सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १४

सबै कुरामा इमानदार हुनुहोस्‌

सबै कुरामा इमानदार हुनुहोस्‌

“हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.

१, २. हामी इमानदार भएको देख्दा यहोवालाई कस्तो लाग्छ?

यो दृश्‍य कल्पना गर्नुहोस्‌। स्कुलबाट घर फर्कँदै गर्दा एक जना केटाले बाटोमा टन्‍न पैसा भएको पर्स भेट्‌छ। अब उसले के गर्छ? त्यो पर्स आफैसँग राख्छ कि जसको हो उसैलाई फिर्ता गर्छ? उसले त्यो पर्स फिर्ता गरिदिन्छ। यो कुरा थाह पाउँदा उसकी आमालाई असाध्यै खुसी लाग्छ र छोरामा गर्व गर्छिन्‌।

छोराछोरी इमानदार भएको देख्दा थुप्रै आमाबुबालाई खुसी लाग्छ। स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवा “सत्यका परमेश्‍वर” हुनुहुन्छ। हामी इमानदार भयौँ भने उहाँलाई खुसी लाग्छ। (भजन ३१:५) हामी उहाँलाई खुसी बनाउन चाहन्छौँ र “सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।” (हिब्रू १३:१८) आउनुहोस्‌, इमानदार भई चल्न गाह्रो हुने चार वटा क्षेत्रबारे विचार गरौँ। अनि त्यस्तो गाह्रो अवस्थामा पनि इमानदार हुँदा पाइने आशिष्‌हरूबारे छलफल गरौँ।

आफैसँग इमानदार हुनुहोस्‌

३-५. (क) हामीले कसरी आफैलाई झुक्क्याइरहेका हुन सक्छौँ? (ख) हामी कसरी आफैसँग इमानदार हुन सक्छौँ?

आफैसँग इमानदार भयौँ भने मात्र अरूसँग पनि इमानदार हुन सक्छौँ। तर यसो गर्न सधैँ सजिलो हुँदैन। प्रथम शताब्दीको लाओडिसिया मण्डलीका ख्रिष्टियनहरूलाई विचार गरौँ। तिनीहरू आफूले परमेश्‍वरलाई खुसी बनाइरहेको छु भन्ठान्थे तर वास्तवमा तिनीहरूले आफैलाई झुक्क्याइरहेका थिए। (प्रकाश ३:१७) हामीले पनि त्यसै गरिरहेका हुन सक्छौँ।

चेला याकुबले यस्तो लेखे: “यदि कुनै मानिसले आफूलाई परमेश्‍वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउँदैन भने उसले आफूलाई धोका दिइरहेको हुन्छ र उसको उपासना व्यर्थ हुन्छ।” (याकुब १:२६) हामीलाई यस्तो लाग्न सक्छ, ‘मैले असल काम गरेकै छु क्यारे। त्यसैले अरूसित रुखो व्यवहार गरे पनि, अरूलाई होच्याए पनि, झूट बोले पनि मलाई परमेश्‍वरले क्षमा दिइहाल्नुहुन्छ नि।’ यस्तो सोचाइ राख्दा हामीले आफैलाई झुक्क्याइरहेका हुन्छौँ। त्यसोभए हामी कसरी यस्तो सोचाइ हटाउन सक्छौँ?

ऐना हेर्दा हामी आफ्नो बाहिरी रूप देख्छौँ। तर बाइबल पढ्‌दा भित्री रूप देख्न सक्छौँ। हामीमा कस्ता असल गुणहरू र कमीकमजोरीहरू छन्‌ भनेर छर्लङ्‌ग देख्न सक्छौँ। हाम्रो सोचाइ, बोली र व्यवहारमा के-कस्ता सुधार गर्नुपर्छ भनेर थाह पाउन सक्छौँ। (याकुब १:२३-२५ पढ्‌नुहोस्‌) तर यदि हामी आफूमा कुनै कमजोरी छैन भन्छौँ भने आफूमा कहिल्यै सुधार ल्याउन सक्दैनौँ। त्यसैले हामीले बाइबल पढेर आफैलाई इमानदार भई जाँच्नुपर्छ। (विलाप ३:४०; हाग्गै १:५) प्रार्थना गरेर पनि हामी कस्तो व्यक्‍ति हौँ भनेर थाह पाउन सक्छौँ। ‘मलाई जाँच्नुहोस्‌, मेरा कमीकमजोरीहरू देखाइदिनुहोस्‌’ भनेर यहोवालाई प्रार्थना गऱ्‍यौँ भने हामी आफूमा सुधार ल्याउन सक्छौँ। (भजन १३९:२३, २४) यसो गर्नु जरुरी छ किनभने “धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।”—हितोपदेश ३:३२.

परिवारमा इमानदार हुनुहोस्‌

६. पतिपत्नी किन एकअर्कासित इमानदार हुनुपर्छ?

परिवारका सदस्यहरू एकअर्कासित इमानदार हुनु एकदम महत्त्वपूर्ण छ। एकअर्कासित खुलस्त कुराकानी गर्दा पतिपत्नी दुवैले सुरक्षित महसुस गर्न सक्छन्‌ र एकअर्कालाई भरोसा गर्न सक्छन्‌। तर पराई व्यक्‍तिसित मन पराएको भान पर्नेगरि जिस्कँदा, गुपचुपमै रोमान्टिक सम्बन्ध गाँस्दा वा अश्‍लील सामग्री हेर्दा पतिपत्नी एकअर्कासित इमानदार भइरहेका हुँदैनन्‌। भजनरचयिताले यस्तो लेखे: “म छली मानिसहरूसित सङ्‌गत गर्दिनँ; कपटीहरूदेखि म टाढै रहन्छु।” (भजन २६:४) यदि तपाईँको मनमा अरूसित रोमान्टिक सम्बन्ध गाँस्ने सोचाइ आउँछ भने पनि तपाईँले आफ्नो जीवनसाथीलाई धोका दिइरहनुभएको हुनेछ। यसले वैवाहिक सम्बन्धलाई बिगार्छ।

वैवाहिक सम्बन्धलाई कमजोर बनाउन सक्ने जुनसुकै कुरालाई तुरुन्तै तिरस्कार गर्नुहोस्‌

७, ८. बाइबलबाट छोराछोरीलाई इमानदार हुन कसरी सिकाउन सक्नुहुन्छ?

छोराछोरीले पनि इमानदार हुन सिक्नु महत्त्वपूर्ण छ। आमाबुबाले बाइबल चलाएर तिनीहरूलाई इमानदार हुन सिकाउन सक्छन्‌। बाइबलमा बेइमान व्यक्‍तिहरूको उदाहरण पाइन्छ। जस्तै: चोर आकान; पैसाको लागि झूट बोलेको गेहजि; पैसा चोर्ने र ३० टुक्रा चाँदीको लागि येसुलाई धोका दिने यहुदा।—यहोसु ६:१७-१९; ७:११-२५; २ राजा ५:१४-१६, २०-२७; मत्ति २६:१४, १५; युहन्‍ना १२:६.

साथै बाइबलमा इमानदार मानिसहरूको पनि उदाहरण पाइन्छ। जस्तै: छोराहरूले भेट्टाएको पैसा फिर्ता गर्न लगाउने बुबा याकुब; परमेश्‍वरसित गरेको भाकल पूरा गर्ने यिप्तह र तिनकी छोरी; असाध्यै कठिन अवस्थाहरूमा समेत इमानदार रहनुभएको येसु। (उत्पत्ति ४३:१२; न्यायकर्ता ११:३०-४०; युहन्‍ना १८:३-११) यी उदाहरणहरूबाट छोराछोरीले इमानदार हुनुको महत्त्व सिक्न सक्छन्‌।

९. आमाबुबा इमानदार छन्‌ भने छोराछोरीमा कस्तो प्रभाव पर्छ?

छोराछोरीलाई सिकाउने सन्दर्भमा आमाबुबाले बाइबलको यो महत्त्वपूर्ण सिद्धान्त लागू गर्नुपर्छ: “तिमी जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जो ‘नचोर्नू’ भनी प्रचार गर्छौ, के आफैचाहिँ चोर्छौ?” (रोमी २:२१) यदि आमाबुबाले भन्‍ने बेलामा एउटा अनि गर्ने बेलामा अर्को गर्छन्‌ भने छोराछोरीले थाह पाइहाल्छन्‌। छोराछोरीलाई इमानदार हुनुपर्छ भनेर सिकाउँछौँ तर आफैचाहिँ इमानदार छैनौँ भने तिनीहरू अलमलमा पर्छन्‌। आमाबुबाले सानोतिनो कुरामा पनि झूट बोलेको छोराछोरीले याद गरेका छन्‌ भने तिनीहरूले पनि त्यसै गर्न सक्छन्‌। (लुका १६:१० पढ्‌नुहोस्‌) तर अर्कोतर्फ, आमाबुबा इमानदार छन्‌ भने त्यसले छोराछोरीमा राम्रो प्रभाव पार्छ। अनि तिनीहरू आफै आमाबुबा बनेपछि आफ्ना छोराछोरीको लागि असल उदाहरण बन्‍न सक्नेछन्‌।—हितोपदेश २२:६; एफिसी ६:४.

मण्डलीमा इमानदार हुनुहोस्‌

१०. ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसितको कुराकानीमा कसरी इमानदार हुन सक्छौँ?

१० हामी आफ्ना ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसँग पनि इमानदार हुनुपर्छ। सामान्य कुराकानी पनि अरूको कुरा काट्‌नेतर्फ मोडिन सक्छ र अरूको निन्दा गर्ने हदसम्म पुग्न सक्छ। सुनेको कुरा सही हो कि होइन भनेर नबुझी अरूलाई सुनाउँदै हिँड्‌छौँ भने हामीले झूटो कुरा फैलाइरहेका हुन सक्छौँ। त्यसैले “आफ्नो जिब्रोलाई काबूमा” राख्नू भन्‍ने सल्लाह पालन गर्नु कति लाभदायी! (हितोपदेश १०:१९) इमानदार हुनुको मतलब आफूले सोचेको, जानेको वा सुनेको एक-एक कुरा अरूलाई बताउनुपर्छ भन्‍ने चाहिँ होइन। हामीलाई थाह भएको कुरा सही नै होला तर त्यसो भन्दैमा त्यो कुरा अरूलाई सुनाउँदै हिँड्‌नुपर्छ भन्‍ने छैन। यसो गर्नु भनेको अरूको कुरामा हात हाल्नुजस्तै हो अनि अरूप्रति विचारशील र दयालु नहुनु पनि हो। (१ थिस्सलोनिकी ४:११) ‘आफ्नो त कुरा लुकाउने बानी छैन; भएकै कुरा भन्या हो’ भन्दै कोही-कोही सफाइ दिन खोज्छन्‌। तर यहोवाको सेवक भएकोले हाम्रो बोली सधैँ दयालु हुनुपर्छ।कलस्सी ४:६ पढ्‌नुहोस्‌।

११, १२. (क) गम्भीर गल्ती गर्ने व्यक्‍तिले कुरा लुकाउँदा नतिजा कस्तो हुन सक्छ? (ख) साथीले गम्भीर गल्ती गर्दा हामीले के गर्नु हुँदैन र किन? (ग) हामी कसरी यहोवाको सङ्‌गठनसित इमानदार हुन सक्छौँ?

११ मण्डलीलाई मदत गर्न यहोवाले एल्डरहरूलाई नियुक्‍त गर्नुभएको छ। एल्डरहरूसित इमानदार भयौँ भने हामीलाई मदत गर्न उहाँहरूलाई सजिलो हुन्छ। कसरी? मानौँ, तपाईँ बिरामी पर्नुभयो अनि डाक्टरकहाँ जानुभयो। के तपाईँ डाक्टरलाई आफ्नो रोगका लक्षणहरू स्पष्टसित बताउनुहुन्‍न र? कुरा लुकाउनुभयो भने डाक्टरले तपाईँलाई मदत गर्न सक्लान्‌ र? त्यस्तै गरी यदि हामीले गम्भीर गल्ती गऱ्‍यौँ भने त्यसलाई लुकाउनु हुँदैन। बरु एल्डरहरूलाई आफ्नो गल्ती स्पष्टसित बताउनुपर्छ। (भजन १२:२; प्रेषित ५:१-११) अर्को अवस्था विचार गर्नुहोस्‌: साथीले गम्भीर गल्ती गरेको कुरा तपाईँले थाह पाउनुभयो, अब तपाईँ के गर्नुहुन्छ? (लेवी ५:१) मित्रता टुट्‌ला कि भनेर त्यसलाई गोप्य राख्नुहुन्छ कि एल्डरहरूलाई बताउनुहुन्छ? एल्डरहरूलाई बताउनुभयो भने तिनीहरूले यहोवासितको सम्बन्ध सुधार्न र बलियो बनाउन उसलाई मदत गर्न सक्छन्‌।—हिब्रू १३:१७; याकुब ५:१४, १५.

१२ हामी यहोवाको सङ्‌गठनसित पनि इमानदार हुनुपर्छ। क्षेत्र सेवाको रिपोर्ट भर्दा हामीले सही-सही जानकारी लेख्नुपर्छ। साथै अग्रगामी सेवा वा अन्य सेवाको लागि फाराम भर्दा पनि सही जानकारी लेख्नुपर्छ।हितोपदेश ६:१६-१९ पढ्‌नुहोस्‌।

१३. ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित व्यापार-व्यवसाय गर्दा कसरी इमानदार हुन सक्छौँ?

१३ ख्रिष्टियनहरूले उपासनाको लागि छुट्ट्याइएको समयमा व्यापार-व्यवसायसित सम्बन्धित कामकुरा गर्नु हुँदैन। जस्तै: राज्यभवनमा वा प्रचारमा। व्यापार-व्यवसाय गर्दा हामी आफ्ना दाजुभाइ दिदीबहिनीबाट नाजायज फाइदा उठाउँदैनौँ। ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई काममा राखेका छौँ भने उनीहरूलाई समयमै र कबुल गरेबमोजिमै तलब दिनुपर्छ अनि कानुनले प्रदान गरेका सुविधाहरू पनि दिनुपर्छ। जस्तै: स्वास्थ्य बिमा गराइदिनु वा बिदामा बस्दा तलब नकाट्‌नु। (१ तिमोथि ५:१८; याकुब ५:१-४) यदि हामी ख्रिष्टियन दाजुभाइ दिदीबहिनीकहाँ काम गर्छौँ भने तिनीहरूले हामीलाई अरू कामदारभन्दा विशेष व्यवहार गरेको अपेक्षा गर्नेछैनौँ। (एफिसी ६:५-८) जति समय अनि जति काम गर्ने कबुल गरेका थियौँ, त्यति गर्छौँ।—२ थिस्सलोनिकी ३:१०.

१४. ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित मिलेर व्यापार-व्यवसाय गर्नुअघि के गर्नुपर्छ?

१४ ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित मिलेर व्यापार-व्यवसाय गरेका छौँ भने नि? जस्तै: कुनै व्यवसायको लागि सँगै लगानी गरेका छौँ अथवा ऋण लिएका वा दिएका छौँ भने के गर्न सक्छौँ? यस्ता अवस्थाहरूमा पालन गर्नुपर्ने बाइबलको एउटा महत्त्वपूर्ण सिद्धान्त हो: सबै कुरा लिखित रूपमा राख्ने। भविष्यवक्‍ता यर्मियाले एक टुक्रा जमिन किन्दा तिनले दुई प्रति लिखित कागज बनाए। त्यसको एक प्रतिमा तिनले साक्षीहरूको हस्ताक्षर लिए र ती दुवै प्रति कागजलाई पछिको लागि सुरक्षित राखे। (यर्मिया ३२:९-१२; उत्पत्ति २३:१६-२० पनि हेर्नुहोस्‌) लेनदेनको कागज बनाउँदा कोही-कोहीलाई आपसमा भरोसा नगरेको जस्तो लाग्न सक्छ। तर यसरी कागज बनाउँदा गलतफहमी र मतभेद हुन पाउँदैन अनि एउटाले अर्कोलाई निराश बनाउने स्थिति पनि आइपर्नेछैन। तपाईँ सङ्‌गी ख्रिष्टियनसित मिलेर व्यापार-व्यवसाय गर्दै हुनुहुन्छ भने व्यापारिक लेनदेनभन्दा पनि मण्डलीको शान्ति महत्त्वपूर्ण छ भनेर कहिल्यै नबिर्सनुहोस्‌।—१ कोरिन्थी ६:१-८; नोट ३० हेर्नुहोस्‌।

बेइमान संसारमा इमानदार हुनुहोस्‌

१५. व्यापार-व्यवसायमा हुने बेइमानी देख्दा यहोवालाई कस्तो लाग्छ?

१५ हामी सबैसित इमानदार हुनुपर्छ, चाहे तिनीहरू यहोवाको साक्षी होऊन्‌ या नहोऊन्‌। हामी इमानदार भएको यहोवा चाहनुहुन्छ। “गलत तराजुलाई यहोवा घृणा गर्नुहुन्छ तर सही नापतौलदेखि उहाँ खुसी हुनुहुन्छ।” (हितोपदेश ११:१; २०:१०, २३) बाइबलकालीन समयमा व्यापारीहरूले तराजु प्रयोग गर्थे। तर केही व्यापारीहरू ग्राहकलाई ठग्थे। तिनीहरू सामान तौलिँदा ठगी गर्थे वा सामानको बढी मूल्य लिन्थे। आज पनि व्यापारीहरू यसरी नै ठग्छन्‌। यहोवालाई यस्तो बेइमानी पहिला पनि मन पर्दैन थियो र अहिले पनि मन पर्दैन।

१६, १७. हामी अरू कस्ता अवस्थाहरूमा इमानदार हुनुपर्छ?

१६ हामी सबैको इमानदारीको जाँच हुन सक्छ। जस्तै: जागिरको लागि आवेदन दिँदा, सरकारी फाराम भर्दा वा स्कुलमा जाँच दिँदा। थुप्रैलाई यस्ता कागजातमा झूटो कुरा लेख्नु, बढाइचढाइ गरेर लेख्नु वा झुक्क्याउने किसिमको कुरा लेख्नु गलत होइन जस्तो लाग्छ। मानिसहरूको यस्तो मनोवृत्ति देख्दा हामीलाई अचम्म लाग्दैन। किनभने यस युगको अन्तको दिनका मानिसहरू “आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, . . . भलाइलाई प्रेम नगर्ने” हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो।—२ तिमोथि ३:१-५.

१७ अहिलेको संसारमा बेइमान मानिसहरूकै फलिफाप भएको जस्तो हामीलाई लाग्न सक्छ। (भजन ७३:१-८) इमानदार भएकै कारण कुनै ख्रिष्टियनले आफ्नो जागिर गुमाउन सक्छन्‌, ठगीमा पर्न सक्छन्‌ वा काम गर्ने ठाउँमा दुर्व्यवहार भोग्न सक्छन्‌। तर इमानदार हुन गरेको कुनै पनि त्याग खेर जानेछैन। कसरी?

इमानदार हुँदा पाइने आशिष्‌हरू

१८. इमानदार व्यक्‍ति भनेर चिनिन पाउनु किन ठूलो कुरा हो?

१८ यस बेइमान संसारमा इमानदार र भरपर्दो व्यक्‍ति भनेर चिनिन पाउनु साँच्चै ठूलो कुरा हो। हामी सबैसित इमानदार व्यक्‍तिको रूपमा नाम कमाउने मौका छ। (मिका ७:२) इमानदार हुनुभएकोले कसै-कसैले तपाईँको गिल्ला गर्न सक्छन्‌ वा तपाईँलाई मूर्ख भन्‍न सक्छन्‌। तर अरूले भने तपाईँको इमानदारीको कदर गर्नेछन्‌ र तपाईँलाई भरोसा गर्नेछन्‌। सारा संसारमा यहोवाका साक्षीहरूले इमानदार व्यक्‍तिको रूपमा नाम कमाएका छन्‌। कतिपय मालिकहरू जागिर दिने सन्दर्भमा यहोवाका साक्षीहरूलाई प्राथमिकता दिन्छन्‌ किनभने साक्षीहरू इमानदार हुन्छन्‌ भनेर तिनीहरूलाई थाह छ। कहिलेकाहीँ मालिकहरूले आफ्ना बेइमान कामदारहरूलाई जागिरबाट निकालेका छन्‌ तर साक्षीहरूलाई भने इमानदार भएको कारण जागिरबाट निकालेका छैनन्‌।

हामीले कडा परिश्रम गर्दा यहोवाको महिमा हुन्छ

१९. इमानदार हुँदा यहोवासितको तपाईँको मित्रता कसरी प्रगाढ हुनेछ?

१९ सबै कुरामा इमानदार हुनुभयो भने तपाईँको अन्तस्करण सफा रहनेछ र मनोशान्ति पाउनुहुनेछ। अनि हामी पनि पावलजस्तै यसो भन्‍न सक्नेछौँ: “हामीसित सफा अन्तस्करण छ।” (हिब्रू १३:१८) सबैभन्दा महत्त्वपूर्ण कुरा, सबै कुरामा इमानदार हुन तपाईँले गर्नुभएको हरेक प्रयास मायालु बुबा यहोवाले याद गर्नुहुनेछ र त्यसको कदर गर्नुहुनेछ।भजन १५:१, २; हितोपदेश २२:१ पढ्‌नुहोस्‌।