सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २३

“पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”

“पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”

१-३. इतिहासमा येसुको मृत्यु उल्लेखनीय हुनुको कारण के-के हुन्‌?

 घटना करिब २,००० वर्षअघि वसन्त ऋतुको हो। एक जना निर्दोष मानिसमाथि मुद्दा चलाइन्छ। आफूले गर्दै नगरेको अपराधको लागि तिनलाई दोषी ठहर गरिन्छ र तड्‌पाई-तड्‌पाई मारिन्छ। दुःखको कुरा, त्यो इतिहासको सबैभन्दा पहिलो क्रुर र अन्यायपूर्ण मृत्युदण्ड त थिएन अनि त्यो नै अन्तिम पनि हुने थिएन। तर त्यस व्यक्‍तिको मृत्युले सबैको लागि ठूलो अर्थ राख्छ।

ती मानिसले आफ्नो जीवनको अन्तिम घडीतिर असह्‍य पीडा भोगिरहेको बेला आकाशमा देखिएको चिन्हले उक्‍त घटना कत्ति उल्लेखनीय थियो भन्‍ने कुराको प्रमाण दियो। मध्यदिनमै देशभरि अन्धकार छायो। एक जना इतिहासकारले बताएअनुसार “घामले उज्यालो दिएन।” (लुका २३:४४, ४५) तिनले अन्तिम सास लिनुभन्दा ठीकअघि यस्तो अविस्मरणीय कुरा व्यक्‍त गरे: “सबै पूरा भयो!” तिनले आफ्नो ज्यान दिएर पूरा गरेको काम साँच्चै उल्लेखनीय छ। तिनको बलिदान प्रेमको सर्वोत्कृष्ट अभिव्यक्‍ति हो र यस्तो प्रेम कुनै पनि मानिसले कहिल्यै देखाउन सक्दैन।—युहन्‍ना १५:१३; १९:३०.

उक्‍त मानिस अरू कोही नभई येसु हुनुहुन्थ्यो। त्यो अन्धकारमय दिन अर्थात्‌ इस्वी संवत्‌ ३३, नीसान १४ मा उहाँले भोग्नुभएको पीडा र मृत्युबारे धेरैलाई थाह छ। तर मानिसहरू अक्सर एउटा महत्त्वपूर्ण तथ्यलाई बेवास्ता गर्छन्‌। हुनत येसुले त्यो दिन धेरै पीडा भोग्नुपऱ्‍यो तर अर्को एक जना व्यक्‍तिले उहाँले भन्दा असह्‍य पीडा महसुस गर्नुभएको थियो। वास्तवमा त्यो दिन ती व्यक्‍तिले येसुले भन्दा अझ ठूलो त्याग गर्नुभएको थियो। त्यो यस ब्रह्‍माण्डमा कुनै पनि व्यक्‍तिले कहिल्यै देखाउन नसक्ने प्रेमको सर्वोत्कृष्ट अभिव्यक्‍ति थियो। ती व्यक्‍ति स्वयम्‌ यहोवा हुनुहुन्थ्यो। आउनुहोस्‌, हामी सबैभन्दा महत्त्वपूर्ण विषय अर्थात्‌ यहोवाको प्रेमबारे चर्चा गरौँ।

प्रेमको सर्वोत्कृष्ट अभिव्यक्‍ति

४. येसु साधारण मानिस हुनुहुन्‍न थियो भनेर एक जना रोमी सैनिकले कसरी बुझे? तिनी कस्तो निष्कर्षमा पुगे?

येसुलाई मृत्युदण्डको सजाय सुनाइएपछि त्यस कामको निरीक्षण गर्न एक जना रोमी सैनिक अफिसरलाई खटाइएको थियो। उहाँको मृत्यु हुनुअघि चारैतिर अन्धकार छाएको र मृत्युपछि भूकम्प गएको देखेर तिनी अक्क न बक्क परे अनि यसो भने: “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।” (मत्ति २७:५४) स्पष्ट छ, येसु कुनै साधारण मानिस हुनुहुन्‍न थियो। त्यस अफिसरले भर्खरै मात्र जुन मानिसको मृत्युदण्डमा सघाएका थिए, वास्तवमा ती व्यक्‍ति सर्वोच्च परमेश्‍वर यहोवाको एक मात्र छोरा हुनुहुन्थ्यो। यहोवाको लागि ती छोरा कत्तिको प्यारो हुनुहुन्थ्यो?

५. यहोवा र येसुले स्वर्गमा सँगै बिताउनुभएको समयबारे थाह पाउन कुन उदाहरणले मदत गर्छ?

बाइबलमा येसुलाई “सारा सृष्टिको पहिलो सन्तान” भनिएको छ। (कलस्सी १:१५) यो कुरा विचार गर्नुहोस्‌, यहोवाको छोरा यो भौतिक ब्रह्‍माण्ड अस्तित्वमा आउनुअघिदेखि नै हुनुहुन्थ्यो। त्यसोभए बुबा र छोरा कहिलेदेखि सँगै हुन्थ्यो? केही वैज्ञानिकको अनुमानअनुसार यो ब्रह्‍माण्ड १३ अरब वर्षदेखि अस्तित्वमा छ। त्यस समयावधिलाई सङ्‌केत गर्न एउटा प्लानेटेरियमको (आकाशीय पिण्डहरूको गतिशील आकृति देखाइने गुम्बज आकारको भवन) भित्तामा ११० मिटरजति लामो समयरेखा बनाइएको छ। त्यहाँ घुम्न आउनेहरूले त्यो समयरेखा हेर्दै जाँदा तिनीहरूले चाल्ने प्रत्येक पाइलाले ब्रह्‍माण्ड अस्तित्वमा आएको ७ करोड ५० लाख वर्षलाई ढाक्छ। समयरेखाको अन्ततिर सम्पूर्ण मानव इतिहासलाई सङ्‌केत गर्न एउटा सानो रेखा कोरिएको छ, जुन मानिसको कपालको एउटा रेसाजति मात्र बाक्लो छ। यस अनुमानलाई सही नै मान्‍ने हो भने पनि त्यो पूरै समयरेखाले यहोवाको छोरा अस्तित्वमा आउनुभएको समयलाई ढाक्न सक्दैन। युगौँयुगको त्यस समयावधिमा उहाँले कुन काम गर्नुभयो?

६. (क) पृथ्वीमा जन्मनुअघि यहोवाको छोरा कुन काममा व्यस्त हुनुहुन्थ्यो? (ख) बुबा र छोराबीचको बन्धन कस्तो छ?

येसुले खुसीसाथ आफ्नो बुबाको “मुख्य कारिगरको” रूपमा काम गर्नुभयो। (हितोपदेश ८:३०) बाइबल भन्छ: “उहाँविना [छोराविना] एउटै थोक पनि अस्तित्वमा आएन।” (युहन्‍ना १:३) त्यसैले सम्पूर्ण कुरा सृष्टि गर्न उहाँहरूले सँगै मिलेर काम गर्नुभयो। उहाँहरूले एकअर्कासित पक्कै पनि रमाइलो समय बिताउनुभयो! आमाबुबा र छोराछोरीबीचको सम्बन्ध प्रगाढ हुन्छ भन्‍ने कुरामा दुई मत छैन किनकि प्रेम “मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।” (कलस्सी ३:१४) त्यसैले यति लामो समयावधिको दौडान यहोवा र येसुबीचको सम्बन्ध कत्ति बलियो भयो होला, त्यो हामी कल्पना पनि गर्न सक्दैनौँ। स्पष्ट छ, यहोवा परमेश्‍वर र उहाँको छोराबीचको प्रेमको बन्धन यस ब्रह्‍माण्डकै सबैभन्दा अटुट बन्धन हो।

७. येसुले बप्तिस्मा गर्नुहुँदा यहोवाले आफ्नो भावना कसरी व्यक्‍त गर्नुभयो?

बुबा यहोवाले आफ्नो छोरा येसुलाई मानिसको रूपमा जन्मन पृथ्वीमा पठाउनुभयो। यसले गर्दा उहाँ आफ्नो छोरासित केही दशकको लागि छुट्टिनुपऱ्‍यो। तर आफ्नो छोरा एक त्रुटिरहित मानिसको रूपमा हुर्कँदै गएको उहाँले स्वर्गबाट नियाल्नुभयो। लगभग ३० वर्षको उमेरमा येसुले बप्तिस्मा गर्नुभयो। त्यतिबेला यहोवालाई कस्तो लागेको थियो भनेर हामी सबैलाई थाह छ। बुबाले स्वर्गबाट यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” (मत्ति ३:१७) येसुले आफूबारे गरिएका सबै भविष्यवाणी र आफूलाई दिइएका सबै काम वफादार भई पूरा गरेको देख्नुहुँदा यहोवालाई पक्कै पनि धेरै खुसी लागेको हुनुपर्छ।—युहन्‍ना ५:३६; १७:४.

८, ९. (क) इस्वी संवत्‌ ३३, नीसान १४ मा येसुले कस्तो पीडा भोग्नुभयो? यी सब हुँदा उहाँको बुबालाई कस्तो लाग्यो? (ख) यहोवाले किन आफ्नो छोरालाई दुःख भोग्न र मर्न पठाउनुभयो?

इस्वी संवत्‌ ३३, नीसान १४ को रात येसुलाई धोका दिइयो र गिरफ्तार गरियो। उहाँका साथीहरूले उहाँलाई छोडेर भागे र गैरकानुनी रूपमा उहाँमाथि मुद्दा चलाइयो। उहाँको गिल्ला गरियो र अनुहारमा थुकियो। उहाँलाई मुड्‌कीले हिर्काइयो। पिठिउँमा बारम्बार कोर्रा हानिँदा उहाँको मासु छियाछिया भयो। हात र खुट्टामा किल्ला ठोकेर उहाँलाई काठको खम्बामा टाँगियो र अपमान गरियो। असह्‍य पीडाले छटपटाएर उहाँले आफ्नो बुबालाई ठूलो स्वरले गुहार्नुभयो अनि अन्तिम सास लिनुभयो। इतिहासमै पहिलोचोटि यहोवाको प्यारो छोरा अस्तित्वविहीन हुनुभयो। स्वर्गबाट यी सब हेरिरहनुहुँदा उहाँलाई कत्ति पीडा भयो होला, कल्पना गर्नुहोस्‌ त।—मत्ति २६:१४-१६, ४६, ४७, ५६, ५९, ६७; २७:३८-४४, ४६; युहन्‍ना १९:१.

यहोवा भावना भएको बुबा हुनुभएकोले आफ्नै आँखाअगाडि एक मात्र प्यारो छोरा तड्‌पी-तड्‌पी मरेको देख्नुपर्दा उहाँलाई कत्ति पीडा भएको थियो होला, हामी शब्दमा बयानै गर्न सक्दैनौँ। तर उहाँले किन यी सब हुन दिनुभयो, त्योचाहिँ बुझ्न सक्छौँ। उहाँ आफ्नो छोरालाई बचाउन पक्कै केही गर्न त सक्नुहुन्थ्यो। तैपनि उहाँ किन त्यस्तो पीडा सहन तयार हुनुभयो? युहन्‍ना ३:१६ मा एउटा मन छुने कुरा बताइएको छ। यो पद असाध्यै महत्त्वपूर्ण भएकोले यसलाई सुसमाचारका पुस्तकहरूको सार भनिन्छ। त्यहाँ यस्तो लेखिएको छ: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” यहोवाले किन यी सब हुन दिनुभयो भनेर बयान गर्न एउटै शब्द काफी छ। त्यो हो, प्रेम। उहाँले आफ्नो छोरालाई हाम्रो लागि दुःख भोग्न र मर्न पठाउनुभयो। यो नै उहाँको प्रेमको सर्वोत्कृष्ट अभिव्यक्‍ति हो।

“परमेश्‍वरले . . . आफ्नो एक मात्र छोरा दिनुभयो”

परमेश्‍वरको प्रेमको परिभाषा

१०. मानिसको आवश्‍यकता के हो? “प्रेम” साँचो अर्थ बुझ्न किन गाह्रो छ?

१० “प्रेम” शब्दको अर्थ के हो? भनिन्छ, प्रेम मानिसको सबैभन्दा ठूलो आवश्‍यकता हो। जन्मेदेखि मृत्युसम्मै मानिसमा प्रेम पाउने प्रबल चाहना हुन्छ अनि प्रेम पाएको महसुस हुँदा तिनीहरू बोटबिरुवाजस्तै फस्टाउँछन्‌। तर प्रेम नपाउँदा भने तिनीहरू बिस्तारै ओइलाउँदै जान्छन्‌ र अन्ततः मर्छन्‌। तर अचम्मलाग्दो कुरा, प्रेमको परिभाषा दिन एकदमै गाह्रो छ। मानिसहरू प्रेमबारे धेरै कुरा गर्छन्‌। प्रेमको विषयमा अनगिन्ती किताब, गीत र कविता रचिएका छन्‌। तैपनि तिनीहरूले प्रेमको वास्तविक अर्थ खुलाउन सकेका छैनन्‌। यो शब्द एकदमै धेरै प्रयोग हुने भएकोले यसको साँचो अर्थ नै ओझेलमा परेजस्तो देखिन्छ।

११, १२. (क) प्रेमको साँचो परिभाषा केले दिन्छ र किन? (ख) पुरातन ग्रीक भाषामा कस्तो किसिमको प्रेमबारे चर्चा गरिएको पाइन्छ? ग्रीक धर्मशास्त्रमा “प्रेम”-को लागि अक्सर कुन शब्द धेरै प्रयोग गरिएको छ? (फुटनोट पनि हेर्नुहोस्‌।) (ग) बाइबलमा प्रयोग गरिएको अगापे शब्दको अर्थ के हो?

११ तर बाइबलले प्रेमको साँचो परिभाषा दिन्छ। नयाँ नियमका शब्दहरूको व्याख्यात्मक शब्दकोश-मा (अङ्‌ग्रेजी) यस्तो लेखिएको छ: “प्रेमले उत्प्रेरित भई गरिने कामबाट मात्र प्रेम प्रकट हुन्छ।” बाइबलमा उल्लेख गरिएका यहोवाका कामहरूबाट उहाँको प्रेमबारे अर्थात्‌ सृष्टिप्रति उहाँको अपार स्नेहबारे धेरै कुरा सिक्न सक्छौँ। उदाहरणको लागि, उहाँले आफ्नो छोरालाई हाम्रो लागि ज्यान दिन पठाउनुभएर प्रेमको सबैभन्दा राम्रो परिभाषा दिनुभएको छ। यसपछिका अध्यायहरूमा यहोवाले कामद्वारा प्रेम देखाउनुभएको केही उदाहरण विचार गर्नेछौँ। साथै बाइबलमा “प्रेम”-को लागि चलाइएका मौलिक शब्दहरू केलाएर यस गुणबारे धेरै कुरा बुझ्नेछौँ। पुरातन ग्रीक भाषामा “प्रेम”-को लागि चार वटा शब्द चलाइन्थ्यो। a तीमध्ये ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा अगापे भन्‍ने शब्द धेरै चोटि प्रयोग गरिएको छ। एउटा बाइबल शब्दकोशअनुसार “प्रेम के हो भनेर बुझाउने योजत्तिको सशक्‍त शब्द अरू कुनै छैन।” किन?

१२ बाइबलमा प्रयोग गरिएको अगापे शब्दले सिद्धान्तमा बाँधिएर गरिने प्रेमलाई बुझाउँछ। तर यसको मतलब यो कसैले भनेको वा गरेको कुराको आधारमा भावनामा बहेर उसलाई देखाउने प्रेम होइन। बरु अगापे प्रेमले धेरै कुरा समेट्‌छ। यस्तो प्रेम राम्ररी सोचविचार गरेर अनि स्वेच्छाले देखाइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, ख्रिष्टियन प्रेम निःस्वार्थ हुन्छ। उदाहरणको लागि, युहन्‍ना ३:१६ बारे फेरि विचार गर्नुहोस्‌। परमेश्‍वरले जुन “संसारलाई” धेरै प्रेम गर्नुभएर आफ्नो एक मात्र छोरा दिनुभयो, त्यो “संसार” के हो? उद्धार पाउन लायकका मानिसहरू। यसमा पापको मार्गमा हिँडिरहेका मानिसहरू पनि पर्छन्‌। के यहोवा ती प्रत्येक मानिसलाई विश्‍वासी पुरुष अब्राहामलाई जस्तै आफ्नो मित्र ठान्‍नुहुन्छ? (याकुब २:२३) त्यस्तो त होइन। तर उहाँ सबैको लागि भलाइको काम गर्नुहुन्छ, चाहे त्यसको लागि उहाँले जति नै मोल चुकाउनु किन नपरोस्‌। उहाँ सबैले पश्‍चाताप गरेर पापको मार्ग त्यागेको चाहनुहुन्छ। (२ पत्रुस ३:९) हुन पनि धेरैले त्यसो गरेका छन्‌। उहाँ तिनीहरूलाई खुसीसाथ आफ्नो मित्र ठान्‍नुहुन्छ।

१३, १४. ख्रिष्टियन प्रेममा अक्सर गहिरो स्नेह समावेश हुन्छ भनेर केले देखाउँछ?

१३ तर कसै-कसैले बाइबलमा प्रयोग गरिएको अगापे शब्दलाई गलत तरिकामा बुझेका छन्‌। तिनीहरूको विचारमा यस्तो प्रेममा कुनै भावना हुँदैन अनि यो मनबाट नभई दिमागबाट आउँछ। तर वास्तवमा ख्रिष्टियन प्रेममा अक्सर अरूप्रतिको गहिरो स्नेह समावेश हुन्छ। उदाहरणको लागि, युहन्‍नाले “बुबाले छोरालाई प्रेम गर्नुहुन्छ” भनेर लेख्दा तिनले अगापे शब्दको एउटा रूप प्रयोग गरे। त्यस प्रेममा गहिरो स्नेह समावेश छ भनेर किन भन्‍न सक्छौँ? येसुले “बुबाले छोरालाई माया गर्नुहुन्छ” भनेर बताउनुहुँदा फिलियो शब्दको एउटा रूप प्रयोग गर्नुभएको थियो। (युहन्‍ना ३:३५; ५:२०) त्यसैले यहोवाको प्रेममा अक्सर कोमल स्नेह समावेश हुन्छ। तर उहाँको प्रेम कहिल्यै भावनामा बहँदैन बरु सधैँ बुद्धि र न्यायोचित सिद्धान्तद्वारा डोरिएको हुन्छ।

१४ हामीले सिकेझैँ यहोवाका सबै गुण उत्तम, पूर्ण र मनमोहक छन्‌। तर हामीलाई यहोवातर्फ खिच्ने सबैभन्दा सशक्‍त गुण प्रेम हो। खुसीको कुरा, प्रेम नै उहाँको प्रमुख गुण हो। हामी किन त्यसो भन्‍न सक्छौँ?

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

१५. यहोवाको प्रेमबारे बाइबल के भन्छ? उक्‍त वाक्य संरचना किन रोचक छ? (फुटनोट हेर्नुहोस्‌।)

१५ बाइबलले परमेश्‍वरको प्रेमबारे एउटा यस्तो कुरा बताएको छ, जुन उहाँका अरू तीन मुख्य गुणबारे बताएको छैन। बाइबलमा परमेश्‍वर शक्‍ति हुनुहुन्छ वा परमेश्‍वर न्यायी हुनुहुन्छ अथवा परमेश्‍वर बुद्धि हुनुहुन्छ भनेर कतै पनि लेखिएको छैन। हो, उहाँमा यी गुणहरू छन्‌, उहाँ नै यी गुणहरूको स्रोत हुनुहुन्छ अनि यी गुणहरू देखाउने सन्दर्भमा उहाँको बराबरीमा कोही आउन सक्दैन। तर उहाँको चौथो गुणबारे बाइबलमा यस्तो रोचक कुरा बताइएको छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” b (१ युहन्‍ना ४:८) यसको अर्थ के हो?

१६-१८. (क) बाइबलमा किन “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनिएको छ? (ख) यहोवाको प्रेमलाई चित्रण गर्न मानिसलाई नै रोजिनु किन उपयुक्‍त छ?

१६ “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍नुको अर्थ “परमेश्‍वर बराबर प्रेम हो” भन्‍ने त होइन। यस वाक्यलाई उल्टो बनाएर “प्रेम परमेश्‍वर हो” भन्‍न मिल्दैन किनकि परमेश्‍वर कुनै पनि निराकार गुणभन्दा कता हो कता श्रेष्ठ हुनुहुन्छ। उहाँ प्रेमलगायत अन्य थुप्रै गुण र भावना भएको व्यक्‍ति हुनुहुन्छ। तर प्रेम उहाँको अभिन्‍न भाग हो। एउटा स्रोतसामग्रीमा यस पदबारे यस्तो लेखिएको छ: “परमेश्‍वरको स्वभाव वा व्यक्‍तित्व नै प्रेम हो।” साधारणतया हामी यस भनाइलाई यसरी पनि बुझ्न सक्छौँ: यहोवाको शक्‍तिले उहाँलाई कुनै काम गर्न सक्षम बनाउँछ, न्याय र बुद्धिले उहाँको कामलाई डोऱ्‍याउँछ अनि प्रेमले भने उहाँलाई कदम चाल्न उत्प्रेरित गर्छ। उहाँले आफ्ना अन्य गुण देखाउनुहुँदा त्यसमा सधैँ उहाँको प्रेम झल्किन्छ।

१७ यहोवा प्रेमको मूर्तरूप हुनुहुन्छ भनेर हामी अक्सर सुन्‍ने गर्छौँ। त्यसैले सिद्धान्तमा बाँधिएर गरिने प्रेम अर्थात्‌ अगापे प्रेमबारे सिक्न चाहन्छौँ भने हामीले यहोवाबारे सिक्नै पर्छ। तर यो सुन्दर गुण मानिसजातिमा पनि छ। कसरी? यसको जवाफ यहोवाले सबै कुरा सृष्टि गर्नुहुँदा बताउनुभएको कुरामा पाइन्छ, जुन उहाँले आफ्नो छोरालाई भन्‍नुभएको हुनुपर्छ: “आऊ, मानिसलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ।” (उत्पत्ति १:२६) हो, पृथ्वीमा भएका सबै जीवजीवातमध्ये मानिसले मात्र प्रेम देखाउने सन्दर्भमा यहोवाको अनुकरण गर्न सक्छ। उहाँले आफ्ना मुख्य गुणहरूलाई चित्रण गर्न विभिन्‍न जीवहरूलाई चलाउनुभएको दर्शन तपाईँले सम्झनुभएको छ होला। तर उहाँले आफ्नो प्रमुख गुण प्रेमलाई चित्रण गर्न भने आफ्नो सबैभन्दा उत्कृष्ट सृष्टि मानिसलाई नै रोज्नुभयो।—इजकिएल १:१०.

१८ हामीले अरूलाई निःस्वार्थ र सिद्धान्तद्वारा डोरिएको प्रेम देखाउँछौँ भने यहोवाको प्रमुख गुण प्रेम झल्काइरहेका हुन्छौँ। प्रेषित युहन्‍नाले पनि यस्तो लेखे: “हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ युहन्‍ना ४:१९) तर यहोवाले कुन-कुन तरिकामा पहिला हामीलाई प्रेम गर्नुभयो?

पहिला यहोवाले नै कदम चाल्नुभयो

१९. यहोवालाई सबै थोक सृष्टि गर्न प्रेमले उत्प्रेरित गऱ्‍यो भनेर किन भन्‍न सकिन्छ?

१९ प्रेम कुनै नौलो कुरा होइन। सबै कुरा सृष्टि गर्न यहोवालाई केले उत्प्रेरित गरेको थियो? उहाँ एक्लो हुनुभएकोले र उहाँलाई साथी चाहिएकोले त पक्कै होइन किनकि उहाँमा कुनै कुराको कमी छैन। उहाँ आफैमा पूर्ण र आत्मनिर्भर हुनुहुन्छ। वास्तवमा उहाँको सक्रिय गुण प्रेमले नै उहाँलाई बौद्धिक जीवहरू सृष्टि गर्न उत्प्रेरित गऱ्‍यो ताकि तिनीहरूले पनि जीवनको आनन्द उठाउन सकून्‌। परमेश्‍वरको एक मात्र छोरा नै उहाँको “सृष्टिको सुरुवात” हुनुहुन्थ्यो। (प्रकाश ३:१४) उहाँले यी मुख्य कारिगरलाई चलाउनुभएर सुरुमा स्वर्गदूतहरू र अरू सबै थोक सृष्टि गर्नुभयो। (अय्युब ३८:४, ७; कलस्सी १:१६) यहोवाले यी शक्‍तिशाली अदृश्‍य जीवहरूलाई उपहारस्वरूप स्वतन्त्रता र बुद्धि दिनुभयो अनि तिनीहरूमा भावना हालिदिनुभयो। यसले गर्दा तिनीहरूले एकअर्कासित र विशेषगरि यहोवासित मायालु सम्बन्ध गाँस्न सके। (२ कोरिन्थी ३:१७) यसरी तिनीहरूले प्रेम गर्न सके किनकि पहिला यहोवाले तिनीहरूलाई प्रेम गर्नुभएको थियो।

२०, २१. आदम र हव्वाले यहोवाको प्रेमको कस्तो प्रमाण पाएका थिए? तर तिनीहरूले के गरे?

२० मानिसजातिबारे पनि त्यस्तै भन्‍न सकिन्छ। सुरुदेखि नै आदम र हव्वाको जीवनमा प्रेमको बहार छाएको थियो। तिनीहरूले आफ्नो सुन्दर घर अदनमा जताततै यहोवाको प्रेमको प्रमाण देख्न सक्थे। बाइबल यसो भन्छ: “यहोवा परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई त्यहाँ राख्नुभयो।” (उत्पत्ति २:८) के तपाईँ पनि कुनै सुन्दर बगैँचा वा पार्कमा जानुभएको छ? त्यहाँ तपाईँलाई कुन कुरा सबैभन्दा धेरै मन परेको थियो? सूर्यको किरण पातहरू छिचोल्दै आइरहेको दृश्‍य मन परेको थियो कि? गलैँचाजस्तै बिछिएका रङ्‌गीबिरङ्‌गी फूलहरू नि? खोलानालाको कलकल, चराचुरुङ्‌गीको चिरबिर र भमराहरूको भुनभुन आवाज चारैतिर गुञ्जिरहेको सुन्दा तपाईँलाई कस्तो लागेको थियो? रूखहरू, फलफूल र फूलहरूको मगमग बास्ना नि? तर मानिसले बनाएका कुनै पनि बगैँचा अदनको बगैँचाजत्तिको सुन्दर हुन सक्दैन। किन?

२१ किनकि त्यो बगैँचा यहोवा स्वयम्‌ले लगाउनुभएको थियो। त्यसको सौन्दर्य शब्दमा वर्णन गर्नै नसकिने खालको थियो। त्यहाँ किसिम-किसिमका रूखहरू थिए। ती रूखहरू मनै लोभ्याउने खालका थिए अनि मीठा-मीठा र रसिला फलहरू पनि दिन्थे। त्यो बगैँचा राम्ररी सिँचिएको, फराकिलो अनि जातजातका जीवजन्तुले भरिभराउ थियो। त्यहाँ आदम र हव्वासित आफ्नो जीवन सुखमय र सफल बनाउन चाहिने सबै कुरा थियो। तिनीहरूले सन्तोषजनक काम र सर्वगुण सम्पन्‍न जीवनसाथी पाएका थिए। यहोवाले पहिला तिनीहरूलाई प्रेम गर्नुभएको थियो। त्यसैले तिनीहरूसित उहाँलाई प्रेम गर्नुपर्ने हर कारण थियो। तर तिनीहरू त्यसो गर्नदेखि चुके। स्वर्गमा हुनुहुने आफ्नो बुबाप्रति आज्ञाकारी हुनुको साटो तिनीहरू स्वार्थी र विद्रोही भए।—उत्पत्ति, अध्याय २.

२२. यहोवाले अदनमा विद्रोह हुँदा देखाउनुभएको प्रतिक्रियाबाट उहाँ अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ भनेर कसरी देखियो?

२२ यो देख्दा यहोवालाई असाध्यै दुःख लाग्यो। तर के यस विद्रोहले गर्दा अपार प्रेमका खानी यहोवाको हृदय द्वेषभावले भरियो? त्यस्तो त भएन किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।” (भजन १३६:१) त्यसैले आदम र हव्वाका आज्ञाकारी सन्तानलाई पापबाट छुटकारा दिन उहाँले तुरुन्तै मायालु प्रबन्ध मिलाउनुभयो। हामीले सिकेझैँ त्यस प्रबन्धमा उहाँको प्यारो छोराको फिरौतीको बलिदान पनि समावेश छ र त्यो प्रबन्ध मिलाउन बुबाले ठूलो मोल चुकाउनुपरेको थियो।—१ युहन्‍ना ४:१०.

२३. यहोवा “आनन्दित परमेश्‍वर” हुनुको एउटा कारण के हो? अर्को अध्यायमा कुन महत्त्वपूर्ण प्रश्‍नबारे छलफल गरिनेछ?

२३ हो, यहोवाले सुरुदेखि नै आफै अग्रसर भएर मानिसजातिलाई प्रेम देखाइरहनुभएको छ। अनगिन्ती तरिकामा “पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।” जहाँ प्रेम हुन्छ, त्यहाँ शान्ति र आनन्द हुन्छ। त्यसैले यहोवालाई “आनन्दित परमेश्‍वर” भनिनु अचम्मलाग्दो कुरा होइन। (१ तिमोथि १:११) तर एउटा महत्त्वपूर्ण प्रश्‍न खडा हुन्छ: के यहोवा साँच्चै हामी प्रत्येकलाई प्रेम गर्नुहुन्छ? यसबारे अर्को अध्यायमा छलफल गर्नेछौँ।

a ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा अक्सर फिलियो क्रिया प्रयोग गरिएको छ र यसको अर्थ “कसैलाई स्नेह देखाउनु, कसैप्रति लगाब हुनु वा कसैलाई मन पराउनु (कुनै घनिष्ठ साथीप्रतिको भावना वा भ्रातृस्नेह)” हो। स्टोर्घी शब्दले परिवारका सदस्यहरूबीच हुने प्रेमलाई बुझाउँछ। दोस्रो तिमोथि ३:३ मा अन्तको दिनमा यस्तो प्रेमको अभाव हुनेछ भनेर बुझाउन यस शब्दको एउटा रूप प्रयोग गरिएको छ। इरोस पुरुष र स्त्रीबीच हुने रोमान्टिक प्रेम हो। हुनत बाइबलमा यस्तो किसिमको प्रेमबारे चर्चा गरिएको छ तर ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यो शब्द पाइँदैन।—हितोपदेश ५:१५-२०.

b अन्य बाइबल पदहरूमा पनि यस्तै किसिमको वाक्य संरचना प्रयोग गरिएको छ। उदाहरणको लागि, “परमेश्‍वर ज्योति हुनुहुन्छ” र “परमेश्‍वर भस्म गर्ने आगो हुनुहुन्छ।” (१ युहन्‍ना १:५; हिब्रू १२:२९) यी पदहरूमा परमेश्‍वरलाई प्रतीकात्मक अर्थमा कुनै भौतिक कुरासित तुलना गरिएको छ। यहोवा ज्योतिजस्तै हुनुहुन्छ किनकि उहाँ पवित्र र न्यायी हुनुहुन्छ अनि उहाँमा रतीभर “अन्धकार” वा अशुद्धता छैन। साथै उहाँसँग विनाश गर्ने शक्‍ति भएकोले उहाँलाई आगोसित तुलना गर्न सकिन्छ।