सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ९

“ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”

“ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”

१-३. (क) येसुका चेलाहरूले गालिल समुद्रमा कस्तो परिस्थितिको सामना गर्नुपऱ्‍यो अनि येसुले के गर्नुभयो? (ख) प्रेषित पावलले “ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ” भन्‍नु किन उपयुक्‍त छ?

 एकपटक येसुका चेलाहरू डुङ्‌गा खियाएर गालिल समुद्रपारि गइरहेका थिए। अचानक डरलाग्दो आँधी चल्न थाल्यो र तिनीहरू आत्तिए। यसअघि पनि तिनीहरूले यस समुद्रमा पटक-पटक आँधीको सामना गरिसकेका थिए किनभने तिनीहरूमध्ये कोही-कोही पहिल्यैदेखि जलारीको काम गर्थे। a (मत्ति ४:१८, १९) तर यसपालि भने “ठूलो आँधी” चलेको थियो। ‘छाल उर्लेर डुङ्‌गालाई हिर्काइरहेको थियो’ अनि डुङ्‌गा पानीले भरिन लागेको थियो। त्यसैले तिनीहरूलाई डुङ्‌गा खियाउन हम्मेहम्मे परिरहेको थियो। तर येसु भने दिनभरि भीडलाई सिकाएर थाक्नुभएकोले डुङ्‌गाको पछिल्तिर सिरानी हालेर निदाइरहनुभएको थियो। चेलाहरू अब मरिने भइयो भनेर डराइरहेका थिए। त्यसैले तिनीहरूले यसो भन्दै येसुलाई ब्युँझाए: “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै आँट्‌यौँ!”—मर्कुस ४:३५-३८; मत्ति ८:२३-२५.

येसु भने फिटिक्कै डराउनुभएन। उहाँ उठ्‌नुभयो, आँधीलाई हप्काउनुभयो अनि समुद्रलाई यसो भन्‍नुभयो: “चुप लाग्‌! शान्त भइजा!” तब उत्तिखेरै आँधी थामियो र “समुद्र पूरै शान्त भयो।” येसुको त्यस्तो शक्‍ति देखेर चेलाहरू असाध्यै डराए। तिनीहरू आपसमा यसो भन्‍न थाले: “यिनी साँच्चै को हुन्‌?” हुन पनि कुनचाहिँ मानिसले अटेरी केटाकेटीलाई हप्काएझैँ आँधी र समुद्रलाई हप्काउन सक्छ र?—मर्कुस ४:३९-४१; मत्ति ८:२६, २७.

तर येसु साधारण मानिस हुनुहुन्‍न थियो किनभने यहोवाले धेरै पटक अद्‌भुत तरिकामा येसुको लागि र येसुद्वारा आफ्नो शक्‍ति प्रकट गर्नुभएको थियो। प्रेषित पावलले यहोवाबाट प्रेरणा पाएर यस्तो लेखेका थिए: “ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ।” (१ कोरिन्थी १:२४) यहोवाले के-कस्ता तरिकामा येसुमार्फत आफ्नो शक्‍ति प्रकट गर्नुभयो? येसुले आफ्नो शक्‍ति प्रयोग गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

यहोवाको एक मात्र छोराको शक्‍ति

४, ५. (क) यहोवाले आफ्नो एक मात्र छोरालाई कस्तो शक्‍ति र अख्तियार दिनुभएको थियो? (ख) सृष्टि गर्ने जिम्मेवारी पूरा गर्न येसुलाई केले मदत गऱ्‍यो?

पृथ्वीमा आउनुअघि येसुसित कस्तो शक्‍ति थियो, एकछिन विचार गरौँ। यहोवाले आफ्नो एक मात्र छोरालाई सृष्टि गर्न आफ्नो “अनन्त शक्‍ति” प्रयोग गर्नुभयो। (रोमी १:२०; कलस्सी १:१५) पछि उहाँ येसु ख्रिष्ट नामले चिनिनुभयो। येसुलाई सृष्टि गरिसक्नुभएपछि यहोवाले उहाँलाई अथाह शक्‍ति र अख्तियार दिनुभयो अनि आफूले थालेको सृष्टिको काम पूरा गर्ने जिम्मेवारी पनि दिनुभयो। उहाँबारे बाइबल यसो भन्छ: “सबै थोक उहाँद्वारै अस्तित्वमा आए, उहाँविना एउटै थोक पनि अस्तित्वमा आएन।”—युहन्‍ना १:३.

येसुले पाउनुभएको त्यो जिम्मेवारी एकदमै गहन थियो। अरबौँ शक्‍तिशाली स्वर्गदूत, असङ्‌ख्य तारापुञ्ज भएको यो ब्रह्‍माण्ड र पृथ्वीलगायत यहाँ भएका सबै जीवजीवात सृष्टि गर्न कत्ति शक्‍ति आवश्‍यक थियो होला, सोच्नुहोस्‌ त! यी सबै कुरा सृष्टि गर्न उहाँसित यस ब्रह्‍माण्डकै सबैभन्दा अद्‌भुत शक्‍ति थियो। त्यो हो, परमेश्‍वरको पवित्र शक्‍ति। यहोवाको मुख्य कारिगरको रूपमा काम गर्न पाउँदा उहाँ असाध्यै रमाउनुभयो।—हितोपदेश ८:२२-३१.

६. मृत्युबाट जीवित हुनुभएपछि येसुले यहोवाबाट कस्तो शक्‍ति र अख्तियार पाउनुभयो?

के येसुले यहोवाबाट अझ धेरै शक्‍ति र अख्तियार पाउन सक्नुहुन्थ्यो? उहाँले मृत्युबाट जीवित हुनुभएपछि यसो भन्‍नुभएको थियो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।” (मत्ति २८:१८) हो, यहोवाले येसुलाई सारा ब्रह्‍माण्डमा अख्तियार चलाउने क्षमता र अधिकार दिनुभयो। येसु “राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु” हुनुभएकोले उहाँसित यहोवाको विरोध गर्ने “सबै सरकार, सबै अख्तियार र शक्‍तिलाई नामेट” पार्ने अधिकार छ, चाहे ती दृश्‍य होऊन्‌ या अदृश्‍य। (प्रकाश १९:१६; १ कोरिन्थी १५:२४-२६) “परमेश्‍वरले [येसुको] अधीनमा नराख्नुभएको कुनै कुरा छैन।” ब्रह्‍माण्डमा यहोवापछि दोस्रो उच्च व्यक्‍ति येसु हुनुहुन्छ।—हिब्रू २:८; १ कोरिन्थी १५:२७.

७. येसुले कहिल्यै आफ्नो शक्‍तिको दुरुपयोग गर्नुहुनेछैन भनेर हामी किन ढुक्क हुन सक्छौँ?

के येसुले आफ्नो शक्‍तिको दुरुपयोग गर्नुहोला भनेर हामीले चिन्ता गर्नुपर्छ? कदापि पर्दैन। येसु आफ्नो बुबालाई धेरै माया गर्नुहुन्छ र उहाँलाई दुःखी बनाउने कुनै पनि काम गर्नुहुन्‍न। (युहन्‍ना ८:२९; १४:३१) उहाँले यहोवा आफ्नो शक्‍तिको कहिल्यै दुरुपयोग गर्नुहुन्‍न भनेर राम्ररी बुझ्नुभएको छ। “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌, तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न” यहोवा मौका खोजिरहनुहुन्छ भनेर येसु स्वयम्‌ले देख्नुभएको छ। (२ इतिहास १६:९) वास्तवमा भन्‍ने हो भने यहोवाजस्तै येसु पनि मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँले आफ्नो शक्‍ति सधैँ असल कामको लागि प्रयोग गर्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। (युहन्‍ना १३:१) यस सन्दर्भमा उहाँले नमुना बसालिसक्नुभएको छ। पृथ्वीमा हुनुहुँदा येसुसित कस्तो शक्‍ति थियो र उहाँले त्यो केको लागि प्रयोग गर्नुभयो, अब विचार गरौँ।

‘वचनमा शक्‍तिशाली’

८. यहोवाद्वारा अभिषेक हुनुभएपछि येसुले कस्तो शक्‍ति पाउनुभयो? उहाँले त्यो शक्‍ति कसरी प्रयोग गर्नुभयो?

नासरत सहरमा हुर्कँदै गर्दा येसुले कुनै चमत्कार गर्नुभएन। तर इस्वी संवत्‌ २९ मा उहाँले ३० वर्षको उमेरमा बप्तिस्मा गर्नुहुँदा एउटा घटना घट्यो। (लुका ३:२१-२३) बाइबल यसो भन्छ: “परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई निको पार्दै हिँड्‌नुभयो।” (प्रेषित १०:३८) “असल काम गर्दै . . . हिँड्‌नुभयो” भन्‍ने अभिव्यक्‍तिबाट येसुले कहिल्यै आफ्नो शक्‍तिको दुरुपयोग गर्नुभएन भनेर स्पष्ट हुन्छ। यहोवाद्वारा अभिषेक हुनुभएपछि येसु ‘काम र वचन दुवैमा शक्‍तिशाली भविष्यवक्‍ता’ साबित हुनुभयो।—लुका २४:१९.

९-११. (क) येसुले धेरैजसो कस्ता ठाउँहरूमा सिकाउनुभयो? उहाँसामु कस्तो चुनौती थियो? (ख) येसुको सिकाउने तरिका देखेर मानिसहरू किन छक्क परे?

येसु कुन अर्थमा वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो? उहाँ अक्सर खुला ठाउँमा मानिसहरूलाई सिकाउनुहुन्थ्यो। जस्तै: तालको किनारा, डाँडापाखा, बाटोघाटो र बजारहरूमा। (मर्कुस ६:५३-५६; लुका ५:१-३; १३:२६) उहाँले बताउनुभएको कुरा मानिसहरूलाई रोचक नलागेको भए तिनीहरू उहाँको कुरा नसुनी आफ्नो बाटो लाग्ने थिए। त्यो जमानामा किताबहरू छाप्ने छापाखाना नभएकोले मानिसहरूले उहाँका शिक्षाहरू ध्यान दिएर सुनेर मन र दिमागमा ठप्प राख्नुपर्थ्यो। त्यसैले येसुको शिक्षा सरल, रोचक र सजिलै सम्झन सकिने किसिमको हुनुपर्थ्यो। तर त्यसरी सिकाउनु येसुको लागि कुनै गाह्रो काम थिएन। उदाहरणको लागि, उहाँले दिनुभएको डाँडाको उपदेशबारे विचार गरौँ।

१० घटना इस्वी संवत्‌ ३१ को सुरुतिरको हो। एकाबिहान गालिल समुद्रनजिकैको डाँडामा मानिसहरूको ठूलो जमात भेला भयो। कतिपय मानिस १०० देखि ११० किलोमिटर टाढा पर्ने यहुदिया र यरुसलेमबाट आएका थिए भने अरू कतिपयचाहिँ उत्तरमा पर्ने टायर र सिदोनका तटवर्ती इलाकाहरूबाट आएका थिए। भीडमा भएका बिरामीहरू येसुलाई छुन आइरहेका थिए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। बिरामीहरू निको भएपछि उहाँले सबैलाई उपदेश दिन थाल्नुभयो। (लुका ६:१७-१९) उहाँको शिक्षा सुनेर तिनीहरू छक्क परे। किन?

११ डाँडाको उपदेश सुनेका एक व्यक्‍तिले धेरै वर्षपछि यस्तो लेखे: “उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो किनकि उहाँले . . . परमेश्‍वरबाट अख्तियार पाएको व्यक्‍तिले जस्तोगरि सिकाइरहनुभएको थियो।” (मत्ति ७:२८, २९) हो, मानिसहरूले येसु वचनमा शक्‍तिशाली हुनुहुन्छ भनेर आफैले महसुस गरे। येसु परमेश्‍वरको तर्फबाट बोल्नुभयो र उहाँको वचनलाई नै आधार बनाएर सिकाउनुभयो। (युहन्‍ना ७:१६) येसुको शिक्षा सरल र स्पष्ट थियो। उहाँका उपदेशहरू कदम चाल्न उत्प्रेरित गर्ने किसिमका थिए र उहाँका तर्कहरू अकाट्य थिए। उहाँ कुनै पनि समस्याको जडसम्म पुग्नुभयो र उहाँको शिक्षाले मानिसहरूको मन छोयो। उहाँले मानिसहरूलाई कसरी आनन्दित हुने, कसरी प्रार्थना गर्ने, कसरी परमेश्‍वरको राज्यको खोजी गर्ने र भविष्य उज्ज्वल बनाउन के गर्ने भनेर सिकाउनुभयो। (मत्ति ५:३–७:२७) उहाँको शिक्षाले सत्य र धार्मिकताको लागि भोकाइरहेकाहरूको हृदय तृप्त पाऱ्‍यो। त्यस्ता मानिसहरू आफैलाई “इन्कार” गर्न र सबै कुरा त्यागेर येसुको पछि लाग्न इच्छुक भए। (मत्ति १६:२४; लुका ५:१०, ११) येसु साँच्चै वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो!

‘काममा शक्‍तिशाली’

१२, १३. येसु कुन अर्थमा काममा शक्‍तिशाली हुनुहुन्थ्यो? उहाँले के-कस्ता चमत्कार गर्नुभयो?

१२ येसु ‘काममा पनि शक्‍तिशाली’ हुनुहुन्थ्यो। (लुका २४:१९) सुसमाचारका पुस्तकहरूमा उहाँका ३० वटाभन्दा धेरै चमत्कारबारे उल्लेख गरिएका छन्‌ र ती सबै उहाँले “यहोवा परमेश्‍वरको शक्‍ति” पाएर गर्नुभएको थियो। b (लुका ५:१७) उहाँका चमत्कारहरूबाट हजारौँले लाभ उठाए। उहाँले एक पटक “स्त्री र साना केटाकेटीबाहेक” ५ हजार र अर्को पटक ४ हजार पुरुषलाई खुवाउनुभएको थियो। यी दुइटा चमत्कारबाट मात्रै हजारौँ मानिसले लाभ उठाए।—मत्ति १४:१३-२१; १५:३२-३८.

१३ येसुले विभिन्‍न किसिमको चमत्कार गर्नुभयो। उहाँसित प्रेतहरूलाई धपाउने अख्तियार र शक्‍ति थियो। (लुका ९:३७-४३) प्राकृतिक तत्त्वहरूसमेत उहाँको नियन्त्रणमा थियो। उहाँले एकपटक पानीलाई दाखमद्यमा परिणत गर्नुभयो। (युहन्‍ना २:१-११) अर्को एकपटक ठूलो आँधी चलिरहेको बेला ‘येसु समुद्रमाथि हिँड्‌नुभयो’ र यो देखेर चेलाहरू आश्‍चर्यचकित भए। (युहन्‍ना ६:१८, १९) उहाँले जन्मजातै अशक्‍त व्यक्‍तिहरूलाई सद्दे बनाउनुभयो अनि सामान्यदेखि दीर्घकालीन र प्राणघातक रोगहरूसमेत निको पार्नुभयो। (मर्कुस ३:१-५; युहन्‍ना ४:४६-५४) उहाँ त्यस्ता बिरामीहरूलाई विभिन्‍न तरिकामा निको पार्नुहुन्थ्यो। उहाँले कसै-कसैलाई टाढैबाट निको पार्नुभयो भने कसै-कसैलाई चाहिँ छोएर निको पार्नुभयो। (मत्ति ८:२, ३, ५-१३) साथै उहाँले कसैलाई तुरुन्तै निको पार्नुभयो भने कसैलाई चाहिँ क्रमिक रूपमा निको पार्नुभयो।—मर्कुस ८:२२-२५; लुका ८:४३, ४४.

“तिनीहरूले येसुलाई समुद्रमाथि हिँड्‌दै . . . गर्नुभएको देखे”

१४. येसुसित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति छ भनेर के-कस्ता विवरणले देखाउँछ?

१४ अझ अचम्मलाग्दो कुरा, येसुसित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति थियो। उहाँले त्यसो गर्नुभएको तीन वटा विवरण बाइबलमा उल्लेख गरिएको छ। उहाँले मरिसकेकी १२ वर्षकी ठिटीलाई, एक जना विधवाको एक मात्र छोरालाई अनि दुई दिदीबहिनीको प्यारो भाइलाई जीवित पार्नुभयो। (लुका ७:११-१५; ८:४९-५६; युहन्‍ना ११:३८-४४) यी तीनै वटा घटनामा येसुले मरेकाहरूलाई सजिलै जीवित पार्नुभयो। उहाँले १२ वर्षकी ठिटीलाई मरेको केही समयमै जीवित पार्नुभयो। उहाँले विधवाको छोराको लास चिहानतर्फ लगिँदै गर्दा अर्थी छोएर तिनलाई ब्युँताउनुभयो अनि लाजरसलाई चाहिँ तिनको मृत्यु भएको चार दिनपछि जीवित पार्नुभयो।

निःस्वार्थ, जिम्मेवार र विचारशील तरिकामा शक्‍तिको प्रयोग

१५, १६. येसुले सधैँ अरूको फाइदाको लागि आफ्नो शक्‍ति प्रयोग गर्नुभयो भनेर हामी किन भन्‍न सक्छौँ?

१५ येसुको जस्तो शक्‍ति एक जना त्रुटिपूर्ण मानिसले पाएको भए तिनले त्यसको कत्ति दुरुपयोग गर्थे होलान्‌! तर येसु त्रुटिरहित हुनुहुन्थ्यो। (१ पत्रुस २:२२) उहाँमा स्वार्थ वा लोभ अलिकति पनि थिएन अनि उहाँले कहिल्यै आफूलाई बढ्‌तै महत्त्व दिनुभएन। यस्ता दुर्गुणहरूले गर्दा नै त्रुटिपूर्ण मानव शासकहरू आफ्नो शक्‍तिको दुरुपयोग गरेर अरूलाई हानि पुऱ्‍याउँछन्‌।

१६ तर येसुले कहिल्यै आफ्नो स्वार्थ पूरा गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुभएन। उहाँले भोक लाग्दा ढुङ्‌गालाई रोटी बनाउन इन्कार गर्नुभयो। (मत्ति ४:१-४) साथै उहाँसित सम्पत्तिको नाममा खासै केही नहुनुले उहाँले धनसम्पत्ति थुपार्न आफ्नो शक्‍ति प्रयोग गर्नुभएन भनेर स्पष्ट हुन्छ। (मत्ति ८:२०) उहाँ निःस्वार्थ भई शक्‍ति प्रयोग गर्नुहुन्थ्यो भन्‍ने कुराको अर्को प्रमाण पनि छ। कुनै चमत्कार गर्दा उहाँले उल्टै केही गुमाइरहनुभएको हुन्थ्यो। जब उहाँ बिरामीहरूलाई निको पार्नुहुन्थ्यो, तब उहाँबाट शक्‍ति बाहिर निस्कन्थ्यो। एक जना बिरामीलाई मात्र निको पार्नुहुँदा पनि येसु आफूबाट शक्‍ति बाहिर निस्केको चाल पाउनुहुन्थ्यो। (मर्कुस ५:२५-३४) तैपनि उहाँले भीडका भीड मानिसलाई आफूकहाँ आउन र छुन दिनुभयो अनि तिनीहरू निको भए। (लुका ६:१९) हो, उहाँ सधैँ अरूको फाइदाको लागि आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्थ्यो।

१७. येसु आफ्नो शक्‍ति सधैँ जिम्मेवार ढङ्‌गमा प्रयोग गर्नुहुन्थ्यो भनेर हामी किन भन्‍न सक्छौँ?

१७ येसु आफ्नो शक्‍ति सधैँ जिम्मेवार ढङ्‌गमा प्रयोग गर्नुहुन्थ्यो। उहाँले कहिल्यै अरूको वाहवाही पाउन वा चटक देखाउन आफ्नो शक्‍ति प्रयोग गर्नुभएन। (मत्ति ४:५-७) एकपटक राजा हेरोदले उहाँलाई चिन्हहरू देखाउन आग्रह गरे। तर उहाँले तिनको त्यस्तो गलत चाहना पूरा गर्न इन्कार गर्नुभयो। (लुका २३:८, ९) उहाँले कहिल्यै आफ्नो शक्‍तिको विज्ञापन गर्दै हिँड्‌नुभएन। बरु उहाँ आफूले निको पारेका मानिसहरूलाई त्यसबारे कसैलाई नबताउनू भनेर आदेश दिनुहुन्थ्यो। (मर्कुस ५:४३; ७:३६) उहाँ मानिसहरूले उहाँबारे बढाइचढाइ गरेको र सुन्‍ने मानिसहरू त्यसैको आधारमा उहाँबारे निष्कर्षमा पुगेको चाहनुहुन्‍न थियो।—मत्ति १२:१५-१९.

१८-२०. (क) येसुले कस्तो कुरा विचार गरेर आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्थ्यो? (ख) उहाँले एक जना बहिरोलाई निको पार्नुभएको तरिका तपाईँलाई कस्तो लाग्यो?

१८ येसु मानिसहरूको दुःखकष्ट र आवश्‍यकताको वास्ता नगर्ने शासकहरूजस्तो हुनुहुन्‍न थियो। उहाँ शक्‍तिशाली हुनुभए तापनि अरूप्रति विचारशील हुनुहुन्थ्यो। उहाँ मानिसहरूको ख्याल राख्नुहुन्थ्यो। पीडाले छटपटिरहेकाहरूलाई देख्दा उहाँ असाध्यै टिठाउनुहुन्थ्यो र तिनीहरूको पीडा हटाइदिनुहुन्थ्यो। (मत्ति १४:१४) उहाँ मानिसहरूको भावना र आवश्‍यकताप्रति विचारशील हुनुहुन्थ्यो अनि त्यो कुरा उहाँले आफ्नो शक्‍ति प्रयोग गर्नुभएको तरिकामा पनि झल्किन्थ्यो। त्यस्तै एउटा मन छुने विवरण मर्कुस ७:३१-३७ मा पाउँछौँ।

१९ एकपटक विभिन्‍न किसिमका बिरामीहरू लिएर मानिसहरूको एउटा भीड येसुकहाँ आयो र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। (मत्ति १५:२९, ३०) तर एक जना मानिसलाई भने उहाँले विशेष तरिकामा निको पार्नुभयो। ऊ बहिरो र भकभके थियो। उसले अप्ठेरो मानिरहेको येसुले याद गर्नुभएको हुन सक्छ। त्यसैले उहाँले उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुभयो। उहाँ ऊप्रति विचारशील हुनुभयो र अब आफूले गर्न लागेको कुरा बताउन इसारा गर्नुभयो। उहाँले “उसको कानमा आफ्नो औँला हाल्नुभयो अनि थुकेपछि उसको जिब्रो छुनुभयो।” c (मर्कुस ७:३३) त्यसपछि उहाँले आकाशतिर हेर्दै लामो सास तानेर प्रार्थना गर्नुभयो। त्यसो गरेर उहाँले त्यो बहिरोलाई एक अर्थमा यसो भन्दै हुनुहुन्थ्यो, ‘म जे गर्दै छु, त्यो परमेश्‍वरको शक्‍ति पाएर गर्दै छु।’ त्यसपछि उहाँले भन्‍नुभयो: “खोलिजा।” (मर्कुस ७:३४) उहाँले त्यसो भन्‍नेबित्तिकै ऊ सुन्‍न सक्ने भयो र उसको बोली पनि प्रस्ट भयो।

२० येसुले यहोवाबाट पाउनुभएको शक्‍ति मानिसहरूको दुःखकष्ट र पीडा हटाउन प्रयोग गर्नुभयो। उहाँले तिनीहरूको भावना बुझ्नुभयो र दया देखाउनुभयो। यो कुरा विचार गर्दा साँच्चै हाम्रो मन छुन्छ। खुसीको कुरा, यस्तो मायालु र विचारशील व्यक्‍तिलाई यहोवाले मसीही राज्यको राजा बनाउनुभएको छ।

पछि हुने कुराहरूको पूर्वझलक

२१, २२. (क) येसुले पृथ्वीमा छँदा गर्नुभएका चमत्कारहरू कुन कुराको पूर्वझलक थियो? (ख) उहाँले प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रण गर्न सक्नुहुने भएकोले नयाँ संसारमा पनि के गर्नुहुनेछ?

२१ येसुले पृथ्वीमा छँदा आफ्नो शक्‍ति प्रयोग गरेर जेजति चमत्कार गर्नुभयो, ती सबै भविष्यमा उहाँले परमेश्‍वरको राज्यको राजाको रूपमा गर्नुहुने कुराहरूको पूर्वझलक मात्र थियो। नयाँ संसारमा उहाँले फेरि चमत्कारहरू गर्नुहुनेछ तर कुनै खास ठाउँ वा जातिको लागि मात्र नभई पृथ्वीभरिका मानिसहरूको लागि। नयाँ संसारमा के-कस्ता रोमाञ्चक कुराहरू हुने आशा गर्न सक्छौँ? आउनुहोस्‌, तीमध्ये केही विचार गरौँ।

२२ येसुले नयाँ संसारमा पृथ्वीको वातावरणलाई पूर्णतया सन्तुलनमा राख्नुहुनेछ। सम्झनुहोस्‌ त, उहाँले शक्‍तिशाली आँधीलाई शान्त पारेर प्राकृतिक शक्‍तिहरूमाथि आफ्नो नियन्त्रण छ भनेर देखाइसक्नुभएको छ। त्यसैले उहाँले राज्य गर्नुहुँदा पृथ्वीमा कहिल्यै आँधी, भूकम्प, ज्वालामुखी विस्फोटन वा अन्य प्राकृतिक प्रकोप हुनेछैनन्‌। पृथ्वी र यहाँ भएका सबै जीवजीवात सृष्टि गर्न उहाँले मुख्य कारिगरको रूपमा काम गर्नुभएको थियो। त्यसैले उहाँलाई पृथ्वीको बनौट राम्ररी थाह छ। यहाँ भएका प्राकृतिक स्रोतसाधनको कसरी सदुपयोग गर्ने भनेर उहाँ राम्ररी जान्‍नुहुन्छ। त्यसैले उहाँले शासन गर्नुहुँदा पूरै पृथ्वी सुन्दर बगैँचामा परिणत हुनेछ।—लुका २३:४३.

२३. राजा येसुले परमेश्‍वरको राज्यमा कसरी सबै मानिसको आवश्‍यकता पूरा गर्नुहुनेछ?

२३ मानिसजातिको आवश्‍यकताबारे के भन्‍न सकिन्छ? येसुले थोरै खानेकुरा प्रयोग गरेर हजारौँलाई अघाउने गरी खुवाउनुभएको विवरणबाट उहाँको राज्यमा भोकमरी हुनेछैन भनेर स्पष्ट हुन्छ। हो, त्यतिबेला प्रशस्त खानेकुरा हुने भएकोले कसैलाई पनि कहिल्यै खानेकुराको अभाव हुनेछैन। (भजन ७२:१६) साथै उहाँले बिरामीहरूलाई निको पार्नुभएको कुराबाट उहाँको राज्यमा कोही पनि अशक्‍त, बिरामी, अन्धा, बहिरा र लुलालङ्‌गडा हुनेछैनन्‌ भनेर थाह पाउन सक्छौँ। (यसैया ३३:२४; ३५:५, ६) उहाँसित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति पनि छ। त्यसैले आफ्नो शासनमा उहाँले मरिसकेका तर यहोवाको सम्झनामा रहेका अरबौँ मानिसलाई फेरि जीवित पार्नुहुनेछ।—युहन्‍ना ५:२८, २९.

२४. येसुको शक्‍तिबारे विचार गर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ र किन?

२४ येसुको शक्‍तिबारे विचार गर्दा उहाँ आफ्नो बुबा यहोवाको हुबहु अनुकरण गर्नुहुन्छ भनेर सधैँ मनमा राख्नुपर्छ। (युहन्‍ना १४:९) उहाँले आफ्नो शक्‍ति प्रयोग गर्ने तरिकाबारे विचार गर्दा हामी यहोवाले आफ्नो शक्‍ति कसरी प्रयोग गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ। उदाहरणको लागि, येसुले एक जना कुष्ठरोगीलाई कत्ति दयालु ढङ्‌गमा निको पार्नुभएको थियो, विचार गर्नुहोस्‌ त! उहाँ ती कुष्ठरोगी देखेर टिठाउनुभयो, तिनलाई छुनुभयो र यसो भन्‍नुभयो: “म इच्छा गर्छु।” (मर्कुस १:४०-४२) यस्ता विवरणहरूमार्फत यहोवा एक अर्थमा यसो भन्दै हुनुहुन्छ, ‘हेर, म आफ्नो शक्‍ति यसरी प्रयोग गर्छु!’ के हामी आफ्नो शक्‍ति सधैँ मायालु तरिकामा प्रयोग गर्नुहुने सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महिमा गर्न र उहाँलाई धन्यवाद दिन उत्प्रेरित हुँदैनौँ र?

a गालिल समुद्रमा यस्तो आँधी चल्नु सामान्य कुरा हो। यो समुद्री सतहबाट लगभग २०० मिटर तल पर्ने भएकोले यस समुद्रमा चल्ने हावा वरपरका ठाउँहरूको भन्दा तातो हुन्छ, जसले गर्दा वायुमण्डलमा उथलपुथल हुन्छ। उत्तरतिर अवस्थित हर्मोन डाँडाबाट यर्दन बेँसीतर्फ जोरसित बतास चल्छ अनि शान्त गालिल समुद्रमा अचानक ठूलो आँधी चल्न थाल्छ।

b यसबाहेक सुसमाचारका पुस्तकहरूमा येसुले गर्नुभएको थुप्रै चमत्कारलाई एउटै घटनाको रूपमा लिपिबद्ध गरिएको छ। उदाहरणको लागि, एकपटक “पूरै सहर” उहाँकहाँ जम्मा भएको थियो र उहाँले “धेरै मानिसलाई निको पार्नुभयो।”—मर्कुस १:३२-३४.

c यहुदी र अन्यजातिका मानिसहरू थुक्नुलाई बिरामी निको पार्ने एउटा तरिका वा चिन्हको रूपमा लिन्थे। त्यसैले येसुले त्यस मानिसलाई निको पार्न लागेको कुरा देखाउन यसो गर्नुभएको हुन सक्छ। कारण जेसुकै होस्‌, येसुले आफ्नो थुकलाई प्राकृतिक औषधीको रूपमा प्रयोग गर्नुभएको थिएन।