सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२

“उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌

“उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌

“तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌ बरु . . . अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌।”—एफिसी ४:२९.

१-३. (क) यहोवाले हामीलाई कस्तो उत्तम उपहार दिनुभएको छ? यसको कसरी दुरुपयोग हुन सक्छ? (ख) हामीले कसरी यसको सदुपयोग गर्नुपर्छ?

एक जना बुबाले किशोरावस्थाको छोरालाई साइकल उपहार दिन्छन्‌। छोरालाई यस्तो विशेष उपहार दिन सकेकोमा बुबा निकै खुसी छन्‌। तर छोराले लापरबाही गरेर साइकल चलायो अनि कसैलाई हानेर घाइते बनायो भने बुबालाई कस्तो लाग्छ होला?

यहोवा “हरेक असल वरदान र हरेक उत्तम उपहार”-को स्रोत हुनुहुन्छ। (याकुब १:१७) हाम्रो बोल्ने क्षमता उहाँले दिनुभएको एउटा उत्तम उपहार हो। हामी बोलेर आफ्नो विचार र भावना व्यक्‍त गर्न सक्छौँ। हाम्रो बोलीले अरूलाई खुसी बनाउन सक्छ र प्रोत्साहन दिन सक्छ। तर यही बोलीले अरूलाई हानि र चोट पनि पुऱ्‍याउन सक्छ।

बोलीमा शक्‍ति हुन्छ। यहोवा हामीलाई यसको सदुपयोग गर्न सिकाउनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌ बरु आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌ ताकि सुन्‍नेहरूलाई त्यसबाट फाइदा होस्‌।” (एफिसी ४:२९) हामी आफ्नो बोलीले कसरी परमेश्‍वरलाई खुसी तुल्याउन र अरूलाई प्रोत्साहन दिन सक्छौँ, विचार गरौँ।

विचार पुऱ्‍याएर बोल्नुहोस्‌

४, ५. हितोपदेशको किताबबाट बोलीको शक्‍तिबारे के सिक्न सक्छौँ?

शब्दमा शक्‍ति हुन्छ। त्यसैले हामी के भन्छौँ अनि कसरी भन्छौँ, विचार पुऱ्‍याउनुपर्छ। हितोपदेश १५:४ यसो भन्छ: “मीठो बोली जीवनको रूख हो तर छली बोलीले निराश बनाउँछ।” जसरी टन्टलापुर घाम लागेको बेला रूखको छहारीमुनि बस्दा हामी स्फूर्ति पाउँछौँ, त्यसरी नै हाम्रो दयालु बोलीबाट अरूले स्फूर्ति पाउँछन्‌। तर अर्कोतर्फ, कठोर बोलीले अरूलाई चोट पुऱ्‍याउँछ र निराश बनाउँछ।—हितोपदेश १८:२१.

मीठो बोलीले स्फूर्ति दिन्छ

हितोपदेश १२:१८ यसो भन्छ: “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ।” कठोर बोलीले अरूको भावनामा चोट पुऱ्‍याउन सक्छ अनि सम्बन्ध बिगार्न सक्छ। कसैको कठोर बोलीले तपाईँको पनि चित्त दुखेको छ होला। हितोपदेश अझै यसो भन्छ: “बुद्धिमान्‌ मानिसको बोलीले निको पार्छ।” हो, सोचविचार गरेर बोलेको कुरा टुटेको हृदयको लागि मलहम हुन सक्छ अनि यसले गलतफहमी हटाउन र बिग्रेको सम्बन्ध सुधार्न सक्छ। (हितोपदेश १६:२४ पढ्‌नुहोस्‌) बोलीले अरूलाई असर गर्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामी विचार पुऱ्‍याएर बोल्नेछौँ।

६. हामीले जिब्रोलाई नियन्त्रणमा राख्न किन सङ्‌घर्ष गर्नुपर्छ?

विचार पुऱ्‍याएर बोल्नुपर्ने अर्को कारण हो, हामी सबै त्रुटिपूर्ण छौँ। “मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ” अनि हाम्रो हृदयमा जे छ, मुखले त्यही बोल्छ। (उत्पत्ति ८:२१; लुका ६:४५) हामीले जिब्रोलाई नियन्त्रणमा राख्न निकै सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। (याकुब ३:२-४ पढ्‌नुहोस्‌) हामीले आफ्नो बोली सुधार्न निरन्तर प्रयास गर्नुपर्छ।

७, ८. हाम्रो बोलीले यहोवासितको हाम्रो सम्बन्धलाई कसरी असर गर्न सक्छ?

हामीले विचार पुऱ्‍याएर बोल्नुपर्ने अर्को कारण पनि छ। हामी जे बोल्छौँ र जसरी बोल्छौँ, त्यसको लागि हामी यहोवाप्रति जबाफदेही हुन्छौँ। याकुब १:२६ यसो भन्छ: “यदि कुनै मानिसले आफूलाई परमेश्‍वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउँदैन भने उसले आफूलाई धोका दिइरहेको हुन्छ र उसको उपासना व्यर्थ हुन्छ।” त्यसैले जथाभाबी बोल्छौँ भने यहोवासितको हाम्रो सम्बन्ध बिग्रन सक्छ अनि पूरै टुट्‌न पनि सक्छ।—याकुब ३:८-१०.

स्पष्ट छ, हामी के बोल्छौँ र कसरी बोल्छौँ भन्‍ने कुरामा विचार पुऱ्‍याउनुपर्छ। यहोवाले चाहनुभएजस्तो बोली बोल्न सुरुमा हामीले कस्तो प्रकारको बोली बोल्नु हुँदैन, त्यो थाह पाउनुपर्छ।

निरुत्साहित पार्ने बोली

९, १०. (क) संसारमा कस्तो किसिमको बोली सामान्य भइसकेको छ? (ख) हामीले किन अश्‍लील बोली बोल्नु हुँदैन?

आजकल अश्‍लील वा फोहोर बोली बोल्नु सामान्य भइसकेको छ। प्रायजसो मानिसहरू आफ्नो कुरा माथि पार्न मुख छाड्‌नुपर्छ अनि छाडा बोली बोल्नुपर्छ भन्‍ने सोचाइ राख्छन्‌। हास्य कलाकारहरू मानिसहरूलाई हँसाउन अक्सर फोहोर बोली बोल्छन्‌ अनि अश्‍लील ठट्टा गर्छन्‌। तर प्रेषित पावलले यसो भने: “यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी, दुर्वचन अनि मुखबाट निस्कने अश्‍लील बोली।” (कलस्सी ३:८) तिनले साँचो ख्रिष्टियनहरूमाझ “अश्‍लील ठट्टा”-को “नामसमेत नलिइओस्‌” पनि भने।—एफिसी ५:३, ४.

१० यहोवा अश्‍लील बोलीलाई घृणा गर्नुहुन्छ र उहाँलाई प्रेम गर्नेहरू पनि त्यस्तो बोलीलाई घृणा गर्छन्‌। यो अशुद्ध कुरा हो। बाइबलमा “अशुद्धपन”-लाई “शरीरका कामहरू”-मा समावेश गरिएको छ। (गलाती ५:१९-२१) “अशुद्धपन”-मा विभिन्‍न किसिमका पाप मुछिएका हुन सक्छन्‌। एउटा अशुद्ध बानीले गर्दा अर्को अशुद्ध बानी लाग्न सक्छ। यदि कसैलाई घोर अशुद्ध र अश्‍लील बोली बोल्ने बानी नै परिसकेको छ अनि आफ्नो बानी सुधार्न चाहँदैन भने ऊ मण्डलीको सदस्य भइरहन सक्दैन।—२ कोरिन्थी १२:२१; एफिसी ४:१९; नोट २३ हेर्नुहोस्‌।

११, १२. (क) हानिकारक गफ भनेको के हो? (ख) हामीले किन अरूको निन्दा गर्नु हुँदैन?

११ हामी हानिकारक गफ गर्नदेखि पनि होसियार हुनुपर्छ। हामी आफ्ना साथीभाइ र परिवारको चासो राख्छौँ अनि तिनीहरूबारे कुरा गर्छौँ। यो स्वाभाविक हो। प्रथम शताब्दीका ख्रिष्टियनहरू आफ्ना दाजुभाइ दिदीबहिनी के गर्दै छन्‌ र तिनीहरूलाई कसरी मदत गर्न सकिन्छ भनेर चासो लिन्थे। (एफिसी ६:२१, २२; कलस्सी ४:८, ९) तर अरूको विषयमा गरिने कुराकानी सजिलै हानिकारक गफतर्फ मोडिन सक्छ। अरूबारे सुनेको कुरा फैलाउँदै हिँड्‌छौँ भने झूटो कुरा बोलिरहेका हुन सक्छौँ वा गोप्य राख्नुपर्ने कुरा बताइरहेका हुन सक्छौँ। हामी होसियार भएनौँ भने यस्तो नकारात्मक कुराकानी झूटो आरोप वा निन्दामा परिणत हुन सक्छ। फरिसीहरूले येसुलाई झूटो आरोप लगाए र उहाँको निन्दा गरे। (मत्ति ९:३२-३४; १२:२२-२४) निन्दा गर्दा अरूको इज्जतमा दाग लाग्न सक्छ, झैझगडा हुन सक्छ, अरूको मन दुख्न सक्छ र मित्रता टुट्‌न सक्छ।—हितोपदेश २६:२०.

१२ हाम्रो बोलीले मित्रतालाई शत्रुतामा बदलेको यहोवा चाहनुहुन्‍न। बरु त्यसले अरूको उत्थान गरेको र अरूलाई प्रोत्साहन दिएको उहाँ चाहनुहुन्छ। यहोवा “दाजुभाइबीच झगडाको बिउ रोप्ने मानिस”-लाई घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) दियाबल पहिलो निन्दक थियो। त्यसले यहोवाको निन्दा गऱ्‍यो। (प्रकाश १२:९, १०) आज संसारमा मानिसहरूलाई अरूबारे झूट बोल्नु सामान्य लाग्छ। तर ख्रिष्टियन मण्डलीमा त्यस्तो हुनु हुँदैन। (गलाती ५:१९-२१) त्यसैले बोल्नुअघि सधैँ सोचविचार गर्नुपर्छ। अरूबारे सुनेको कुरा कसैलाई बताउनुअघि आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मैले भन्‍न लागेको कुरा सत्य हो? यसले तिनको बदनाम गर्छ कि उत्थान? मैले भनेको कुरा तिनले सुने भने तिनलाई कस्तो लाग्छ? मेरो बारेमा कसैले यस्तो कुरा गऱ्‍यो भने मलाई कस्तो लाग्छ?’१ थिस्सलोनिकी ४:११ पढ्‌नुहोस्‌।

१३, १४. (क) दुर्वचनले मानिसलाई कस्तो असर गर्छ? (ख) गालीगलौज गर्नु भनेको के हो? ख्रिष्टियनहरूले किन गालीगलौज गर्नु हुँदैन?

१३ कहिलेकाहीँ हामी हतारमा बोल्न नहुने कुरा बोल्छौँ अनि फुर्सतमा पछुताउँछौँ। तर हामी अरूबारे नकारात्मक कुरा गर्ने र कठोर बोली बोल्ने बानी बसाल्न चाहँदैनौँ। हामीले कहिल्यै दुर्वचन बोल्नु हुँदैन। पावलले भने: “हरकिसिमको कटुता, रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका साथै हानि गर्ने सबै कुरा त्याग।” (एफिसी ४:३१) अरू बाइबलहरूमा “दुर्वचन”-लाई “दुष्ट वचन,” “हानिकारक बोली” र “बेइज्जत गर्ने बोली” भनेर अनुवाद गरिएको छ। दुर्वचनले अरूको अपमान गर्छ अनि तिनीहरूलाई निकम्मा महसुस गराउँछ। विशेषगरि, यस्तो वचनले केटाकेटीको कोमल मनमा सजिलै चोट पुऱ्‍याउन सक्छ। त्यसैले हामी तिनीहरूलाई चोट पुऱ्‍याउने बोली बोल्नदेखि अझ होसियार हुनुपर्छ।—कलस्सी ३:२१.

१४ बाइबलले दुर्वचनको उग्र रूपबारे पनि बताउँछ। त्यो हो, गालीगलौज। गालीगलौज गर्नु भनेको अरूलाई चोट पुऱ्‍याउन जानाजानी अपमान गरिरहनु हो। आफ्नो जीवनसाथी वा छोराछोरीलाई त्यसरी चोट पुऱ्‍याउनु कत्ति नराम्रो कुरा हो! गालीगलौज गर्न नछोड्‌ने व्यक्‍ति मण्डलीको सदस्य भइरहन सक्दैन। (१ कोरिन्थी ५:११-१३; ६:९, १०) हामीले सिकेझैँ हाम्रो बोली छाडा, झूटो वा कठोर छ भने यहोवा र अरूसितको हाम्रो सम्बन्ध बिग्रन्छ।

उत्थान गर्ने बोली

१५. कस्तो बोलीले सम्बन्ध बलियो बनाउँछ?

१५ हामी कसरी यहोवाले चाहनुभएजस्तो बोली बोल्न सक्छौँ? हुनत बाइबलमा भन्‍न हुने र भन्‍न नहुने कुराबारे तोकेरै बताइएको छैन तर हामीले “उत्थान गर्ने असल वचन” मात्र बोल्नुपर्छ भनी बताइएको छ। (एफिसी ४:२९) उत्थान गर्ने बोली शुद्ध, दयालु र सत्य हुन्छ। हाम्रो बोली अरूलाई प्रोत्साहन दिने र फाइदा पुऱ्‍याउने किसिमको होस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। यस्तो बोली बोल्न सधैँ सजिलो हुँदैन। नराम्रो र चित्त दुखाउने बोली बोल्न सजिलो हुन्छ तर राम्रो कुरा गर्न भने धेरै प्रयास गर्नुपर्ने हुन्छ। (तितस २:८) हामी कसरी अरूको उत्थान हुने बोली बोल्न सक्छौँ, केही तरिका छलफल गरौँ।

१६, १७. (क) हामीले किन अरूको प्रशंसा गर्नुपर्छ? (ख) हामीले क-कसको प्रशंसा गर्नुपर्छ?

१६ यहोवा र येसु खुला मनले प्रशंसा गर्नुहुन्छ। हामी उहाँहरूको अनुकरण गर्न चाहन्छौँ। (मत्ति ३:१७; २५:१९-२३; युहन्‍ना १:४७) अरूको प्रशंसा गरेर उत्थान गर्न हामीले तिनका राम्रा गुणहरूमा ध्यान दिनुपर्छ र तिनमा चासो लिनुपर्छ। हितोपदेश १५:२३ यसो भन्छ: “ठीक बेलामा बोलेको कुरा कत्ति असल हुन्छ!” कसैले हाम्रो मेहनतको मनैदेखि प्रशंसा गर्दा र हाम्रो कामको लागि कृतज्ञता व्यक्‍त गर्दा हामी प्रोत्साहन पाउँछौँ।मत्ति ७:१२ पढ्‌नुहोस्‌; नोट २७ हेर्नुहोस्‌।

१७ अरूको असल कुरामा ध्यान दिने बानी बसाल्नुभयो भने मनैदेखि प्रशंसा गर्न सजिलो हुनेछ। उदाहरणको लागि, मण्डलीमा कसैले राम्ररी तयारी गरेर भाषण दिएको वा सभामा टिप्पणी दिन प्रयास गरेको तपाईँले याद गर्नुभएको होला। केटाकेटीले स्कुलमा साहसी भएर सत्यको पक्षमा बोलेको अनि वृद्ध ख्रिष्टियनले नियमित रूपमा प्रचारकार्यमा भाग लिइरहेको पनि याद गर्नुभएको होला। तिनीहरूको प्रशंसा गर्नुभयो भने तिनीहरू असल काममा लागिरहन प्रोत्साहित हुनेछन्‌। पतिले आफ्नी पत्नीलाई माया गरेको र तिनलाई अनमोल ठानेको कुरा व्यक्‍त गर्नु पनि एकदमै महत्त्वपूर्ण छ। (हितोपदेश ३१:१०, २८) बिरुवालाई प्रकाश र पानी चाहिएजस्तै मानिसलाई प्रशंसा चाहिन्छ। अझ विशेषगरि, छोराछोरीको प्रशंसा गर्नु झनै महत्त्वपूर्ण छ। तिनीहरूको असल गुण र कामको प्रशंसा गर्नुहोस्‌। यसो गर्दा तिनीहरूको साहस र आत्मविश्‍वास बढ्‌नेछ। साथै तिनीहरू जे सही छ, त्यही गर्न जुरमुरिनेछन्‌।

हाम्रो बोली र कुराकानी गर्ने शैलीबाट अरूले प्रोत्साहन र सान्त्वना पाउन सक्छन्‌

१८, १९. अरूलाई प्रोत्साहन र सान्त्वना दिन किन यथासक्दो गर्नुपर्छ? हामी कसरी त्यसो गर्न सक्छौँ?

१८ अरूलाई प्रोत्साहन सान्त्वना दिँदा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ। उहाँ “कमजोरहरू” र “मन भाँचिएकाहरू”-को ख्याल राख्नुहुन्छ। (यसैया ५७:१५) हामीले ‘एकअर्कालाई प्रोत्साहन दिइरहेको अनि एकअर्काको उत्थान गरिरहेको’ यहोवा चाहनुहुन्छ। (१ थिस्सलोनिकी ५:११, १४) त्यसो गऱ्‍यौँ भने उहाँले हाम्रो प्रयास याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ।

१९ मण्डलीमा कोही निरुत्साहित भएको वा निराश भएको तपाईँले याद गर्नुभएको होला। तपाईँ कसरी तिनलाई मदत गर्न सक्नुहुन्छ? तपाईँले तिनको समस्या त समाधान गर्न सक्नुहुन्‍न होला तर तिनको ख्याल राखेको महसुस गराउन सक्नुहुन्छ। जस्तै: तिनीसित समय बिताउन सक्नुहुन्छ, तिनको लागि प्रोत्साहनदायी शास्त्रपद पढिदिन सक्नुहुन्छ र प्रार्थना गरिदिन सक्नुहुन्छ। (भजन ३४:१८; मत्ति १०:२९-३१) मण्डलीका दाजुभाइ दिदीबहिनी तिनलाई माया गर्छन्‌ भन्‍ने कुरामा विश्‍वस्त पार्नुहोस्‌। (१ कोरिन्थी १२:१२-२६; याकुब ५:१४, १५) तपाईँले भन्‍ने कुरा मनैदेखि आएको हुनुपर्छ, त्यसमा देखावटीपन झल्किनु हुँदैन।हितोपदेश १२:२५ पढ्‌नुहोस्‌।

२०, २१. कस्ता कुराहरूले सल्लाह स्विकार्न सजिलो बनाउँछ?

२० हामीले राम्रो सल्लाह दिएर पनि अरूको उत्थान गर्न सक्छौँ। त्रुटिपूर्ण भएकोले हामी सबैलाई समय-समयमा सल्लाहको खाँचो पर्छ। हितोपदेश १९:२० यसो भन्छ: “सल्लाह सुन र अनुशासन स्विकार; तब तिमी बुद्धिमान्‌ हुनेछौ।” सल्लाह र सुझाव एल्डरहरूले मात्र दिनुपर्छ भन्‍ने छैन। आमाबुबाले छोराछोरीलाई डोऱ्‍याउनुपर्छ। (एफिसी ६:४) दिदीबहिनीहरूले पनि एकअर्कालाई राम्रो सल्लाह-सुझाव दिन सक्छन्‌। (तितस २:३-५) हामी दाजुभाइ दिदीबहिनीलाई माया गर्छौँ। त्यसैले तिनीहरूलाई अप्ठ्यारो महसुस नहुनेगरि सल्लाह दिन चाहन्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ?

२१ कसैले तपाईँलाई स्विकार्न सजिलो हुने तरिकामा कुनै राम्रो सल्लाह दिएको तपाईँ सम्झनुहुन्छ होला। त्यो सल्लाह स्विकार्न तपाईँलाई किन सजिलो लाग्यो? सायद सल्लाह दिने व्यक्‍तिले तपाईँको साँच्चै चिन्ता गर्छन्‌ भनेर तपाईँले महसुस गर्नुभयो। अथवा तिनले तपाईँसित मायालु र दयालु तरिकामा कुरा गरे होलान्‌। (कलस्सी ४:६) अनि तिनले दिएको सल्लाह बाइबलमा आधारित थियो होला। (२ तिमोथि ३:१६) सल्लाह दिँदा सीधै बाइबलबाट उल्लेख नगरे तापनि हामीले दिने सल्लाह सधैँ बाइबलमा आधारित हुनुपर्छ। कसैले पनि आफ्नो विचारधारा अरूमाथि थोपर्नु हुँदैन वा आफ्नो कुरा माथि पार्न शास्त्रपदलाई बङ्‌ग्याउनु हुँदैन। आफूलाई कसरी सल्लाह दिइएको थियो, त्यो याद गर्नुभयो भने तपाईँले अरूलाई सल्लाह दिनुपर्दा त्यही तरिका लागू गर्न सक्नुहुन्छ।

२२. तपाईँ आफ्नो बोल्ने क्षमताको कसरी प्रयोग गर्न चाहनुहुन्छ?

२२ बोल्ने क्षमता परमेश्‍वरले दिनुभएको वरदान हो। परमेश्‍वरप्रतिको प्रेमले हामीलाई यस वरदानको सदुपयोग गर्न उत्प्रेरित गर्छ। शब्दमा उत्थान गर्ने र निरुत्साहित पार्ने शक्‍ति छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। त्यसैले अरूलाई बल र प्रोत्साहन दिने बोली बोल्न यथासक्दो गरौँ।