सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राक्कथन

प्राक्कथन

प्रिय पाठक,

के तपाईँलाई आफू परमेश्‍वरसित नजिक छु जस्तो लाग्छ? धेरैलाई लाग्दैन। कसै-कसैलाई परमेश्‍वर धेरै टाढा हुनुभएकोले उहाँसित सम्बन्ध गाँस्न असम्भव लाग्छ। कोही-कोहीचाहिँ आफू परमेश्‍वरसित कदापि घनिष्ठ हुन सक्दिनँ भन्ठान्छन्‌। तर बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यहोवाले आफ्ना उपासकहरूलाई यस्तो आश्‍वासन पनि दिनुभएको छ: “म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु। म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’”—यसैया ४१:१३.

हामी कसरी परमेश्‍वरसित यस्तो घनिष्ठ सम्बन्ध विकास गर्न सक्छौँ? कसैसित मित्रता गाँस्न हामीले सुरुमा तिनलाई चिन्‍नुपर्छ, तिनको व्यक्‍तित्व, गुणहरू र तौरतरिकाबारे थाह पाउनुपर्छ अनि त्यसको कदर गर्नुपर्छ। त्यसैगरि परमेश्‍वरसित मित्रता गाँस्न बाइबलमा उहाँका गुणहरू र तौरतरिकाबारे जे-जति बताइएको छ, त्यसबारे हामीले गहिरिएर अध्ययन गर्नै पर्छ। यहोवाले आफ्ना प्रत्येक गुण कसरी प्रकट गर्नुभएको छ, येसु ख्रिष्टले ती गुणहरू कसरी हुबहु झल्काउनुभयो र हामी पनि कसरी झल्काउन सक्छौँ भनेर मनन गर्दा परमेश्‍वरसित नजिक हुनेछौँ। यहोवा न्यायी हुनुहुन्छ र उहाँ मात्र ब्रह्‍माण्डमा शासन गर्न योग्य हुनुहुन्छ भन्‍ने कुरा पनि बुझ्नेछौँ। हो, यहोवा हामी सबैको बुबा हुनुहुन्छ। उहाँ शक्‍तिशाली, न्यायी, बुद्धिमान्‌ र मायालु हुनुहुन्छ। त्यसैले उहाँले आफ्ना वफादार छोराछोरीलाई कहिल्यै त्याग्नुहुन्‍न।

हामी कामना गर्छौँ, यस किताबले तपाईँलाई यहोवा परमेश्‍वरसित अटुट सम्बन्ध गाँस्न मदत गर्नेछ, जसले गर्दा तपाईँले सधैँभरि उहाँको प्रशंसा गर्दै जीवनको आनन्द उठाउन सक्नुहुनेछ।

प्रकाशकहरू