सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२

“के परमेश्‍वरले अन्याय गर्नुहुन्छ?”

“के परमेश्‍वरले अन्याय गर्नुहुन्छ?”

१. अन्याय भएको देख्दा हामीलाई कस्तो लाग्छ?

 एक जना वृद्ध विधवाको जीवनभरको पुँजी लुटिएको छ। एउटा निस्सहाय शिशुलाई उसकी निर्दयी आमाले अलपत्र छोडिदिएकी छिन्‌। एक जना युवकलाई उसले गर्दै नगरेको गल्तीको सजायस्वरूप झ्यालखानामा हालिएको छ। यस्ता कुराहरू देख्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँलाई पक्कै छटपटी हुन्छ र यस्तो हुनु स्वाभाविक पनि हो। हामी मानिसजातिसित सही र गलत छुट्ट्याउने विशेष क्षमता छ। त्यसैले अन्याय भएको देख्दा हामीलाई असह्‍य हुन्छ। हामी निर्दोषले न्याय पाएको र दोषीले सजाय पाएको चाहन्छौँ। तर त्यसो नहुँदा हामीलाई यस्तो लाग्न सक्छ: ‘के ईश्‍वरले यी सबै देखिरहनुभएको छ? यदि देखिरहनुभएको छ भने उहाँ किन हात बाँधेर बस्नुहुन्छ?’

२. अन्याय भएको देख्दा हबकुकलाई कस्तो लाग्यो तर यहोवाले तिनलाई किन हप्काउनुभएन?

इतिहास हेर्ने हो भने यहोवाका वफादार सेवकहरूले पनि यस्ता प्रश्‍नहरू सोधेका थिए। उदाहरणको लागि, भविष्यवक्‍ता हबकुकले परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “तपाईँ किन मलाई गलत काम हेर्न लगाउनुहुन्छ? तपाईँ किन अत्याचार सहनुहुन्छ? मेरै अगाडि किन विनाश र हिंसा भइरहेको छ? किन जताततै झैझगडा र कलह मच्चिरहेको छ?” (हबकुक १:३) हबकुकले सोझो मनले यस्ता प्रश्‍नहरू सोध्दा यहोवाले तिनलाई हप्काउनुभएन किनकि मानिसजातिमा न्याय भन्‍ने गुण हालिदिने यहोवा नै हुनुहुन्छ। त्यसैले न्याय गर्ने यहोवाको विशिष्ट क्षमताको सानो अंश हामीमा पनि छ।

यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ

३. अन्यायप्रति यहोवाको र हाम्रो दृष्टिकोण कसरी भिन्‍न छ?

यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ। उहाँ अन्यायप्रति आँखा चिम्लनुहुन्‍न; उहाँ सबै कुरा देख्न सक्नुहुन्छ। नुहको समयबारे बाइबल यसो भन्छ: “यहोवा परमेश्‍वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहेको देख्नुभयो।” (उत्पत्ति ६:५) यसको अर्थ के हो, विचार गरौँ। हामी अक्सर आफूले सुनेका वा आफैले भोगेका केही घटनाहरूको आधारमा अन्याय भएको हो कि होइन भनेर आफ्नै निष्कर्ष निकाल्छौँ। तर यहोवा भने संसारभरि भइरहेको अन्याय देख्नुहुन्छ; उहाँको नजरबाट कुनै पनि अन्याय लुक्न सक्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ मानिसको हृदय पढ्‌न सक्नुहुन्छ। कुनै मानिसको भ्रष्ट सोचाइले उसलाई अन्यायपूर्ण काम गर्न कसरी उक्साउँछ भनेर उहाँ राम्ररी बुझ्नुहुन्छ।—यर्मिया १७:१०.

४, ५. (क) यहोवा अन्यायको सिकार भएकाहरूको अवस्था राम्ररी बुझ्नुहुन्छ भनी बाइबलले कसरी प्रस्ट पार्छ? (ख) यहोवा आफै पनि अन्याय भोग्नबाट अछुतो हुनुहुन्‍न भनेर किन भन्‍न सक्छौँ?

तर यहोवा अन्याय भएको देख्नु मात्र हुन्‍न बरु अन्यायको सिकार भएकाहरूको अवस्था पनि राम्ररी बुझ्नुहुन्छ। विगतमा यहोवाका मानिसहरू शत्रु राष्ट्रहरूको “थिचोमिचोमा पर्दा र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्‍वरको मन दयाले भरिन्थ्यो।” (न्यायकर्ता २:१८) मानिसहरूले जति धेरै अन्याय भएको देख्छन्‌, तिनीहरूको मन त्यति नै कठोर हुँदै जान्छ। तर यहोवा भने त्यस्तो हुनुहुन्‍न। उहाँले लगभग ६,००० वर्षदेखि संसारमा अन्याय भएको देखिरहनुभएको छ तर उहाँ आज पनि अन्यायलाई त्यति नै घृणा गर्नुहुन्छ। “झूट बोल्ने जिब्रो,” “निर्दोष मानिसको रगत बगाउने हात” र “कुरैपिच्छे झूटो बयान दिने मानिस”-लाई यहोवा घृणा गर्नुहुन्छ भनी बाइबल बताउँछ।—हितोपदेश ६:१६-१९.

यहोवाले अन्यायपूर्ण व्यवहार गर्ने इस्राएलका अगुवाहरूलाई के भन्‍नुभएको थियो, त्यो पनि विचार गरौँ। उहाँले आफ्नो भविष्यवक्‍तामार्फत तिनीहरूलाई यस्तो प्रश्‍न सोध्नुभयो: “न्याय के हो, तिमीहरूलाई थाह हुनुपर्ने होइन र?” यहोवाले ती भ्रष्ट अगुवाहरूले कुन हदसम्म आफ्नो शक्‍तिको दुरुपयोग गरिरहेका छन्‌ भनेर बताउनुभएपछि तिनीहरूले भोग्नुपर्ने नतिजाबारे यसो भन्‍नुभयो: “तिनीहरूले यहोवालाई गुहार्नेछन्‌ तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।” (मिका ३:१-४) यहोवा अन्यायलाई कत्ति घृणा गर्नुहुन्छ भन्‍ने कुरा यसबाट पनि प्रस्ट हुन्छ। उहाँ आफै पनि अन्याय भोग्नबाट अछुतो हुनुहुन्‍न। हजारौँ वर्षदेखि सैतानले विनाकारण उहाँको गिल्ला गरिरहेको छ। (हितोपदेश २७:११) यसबाहेक इतिहासकै सबैभन्दा घोर अन्यायपूर्ण घटना पनि उहाँ आफैले अनुभव गर्नुभयो। उहाँको छोराले ‘एउटै पाप नगर्नुभए’ तापनि उहाँलाई अपराधीको रूपमा मृत्युदण्ड दिइयो। (१ पत्रुस २:२२; यसैया ५३:९) स्पष्ट छ, यहोवा अन्यायको सिकार भएकाहरूको अवस्थाप्रति आँखा चिम्लनुहुन्‍न बरु तिनीहरूको अवस्था राम्ररी बुझ्नुहुन्छ।

६. अन्याय हुँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ र किन?

अन्याय भएको देख्दा वा आफै पनि अन्यायपूर्ण व्यवहारको सिकार हुनुपर्दा हामीलाई रिस उठ्‌नु वा हाम्रो चित्त दुख्नु स्वाभाविकै हो। किन? किनकि हामी परमेश्‍वरको स्वरूपमा बनिएका छौँ अनि अन्याय भनेको यहोवाको व्यक्‍तित्वसित पटक्कै मेल नखाने कुरा हो। (उत्पत्ति १:२७) त्यसोभए यहोवा किन अन्याय हुन दिनुहुन्छ?

एउटा महत्त्वपूर्ण विवाद

७. परमेश्‍वरको नाम र उहाँको शासन गर्ने तरिकामाथि कसरी प्रश्‍न उठ्यो?

यस प्रश्‍नको जवाफ एउटा महत्त्वपूर्ण विवादसित सम्बन्धित छ। हामीले सिकेझैँ सृष्टिकर्तासित पृथ्वी र यसमा भएका सबै थोकमाथि शासन गर्ने अधिकार छ। (भजन २४:१; प्रकाश ४:११) तर मानव इतिहासको सुरुमा परमेश्‍वरको नाममा कलङ्‌क लाग्यो र उहाँको शासन गर्ने तरिकामाथि प्रश्‍न उठ्यो। कसरी? यहोवाले पहिलो मानिस आदमलाई अदनको बगैँचामा भएको एउटा रूखको फल नखानू भनेर आज्ञा दिनुभएको थियो। तिनले त्यो आज्ञा नमानेको खण्डमा के हुने थियो? परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “तिमी मर्नेछौ।” (उत्पत्ति २:१७) परमेश्‍वरको यो आज्ञा मान्‍न आदम वा तिनकी पत्नी हव्वालाई गाह्रो थिएन। तर यहोवाले तिनीहरूमाथि अनावश्‍यक बन्देज लगाइरहनुभएको छ भनेर सैतानले हव्वालाई बहकायो। त्यसले हव्वालाई यसो भन्यो: “तिमीहरू कदापि मर्नेछैनौ! किनकि परमेश्‍वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌। तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।”—उत्पत्ति ३:१-५.

८. (क) सैतानले हव्वालाई के भन्‍न खोजिरहेको थियो? (ख) सैतानले परमेश्‍वरको नाम र उहाँको सार्वभौमिकतालाई कस्तो चुनौती दियो?

यहाँ सैतानले के भन्‍न खोजिरहेको थियो? यहोवाले हव्वाबाट एउटा महत्त्वपूर्ण जानकारी लुकाइरहनुभएको मात्र नभई उनीसित झूट बोल्नुभएको छ भन्‍न खोजिरहेको थियो। त्यस प्रलोभकले यहोवा नाम धारण गर्नुभएको व्यक्‍ति कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामाथि हव्वाको मनमा शङ्‌का उब्जायो। यसरी सैतानले यहोवाको नाममा कलङ्‌क लगायो। त्यसले परमेश्‍वरको सार्वभौमिकता अर्थात्‌ उहाँको शासन गर्ने अधिकारलाई पनि चुनौती दियो। त्यसले यहोवा ब्रह्‍माण्डको शासक हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरामाथि प्रश्‍न उठाएको त थिएन। तर त्यसले परमेश्‍वर शासन गर्न लायकको हुनुहुन्‍न, उहाँ सही तरिकामा शासन गर्नुहुन्‍न र उहाँको शासनले उहाँको प्रजाको भलो गर्दैन भन्‍न खोजिरहेको थियो।

९. (क) अनाज्ञाकारी भएकोले आदम र हव्वाले कस्तो सजाय पाए र यसले कस्ता महत्त्वपूर्ण प्रश्‍नहरू खडा गऱ्‍यो? (ख) यहोवाले विद्रोहीहरूलाई किन उत्तिखेरै नाश गर्नुभएन?

आदम र हव्वाले यहोवाले निषेध गर्नुभएको फल खाएर उहाँको आज्ञा उल्लङ्‌घन गरे। यसरी अनाज्ञाकारी भएकोले परमेश्‍वरले भन्‍नुभएझैँ तिनीहरूले मृत्युदण्डको सजाय पाए। सैतानले बोलेको झूटले यस्ता महत्त्वपूर्ण प्रश्‍नहरू खडा गऱ्‍यो: ‘के यहोवासित साँच्चै मानिसजातिमाथि शासन गर्ने अधिकार छ? अथवा मानिस आफैले शासन चलाउनु पो राम्रो हो कि? के यहोवाले सबैभन्दा राम्रो तरिकामा शासन गर्नुहुन्छ?’ यहोवा सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुभएकोले उहाँले चाहनुभएको भए ती विद्रोहीहरूलाई ठाउँको ठाउँ नाश गर्न सक्नुहुन्थ्यो। तर सैतानले यहोवाको शक्‍तिमाथि नभई उहाँको नाममाथि प्रश्‍न उठाएको थियो, जसमा उहाँको शासन गर्ने तरिका पनि समावेश छ। त्यसैले यहोवाले आदम, हव्वा र सैतानलाई तुरुन्तै नाश गर्नुभएको भए उहाँले सही तरिकामा शासन गर्न सक्नुहुन्छ भन्‍ने कुरा प्रमाणित हुने थिएन। बरु उहाँको शासन गर्ने तरिकामाथि अरू पनि थुप्रै प्रश्‍न खडा हुन सक्थ्यो। त्यसैले परमेश्‍वरबाट स्वतन्त्र भएर आफैले शासन चलाउँदा मानिसजाति सफल हुन सक्छ कि सक्दैन भन्‍ने कुरा प्रमाणित हुन केही समय लाग्ने थियो।

१०. मानव शासनबारे इतिहासले के प्रमाणित गरेको छ?

१० इतिहासले के प्रमाणित गरेको छ? हजारौँ वर्षको दौडान मानिसहरूले विभिन्‍न किसिमको सरकार चलाएर हेरिसकेका छन्‌, जस्तै: एकतन्त्र, प्रजातन्त्र, समाजवाद र साम्यवाद। यस्ता शासन-व्यवस्थाको नतिजा कस्तो भएको छ? त्यसबारे बाइबल यसो भन्छ: “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको [छ]।” (उपदेशक ८:९) भविष्यवक्‍ता यर्मियाले भनेको यो कुरा सत्य साबित भएको छ: “हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्‍याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।”—यर्मिया १०:२३.

११. यहोवाले किन मानिसजातिलाई दुःखकष्ट भोग्न दिनुभयो?

११ मानिसजाति आफैले शासन चलाउँदा दुःखकष्ट निम्तिनेछ भन्‍ने कुरा यहोवालाई सुरुदेखि नै थाह थियो। त्यसोभए के उहाँले मानिसजातिलाई शासन चलाउन दिनुभएर अन्याय गर्नुभयो भन्‍न मिल्छ? पटक्कै मिल्दैन। यो उदाहरण विचार गरौँ: तपाईँको बच्चालाई प्राणघातक रोग लागेकोले उसको अप्रेसन गर्नुपर्ने भएको छ। अप्रेसन गर्दा उसलाई पीडा हुन्छ भन्‍ने कुरा तपाईँले बुझ्नुभएको छ र यो कुरा सोच्दा तपाईँलाई धेरै दुःख पनि लाग्छ। तर अप्रेसनपछि ऊ स्वस्थ हुन्छ भन्‍ने कुरा पनि तपाईँलाई थाह छ। त्यसैगरि परमेश्‍वरलाई मानव शासनले दुःख र पीडा निम्त्याउनेछ भन्‍ने कुरा थाह थियो र उहाँले यसबारे भविष्यवाणी पनि गर्नुभयो। (उत्पत्ति ३:१६-१९) तर विद्रोहको नराम्रो परिणामपछि मात्र मानिसजातिले साँचो अर्थमा सदाको लागि राहत पाउन सम्भव हुनेछ भन्‍ने कुरा पनि उहाँले बुझ्नुभएको थियो। यसरी सार्वभौमिकताको विवाद सदाको लागि सुल्झिने थियो।

मानिसको सत्यनिष्ठासम्बन्धी विवाद

१२. अय्युबको घटनाले देखाएझैँ सैतानले मानिसजातिमाथि कस्तो आरोप लगाएको छ?

१२ सैतानले परमेश्‍वरको शासन गर्ने तरिका र अधिकारलाई चुनौती दिएर उहाँको सार्वभौमिकतामाथि प्रश्‍न खडा गऱ्‍यो र उहाँको नाममा कलङ्‌क लगायो। तर यस विवादको अर्को पक्ष पनि छ। त्यसले परमेश्‍वरका सेवकहरूको सत्यनिष्ठामाथि पनि प्रश्‍न उठाएको छ। उदाहरणको लागि, सैतानले धर्मी पुरुष अय्युबबारे यहोवालाई के भन्यो, विचार गर्नुहोस्‌: “तपाईँले उसलाई, उसको घरपरिवारलाई र ऊसँग भएका सबै कुरालाई चारैतिरबाट रक्षा गर्नुभएको छैन र? तपाईँले उसको फलिफाप गराउनुभएको छ र उसको वस्तुभाउ बढेर अनगिन्ती भएका छन्‌। तर एकचोटि आफ्नो हात पसारेर ऊसँग भएको सबै कुरा खोसेर त हेर्नुहोस्‌। उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।”—अय्युब १:१०, ११.

१३. सैतानले अय्युबमाथि आरोप लगाउँदा के भन्‍न खोज्दै थियो र यसमा कसरी सम्पूर्ण मानिसजाति मुछियो?

१३ अय्युबको भक्‍ति पाउन यहोवाले आफ्नो शक्‍ति प्रयोग गरेर तिनलाई सुरक्षा दिइरहनुभएको छ भनेर सैतानले दाबी गऱ्‍यो। वास्तवमा सैतानले के भन्‍न खोज्दै थियो भने, अय्युबको निष्ठा ढोँग मात्र हो र तिनले केही पाउनको लागि मात्र परमेश्‍वरको सेवा गरिरहेका हुन्‌। परमेश्‍वरले आशिष्‌ दिन छोड्‌नुभयो भने तिनले उहाँलाई सराप्नेछन्‌ भनेर सैतानले आरोप लगायो। अय्युब ‘निर्दोष र सत्यनिष्ठ छन्‌; परमेश्‍वरको डर मान्छन्‌ र खराब कुराहरूबाट टाढै बस्छन्‌’ भनेर सैतानलाई थाह थियो। a सैतान अय्युबजस्तो व्यक्‍तिको सत्यनिष्ठा तोड्‌न सफल भएको भए त्यसले अरू मानिसलाई झन्‌ के बाँकी राख्थ्यो होला र? वास्तवमा सैतानले परमेश्‍वरको सेवा गर्ने सबै मानिसको वफादारीमाथि प्रश्‍न उठाइरहेको थियो। त्यसले सम्पूर्ण मानिसजातिलाई समेट्‌दै यहोवालाई यसो भन्यो: “आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ।”—अय्युब १:८; २:४.

१४. सैतानले मानिसजातिमाथि लगाएको आरोपको सन्दर्भमा इतिहासले के देखाएको छ?

१४ इतिहास हेर्ने हो भने थुप्रैले परीक्षा आइपर्दा अय्युबजस्तै यहोवाप्रति वफादार रहेर सैतानको दाबीलाई झूटो प्रमाणित गरेका छन्‌। तिनीहरूले यहोवाप्रति वफादार रहेर उहाँको हृदयलाई खुसी बनाएका छन्‌। त्यसैले कठिनाइ आइपर्दा मानिसले परमेश्‍वरको सेवा गर्न छोड्‌नेछ भनेर आरोप लगाउने त्यस घमन्डी सैतानलाई यहोवाले मुखभरिको जवाफ दिन सक्नुभएको छ। (हिब्रू ११:४-३८) हो, असल हृदय भएका थुप्रै मानिस यहोवाको पक्षमा खडा भएका छन्‌। जीवनमा असाध्यै कठिन परीक्षाहरू भोग्नुपर्दा समेत तिनीहरूले सहने बलको लागि यहोवामा पूर्ण भरोसा राखेका छन्‌।—२ कोरिन्थी ४:७-१०.

१५. परमेश्‍वरले विगतमा गर्नुभएको र भविष्यमा गर्नुहुने न्यायबारे कस्तो प्रश्‍न उठ्‌छ?

१५ तर यहोवाको न्यायमा सार्वभौमिकताको विवाद र मानिसको सत्यनिष्ठासम्बन्धी विवाद सुल्झाउनु मात्र समावेश छैन। बाइबलमा यहोवाले व्यक्‍तिविशेषका साथै पूरै राष्ट्रको न्याय गर्नुभएको विवरण पाइन्छ। यसमा परमेश्‍वरले भविष्यमा गर्नुहुने न्यायबारे पनि बताइएको छ। तर एउटा प्रश्‍न उठ्‌छ: यहोवाले विगतमा सही तरिकामा न्याय गर्नुभयो र भविष्यमा पनि त्यसै गर्नुहुनेछ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

परमेश्‍वरको न्याय किन सर्वोत्कृष्ट छ?

यहोवाले “धर्मी मानिसलाई . . . दुष्टसँगसँगै नाश” गर्नुहुनेछैन

१६, १७. न्यायबारे मानिसहरूको सोचाइ सीमित छ भनेर कस्ता उदाहरणहरूले देखाउँछ?

१६ यहोवाबारे यसो भन्‍नु उचित छ: “उहाँका सबै काम न्यायसङ्‌गत छन्‌।” (व्यवस्था ३२:४) हामीमध्ये कसैले पनि आफूबारे यस्तो दाबी गर्न सक्दैनौँ किनकि हाम्रो सीमित सोचाइले गर्दा अक्सर हाम्रो दृष्टिकोण धमिलिन सक्छ र सही के हो भनेर ठम्याउन गाह्रो हुन सक्छ। अब्राहामलाई विचार गरौँ। सदोममा दुष्टता असाध्यै बढेकोले यहोवाले त्यस सहरलाई नाश गर्ने निर्णय गर्नुभएको थियो। तर अब्राहामले उहाँलाई यस्तो प्रश्‍न गरे: “के तपाईँ धर्मी मानिसलाई पनि दुष्टसँगसँगै नाश गर्नुहुन्छ?” (उत्पत्ति १८:२३-३३) यहोवाले कदापि त्यसो गर्नुहुने थिएन। धर्मी लुत र तिनका छोरीहरू सुरक्षितसाथ जोअर पुगेपछि मात्र यहोवाले सदोममाथि “आगो र गन्धक बर्साउनुभयो।” (उत्पत्ति १९:२२-२४) अर्कोतर्फ परमेश्‍वरले निनवेका मानिसहरूमाथि कृपा गर्नुभएको देखेर योना “रिसले चूर भए।” तिनले त्यस सहरमाथि विनाश आइपर्नेछ भनेर घोषणा गरिसकेका थिए। त्यसैले त्यहाँका मानिसहरूले मनैदेखि पश्‍चात्ताप गरेको भए पनि तिनी उनीहरू नाश भएको हेर्न चाहन्थे।—योना ३:१०–४:१.

१७ यहोवाले अब्राहामलाई उहाँले गर्नुहुने न्यायमा दुष्टहरूलाई नाश गर्नु मात्र नभई धर्मीहरूलाई जोगाउनु पनि समावेश छ भनेर आश्‍वासन दिनुभयो। अर्कोतर्फ योनाले भने यहोवा कृपालु हुनुहुन्छ भनेर सिक्नुपरेको थियो। दुष्टहरूले आफ्नो गलत मार्ग त्यागे भने उहाँ तिनीहरूलाई “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” (भजन ८६:५) केही मानिसहरू आफ्नो शक्‍ति देखाउन कठोर भएर न्याय गर्छन्‌ अथवा अरूको अगाडि आफू कमजोर देखिने हो कि भन्‍ने डरले गर्दा दया देखाउनदेखि पछि हट्‌छन्‌। तर यहोवा भने त्यस्तो हुनुहुन्‍न। कृपा देखाउन सकिने कुनै ठाउँ छ भने उहाँ त्यसो गर्न कहिल्यै पछि हट्‌नुहुन्‍न।—यसैया ५५:७; इजकिएल १८:२३.

१८. यहोवा भावनामा बहेर न्याय गर्नुहुन्‍न भनेर बाइबलले कसरी प्रस्ट पार्छ?

१८ तर यहोवा भावनामा बहेर न्याय गर्नुहुन्‍न। इस्राएलीहरू मूर्तिपूजामा चुर्लुम्मै डुब्दा उहाँले स्पष्टसित यसो भन्‍नुभयो: “तेरो कामअनुसार म तेरो न्याय गर्नेछु र तैँले गरेका घिनलाग्दा कामहरूको लेखा लिनेछु। म तँलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस पनि मान्‍नेछैनँ। किनभने तैँले आफ्नो कामअनुसारको फल पाउनेछस्‌ र तैँले आफ्ना घिनलाग्दा कामहरूको नतिजा भोग्नेछस्‌।” (इजकिएल ७:३, ४) हो, मानिसहरूले अटेरी भएर खराब काम गरिरहे भने यहोवाले तिनीहरूलाई त्यसैअनुसार सजाय दिनुहुन्छ। तर उहाँको न्याय ठोस प्रमाणहरूमा आधारित हुन्छ। त्यसैले उहाँले “सदोम र गमोराविरुद्ध गरिएको ठूलो गुनासो” सुन्‍नुभएपछि यसो भन्‍नुभयो: “अब म तल ओर्लन्छु अनि मैले सुनेको तिनीहरूको गुनासो सही हो कि होइन, म आफै पक्का गर्छु।” (उत्पत्ति १८:२०, २१) यहोवा सबै सत्यतथ्य राम्ररी नबुझी निष्कर्ष निकालिहाल्ने मानिसहरूजस्तो हुनुहुन्‍न भनेर थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ। बाइबलमा बताइएझैँ उहाँ “विश्‍वासयोग्य हुनुहुन्छ, उहाँ कहिल्यै अन्याय गर्नुहुन्‍न।”—व्यवस्था ३२:४.

यहोवाको न्यायमा भरोसा गर्नुहोस्‌

१९. यहोवाको न्यायबारे मनमा प्रश्‍नहरू उठ्‌दा हामी के गर्न सक्छौँ?

१९ बाइबलले विगतमा यहोवाले गर्नुभएको न्यायबारे हाम्रो मनमा उठ्‌ने हरेक प्रश्‍नको जवाफ दिँदैन। साथै यसमा यहोवाले भविष्यमा एक-एक मानिसको र समूह-समूहको कसरी न्याय गर्नुहुनेछ भन्‍नेबारे सबै कुरा बताइएको छैन। बाइबलका केही विवरणहरू वा भविष्यवाणीहरूबारे एक-एक कुरा नबताइएकोले हामी अलमलमा पर्दा भविष्यवक्‍ता मिकाले जस्तै वफादारी देखाउन सक्छौँ। तिनले यस्तो लेखे: “म मेरा उद्धारक, मेरा परमेश्‍वरलाई नै पर्खनेछु।”—मिका ७:७.

२०, २१. यहोवा सधैँ जे सही छ, त्यही गर्नुहुन्छ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

२० यहोवा सधैँ जे सही छ, त्यही गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। कहिलेकाहीँ हामीलाई संसारमा भइरहेको अन्यायलाई कसैले पनि वास्ता नगरेको वा नदेखेको जस्तो लाग्ला। तर यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “बदला लिने काम मेरो हो; म साटो फेर्नेछु।” (रोमी १२:१९) हामीले यहोवाको बाटो हेरिरह्‍यौँ भने प्रेषित पावलले जस्तै निर्धक्क भई यसो भन्‍न सक्नेछौँ: “के परमेश्‍वरले अन्याय गर्नुहुन्छ? त्यस्तो त हुनै सक्दैन!”—रोमी ९:१४.

२१ अहिले हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ। (२ तिमोथि ३:१) “अन्याय-अत्याचार”-मा परेकाहरूले थुप्रै दुःख र पीडा भोगिरहेका छन्‌। (उपदेशक ४:१) तर यहोवा परिवर्तन हुनुभएको छैन। उहाँ अझै पनि अन्यायलाई घृणा गर्नुहुन्छ र त्यसको सिकार भएकाहरूको अवस्था राम्ररी बुझ्नुहुन्छ। उहाँले आफ्नो राज्यमार्फत सबै अन्याय-अत्याचार हटाउने समय तोकिसक्नुभएको छ। त्यतिन्जेल हामी यहोवाप्रति वफादार रह्‍यौँ र उहाँको सार्वभौमिकतालाई समर्थन गरिरह्‍यौँ भने उहाँबाट सहने बल पाउनेछौँ।—१ पत्रुस ५:६, ७.

a यहोवाले अय्युबबारे यसो भन्‍नुभयो: “पृथ्वीमा ऊजस्तो अरू कोही छैन।” (अय्युब १:८) सम्भवतः अय्युब जीवित छँदा युसुफको मृत्यु भइसकेको थियो र मोसा इस्राएलको नाइके नियुक्‍त भइसकेका थिएनन्‌। त्यसैले त्यस समयमा अय्युबजस्तो सत्यनिष्ठ मानिस अरू कोही थिएन भन्‍न सकिन्थ्यो।