सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १९

“पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”

“पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”

१, २. हामीले कुन “पवित्र रहस्य”-मा चासो राख्नुपर्छ र किन?

 रहस्य! रहस्यमय कुराहरूले हामीमा कौतूहलता जगाउँछ र उत्साह बढाउँछ। त्यसैले हामीलाई कुनै रहस्य थाह छ भने त्यो गोप्य राख्न गाह्रो लाग्न सक्छ। तर बाइबल भन्छ: “कुनै कुरा गोप्य राख्नु परमेश्‍वरको गौरव हो।” (हितोपदेश २५:२) हो, हाम्रा सर्वशक्‍तिमान्‌ शासक र सृष्टिकर्ता यहोवाले मानिसजातिलाई कुनै रहस्य प्रकट गर्ने उचित समय नआएसम्म त्यो गोप्य नै राख्नुहुन्छ।

तर यहोवाले आफ्नो वचनमार्फत एउटा मनमोहक रहस्य प्रकट गर्नुभएको छ। त्यसलाई “[परमेश्‍वरको] इच्छाको पवित्र रहस्य” भनिएको छ। (एफिसी १:९) त्यस रहस्यबारे थाह पाउँदा हाम्रो जिज्ञासा मेटिने मात्र होइन, त्यस ज्ञानले हामीलाई उद्धारतर्फ डोऱ्‍याउँछ र यहोवाको अथाह बुद्धिको झलक पनि दिन्छ।

पवित्र रहस्य क्रमिक रूपमा प्रकट गरिन्छ

३, ४. उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणीले कस्तो आशा दियो र यसमा कुन “पवित्र रहस्य” लुकेको थियो?

आदम र हव्वाले पाप गर्दा पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने र त्रुटिरहित मानिसहरूले भर्ने यहोवाको उद्देश्‍य विफल भएको जस्तो देखियो। तर परमेश्‍वरले तुरुन्तै यस समस्याको समाधान निकाल्नुभयो। उहाँले भन्‍नुभयो: “तँ र स्त्रीबीच अनि तेरो सन्तान र स्त्रीको सन्तानबीच म दुस्मनी हालिदिनेछु। उसले तेरो शिर कुच्याउनेछ र तैँले उसको कुर्कुच्चो डस्नेछस्‌।”—उत्पत्ति ३:१५.

परमेश्‍वरले भन्‍नुभएका यी कुराहरू साँच्चै अचम्मलाग्दो र रहस्यमय थिए। स्त्री को थिइन्‌? सर्प को थियो? सर्पको शिर कुच्याउने “सन्तान” को थियो? आदम र हव्वाले यी कुराहरूबारे अनुमान मात्र लगाउन सक्थे। तर परमेश्‍वरको त्यस प्रतिज्ञाबाट विश्‍वासघाती जोडी आदम र हव्वाका सबै वफादार सन्तानले आशा पाउने थिए। हो, धार्मिकताको जित हुने थियो। यहोवाको उद्देश्‍य अवश्‍य पूरा हुने थियो। तर कसरी? वास्तवमा त्यो नै रहस्य थियो। बाइबलमा त्यसलाई “पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि अर्थात्‌ लुकाइएको बुद्धि” भनिएको छ।—१ कोरिन्थी २:७.

५. यहोवाले पवित्र रहस्य किन क्रमिक रूपमा प्रकट गर्नुभयो? उदाहरण दिनुहोस्‌।

यहोवा “रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुन्छ।” (दानिएल २:२८) त्यसैले उहाँले यस पवित्र रहस्यबारे अझै थप कुराहरू प्रकट गर्नुहुने थियो। तर एकै चोटि नभई क्रमिक रूपमा। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। एउटा सानो छोराले ‘ड्याडी, म कहाँबाट आएँ’ भनेर सोध्दा उसको बुबाले कस्तो जवाफ दिन्छन्‌? एक बुद्धिमान्‌ र मायालु बुबाले आफ्नो सानो छोराले बुझ्न सक्नेजति जानकारी मात्र दिन्छन्‌ अनि छोरा हुर्कँदै गएपछि त्यसबारे थप कुरा बताउँदै जान्छन्‌। त्यसैगरि यहोवालाई पनि आफ्ना मानिसहरूलाई आफ्नो इच्छा र उद्देश्‍य प्रकट गर्ने सही समय थाह छ।—हितोपदेश ४:१८; दानिएल १२:४.

६. (क) करारनामा वा सम्झौता-पत्र किन तयार पारिन्छ? (ख) यहोवाले मानिसहरूसित करार गर्नु किन उल्लेखनीय छ?

यहोवाले आफ्नो उद्देश्‍य कसरी प्रकट गर्नुभयो? यसको लागि उहाँले एकपछि अर्को गर्दै करारहरू गर्नुभयो। सायद तपाईँले पनि घर किन्दा वा कसैसित पैसाको लेनदेन गर्दा करारनामा वा सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभएको थियो होला। त्यसले तपाईँ र अर्को पक्ष जुन-जुन सर्तहरूमा सहमत हुनुभएको छ, ती अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुराको कानुनी ग्यारेन्टी दिन्छ। तर यहोवाले मानिससित करार वा सम्झौता गर्नु आवश्‍यक थियो होला र? हुनत उहाँको वचन नै उहाँका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको ग्यारेन्टी हो तैपनि उहाँले पटक-पटक करारहरू गर्नुभएर आफ्ना प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुराको थप ग्यारेन्टी दिनुभयो। ती करारहरू ढुङ्‌गामा खोपिएको अक्षरझैँ अमेट छन्‌ र त्यसले हामी त्रुटिपूर्ण मानिसहरूलाई यहोवाको उद्देश्‍य अवश्‍य पूरा हुनेछ भन्‍ने कुराको ठोस आधार दिन्छ।—हिब्रू ६:१६-१८.

अब्राहामसित गरिएको करार

७, ८. (क) यहोवाले अब्राहामसित कस्तो करार गर्नुभयो र यसले पवित्र रहस्यबारे के प्रकट गऱ्‍यो? (ख) यहोवाले प्रतिज्ञा गरिएको सन्तान आउने वंशबारे कसरी प्रकट गर्दै जानुभयो?

आदम र हव्वालाई प्रमोदवनबाट निकालिएको २,००० वर्षभन्दा धेरै भइसकेको थियो। त्यतिबेला यहोवाले आफ्नो वफादार सेवक अब्राहामलाई यसो भन्‍नुभयो: “म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु। . . . तिम्रै सन्तानमार्फत पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।” (उत्पत्ति २२:१७, १८) यो केवल एउटा प्रतिज्ञा मात्र थिएन। बरु यहोवाले यसलाई एउटा कानुनी करारको रूपमा स्थापित गर्नुभयो र यो अवश्‍य पूरा हुनेछ भनेर ग्यारेन्टी दिन आफ्नै शपथ खानुभयो। (उत्पत्ति १७:१, २; हिब्रू ६:१३-१५) सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मानिसजातिलाई आशिष्‌ दिन कानुनी सम्झौता गर्नुभएको कुरा साँच्चै उल्लेखनीय छ!

‘म तिम्रा सन्तानलाई आकाशका तारासरी बढाउनेछु’

अब्राहामसित गरिएको करारले प्रतिज्ञा गरिएको सन्तान मानिसको रूपमा आउनेछन्‌ भन्‍ने कुरा प्रकट गऱ्‍यो। तिनी अब्राहामको वंशबाट आउने थिए। तर तिनी को हुने थिए? पछि यहोवाले अब्राहामको छोरा इसहाक ती सन्तानको पुर्खा हुनेछन्‌ भन्‍ने कुरा प्रकट गर्नुभयो। त्यसपछि उहाँले इसहाकका दुई छोरामध्ये याकुबलाई ती सन्तानको पुर्खा हुन रोज्नुभयो। (उत्पत्ति २१:१२; २८:१३, १४) पछि याकुबले आफ्ना १२ जना छोरामध्ये एक जनालाई यो भविष्यसूचक कुरा भने: “जबसम्म सीलो [वा “जसको यसमा हक लाग्छ,” फुटनोट] आइपुग्दैन, तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।” (उत्पत्ति ४९:१०) अब भने प्रतिज्ञा गरिएको सन्तान यहुदाको कुलबाट आउनेछन्‌ र तिनी राजा हुनेछन्‌ भन्‍ने कुरा प्रकट भयो।

इस्राएल राष्ट्रसित गरिएको करार

९, १०. (क) यहोवाले इस्राएल राष्ट्रसित कुन करार गर्नुभयो र त्यस करारले कस्तो सुरक्षा दियो? (ख) व्यवस्थाले मानिसजातिलाई फिरौतीको आवश्‍यकता छ भनेर कसरी स्पष्ट पाऱ्‍यो?

ईसापूर्व १५१३ मा यहोवाले पवित्र रहस्यबारे थप कुरा प्रकट गर्न एउटा प्रबन्ध मिलाउनुभयो। उहाँले अब्राहामको सन्तान अर्थात्‌ इस्राएल राष्ट्रसित व्यवस्थाको करार गर्नुभयो। हुनत यो करार अहिले रद्द भइसक्यो तैपनि यसले प्रतिज्ञा गरिएको सन्तान प्रकट गर्ने यहोवाको उद्देश्‍यमा महत्त्वपूर्ण भूमिका खेल्यो। कसरी? तीन वटा तरिकामा। पहिलो, मोसाको व्यवस्था सुरक्षा दिने पर्खालजस्तै थियो। (एफिसी २:१४) यस व्यवस्थामा भएका नियमहरूले यहुदी र अन्यजातिबीच पर्खालको काम गऱ्‍यो। यसले गर्दा प्रतिज्ञा गरिएको सन्तान आउने वंश सुरक्षित रह्‍यो। यहोवाले इस्राएल राष्ट्रलाई यस्तो सुरक्षा दिनुभएकोले नै तोकिएको समयमा यहुदाको कुलमा मसीह जन्मन सम्भव भयो।

१० दोस्रो, व्यवस्थाले मानिसजातिलाई फिरौतीको आवश्‍यकता छ भनेर प्रस्ट पाऱ्‍यो। व्यवस्थामा कुनै खोट नभएकोले त्रुटिपूर्ण मानिसहरूले यसमा भएका एक-एक नियम पालन गर्न सक्दैनन्‌ भन्‍ने कुरा देखियो। वास्तवमा “प्रतिज्ञा गरिएको . . . सन्तान नआउन्जेल अपराधहरू प्रकट होस्‌” भनेर व्यवस्था दिइएको थियो। (गलाती ३:१९) व्यवस्थामा पापको प्रायश्‍चित गर्न जनावरको बलिदान चढाउने एउटा अस्थायी प्रबन्ध मिलाइएको थियो। तर पावलले लेखेअनुसार “बहर अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव” भएकोले ती बलिदानहरू येसुको फिरौतीको बलिदानको छाया मात्र थिए। (हिब्रू १०:१-४) यस करारले वफादार यहुदीहरूको लागि “ख्रिष्टसम्म पुऱ्‍याउने . . . अभिभावक”-को काम गऱ्‍यो।—गलाती ३:२४.

११. व्यवस्थाको करारले इस्राएल राष्ट्रलाई कस्तो आशा दियो तर त्यस राष्ट्रले त्यो आशा किन गुमायो?

११ तेस्रो, त्यस करारले इस्राएल राष्ट्रलाई उज्ज्वल भविष्यको आशा दियो। त्यस करारका सर्तहरू पालन गरेमा त्यस राष्ट्रले “पुजारीहरूको राज्य र पवित्र जाति” बन्‍ने सुअवसर पाउने थियो। (प्रस्थान १९:५, ६) हुन पनि पुजारीहरूको स्वर्गीय राज्यका सुरुका सदस्यहरू इस्राएल राष्ट्रबाटै रोजिए। तर दुःखको कुरा, त्यस राष्ट्रले व्यवस्थाको करारको विद्रोह गऱ्‍यो, प्रतिज्ञा गरिएको मसीहलाई तिरस्कार गऱ्‍यो र अन्ततः त्यो उज्ज्वल आशा गुमायो। त्यसोभए पुजारीहरूको राज्यका बाँकी सदस्यहरू को हुने थिए? यहोवाबाट आशिष्‌ पाएको त्यो नयाँ राष्ट्र र प्रतिज्ञा गरिएको सन्तानबीच कस्तो सम्बन्ध हुने थियो? पवित्र रहस्यका यी पक्षहरू परमेश्‍वरले आफ्नो समयमा प्रकट गर्नुहुने थियो।

दाउदसित गरिएको राज्य करार

१२. यहोवाले दाउदसित कुन करार गर्नुभयो र यसले पवित्र रहस्यबारे के प्रकट गऱ्‍यो?

१२ ईसापूर्व ११ औँ शताब्दीमा यहोवाले अर्को करार गर्नुहुँदा पवित्र रहस्यबारे थप कुरा प्रकट भयो। उहाँले वफादार राजा दाउदसित यस्तो प्रतिज्ञा गर्नुभयो: “म तिम्रो सन्तान[लाई] . . . तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु। . . . म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।” (२ समुएल ७:१२, १३; भजन ८९:३) यसरी यहोवाले प्रतिज्ञा गरिएको सन्तान दाउदको घरानाबाट आउनेछन्‌ भनेर प्रकट गर्नुभयो। तर के एक जना साधारण मानिसले सदाको लागि शासन गर्न सक्ने थिए? (भजन ८९:२०, २९, ३४-३६) अनि के एक जना मानव राजाले मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिन सक्ने थिए?

१३, १४. (क) भजन ११० अनुसार यहोवाले अभिषिक्‍त राजासित कस्तो प्रतिज्ञा गर्नुभयो? (ख) यहोवाले भविष्यवक्‍ताहरूमार्फत पवित्र रहस्यबारे थप कस्ता कुराहरू प्रकट गर्नुभयो?

१३ परमेश्‍वरको प्रेरणा पाएर दाउदले यस्तो लेखे: “यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो: ‘तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।’ यहोवाले शपथ खानुभएको छ र उहाँ पछुताउनुहुनेछैन: ‘तिमी सधैँको लागि पुजारी हौ, मल्किसेदेकजस्तो!’” (भजन ११०:१, ४) दाउदले भनेको यो कुरा प्रतिज्ञा गरिएको सन्तान अर्थात्‌ मसीहमा पूरा हुने थियो। (प्रेषित २:३५, ३६) मसीही राजाले यरुसलेमबाट नभई स्वर्गमा यहोवाको “दाहिने हाततिर” बसेर शासन गर्ने थिए। तिनले इस्राएलमा मात्र नभई पूरै पृथ्वीमा शासन गर्ने अख्तियार पाउने थिए। (भजन २:६-८) यतिबेला यहोवाले त्यस पवित्र रहस्यको अर्को एउटा पक्ष पनि प्रकट गर्नुभयो। उहाँले मसीह “मल्किसेदेकजस्तो” पुजारी हुनेछन्‌ भनेर शपथ खानुभयो। अब्राहामको समयमा मल्किसेदेकले राजा र पुजारीको रूपमा सेवा गरेजस्तै प्रतिज्ञा गरिएको सन्तानले पनि सीधै यहोवाबाट अख्तियार पाएर राजा र पुजारीको रूपमा सेवा गर्ने थिए।—उत्पत्ति १४:१७-२०.

१४ वर्षौँको दौडान यहोवाले भविष्यवक्‍ताहरूमार्फत पवित्र रहस्यबारे थप कुराहरू प्रकट गर्दै जानुभयो। उदाहरणको लागि, यसैयाले प्रतिज्ञा गरिएको सन्तानले आफ्नो जीवन बलिदान चढाउनेछन्‌ भनेर बताए। (यसैया ५३:३-१२) मिकाले मसीह जन्मने ठाउँबारे भविष्यवाणी गरे। (मिका ५:२) दानिएलले भने प्रतिज्ञा गरिएको सन्तान देखा पर्ने र मृत्यु हुने समयबारे तोकेरै भविष्यवाणी गरे।—दानिएल ९:२४-२७.

पवित्र रहस्य प्रकट गरियो!

१५, १६. (क) यहोवाको छोरा कसरी “एक जना स्त्रीबाट जन्मनुभयो”? (ख) येसुले आफ्नो मानव आमाबुबाबाट जन्मजातै कस्तो अधिकार पाउनुभयो र उहाँ प्रतिज्ञा गरिएको सन्तानको रूपमा कहिले देखा पर्नुभयो?

१५ यी भविष्यवाणीहरू कसरी पूरा हुनेछन्‌ भन्‍ने कुरा प्रतिज्ञा गरिएको सन्तान देखा नपरुन्जेल रहस्य नै रहने थियो। गलाती ४:४ यसो भन्छ: “तोकिएको समय पूरा भएपछि परमेश्‍वरले आफ्नो छोरालाई पठाउनुभयो, जो एक जना स्त्रीबाट जन्मनुभयो।” ईसापूर्व २ मा एक जना स्वर्गदूतले मरियम नाम गरेकी यहुदी कन्यालाई यसो भने: “हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ अनि तिमीले उहाँको नाम येसु राख्नू। उहाँ महान्‌ हुनुहुनेछ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। . . . पवित्र शक्‍ति तिमीमाथि आउनेछ र सर्वोच्च परमेश्‍वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्‍वरको छोरा अनि पवित्र कहलाइनुहुनेछ।”—लुका १:३१, ३२, ३५.

१६ पछि यहोवाले आफ्नो छोराको जीवन मरियमको गर्भमा सारिदिनुभयो र यसरी उहाँको जन्म एक जना स्त्रीको कोखबाट भयो। मरियम त्रुटिपूर्ण भए तापनि येसुमा तिनको पाप सरेन किनकि उहाँ “परमेश्‍वरको छोरा” हुनुहुन्थ्यो। त्यसैगरि येसुको मानव आमाबुबा दाउदको घरानाको भएकाले उहाँले जन्मजातै र कानुनी रूपमै दाउदको उत्तराधिकारी हुने अधिकार पाउनुभयो। (प्रेषित १३:२२, २३) इस्वी संवत्‌ २९ मा येसुको बप्तिस्मा हुँदा यहोवाले उहाँलाई पवित्र शक्‍तिले अभिषेक गर्नुभयो र यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌।” (मत्ति ३:१६, १७) बल्ल प्रतिज्ञा गरिएको सन्तान देखा परे! (गलाती ३:१६) अब भने पवित्र रहस्यबारे अझै थप कुरा प्रकट गर्ने समय आएको थियो।—२ तिमोथि १:१०.

१७. उत्पत्ति ३:१५ को अर्थ कसरी खुलाइयो?

१७ येसुले पृथ्वीमा आफ्नो सेवाको दौडान उत्पत्ति ३:१५ मा उल्लेख गरिएको सर्प सैतान हो अनि सर्पको सन्तानचाहिँ सैतानका समर्थकहरू हुन्‌ भनेर चिनाउनुभयो। (मत्ति २३:३३; युहन्‍ना ८:४४) पछि तिनीहरू सबै सदाको लागि नाश हुनेछन्‌ भन्‍ने कुरा पनि प्रकट गरियो। (प्रकाश २०:१-३, १०, १५) साथै स्त्रीचाहिँ “माथिको यरुसलेम” अर्थात्‌ परमेश्‍वरकी पत्नी हुन्‌ भनेर चिनाइयो। यसले यहोवाको सङ्‌गठनको स्वर्गमा रहेको भागलाई जनाउँछ, जुन स्वर्गदूतहरू मिलेर बनेको छ। aगलाती ४:२६; प्रकाश १२:१-६.

नयाँ करार

१८. “नयाँ करार”-को उद्देश्‍य के हो?

१८ येसुको मृत्यु हुनुभन्दा अघिल्लो रात अर्को एउटा अचम्मलाग्दो कुरा प्रकट गरियो। त्यस रात उहाँले आफ्ना वफादार चेलाहरूलाई “नयाँ करार”-बारे बताउनुभयो। (लुका २२:२०) व्यवस्थाको करारले जस्तै यो नयाँ करारले पनि “पुजारीहरूको राज्य” स्थापना गर्ने थियो। (प्रस्थान १९:६; १ पत्रुस २:९) तर यस करारले साँच्चैको राष्ट्र नभई आध्यात्मिक राष्ट्र स्थापना गर्ने थियो। त्यो राष्ट्र “परमेश्‍वरको इस्राएल” हो, जुन ख्रिष्टका वफादार अभिषिक्‍त अनुयायीहरू मिलेर बनेको छ। (गलाती ६:१६) नयाँ करारका यी सदस्यहरू येसुसँगै मिलेर काम गर्ने थिए, जसले गर्दा मानिसजातिले आशिष्‌ पाउने थियो।

१९. (क) नयाँ करार “पुजारीहरूको राज्य” स्थापना गर्न किन सफल हुन्छ? (ख) अभिषिक्‍त ख्रिष्टियनहरूलाई किन “नयाँ सृष्टि” भनिएको छ अनि कति जनाले येसुसँगै स्वर्गमा शासन गर्नेछन्‌?

१९ तर नयाँ करार “पुजारीहरूको राज्य” स्थापना गरेर मानिसजातिमाथि आशिष्‌ ल्याउन किन सफल हुन्छ? किनभने यस करारले ख्रिष्टका चेलाहरूलाई पापको लागि दोषी ठहराउनुको सट्टा उहाँले चढाउनुभएको बलिदानको आधारमा पापको क्षमा पाउन बाटो तयार पार्छ। (यर्मिया ३१:३१-३४) तिनीहरू परमेश्‍वरको नजरमा धर्मी ठहरिएपछि उहाँले तिनीहरूलाई आफ्नो स्वर्गीय परिवारको भाग बनाउन धर्मपुत्रको रूपमा स्विकार्नुहुन्छ र पवित्र शक्‍तिले अभिषेक गर्नुहुन्छ। (रोमी ८:१५-१७; २ कोरिन्थी १:२१) यसरी तिनीहरूको “नयाँ जन्म” हुन्छ, जुन तिनीहरूका लागि “स्वर्गमा साँचिएको छ।” (१ पत्रुस १:३, ४) यस्तो महिमित अवस्थामा पुग्नु मानिसजातिको लागि बिलकुलै नौलो कुरा हो। त्यसैले पवित्र शक्‍तिद्वारा अभिषेक भएका ख्रिष्टियनहरूलाई “नयाँ सृष्टि” भनिएको छ। (२ कोरिन्थी ५:१७) यी १ लाख ४४ हजार अभिषिक्‍त ख्रिष्टियनले पापबाट छुटकारा पाएका मानिसहरूमाथि शासन गर्नेछन्‌ भनेर बाइबलले प्रकट गर्छ।—प्रकाश ५:९, १०; १४:१-४.

२०. (क) इस्वी संवत्‌ ३६ मा पवित्र रहस्यबारे के प्रकट गरियो? (ख) अब्राहामसित प्रतिज्ञा गरिएका आशिष्‌हरूबाट क-कसले लाभ उठाउनेछन्‌?

२० यी अभिषिक्‍त जनहरू पनि येसुजस्तै “अब्राहामका सन्तान” बन्छन्‌। b (गलाती ३:२९) तिनीहरूमध्ये सुरु-सुरुका सदस्यहरू जन्मजातै यहुदी थिए। तर इस्वी संवत्‌ ३६ मा पवित्र रहस्यको अर्को पक्ष प्रकट गरियो। त्यो थियो, अन्यजाति र गैर-यहुदीहरूले पनि स्वर्गीय आशा पाउने। (रोमी ९:६-८; ११:२५, २६; एफिसी ३:५, ६) तर यहोवाले अब्राहामसित प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूबाट लाभ उठाउने अभिषिक्‍त जनहरू मात्र हुन्‌ त? पक्कै होइनन्‌ किनभने ख्रिष्टको बलिदानबाट संसारभरका सबै मानिसले लाभ उठाउन सक्छन्‌। (१ युहन्‍ना २:२) केही समयपछि यहोवाले सैतानको संसार नाश हुँदा गन्‍नै नसकिने “एउटा ठूलो भीड” जोगिनेछ भनेर प्रकट गर्नुभयो। (प्रकाश ७:९, १४) यति मात्र नभई प्रमोदवनमा सधैँभरि बाँच्ने आशासहित लाखौँ मानिस मृत्युबाट जीवित हुनेछन्‌।—लुका २३:४३; युहन्‍ना ५:२८, २९; प्रकाश २०:११-१५; २१:३, ४.

परमेश्‍वरको बुद्धि र पवित्र रहस्य

२१, २२. परमेश्‍वरको पवित्र रहस्यले कुन-कुन तरिकामा उहाँको बुद्धिको प्रमाण दिन्छ?

२१ पवित्र रहस्य “परमेश्‍वरको बुद्धिको” जोडदार प्रमाण हो। (एफिसी ३:८-१०) यहोवाले पवित्र रहस्यको सुरुवात गर्नुभएर अनि त्यसलाई क्रमिक रूपमा प्रकट गर्दै जानुभएर आफ्नो अथाह बुद्धि देखाउनुभयो। यसबाट यहोवाले मानिसजातिको सीमितता राम्ररी बुझ्नुभएको प्रस्ट भयो अनि मानिसहरूले पनि आफ्नो हृदयको अवस्था प्रकट गर्ने मौका पाए।—भजन १०३:१४.

२२ यहोवाले आफ्नो राज्यको राजा हुन येसुलाई नै रोज्नुमा पनि उहाँको अथाह बुद्धि झल्किन्छ किनकि उहाँजत्तिको भरोसायोग्य व्यक्‍ति यस ब्रह्‍माण्डमा अरू कोही पनि छैन। येसुले मानव रूप धारण गरेर पृथ्वीमा आउनुभएपछि थुप्रै परीक्षा सहनुभयो। त्यसैले उहाँ मानिसहरूको समस्या राम्ररी बुझ्नुहुन्छ। (हिब्रू ५:७-९) येसुका सह-शासकहरूबारे के भन्‍न सकिन्छ? सयौँ वर्षको दौडान यहोवाले विभिन्‍न जात, भाषा र पृष्ठभूमिका पुरुष तथा स्त्रीलाई अभिषेक गर्नुभयो। त्यस समूहको प्रत्येक सदस्यले कुनै न कुनै किसिमको समस्या भोगेका छन्‌। (एफिसी ४:२२-२४) यस्ता दयालु राजा तथा पुजारीहरूको अधीनमा बस्न पाउनु हाम्रो लागि साँच्चै आनन्दको कुरा हुनेछ!

२३. ख्रिष्टियनहरूले कस्तो सुअवसर पाएका छन्‌?

२३ प्रेषित पावलले यस्तो लेखे: “पवित्र रहस्य . . . युगौँयुग अनि पुस्तौँपुस्तादेखि लुकाइराखिएको थियो। तर अब भने त्यो रहस्य उहाँका पवित्र जनहरूलाई प्रकट गरिएको छ।” (कलस्सी १:२६) हो, यहोवाका अभिषिक्‍त पवित्र जनहरूले त्यस पवित्र रहस्यबारे थुप्रै कुरा थाह पाइसकेका छन्‌ र लाखौँ मानिसलाई यसबारे बताइरहेका छन्‌। यहोवाले “आफ्नो इच्छाको पवित्र रहस्य हामीलाई प्रकट गर्नुभएको छ।” (एफिसी १:९) हाम्रो लागि यो ठूलो सुअवसर हो। त्यसैले हामी पनि यो अद्‌भुत रहस्यबारे अरूलाई बताऔँ र तिनीहरूलाई यहोवाको अथाह बुद्धिको सानो झलक भए पनि हेर्ने मौका देऔँ!

a “परमेश्‍वरको भक्‍तिको . . . पवित्र रहस्य” पनि येसुमा प्रकट भयो। (१ तिमोथि ३:१६) मानिस यहोवाप्रति पूर्णतया सत्यनिष्ठ रहन सक्छ कि सक्दैन भन्‍ने प्रश्‍नको जवाफ लामो समयदेखि एउटा रहस्य थियो। येसुले त्यसको जवाफ दिनुभयो। सैतानले जति नै गाह्रो परीक्षा ल्याए पनि उहाँ सत्यनिष्ठ रहनुभयो।—मत्ति ४:१-११; २७:२६-५०.

b येसुले यही समूहसित “राज्य दिने करार” पनि गर्नुभयो। (लुका २२:२९, ३०) यसरी उहाँले “सानो बगाल”-सित एउटा कानुनी सम्झौता गर्नुभयो, जुन सम्झौताअनुसार तिनीहरूले अब्राहामका सन्तानको दोस्रो भागको रूपमा स्वर्गमा येसुसँगै शासन गर्ने थिए।—लुका १२:३२.