सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १५

आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌

आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌

“आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।”—उपदेशक ३:१३.

१-३. (क) धेरैलाई आफ्नो काम कस्तो लाग्छ? (ख) यस अध्यायमा कुन-कुन प्रश्‍नहरू छलफल गर्नेछौँ?

मानिसहरू आफू र आफ्नो परिवारको लागि कडा परिश्रम गर्छन्‌। धेरैलाई आफ्नो काम मन पर्दैन। कोही-कोहीलाई त काममा जानै नपरे पनि हुन्थ्यो जस्तो लाग्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ कि? त्यसोभए आफ्नो कामबाट सन्तुष्टि पाउन तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?

यहोवाले यसो भन्‍नुभएको छ: “खानु, पिउनु र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।” (उपदेशक ३:१३) यहोवाले हामीलाई काम गर्नुपर्ने गरी अनि काम गर्ने इच्छासहित सृष्टि गर्नुभयो। उहाँ हामीले आफ्नो कामबाट आनन्द उठाओस्‌ भन्‍ने चाहनुहुन्छ।उपदेशक २:२४; ५:१८ पढ्‌नुहोस्‌।

त्यसोभए कामबाट कसरी आनन्द उठाउन सकिन्छ? ख्रिष्टियनहरूले कस्ता कामहरू गर्नु हुँदैन? हामी कसरी आफ्नो काम र यहोवाको उपासनाबीच सन्तुलन कायम गर्न सक्छौँ? हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम कुन हो?

यहोवा र येसु हाम्रो लागि सर्वोत्कृष्ट उदाहरण

४, ५. यहोवा कामलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?

यहोवालाई काम गर्न मन पर्छ। उत्पत्ति १:१ भन्छ: “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” पृथ्वी र यसमा भएका सबै कुरा सृष्टि गर्नुभएपछि उहाँले “ती असाध्यै राम्रा थिए” भन्‍नुभयो। (उत्पत्ति १:३१) आफूले बनाएका कुराहरू हेरेर हाम्रो सृष्टिकर्ता सन्तुष्ट हुनुभयो।—१ तिमोथि १:११.

यहोवा सधैँ काम गर्नुहुन्छ। त्यसैले येसुले भन्‍नुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ।” (युहन्‍ना ५:१७) हुनत यहोवा अहिले के-कस्ता आश्‍चर्यजनक काम गर्दै हुनुहुन्छ, ती सबै हामीलाई थाह छैन तर कुनै-कुनै कामबारे भने थाह छ। उहाँ आफ्नो छोरा येसु ख्रिष्टका सहशासकहरू रोज्दै हुनुहुन्छ। (२ कोरिन्थी ५:१७) यहोवा मानिसजातिलाई डोऱ्‍याउने र हेरचाह गर्ने काममा लागिरहनुभएको छ। विश्‍वव्यापी रूपमा भइरहेको प्रचारकार्यले गर्दा लाखौँ मानिसले यहोवालाई चिन्‍न पाएका छन्‌ अनि प्रमोदवनमा सधैँभरि बाँच्ने आशा पाएका छन्‌।—युहन्‍ना ६:४४; रोमी ६:२३.

६, ७. कामप्रति येसुको मनोवृत्ति कस्तो छ?

येसु पनि आफ्नो बुबाजस्तै काम गर्न मन पराउनुहुन्छ। पृथ्वीमा आउनुअघि उहाँ परमेश्‍वरको “मुख्य कारिगर” हुनुहुन्थ्यो। उहाँले स्वर्ग र पृथ्वीमा भएका सबै थोक सृष्टि गर्न परमेश्‍वरलाई मदत गर्नुभयो। (हितोपदेश ८:२२-३१; कलस्सी १:१५-१७) पृथ्वीमा हुनुहुँदा पनि येसुले कडा परिश्रम गर्नुभयो। सानै उमेरमा उहाँले सिकर्मीको काम सिक्नुभयो। सायद उहाँ मेच, टेबुल र खाटजस्ता फर्निचरहरू अनि घरहरू बनाउनुहुन्थ्यो। आफ्नो काममा असाध्यै सिपालु हुनुभएकोले उहाँ “सिकर्मी” भनेर चिनिनुभयो।—मर्कुस ६:३.

तर पृथ्वीमा हुनुहुँदा येसुको मुख्य काम मानिसहरूलाई सुसमाचार प्रचार गर्नु र यहोवाबारे सिकाउनु थियो। उहाँले आफ्नो सेवाको काम साढे तीन वर्षभित्र पूरा गर्नुपर्थ्यो। त्यसैले उहाँ बिहान सबेरैदेखि राती अबेरसम्म सेवाको काम गर्नुहुन्थ्यो। (लुका २१:३७, ३८; युहन्‍ना ३:२) सकेसम्म धेरै मानिसलाई सुसमाचार सुनाउन येसु सयौँ किलोमिटर धुलाम्मे बाटोमा यात्रा गर्नुहुन्थ्यो।—लुका ८:१.

८, ९. येसु कामबाट सन्तुष्टि लिनुहुन्थ्यो भनेर किन भन्‍न सक्छौँ?

येसुको लागि परमेश्‍वरले दिनुभएको काम भोजनजस्तै थियो। यो कामबाट उहाँले बल र स्फूर्ति पाउनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ काममा यति व्यस्त हुनुहुन्थ्यो कि उहाँलाई खाना खाने फुर्सदसमेत हुँदैनथ्यो। (युहन्‍ना ४:३१-३८) उहाँ मौका पाउनेबित्तिकै मानिसहरूलाई आफ्नो बुबाबारे सिकाउनुहुन्थ्यो। त्यसैले उहाँले यहोवालाई यसो भन्‍न सक्नुभयो: “तपाईँले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईँको महिमा गरेको छु।”—युहन्‍ना १७:४.

यहोवा र येसु दुवै जना कडा परिश्रम गर्नुहुन्छ अनि आफ्नो कामबाट आनन्द र सन्तुष्टि लिनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। हामी ‘परमेश्‍वरको देखासिकी’ गर्न र ‘राम्ररी येसुको पाइला पछ्याउन’ चाहन्छौँ। (एफिसी ५:१; १ पत्रुस २:२१) त्यसैले हामी सबै काम राम्ररी अनि मेहनती भएर गर्छौँ।

हामीले कामप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१०, ११. कामप्रति सकारात्मक दृष्टिकोण राख्न हामीलाई केले मदत गर्छ?

१० हामी यहोवाको सेवक भएकोले आफ्नो र परिवारको पालनपोषण गर्न कडा परिश्रम गर्छौँ। तर आफूले गरिरहेको काम हामीलाई त्यति रमाइलो नलाग्न सक्छ। त्यसोभए आफ्नो काममा खुसी हुन के गर्न सक्छौँ?

कामप्रति सकारात्मक दृष्टिकोण राख्दा जस्तोसुकै काममा खुसी हुन सकिन्छ

११ सकारात्मक मनोवृत्ति राख्नुहोस्‌। बाध्य भएर हामीले आफूलाई मन नपर्ने वा धेरै समय बिताउनुपर्ने खालको काम गरिरहेका हुन सक्छौँ। हामी आफ्नो काम त बदल्न सक्दैनौँ होला तर कामप्रतिको दृष्टिकोण भने पक्कै बदल्न सक्छौँ। त्यसको लागि यहोवा हामीबाट के चाहनुहुन्छ, त्यो बुझ्नुपर्छ। जस्तै: परिवारको शिरले आफ्नो परिवारको राम्ररी हेरविचार गरेको यहोवा चाहनुहुन्छ। बाइबलले आफ्नो परिवारको हेरविचार नगर्ने मानिस “विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ” भनी बताउँछ। (१ तिमोथि ५:८) तपाईँ परिवारको शिर हुनुहुन्छ भने परिवारको हेरविचार गर्न कडा परिश्रम गर्दै हुनुहुन्छ होला। तपाईँलाई आफ्नो काम मन परे पनि या नपरे पनि परिवारको हेरविचार गर्न सक्दो प्रयास गर्दै हुनुहुन्छ भने यहोवा तपाईँसित खुसी हुनुहुन्छ।

१२. मेहनती र इमानदार हुँदा कस्तो फाइदा हुन्छ?

१२ मेहनती र इमानदार हुनुहोस्‌। मेहनती र इमानदार भई काम गर्नुभयो भने तपाईँले आफ्नो कामबाट सन्तुष्टि पाउन सक्नुहुन्छ। (हितोपदेश १२:२४; २२:२९) तपाईँले मालिकको भरोसा जित्न सक्नुहुन्छ। इमानदार मानिसहरूलाई जसले पनि काममा राख्न चाहन्छ किनभने त्यस्ता कामदारहरूले पैसा, सरसामान र समय चोर्दैनन्‌। (एफिसी ४:२८) अझ महत्त्वपूर्ण कुरा, यहोवाले तपाईँको मेहनत र इमानदारी याद गर्नुहुन्छ। अनि आफूले परमेश्‍वरलाई खुसी पारिरहेको छु भनेर थाह पाउँदा तपाईँको ‘अन्तस्करण सफा’ रहिरहनेछ।—हिब्रू १३:१८; कलस्सी ३:२२-२४.

१३. इमानदार भई काम गर्दा नतिजा कस्तो हुन सक्छ?

१३ काम गर्ने ठाउँमा असल आचरण देखाउँदा यहोवाको महिमा हुन्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। यस कुराले पनि हामीलाई आफ्नो काममा खुसी हुन मदत गर्छ। (तितस २:९, १०) तपाईँको असल आचरण देखेर तपाईँका सहकर्मीहरूले बाइबल अध्ययन सुरु गर्न सक्छन्‌।हितोपदेश २७:११; १ पत्रुस २:१२ पढ्‌नुहोस्‌।

मैले कस्तो जागिर खानु हुन्छ?

१४-१६. जागिर खाने सन्दर्भमा कस्ता कुराहरू विचार गर्नुपर्छ?

१४ ख्रिष्टियनहरूले कस्तो जागिर खानु हुन्छ र कस्तो हुँदैन, त्यसको सूची बाइबलमा पाइँदैन। तर जागिर खाने सन्दर्भमा सही निर्णय गर्न मदत गर्ने सिद्धान्तहरू भने पाइन्छ। (हितोपदेश २:६) बाइबलका सिद्धान्तहरू प्रयोग गर्दै हामी निम्न प्रश्‍नहरू आफैलाई सोध्न सक्छौँ।

यहोवाको स्तर उल्लङ्‌घन नहुने किसिमको काम खोज्नुहोस्‌

१५ के यो जागिर खाँदा यहोवाले निषेध गर्नुभएको काम गर्नुपर्ने हुन सक्छ? यहोवाले घृणा गर्नुहुने कामहरू के-के हुन्‌ भनेर हामीले सिकिसकेका छौँ। जस्तै: चोरी गर्नु र झूटो बोल्नु। (प्रस्थान २०:४; प्रेषित १५:२९; एफिसी ४:२८; प्रकाश २१:८) त्यसैले हामीले यहोवाको स्तरविपरीत काम गर्नुपर्ने कुनै पनि जागिर खानु हुँदैन।१ युहन्‍ना ५:३ पढ्‌नुहोस्‌।

१६ के यो जागिरले यहोवाले घृणा गर्नुहुने कामलाई समर्थन गर्छ? उदाहरणको लागि, तपाईँले गर्भपतन गराउने क्लिनिकमा रिसेप्सनिस्टको जागिर पाउनुभयो भने के गर्नुहुन्छ? रिसेप्सनिस्टको काम गर्नुमा कुनै खराबी छैन। तर यहोवालाई गर्भपतन कस्तो लाग्छ, त्यो तपाईँलाई थाह छ। तपाईँ आफैले गर्भपतन गराउने काम नगरे पनि यहोवाको नजरबाट हेर्दा तपाईँले त्यो गलत कामलाई समर्थन गर्नुभएको जस्तो देखिँदैन र?—प्रस्थान २१:२२-२४.

१७. परमेश्‍वरलाई खुसी तुल्याउने निर्णय गर्न केले मदत गर्छ?

१७ परमेश्‍वरले दिनुभएका सिद्धान्तहरू पालन गरेर हामी त्यस्तो व्यक्‍ति बन्‍न सक्छौँ, “जसले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।” (हिब्रू ५:१४) आफैलाई सोध्नुहोस्‌: ‘मैले यो जागिर खाएँ भने के अरूले ठक्कर खानेछन्‌? आफ्नो जीवनसाथी र छोराछोरीलाई छोडेर विदेश जानुपर्ने हुन्छ कि? म विदेश गएँ भने तिनीहरूमा कस्तो असर पर्ला?’

“अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक”

१८. परमेश्‍वरको उपासनालाई पहिलो स्थानमा राख्न किन चुनौतीपूर्ण हुन सक्छ?

१८ ‘अन्तको दिनको असाध्यै कठिन समयमा’ यहोवाको उपासनालाई पहिलो स्थानमा राख्न गाह्रो हुन सक्छ। (२ तिमोथि ३:१) जागिर पाउनु र त्यसलाई नगुमाउनु साँच्चै चुनौतीपूर्ण हुन सक्छ। हामीले आफ्नो परिवारको हेरविचार गर्नुपर्छ तर यहोवाको उपासनालाई पहिलो स्थानमा राख्नुपर्छ भन्‍ने कुरा पनि हामीलाई थाह छ। हामीले भौतिक कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नु हुँदैन। (१ तिमोथि ६:९, १०) त्यसोभए हामी कसरी ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर्नुका’ साथै आफ्नो परिवारको हेरविचार गर्न सक्छौँ?—फिलिप्पी १:१०.

१९. कामप्रति सन्तुलित दृष्टिकोण राख्न यहोवामाथिको भरोसाले कसरी मदत गर्छ?

१९ यहोवामाथि पूर्ण भरोसा राख्नुहोस्‌। (हितोपदेश ३:५, ६ पढ्‌नुहोस्‌) यहोवा हाम्रो ख्याल राख्नुहुन्छ र उहाँलाई हाम्रो आवश्‍यकता राम्ररी थाह छ। (भजन ३७:२५; १ पत्रुस ५:७) उहाँको वचन यसो भन्छ: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ। किनकि उहाँले यसो भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।’” (हिब्रू १३:५) हामीले आफ्नो परिवारको पालनपोषण कसरी गर्ने होला भनेर चिन्ता लिइरहेको यहोवा चाहनुहुन्‍न। उहाँले आफ्ना सेवकहरूको आवश्‍यकता पूरा गरिदिन सक्नुहुन्छ भनेर कैयौँ पटक देखाइसक्नुभएको छ। (मत्ति ६:२५-३२) त्यसैले हाम्रो काम जस्तोसुकै भए पनि हामी नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गर्छौँ, सुसमाचार प्रचार गर्छौँ अनि सभाहरूमा उपस्थित हुन्छौँ।—मत्ति २४:१४; हिब्रू १०:२४, २५.

२०. हामी कसरी आफ्नो जीवन सरल बनाउन सक्छौँ?

२० आफ्नो आँखा एउटै कुरामा केन्द्रित गर्नुहोस्‌। (मत्ति ६:२२, २३ पढ्‌नुहोस्‌) यसको अर्थ, यहोवाको सेवामा लागिरहन आफ्नो जीवन सरल बनाउनु हो। यहोवासितको मित्रतालाई भन्दा पैसा, आरामदायी जीवन वा नयाँ-नयाँ इलेक्ट्रोनिक साधनलाई महत्त्व दिनु मूर्खता हो। त्यसोभए महत्त्वपूर्ण कुरालाई कसरी पहिलो स्थानमा राख्न सक्छौँ? सकेसम्म ऋण नलिनु नै बुद्धिमानी हुन्छ। ऋण लिइहाल्नुभयो भने पनि त्यसलाई कसरी चुक्‍ता गर्ने भनेर योजना बनाउनुहोस्‌। होसियार भएनौँ भने भौतिक चिजबिजले हाम्रो धेरै समय र शक्‍ति खान सक्छ र हामीसित प्रार्थना, अध्ययन र प्रचार गर्ने समय नै नहुन सक्छ। हामी भौतिक चिजबिज थुपारेर जीवन अस्तव्यस्त पार्नुको सट्टा “खान र लाउन”-जस्ता आधारभूत कुराहरूमा सन्तुष्ट हुन सिक्नुपर्छ। (१ तिमोथि ६:८) हाम्रो आर्थिक अवस्था जस्तोसुकै भए तापनि कुन-कुन तरिकामा यहोवाको सेवा अझ धेरै गर्न सकिन्छ, समय-समयमा जाँच्नुपर्छ।

२१. हामी कुन कुरालाई महत्त्वपूर्ण ठान्छौँ भनेर किन जाँच्नुपर्छ?

२१ महत्त्वपूर्ण कुराहरूलाई प्राथमिकता दिनुहोस्‌। हामीले आफ्नो समय, शक्‍ति र भौतिक स्रोतसाधन बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ। हामी होसियार भएनौँ भने शिक्षा वा पैसाजस्ता कम महत्त्वपूर्ण कुराले हाम्रो अमूल्य समय खान सक्छ। येसुले यसो भन्‍नुभयो: “राज्यलाई . . . पहिलो स्थान दिइरहो।” (मत्ति ६:३३) हाम्रो छनौट, आनीबानी, दिनचर्या र लक्ष्यले हामी कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्छौँ, त्यो प्रकट गर्छ।

सबैभन्दा महत्त्वपूर्ण काम

२२, २३. (क) हामी ख्रिष्टियनहरूको सबैभन्दा महत्त्वपूर्ण काम के हो? (ख) हामी कसरी आफ्नो कामबाट सन्तुष्टि पाउन सक्छौँ?

२२ हाम्रो सबैभन्दा महत्त्वपूर्ण काम यहोवाको सेवा गर्नु र सुसमाचार प्रचार गर्नु हो। (मत्ति २४:१४; २८:१९, २०) येसुजस्तै हामी पनि यो काम गर्न सकेजति गर्छौँ। कोही-कोही प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्छन्‌। अरू कतिपयचाहिँ विदेशीहरूलाई प्रचार गर्न नयाँ भाषा सिक्दै छन्‌। यस्ता दाजुभाइ दिदीबहिनीसित कुराकानी गर्नुहोस्‌ र तिनीहरूले कसरी त्यसो गर्न सके भनेर सोध्नुहोस्‌। तिनीहरूले आफ्नो जीवन अर्थपूर्ण र आनन्दित भएको कुरा बताउनेछन्‌।हितोपदेश १०:२२ पढ्‌नुहोस्‌।

यहोवाको सेवा गर्नु सबैभन्दा महत्त्वपूर्ण काम हो

२३ हामीमध्ये धेरै आफ्नो परिवारको आधारभूत आवश्‍यकता पूरा गर्न घण्टौँ काम गर्छौँ अथवा दुई-तीन ठाउँमा जागिर खान्छौँ। यहोवा हाम्रो अवस्था बुझ्नुहुन्छ र परिवारको लागि हामीले गरेको मेहनतको कदर गर्नुहुन्छ। त्यसैले जस्तोसुकै काम गर्नुपरे तापनि यहोवा र येसुको अनुकरण गर्दै कडा परिश्रम गरिरहौँ। साथै यहोवाको सेवा गर्नु र राज्यको सुसमाचार प्रचार गर्नु नै सबैभन्दा महत्त्वपूर्ण काम हो भनेर कहिल्यै नबिर्सौँ। यसले हामीलाई साँचो आनन्द दिन्छ।