सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ९

“अवैध यौनसम्बन्धदेखि भाग!”

“अवैध यौनसम्बन्धदेखि भाग!”

“पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, अनियन्त्रित कामवासना, खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।”—कलस्सी ३:५.

१, २. बालामले यहोवाका सेवकहरूलाई हानि पुऱ्‍याउन के गरे?

एक जना मछुवा एउटा खास किसिमको माछा मार्न चाहन्छ। त्यसैले ऊ त्यस्तो माछा पाउने ठाउँमा जान्छ। उसले धेरै विचार पुऱ्‍याएर चारो छान्छ। त्यसलाई बल्छीमा राख्छ र पानीमा डुबाएर पर्खिरहन्छ। माछाले चारो खान थाल्नेबित्तिकै उसले बल्छी जोरले तान्छ। बल्छी माछाको मुखमा गड्‌छ अनि उसले सिकारलाई माथि तान्छ।

त्यसरी नै मानिस पनि सिकार बन्‍न सक्छ। उदाहरणको लागि, इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लागेका थिए। त्यतिबेला तिनीहरू मोआबको बेँसीमा पाल टाँगेर बसेका थिए। इस्राएलीहरूलाई देखेर मोआबका राजा डराए। त्यसैले तिनले बालामसित मदत मागे अनि इस्राएलीहरूलाई सरापेमा थुप्रै पैसा दिने वाचा गरे। इस्राएलीहरूले के गरेमा यहोवाले तिनीहरूलाई सराप्नुहुन्छ भनेर बालामले विचार गरे र एउटा जुक्‍ति निकाले। उनले होसियारीसाथ चारो छाने। उनले इस्राएली पुरुषहरूलाई अवैध यौनसम्बन्धको पासोमा फसाउन मोआबी स्त्रीहरूलाई इस्राएलीहरूको छाउनीमा पठाए।—गन्ती २२:१-७; ३१:१५, १६; प्रकाश २:१४.

३. इस्राएलीहरू कसरी बालामको पासोमा फसे?

के बालामको चारोले काम गऱ्‍यो? पक्कै गऱ्‍यो। हजारौँ इस्राएली पुरुषले “मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध” राखे। तिनीहरूले झूटा देवताहरूलाई पनि पुज्न थाले। यहाँसम्म कि तिनीहरूले घिनलाग्दो यौन-देव पोअरको बाआललाई समेत पुज्न थाले। परिणामस्वरूप, २४ हजार इस्राएली प्रतिज्ञा गरिएको देशको सिमानामै मारिए।—गन्ती २५:१-९.

४. हजारौँ इस्राएली किन अवैध यौनसम्बन्धको पासोमा परे?

थुप्रै इस्राएली कसरी बालामको चालमा फसे? तिनीहरू आफ्नै स्वार्थी इच्छाबारे मात्र सोचिरहेका थिए। यहोवाले तिनीहरूको लागि गर्नुभएका सबै काम तिनीहरूले बिर्से। इस्राएलीहरू यहोवाप्रति वफादार रहनुपर्ने थुप्रै कारण थियो। उहाँले तिनीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभयो, निर्जनभूमिमा खुवाउनुभयो अनि प्रतिज्ञा गरिएको देशको सिमानासम्म सुरक्षितसाथ ल्याउनुभयो। (हिब्रू ३:१२) तैपनि तिनीहरू अवैध यौनसम्बन्धको पासोमा परे। पावलले यस्तो लेखे: “तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध राखे . . . हामीचाहिँ अवैध यौनसम्बन्ध नराखौँ।”—१ कोरिन्थी १०:८.

५, ६. मोआबको बेँसीमा भएको घटनाबाट के सिक्न सक्छौँ?

नयाँ संसार धेरै नजिक छ। त्यसैले हामी पनि प्रतिज्ञा गरिएको देशको सिमानामै भएका इस्राएलीहरूजस्तै छौँ। (१ कोरिन्थी १०:११) मोआबीहरूको तुलनामा अहिलेको संसार कामवासनामा झनै लिप्त भएको छ। यसले यहोवाका सेवकहरूलाई पनि सजिलै असर गर्न सक्छ। वास्तवमा सैतानले चलाउने सबैभन्दा प्रभावकारी चारो अवैध यौनसम्बन्ध हो।—गन्ती २५:६, १४; २ कोरिन्थी २:११; यहुदा ४.

आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌, ‘म एकछिनको आनन्दको लागि स्वार्थी इच्छाहरूको पछि लाग्छु कि सधैँभरि आनन्दित भई नयाँ संसारमा बाँच्न चाहन्छु?’ त्यसैले “अवैध यौनसम्बन्धदेखि भाग” भन्‍ने यहोवाको आज्ञा पालन गर्न हरप्रयास गर्नु कत्ति महत्त्वपूर्ण छ नि, होइन र?—१ कोरिन्थी ६:१८.

अवैध यौनसम्बन्ध भनेको के हो?

७, ८. अवैध यौनसम्बन्ध भनेको के हो? यो किन गम्भीर कुरा हो?

आज हाम्रो समयमा थुप्रै मानिस निर्लज्ज आचरण देखाउँछन्‌। तिनीहरू यौनसम्बन्धी परमेश्‍वरको नियम ठाडै उल्लङ्‌घन गर्छन्‌। बाइबलमा बताइएको अवैध यौनसम्बन्धले कानुनी रूपमा विवाह नभएका दुई व्यक्‍तिले गर्ने यौन क्रियाकलापलाई जनाउँछ। यसमा पुरुषले पुरुषसित र स्त्रीले स्त्रीसित गर्ने यौन क्रियाकलाप अनि पशु-सम्भोग पनि समावेश छ। यौन क्रियाकलापमा सम्भोग, मुख-मैथुन, मलद्वार-मैथुन र एकअर्काको गुप्ताङ्‌ग खेलाउनु समावेश छ।—नोट २३ हेर्नुहोस्‌।

अवैध यौन क्रियाकलापमा भाग लिइरहने व्यक्‍ति मण्डलीको सदस्य भइरहन सक्दैन भनेर बाइबलले स्पष्टै बताएको छ। (१ कोरिन्थी ६:९; प्रकाश २२:१५) यस्ता मानिसहरूलाई अरूले भरोसा गर्न छोड्‌छन्‌ अनि तिनीहरूले आत्मसम्मान पनि गुमाउँछन्‌। अवैध यौनसम्बन्धले सधैँ समस्या निम्त्याउँछ। तिनीहरूको वैवाहिक जीवनमा कलह हुन्छ अनि आफ्नै अन्तस्करणले तिनीहरूलाई घोचिरहन्छ। साथै नचाहँदा-नचाहँदै गर्भ रहने, विभिन्‍न रोग लाग्ने अनि मृत्युसमेत हुन सक्छ। (गलाती ६:७, ८ पढ्‌नुहोस्‌) एकछिन रोकिएर यस्ता नतिजाहरूबारे विचार गर्दा गलत कदम चाल्नदेखि जोगिन सक्छौँ। तर अवैध यौनसम्बन्धतर्फ डोऱ्‍याउने पहिलो कदम चाल्दा धेरैजसोले यस्ता नतिजाहरूबारे सोचेकै हुँदैनन्‌। तिनीहरूले आफ्नै कुइच्छा पूरा गर्नेबारे मात्र सोचिरहेका हुन्छन्‌। प्रायजसो अवस्थामा त्यो पहिलो कदम भनेको अश्‍लील सामग्री हेर्नु हो।

अश्‍लील सामग्री—पहिलो कदम

९. अश्‍लील सामग्री हेर्नुका खतराहरू के-के हुन्‌?

अश्‍लील सामग्रीको एक मात्र उद्देश्‍य भनेको कामवासना जगाउनु हो। अहिले यस्तो सामग्री जताततै पाइन्छ। जस्तै: पत्र-पत्रिका, किताब, गीत-सङ्‌गीत, टेलिभिजन कार्यक्रम अनि इन्टरनेटमा। धेरैले अश्‍लील सामग्री हानिकारक छैन भन्छन्‌ तर वास्तवमा यस्तो धारणा सरासर गलत हो। यसले मानिसलाई यौन विलासी बनाउन र मनमा विकृत इच्छाहरू जगाउन सक्छ। अश्‍लील सामग्री हेर्ने कुलतले गर्दा हस्तमैथुन गर्ने बानी पर्न सक्छ, पतिपत्नीबीचको सम्बन्ध बिग्रन सक्छ अनि तिनीहरू सम्बन्धविच्छेद गर्ने हदसम्म पुग्न सक्छन्‌।—रोमी १:२४-२७; एफिसी ४:१९; नोट २४ हेर्नुहोस्‌।

इन्टरनेट चलाउँदा होसियार हुनुपर्छ

१०. याकुब १:१४, १५ मा पाइने सिद्धान्तले अवैध यौनसम्बन्धबाट जोगिन कसरी मदत गर्छ?

१० हामी कसरी अवैध यौनसम्बन्धमा फस्न सक्छौँ भनेर बुझ्नु महत्त्वपूर्ण छ। याकुब १:१४, १५ मा कस्तो चेतावनी दिइएको छ, याद गर्नुहोस्‌: “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ अनि पाप गरेपछि त्यसले मृत्यु निम्त्याउँछ।” त्यसैले मनमा कुविचार आउनेबित्तिकै त्यसलाई हटाइहाल्नुहोस्‌। कुइच्छा जगाउने फोटो वा चित्र अचानक देख्नुभयो भने आफ्नो आँखा फर्काइहाल्नुहोस्‌, कम्प्युटर बन्द गरिहाल्नुहोस्‌ अथवा टिभीको च्यानल फेरिहाल्नुहोस्‌। आफ्नो मनमा कुइच्छा जाग्न नदिनुहोस्‌। किनभने त्यस्तो कुइच्छा बढ्‌दै जान सक्छ र त्यसलाई नियन्त्रण गर्न धेरै गाह्रो हुन सक्छ।मत्ति ५:२९, ३० पढ्‌नुहोस्‌।

११. यहोवाले कुइच्छा हटाउन हामीलाई कसरी मदत गर्नुहुन्छ?

११ यहोवालाई हाम्रो बारेमा हामीलाई भन्दा राम्ररी थाह छ। त्रुटिपूर्ण भए तापनि हामीले कुइच्छालाई वशमा राख्न सक्छौँ भनेर उहाँलाई थाह छ। यहोवा यसो भन्‍नुहुन्छ: “पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, अनियन्त्रित कामवासना, खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।” (कलस्सी ३:५) हुनत यसो गर्न सजिलो छैन तर यहोवा धीरजी हुनुहुन्छ अनि हामीलाई मदत गर्नुहुन्छ। (भजन ६८:१९) एक जवान भाइ अश्‍लील सामग्री हेर्ने र हस्तमैथुन गर्ने कुलतमा फसे। तिनका स्कुलका साथीहरूलाई बढ्‌दो उमेरमा यस्तो हुनु सामान्य हो जस्तो लाग्थ्यो। तर तिनी भन्छन्‌: “यसले मेरो अन्तस्करणलाई बोधो बनायो; म अनैतिक जीवन बिताउन पुगेँ।” तिनले आफ्नो कुइच्छालाई वशमा राख्नुपर्छ भनेर महसुस गरे अनि यहोवाको मदतले गर्दा त्यस्तो कुलत त्याग्न सके। यदि तपाईँको मनमा अश्‍लील विचार आयो भने त्यसलाई हटाउन यहोवासित “असाधारण शक्‍ति” माग्नुहोस्‌।—२ कोरिन्थी ४:७; १ कोरिन्थी ९:२७.

१२. हामीले किन “आफ्नो हृदयलाई सुरक्षित” राख्नुपर्छ?

१२ सुलेमानले लेखे: “अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख, किनकि त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) “हृदय”-ले मानिसको भित्री रूपलाई बुझाउँछ, जसमा यहोवा चासो राख्नुहुन्छ। हामी जे हेर्छौँ, त्यसले हामीलाई निकै असर गर्छ। यहोवा-का वफादार सेवक अय्युबले यसो भने: “कुनै कन्ये केटीलाई म कसरी अनुचित नजरले हेर्न सक्छु र? किनकि मैले आफ्नो आँखासित वाचा बाँधेको छु।” (अय्युब ३१:१) अय्युबजस्तै हामीले पनि आफूलाई वशमा राख्न सिक्नुपर्छ र के हेर्छौँ अनि के सोच्छौँ, त्यसबारे विचार पुऱ्‍याउनुपर्छ। भजनरचयिताजस्तै हामी यस्तो प्रार्थना गर्छौँ: “व्यर्थका कुरा हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।”—भजन ११९:३७.

दिनाको मूर्खतापूर्ण छनौट

१३. दिनाले कस्ता साथीहरू बनाइन्‌?

१३ साथीहरूले हामीमा गहिरो प्रभाव पार्न सक्छन्‌, चाहे त्यो सकारात्मक तरिकामा होस्‌ या नकारात्मक। यहोवाको स्तर पालन गर्ने साथीहरू रोज्नुभयो भने तिनीहरूले तपाईँलाई परमेश्‍वरको स्तर पालन गर्न मदत गर्न सक्छन्‌। (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌) असल साथी छान्‍नु किन महत्त्वपूर्ण छ, हामी दिनाको विवरणबाट बुझ्न सक्छौँ। उनी याकुबकी छोरी थिइन्‌। उनको परिवारका सबै सदस्य यहोवाका उपासक थिए। दिना अनैतिक जीवन बिताउने केटी त थिइनन्‌। तर उनी यहोवाको उपासना नगर्ने कनानी केटीहरूसित घनिष्ठ भइन्‌। यौनप्रति कनानीहरूको दृष्टिकोण परमेश्‍वरका सेवकहरूको भन्दा बिलकुलै फरक थियो। कनानीहरू अनैतिकतामा चुर्लुम्मै डुबेका मानिसहरू भनेर चिनिन्थे। (लेवी १८:६-२५) कनानी साथीहरूसित सङ्‌गत गर्दा दिनाको भेट सकेम नामका कनानी युवकसित भयो। तिनलाई दिना असाध्यै मन पऱ्‍यो। सकेम आफ्ना घरानामा “सबैभन्दा इज्जतदार मानिस थिए।” तर तिनी यहोवालाई प्रेम गर्दैनथे।—उत्पत्ति ३४:१८, १९.

१४. दिनालाई के भयो?

१४ सकेमले आफूलाई जे स्वाभाविक र ठीक लाग्यो, त्यही गरे। दिनाप्रति आकर्षित भएको कारण तिनले उनीसित “जबरजस्ती गरे र उनको इज्जत लुटे।” (उत्पत्ति ३४:१-४ पढ्‌नुहोस्‌) यस घटनाले गर्दा दिना र उनको परिवारमा दुःखमाथि दुःख आइपऱ्‍यो।—उत्पत्ति ३४:७, २५-३१; गलाती ६:७, ८.

१५, १६. हामी कसरी बुद्धिमान्‌ हुन सक्छौँ?

१५ यहोवाको नैतिक स्तर पालन गर्दा आफ्नै भलाइ हुन्छ भन्‍ने कुरा दिनाले गल्ती गरेर बुझिन्‌। तर त्यो कुरा बुझ्न हामीले पनि दिनाले जस्तै गल्ती गर्नुपर्छ भन्‍ने छैन। “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।” (हितोपदेश १३:२०) ‘असल मार्ग के हो, त्यो बुझ्ने’ कोसिस गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले व्यर्थैमा पीडा र दुःख भोग्नुपर्नेछैन।—हितोपदेश २:६-९; भजन १:१-३.

१६ हामी बाइबल अध्ययन गरेर, निर्णय गर्नुअघि प्रार्थना गरेर अनि विश्‍वासी दासले दिने उत्तम सुझावहरू पालन गरेर बुद्धिमान्‌ बन्‍न सक्छौँ। (मत्ति २४:४५; याकुब १:५) हो, हामी सबै कमजोर र त्रुटिपूर्ण छौँ। (यर्मिया १७:९) तर तपाईँ अनैतिकतामा फस्न लाग्नुभएको देखेर कसैले सजग गरायो भने कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? तपाईँ रिसाउनुहुन्छ कि नम्र भई मदत स्विकार्नुहुन्छ?—२ राजा २२:१८, १९.

१७. ख्रिष्टियन साथीको सल्लाहले कसरी मदत गर्न सक्छ, उदाहरण दिनुहोस्‌।

१७ एउटा परिस्थिति विचार गरौँ। एउटी बहिनीलाई काम गर्ने ठाउँमा एउटा केटाले निकै चासो दिन्छन्‌ र उनीसित डेटिङ गर्ने प्रस्ताव राख्छन्‌। तिनी यहोवाको उपासक होइनन्‌ तर असल र दयालु देखिन्छन्‌। अर्की बहिनीले तिनीहरूलाई सँगै घुमिरहेको देख्छिन्‌ र ती बहिनीलाई सम्झाउँछिन्‌। ती बहिनीले कस्तो प्रतिक्रिया देखाउँछिन्‌? के उनले ढाकछोप गर्छिन्‌? अथवा आफूले पाएको सल्लाह बुद्धिमानी भएको मानिलिन्छिन्‌? उनी यहोवालाई प्रेम गर्छिन्‌ होला र जे सही छ, त्यही गर्न चाहन्छिन्‌ होला। तर तिनी पटक-पटक ती केटासित घुम्न गइरहन्छिन्‌ भने उनी ‘अवैध यौनसम्बन्धदेखि भागिरहेकी’ हुन्छिन्‌ कि ‘आफैमाथि भरोसा’ राखिरहेकी हुन्छिन्‌?—हितोपदेश २२:३; २८:२६; मत्ति ६:१३; २६:४१.

युसुफको उदाहरणबाट सिक्नुहोस्‌

१८, १९. युसुफ कसरी अवैध यौनसम्बन्धदेखि भागे? व्याख्या गर्नुहोस्‌।

१८ जवान छँदा युसुफले मिश्रमा दासको रूपमा जीवन बिताउनुपरेको थियो। तिनकी मालिक्नीले उनीसित यौनसम्बन्ध राख्न दिनदिनै दबाब दिइरहन्थिन्‌। तर युसुफलाई त्यसो गर्नु गलत हो भनेर थाह थियो। युसुफ यहोवालाई प्रेम गर्थे अनि उहाँलाई खुसी पार्न चाहन्थे। त्यसैले तिनी मालिक्नीको प्रस्तावलाई सधैँ इन्कार गर्थे। दास भएकोले तिनले आफ्नै इच्छाले मालिकलाई छोड्‌न मिल्दैनथ्यो। एकदिन मालिक्नीले जबरजस्ती गर्दा तिनले “कुलेलाम ठोके।”उत्पत्ति ३९:७-१२ पढ्‌नुहोस्‌।

१९ यदि युसुफले आफ्नो मनमा अनैतिक कुरा खेलाएका भए वा मालिक्नीसित सम्बन्ध राखेको कल्पना गरेका भए अवस्था अर्कै हुने थियो। तर यहोवासितको सम्बन्ध तिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। त्यसैले तिनले मालिक्नीलाई यसो भने: “तपाईँ उहाँकी [मेरा मालिककी] पत्नी हुनुहुन्छ र उहाँले तपाईँबाहेक सबथोक मलाई जिम्मा लगाउनुभएको छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?”—उत्पत्ति ३९:८, ९.

२०. यहोवा युसुफदेखि खुसी हुनुभयो भनेर किन भन्‍न सक्छौँ?

२० घरपरिवारबाट टाढा भए पनि युसुफ यहोवाप्रति वफादार रहे अनि उहाँले पनि तिनलाई आशिष्‌ दिनुभयो। (उत्पत्ति ४१:३९-४९) युसुफको वफादारी देखेर यहोवा खुसी हुनुभयो। (हितोपदेश २७:११) अवैध यौनसम्बन्धबाट अलग रहन हामीले निकै सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। तर बाइबलका यी शब्दहरू सधैँ मनमा राख्नुहोस्‌: “हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर। उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ; उहाँ तिनीहरूलाई दुष्टको हातबाट छुटाउनुहुन्छ।”—भजन ९७:१०.

२१. एक जना भाइले कसरी युसुफको अनुकरण गरे?

२१ यहोवाका सेवकहरू हरेक दिन साहसी भई ‘खराब कुरालाई घृणा र असल कुरालाई प्रेम’ गर्छन्‌। (आमोस ५:१५) तपाईँको उमेर जतिसुकै भए तापनि यहोवाप्रति वफादार हुन सक्नुहुन्छ। स्कुलमा एक जना जवान भाइले विश्‍वासको जाँच हुने परिस्थितिको सामना गर्नुपऱ्‍यो। एउटी केटीले गणितको परीक्षामा ती भाइले मदत गरेको खण्डमा तिनीसित यौनसम्बन्ध राख्ने प्रस्ताव राखिन्‌। ती भाइले के गरे? तिनले युसुफले जस्तै गरे। तिनी यसो भन्छन्‌: “मैले तुरुन्तै इन्कार गरेँ। यहोवाप्रति वफादार भएकोले मैले आफ्नो मानमर्यादा र आत्मसम्मान गुमाइनँ।” अनैतिक सम्बन्धबाट पाइने “क्षणिक सुखभोग”-ले अक्सर दुःख र पीडा मात्र दिन्छ। (हिब्रू ११:२५) तर यहोवाप्रतिको आज्ञाकारिताले चिरस्थायी आनन्द दिन्छ।—हितोपदेश १०:२२.

यहोवाको मदत स्विकार्नुहोस्‌

२२, २३. गम्भीर पाप गरेका छौँ भने पनि यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ?

२२ सैतानले अवैध यौनसम्बन्धको पासो थापेर हामीलाई फसाउन खोज्छ। यस्तो पासोबाट जोगिन गाह्रो हुन सक्छ। हामी सबैको मनमा कहिलेकाहीँ गलत विचार आउन सक्छ। (रोमी ७:२१-२५) यहोवालाई यो कुरा थाह छ र “हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।” (भजन १०३:१४) त्यसोभए यदि कुनै ख्रिष्टियनले अवैध यौनसम्बन्ध राखेर गम्भीर पाप गर्छ भने नि? के तिनको लागि कुनै आशा छैन? पक्कै छ। यदि तिनले साँचो पश्‍चात्ताप गरे भने यहोवाले तिनलाई मदत गर्नुहुनेछ। किनभने परमेश्‍वर “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।”—भजन ८६:५; याकुब ५:१६; हितोपदेश २८:१३ पढ्‌नुहोस्‌।

२३ यहोवाले हामीलाई “वरदानको रूपमा पुरुषहरू” अर्थात्‌ हाम्रो ख्याल राख्ने मायालु एल्डरहरू दिनुभएको छ। (एफिसी ४:८, १२; याकुब ५:१४, १५) यहोवासितको हाम्रो सम्बन्ध सुधार्न तिनीहरू हामीलाई मदत गर्छन्‌।—हितोपदेश १५:३२.

“समझ” चलाउनुहोस्‌

२४, २५. “समझ”-ले कसरी अवैध यौनसम्बन्धदेखि अलग रहन मदत गर्छ?

२४ हामी सही निर्णय गर्न चाहन्छौँ भने यहोवाको नियमले हामीलाई कसरी फाइदा पुऱ्‍याउँछ भनेर बुझ्नुपर्छ। हामी हितोपदेश ७:६-२३ मा बताइएको केटोजस्तो हुन चाहँदैनौँ। ऊ “मूर्ख” अर्थात्‌ समझहीन थियो। त्यसैले ऊ अवैध यौनसम्बन्धको पासोमा फस्यो। समझदार हुनु भनेको बाठो हुनु मात्र होइन। बरु कुनै कुराप्रति परमेश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ, त्यो बुझ्नु र त्यसअनुसार कदम चाल्नु हो। हामीले हितोपदेश १९:८ मा लेखिएको यो बुद्धिमानी सल्लाह मनमा राख्नुपर्छ: “समझ प्राप्त गर्ने मानिसले आफूलाई प्रेम गर्छ। समझशक्‍ति देखाउने मानिसले सफलता पाउँछ।”

२५ परमेश्‍वरका स्तरहरू सही छन्‌ भन्‍ने कुरामा के तपाईँ विश्‍वस्त हुनुहुन्छ? ती पालन गर्दा आनन्दित हुन सकिन्छ भनेर के तपाईँ साँच्चै विश्‍वास गर्नुहुन्छ? (भजन १९:७-१०; यसैया ४८:१७, १८) यदि अझै शङ्‌का लाग्छ भने यहोवाले तपाईँको लागि गर्नुभएका असल कामहरू सम्झनुहोस्‌। बाइबल यस्तो आग्रह गर्छ: “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ।” (भजन ३४:८) हो, तपाईँ जति धेरै त्यसो गर्नुहुन्छ, यहोवाप्रतिको तपाईँको प्रेम त्यति नै बढ्‌नेछ। परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नुहोस्‌ अनि घृणा गर्नुहुने कुरालाई घृणा गर्नुहोस्‌। जुन कुराहरू सत्य, असल, चोखा, प्रेम गर्न योग्य छन्‌ र जुन कुराहरूमा सद्‌गुण छन्‌, ती कुराहरू आफ्नो दिमागमा भर्नुहोस्‌। (फिलिप्पी ४:८, ९) हामी पनि युसुफजस्तै हुन सक्छौँ, जसले यहोवाको बुद्धिअनुसार चलेर आशिष्‌हरू पाए।—यसैया ६४:८.

२६. अर्को दुइटा अध्यायमा के छलफल गर्नेछौँ?

२६ विवाहित होऔँ वा अविवाहित, हामी सुखी अनि आनन्दित भएको यहोवा चाहनुहुन्छ। अर्को दुइटा अध्यायमा वैवाहिक जीवन सफल बनाउन मदत गर्ने केही सिद्धान्तबारे विचार गर्नेछौँ।