सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १७

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

१, २. यहोवाले सातौँ दिनको लागि कस्तो उद्देश्‍य राख्नुभएको थियो र यस दिनको सुरुमा यहोवाको बुद्धिको कसरी जाँच भयो?

 यहोवाले मानिसलगायत “आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो” र ती कुराहरूलाई “असाध्यै राम्रा” भन्‍नुभयो। (उत्पत्ति १:३१) तर पलभरमै सब बरबाद भयो! सृष्टिको छैटौँ दिनको सबैभन्दा सुन्दर र उत्कृष्ट सृष्टि मानिस एक्कासि महिमित अवस्थाबाट पतनतर्फ लाग्यो। सातौँ दिनको सुरुमा आदम र हव्वाले सैतानको कुरा सुनेर यहोवाको विद्रोह गरे। त्यसपछि तिनीहरू त्रुटिपूर्ण भए अनि पाप र मृत्युको दलदलमा फसे।

सातौँ दिनको लागि यहोवाले राख्नुभएको उद्देश्‍य विफल भएको जस्तो देखियो। त्यो दिन पनि छैटौँ दिनजस्तै हजारौँ वर्ष लामो हुने थियो। यहोवाले त्यस दिनलाई पवित्र घोषणा गर्नुभएको थियो। त्यस समयावधिमा पूरै पृथ्वी प्रमोदवन हुने थियो र त्रुटिरहित मानिसहरूले भरिने थियो। (उत्पत्ति १:२८; २:३) तर यस्तो विनाशकारी विद्रोहपछि के यहोवाको उद्देश्‍य पूरा हुने थियो? यसको लागि उहाँले के गर्नुहुने थियो? भर्खरै सृजना भएको यस परिस्थितिले गर्दा यहोवाको बुद्धिको जाँच हुने थियो, जुन सायद उहाँको बुद्धिको सबैभन्दा ठूलो जाँच थियो।

३, ४. (क) अदनको बगैँचाको विद्रोहपछि यहोवाले चाल्नुभएको कदम किन उहाँको बुद्धिको उत्कृष्ट उदाहरण हो? (ख) यहोवाको बुद्धिबारे अध्ययन गर्दा नम्रताले हामीलाई कुन सत्य मनमा राख्न उत्प्रेरित गर्छ?

यहोवाले तुरुन्तै कदम चाल्नुभयो। उहाँले अदनको बगैँचामा विद्रोहीहरूलाई सजाय सुनाउनुभयो अनि त्यही बेला सुन्दर भविष्यको सानो झलक पनि दिनुभयो। उहाँले भर्खरै भएको विद्रोहले निम्तिएको दुःखकष्ट हटाउने आफ्नो उद्देश्‍य प्रकट गर्नुभयो। (उत्पत्ति ३:१५) यहोवाले अदनको बगैँचामा राख्नुभएको त्यो उद्देश्‍य मानव इतिहासको हजारौँ वर्षको दौडान क्रमिक रूपमा प्रकट हुँदै आएको छ र अन्ततः भविष्यमा पूर्ण रूपमा पूरा हुनेछ। उहाँको त्यो उद्देश्‍य सरल तर निकै अर्थपूर्ण भएकोले बाइबल पाठकहरूले त्यसबारे अध्ययन र मनन गरेर धेरै लाभ उठाउन सक्छन्‌। साथै यहोवाको त्यो उद्देश्‍य पूरा हुँदा संसारबाट सबै किसिमको दुष्टता, पाप र मृत्यु नामेट हुनेछ अनि वफादार मानिसहरू त्रुटिरहित हुनेछन्‌। यी सबै कुरा सातौँ दिन अन्त हुनुअघि नै पूरा हुनेछ। जस्तोसुकै बाधा-अवरोध आए पनि यहोवाले पृथ्वी र मानिसजातिको लागि आफूले राखेको उद्देश्‍य ठीक समयमा नै पूरा गर्नुहुनेछ।

यहोवाको यस्तो बुद्धिबारे थाह पाउँदा हामीमा श्रद्धाभाव जाग्छ नि, होइन र? प्रेषित पावल यस्तो लेख्न उत्प्रेरित भए: ‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’ (रोमी ११:३३) यहोवाको यस गुणका विभिन्‍न पक्षबारे अध्ययन गर्दा नम्रताले हामीलाई यो सत्य मनमा राख्न उत्प्रेरित गर्छ: हामीले उहाँको अथाह बुद्धिबारे जति नै गहिरिएर अध्ययन गरे पनि त्यसको एकछेउ मात्र बुझेका हुन्छौँ। (अय्युब २६:१४) आउनुहोस्‌, सबैभन्दा पहिला हामीमा श्रद्धाभाव जगाउने यहोवाको यस गुणको परिभाषा विचार गरौँ।

परमेश्‍वरको बुद्धिको परिभाषा

५, ६. ज्ञान र बुद्धिबीच कस्तो सम्बन्ध छ अनि यहोवाको ज्ञान असीमित छ भनेर हामी किन भन्‍न सक्छौँ?

बुद्धि र ज्ञान एउटै कुरा होइन। कम्प्युटरमा धेरै कुराको ज्ञान भण्डार गर्ने क्षमता हुन्छ तर त्यस मेसिनसित बुद्धि छ भन्‍न त मिल्दैन। तैपनि ज्ञान र बुद्धि आपसमा सम्बन्धित छन्‌। (हितोपदेश १०:१४) उदाहरणको लागि, तपाईँलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएकोले उपचारको लागि बुद्धिमानी सल्लाह चाहिएको छ भने के तपाईँ त्यस उपचारबारे केही ज्ञानै नभएको वा थोरै मात्र ज्ञान भएको व्यक्‍तिसित सल्लाह लिनुहुन्छ र? पक्कै लिनुहुन्‍न। त्यसैले साँचो बुद्धि प्राप्त गर्न सही ज्ञान चाहिन्छ।

यहोवासित असीमित ज्ञान छ। उहाँ “युगयुगका महाराजा” हुनुभएकोले उहाँ मात्र सधैँ अस्तित्वमा हुनुहुन्छ। (प्रकाश १५:३) त्यसैले युगौँयुगको दौडान भएका सबै कुरा उहाँलाई थाह छ। बाइबल भन्छ: “यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्‌ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्‌ग छन्‌।” (हिब्रू ४:१३; हितोपदेश १५:३) उहाँ सृष्टिकर्ता हुनुभएकोले उहाँलाई सबै सृष्टिबारे राम्ररी थाह छ अनि उहाँले सृष्टिको सुरुदेखि नै मानिसजातिले गरिरहेको सबै काम देख्नुभएको छ। उहाँ प्रत्येक मानिसको हृदय जाँच्नुहुन्छ; मानिसको हृदयमा भएको कुनै पनि कुरा उहाँबाट लुक्न सक्दैन। (१ इतिहास २८:९) उहाँले हामीमा स्वतन्त्र इच्छा राखिदिनुभएकोले हामीले सही निर्णयहरू गरेको देख्दा उहाँलाई औधी खुसी लाग्छ। उहाँ “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुभएकोले धेरै जनाले एकै समयमा गरेको प्रार्थना सुन्‍न सक्नुहुन्छ। (भजन ६५:२) अर्को कुरा, यहोवाको स्मरणशक्‍ति अतुलनीय छ।

७, ८. यहोवा कसरी समझशक्‍ति र बुद्धि प्रकट गर्नुहुन्छ?

यहोवासित ज्ञान मात्र होइन, समझशक्‍ति पनि छ। उहाँ कुनै घटनाका विभिन्‍न तथ्यहरू आपसमा कसरी सम्बन्धित छन्‌ अनि सानो-सानो कुरा मिलेर कसरी सिङ्‌गो चित्र बनेको छ भन्‍ने कुरा ठम्याउन सक्नुहुन्छ। साथै उहाँ सही र गलत अनि महत्त्वपूर्ण र सामान्य कुराबीच फरक छुट्ट्याएर सही न्याय गर्न सक्नुहुन्छ। तर त्योभन्दा पनि ठूलो कुरा, उहाँ कुनै पनि मामिलालाई सतही रूपमा मात्र नहेरी त्यसको गहिराइसम्म पुग्न सक्नुहुन्छ, यहाँसम्म कि उहाँ मानिसको हृदयमा भएको कुरा पनि पढ्‌न सक्नुहुन्छ। (१ समुएल १६:७) त्यसैले यहोवाको समझशक्‍ति उहाँको ज्ञानभन्दा विशिष्ट छ तर उहाँको बुद्धिचाहिँ उहाँको ज्ञान र समझशक्‍तिभन्दा पनि उत्कृष्ट छ।

बुद्धि भनेको ज्ञान, सुझबुझ र समझशक्‍ति चलाउँदै कुनै काम पूरा गर्नु हो। “बुद्धि” भनेर अनुवाद गरिएको मूल भाषाका शब्दहरूको शाब्दिक अर्थ “प्रभावकारी तरिकामा काम गर्नु” वा “व्यावहारिक ज्ञान” भन्‍ने हुन्छ। त्यसैले यहोवाको बुद्धि केवल सिद्धान्तमा सीमित छैन। बरु यो व्यावहारिक छ अनि यसअनुसार चल्दा हामी सफल हुन्छौँ। यहोवासित असीमित ज्ञान र अतुलनीय समझशक्‍ति भएकोले उहाँ सधैँ सही निर्णयहरू गर्नुहुन्छ अनि ती निर्णयहरू सर्वोत्तम तरिकामा लागू गर्नुहुन्छ। यो नै साँचो बुद्धि हो! यहोवाको सन्दर्भमा पनि येसुले भन्‍नुभएको यो कुरा सत्य साबित भएको छ: “मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (मत्ति ११:१९) ब्रह्‍माण्डमा भएका यहोवाका सम्पूर्ण सृष्टिले उहाँको बुद्धिको अकाट्य प्रमाण दिन्छ।

यहोवाको बुद्धिको प्रमाण

९, १०. (क) यहोवाले कस्तो किसिमको बुद्धि प्रकट गर्नुभएको छ र कसरी? (ख) कोषले यहोवाको बुद्धिको प्रमाण कसरी दिन्छ?

के तपाईँ एक जना सिपालु कारिगरको सुन्दर-सुन्दर र उपयोगी कलाकृति देखेर दङ्‌ग पर्नुभएको छ? यस्तो बुद्धि देख्दा हामीलाई अचम्म लाग्छ। (प्रस्थान ३१:१-३) यस्तो बुद्धिको स्रोत स्वयम्‌ यहोवा हुनुहुन्छ। राजा दाउदले उहाँबारे यसो भने: “म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु। तपाईँका कामहरू आश्‍चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्‌, यो मलाई राम्ररी थाह छ।” (भजन १३९:१४) हामी मानव शरीरबारे जति धेरै बुझ्दै जान्छौँ, यहोवाको बुद्धि देखेर हामी त्यति नै अचम्ममा पर्छौँ।

१० एउटा उदाहरण विचार गरौँ। तपाईँको जीवनको सुरुवात तपाईँको आमाको डिम्ब र बुबाको शुक्रकीट निषेचन भएर बनेको एउटा कोषबाट भयो। त्यसपछि त्यो कोष विभाजन हुन थाल्यो अनि १,००० खरब कोष मिलेर तपाईँ बनिनुभयो। ती कोषहरू अति सूक्ष्म हुन्छन्‌। सामान्य आकारको १० हजारजति कोष सियोको टुप्पोमा नै अटाउँछ। तैपनि प्रत्येक कोषको संरचना एकदमै अचम्मलाग्दो हुन्छ। हाम्रो कोष मानिसले बनाएको कुनै पनि मेसिन वा कारखानाभन्दा निकै जटिल हुन्छ। वैज्ञानिकहरूअनुसार हाम्रो कोष पर्खालले घेरिएको सहरजस्तै हो। यसको भित्र छिर्ने र बाहिर निस्कने द्वारमा सिपाहीहरू तैनाथ हुन्छन्‌, यातायात र सञ्चारको राम्रो व्यवस्था हुन्छ, उर्जा पैदा गर्ने र सरसामान उत्पादन गर्ने कारखाना पनि हुन्छन्‌, फोहोर-मैलाको उचित व्यवस्थापन गर्ने र सुरक्षाको पनि राम्रो प्रबन्ध हुन्छ अनि यसको न्युक्लियसले केन्द्रीय सरकारको जस्तै काम गर्छ। यसबाहेक कोषले केही घण्टामै आफूजस्तै हुबहु कोष बनाउन सक्छ।

११, १२. (क) भ्रूणका कोषहरूको विभाजन हुँदै जाँदा ती फरक-फरक कोष बन्‍ने जानकारी केमा हुन्छ र यो कुरा भजन १३९:१६ सित कसरी मेल खान्छ? (ख) हामी ‘अचम्मलाग्दो तरिकामा बनिएका’ छौँ भनेर मानव मस्तिष्कले कसरी देखाउँछ?

११ सबै कोष एउटै किसिमका हुँदैनन्‌। भ्रूणका कोषहरूको विभाजन हुँदै जाँदा ती फरक-फरक कोष बन्छन्‌। जस्तै: स्नायु कोष, अस्थि कोष, मांसपेशी कोष, रक्‍त कोष र नेत्र कोष। कुन कोषले कस्तो किसिमको काम गर्ने भन्‍ने कुराको जानकारी कोषको डिएनए-मा हुन्छ, जसलाई कोषभित्र भएको आनुवंशिक रूपरेखाको “लाइब्रेरी” भन्‍न सकिन्छ। रोचक कुरा, दाउदले यहोवाको प्रेरणा पाएर यस्तो लेखे: “म भ्रूण छँदै तपाईँका आँखाहरूले मलाई देखेका थिए; मेरा अङ्‌गहरू बन्‍नुअघि नै ती कहिले बन्‍ने हुन्‌ भनेर तपाईँको पुस्तकमा लेखिएका थिए।”—भजन १३९:१६, फुटनोट।

१२ हाम्रो शरीरका कुनै-कुनै अङ्‌ग असाध्यै जटिल छन्‌। मानव मस्तिष्कलाई विचार गरौँ। कसै-कसैको भनाइअनुसार मानव मस्तिष्क ब्रह्‍माण्डकै सबैभन्दा जटिल वस्तु हो। मस्तिष्कमा १ खरबजति स्नायु कोष हुन्छन्‌, जुन सम्भवतः हाम्रो आकाशगङ्‌गा तारापुञ्जमा भएका ताराहरूको सङ्‌ख्याजति नै हो। ती प्रत्येक कोषबाट निस्किएका हजारौँ हाँगा अरू कोषहरूसित जोडिएका हुन्छन्‌। वैज्ञानिकहरूको भनाइअनुसार संसारभरिका सम्पूर्ण लाइब्रेरीमा भएको जानकारी हाम्रो मस्तिष्कमै अटाउन सक्छ अनि यसमा जानकारी सञ्चय गर्ने क्षमता कति छ भन्‍ने कुरा हामी अनुमान पनि लगाउन सक्दैनौँ। वैज्ञानिकहरूले “अचम्मलाग्दो तरिकामा बनिएको” यस अङ्‌गबारे अध्ययन गरेको दशकौँ भइसक्यो। तैपनि तिनीहरू यस अङ्‌गले कसरी काम गर्छ भन्‍ने कुरा पूर्ण रूपमा बुझ्न सकिँदैन भनेर स्विकार्छन्‌।

१३, १४. (क) कमिलाहरू र अन्य जीवजन्तुले आफूमा “सहज ज्ञान” भएको कसरी देखाउँछन्‌? यसबाट सृष्टिकर्ताबारे के थाह पाउन सक्छौँ? (ख) माकुराको जालोलगायत सृष्टिमा भएका अरू कुराहरू यहोवाले “आफ्नो बुद्धिले” बनाउनुभएको हो भनेर किन भन्‍न सक्छौँ?

१३ तर सृष्टिमा यहोवाको बुद्धिको प्रमाण दिने कुरा मानव शरीर मात्र त होइन। भजन १०४:२४ यसो भन्छ: “हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्‌! ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो। पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।” हाम्रो वरपर भएका सबै सृष्टिमा यहोवाको बुद्धि झल्किन्छ। “सहज ज्ञान” भएको कमिलालाई विचार गरौँ। (हितोपदेश ३०:२४) कमिलाको झुन्ड एकदमै व्यवस्थित हुन्छ। वस्तुभाउ पालेको जस्तै गरी कुनै-कुनै कमिलाले आफ्नो गुँडमा लाही किराहरू पाल्छन्‌ र ती किराहरूबाट आफूलाई चाहिने पोषण लिने गर्छन्‌। अरू कमिलाहरूले भने किसानी गर्छन्‌। तिनीहरू ढुसीको “फसल” लगाउँछन्‌ र कटनी गर्छन्‌। अरू थुप्रै जीवले पनि तिनीहरूमा भएको सहज ज्ञानले गर्दा अचम्मलाग्दा कामहरू गर्छन्‌। झिँगाको उड्‌ने क्षमता अचम्मलाग्दो हुन्छ र आधुनिक विमान बनाउने इन्जिनियरहरूले समेत यसको नक्कल गर्न सकेका छैनन्‌। त्यसैगरि बसाइँ सर्ने चराहरू आकाशका ताराहरू, पृथ्वीको चुम्बकीय क्षेत्र वा आफूसितै भएको एक किसिमको आन्तरिक नक्साको भरमा यात्रा गर्छन्‌। जीवशास्त्रीहरूले यी जीवजन्तुमा भएको अचम्मलाग्दो व्यवहारको अध्ययन गर्न वर्षौँवर्ष बिताउँछन्‌। यस्ता जीवजन्तुको सृष्टिकर्ता यहोवा झन्‌ कत्ति बुद्धिमान्‌ हुनुहुन्छ होला!

१४ वैज्ञानिकहरूले यहोवाको सृष्टिमा देखिने उहाँको बुद्धिबाट धेरै कुरा सिकेका छन्‌। तिनीहरूले सृष्टिमा भएका विभिन्‍न डिजाइनहरूको अध्ययन गरेर थुप्रै उपकरण बनाएका छन्‌। इन्जिनियरिङको यस क्षेत्रलाई बायोमिमेटिक्स भनिन्छ। उदाहरणको लागि, तपाईँले माकुराको जालोको सुन्दरता पक्कै याद गर्नुभएको होला। तर इन्जिनियरहरूले भने यसको सुन्दरतालाई मात्र नभई बनौटलाई पनि गहिरिएर नियाल्छन्‌। कमजोरजस्तो देखिने यसका रेसाहरू स्टिलको तारभन्दा बलियो हुन्छ अनि बुलेटप्रुफ ज्याकेटको धागोभन्दा मजबुत हुन्छ। माकुराको जालोलाई माछा मार्ने जालजत्रै ठूलो बनाउने हो भने त्यसले द्रुत गतिमा उडिरहेको हवाईजहाजलाई समेत रोक्न सक्छ। हो, यहोवाले यस्ता सबै कुरा “आफ्नो बुद्धिले” बनाउनुभएको हो।

पृथ्वीका जीवजन्तुमा “सहज ज्ञान” कसले राखिदिनुभयो?

पृथ्वीबाहिर यहोवाको बुद्धिको प्रमाण

१५, १६. (क) आकाशका ताराहरूले यहोवाको बुद्धिको कस्तो प्रमाण दिन्छ? (ख) स्वर्गदूतहरूको विशाल सेनाको सेनापतिको हैसियतमा यहोवाले कसरी आफ्नो बुद्धि प्रकट गर्नुभएको छ?

१५ यस ब्रह्‍माण्डमा भएका विभिन्‍न सृष्टिका कुराहरूमा यहोवाको बुद्धि झल्किन्छ। हामीले अध्याय ५ मा आकाशका ताराहरूबारे छलफल गरेका थियौँ। यहोवाले तोकिदिनुभएको आकाशका “नियम”-हरूमा उहाँको बुद्धि प्रस्टै झल्किन्छ। यस्ता नियमहरूले गर्दा नै ताराहरू आकाशमा जथाभाबी छरिएका छैनन्‌ बरु विभिन्‍न आकारका तारापुञ्जमा मिलेर बसेका छन्‌। ती तारापुञ्जहरू मिलेर तारापुञ्जीय गुच्छहरू बनेका छन्‌ र विभिन्‍न गुच्छहरू मिलेर अझ ठूलो गुच्छहरू बनेका छन्‌। (अय्युब ३८:३३) त्यसैले यहोवाले आकाशीय पिण्डहरूलाई “सेना” भन्‍नु एकदमै उपयुक्‍त छ। (यसैया ४०:२६) तर उहाँको बुद्धि अझ सशक्‍त ढङ्‌गमा झल्काउने अर्को एउटा सेना पनि छ।

१६ हामीले अध्याय ४ मा सिकेझैँ परमेश्‍वरलाई “सेनाहरूका यहोवा” भन्‍ने उपाधि दिइएको छ किनकि उहाँ करोडौँ-करोड स्वर्गदूतको विशाल सेनाको सेनापति हुनुहुन्छ। यो यहोवाको शक्‍तिको प्रमाण हो। तर यसमा उहाँको बुद्धि पनि कसरी झल्किएको छ? यो कुरा विचार गर्नुहोस्‌: यहोवा र येसु सधैँ काम गरिरहनुहुन्छ। (युहन्‍ना ५:१७) त्यसैले सर्वोच्च परमेश्‍वरका स्वर्गीय सेनाहरू पनि सधैँ व्यस्त हुन्छन्‌ भन्‍नु तार्किक छ। ती स्वर्गदूतहरू मानिसहरूभन्दा उच्च ओहदामा छन्‌ अनि मानिसहरूभन्दा बुद्धिमान्‌ र शक्‍तिशाली छन्‌। (हिब्रू १:७; २:७) यहोवाले ती सबै स्वर्गदूतलाई अर्थपूर्ण काम दिनुभएको छ। तिनीहरू आनन्दित भई अरबौँ वर्षदेखि “उहाँको आदेश पालन” गरिरहेका छन्‌ र “उहाँको इच्छा पूरा” गरिरहेका छन्‌। (भजन १०३:२०, २१) यी सबै स्वर्गदूतलाई व्यवस्थित पार्नुहुने प्रशासक यहोवा पक्कै पनि धेरै बुद्धिमान्‌ हुनुहुन्छ!

“एक मात्र बुद्धिमान्‌ परमेश्‍वर” यहोवा

१७, १८. बाइबलमा किन यहोवालाई “एक मात्र बुद्धिमान्‌ परमेश्‍वर” भनिएको छ? उहाँको बुद्धिबारे विचार गर्दा हामी किन आश्‍चर्यचकित हुन्छौँ?

१७ यस्ता प्रमाणहरूलाई विचार गर्दा बाइबलले यहोवाको बुद्धि सर्वोत्कृष्ट छ भन्‍नु अचम्मलाग्दो कुरा होइन। उदाहरणको लागि, बाइबलले यहोवा “एक मात्र बुद्धिमान्‌ परमेश्‍वर” हुनुहुन्छ भनेर बताउँछ। (रोमी १६:२७) उहाँसित मात्र सर्वश्रेष्ठ र सर्वोत्तम बुद्धि छ। उहाँ मात्र साँचो बुद्धिको स्रोत हुनुहुन्छ। (हितोपदेश २:६) त्यसैले उहाँको सृष्टिको सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति येसु पनि आफ्नै बुद्धिमा भर पर्नुभएन बरु बुबाले जे सिकाउन भन्‍नुभएको थियो, मानिसहरूलाई त्यही नै सिकाउनुभयो।—युहन्‍ना १२:४८-५०.

१८ यहोवाको बुद्धि बेजोड छ भन्‍ने कुरा प्रेषित पावलले यसरी व्यक्‍त गरे: “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका फैसलाहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌!” (रोमी ११:३३) मूल भाषामा पावलले यस पदको सुरुमा “आहा!” भन्‍ने शब्द चलाएका थिए। यसबाट यहोवाको बुद्धिबारे विचार गर्दा पावल आश्‍चर्यचकित भएका थिए र तिनको मनमा गहिरो श्रद्धा जागेको थियो भन्‍ने कुरा प्रस्ट हुन्छ। “गहिराइ” भनेर अनुवाद गरिएको ग्रीक शब्द “अगाध खाडल” भनेर अनुवाद गरिएको ग्रीक शब्दसित मिल्दोजुल्दो छ। त्यसैले पावलका शब्दहरूले हामीलाई आफ्नो दिमागमा स्पष्ट चित्र कोर्न मदत गर्छ। हामीले यहोवाको बुद्धिबारे मनन गर्नु भनेको एउटा गहिरो र अथाह खाडलमा चियाएर हेर्नुजस्तै हो। उहाँको बुद्धि कत्ति विशाल र अगम छ, त्यो हामी कल्पनासमेत गर्न सक्दैनौँ न त हामी त्यसको एक-एक पक्ष बुझ्न नै सक्छौँ। (भजन ९२:५) के यो कुरा विचार गर्दा हामी नम्र हुन उत्प्रेरित हुँदैनौँ र?

१९, २०. (क) यहोवाको बुद्धिलाई किन चीलसित तुलना गर्न सकिन्छ? (ख) यहोवाले भविष्य देख्न सक्ने आफ्नो क्षमता कसरी प्रकट गर्नुभएको छ?

१९ यहोवा अर्को अर्थमा पनि “एक मात्र बुद्धिमान्‌ परमेश्‍वर” हुनुहुन्छ। उहाँले मात्र भविष्य देख्न सक्नुहुन्छ। याद गर्नुहोस्‌, यहोवाले आफ्नो बुद्धिलाई टाढा-टाढासम्म पनि देख्न सक्ने चीलसित तुलना गर्नुभएको छ। सुनौलो चीलको वजन लगभग ४.५ किलो मात्र भए तापनि यसको आँखा एक जना वयस्क मानिसको भन्दा ठूलो हुन्छ। यस चीलको दृष्टि एकदमै तेजिलो हुन्छ। त्यसैले यसले जमिनमा भएको सानोभन्दा सानो सिकारलाई पनि हजारौँ फिट माथिबाट अथवा कोसौँ टाढाबाट देख्न सक्छ। यहोवा आफैले चीलबारे एकचोटि यसो भन्‍नुभयो: “त्यसले टाढा-टाढासम्म पनि देख्छ।” (अय्युब ३९:२९) त्यसैगरि यहोवा पनि “टाढा-टाढासम्म” अर्थात्‌ भविष्यमा हुने कुरा देख्न सक्नुहुन्छ।

२० यो कुरा सत्य हो भनेर प्रमाणित गर्ने थुप्रै विवरण बाइबलमा पाइन्छ। यसमा सयौँ भविष्यवाणीहरू लेखिएका छन्‌। युद्धहरूको नतिजा, विश्‍वशक्‍तिहरूको उत्थान र पतन अनि केही सेनापतिको रणनीतिबारे समेत बाइबलमा भविष्यवाणी गरिएको थियो। तीमध्ये कतिपय भविष्यवाणी सयौँ वर्षअगाडि नै गरिएका थिए।—यसैया ४४:२५–४५:४; दानिएल ८:२-८, २०-२२.

२१, २२. (क) हामीले जीवनमा गर्ने हरेक कुरा परमेश्‍वर पहिल्यै हेर्नुहुन्छ भन्‍नु किन तार्किक छैन? उदाहरण दिनुहोस्‌। (ख) यहोवा आफ्नो बुद्धि कठोर भई प्रयोग गर्नुहुन्‍न भनेर किन भन्‍न सकिन्छ?

२१ तर के यसको अर्थ हामीले जीवनमा गर्ने हरेक कुरा परमेश्‍वर पहिल्यै हेर्नुहुन्छ भन्‍ने हो? भाग्यमा विश्‍वास गर्नेहरूले त्यसै भन्‍ने गर्छन्‌। तर यस्तो धारणाले यहोवाको बुद्धि कमजोर छ र उहाँले भविष्य देख्न सक्ने आफ्नो क्षमतालाई नियन्त्रण गर्न सक्नुहुन्‍न भनेर देखाउँछ। मानिलिनुहोस्‌, तपाईँको स्वर सुरिलो छ र राम्ररी गीत गाउन सक्नुहुन्छ। तर के त्यसको अर्थ तपाईँ आफूलाई नियन्त्रण गर्न नसकेर चौबीसै घण्टा गीत मात्र गाइरहनुहुन्छ? त्यसो त पक्कै गर्नुहुन्‍न। त्यसैगरि यहोवासित पनि भविष्य देख्न सक्ने क्षमता छ तर यसको अर्थ उहाँ सधैँ भविष्य हेरेर मात्र बस्नुहुन्छ भन्‍ने होइन। यदि त्यसो हुँदो हो त उहाँले हामीलाई उपहारस्वरूप दिनुभएको स्वतन्त्रताको हनन हुने थियो तर उहाँ कदापि त्यसो गर्नुहुन्‍न।—व्यवस्था ३०:१९, २०.

२२ तर अझ दुःखलाग्दो कुरा त भाग्यमा पहिल्यै सबै लेखिएको हुन्छ भन्‍ने शिक्षाले यहोवाको बुद्धिमा प्रेम, समानुभूति र करुणाको लागि कुनै ठाउँ छैन भन्‍न खोजिरहेको हुन्छ। तर यो कुरा सत्य होइन। बाइबलले “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर सिकाउँछ। (१ युहन्‍ना ४:८) त्यसैले उहाँ आफ्ना अन्य गुणजस्तै बुद्धि पनि प्रेमले उत्प्रेरित भएर प्रयोग गर्नुहुन्छ।

२३. यहोवाको बुद्धि हाम्रो भन्दा उत्कृष्ट भएकोले हामी के गर्न उत्प्रेरित हुन्छौँ?

२३ हामी यहोवाको बुद्धिमा पूर्ण रूपमा भर पर्न सक्छौँ। उहाँको बुद्धि हाम्रो भन्दा उत्कृष्ट भएकोले परमेश्‍वरको वचनले हामीलाई यस्तो आग्रह गर्छ: “आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर। जुनसुकै काम गर्दा उहाँलाई सम्झ; उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।” (हितोपदेश ३:५, ६) आउनुहोस्‌, बुद्धिले भरिपूर्ण परमेश्‍वर यहोवासित अझ नजिक हुन उहाँको बुद्धिबारे अझ गहिरिएर बुझौँ।