सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

परमेश्‍वरबारे कुनै चासो नभएकी अनि राम्रो जागिर खाइरहेकी एक स्त्रीले कसरी जीवनको साँचो उद्देश्‍य भेट्टाउन सकिन्‌? मृत्युबारे थाह पाएको कुन कुराले एक जना क्याथोलिक युवकलाई आफ्नो जीवनशैली परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो? साथै परमेश्‍वरबारे थाह पाएको कुन कुराले जीवनमा निराश भएका एक युवकलाई सुसमाचार सुनाउने काममा लाग्न उत्प्रेरित गऱ्‍यो? तिनीहरू के भन्छन्‌, याद गर्नुहोस्‌।

“वर्षौँदेखि मेरो मनमा ‘हामी यहाँ किन छौँ?’ भन्‍ने प्रश्‍न खेलिरहेको थियो”—रोसलिन्ड जोन

  • जन्म मिति: सन्‌ १९६३

  • जन्मस्थान: बेलायत

  • विगतमा: प्रतिष्ठित करिअरमा रमाइरहेकी

मेरो विगत:

मेरो जन्म दक्षिणी लन्डनको क्रोइडनमा भएको थियो। नौ जना छोराछोरीमध्ये म छैटौँ थिएँ। मेरा आमाबुबा सेन्ट भिन्सेन्टको करेबियन टापुको हुनुहुन्थ्यो। मेरी आमा मेथोडिस्ट चर्च जानुहुन्थ्यो। हुनत मलाई ज्ञान बटुल्न धेरै मन पर्थ्यो तर परमेश्‍वरबारे सिक्न भने मलाई कुनै चासो थिएन। स्कुलको बिदामा म घरनजिकैको तालमा गएर लाइब्रेरीबाट ल्याएका थुप्रै किताब पढेर दिन बिताउँथेँ।

स्कुल सिद्धिएको केही वर्षपछि ममा दीनदुःखीहरूलाई मदत गर्ने इच्छा जाग्यो। मैले घरबारविहीन अनि शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूका साथै सिक्ने क्षमता सीमित भएकाहरूलाई मदत गर्न थालेँ। त्यसपछि विश्‍वविद्यालयमा स्वास्थ्य विज्ञान विषय लिएर पढेँ। पढाइ सिद्ध्याएपछि मैले एकदमै प्रतिष्ठित ओहदामा जागिर खान थालेँ अनि मेरो जीवनशैली पनि अझै आरामदायी हुँदै गयो। म व्यवस्थापन परामर्शदाता र सामाजिक अध्ययनकर्ताको रूपमा काम गर्थेँ। कामको लागि मलाई ल्याप्टप र इन्टरनेट भए पुग्थ्यो। म समय-समयमा केही हप्ताको लागि विदेश जान्थेँ, आफूलाई मनपर्ने होटेलमा बस्थेँ, रमणीय दृश्‍यको आनन्द उठाउँथेँ अनि तन्दुरुस्त रहन स्पा र जिम जान्थेँ। मलाई साँच्चैको जीवन यही हो जस्तो लाग्थ्यो। तर मलाई अझै पनि दीनदुःखीहरूको चिन्ता लागिरहन्थ्यो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

मैले वर्षौँसम्म यस्ता प्रश्‍नहरूबारे सोचेँ: “हामी किन यहाँ छौँ? जीवनको उद्देश्‍य के हो?” तर कहिल्यै पनि त्यसको जवाफ बाइबलमा खोजिनँ। सन्‌ १९९९ मा मेरी बहिनी मार्गरेट, जो यहोवाको साक्षी थिइन्‌, आफ्नो एक जना साक्षी साथीसित मलाई भेट्‌न आइन्‌। उनकी साथीले मप्रति व्यक्‍तिगत चासो देखाइन्‌। त्यसैले म उनीसित बाइबल अध्ययन गर्न राजी भएँ। मेरो काम र जीवनशैलीले गर्दा मैले त्यति आध्यात्मिक प्रगति गरिरहेकी थिइनँ।

सन्‌ २००२ को गर्मी याममा म इङ्‌गल्यान्डको दक्षिण-पश्‍चिम भागतिर बसाइँ सरेँ। म अझ उच्च शिक्षा हासिल गर्नको लागि त्यहाँको विश्‍वविद्यालयमा भर्ना भएँ। म आफ्नो सानो छोरासँगै नजिकैको सभाभवनमा पनि पहिलेभन्दा नियमित रूपमा जान थालेँ। हुनत मलाई विश्‍वविद्यालयमा पढ्‌न मन पर्थ्यो तर बाइबल अध्ययनबाट भने जीवनका समस्याहरू र त्यसका समाधानबारे अझ राम्ररी बुझ्न सकेँ। मैले मत्ति ६:२४ मा बताइएको कोही पनि दुई मालिकको अर्थात्‌ परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैन भन्‍ने सत्य बुझेँ। मैले पनि आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिइरहेको छु भनेर केलाउनुपर्थ्यो।

त्यसको एक वर्षअघि घरमै हुने बाइबल अध्ययन समूह सभामा उपस्थित हुने गर्थेँ। त्यहाँ के तपाईँको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्‌ग्रेजी) * भन्‍ने किताब छलफल गरिन्थ्यो। मानिसजातिका समस्याहरूको समाधान सृष्टिकर्ता यहोवासित मात्र छ भन्‍ने कुरामा म पक्का भएँ। तर विश्‍वविद्यालयमा भने उद्देश्‍यपूर्ण जीवन बिताउन सृष्टिकर्तामाथि विश्‍वास गर्नु आवश्‍यक छैन भनेर सिकाइन्थ्यो। त्यहाँ सिकाइने यस्तो कुराले गर्दा मलाई एकदमै रिस उठ्‌थ्यो। त्यसको दुई महिनापछि मैले विश्‍वविद्यालयको पढाइ छोडेँ अनि आध्यात्मिक गतिविधिहरूमा अझ धेरै भाग लिने निर्णय गरेँ।

मलाई आफ्नो जीवनशैली परिवर्तन गर्न उत्प्रेरित गरेको बाइबल पद हितोपदेश ३:५, ६ हो, जहाँ यस्तो लेखिएको छ: “आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर। जुनसुकै काम गर्दा उहाँलाई सम्झ; उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।” मैले मायालु परमेश्‍वरबारे सिक्दा धेरै लाभ उठाएकी छु, जुन धनसम्पत्ति वा उच्च शिक्षाबाट पाइने ओहदाले दिन सक्दैन। मैले पृथ्वीको लागि यहोवाको उद्देश्‍य र हाम्रो लागि येसुले दिनुभएको फिरौतीको बलिदानबारे जति धेरै सिकेँ, यहोवालाई जीवन समर्पण गर्ने मेरो इच्छा त्यति नै बढ्यो। मैले अप्रिल २००३ मा बप्तिस्मा गरेँ अनि आफ्नो जीवन सरल बनाउँदै गएँ।

मैले कसरी लाभ उठाएकी छु?

यहोवासितको सम्बन्धलाई म अनमोल ठान्छु। उहाँलाई चिनेपछि मैले साँचो आनन्द र शान्ति पाएकी छु। परमेश्‍वरका अरू साँचो उपासकहरूसित सङ्‌गत गर्न पाएकोमा पनि म खुसी छु।

बाइबल र ख्रिष्टियन सभाहरूबाट सिकेका कुराहरूले गर्दा म एकदमै सन्तुष्ट भएकी छु। मलाई आफ्नो विश्‍वासबारे अरूलाई बताउन मन पर्छ। अहिले यो नै मेरो करिअर भएको छ। म मानिसहरूलाई अहिल्यै आनन्दित हुन अनि भविष्यमा नयाँ संसारमा जीवन बिताउने सुन्दर आशा पाउन मदत गर्दै छु। जुन २००८ देखि म पूर्ण-समय सेवा गरिरहेकी छु अनि म एकदमै खुसी र सन्तुष्ट छु। मैले जीवनको साँचो उद्देश्‍य पाएकी छु अनि त्यसको लागि म यहोवाप्रति एकदमै कृतज्ञ छु।

“मेरो साथीको मृत्युले ममा ठूलो असर पाऱ्‍यो”—रोमन इर्नेस्ब्‌यागर

  • जन्म मिति: सन्‌ १९७३

  • जन्मस्थान: अस्ट्रिया

  • विगतमा: जुवाडे

मेरो विगत:

म अस्ट्रियाको एउटा सानो सहर ब्राउनाउमा हुर्किएँ। त्यहाँ धनी मानिसहरू बस्ने गर्थे अनि आपराधिक घटनाहरू त्यत्ति हुँदैनथ्यो। म क्याथोलिक परिवारमा हुर्किएँ।

म सानो छँदा घटेको एउटा घटनाले ममा ठूलो असर पाऱ्‍यो। सन्‌ १९८४ मा म ११ वर्षको हुँदा आफ्नो मिल्ने साथीसँग फुटबल खेलेको त्यो दिन अझै सम्झन्छु। त्यही दिन दिउँसो कार दुर्घटनामा उसको ज्यान गयो। मेरो साथीको मृत्युले ममा ठूलो असर पाऱ्‍यो। उसको मृत्यु भएको वर्षौँपछिसम्म पनि मैले मरेपछि हामीलाई के हुन्छ होला भनेर सोचिरहेँ।

मेरो स्कुल सकिएपछि मैले इलेक्ट्रिसियनको काम गर्न थालेँ। हुनत मेरो धेरै पैसाको दाउ हालेर जुवा खेल्ने बानी थियो, तैपनि मलाई आर्थिक समस्या भने भएन। म आफ्नो धेरैजसो समय खेलकुदमै बिताउँथेँ अनि मलाई हेभी मेटल र पङ्‌क रक गीतहरू सुन्‍न धेरै मन पर्थ्यो। मेरो धेरैजसो समय डिस्को र पार्टीहरूमै बित्थ्यो। म अनैतिक र विलासी जीवन बिताउँथेँ तर भित्र-भित्रै खोक्रो महसुस गर्थेँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

सन्‌ १९९५ को कुरा हो, एक जना वृद्ध साक्षीले मेरो घरको ढोका ढक्ढक्याउनुभयो। उहाँले मलाई एउटा किताब दिनुभयो, जसमा मृत्युपछि के हुन्छ भन्‍ने प्रश्‍नबारे छलफल गरिएको थियो। म आफ्नो साथीको दुःखद मृत्युबारे अझै पनि सोचिरहन्थेँ। त्यसैले मैले त्यो किताब लिएँ। मैले मृत्युबारे छलफल गरिएको अध्याय मात्र होइन, पूरै किताब पढेँ।

त्यो किताब पढेर मैले मृत्युबारे आफ्नो मनमा उठेका प्रश्‍नहरूको जवाफ पाएँ। मैले अरू पनि थुप्रै कुरा सिकेँ। म क्याथोलिक परिवारमा हुर्किएकोले मेरो विश्‍वास खासगरि येसुमै केन्द्रित थियो। तर बाइबलको राम्ररी अध्ययन गरेपछि मैले येसु ख्रिष्टको बुबा यहोवा परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न सकेँ। यहोवा हाम्रो ख्याल राख्नुहुन्छ र हामीले उहाँलाई चिनेको चाहनुहुन्छ भन्‍ने कुरा मलाई रोचक लाग्यो। (मत्ति ७:७-११) यहोवाको पनि भावना छ र उहाँ आफूले भनेको कुरा सधैँ पूरा गर्नुहुन्छ भनेर मैले थाह पाएँ। यसले गर्दा बाइबल भविष्यवाणीहरूप्रति मेरो चासो बढ्यो र ती कसरी पूरा भए भनेर अनुसन्धान गर्न थालेँ। मैले भेट्टाएको कुराले परमेश्‍वरमाथिको मेरो विश्‍वास बलियो बनायो।

यहोवाका साक्षीहरू मात्रै अरूलाई बाइबलको कुरा सिकाउन साँच्चै इच्छुक छन्‌ भनेर बुझ्न मलाई धेरै समय लागेन। मैले साक्षीहरूको प्रकाशनमा दिइएका शास्त्रपदहरू आफ्नो क्याथोलिक बाइबलमा हेरेँ। मैले जति धेरै अनुसन्धान गरेँ, त्यति नै आफूले सत्य भेट्टाएको कुरामा विश्‍वस्त हुँदै गएँ।

यहोवा मैले उहाँको स्तरअनुरूप जीवन बिताएको चाहनुहुन्छ भनेर बाइबल अध्ययन गरेपछि थाह पाएँ। एफिसी ४:२२-२४ बाट मैले आफ्नो “पहिलेको आचरणसित” मेल खाने “पुरानो व्यक्‍तित्वलाई” फुकाल्नुपर्छ अनि ‘परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ’ भनेर सिकेँ। त्यसैले मैले आफ्नो अनैतिक जीवनशैली त्यागेँ। मैले जुवा खेल्न पनि छोड्‌नुपर्थ्यो किनभने त्यसले भौतिकवाद र लोभलाई बढावा दिन्छ। (१ कोरिन्थी ६:९, १०) यस्ता परिवर्तनहरू गर्न मैले आफ्नो पुरानो सरसङ्‌गत छोड्‌नुपर्थ्यो र मैले सिकेको स्तरअनुसार चल्ने मानिसहरूलाई साथी बनाउनुपर्थ्यो।

यी परिवर्तनहरू गर्न सजिलो थिएन। तैपनि म साक्षीहरूसितै सभाभवनमा हुने कार्यक्रमहरूमा उपस्थित हुन थालेँ र त्यहाँ नयाँ साथीहरू बनाउन थालेँ। साथै मैले आफै गहिरिएर बाइबलको अध्ययन पनि गरिरहेँ। यसले मलाई मेरो सङ्‌गीतको छनौट, मैले जीवनमा राखेको लक्ष्य र आफ्नो रूपरङ्‌गमा परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो। सन्‌ १९९५ मा बप्तिस्मा गरेर म एक जना यहोवाको साक्षी बनेँ।

मैले कसरी लाभ उठाएको छु?

अहिले मैले रुपैयाँ-पैसा र धनसम्पत्तिप्रति सन्तुलित दृष्टिकोण राख्न सकेको छु। पहिले म रिसाहा स्वभावको थिएँ। अहिले भने म शान्त स्वभावको हुन सकेको छु। साथै अहिले म भविष्यको औधी चिन्ता पनि गर्दिनँ।

यहोवाको सेवा गर्ने मानिसहरूको विश्‍वव्यापी परिवारको भाग हुन पाएकोमा म खुसी छु। तिनीहरूमाझ मैले यस्ता मानिसहरू पनि देखेको छु, जसले समस्याहरूको सामना गर्नुपर्दा पनि विश्‍वासी भई परमेश्‍वरको सेवा गरिरहेका छन्‌। अहिले म आफ्नो समय र शक्‍ति आफ्नै स्वार्थी इच्छा पूरा गर्न होइन, बरु यहोवाको उपासना गर्न प्रयोग गर्छु। यसो गर्न सकेकोमा म एकदमै खुसी छु।

“अहिले मेरो जीवन उद्देश्‍यपूर्ण भएको छ”—इयन किङ

  • जन्म मिति: सन्‌ १९६३

  • जन्मस्थान: इङ्‌गल्यान्ड

  • विगतमा: जीवनदेखि निराश भएको

मेरो विगत:

मेरो जन्म इङ्‌गल्यान्डमा भएको थियो। तर म सात वर्षको हुँदा मेरो परिवार अस्ट्रेलियामा सर्‌यो। हामी अस्ट्रेलियाको क्विन्सल्याण्डको पर्यटकहरू धेरै आउने ठाउँ गोल्डकोस्टमा बस्न थाल्यौँ। हाम्रो परिवार धनी त थिएन, तैपनि हामीलाई कुनै कुराको अभाव भएन।

सहज परिस्थितिमा हुर्किएको भए तापनि म साँच्चै खुसी भने थिइनँ। मेरो जीवन निराशापूर्ण थियो। मेरो बुबा धेरै रक्सी पिउनुहुन्थ्यो। उहाँको पिउने बानी र उहाँले आमालाई गर्नुभएको व्यवहारको कारण म उहाँसित घनिष्ठ हुन चाहिनँ। मलेसियामा सेनामा हुनुहुँदा उहाँले भोग्नुभएका कुराहरूबारे मैले पछि मात्र थाह पाएँ। त्यसपछि भने उहाँले किन त्यस्तो व्यवहार गर्नुभएको रहेछ भनेर मैले बुझ्न थालेँ।

स्कुलमा छँदा मैले धेरै रक्सी पिउन थालेँ। सोह्र वर्षको उमेरमा म जलसेनामा भर्ती भएँ। मलाई सुर्तीजन्य पदार्थको लत लाग्यो र मैले लागूपदार्थ पनि सेवन गर्न थालेँ। साथै म झन्‌झनै रक्सीमा निर्भर हुन थालेँ। पहिले म सप्ताहन्तमा धेरै रक्सी पिउने गर्थेँ। तर पछि हरेक दिन नै त्यसो गर्न थालेँ।

म १९/२० वर्षको हुँदा परमेश्‍वरको अस्तित्वमाथि प्रश्‍न गर्न थालेँ। म सोच्थेँ, ‘परमेश्‍वर साँच्चै हुनुहुन्छ भने किन मानिसहरूलाई दुःखकष्ट भोग्न र मर्न दिनुहुन्छ?’ यहाँसम्म कि मैले संसारमा व्याप्त सबै दुष्टताको लागि परमेश्‍वरलाई दोष लगाउँदै कवितासमेत रचेँ।

तेइस वर्षको उमेरमा मैले जलसेना छोडेँ। त्यसपछि मैले विभिन्‍न ठाउँमा काम गरेँ र एक वर्षको लागि अर्को देश पनि गएँ। तर जे गर्दा पनि मेरो नैराश्‍यता कम भएन। ममा कुनै लक्ष्य राख्ने वा कुनै कुरा हासिल गर्ने चाहना थिएन। मलाई कुनै पनि कुराप्रति चासो थिएन। आफ्नै घर, राम्रो जागिर वा पदोन्‍नतिजस्ता सबै कुरा मलाई व्यर्थ लाग्थ्यो। रक्सी पिउँदा र सङ्‌गीत सुन्दा मात्र म “शान्त” महसुस गर्थेँ।

मेरो मनमा जीवनको उद्देश्‍य थाह पाउने इच्छा जागेको त्यो क्षण म अझै सम्झन्छु। म पोल्याण्डमा हुँदा अस्विचमा रहेको यातना शिविर गएको थिएँ, जहाँ विगतमा मानिसहरूलाई असाध्यै क्रूर व्यवहार गरिन्थ्यो। हुनत त्यहाँ भएको अत्याचारबारे मैले पढेको थिएँ तर त्यहीँ गएर त्यस विशाल यातना शिविरलाई नियाल्दा म भावुक भएँ। मानिसहरू सङ्‌गी मानिसहरूप्रति कसरी यत्ति क्रूर हुन सक्छन्‌ भनेर मैले बुझ्नै सकिनँ। आँखाभरि आँसु लिएर म त्यो शिविरवरिपरि घुमिरहेको मलाई अझै याद छ। त्यतिबेला मेरो मनमा यो प्रश्‍न खेलिरहेको थियो: ‘किन?’

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

सन्‌ १९९३ मा विदेशबाट फर्केपछि मैले जवाफहरूको खोजीमा बाइबल पढ्‌न थालेँ। त्यसको केही समयपछि दुई जना यहोवाका साक्षीले मेरो ढोका ढकढक्याए अनि नजिकैको रङ्‌गशालामा हुन गइरहेको अधिवेशनको निम्तो दिए। मैले त्यहाँ जाने निर्णय गरेँ।

केही समयअघि म त्यही रङ्‌गशालामा म्याच हेर्न गएको थिएँ। त्यो म्याच र अधिवेशनबीच ठूलो फरक थियो। साक्षीहरू नम्र थिए, तिनीहरूले भद्र लुगा लगाएका थिए र तिनीहरूका छोराछोरी पनि ज्ञानी थिए। खाजा खाने बेलामा मैले देखेको कुराले म छक्क परेँ। सयौँ साक्षीले त्यही मैदानमा बसेर खाजा खाए तर तिनीहरू आ-आफ्नो सिटमा फर्कँदा भने मैदानमा अलिकति पनि फोहोर थिएन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू शान्त र सन्तुष्ट देखिन्थे। म पनि त्यही कुरा चाहन्थेँ। त्यस दिनको कुनै पनि भाषण मलाई याद छैन तर साक्षीहरूको व्यवहारले भने ममा अमेट छाप पाऱ्‍यो।

त्यस साँझ मलाई फुपूको छोराको याद आयो, जसले बाइबल अनि थुप्रै धर्मबारे अध्ययन गरेका थिए। साँचो धर्म त्यसको फलबाट चिन्‍न सकिन्छ भनेर येसुले सिकाउनुभएको कुरा वर्षौँअघि तिनले मलाई भनेका थिए। (मत्ति ७:१५-२०) मैले साक्षीहरू किन यत्ति फरक छन्‌ भनेर जाँच्ने विचार गरेँ। जीवनमा पहिलो चोटि मैले आशाको किरण देखेँ।

एक हप्तापछि मलाई अधिवेशनको निम्तो दिएका दुई साक्षी मलाई फेरि भेट्‌न आए। तिनीहरूले मसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखे र मैले स्विकारेँ। म तिनीहरूसित ख्रिष्टियन सभाहरूमा पनि उपस्थित हुन थालेँ।

बाइबल अध्ययन गर्दै जाँदा परमेश्‍वरप्रतिको मेरो दृष्टिकोण पूरै परिवर्तन भयो। संसारमा व्याप्त दुःखकष्टमा परमेश्‍वरको कुनै हात छैन, बरु मानिसहरूले खराब काम गर्दा उहाँलाई दुःख लाग्छ भनेर मैले थाह पाएँ। (उत्पत्ति ६:६; भजन ७८:४०, ४१) त्यसपछि मैले परमेश्‍वरलाई कहिल्यै दुःखी नबनाउने सङ्‌कल्प गरेँ। म उहाँलाई खुसी बनाउन चाहन्थेँ। (हितोपदेश २७:११) मैले धेरै रक्सी पिउन, सुर्तीजन्य पदार्थ सेवन गर्न र अनैतिक जीवन बिताउन छोडेँ। मैले मार्च १९९४ मा बप्तिस्मा गरेँ र एक जना यहोवाको साक्षी बनेँ।

मैले कसरी लाभ उठाएको छु?

म साँच्चै खुसी र सन्तुष्ट छु। अहिले म आफ्ना समस्याहरू बिर्सन रक्सी पिउँदिनँ। बरु मैले यहोवामा आफ्नो भारी बिसाउन सिकेको छु।—भजन ५५:२२.

दस वर्षअघि मैले क्यारेन नाम गरेकी एक जना साक्षीसित विवाह गरेँ। तिनी र तिनकी छोरी नेला मायालु छन्‌। अरूलाई परमेश्‍वरबारे सत्य सिकाउने काममा भाग लिन पाएकोमा हामी तीनै जना असाध्यै खुसी छौँ। हो, अहिले मेरो जीवन उद्देश्‍यपूर्ण भएको छ।

^ यहोवाका साक्षीहरूद्वारा प्रकाशित।