आवरण लेख | परमेश्वरलाई प्रेम गर्न असम्भव छ भन्ने झूट
परमेश्वर क्रूर हुनुहुन्छ भन्ने झूट
धेरैले के विश्वास गर्छन्?
“जसले पाप गर्छ, उसलाई सजायस्वरूप नरकमा फ्याँकिन्छ र त्यहाँ ऊ ‘सधैँभरि बलिरहने अग्निकुण्डमा’ तड्पिन्छ।” (क्याथोलिक चर्चको शिक्षा) केही धर्मगुरुको विचारमा नरकमा हुनेहरू परमेश्वरबाट पूर्णतया अलग्गिएको अवस्थामा हुन्छन्।
बाइबलले सिकाउने सत्य के हो?
“जसले पाप गर्छ, त्यही मर्छ।” (इजकिएल १८:४) मरेकाहरूलाई “केही पनि थाह हुँदैन।” (उपदेशक ९:५) यदि मरेको मानिसलाई केही पनि थाह हुँदैन भने ऊ कसरी “सधैँभरि बलिरहने अग्निकुण्डमा” तड्पिन सक्छ र? अथवा उसले कसरी परमेश्वरबाट अलग हुँदाको पीडा महसुस गर्न सक्छ र?
धेरैजसो मानिसलाई हिब्रू शब्द शिओल-ले नरकलाई जनाउँछ जस्तो लाग्छ। तर वास्तवमा यसले मानिसको चिहानलाई बुझाउँछ। उदाहरणको लागि, परमेश्वरको सेवक अय्युबलाई पीडादायी रोग लाग्दा तिनले यसो भनेर प्रार्थना गरे: “हे परमेश्वर, मलाई चिहानमा [शाब्दिक, “शिओलमा”] लुकाउनुहोस्।” (अय्युब १४:१३) अय्युबले दुःखकष्टबाट छुटकारा पाउन “मलाई चिहानमा लुकाउनुहोस्” भनेर बिन्ती गरिरहेका थिए। तिनले मरेकाहरूलाई तड्पाउने ठाउँ अथवा परमेश्वरबाट अलग्गिने अवस्थालाई सङ्केत गरिरहेका थिएनन्।
यस विषयमा किन चासो राख्नुपर्छ?
क्रूर परमेश्वरसित हामी घनिष्ठ हुन चाहँदैनौँ बरु उहाँबाट टाढिन खोज्छौँ। मेक्सिकोमा बस्ने रोसियो भन्छिन्, “सानैदेखि मलाई नरकबारे सिकाइयो। त्यसैले मलाई असाध्यै डर लाग्थ्यो। परमेश्वरमा कुनै असल गुण नै छैन भन्ठान्थेँ। उहाँ असाध्यै रिसाउने र सजाय दिइहाल्ने परमेश्वर हुनुहुन्छ जस्तो लाग्थ्यो।”
परमेश्वरले मानिसलाई नरकमा सजाय दिनुहुन्न भन्नेबारे र मरेकाहरूको अवस्थाबारे बाइबलले सिकाउने सत्य कुरा बुझेपछि परमेश्वरप्रति रोसियोको धारणा परिवर्तन भयो। तिनी भन्छिन्, “बल्ल मलाई हलुका महसुस भयो, मनबाट ठूलो बोझ हटे जस्तो लाग्यो। परमेश्वर हाम्रो हित चाहनुहुन्छ, उहाँ हामीलाई माया गर्नुहुन्छ र म पनि उहाँलाई माया गर्न सक्छु भनेर ढुक्क महसुस हुन थाल्यो। उहाँ एक जना मायालु बुबाजस्तै हुनुहुन्छ, जसले आफ्नो छोराछोरीको हात समाएर डोऱ्याउँछन् र उनीहरूको भलो चाहन्छन्।”—यसैया ४१:१३.
धेरैजसो मानिस नरकमा सास्ती भोग्ने डरले धर्मकर्म गर्न लागिपर्छन्। तर तपाईँले डरले गर्दा मात्र परमेश्वरको उपासना गरेको उहाँ चाहनुहुन्न। बरु येसुले भन्नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई . . . प्रेम गर्नू।” (मर्कुस १२:२९, ३०) साथै परमेश्वरले अहिले अन्यायपूर्ण व्यवहार गर्नुभएको छैन भन्ने कुरामा ढुक्क छौँ भने भविष्यमा पनि उहाँले सही तरिकामा न्याय गर्नुहुनेछ भन्ने कुरामा हामीलाई कुनै शङ्का लाग्नेछैन। अय्युबको साथी एलिहुले जस्तै हामी पनि विश्वस्त भई यसो भन्न सक्छौँ: “साँचो परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न, सर्वशक्तिमान् परमेश्वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”—अय्युब ३४:१०.