारे? (ख) प्रान्तीय बडाहाकिमको जिम्मेवारी तथा अख्तियारबारे वर्णन गर्नुहोस्‌।

 बेबिलोनको पतन भयो! लगभग सय वर्षसम्म विश्‍वशक्‍तिको हैसियतमा शासन गरेको सान केही घण्टाभित्रै फासफुस भयो। एउटा नयाँ युग सुरु हुन लागेको थियो। त्यो थियो, मादी र फारसीहरूको युग। बेलसजरको सिंहासनको उत्तराधिकारी, मादी दाराले विस्तार भइरहेको साम्राज्यलाई सुव्यवस्थित गर्ने ठूलो चुनौती सामना गर्नु परेको थियो।

दाराले सबैभन्दा पहिला १२० जना प्रान्तीय बडाहाकिमहरू नियुक्‍त गरे। भनिन्छ, यो ओहदामा सेवा गर्न नियुक्‍त भएका कतिपय व्यक्‍तिहरू राजाकै नातेदाहरू हुन्थे। तर जे होस्‌, प्रत्येक बडाहाकिमको जिम्मामा त्यो ठूलो साम्राज्यको प्रमुख इलाका वा स-साना क्षेत्रहरू पर्थे। (दानियल ६:१) कर संकलन गरेर राजदरबारमा बुझाउनु प्रान्तीय बडाहाकिमकै काम हुन्थ्यो। राजप्रतिनिधिले बेलाबेलामा कामकुरा जाँच्ने भए तापनि यी प्रान्तीय बडाहाकिमहरूसित निकै अख्तियार हुन्थ्यो। बडाहाकिम पदवीको अर्थ थियो, “राज्यको संरक्षक।” आफ्नो प्रान्तमा बडाहाकिमहरूलाई सामन्ती राजा मानिन्थ्यो र तिनीहरूसित सार्वभौम शक्‍तिबाहेक सबै अख्तियार हुन्थ्यो।

३, ४. दाराले किन दानियललाई विशेष अनुग्रह देखाए अनि राजाले तिनलाई कुन ओहदामा नियुक्‍त गरे?

यस नयाँ प्रबन्धमा दानियलको कस्तो भूमिका थियो? के मादी दाराले नब्बे वर्ष पुगिसकेका वृद्ध यहूदी अगमवक्‍तालाई सेवामुक्‍त गर्ने थिए? अहँ, कदापि गर्ने थिएनन्‌! दानियलले बेबिलोनको पतनबारे एकदमै सही भविष्यवाणी गरेको र यस्तो भविष्यवाणी मानिसले गर्न सक्दैन भनी दारालाई राम्ररी थाह थियो। साथै, बेबिलोनका बेग्लाबेग्लै निर्वासित समूहहरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने सन्दर्भमा दानियलसित वर्षौंको अनुभव थियो। आफ्नो कब्जामा परेका नयाँ जनताहरूसित शान्तिमय सम्बन्ध राख्ने दाराको मनसाय थियो। त्यसकारण, तिनले दानियलजस्तै बुद्धि र अनुभव भएका मानिस आफूसँगै राख्न चाहनु स्वाभाविकै हो। तर कुन ओहदामा?

दाराले निर्वासित यहूदी दानियललाई प्रान्तका बडाहाकिम नियुक्‍त गरेको भए सबै छक्क पर्नेथिए। तर बडाहाकिमहरूको काममाथि निगरानी राख्ने तीन जना मन्त्रीहरूमध्ये एक, दानियललाई नियुक्‍त गर्ने राजा दाराले घोषणा गर्दा कस्तो हलचल मच्चियो होला, कल्पना गर्नुहोस्‌ त! त्यति मात्र होइन, दानियलले आफूलाई अरू मन्त्रीहरूभन्दा “फरक” र श्रेष्ठ साबित गरेर देखाए। निस्सन्देह, तिनीसित “असाधारण गुण” थियो। दारा त दानियललाई प्रधानमन्त्री बनाउन समेत तयार थिए।—दानियल ६:२, ३, नयाँ संशोधित संस्करण।

५. दानियलको नियुक्‍तिप्रति अरू मन्त्री तथा प्रान्तीय बडाहाकिमहरूले कस्तो प्रतिक्रिया देखाए होलान्‌ र किन?

अरू मन्त्रीहरू अनि प्रान्तीय बडाहाकिमहरू ईर्ष्याले मुरमुरिए होलान्‌। नमुरमुरिऊन्‌ पनि किन, दानियल न मादी न फारसी न त राजपरिवारका सदस्य नै थिए। अतः आफूमाथि अख्तियार जमाउन नियुक्‍त हुँदा तिनीहरूको पेट त पोल्ने नै भयो नि! दाराले आफ्नै देशबासी अनि आफ्नै परिवारलाई एकातिर पन्छाएर एक जना विदेशीलाई त्यस्तो प्रतिष्ठा कसरी दिन सकेका होलान्‌? दाराको यस्तो कार्यनीति पक्षपातपूर्ण देखिएको हुनुपर्छ। यसबाहेक, बेइमानी र भ्रष्टाचार गर्ने प्रान्तीय बडाहाकिमहरूका नजरमा निष्ठावान्‌ दानियल आँखाको कसिंगर भए होलान्‌। यद्यपि, मन्त्री र प्रान्तीय बडाहाकिमहरूले यसबारे दारासित कुरा गर्ने आँट गरेनन्‌। गरून्‌ पनि कसरी, दाराले दानियलको ठूलो सम्मान गर्थे।

६. मन्त्री तथा बडाहाकिमहरूले कसरी दानियलको बदनाम गर्न खोजे तर तिनीहरूको प्रयास किन बेकार भयो?

अतः यी ईर्ष्यालु राजनीतिज्ञहरूले मिलेमतो गरेर षड्यन्त्र रचे। तिनीहरूले “दानियलको राज्य–शासनको विरुद्धमा केही निहुँ खोज्नलागे।” के तिनले आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखे? के तिनी बेइमान थिए? दानियलले कुनै हेलचेक्य्राइँ वा भ्रष्टाचार गरेको मन्त्री र प्रान्तीय बडाहाकिमहरूले भेटेनन्‌। तिनीहरूले यस्तो तर्क गरे, “हामीले यस दानियलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्‍वरको व्यवस्थासम्बन्धमा बाहेक, कुनै पनि आधार कहिल्यै पाउन सक्नेछैनौं।” यसरी यी दुष्ट मानिसहरूले जाल रच्न थाले। तिनीहरूको षड्यन्त्र सफल भएको खण्डमा दानियलको नामोनिसान मेटिनेछ भन्‍ने तिनीहरूको सोचाइ थियो।—दानियल ६:४, ५, नयाँ संशोधित संस्करण।

हत्या गर्ने षड्यन्त्र

७. मन्त्री र बडाहाकिमहरूले राजा समक्ष कस्तो प्रस्ताव राखे र तिनीहरूले त्यो कस्तो ढंगमा गरे?

मुख्यमन्त्री र प्रान्तीय बडाहाकिमहरूको “एउटा समूह” राजा दाराकहाँ आयो। यहाँ प्रयोग गरिएको अरामी अभिव्यक्‍तिले ठूलो हल्लाखल्ला भन्‍ने अर्थ बुझाउँछ। स्पष्टतः यी मानिसहरूले दारासित कुरा गर्न एकदमै जरुरी भएको जस्तो भान पारे। तुरुन्तै कदम चालिहाल्नुपर्ने गरी जोडदार ढंगमा प्रस्तुत गरेको खण्डमा आफ्नो प्रस्तावना सहजै स्वीकृत हुनेछ भन्‍ने तर्क तिनीहरूले गरेको हुनुपर्छ। त्यसकारण, तिनीहरूले आलेटाले नगरी सोझै यसो भने: “राज्यमा हामी सबै मन्त्री, भारादार र प्रदेशपालहरूले सल्लाह गरेर सहमत भएको छौं कि राजाले एउटा यस्तो विशेष उर्दी दिएर कायम राख्नुहोस्‌, र तीस दिनभित्र हजूरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई बिन्ती–प्रार्थना गर्ने मानिस सिंहको खोरमा हालियोस्‌।” aदानियल ६:६, ७.

८. (क) दारालाई यो प्रस्ताव मनपर्न सक्ने कारण के हुन सक्थ्यो? (ख) मन्त्री तथा बडाहाकिमहरूको साँचो मनसाय के थियो?

ऐतिहासिक विवरणहरूले मेसोपोटामियाका राजाहरूलाई ईश्‍वर मानेर उपासना गर्नु सामान्य कुरा थियो भनेर पुष्टि दिन्छ। त्यसकारण, दारा यो प्रस्ताव सुनेर पक्कै दंग परे होलान्‌। तिनले यसको फाइदा पनि देखेका हुनसक्छ। नबिर्सनुहोस्‌, बेबिलोनमा बस्नेहरूका लागि दारा विदेशी र नवआगन्तुक थिए। यो नयाँ नियम पारित गरेपछि तिनको राजकीय ओहदा अझ सबल हुने थियो र बेबिलोनमा बसोबास गर्ने जनसमूहलाई उक्‍त नियमले यस नयाँ शासनप्रति वफादारी र सहयोग गर्न कबुल गर्न लगाउने थियो। तर यस्तो उर्दी पारित गर्ने प्रस्ताव अघि सार्दा मन्त्री तथा बडाहाकिमहरूले राजाको हितलाई ध्यानमा राखेका थिएनन्‌। तिनीहरूको असली मनसाय दानियललाई फसाउनु थियो किनभने दानियल कौसीको कोठामा गई झ्याल खोलेर दिनमा तीनपल्ट परमेश्‍वरलाई प्रार्थना गर्थे भनेर तिनीहरूलाई थाह थियो।

९. प्रायजसो गैर-यहूदीहरूलाई यो नयाँ नियम पालन गर्नु किन अप्ठ्यारो हुने थिएन?

के यसरी प्रार्थनामा प्रतिबन्ध लगाउँदा बेबिलोनका सबै धार्मिक समूहहरूलाई अप्ठ्यारो पर्ने थियो? खासै पर्ने थिएन किनभने यो प्रतिबन्ध एक महिनाको लागि मात्र थियो। साथै, केही समयको लागि कुनै एक जना मान्छेको उपासना गर्नु सम्झौता गरे सरह हुनेछ भन्ठान्‍ने गैर-यहूदीहरू त कमै हुन्थे होलान्‌। एक जना बाइबलविद्‌ यस्तो टिप्पणी गर्छन्‌: “मूर्तिपूजक राष्ट्रलाई राजाको उपासना गर्ने आज्ञा कुनै अप्ठ्यारो आज्ञा थिएन; त्यसकारण, विजेता मादी दारालाई ईश्‍वर सरह उपासना चढाउनु भन्‍ने आज्ञा दिंदा बेबिलोनीहरूले कुनै आनाकानी गरेनन्‌। त्यस्तो आज्ञा पालन गर्न आपत्ति जनाउने त यहूदीहरू मात्र थिए।”

१०. राजाले पारित गरेको ऐनलाई मादी र फारसीहरूले कुन दृष्टिकोणले हेर्थे?

१० तर जे होस्‌, दारालाई भेट्‌न आउने टोलीले राजालाई “उर्दी दिनुहोस्‌ र त्यो ऐन लिखित रूपमा निकालियोस्‌ र त्यो अदल–बदल हुन नपाओस्‌, किनकि मादी फारसीहरूको कानुन स्थायी हुन्छ” भन्‍ने आग्रह गरे। (दानियल ६:८) पुरातन पूर्वीय मुलुकहरूमा राजाले उर्दी गरेपछि त्यसमा प्रश्‍नै उठाइँदैनथ्यो। यसले गर्दा तिनीबाट गल्ती हुनै सक्दैन भन्‍ने धारणा फैलियो। निर्दोष मानिसहरूको ज्यान जानसक्ने नियम पनि बदर हुने भएन!

११. दाराको उर्दीले दानियललाई कस्तो असर गर्ने थियो?

११ दानियलबारे सोच्दै नसोची दाराले त्यो ऐन लिखित रूपमा निकाले। (दानियल ६:९) यसो गर्दा तिनले अनजानमा आफ्नो सबैभन्दा महत्त्वपूर्ण हाकिमलाई मृत्युदण्ड सुनाइरहेका थिए। यो उर्दीले दानियललाई पक्कै असर गर्ने थियो।

अप्रिय न्याय सुनाउन बाध्य दारा

१२. (क) नयाँ उर्दीबारे थाह पाउने बित्तिकै दानियलले के गरे? (ख) दानियललाई कसले चियो गरिरहेका थिए र किन?

१२ प्रार्थना गर्न नहुने यो उर्दी दानियललाई थाह भयो। तब तिनी तुरुन्तै कौसीको कोठामा गए, जहाँ झ्यालहरू यरूशलेमतिर खुला थिए। b त्यहाँ दानियलले “पहिलेजस्तै” परमेश्‍वरलाई प्रार्थना गर्न थाले। दानियललाई आफू एक्लै छु जस्तो लागेको थियो होला तर षड्यन्त्रकारीहरूले तिनको चियो गरिरहेका थिए। अचानक, दाराकहाँ पहिले जस्तै मानिसहरू “समूह बनाएर” आए। दानियलले “आफ्ना परमेश्‍वरलाई बिन्ती–प्रार्थना गरिरहेका” तिनीहरूले आफ्नै आँखाले देखे। (दानियल ६:१०, ११) राजाको अगाडि दानियललाई दोष लगाउन अब मन्त्री तथा बडाहाकिमहरूसित पर्याप्त प्रमाण भयो।

१३. दानियलका शत्रुहरूले राजालाई के चुक्ली लगाए?

१३ दानियलका शत्रुहरूले धूर्त भई दारालाई सोधे: “हे महाराज, हजूरले यस्तो ऐन निकाल्नुभएको होइन कि तीस दिनभित्र हजूरलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ती–प्रार्थना गऱ्‍यो भने त्यो सिंहको खोरमा हालिनेछ?” दाराले यस्तो जवाफ दिए: “हो यो निश्‍चय गरिएको हो। मादी र फारसीहरूको कानुन स्थायी हुन्छ।” षड्यन्त्रकारीहरूले हतपत भनिहाले: “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्ये एक जना दानियलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्दछन्‌।”—दानियल ६:१२, १३.

१४. प्राप्त प्रमाणअनुसार मन्त्री तथा बडाहाकिमहरूले दानियललाई “यहूदाबाट देशनिकाला गरिएकाहरूमध्ये एक जना” किन भने?

१४ मन्त्री तथा बडाहाकिमहरूले दानियललाई “यहूदाबाट देशनिकाला गरिएकाहरूमध्ये एक जना” भनेर सम्बोधन गर्नु उल्लेखनीय कुरा हो। प्राप्त प्रमाणअनुसार दाराले यस्तो उच्च ओहदामा राखेका दानियल वास्तवमा एक जना साधारण यहूदी दास मात्र हुन्‌ भनी तिनीहरूले जोड दिन खोजिरहेका हुनसक्छन्‌। त्यसैले, राजाले जस्तोसुकै कृपा देखाइरहेका भए तापनि दानियलमाथि यो उर्दी अवश्‍य लागू हुन्छ भन्‍न खोजिरहेका थिए!

१५. (क) मन्त्री र बडाहाकिमहरूको समाचार सुनेपछि दाराले कस्तो प्रतिक्रिया देखाए? (ख) मन्त्री तथा बडाहाकिमहरूले कसरी दानियललाई खेद्‌न छाडेनन्‌?

१५ मन्त्री तथा बडाहाकिमहरूले आफ्नो चतुर कामको लागि राजाबाट इनाम पाउने आशा राखेका थिए होलान्‌। तर तिनीहरू वाल्लै पर्ने थिए। तिनीहरूले ल्याएको समाचार सुनेर दारा असाध्यै दुःखी भए। दानियलसित रिसाउनु वा तिनलाई तुरुन्तै सिंहको खोरमा फ्याँकिहाल्नुको साटो तिनलाई कसरी बचाउन सकिएला भनी दिनभरि सोचिरहे। तर राजाको प्रयास बेकार भयो। त्यसको केही समयपछि षड्यन्त्रकारीहरू पुनः फर्के र लाज पचाउँदै दानियललाई मृत्युदण्ड दिनुपर्ने माग गरे।—दानियल ६:१४, १५.

१६. (क) दाराले किन दानियलको परमेश्‍वरको आदर गर्थे? (ख) दानियललाई के होस्‌ भन्‍ने दाराको आशा थियो?

१६ दाराले आफू लाचार भएको महसुस गरे। पारित भइसकेको ऐन बदर गर्न सकिंदैनथ्यो न त दानियलको “गल्ती” माफी गर्न मिल्थ्यो। दाराले दानियललाई केवल यति भन्‍न सके, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई बचाऊन्‌।” दाराले दानियलको परमेश्‍वरको आदर गर्थे जस्तो देखिन्छ। यहोवाले गर्दा नै दानियलले बेबिलोनको पतनबारे भविष्यवाणी गर्न सकेका थिए। परमेश्‍वरले दानियललाई “असाधारण गुण” दिनुभएको हुँदा अरू मन्त्रीहरूभन्दा तिनी बेग्लै थिए। दशकौंअघि यही परमेश्‍वरले तीन जना हिब्रू केटाहरूलाई दन्केको आगोको भट्टीबाट बचाउनुभएको घटनाबारे पनि दारालाई थाह थियो होला। हुनसक्छ, आफूले पारित गरिसकेको ऐन बदर गर्न नसकेको हुँदा यहोवाले दानियललाई बचाऊन्‌ भनी राजाले आशा राखेका थिए। यसै आशमा दानियल सिंहको खोरमा फ्याँकिए। c त्यसपछि, “एउटा ढुङ्‌गा ल्याएर त्यस ओढ़ारको मुखमा राखियो। औ दानियललाई बचाउन कसैले कोसिस नगरोस्‌ भनी राजाले आफ्नो लाल–मोहर र शासकहरूका औंठीका छाप पनि लगाइदिए।”—दानियल ६:१६, १७.

घटनाले अचम्मको मोड लिन्छ

१७, १८. (क) दानियलले गर्दा दारा चिन्तित थिए भनेर कुन कुराले देखाउँछ? (ख) राजा भोलिपल्ट बिहान सिंहको खोरमा फर्कंदा के भयो?

१७ निराश भएका दारा आफ्नो महलमा फर्के। तिनको अगाडि कुनै वाद्यवादकहरू ल्याइएन किनभने तिनी साह्रै दिक्क भएका थिए। बरु रातभरि केही नखाई जागै बसे। “तिनलाई निद्रै लागेन।” बिहान झिसमिसेमा उठेर राजा सिंहको खोरनेर गए। चिन्तित हुँदै तिनी कराए: “हे दानियल, जीवित परमेश्‍वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रो परमेश्‍वरले तिमीलाई सिंहहरूदेखि बचाउनसक्नुभयो?” (दानियल ६:१८-२०) खोरबाट जवाफ आउँदा राजा तीनछक पर्नुका साथै ढुक्क भए!

१८ “महाराज अमर रहून्‌!” यस्तो आदरणीय अभिवादन गरेर दानियलले राजाप्रति आफ्नो कुनै वैरभाव छैन भनेर देखाए। दानियलले आफूलाई सताउने मुख्य व्यक्‍ति दारा होइन तर ईर्ष्यालु मन्त्री तथा बडाहाकिमहरू रहेछन्‌ भनी बुझे। (मत्ती ५:४४; प्रेरित ७:६० तुलना गर्नुहोस्‌।) दानियलले अझ यसो भने: “सिंहहरूका मुख थुनिदिनलाई मेरा परमेश्‍वरले आफ्ना दूत पठाउनुभयो, र यी सिंहहरूले मलाई केही हानि गरेनन्‌, किनभने उहाँको सामने म निर्दोष पाइएँ। औ हे महाराजा, हजूरको पनि मैले केही बिराएको थिइनँ।”—दानियल ६:२१, २२.

१९. मन्त्री तथा बडाहाकिमहरूले कसरी दारालाई झुक्याएका थिए?

१९ ती शब्दहरूले दाराको अन्तस्करणमा कस्तो चसक्क घोच्यो होला! दानियलले यसरी खोरमा फ्याँकिनु त्यस्तो केही गल्ती गरेकै थिएनन्‌ भनेर तिनलाई राम्ररी थाह थियो। मन्त्री तथा बडाहाकिमहरू मिलेर दानियललाई मार्ने षड्यन्त्र रचेका हुन्‌ र आफ्नो स्वार्थ पूरा गर्न राजालाई आफ्नो कठपुतली बनाएका हुन्‌ भनेर दारालाई राम्ररी थाह थियो। “राज्यमा . . . सबै मन्त्री” मिलेर यो उर्दी पारित गर्न लगाएको हो भनेर तिनीहरूले दानियलसित पनि यस विषयमा सरसल्लाह गरिसकेका थिए भन्‍ने छनक दिएका थिए। दाराले यी धूर्त मानिसहरूलाई के गर्नुपर्ने हो, पछि विचार गर्ने थिए। तथापि, सर्वप्रथम राजा दाराले दानियललाई सिंहको खोरबाट निकाल्ने हुकुम गरे। अचम्मको कुरा त के हो भने, दानियलको शरीरमा सिंहले कोतरेको सानो दागसमेत थिएन!—दानियल ६:२३.

२०. दानियल विरुद्ध द्वेष राख्ने शत्रुहरूलाई के भयो?

२० अब दानियललाई कुनै खतरा नभएपछि दारा अर्कै काम गर्नतिर लागे। “राजाको हुकूमबमोजिम दानियललाई दोष लाउने मानिसहरूलाई तिनीहरूका स्वास्नी र छोरा–छोरीसमेत सिंहको खोरमा खसालिदिए। औ तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डीहरूसमेत तिनीहरूलाई कऱ्‍याक–कुरूक खाइहाले।” dदानियल ६:२४.

२१. गल्ती गर्ने व्यक्‍तिको परिवारका सदस्यहरूसित गरिने व्यवहारको सन्दर्भमा मोशाको व्यवस्था र अरू पुरातन समाजका नियमहरूबीच कस्तो सुस्पष्ट भिन्‍नता थियो?

२१ षड्यन्त्रकारीहरूलाई मात्र होइन तर तिनीहरूका स्वास्नी र छोराछोरीसमेतलाई मृत्युदण्ड दिनु अत्यन्तै कठोर देखिएला। यसबाहेक, परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थामा यसो भनिएको थियो: “बाबुहरूलाई छोरा-छोरीहरूका निम्ति र छोरा-छोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफनै अपराधको लागि मरोस्‌।” (व्यवस्था २४:१६) तैपनि, कुनैकुनै पुरातन समाजमा गम्भीर अपराध भएको खण्डमा गल्ती गर्ने सँगसँगै उसको परिवारलाई पनि मृत्युदण्ड दिनु असामान्य कुरा थिएन। परिवारका बाँकी सदस्यहरूले पछि बदला नलेऊन्‌ भनेर त्यसो गरिएको पनि हुनसक्छ। तथापि, मन्त्री तथा बडाहाकिमको परिवारलाई जे गरियो, त्यसमा दानियलको कुनै हात थिएन। यी दुष्ट मानिसहरूले गर्दा तिनीहरूको परिवारले भोग्नु परेको विपत्ति देखेर दानियल अवश्‍य दुःखी भए होलान्‌।

२२. दाराले कुन नयाँ ऐन घोषणा गरे?

२२ षड्यन्त्र रच्ने मन्त्री तथा बडाहाकिमहरूको अन्त भयो। दाराले यस्तो ऐन घोषणा गरे: “मैले यो ऐन निकालेको छु कि मेरो साम्राज्यभरि मानिसहरूले दानियलका परमेश्‍वरको भय मानून्‌ र उहाँलाईनै श्रद्धा देऊन्‌। किनभने उहाँ सदा सर्वदै रहिरहनुहुने जीवित परमेश्‍वर हुनुहुन्छ। जसको राज्याधिकार निर्बल हुँदैन, जसको सर्वाधिकारको अन्तनै हुँदैन। उहाँ मुक्‍तिदाता र उद्धारक, स्वर्ग र पृथ्वीमा चिन्ह र अचम्मका काम गर्नुहुने हुनुहुन्छ। जसले दानियललाई सिंहहरूको शक्‍तिदेखि बचाउनुभयो।”—दानियल ६:२५-२७.

निरन्तर परमेश्‍वरको सेवा गर्नुहोस्‌

२३. दानियलले आफ्नो काममा कस्तो उदाहरण बसाले र हामी पनि कसरी तिनीजस्तै हुनसक्छौं?

२३ दानियलले परमेश्‍वरका आधुनिक सेवकहरू सबैको लागि राम्रो नमुना बसाले। तिनको आचरणमा कहिल्यै औंला ठड्याउन सकिएन। कामको मामिलामा कसैले दानियलमा “कुनै पनि भ्रष्टाचार भेट्टाउन सकेन” र तिनी “नता भ्रष्ट न लापरवाही नै थिए।” (दानियल ६:४) त्यसरी नै, मसीहीहरू जेहनदार हुनुपर्छ। यसको मतलब, भौतिक धनसम्पत्ति जोरजाम गर्न वा व्यापार जगत्‌मा एकदमै सफल हुन अरूलाई थिचोमिचो गर्ने मानिस हुनुपर्छ भनेको होइन। (१ तिमोथी ६:१०) मसीहीहरूले इमानदार भई आफ्नो दायित्व पूरा गर्नुपर्छ र “प्रभुको निम्ति जस्तैगरी” पूरा मनतनले यहोवाको सेवा गर्नुपर्छ भनी धर्मशास्त्रले बताउँछ।—कलस्सी ३:२२, २३; तीतस २:७, ८; हिब्रू १३:१८.

२४. दानियलले उपासनाको सन्दर्भमा कसरी कुनै प्रकारको सम्झौता गरेनन्‌?

२४ दानियलले उपासनाको सन्दर्भमा कुनै प्रकारको सम्झौता गरेनन्‌। प्रार्थना गर्ने तिनको बानी सबैलाई थाह थियो। यसबाहेक, दानियल आफ्नो उपासनालाई गम्भीरतासाथ लिन्थे भनी मन्त्री तथा बडाहाकिमहरूलाई राम्ररी थाह थियो। निस्सन्देह, ऐनले निषेध गरे तापनि तिनले आफ्नो बानी त्याग्नेछैनन्‌ भनेर तिनीहरू पक्का थिए। आधुनिक समयका मसीहीहरूको लागि कस्तो राम्रो उदाहरण! मसीहीहरूले पनि परमेश्‍वरको उपासनालाई प्रथम स्थानमा राख्ने व्यक्‍तिहरू भन्‍ने नाउँ कमाएका छन्‌। (मत्ती ६:३३) यो कुरा अरू मानिसहरूले प्रस्टै देखेको हुनुपर्छ किनभने येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।”—मत्ती ५:१६.

२५, २६. (क) दानियलको कार्य देखेर कोही कोही कस्तो निष्कर्षमा पुग्नसक्छन्‌? (ख) दानियलले आफ्नो बानीमा हेरफेर गर्नु किन सम्झौता सरह ठाने?

२५ कसैकसैले यसो भन्लान्‌, ३० दिनसम्म दानियलले गोप्य किसिमले यहोवालाई प्रार्थना गरेका भए सजाय भोग्ने नै थिएनन्‌ कि? आखिर, हामीले जस्तो सुकै ठाउँमा, जस्तो सुकै आसनमा प्रार्थना गरे पनि यहोवाले सुन्‍नुहुन्छ। हामीले मनमनै गरेको कुरासमेत उहाँले थाह पाउनुहुन्छ। (भजन १९:१४) तैपनि, दानियलले आफ्नो बानीमा हेरफेर गर्नु सम्झौता सरह ठाने। किन?

२६ प्रार्थना गर्ने दानियलको बानी सबैलाई थाह भइसकेको हुँदा तिनले अकस्मात्‌ त्यो बानी छोडेको खण्डमा मानिसहरूले कस्तो अर्थ लगाउने थिए? देख्नेहरूले दानियल त मानिसहरूसित डराउँदा रहेछन्‌ अनि यहोवाको नियमभन्दा राजाको उर्दीलाई ठूलो मान्दा रहेछन्‌ भन्‍ने निष्कर्ष निकाल्नसक्थे। (भजन ११८:६) तर दानियलले यहोवालाई ऐकान्तिक भक्‍ति चढाउँथे भनेर आफ्नो कामद्वारा देखाए। (व्यवस्था ६:१४, १५; यशैया ४२:८) यसो गरेर दानियलले राजाको ऐनप्रति अनादर देखाइरहेका थिएनन्‌। न त डरले लुत्रुक्क भएर तिनले सम्झौता नै गरे। राजाले उर्दी निकाल्नुभन्दा अघिदेखि “पहिलेजस्तै” कौसीको कोठामा गएर दानियलले प्रार्थना गरे।

२७. परमेश्‍वरका वर्तमान सेवकहरू कसरी दानियलजस्तै हुनसक्छन्‌? (क) उच्च अख्तियारवालाहरूका अधीनमा रहने सन्दर्भमा? (ख) मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍ने सन्दर्भमा? (ग) सबै मानिसहरूसँग शान्तिसित रहने सन्दर्भमा?

२७ परमेश्‍वरका वर्तमान सेवकहरूले दानियलको उदाहरणबाट पाठ सिक्न सक्छन्‌। तिनीहरू जुन देशमा बस्छन्‌, त्यहाँको नियमकानुन पालन गरेर “उच्च अख्तियारवालाहरूका अधीनमा” बस्छन्‌। (रोमी १३:१) तथापि, मानिसका र परमेश्‍वरका नियमहरू बाझिंदा यहोवाका जनहरूले येशूका प्रेरितहरूले जस्तै अडान लिन्छन्‌। तिनीहरूले साहसी भई यसो भनेका थिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२९) तथापि, त्यसो भन्दैमा मसीहीहरूले विद्रोह गर्ने वा उत्पात मच्चाउने गर्दैनन्‌। बरु, तिनीहरू सबै मानिसहरूसित मेलमिलापमा बसेर “सब प्रकारका भक्‍ति र . . . शान्ति र चैनको जीवन बिताउन पाऔं” भन्‍ने इच्छा गर्छन्‌।—१ तिमोथी २:१, २; रोमी १२:१८.

२८. दानियलले कसरी यहोवाको “निरन्तर सेवा” गरे?

२८ दानियलले परमेश्‍वरको “निरन्तर सेवा” गरिरहेका छन्‌ भनी दाराले दुई चोटि टिप्पणी गरे। (दानियल ६:१६, २०) “निरन्तर” भनेर अनुवाद गरिएको अरामी शब्दको अर्थ “घेरामा घुम्नु” हो। यसले कहिल्यै अन्त नहुने चक्र अथवा स्थायी भन्‍ने अर्थ बुझाउँछ। दानियलको निष्ठा त्यस्तै थियो। तिनले कस्तो कदम चाल्नेछन्‌ भनेर पहिल्यै अनुमान लगाउन सकिन्थ्यो। ठूलो होस्‌ वा सानो, परीक्षा आइपर्दा दानियलले के गर्लान्‌ भनेर प्रश्‍न गर्नुपर्ने ठाउँ नै थिएन। दशकौंअघिदेखि तिनले जे गर्दै आएका थिए, त्यही गर्ने थिए अर्थात्‌ यहोवाप्रति वफादार र विश्‍वासी रहने थिए।

२९. दानियलको वफादारीबाट यहोवाका वर्तमान सेवकहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

२९ परमेश्‍वरका वर्तमान सेवकहरू दानियलको अनुकरण गर्न चाहन्छन्‌। त्यसकारण, पावलले सबै मसीहीहरूलाई पुरातन समयका ईश्‍वरभीरु मानिसहरूको अनुकरण गर्न आग्रह गरे। विश्‍वासैबाट तिनीहरूले “धर्मका काम गरे, प्रतिज्ञाहरू पाए” अनि दानियलकै बारेमा भन्‍ने हो भने “सिंहका मुखहरू थुनिदिए।” यहोवाका वर्तमान सेवकहरूको हैसियतमा हामी पनि दानियलको जस्तै विश्‍वास र निरन्तरता देखाऔं अनि “हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं।”—हिब्रू ११:३२, ३३; १२:१.

[फुटनोटहरू]

a बेबिलोनमा “सिंहको खोर” थियो भनेर पुरातन अभिलेखहरूले पुष्टि गर्छ, त्यसमा लेखिएअनुसार पूर्वीय मुलुकका शासकहरूले जंगली जनावरहरूलाई राखेर प्रशिक्षण दिने गर्थे।

b कौसीको कोठा भनेको अरूले दखल नदेओस्‌ भनेर आराम गर्ने निजी कोठा थियो।

c सिंहको खोर भनेको जमिनमनि तर मुख माथितिर फर्केको ठाउँ हुनुपर्छ। जनावरहरूलाई भित्र हुल्नका लागि खोल्न मिल्ने ढोका वा बारहरू पनि थिए होलान्‌।

d “दोष लाउने” भनेर अनुवाद गरिएको वाक्यांश अरामी अभिव्यक्‍ति हो र यसले “निन्दा गर्ने” भन्‍ने अर्थ पनि बुझाउन सक्छ। यसले दानियलका शत्रुहरूको द्वेषपूर्ण मनसाय प्रस्ट पार्छ।

तपाईंले के बुझ्नुभयो?

• मादी दाराले दानियललाई किन उच्च ओहदा दिने विचार गरे?

• मन्त्री तथा बडाहाकिमहरूले कस्तो धूर्त षड्यन्त्र रचे? यहोवाले दानियललाई कसरी बचाउनुभयो?

• दानियलको वफादारीलाई गहिरिएर विचार गर्नुभएपछि तपाईंले के सिक्नुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ११४-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ १२१-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ १२७-मा भएको चित्र]

दानियलले यहोवाको “निरन्तर सेवा” गरे। तपाईं नि?