सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४

हामीले किन अख्तियारको आदर गर्नुपर्छ?

हामीले किन अख्तियारको आदर गर्नुपर्छ?

“हरप्रकारका मानिसहरूको आदर गर, सबै भाइहरूलाई प्रेम गर, परमेश्‍वरको डर मान अनि राजाको आदर गर।”—१ पत्रुस २:१७.

१, २. (क) हामीले कसको निर्देशन स्विकार्नुपर्छ? (ख) यस अध्यायमा हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौँ?

सानो छँदा तपाईँलाई आमाबुबाले मन नपर्ने काम अह्राएको याद छ? तपाईँ आफ्नो आमाबुबालाई माया गर्नुहुन्छ र उहाँहरूले भनेको मान्‍नुपर्छ भनेर तपाईँलाई थाह छ। तैपनि तपाईँलाई उहाँहरूले भनेको कुरा मान्‍न कहिलेकाहीँ गाह्रो लाग्यो होला।

हामीलाई थाह छ, यहोवा बुबा हामीलाई माया गर्नुहुन्छ। उहाँ हाम्रो ख्याल राख्नुहुन्छ अनि हाम्रो जीवन सुखमय बनाउन चाहिने सबै कुरा दिनुहुन्छ। हाम्रो जीवन सफल बनाउन चाहिने निर्देशनहरू पनि दिनुहुन्छ। कहिलेकाहीँ उहाँ हामीलाई अरू व्यक्‍तिमार्फत निर्देशन दिनुहुन्छ। हामीले यहोवाको अख्तियारको आदर गर्नुपर्छ। (हितोपदेश २४:२१) तर कहिलेकाहीँ निर्देशन स्विकार्न किन गाह्रो हुन सक्छ? हामीले किन निर्देशन स्विकारेको यहोवा चाहनुहुन्छ? अनि हामी उहाँको अख्तियारको आदर गरेको कसरी देखाउन सक्छौँ?—नोट ९ हेर्नुहोस्‌।

आदर गर्न किन गाह्रो हुन सक्छ?

३, ४. मानिसहरू कसरी त्रुटिपूर्ण भए? हामीलाई अरूको निर्देशन स्विकार्न किन गाह्रो लाग्न सक्छ?

पहिलो पुरुष र स्त्री आदम र हव्वाले पाप गरेपछि मानिसहरूमा विद्रोह गर्ने झुकाव सुरु भयो। हुनत सृष्टि गरिँदा तिनीहरूमा कुनै खोट थिएन तैपनि तिनीहरूले परमेश्‍वरको अख्तियारको विरोध गरे। त्यतिबेलादेखि सबै मानिस जन्मजातै त्रुटिपूर्ण भए। यहोवा र मानिसहरूको निर्देशन स्विकार्न गाह्रो हुनुको एउटा कारण हामी त्रुटिपूर्ण भएकोले हो। अर्को कारण हो, यहोवा हामीलाई निर्देशन दिन जसलाई चलाउनुहुन्छ, तिनीहरू पनि त्रुटिपूर्ण छन्‌।—उत्पत्ति २:१५-१७; ३:१-७; भजन ५१:५; रोमी ५:१२.

त्रुटिपूर्ण भएकोले मानिसमा घमन्डी झुकाव हुन्छ। घमन्डले निर्देशन स्विकार्न गाह्रो बनाउँछ। उदाहरणको लागि, पुरातन इस्राएलमा यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन मोसालाई रोज्नुभयो। लामो समयदेखि यहोवाको सेवा गरेका कोरह घमन्डी भए र मोसाको घोर अनादर गरे। मोसाले परमेश्‍वरका जनहरूलाई डोऱ्‍याउने जिम्मेवारी पाए तापनि तिनी घमन्डी थिएनन्‌। तिनी त्यतिबेलाका सबैभन्दा नम्र मानिस थिए भनेर बाइबलमा बताइएको छ। अर्कोतर्फ कोरहले मोसाको निर्देशन स्विकारेनन्‌। उनले मानिसहरूको भीडलाई आफूसँगै मोसाको विरोध गर्न उक्साए। कोरह र अरू विद्रोहीहरूलाई के भयो? तिनीहरू मारिए। (गन्ती १२:३; १६:१-३, ३१-३५) घमन्ड गर्नु हानिकारक हुन्छ भनेर देखाउने थुप्रै उदाहरण बाइबलमा पाइन्छ।—२ इतिहास २६:१६-२१; नोट १० हेर्नुहोस्‌।

५. कसै-कसैले कसरी आफ्नो शक्‍तिको दुरुपयोग गरेका छन्‌?

अख्तियार पाउने धेरैजसो व्यक्‍तिले शक्‍तिको दुरुपयोग गरेको तपाईँले सुन्‍नुभएको छ होला। इतिहास हेर्ने हो भने थुप्रै मानिसले आफ्नो शक्‍तिको दुरुपयोग गरेका छन्‌। (उपदेशक ८:९ पढ्‌नुहोस्‌) उदाहरणको लागि, यहोवाले साउललाई इस्राएलको राजा हुन रोज्नुहुँदा तिनी असल अनि नम्र थिए। तर तिनी बिस्तारै घमन्डी र ईर्ष्यालु हुन थाले। तिनले निर्दोष मानिस दाउदलाई सताउन थाले। (१ समुएल ९:२०, २१; १०:२०-२२; १८:७-११) पछि दाउद राजा भए। इस्राएलका सबैभन्दा असल राजाहरूमध्ये तिनी एक थिए। तर कुनै बेला तिनले पनि आफ्नो शक्‍तिको दुरुपयोग गरे। तिनले उरियाहकी पत्नी बेतसेबासित अवैध यौनसम्बन्ध राखे, आफ्नो पाप ढाक्न उरियाहलाई मार्ने षड्यन्त्र रचे अनि उनलाई युद्धमा पठाए।—२ समुएल ११:१-१७.

हामी किन यहोवाको अख्तियारको आदर गर्छौँ?

६, ७. (क) यहोवाप्रतिको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ? (ख) गाह्रो हुँदा पनि हामी कसरी आज्ञाकारी हुन सक्छौँ?

हामी यहोवाले दिनुभएको निर्देशनको कदर गर्छौँ किनभने हामी उहाँलाई प्रेम गर्छौँ। अरू कुनै कुरा वा व्यक्‍तिलाई भन्दा हामी यहोवालाई प्रेम गर्छौँ। त्यसैले हामी उहाँलाई खुसी बनाउन चाहन्छौँ। (हितोपदेश २७:११; मर्कुस १२:२९, ३० पढ्‌नुहोस्‌) सैतानले पहिलो दम्पतीलाई यहोवाको अख्तियारको विरोध गर्न उक्साएको थियो। त्यतिबेलादेखि नै सैतान मानिसहरूले यहोवाको अख्तियारको विरोध गरून्‌ भन्‍ने चाहन्छ। हामीलाई निर्देशन दिने अधिकार यहोवासित छैन भनेर सोचेको दियाबल चाहन्छ। तर त्यो झूटो कुरा हो। हामी यो कुरासित सहमत छौँ: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो।”—प्रकाश ४:११.

आमाबुबाले भनेको कुनै-कुनै कुरा मन नपरे पनि मान्‍नुपर्छ भनेर तपाईँले सानो छँदा सिक्नुभएको थियो होला। त्यसैगरि हामी यहोवाका सेवकहरूलाई पनि उहाँप्रति आज्ञाकारी भइरहन सधैँ सजिलो नहुन सक्छ। तर हामी यहोवालाई प्रेम र आदर गर्छौँ। त्यसैले उहाँको आज्ञा पालन गर्न सक्दो गर्छौँ। यस सन्दर्भमा येसुले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभएको छ। गाह्रो हुँदा समेत येसुले यहोवाको आज्ञा पालन गर्नुभयो। त्यसैले त उहाँले आफ्नो बुबालाई यसो भन्‍न सक्नुभयो: “मेरो होइन तर तपाईंको इच्छाबमोजिम होस्‌।”—लुका २२:४२; नोट ११ हेर्नुहोस्‌।

८. यहोवाले हामीलाई डोऱ्‍याउनुहुने केही तरिका के-के हुन्‌? (“ सल्लाह स्विकार्नुहोस्‌” भन्‍ने पेटी हेर्नुहोस्‌)

आज यहोवा हामीलाई विभिन्‍न तरिकामा डोऱ्‍याउनुहुन्छ। जस्तै: उहाँले हामीलाई बाइबल दिनुभएको छ। उहाँले मण्डलीमा एल्डरहरू पनि दिनुभएको छ। यहोवाले हामीलाई डोऱ्‍याउन रोज्नुभएका व्यक्‍तिहरूको आदर गर्दा हामीले उहाँको अख्तियारको आदर गरिरहेका हुन्छौँ। हामी तिनीहरूको मदत अस्वीकार गर्छौँ भने एक अर्थमा यहोवालाई नै अस्वीकार गरिरहेका हुन्छौँ। इस्राएलीहरूले मोसालाई तिरस्कार गर्दा यहोवाले त्यसलाई गम्भीर कुरा ठान्‍नुभयो। उहाँको नजरमा इस्राएलीहरूले उहाँलाई नै तिरस्कार गरिरहेका थिए।—गन्ती १४:२६, २७; नोट १२ हेर्नुहोस्‌।

९. प्रेमले कसरी निर्देशन पालन गर्न उत्प्रेरित गर्छ?

मण्डलीमा अख्तियार पाएकाहरूको आदर गर्दा हामी दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्छौँ भनेर पनि देखाइरहेका हुन्छौँ। एउटा उदाहरण विचार गर्नुहोस्‌। प्राकृतिक प्रकोप हुँदा धेरैभन्दा धेरै मानिसलाई बचाउन सकियोस्‌ भनेर उद्धार टोलीका सदस्यहरू मिलेर काम गर्छन्‌। प्रभावकारी तरिकामा काम गर्न एक जना व्यक्‍तिले नेतृत्व लिनुपर्छ र टोलीको प्रत्येक सदस्यले निर्देशन पालन गर्नुपर्छ। तर कुनै सदस्यले निर्देशन पालन गर्दैन र आफूखुसी गर्छ भने के हुन्छ? हुनत उसको मनसाय राम्रै होला तर उसले निर्देशन पालन नगर्दा अरू सहकर्मीहरू समस्यामा पर्न सक्छन्‌। तिनीहरू गम्भीर घाइते हुन सक्छन्‌। त्यसैगरि, यदि हामी यहोवाबाट र उहाँले अख्तियार दिनुभएका व्यक्‍तिहरूबाट आएको निर्देशन पालन गर्दैनौँ भने अरूले दुःख पाउन सक्छन्‌। तर हामीले यहोवाको निर्देशन पालन गर्दा आफ्ना दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको अनि यहोवाको प्रबन्धको कदर गरेको देखाइरहेका हुन्छौँ।—१ कोरिन्थी १२:१४, २५, २६.

१०, ११. हामी के छलफल गर्नेछौँ?

१० यहोवाले हाम्रै भलाइको लागि निर्देशनहरू दिनुहुन्छ। हामीले परिवार र मण्डलीमा अख्तियार पाएकाहरूप्रति अनि सरकारी अख्तियारवालाहरूप्रति आदर देखाउँदा सबैको भलाइ हुन्छ।—व्यवस्था ५:१६; रोमी १३:४; एफिसी ६:२, ३; हिब्रू १३:१७.

११ हामीले किन अरूको आदर गरेको यहोवा चाहनुहुन्छ भनेर बुझ्यौँ भने आदर गर्न सजिलो हुन्छ। जीवनका तीन वटा पक्षमा कसरी आदर देखाउन सक्छौँ, त्यसबारे विस्तृत छलफल गरौँ।

परिवारमा आदर देखाउनुहोस्‌

१२. पतिले अख्तियारको आदर गरेको कसरी देखाउन सक्छन्‌?

१२ यहोवा परमेश्‍वर परिवारको सुरुवातकर्ता हुनुहुन्छ। उहाँले प्रत्येक सदस्यलाई केही भूमिका दिनुभएको छ। तिनीहरूले आ-आफ्नो भूमिका राम्ररी बुझेका छन्‌ भने परिवार व्यवस्थित हुन्छ र पूरै परिवारलाई फाइदा हुन्छ। (१ कोरिन्थी १४:३३) यहोवाले पतिलाई परिवारको शिर बनाउनुभएको छ। तिनले पत्नी र छोराछोरीको ख्याल राखेको अनि तिनीहरूलाई मायालुपूर्वक डोऱ्‍याएको यहोवा चाहनुहुन्छ। त्यसैले परिवारको हेरविचार गर्ने सन्दर्भमा पति यहोवाप्रति जबाफदेही हुन्छन्‌। ख्रिष्टियन पति दयालु र मायालु हुनुपर्छ। येसुले मण्डलीसित जस्तो व्यवहार गर्नुहुन्छ, पतिले पनि परिवारसित त्यस्तै व्यवहार गर्नुपर्छ। यसो गर्दा तिनले यहोवालाई आदर गरिरहेका हुन्छन्‌।—एफिसी ५:२३; नोट १३ हेर्नुहोस्‌।

एक ख्रिष्टियन बुबा येसुको अनुकरण गर्दै परिवारको ख्याल राख्छन्‌

१३. पत्नीले अख्तियारको आदर गरेको कसरी देखाउन सक्छिन्‌?

१३ परिवारमा ख्रिष्टियन पत्नीको पनि महत्त्वपूर्ण र सम्मानजनक भूमिका छ। पतिले परिवारको असल शिर बन्‍न प्रयास गर्दा पत्नीले साथ दिनुपर्छ। तिनले पतिसँगै मिलेर छोराछोरीलाई तालिम दिने जिम्मेवारी पाएकी छिन्‌। आदर गर्ने सन्दर्भमा असल उदाहरण बसालेर तिनले छोराछोरीलाई अरूको आदर गर्न सिकाउन सक्छिन्‌। (हितोपदेश १:८) तिनी आफ्नो पतिको आदर गर्छिन्‌ र उनको निर्णयलाई समर्थन गर्छिन्‌। पतिले गरेको निर्णयमा सहमत नहुँदा समेत तिनी आफ्नो भावना दयालुपूर्वक र आदरपूर्वक व्यक्‍त गर्छिन्‌। कुनै ख्रिष्टियन स्त्रीका पति यहोवाका उपासक होइनन्‌ भने तिनले फरक चुनौतीको सामना गर्नुपर्ने हुन्छ। तर तिनले पतिलाई माया र आदर गर्न छोडिनन्‌ भने कुनै दिन तिनका पति पनि यहोवाबारे सिक्न र उहाँको उपासना गर्न उत्प्रेरित हुन सक्छन्‌।१ पत्रुस ३:१ पढ्‌नुहोस्‌।

१४. छोराछोरीले कसरी अख्तियारको आदर गर्न सक्छन्‌?

१४ यहोवा केटाकेटीलाई अनमोल ठान्‍नुहुन्छ। तिनीहरूलाई सुरक्षा र डोऱ्‍याइको अझ धेरै खाँचो हुन्छ। तिनीहरूले आमाबुबाको कुरा मानेर उनीहरूलाई खुसी बनाउन सक्छन्‌। अझ महत्त्वपूर्ण कुरा, आमाबुबाप्रति आज्ञाकारी हुँदा तिनीहरूले यहोवाको आदर गरिरहेका हुन्छन्‌ अनि उहाँलाई खुसी बनाइरहेका हुन्छन्‌। (हितोपदेश १०:१) थुप्रै परिवारमा बुबा वा आमा मात्र भएकोले एक्लैले छोराछोरी हुर्काउनुपर्ने हुन सक्छ। यस्तो अवस्थामा आमा वा बुबा अनि छोराछोरी दुवैलाई गाह्रो हुन सक्छ। तर छोराछोरी आज्ञाकारी छन्‌ र आमा वा बुबालाई मदत गर्छन्‌ भने परिवार सुखी हुन सक्छ। परिवारमा चाहे आमाबुबा दुवै होऊन्‌ या बुबा वा आमा मात्र, समस्या नै नभएको परिवार कुनै पनि छैन। तर प्रत्येक सदस्यले यहोवाको निर्देशन पालन गर्ने हो भने परिवार सुखी हुन सक्छ। यसले परिवारको सुरुवातकर्ता यहोवाको महिमा गर्छ।—एफिसी ३:१४, १५.

मण्डलीमा आदर देखाउनुहोस्‌

१५. मण्डलीमा अख्तियारको आदर गरेको कसरी देखाउन सक्छौँ?

१५ यहोवा हामीलाई ख्रिष्टियन मण्डलीमार्फत डोऱ्‍याउनुहुन्छ। उहाँले येसुलाई मण्डलीको सम्पूर्ण अख्तियार दिनुभएको छ। (कलस्सी १:१८) अनि येसुले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई पृथ्वीमा रहेका परमेश्‍वरका जनहरूको ख्याल राख्ने जिम्मेवारी सुम्पनुभएको छ। (मत्ति २४:४५-४७) आज “विश्‍वासी र बुद्धिमान्‌ दास” भनेको परिचालक निकाय हो। परिचालक निकायले हाम्रो विश्‍वास बलियो बनाइराख्न चाहिने कुराहरू ठीक-ठीक समयमा दिन्छ। एल्डर, सहायक सेवकक्षेत्रीय निरीक्षकले परिचालक निकायबाट निर्देशन पाउँछन्‌ र मण्डलीको हेरविचार गर्छन्‌। हाम्रो ख्याल राख्ने जिम्मेवारी यी सबै दाजुभाइको हो। तिनीहरू यहोवाप्रति जबाफदेही छन्‌। त्यसैले यी दाजुभाइको आदर गर्दा हामीले यहोवाको आदर गरिरहेका हुन्छौँ।१ थिस्सलोनिकी ५:१२; हिब्रू १३:१७ पढ्‌नुहोस्‌; नोट १४ हेर्नुहोस्‌।

१६. एल्डर र सहायक सेवकहरू पवित्र शक्‍तिद्वारा नियुक्‍त हुन्छन्‌ भनेर किन भन्‍न सक्छौँ?

१६ एल्डर र सहायक सेवकहरूले मण्डलीलाई यहोवाप्रति वफादार रहिरहन अनि एकतालाई कायम राख्न मदत गर्छन्‌। तिनीहरू हामीजस्तै त्रुटिपूर्ण छन्‌। त्यसोभए तिनीहरू कसरी नियुक्‍त हुन्छन्‌? तिनीहरूले बाइबलमा दिइएका योग्यताहरू पूरा गर्नुपर्छ। (१ तिमोथि ३:१-७, १२; तितस १:५-९) यहोवाले बाइबल लेखकहरूलाई पवित्र शक्‍ति दिएर यी योग्यताहरूबारे लेख्न लगाउनुभयो। कसलाई एल्डर वा सहायक सेवक नियुक्‍त गर्ने भनेर छलफल गर्दा एल्डरहरू यहोवासित पवित्र शक्‍ति माग्छन्‌। स्पष्ट छ, मण्डली येसुको र यहोवाको निर्देशनअनुसार चल्छ। (प्रेषित २०:२८) हामीलाई मदत र हेरविचार गर्न नियुक्‍त भएका यी पुरुषहरू यहोवाले दिनुभएको वरदान हुन्‌।—एफिसी ४:८.

१७. बहिनीले शिरत्वको प्रबन्धलाई कदर गरेको देखाउन के गर्न सक्छिन्‌?

१७ कुनै-कुनै मण्डलीमा एल्डर वा सहायक सेवक नहुन सक्छन्‌। यस्तो अवस्थामा बप्तिस्मा गरेका अरू दाजुभाइले मण्डलीका जिम्मेवारीहरू सम्हाल्न सक्छन्‌। तर बहिनी मात्र छिन्‌ भने नि? उनले बप्तिस्मा गरेका दाजुभाइहरूको काम गर्नुपर्ने हुन सक्छ। तर यसो गर्दा उनले सल, पछ्यौरा वा टोपीजस्ता कुराले शिर ढाक्नुपर्छ। (१ कोरिन्थी ११:३-१०) यसरी उनले परिवार र मण्डलीमा यहोवाले गरिदिनुभएको शिरत्वको प्रबन्धलाई कदर गरेको देखाइरहेकी हुन्छिन्‌।—नोट १५ हेर्नुहोस्‌।

सरकारी अख्तियारवालाहरूप्रति आदर देखाउनुहोस्‌

१८, १९. (क) रोमी १३:१-७ बाट के सिक्न सक्छौँ? (ख) हामी सरकारी अख्तियारवालाहरूलाई आदर गरेको कसरी देखाउन सक्छौँ?

१८ आज यहोवाले मानव सरकारहरूलाई केही अख्तियार दिनुभएको छ। त्यसैले हामीले सरकारी अख्तियारवालाहरूको आदर गर्नुपर्छ। देश र समाजमा शान्ति र सुव्यवस्था कायम रहोस्‌ अनि जनतालाई आवश्‍यक सेवा-सुविधा दिन सकियोस्‌ भनेर तिनीहरू मेहनत गर्छन्‌। ख्रिष्टियनहरू रोमी १३:१-७ मा (पढ्‌नुहोस्‌) दिइएको निर्देशन पालन गर्छन्‌। हामी “उच्च अख्तियारवालाहरूको” आदर गर्छौँ अनि परिवार, व्यापार-व्यवसाय र सरसम्पत्तिसम्बन्धी नियमकानुन पालन गर्छौँ। उदाहरणका लागि, हामी सरकारलाई कर तिर्छौँ र सरकारले माग गरेको जानकारी दिन्छौँ। तर सरकारले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन हुने काम गर्न लगायो भने के गर्ने? प्रेषित पत्रुसले यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषित ५:२८, २९.

१९ हामीले न्यायाधीश वा प्रहरीजस्ता सरकारी अख्तियारवालाहरूसित सधैँ आदरपूर्वक व्यवहार गर्नुपर्छ। ख्रिष्टियन केटाकेटी आफ्ना शिक्षकहरू र स्कुलका कर्मचारीहरूलाई आदर गर्छन्‌। काम गर्ने ठाउँमा अरूले हाकिमको आदर नगरे पनि हामी तिनको आदर गर्छौँ। यसो गर्दा हामीले प्रेषित पावलको अनुकरण गरिरहेका हुन्छौँ, जसले गाह्रो अवस्थामा समेत सरकारी अख्तियारवालाहरूसित आदरपूर्वक व्यवहार गरे। (प्रेषित २६:२, २५) अरूले हामीसित राम्रो व्यवहार नगरे तापनि हामी तिनीहरूको आदर गर्छौँ।रोमी १२:१७, १८ पढ्‌नुहोस्‌; १ पत्रुस ३:१५.

२०, २१. अरूको आदर गर्दा नतिजा कस्तो हुन्छ?

२० मानिसहरूको मनमा अरूप्रतिको आदर दिनदिनै घट्‌दै गइरहेको छ। तर यहोवाका जनहरू भने फरक छन्‌। हामी सबैलाई आदर देखाउन सक्दो गर्छौँ। हामी प्रेषित पत्रुसको यो निर्देशन पालन गर्छौँ: “हरप्रकारका मानिसहरूको आदर गर।” (१ पत्रुस २:१७) जब हामी मानिसहरूको आदर गर्छौँ, तब तिनीहरूले त्यो कुरा याद गर्छन्‌। येसुले यसो भन्‍नुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।”—मत्ति ५:१६.

२१ हामी परिवारमा, मण्डलीमा र जीवनका अन्य विभिन्‍न पक्षमा अरूको आदर गर्छौँ। हाम्रो यस्तो आचरण देख्दा मानिसहरू यहोवाबारे सिक्न उत्प्रेरित हुन सक्छन्‌। अनि अरूको आदर गर्दा हामीले यहोवाको आदर गरिरहेका हुन्छौँ र उहाँलाई प्रेम गर्छौँ भनेर देखाइरहेका हुन्छौँ। यसले यहोवालाई साँच्चै खुसी बनाउँछ।