सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २०

“बुद्धिमान्‌” तैपनि नम्र

“बुद्धिमान्‌” तैपनि नम्र

१-३. यहोवा नम्र हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

 एक जना बुबाले आफ्नो सानो छोरालाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन लागेका छन्‌। तिनी त्यो कुरा छोराको मनसम्म पुगेको चाहन्छन्‌। त्यसोभए तिनले कस्तो तरिका अपनाउनुपर्छ? तिनले छोरासित कठोर भई बोल्नु उचित हुन्छ कि बसेर कोमलतासाथ र सुनूँ-सुनूँ लाग्ने तरिकामा बोल्नु उचित हुन्छ? पक्कै पनि एक जना बुद्धिमान्‌ बुबाले दोस्रो तरिका अपनाउँछन्‌।

यहोवा कस्तो बुबा हुनुहुन्छ? अहङ्‌कारी कि नम्र अथवा कठोर कि कोमल? उहाँसित सबै कुराको ज्ञान छ र उहाँ सबैभन्दा बुद्धिमान्‌ हुनुहुन्छ। सायद तपाईँले याद गर्नुभएको होला, कसैसित ज्ञान र बुद्धि हुँदैमा तिनी नम्र हुन्छन्‌ भन्‍ने छैन। यसबारे बाइबल यसो भन्छ: “ज्ञानले घमन्ड बढाउँछ।” (१ कोरिन्थी ३:१९; ८:१) तर यहोवा “बुद्धिमान्‌” हुनुका साथै नम्र पनि हुनुहुन्छ। (अय्युब ९:४) यसको मतलब उहाँको ओहदा वा वैभव कम छ भन्‍ने त होइन बरु उहाँमा अलिकति पनि अहङ्‌कार छैन भन्‍ने हो। हामी किन त्यसो भन्‍न सक्छौँ?

यहोवा पवित्र हुनुहुन्छ। त्यसैले उहाँमा अशुद्ध बनाउने दुर्गुण अहङ्‌कार छैन। (मर्कुस ७:२०-२२) भविष्यवक्‍ता यर्मियाले यहोवालाई के भने, याद गर्नुहोस्‌: “तपाईँले अवश्‍य पनि मलाई सम्झनुहुनेछ अनि मलाई मदत गर्न निहुरिनुहुनेछ।” a (विलाप ३:२०) कल्पना गर्नुहोस्‌, ब्रह्‍माण्डका मालिक यहोवा ‘निहुरिएर’ यर्मियाजस्तो त्रुटिपूर्ण मानिसलाई पनि मदत गर्न तयार हुनुभयो। (भजन ११३:७) हो, यहोवा नम्र हुनुहुन्छ। तर उहाँको नम्रतामा के-के समावेश छ? यो गुण कसरी बुद्धिसित सम्बन्धित छ? अनि यो गुण हामीमा पनि किन हुनुपर्छ?

यहोवाले आफू नम्र भएको कसरी देखाउनुहुन्छ?

४, ५. (क) नम्र हुनु भनेको के हो र यो कस्ता गुणहरूमा झल्किन्छ? नम्र हुनु भनेको कमजोर वा डरपोक हुनु होइन भनेर किन भन्‍न सक्छौँ? (ख) यहोवाले दाउदसित व्यवहार गर्दा कसरी नम्रता देखाउनुभयो र उहाँको नम्रताबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

नम्र हुनु भनेको आफूलाई अरूभन्दा सानो सम्झनु अनि अहङ्‌कारी र घमन्डी नहुनु हो। नम्रता हृदयभित्रको गुण हो, जुन कोमलता, धीरज र व्यावहारिकताजस्ता गुणहरूमा झल्किन्छ। (गलाती ५:२२, २३) तर परमेश्‍वरमा यस्ता गुणहरू हुनुको अर्थ उहाँ कमजोर वा डरपोक हुनुहुन्छ भन्‍ने होइन। यस्ता गुणहरू यहोवाले आफ्नो धार्मिकताको लागि देखाउनुहुने क्रोध वा विनाश गर्ने उहाँको शक्‍तिसित बाझिँदैन। बरु नम्रता र कोमलताले यहोवासित आफूलाई काबूमा राख्न सक्ने असीमित शक्‍ति छ भन्‍ने कुराको प्रमाण दिन्छ। (यसैया ४२:१४) नम्रता कसरी बुद्धिसित सम्बन्धित छ? बाइबलसम्बन्धी एउटा शब्दकोशमा यस्तो लेखिएको छ: “समग्रमा भन्‍नुपर्दा नम्र हुनु भनेको . . . निःस्वार्थ हुनु हो र बुद्धिको जग पनि नम्रता नै हो।” त्यसैले साँचो अर्थमा बुद्धिमान्‌ हुन नम्रता नभई हुँदैन। हामी यहोवाको नम्रताबाट कस्तो लाभ उठाउन सक्छौँ?

बुद्धिमान्‌ बुबाले आफ्ना छोराछोरीसित नम्र र कोमल व्यवहार गर्छन्‌

राजा दाउदले यहोवाको लागि यस्तो भजन रचे: “तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ; तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ र तपाईँको नम्रताले मेरो मान बढाएको छ।” (भजन १८:३५) यहोवा यी त्रुटिपूर्ण मानिसलाई सुरक्षा दिन र सम्हाल्न निहुरिनुभयो। उहाँले देखाउनुभएको यस्तो नम्रताले गर्दा नै आफूले उद्धार पाउन सक्नेछु र राजाको रूपमा केही हदसम्म भए पनि मानसम्मान कमाउन सक्नेछु भनेर दाउदले बुझेका थिए। हो, यहोवा नम्र नहुनुभएको भए वा कोमल र मायालु बुबाले जस्तै हामीसित निहुरिएर व्यवहार नगर्नुभएको भए हामीमध्ये कसले पो उद्धारको आशा पाउन सक्थ्यौँ होला र?

६, ७. (क) बाइबलमा किन कतै पनि यहोवा मर्यादामा रहनुहुन्छ भनेर लेखिएको छैन? (ख) कोमलता र बुद्धिबीच कस्तो सम्बन्ध छ र यस सन्दर्भमा कसले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ?

हामीले नम्रता र मर्यादा फरक-फरक गुण हो भन्‍ने कुरा बुझ्नुपर्छ। मर्यादा हामी सबैले विकास गर्नुपर्ने एउटा सुन्दर गुण हो। नम्रताजस्तै यो गुण पनि बुद्धिसित सम्बन्धित छ। उदाहरणको लागि, हितोपदेश ११:२ यसो भन्छ: “जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान्‌ हुन्छ।” तर बाइबलमा कतै पनि यहोवा मर्यादामा रहनुहुन्छ भनेर लेखिएको छैन। किन? बाइबलमा प्रयोग गरिएको मर्यादा शब्दले आफ्नो सीमितता स्विकार्नु भन्‍ने कुरालाई बुझाउँछ। सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले आफ्नो धार्मिक स्तरको कारण आफ्नो लागि केही सीमा तोक्नुभएको छ। तर यसबाहेक उहाँको अरू कुनै सीमितता छैन। (मर्कुस १०:२७; तितस १:२) साथै यहोवा सर्वोच्च हुनुभएकोले कसैको अधीनमा बस्नु पर्दैन। त्यसैले मर्यादामा रहने कुरा उहाँमा लागू हुँदैन।

तर यहोवा नम्र र कोमल हुनुहुन्छ। उहाँले आफ्ना सेवकहरूलाई साँचो बुद्धि प्राप्त गर्न कोमल हुनुपर्छ भनेर सिकाउनुभएको छ। उहाँको वचनमा “बुद्धिमार्फत प्राप्त हुने कोमलता”-बारे बताइएको छ। b (याकुब ३:१३) यस सन्दर्भमा यहोवाले बसाल्नुभएको उदाहरण विचार गरौँ।

यहोवा नम्र भई जिम्मेवारी सुम्पनुहुन्छ र अरूको कुरा सुन्‍नुहुन्छ

८-१०. (क) यहोवा अरूलाई जिम्मेवारी सुम्पन र अरूको कुरा सुन्‍न इच्छुक हुनुभएको कुरा किन उल्लेखनीय छ? (ख) सर्वशक्‍तिमान्‌ परमेश्‍वरले स्वर्गदूतहरूसित कसरी नम्र व्यवहार गर्नुभयो?

यहोवा अरूलाई जिम्मेवारी सुम्पन र अरूको कुरा सुन्‍न इच्छुक हुनुहुन्छ। यसमा पनि उहाँको नम्रता देखिन्छ। हुनत यहोवालाई कसैको सल्लाह वा मदतको खाँचो पर्दैन तैपनि उहाँ अरूलाई जिम्मेवारी सुम्पनुहुन्छ र तिनीहरूको कुरा सुन्‍नुहुन्छ। (यसैया ४०:१३, १४; रोमी ११:३४, ३५) यसरी यहोवाले आफूलाई नम्र तुल्याउनुभएको थुप्रै विवरण बाइबलमा पाइन्छ।

अब्राहामको जीवनमा घटेको एउटा रोचक घटना विचार गरौँ। तिनको घरमा तीन जना पाहुना आएका थिए र उनीहरूमध्ये एक जनालाई तिनले “यहोवा” भनेर सम्बोधन गरे। ती पाहुनाहरू वास्तवमा स्वर्गदूतहरू थिए। तर उनीहरूमध्ये एक जना यहोवाको नाममा आएका थिए र उहाँकै तर्फबाट काम गरिरहेका थिए। एक अर्थमा यहोवा स्वयम्‌ नै ती स्वर्गदूतमार्फत बोल्दै हुनुहुन्थ्यो र काम गर्दै हुनुहुन्थ्यो। ती स्वर्गदूतलाई चलाएर उहाँले अब्राहामलाई “सदोम र गमोराविरुद्ध गरिएको ठूलो गुनासो” आफूले सुनेको कुरा बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “अब म तल ओर्लन्छु अनि मैले सुनेको तिनीहरूको गुनासो सही हो कि होइन, म आफै पक्का गर्छु।” (उत्पत्ति १८:३, २०, २१) यहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले मानिसको रूप धारण गरेर पृथ्वीमा ‘ओर्लने’ कुरा गरिरहनुभएको थिएन। बरु त्यसको लागि उहाँले फेरि पनि स्वर्गदूतहरूलाई आफ्नो प्रतिनिधिको रूपमा पठाउनुभयो। (उत्पत्ति १९:१) सबै कुरा देख्नुहुने यहोवालाई त्यस ठाउँको वास्तविक अवस्था पक्कै थाह थियो। तैपनि उहाँले नम्र भई ती स्वर्गदूतहरूलाई सदोमको अवस्था बुझ्ने अनि लुत र तिनको परिवारलाई भेट्‌ने जिम्मेवारी सुम्पनुभयो।

१० साथै यहोवा अरूको कुरा सुन्‍नुहुन्छ। एकचोटि उहाँले दुष्ट राजा आहाबलाई कसरी नाश गर्न सकिन्छ भनेर स्वर्गदूतहरूको विचार बुझ्नुभयो। उहाँलाई यस्तो सल्लाह-सुझावको पक्कै खाँचो थिएन। तैपनि उहाँले एक जना स्वर्गदूतको सुझाव सुन्‍नुभयो र तिनलाई त्यसैअनुसार कदम चाल्न अनुमति दिनुभयो। (१ राजा २२:१९-२२) यसबाट पनि यहोवा नम्र हुनुहुन्छ भन्‍ने कुरा देखिन्छ नि, होइन र?

११, १२. अब्राहामले यहोवा नम्र हुनुहुन्छ भन्‍ने कुरा कसरी बुझे?

११ त्रुटिपूर्ण मानिसहरूले आफ्नो चिन्ता व्यक्‍त गर्दा यहोवा तिनीहरूको कुरा सुन्‍न तयार हुनुहुन्छ। उदाहरणको लागि, यहोवाले अब्राहामलाई आफूले सदोम र गमोरा सहरलाई विनाश गर्न लागेको कुरा बताउनुहुँदा ती वफादार पुरुष छक्कै परे। तिनले यसो भने: “अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!” तिनले यसो पनि भने: “सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्‍न होला र?” तिनले यहोवालाई त्यस सहरमा ५० जना धर्मी मानिस रहेछन्‌ भने त्यस सहरलाई विनाश गर्नुहुन्छ कि हुन्‍न भनेर सोधे। यहोवाले गर्दिनँ भनेर तिनलाई विश्‍वस्त तुल्याउनुभयो। तर तिनले पटक-पटक त्यही प्रश्‍न सोधिरहे अनि ४५, ४० गर्दै सङ्‌ख्या घटाउँदै लगे। यहोवाले प्रत्येक पटक विनाश गर्दिनँ भन्‍ने जवाफ दिनुभयो। तर अब्राहामले त्यस सङ्‌ख्यालाई अझै घटाएर १० सम्मै पुऱ्‍याए। सायद तिनले यहोवा कत्ति कृपालु परमेश्‍वर हुनुहुन्छ भनेर पूर्ण रूपमा बुझिसकेका थिएनन्‌। तैपनि उहाँले धीरजी र नम्र हुँदै आफ्ना मित्र र सेवक अब्राहामलाई तिनको चिन्ता व्यक्‍त गर्ने मौका दिनुभयो।—उत्पत्ति १८:२३-३३.

१२ संसारका बुद्धिजीवीहरूले थोरै ज्ञान भएका मानिसहरूको कुरा धीरजी भई सुनेको हामी कमै मात्र देख्छौँ। c तर हाम्रा परमेश्‍वरले भने अब्राहामको कुरा धीरजी भई सुन्‍नुभयो। नम्रताको कत्ति उत्कृष्ट उदाहरण! यहोवासित कुरा गर्दा अब्राहामले उहाँ ‘हतपती रिसाउनुहुन्‍न’ भनेर बुझे। (प्रस्थान ३४:६) सायद तिनले सर्वोच्च परमेश्‍वरको निर्णयमा प्रश्‍न उठाउने अधिकार आफूसित छैन भनेर महसुस गरे। त्यसैले तिनले दुई चोटि उहाँलाई यस्तो बिन्ती गरे: “यहोवा परमेश्‍वर रिसानी माफ होस्‌।” (उत्पत्ति १८:३०, ३२) तर उहाँ अब्राहामसित रिसाउनुभएको थिएन किनकि उहाँ “बुद्धिमार्फत प्राप्त हुने कोमलता”-ले भरिपूर्ण हुनुहुन्छ।

यहोवा व्यावहारिक हुनुहुन्छ

१३. बाइबलमा चलाइएको “व्यावहारिकता” शब्दको अर्थ के हो र यहोवालाई यो गुण किन सुहाउँछ?

१३ यहोवाको नम्रता उहाँको अर्को सुन्दर गुणमा पनि झल्किन्छ। त्यो हो, व्यावहारिकता। त्रुटिपूर्ण मानिसहरूमा यस गुणको कमी छ। यहोवा बौद्धिक क्षमता भएका आफ्ना सेवकहरूको कुरा सुन्‍न इच्छुक मात्र हुनुहुन्‍न बरु आफ्नो धार्मिक स्तरसित बाझिँदैन भने उनीहरूले भनेअनुसारै गर्न पनि तयार हुनुहुन्छ। बाइबलमा “व्यावहारिकता” भनेर अनुवाद गरिएको शब्दको शाब्दिक अर्थ “अरूको कुरामा सहमत हुनु” हो। यस गुणमा पनि यहोवाको अथाह बुद्धि झल्किन्छ। याकुब ३:१७ यसो भन्छ: ‘माथिबाट आउने बुद्धि व्यावहारिक हुन्छ।’ सबैभन्दा बुद्धिमान्‌ परमेश्‍वर यहोवा कुन अर्थमा व्यावहारिक हुनुहुन्छ? एउटा कुरा त, उहाँ आफूलाई परिस्थितिअनुसार ढाल्नुहुन्छ। याद गर्नुहोस्‌, यहोवा नामको अर्थ नै उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न जे पनि बन्‍न सक्नुहुन्छ भन्‍ने हो। (प्रस्थान ३:१४) के यसले यहोवा आफूलाई परिस्थितिअनुसार ढाल्न सधैँ तयार हुनुहुन्छ र व्यावहारिक हुनुहुन्छ भनेर देखाउँदैन र?

१४, १५. इजकिएलले देखेको विशाल रथको दर्शनबाट यहोवाको सङ्‌गठनको स्वर्गमा रहेको भागबारे के सिक्न सक्छौँ? यो सङ्‌गठन पृथ्वीमा भएका सङ्‌गठनहरूभन्दा कसरी फरक छ?

१४ बाइबलको एउटा रोचक विवरणले यहोवा आफूलाई परिस्थितिअनुसार ढाल्न सक्नुहुन्छ भन्‍ने कुरा बुझ्न मदत गर्छ। भविष्यवक्‍ता इजकिएलले यहोवाको सङ्‌गठनको स्वर्गमा रहेको भागको दर्शन देखे। तिनले दर्शनमा एउटा भव्य रथ देखे। त्यो यहोवाको “सवारीयान” हो, जुन उहाँकै नियन्त्रणमा छ। सबैभन्दा उल्लेखनीय कुरा त त्यसको गुड्‌ने तरिका हो। त्यसको प्रत्येक पाङ्‌ग्राभित्र अर्को पाङ्‌ग्रा छ र ती पाङ्‌ग्राहरू आँखै-आँखाले भरिएका छन्‌। यसले गर्दा त्यस रथले नरोकीकनै अथवा नमोडीकनै तुरुन्तै दिशा परिवर्तन गर्न सक्छ अनि चारैतिर देख्न सक्छ। यो विशाल रथ मानिसले बनाएका मालवाहक गाडीहरूजस्तो सुस्त गतिमा गुड्‌दैन। बरु यो बिजुली चम्कने गतिमा गुड्‌न सक्छ अनि नमोडीकनै ९०° कोणमा दायाँ वा बायाँ जान सक्छ। (इजकिएल १:१, १४-२८) हो, यस रथले चित्रण गर्ने सङ्‌गठन ब्रह्‍माण्डको सर्वोच्च मालिक यहोवाकै नियन्त्रणमा छ अनि उहाँले आफूलाई परिस्थितिअनुसार ढाल्न सक्नुभएजस्तै उहाँको सङ्‌गठनले पनि बद्‌लिँदो परिस्थिति र आवश्‍यकताअनुसार कामकुरा अघि बढाउन सक्छ।

१५ मानिसले चाहेर पनि यस्तो अद्‌भुत क्षमताको नक्कल उतार्न सक्दैन। मानिसहरू र तिनीहरूले बनाएका सङ्‌गठनहरू परिस्थितिअनुसार छाँटकाँट गर्न सक्दैनन्‌ बरु एउटै कुरामा अडिग रहन्छन्‌ अनि अरूसित सहमत हुनुको साटो आफ्नै कुरामा जिद्दी गर्छन्‌। एउटा उदाहरण विचार गरौँ। मालवाहक पानीजहाज वा रेल विशाल र शक्‍तिशाली हुन्छन्‌। तर बाटोमा अचानक कुनै अवरोध आइपर्दा के हुन्छ? मानौँ एउटा विशाल मालवाहक रेल गुडिरहेको लिकमा अचानक कुनै अवरोध आइपर्छ। त्यतिबेला दिशा परिवर्तन गर्ने कुरा त परै जाओस्‌, त्यसलाई रोक्न समेत असाध्यै कठिन हुन्छ। तीव्र गतिमा गुडिरहेको मालवाहक रेल ब्रेक लगाइसकेपछि पनि झन्डै २ किलोमिटर अगाडि गएर मात्र रोकिन्छ। त्यसैगरि मालवाहक पानीजहाजको इन्जिन बन्द गरेपछि पनि त्यो ८ किलोमिटरजति अगाडि गएर मात्र रोकिन्छ। त्यसको इन्जिनलाई उल्टो दिशातर्फ चलाइयो भने पनि त्यो ३ किलोमिटरजति अगाडि गएर मात्र रोकिन्छ। मानव सङ्‌गठनहरूको सन्दर्भमा पनि त्यस्तै भन्‍न सकिन्छ। घमन्डले गर्दा मानिसहरू बद्‌लिँदो परिस्थितिअनुसार छाँटकाँट गर्न राजी हुँदैनन्‌। यसले गर्दा थुप्रै संस्था टाट पल्टिएका छन्‌ अनि थुप्रै सरकार सत्ता छोड्‌न बाध्य भएका छन्‌। (हितोपदेश १६:१८) तर खुसीको कुरा, यहोवा त्यस्तो हुनुहुन्‍न र उहाँको सङ्‌गठन पनि त्यस्तो छैन।

यहोवा कसरी व्यावहारिकता देखाउनुहुन्छ?

१६. सदोम र गमोराको विनाशअघि यहोवाले लुतप्रति कसरी व्यावहारिकता देखाउनुभयो?

१६ सदोम र गमोरा सहरको विनाशबारे फेरि विचार गरौँ। लुत र तिनको परिवारले यहोवाको स्वर्गदूतबाट “पहाडी इलाकातिर भाग्नू” भन्‍ने स्पष्ट निर्देशन पाएका थिए। तर लुतलाई त्यो निर्देशन चित्त बुझेन। तिनले उहाँलाई “मलाई त्यतातिर नपठाउनुहोस्‌” भनेर बिन्ती गरे। लुतलाई पहाडी इलाकातिर भाग्दा आफ्नो र आफ्नो परिवारको ज्यान जाला भन्‍ने डर लागेको थियो। त्यसैले तिनले यहोवासित जोअर भन्‍ने नजिकैको सहरमा जान अनुमति मागे। तर उहाँ त्यस सहरलाई पनि नाश गर्न चाहनुहुन्थ्यो। वास्तवमा लुत डराउनुपर्ने कुनै कारण थिएन। यहोवाले तिनीहरूलाई पहाडी इलाकामा पनि जोगाउन सक्नुहुन्थ्यो। तैपनि उहाँले लुतको बिन्ती सुन्‍नुभयो। स्वर्गदूतले लुतलाई यसो भने: “ठीक छ, मैले तिम्रो बिन्ती सुनेँ। त्यस सहरलाई म नाश गर्दिनँ।” (उत्पत्ति १९:१७-२२) हाम्रा परमेश्‍वर यहोवा कत्ति व्यावहारिक हुनुहुन्छ नि, होइन र?

१७, १८. यहोवाले निनवेवासीहरूप्रति कसरी व्यावहारिकता देखाउनुभयो?

१७ यहोवाले मनैदेखि पश्‍चात्ताप गर्नेहरूलाई कृपा देखाउनुहुन्छ र जे सही हो, सधैँ त्यही गर्नुहुन्छ। उहाँले भविष्यवक्‍ता योनालाई हत्या-हिंसाले भरिएको सहर निनवेमा पठाउनुहुँदा के भएको थियो, विचार गरौँ। योनाले निनवेभरि नै अबको ४० दिनमा त्यो सहर विनाश हुनेछ भन्‍ने सन्देश घोषणा गरे। तर त्यहाँको परिस्थिति अचम्मलाग्दो तरिकामा परिवर्तन भयो। निनवेवासीहरूले पश्‍चात्ताप गरे।—योना अध्याय ३.

१८ त्यतिबेला यहोवाले देखाउनुभएको प्रतिक्रिया र योनाले देखाएको प्रतिक्रिया तुलना गरेर हेर्दा हामी केही पाठ सिक्न सक्छौँ। यहोवाले आफूलाई परिस्थितिअनुसार ढाल्नुभयो। यतिबेला उहाँले “वीर योद्धा”-को नभई एक जना क्षमाशील व्यक्‍तिको भूमिका निभाउनुभयो। d (प्रस्थान १५:३) तर योना भने अगाडि छलफल गरिएको मालवाहक रेल वा पानीजहाजजस्तै भए। तिनी अरट्ठो भए र कृपा देखाउनदेखि चुके। तिनले यहोवाको व्यावहारिकता झल्काउँदै आफूलाई परिस्थितिअनुसार ढाल्न सकेनन्‌। तिनले निनवेको विनाशको घोषणा गरेकोले तिनलाई त्यो सहर विनाश हुनै पर्छ जस्तो लागेको थियो। तर यहोवाले यी अधीर भविष्यवक्‍तालाई धैर्य गर्दै व्यावहारिकता र कृपाबारे पाठ सिकाउनुभयो, जुन सायद तिनले जीवनभर सम्झिरहे।—योना अध्याय ४.

यहोवा व्यावहारिक हुनुहुन्छ र हाम्रा सीमितताहरू बुझ्नुहुन्छ

१९. (क) यहोवा हामीबाट जे चाहनुहुन्छ, त्यसमा कसरी उहाँको व्यावहारिकता देखिन्छ? (ख) हितोपदेश १९:१७ ले यहोवा “असल अनि व्यावहारिक” हुनुका साथै नम्र पनि हुनुहुन्छ भनेर कसरी देखाउँछ?

१९ यहोवा हामीबाट जे चाहनुहुन्छ, त्यसमा पनि उहाँको व्यावहारिकता देखिन्छ। राजा दाउदले यसो भने: “हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्‍नुहुन्छ; हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।” (भजन १०३:१४) यहोवालाई हाम्रा सीमितताहरू अनि हाम्रो त्रुटिपूर्ण अवस्थाबारे हामीलाई भन्दा राम्ररी थाह छ। उहाँ हामीले गर्न सक्नेभन्दा बढी माग गर्नुहुन्‍न। बाइबलमा “असल अनि व्यावहारिक” र “रिझाउन गाह्रो” दुई किसिमको मालिकबारे बताइएको छ। (१ पत्रुस २:१८) यहोवा कस्तो किसिमको मालिक हुनुहुन्छ? हितोपदेश १९:१७ यसो भन्छ: “गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो।” स्पष्ट छ, असल र व्यावहारिक मालिकले मात्र गरिबहरूको लागि अरूले गरेको सानोभन्दा सानो दयाको काम पनि याद गर्छन्‌। साथै यस पदले देखाएअनुसार ब्रह्‍माण्डको मालिकले यस्ता दयालु मानिसहरूप्रति ऋणी महसुस गर्नुहुन्छ। नम्रताको कत्ति उत्कृष्ट उदाहरण!

२०. यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र जवाफ दिनुहुन्छ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ?

२० यहोवा आज पनि आफ्ना सेवकहरूसित व्यवहार गर्दा कोमलता र व्यावहारिकता देखाउनुहुन्छ। हामीले विश्‍वाससहित गरेको प्रार्थना उहाँ सुन्‍नुहुन्छ। हुनत अहिले हामीसित कुरा गर्न उहाँले स्वर्गदूतहरू पठाउनुहुन्‍न तर त्यसको मतलब उहाँ हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्‍न भन्‍ने होइन। प्रेषित पावल झ्यालखानामा छँदा तिनले आफ्ना भाइबहिनीलाई आफ्नो रिहाइको लागि ‘प्रार्थना गरिरहन’ आग्रह गर्दा यसो पनि भने: “ताकि म छिट्टै तिमीहरूकहाँ आउन सकूँ।” (हिब्रू १३:१८, १९) हो, हाम्रो व्यग्र प्रार्थना सुनेर यहोवाले कदम चाल्न पनि सक्नुहुन्छ तर प्रार्थना गरेनौँ भने उहाँले कदम नचाल्ने निर्णय पनि गर्न सक्नुहुन्छ।—याकुब ५:१६.

२१. यहोवाको नम्रताबारे विचार गर्दा हामी कस्तो निष्कर्षमा पुग्नु हुँदैन बरु हामीले कुन कुराको कदर गर्नुपर्छ?

२१ यस लेखमा यहोवा कोमल, अरूको कुरा सुन्‍न इच्छुक, धीरजी र व्यावहारिक हुनुहुन्छ भनेर बुझ्यौँ। यस्ता गुणहरूमा उहाँको नम्रता झल्किन्छ तर यसको मतलब उहाँ आफ्ना धार्मिक स्तरहरूमा सम्झौता गर्नुहुन्छ भन्‍ने होइन। चर्चजगत्‌का पादरीहरूले आफ्ना सदस्यहरूलाई मनपरी गर्न दिएर व्यावहारिकता देखाइरहेका छौँ भन्‍ने सोच्छन्‌। तर यसो गरेर वास्तवमा तिनीहरूले यहोवाको नैतिक स्तरलाई लत्याइरहेका हुन्छन्‌। (२ तिमोथि ४:३) मानिसहरू अक्सर आफूलाई गाह्रो लाग्ने नियमहरू पालन गर्दैनन्‌। तर यस्तो मनोवृत्ति यहोवाको व्यावहारिकतासित फिटिक्कै मेल खाँदैन। यहोवा पवित्र हुनुहुन्छ र आफ्ना धार्मिक स्तरहरूलाई कहिल्यै दूषित हुन दिनुहुन्‍न। (लेवी ११:४४) त्यसैले उहाँको व्यावहारिकताको कदर गरौँ किनकि यसले उहाँ नम्र हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिन्छ। उहाँ ब्रह्‍माण्डकै सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति हुनुभए पनि नम्र हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा के तपाईँको मन छोएन र? कोमलता, धीरज र व्यावहारिकताले भरिपूर्ण परमेश्‍वरसित नजिक हुन पाउनु हाम्रो लागि साँच्चै ठूलो सुअवसर हो!

a पुरातन समयका शास्त्रीहरू अर्थात्‌ सोफेरिमहरूले यस पदलाई यहोवा नभई यर्मिया निहुरिएका थिए भन्‍ने अर्थ लाग्नेगरि लेखे। तिनीहरूलाई परमेश्‍वरजस्तो सर्वोच्च व्यक्‍ति त्यसरी निहुरिनु उपयुक्‍त हुँदैन जस्तो लागेको हुन सक्छ। त्यसैले थुप्रै अनुवादबाट यस पदको मुख्य भाव नै हटाइयो। तर नयाँ अङ्‌ग्रेजी बाइबल-मा यर्मियाले यहोवालाई भनेको यो कुरा सही तरिकामा अनुवाद गरिएको छ: “सम्झनुहोस्‌, हे [परमेश्‍वर मलाई] सम्झनुहोस्‌ र निहुरिएर मसामु आउनुहोस्‌।”

b बाइबलका अन्य संस्करणमा यस अभिव्यक्‍तिलाई “बुद्धिमार्फत प्राप्त हुने नम्रता” अनि “बुद्धिको चिनारी कोमलता” भनेर पनि अनुवाद गरिएको छ।

c रोचक कुरा, बाइबलले धीरज भनेको अहङ्‌कारको विपरीत गुण हो भनेर बताउँछ। (उपदेशक ७:८) यहोवाको धीरजले उहाँको नम्रताको थप प्रमाण दिन्छ।—२ पत्रुस ३:९.

d भजन ८६:५ मा यहोवा “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ” भनेर बताइएको छ। पछि यो भजन ग्रीकमा अनुवाद गरिँदा “क्षमा गर्न सधैँ तयार” भन्‍ने अभिव्यक्‍तिको लागि एपिईकिस्‌ वा “व्यावहारिक” भन्‍ने शब्द प्रयोग गरियो।