सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १३

“यहोवाको व्यवस्था पूर्ण छ”

“यहोवाको व्यवस्था पूर्ण छ”

१, २. धेरैजसो मानिसहरू किन आफ्नो देशको कानुन-व्यवस्थादेखि चिढिने गर्छन्‌? तर हामी परमेश्‍वरको कानुन-व्यवस्थाप्रति कस्तो महसुस गर्छौँ?

 “कानुन कहिल्यै नभरिने खाडल हो, जसमा . . . सबै कुरा अटाउँछ।” यो भनाइ सन्‌ १७१२ मा प्रकाशित एउटा किताबमा पाइन्छ। यसका लेखकले त्यस्तो कानुनी निकायको आलोचना गरिरहेका थिए, जसमा दायर भएका मुद्दाहरू वर्षौँवर्ष चलिरहन्थे र न्याय पाउने आशा गरिरहेका मानिसहरू मुद्दा लड्‌दालड्‌दा कङ्‌गाल हुन्थे। थुप्रै देशको कानुन र न्याय-व्यवस्था अत्यन्तै जटिल, अन्यायपूर्ण र पक्षपातपूर्ण छ अनि एउटै किसिमको मुद्दाको फैसलामा पनि अनियमितता देखिन्छ। त्यसैले मानिसहरू कानुनको नाम सुन्‍नेबित्तिकै चिढिने गर्छन्‌।

तर यसको ठीक विपरीत लगभग २,७०० वर्षअघि लेखिएको यो कुरा विचार गर्नुहोस्‌: “म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!” (भजन ११९:९७) यी भजनरचयिताले किन त्यस्तो महसुस गरे? किनभने तिनले जुन कानुन-व्यवस्थाको प्रशंसा गरेका थिए, त्यो कुनै मानव सरकारले नभई स्वयम्‌ यहोवा परमेश्‍वरले दिनुभएको थियो। तपाईँ यहोवाले दिनुभएको कानुन-व्यवस्थाको जत्ति धेरै अध्ययन गर्नुहुन्छ, त्यसप्रतिको तपाईँको प्रेम त्यत्ति नै बढ्‌नेछ। यस्तो अध्ययनले तपाईँलाई ब्रह्‍माण्डकै महान्‌ कानुनदातालाई अझ राम्ररी चिन्‍न मदत गर्नेछ।

सर्वोच्च कानुनदाता

३, ४. यहोवा सर्वोच्च कानुनदाता हुनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

बाइबल भन्छ: “व्यवस्थाको दाता र न्यायकर्ता एकै जना हुनुहुन्छ।” (याकुब ४:१२) हो, यहोवा मात्र सर्वोच्च कानुनदाता हुनुहुन्छ। आकाशीय पिण्डहरूसमेत उहाँले तोक्नुभएको खास “नियमअनुसार” चल्छन्‌। (अय्युब ३८:३३) त्यसैगरि यहोवाका लाखौँलाख पवित्र स्वर्गदूतहरू पनि उहाँको नियम पालन गर्छन्‌। यहोवाले तिनीहरूलाई फरक-फरक ओहदामा व्यवस्थित पार्नुभएको छ अनि तिनीहरू उहाँको अधीनमा रहेर उहाँलाई पवित्र सेवा चढाउँछन्‌।—भजन १०४:४; हिब्रू १:७, १४.

यहोवाले मानिसजातिलाई पनि नियमहरू दिनुभएको छ। हामीसित अन्तस्करण भएकोले यहोवासित जस्तै हामीसित पनि न्यायको चेतना छ। अन्तस्करण हामीभित्र भएको आन्तरिक कानुन-व्यवस्था हो, जसले हामीलाई सही र गलत छुट्ट्याउन मदत गर्छ। (रोमी २:१४) हाम्रो पहिलो आमाबुबासित त्रुटिरहित अन्तस्करण थियो। त्यसैले तिनीहरूलाई थोरै नियम भए पुग्थ्यो। (उत्पत्ति २:१५-१७) तर हामी त्रुटिपूर्ण मानिसहरूलाई भने परमेश्‍वरको इच्छाअनुसार चल्न धेरै नियम चाहिन्छ। नुह, अब्राहाम र याकुबजस्ता कुलपिताहरूले यहोवाबाट नियमहरू पाएका थिए र तिनीहरूले ती आफ्नो परिवारलाई सिकाए। (उत्पत्ति ६:२२; ९:३-६; १८:१९; २६:४, ५) पछि यहोवाले इस्राएल राष्ट्रलाई मोसामार्फत व्यवस्था दिनुभएर उहाँ तिनीहरूको कानुनदाता हुनुभयो। यस व्यवस्थाले हामीलाई उहाँको न्यायबारे बुझ्न मदत गर्छ।

मोसाको व्यवस्थाको सारांश

५. के मोसाको व्यवस्था पालन गर्नै नसकिने जटिल नियमहरूको ठेली हो? तपाईँ किन त्यसो भन्‍नुहुन्छ?

धेरैजसो मानिसको विचारमा मोसाको व्यवस्था पालन गर्नै नसकिने जटिल नियमहरूको ठेली हो। तर यो कुरा सत्य होइन। यसमा ६०० भन्दा धेरै नियम छन्‌। हामीलाई यो एकदमै धेरै हो जस्तो लाग्न सक्छ। तर मानिसले बनाएका नियमहरूको तुलनामा मोसाको व्यवस्थामा भएका नियमहरू एकदमै थोरै हुन्‌। बीसौँ शताब्दीको अन्तसम्ममा अमेरिकाको सरकारी नियमहरूले कानुनी किताबहरूको १ लाख ५० हजारभन्दा धेरै पाना भरिसकेका थिए अनि प्रत्येक दुई वर्षमा लगभग ६०० वटा नियम थपिँदै छन्‌। त्यसको तुलनामा मोसाको व्यवस्थामा भएका नियमहरू एकदमै थोरै हुन्‌। तैपनि परमेश्‍वरको व्यवस्थाले इस्राएलीहरूको जीवनका ती पक्षहरूलाई पनि ढाकेको थियो, जुन अहिले मानिसहरूले बनाएका नियमहरूमा उल्लेख समेत गरिएको छैन। मोसाको व्यवस्थालाई छोटकरीमा विचार गरौँ।

६, ७. (क) मोसाको व्यवस्था अरू कुनै पनि कानुन-व्यवस्थाभन्दा कसरी फरक छ? सबैभन्दा ठूलो आज्ञा कुन हो? (ख) इस्राएलीहरूले यहोवाको सार्वभौमिकतालाई समर्थन गरेको कसरी देखाउन सक्थे?

मोसाको व्यवस्थाले यहोवाको सार्वभौमिकतालाई उच्च पाऱ्‍यो। त्यसैले अरू कुनै पनि कानुन-व्यवस्था यसको बराबरीमा आउन सक्दैन। यसमा भएको सबैभन्दा ठूलो नियम यो थियो: “हे इस्राएली हो, सुन! यहोवा हाम्रा परमेश्‍वर एक मात्र यहोवा हुनुहुन्छ। तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा बलले प्रेम गर्नू।” परमेश्‍वरका सेवकहरूले उहाँलाई प्रेम गरेको कसरी देखाउन सक्थे? उहाँको सेवा गरेर अनि उहाँको सार्वभौमिकताको अधीनमा बसेर।—व्यवस्था ६:४, ५; ११:१३.

इस्राएलीहरूले अख्तियारमा भएकाहरूको अधीनमा बसेर यहोवाको सार्वभौमिकतालाई समर्थन गरेको देखाउन सक्थे। आमाबुबाहरू, कुलनायकहरू, न्यायकर्ताहरू, पुजारीहरू र राजाहरूले परमेश्‍वरबाट अख्तियार पाएका थिए। कसैले तिनीहरूको विरोध गर्दा यहोवाले उहाँकै विरोध गरेको ठान्‍नुहुन्थ्यो। अर्कोतर्फ अख्तियारमा भएकाहरूले परमेश्‍वरका सेवकहरूसित अन्यायपूर्ण वा क्रूर व्यवहार गर्दा तिनीहरूमाथि उहाँको क्रोध खनिन्थ्यो। (प्रस्थान २०:१२; २२:२८; व्यवस्था १:१६, १७; १७:८-२०; १९:१६, १७) त्यसैले दुवै पक्षसित यहोवाको सार्वभौमिकतालाई उच्च पार्ने जिम्मेवारी थियो।

८. मोसाको व्यवस्थाले यहोवाको पवित्रताको स्तरलाई कसरी उच्च पाऱ्‍यो?

मोसाको व्यवस्थाले यहोवाको पवित्रताको स्तरलाई उच्च पाऱ्‍यो। यसमा “पवित्र” र “पवित्रता” भन्‍ने शब्दहरू २८० भन्दा धेरै पटक उल्लेख गरिएको छ। यस व्यवस्थाले परमेश्‍वरका सेवकहरूलाई शुद्ध र अशुद्ध अनि पवित्र र अपवित्र कुराहरूबीच फरक छुट्ट्याउन मदत गऱ्‍यो। यसमा तिनीहरूलाई अशुद्ध बनाउने लगभग ७० वटा कुराबारे उल्लेख गरिएको थियो। त्यसमा सरसफाइ, खानपान र फोहोर व्यवस्थापनसम्बन्धी नियमहरू थियो। ती नियमहरू पालन गर्दा इस्राएलीहरू स्वस्थ रहन सक्थे। a तर ती नियमहरूले अझ ठूलो उद्देश्‍य पूरा गऱ्‍यो। त्यो हो, इस्राएलीहरूलाई वरपरका पतित राष्ट्रहरूमा व्याप्त पापपूर्ण कामहरूबाट अलग रहेर यहोवाको अनुग्रह पाउन लायकको बनाउनु। एउटा उदाहरण विचार गरौँ।

९, १०. व्यवस्थाको करारमा यौनसम्बन्ध र बच्चाको जन्मबारे कस्ता विधिविधान उल्लेख गरिएको थियो? यस्ता नियमहरूको कस्ता फाइदाहरू थिए?

व्यवस्थाको करारमा उल्लेख गरिएका विधिविधानअनुसार यौनसम्बन्ध राखेपछि पुरुष र स्त्री केही समय अशुद्ध हुन्थे, चाहे तिनीहरू विवाहित जोडी नै किन नहोऊन्‌। साथै कुनै स्त्रीले बच्चा जन्माएपछि तिनी केही दिन अशुद्ध हुन्थिन्‌। (लेवी १२:२-४; १५:१६-१८) यस्ता विधिविधान पालन गर्दा परमेश्‍वरले दिनुभएका ती पवित्र वरदानहरूको अवहेलना गरिएको त हुँदैनथ्यो। (उत्पत्ति १:२८; २:१८-२५) बरु यस्ता नियमहरूले परमेश्‍वरको पवित्रतालाई उच्च पार्थ्यो अनि उहाँका उपासकहरूलाई अपवित्र हुनबाट जोगाउँथ्यो। तर अचम्मको कुरा, वरपरका राष्ट्रहरूले उपासनामा यौन र प्रजननसम्बन्धी रीतिरिवाज मिसाउने गर्थे। उदाहरणको लागि, कनानीहरूले मान्‍ने धर्ममा पुरुषले पुरुषसित सम्बन्ध राख्ने र स्त्रीहरूले वेश्‍यावृत्ति गर्ने प्रचलन थियो। यस्ता प्रचलनहरूले गर्दा पतित रीतिथितिहरू बढ्‌दै गए। अर्कोतर्फ मोसाको व्यवस्थाअनुसार इस्राएलीहरूले कुनै पनि किसिमको यौनसम्बन्धलाई उपासनाको भाग बनाउनु हुँदैनथ्यो। b यस्ता नियमहरूको अरू फाइदा पनि थिए।

१० ती नियमहरूले एउटा महत्त्वपूर्ण सत्य सिकाउँथ्यो। c यसबारे सोच्नुहोस्‌: आदमको पाप एउटा पुस्ताबाट अर्को पुस्तामा कसरी सर्दै आयो? के यौनसम्बन्ध र बच्चाको जन्मबाट नै होइन र? (रोमी ५:१२) हो, परमेश्‍वरको व्यवस्थाले उहाँका सेवकहरूलाई आफू पापी छु भन्‍ने कुरा सधैँ सम्झाउँथ्यो। वास्तवमा हामी सबै जन्मँदै पापी छौँ। (भजन ५१:५) पवित्र परमेश्‍वरसित नजिक हुन हामीलाई पापको क्षमा र त्यसबाट छुटकारा चाहिन्छ।

११, १२. (क) व्यवस्थाले न्याय गर्ने सन्दर्भमा कुन महत्त्वपूर्ण सिद्धान्तलाई जोड दिएको थियो? (ख) व्यवस्थामा भएका नियमहरूले इस्राएलीहरूलाई न्याय बङ्‌ग्याउनदेखि कसरी रोक्थ्यो?

११ मोसाको व्यवस्थाले यहोवाको सिद्ध न्यायलाई उच्च पाऱ्‍यो। यसले न्याय गर्ने सन्दर्भमा बराबरीको सिद्धान्तलाई जोड दिएको थियो। व्यवस्थामा यस्तो नियम थियो: “ज्यानको साटो ज्यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र खुट्टाको साटो खुट्टा।” (व्यवस्था १९:२१) त्यसैले आपराधिक मामिलाहरूको छिनोफानो गर्दा जस्तो अपराध गरिएको हो, त्यसैअनुसारको सजाय दिइन्थ्यो। परमेश्‍वरको न्यायको यो पक्ष व्यवस्थाका सबै नियममा स्पष्टै देखिन्थ्यो। येसु ख्रिष्टले चढाउनुभएको फिरौतीको बलिदानलाई बुझ्न यहोवाको न्यायको यो पक्ष बुझ्नु जरुरी छ र यसबारे हामी अध्याय १४ मा छलफल गर्नेछौँ।—१ तिमोथि २:५, ६.

१२ मोसाको व्यवस्थामा भएका नियमहरूले इस्राएलीहरूलाई न्याय बङ्‌ग्याउनदेखि रोक्थ्यो। उदाहरणको लागि, कसैमाथि लागेको आरोपलाई प्रमाणित गर्न कम्तीमा पनि दुई जना साक्षी चाहिन्थ्यो। कसैले झूटो साक्षी दिएको प्रमाणित भएमा उसलाई कडा सजाय दिइन्थ्यो। (व्यवस्था १९:१५, १८, १९) व्यवस्थामा भ्रष्टाचार गर्नुलाई अनि घुस लिनु र दिनुलाई निषेध गरिएको थियो। (प्रस्थान २३:८; व्यवस्था २७:२५) व्यापारिक कारोबारमा पनि परमेश्‍वरका सेवकहरूले यहोवाको उच्च न्यायिक स्तर पालन गर्नुपर्थ्यो। (लेवी १९:३५, ३६; व्यवस्था २३:१९, २०) यस्तो उत्कृष्ट र निष्पक्ष व्यवस्था पाउनु इस्राएलीहरूको लागि साँच्चै ठूलो आशिष्‌ थियो।

कृपा र निष्पक्ष न्यायलाई जोड दिने व्यवस्था

१३, १४. व्यवस्थाअनुसार चोर र सामान चोरिएको व्यक्‍ति दुवैको कसरी निष्पक्ष न्याय गरिन्थ्यो?

१३ के मोसाको व्यवस्था कडा र कठोर नियमहरूको ठेली हो? पटक्कै होइन। त्यसबारे राजा दाउदले यस्तो लेखे: “यहोवाको व्यवस्था पूर्ण छ।” (भजन १९:७) हो, परमेश्‍वरको व्यवस्थाले कृपा र निष्पक्ष न्यायलाई जोड दिन्छ। हामी कसरी त्यसो भन्‍न सक्छौँ?

१४ आज केही देशको कानुनले अपराधको सिकार भएकाहरूप्रति भन्दा अपराधीहरूप्रति दया गरेको देखिन्छ। उदाहरणको लागि, एक जना चोरलाई जेल सजाय होला तर जसको सामान चोरिएको हो, तिनले त्यो फिर्ता नपाएका हुन सक्छन्‌। उल्टै तिनले कर तिरिरहेका हुन्छन्‌, जुन त्यस चोरजस्ता अपराधीहरूको लागि खानेबस्ने प्रबन्ध मिलाउन खर्च गरिन्छ। पुरातन इस्राएलमा अहिलेको जस्ता झ्यालखानाहरू नभए पनि अपराधीहरूलाई कुन हदसम्म सजाय दिने भन्‍ने नियमचाहिँ थियो। (व्यवस्था २५:१-३) एक जना चोरले आफूले चोरेको सामानको पूरा क्षतिपूर्ति तिर्नुपर्थ्यो। साथै त्यस चोरले जरिबाना पनि तिर्नुपर्थ्यो तर कति जरिबाना तिर्नुपर्छ भनेर चाहिँ तोकिएको थिएन। न्यायकर्ताहरूले त्यस चोरले पश्‍चात्ताप गरेको छ कि छैन भन्‍ने जस्ता कुराहरूको लेखाजोखा गरेर जरिबाना तोकिदिन्थे। त्यसैले लेवी ६:१-७ मा चोरले जति क्षतिपूर्ति तिर्नुपर्छ भनेर उल्लेख गरिएको छ, त्योभन्दा कैयौँ गुणा धेरै क्षतिपूर्ति तिर्नुपर्ने कुरा प्रस्थान २२:७ मा पाइन्छ।

१५. अनजानमै कसैको ज्यान लिने व्यक्‍तिले कसरी कृपा र न्याय पाउन सक्थ्यो?

१५ व्यवस्थाले कुनै-कुनै अपराध अनजानमै भएको हुन सक्छ भनेर पनि स्विकारेको थियो। उदाहरणको लागि, यदि कुनै मानिसले अनजानमै कसैको ज्यान लियो भने ऊ भागेर इस्राएलमा भएको कुनै एउटा शरणनगरमा जान सक्थ्यो। त्यसो गरेमा उसले ज्यानको साटो ज्यान दिनुपर्दैन थियो। त्यहाँ न्यायकर्ताहरूले त्यस मामिलाको जाँच गरेपछि ऊ प्रधानपुजारीको मृत्यु नभएसम्म त्यही शरणनगरमा बस्नुपर्थ्यो। त्यसपछि भने ऊ स्वतन्त्र हुन्थ्यो अनि आफूले चाहेको ठाउँमा बस्न पाउँथ्यो। यसरी उसले परमेश्‍वरको कृपा पाउन सक्थ्यो। साथै व्यवस्थाको यस नियमले मानिसको जीवन अनमोल छ भन्‍ने कुरालाई जोड दिन्थ्यो।—गन्ती १५:३०, ३१; ३५:१२-२५.

१६. व्यवस्थाले कसरी व्यक्‍तिविशेषको हकहितको रक्षा गर्थ्यो?

१६ व्यवस्थाले व्यक्‍तिविशेषको हकहितको पनि रक्षा गर्थ्यो। यसले ऋणीको हकहितको कसरी रक्षा गर्थ्यो, विचार गरौँ। ऋणदाता बन्धकी जफत गर्न ऋणीको घरमा जबरजस्ती पस्नु हुँदैन थियो। बरु ऋणीले कबुल गरेको सामान उसैले बाहिर नल्याएसम्म ऋणदाता घरबाहिरै पर्खेर बस्नुपर्थ्यो। यसरी ऋणीको घर सुरक्षित रहन्थ्यो। साथै ऋणदाताले ऋणीको ओढ्‌ने बन्धकी लियो भने उसले घाम अस्ताउनेबित्तिकै त्यो ओढ्‌ने फिर्ता गर्नुपर्थ्यो किनभने राती त्यस ऋणीलाई त्यसको खाँचो पर्न सक्थ्यो।—व्यवस्था २४:१०-१४.

१७, १८. युद्धको मामिलामा इस्राएल कसरी अरू राष्ट्रभन्दा फरक थियो? किन?

१७ व्यवस्थामा युद्धसम्बन्धी नियमहरू पनि दिइएको थियो। परमेश्‍वरका सेवकहरूले शक्‍तिको रवाफ देखाउन मात्र युद्ध लड्‌नु हुँदैनथ्यो। बरु “यहोवा परमेश्‍वरका युद्धहरू”-मा उहाँको प्रतिनिधि भएर लड्‌नुपर्थ्यो। (गन्ती २१:१४) धेरैजसो अवस्थामा इस्राएलीहरूले शत्रुहरूसामु आत्मसमर्पणको प्रस्ताव राख्नुपर्थ्यो। तिनीहरूले त्यसलाई अस्वीकार गरेको खण्डमा मात्र इस्राएलीहरूले सहरलाई घेराबन्दी गर्न सक्थे तर परमेश्‍वरको नियमअनुसारै। इतिहास हेर्ने हो भने सिपाहीहरूले शत्रु पक्षका स्त्रीहरूलाई बलात्कार गर्थे अनि अन्धाधुन्ध मारकाट मच्चाउँथे। तर इस्राएली सेनाले त्यसो गर्नु हुँदैनथ्यो। तिनीहरूले त्यहाँको वातावरणको पनि ख्याल राख्नुपर्थ्यो अनि फलका रूखहरू ढाल्नु हुँदैनथ्यो। d तर अरू राष्ट्रका सेनाहरूलाई त्यस्तो बन्देज लगाइएको थिएन।—व्यवस्था २०:१०-१५, १९, २०; २१:१०-१३.

१८ केही देशमा साना केटाकेटीलाई सेनामा भर्ती हुन तालिम दिइन्छ भन्‍ने कुरा सुन्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँलाई यो कुरा पक्कै चित्त बुझ्दैन। पुरातन इस्राएलमा २० वर्षमुनिको कुनै पनि पुरुष सेनामा भर्ती हुन मिल्दैन थियो। (गन्ती १:२, ३) साथै कुनै वयस्क पुरुष डरपोक भएमा ऊ सेनामा भर्ती हुनु पर्दैनथ्यो। त्यति मात्र होइन, भर्खरै विवाह गरेको पुरुष पूरै एक वर्ष घरमै बस्न पाउँथ्यो। उसले यस्तो जोखिमपूर्ण सेवा सुरु गर्नुअघि आफ्नो उत्तराधिकारीको अनुहार हेर्न पाओस्‌ भनेर यस्तो प्रबन्ध मिलाइएको थियो। व्यवस्थाको यस्तो नियमले गर्दा भर्खरै विवाह गरेको पुरुषले “आफ्नी पत्नीलाई खुसी” बनाउन सक्थ्यो।—व्यवस्था २०:५, ६, ८; २४:५.

१९. व्यवस्थामा स्त्री, केटाकेटी, परिवार, विधवा र अनाथको लागि कस्तो प्रबन्ध मिलाइएको थियो?

१९ व्यवस्थाले स्त्री, केटाकेटी र परिवारको रक्षा गर्थ्यो अनि यसमा उनीहरूको हेरविचारको लागि प्रबन्ध मिलाइएको थियो। साथै यसमा आमाबुबालाई छोराछोरीको हेरविचार गर्न र तिनीहरूलाई आध्यात्मिक कुराहरू सिकाउन आज्ञा दिइएको थियो। (व्यवस्था ६:६, ७) यसले सबै किसिमको हाडनाता करणीलाई निषेध गरेको थियो र यो नियम तोड्‌नेहरूले मृत्युदण्डको सजाय पाउँथे। (लेवी अध्याय १८) यसले व्यभिचारलाई पनि निषेध गरेको थियो किनभने व्यभिचारले गर्दा परिवार टुक्रिन्छ, परिवारका सदस्यहरू सुरक्षित हुँदैनन्‌ र तिनीहरूको इज्जतमा दाग लाग्छ। व्यवस्थामा विधवा र अनाथहरूको लागि पनि केही प्रबन्ध मिलाइएको थियो र तिनीहरूलाई दुर्व्यवहार गर्ने कुराको घोर भर्त्सना गरिएको थियो।—प्रस्थान २०:१४; २२:२२-२४.

२०, २१. (क) मोसाको व्यवस्थाले किन इस्राएलीहरूलाई बहुविवाह गर्ने अनुमति दियो? (ख) सम्बन्धविच्छेदको सन्दर्भमा मोसाको व्यवस्था किन येसुले पुनर्स्थापित गर्नुभएको स्तरभन्दा फरक थियो?

२० तर कसै-कसैलाई लाग्ला, ‘व्यवस्थाले किन बहुविवाह गर्ने अनुमति दियो?’ (व्यवस्था २१:१५-१७) यस्ता नियमहरूलाई त्यतिबेलाकै परिपाटीसित तुलना गरेर हेर्नुपर्छ। हामीले मोसाको व्यवस्थालाई आधुनिक परिपाटीसित तुलना गऱ्‍यौँ भने गलत निष्कर्षमा पुग्न सक्छौँ। (हितोपदेश १८:१३) यहोवाले अदनको बगैँचामा विवाह एक पुरुष र एक स्त्रीबीच मात्र हुनुपर्छ भन्‍ने स्तर तोकिदिनुभएको थियो। (उत्पत्ति २:१८, २०-२४) उहाँले इस्राएलीहरूलाई व्यवस्था दिनुभएको समयमा बहुविवाह प्रचलनमा आएको शताब्दियौँ बितिसकेको थियो। उहाँलाई आफ्ना “हठी मानिसहरू” मूर्तिपूजादेखि अलग रहने जस्ता साधारण आज्ञाहरू पालन गर्न पनि बारम्बार चुक्नेछन्‌ भन्‍ने कुरा राम्ररी थाह थियो। (प्रस्थान ३२:९) त्यसैले उहाँले त्यस समयलाई विवाहसम्बन्धी सम्पूर्ण कुरीति सुधार्ने उचित समय ठान्‍नुभएन। यहोवाले बहुविवाहको सुरुवात गर्नुभएको थिएन भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। तर उहाँले यस चलनको दुरुपयोग नहोस्‌ भनेर बहुविवाह गर्नेहरूको लागि मोसाको व्यवस्थामा केही नियम तोकिदिनुभयो।

२१ त्यसैगरि मोसाको व्यवस्थाले पुरुषलाई विभिन्‍न गम्भीर कारणहरूको आधारमा आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्ने अनुमति दिएको थियो। (व्यवस्था २४:१-४) यहुदीहरूको “हृदय कठोर भएकोले” यहोवाले त्यस्तो छुट दिनुभएको हो भनेर येसुले बताउनुभयो। तर यो अस्थायी प्रबन्ध थियो। येसुले विवाहसम्बन्धी यहोवाको सुरुको स्तर पुनर्स्थापित गर्नुभयो र उहाँका चेलाहरूले त्यो पालन गर्नुपर्थ्यो।—मत्ति १९:८.

प्रेमलाई जोड दिने व्यवस्था

२२. मोसाको व्यवस्थाले कुन-कुन तरिकामा प्रेमलाई जोड दिएको थियो? इस्राएलीहरूले क-कसलाई प्रेम देखाउनुपर्थ्यो?

२२ के तपाईँले आधुनिक समयको कुनै कानुन-व्यवस्थाले प्रेमलाई जोड दिएको सुन्‍नुभएको छ? मोसाको व्यवस्थाले सबैभन्दा धेरै जोड दिएको कुरा प्रेम नै थियो। त्यसैले व्यवस्थाको किताबमा “प्रेम” र यस शब्दका विभिन्‍न रूप २० पटकभन्दा धेरै उल्लेख गरिनु अचम्मलाग्दो कुरा होइन। व्यवस्थाको दोस्रो सबैभन्दा ठूलो आज्ञा यो थियो: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (लेवी १९:१८; मत्ति २२:३७-४०) परमेश्‍वरका सेवकहरूले यस्तो प्रेम आफ्ना दाजुभाइलाई मात्र होइन तर तिनीहरूमाझ भएका विदेशीहरूलाई पनि देखाउनुपर्थ्यो किनभने तिनीहरू आफै पनि कुनै समय मिश्रमा विदेशी थिए। तिनीहरूले गरिब र थिचोमिचोमा परेकाहरूलाई भौतिक सहयोग गरेर अनि तिनीहरूबाट नाजायज फाइदा नउठाएर प्रेम देखाउन सक्थे। साथै तिनीहरूले खनजोत गर्ने र भारी बोक्ने काममा लगाइने जनावरहरूलाई समेत दया देखाउनुपर्थ्यो।—प्रस्थान २३:६; लेवी १९:१४, ३३, ३४; व्यवस्था २२:४, १०; २४:१७, १८.

२३. भजन ११९ का रचयिता के गर्न कटिबद्ध थिए? हामीले पनि कस्तो सङ्‌कल्प गर्नुपर्छ?

२३ के आज कुनै राष्ट्रले यस्तो किसिमको कानुन-व्यवस्था पाएको छ र? पक्कै छैन। त्यसैले भजनरचयिताले यस्तो लेख्नु अचम्मलाग्दो कुरा होइन: “म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!” तिनको प्रेम भावनामा मात्र सीमित थिएन। त्यसले तिनलाई कदम चाल्न पनि उत्प्रेरित गऱ्‍यो। तिनी व्यवस्था पालन गर्न र त्यसअनुसार जीवन बिताउन कटिबद्ध थिए। तिनले यसो पनि भने: “सारा दिन म त्यसैमा डुबिरहन्छु।” (भजन ११९:११, ९७) हो, तिनले नियमित रूपमा परमेश्‍वरको व्यवस्था अध्ययन गर्न समय निकाले। यसो गर्दा परमेश्‍वरको व्यवस्थाप्रतिको र त्यो व्यवस्था दिनुहुने यहोवा परमेश्‍वरप्रतिको तिनको प्रेम पक्कै बढ्यो। परमेश्‍वरको वचन नियमित रूपमा अध्ययन गर्दै जाँदा महान्‌ कानुनदाता र न्यायका परमेश्‍वर यहोवासितको तपाईँको सम्बन्ध पनि बलियो हुँदै जाओस्‌!

a उदाहरणको लागि, दिसा बसिसकेपछि पुर्नुपर्ने, बिरामीलाई अलग्गै राख्नुपर्ने अनि लास वा सिनु छोएपछि आफूलाई चोख्याउनुपर्ने जस्ता नियमहरू इस्राएलीहरूलाई व्यवस्थामा पहिल्यै दिइएको थियो, जबकि यस्ता नियमहरूको फाइदा मानिसहरूले बल्ल अहिले बुझ्दै छन्‌।—लेवी १३:४-८; गन्ती १९:११-१३, १७-१९; व्यवस्था २३:१३, १४.

b कनानका मन्दिरहरूमा यौन क्रियाकलापको लागि कोठाहरू हुन्थे। तर मोसाको व्यवस्थाले भने अशुद्ध अवस्थामा भएका मानिसहरूलाई मन्दिरमा प्रवेश गर्न समेत निषेध गरेको थियो। यौनसम्बन्ध राख्ने पुरुष र स्त्री केही समयको लागि अशुद्ध हुने भएकोले यौनसम्बन्धलाई यहोवाको मन्दिरमा चढाइने उपासनाको भाग बनाउनु व्यवस्थाविपरीत थियो।

c व्यवस्थाको मुख्य उद्देश्‍य मानिसहरूलाई सिकाउनु थियो। यहुदी विश्‍वकोश-अनुसार (अङ्‌ग्रेजी) “व्यवस्था” भनेर अनुवाद गरिएको हिब्रू शब्द तोरह-को अर्थ “निर्देशन” हो।

d यसबारे व्यवस्थामा यस्तो प्रश्‍न सोधिएको थियो: “के मैदानका रूखहरू मानिस हुन्‌ र, जसलाई तिमीहरू घेरेर नाश गर्छौ?” (व्यवस्था २०:१९) प्रथम शताब्दीका यहुदी विद्वान्‌ फाइलोले यस नियमबारे उल्लेख गर्दै परमेश्‍वरको नजरमा “मानिसप्रतिको रिस कुनै चिजबिजमाथि पोखाउनु अन्यायपूर्ण कुरा हो” भनेर बताए।