सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नोट

नोट

 १ सिद्धान्त

परमेश्‍वरका नियमहरू सिद्धान्तहरूमा आधारित छन्‌। यी सिद्धान्तहरू आधारभूत सत्यहरू हुन्‌, जुन बाइबलमा पाइन्छ। यसले हामीलाई कुनै कुराप्रति परमेश्‍वरको सोचाइ र भावना कस्तो छ भनेर बुझ्न मदत गर्छ। सिद्धान्तहरूले बुद्धिमानी निर्णय गर्न र जे सही छ, त्यही गर्न मदत गर्छ। बाइबलमा तोकेरै कुनै नियम नदिइएको अवस्थामा सिद्धान्तहरूले सही निर्णय गर्न मदत गर्छ।

अध्याय १, अनुच्छेद ८

 २ आज्ञाकारिता

यहोवाले हामीलाई जे गर भन्‍नुभएको छ, त्यो खुसीसाथ गर्नु नै आज्ञाकारिता हो। हामीले यहोवाप्रतिको प्रेमले उत्प्रेरित भई आज्ञा पालन गरेको उहाँ चाहनुहुन्छ। (१ युहन्‍ना ५:३) परमेश्‍वरलाई प्रेम र भरोसा गर्छौँ भने हामी हरेक मामिलामा उहाँको सल्लाहअनुसार चल्नेछौँ। गाह्रो अवस्थामा समेत हामी उहाँको आज्ञा पालन गर्छौँ। यहोवाको आज्ञा पालन गर्दा हाम्रै भलाइ हुन्छ किनभने उहाँ हामीलाई अहिले सुखी जीवन कसरी बिताउने भनेर सिकाउनुहुन्छ र भविष्यमा थुप्रै आशिष्‌ दिने प्रतिज्ञा गर्नुहुन्छ।—यसैया ४८:१७.

अध्याय १, अनुच्छेद १०

 ३ छनौट गर्ने स्वतन्त्रता

यहोवाले प्रत्येक व्यक्‍तिलाई छनौट गर्ने स्वतन्त्रता अर्थात्‌ आफ्नो इच्छाअनुसार निर्णय गर्ने क्षमता दिनुभएको छ। उहाँले हामीलाई रोबोटजस्तो बनाउनुभएन। (व्यवस्था ३०:१९; यहोसु २४:१५) हामी आफ्नो स्वतन्त्रता सही छनौट गर्न चलाउन सक्छौँ। तर होसियार भएनौँ भने हामी गलत निर्णय गर्न पुग्न सक्छौँ। साथै हामी आफ्नो छनौट गर्ने स्वतन्त्रता यहोवाप्रति वफादार रहने कि नरहने भनेर निर्णय गर्न पनि चलाउन सक्छौँ। यदि वफादार रह्‍यौँ भने हामी उहाँलाई साँच्चै प्रेम गर्छौँ भनेर प्रमाणित गरिरहेका हुन्छौँ।

अध्याय १, अनुच्छेद १२

 ४ नैतिक स्तर

हाम्रो आचरण र व्यवहार कस्तो हुनुपर्छ भनेर बुझाउन यहोवा हामीलाई नैतिक स्तरहरू वा निर्देशनहरू दिनुहुन्छ। बाइबल पढेर ती स्तरहरू के हुन्‌ र त्यसले कसरी सुखी जीवन बिताउन मदत गर्न सक्छ भनेर थाह पाउन सक्छौँ। (हितोपदेश ६:१६-१९; १ कोरिन्थी ६:९-११) ती स्तरहरूले परमेश्‍वरको नजरमा के सही र के गलत छ भनेर बुझ्न मदत गर्छ। साथै कसरी मायालु हुने, सही निर्णय गर्ने र दयालु हुने भनेर थाह पाउन पनि मदत गर्छ। संसारका मानिसहरूको स्तर दिनप्रतिदिन खस्कँदै गइरहेको भए तापनि यहोवाका स्तरहरू कहिल्यै परिवर्तन हुँदैनन्‌। (व्यवस्था ३२:४-६; मलाकि ३:६) ती स्तरहरू पालन गर्दा हामी विभिन्‍न शारीरिक पीडा, चिन्ता र तनावबाट जोगिन सक्छौँ।

अध्याय १, अनुच्छेद १७

 ५ अन्तस्करण

अन्तस्करण भनेको मनको आवाज हो, जसले हामीलाई के सही र के गलत हो भनेर छुट्ट्याउन मदत गर्छ। यहोवाले हामी प्रत्येकलाई अन्तस्करण दिनुभएको छ। (रोमी २:१४, १५) अन्तस्करणले सही तरिकामा काम गरोस्‌ भन्‍ने चाहन्छौँ भने यसलाई यहोवाको नैतिक स्तरबमोजिम तालिम दिनै पर्छ। अनि हामी परमेश्‍वरलाई खुसी तुल्याउने निर्णयहरू गर्न सक्छौँ। (१ पत्रुस ३:१६) हामीले कुनै गलत निर्णय गर्न लागेका छौँ भने अन्तस्करणले हामीलाई चेतावनी दिन्छ। कुनै गलत काम गऱ्‍यौँ भने त्यसले हामीलाई घोच्छ। अन्तस्करणले दिने चेतावनीलाई बारम्बार बेवास्ता गऱ्‍यौँ भने त्यसले सही तरिकामा काम गर्न छोड्‌छ। तर यहोवाको मदतले हामी यसलाई तालिम दिन सक्छौँ। सफा अन्तस्करणले मनोशान्ति दिन्छ र आत्म-सम्मान नगुमाउन मदत गर्छ।

अध्याय २, अनुच्छेद ३

 ६ परमेश्‍वरको भय

हामी यहोवालाई धेरै प्रेम र आदर गर्छौँ, त्यसैले उहाँलाई दुःखी तुल्याउने कुनै पनि काम गर्न चाहँदैनौँ। यस्तो चाहना नै परमेश्‍वरको भय हो। परमेश्‍वरको भयले जे सही छ, त्यो गर्न र जे खराब छ, त्यो नगर्न मदत गर्छ। (भजन १११:१०) अनि यसले यहोवाको प्रत्येक आज्ञा गम्भीरतासाथ पालन गर्न उत्प्रेरित गर्छ। साथै हामीले उहाँसित गरेका वाचाहरू पूरा गर्न पनि मदत गर्छ किनभने हामी उहाँको गहिरो आदर गर्छौँ। परमेश्‍वरको भयले हाम्रो सोचाइ, व्यवहार र निर्णयहरूलाई असर गर्छ।

अध्याय २, अनुच्छेद ९

 ७ पश्‍चात्ताप

पश्‍चात्ताप गर्नु भनेको आफूले गरेको गलत कामको लागि दुःखी हुनु हो। परमेश्‍वरलाई प्रेम गर्नेहरू आफूबाट परमेश्‍वरको स्तरविपरीत काम हुँदा धेरै दुःखी हुन्छन्‌। हामीले कुनै गलत काम गऱ्‍यौँ भने येसुको फिरौतीको बलिदानको आधारमा यहोवासित क्षमा माग्नुपर्छ। (मत्ति २६:२८; १ युहन्‍ना २:१, २) हामीले साँचो पश्‍चात्ताप गऱ्‍यौँ र गलत काम त्याग्यौँ भने यहोवाले क्षमा दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ। त्यसपछि विगतको कुरा सम्झेर दोषी महसुस गर्नुपर्दैन। (भजन १०३:१०-१४; १ युहन्‍ना १:९; ३:१९-२२) हामीले आफ्ना गल्तीहरूबाट पाठ सिक्न, खराब सोचाइ हटाउन र यहोवाको स्तरअनुरूप जिउन कडा मेहनत गर्नुपर्छ।

अध्याय २, अनुच्छेद १८

 ८ बहिष्कारको प्रबन्ध

कुनै व्यक्‍तिले गम्भीर पाप गर्छ तर पश्‍चात्ताप गर्दैन अनि यहोवाको स्तरअनुरूप चल्न इन्कार गर्छ भने ऊ मण्डलीको सदस्य भइरहन सक्दैन। उसलाई बहिष्कार गर्नुपर्छ। बहिष्कार भएको व्यक्‍तिसित हामी कुनै सम्बन्ध राख्दैनौँ र ऊसित बोल्दैनौँ। (१ कोरिन्थी ५:११; २ युहन्‍ना ९-११) बहिष्कारको प्रबन्धले गर्दा यहोवाको नाम बदनाम हुन पाउँदैन र यसले मण्डलीलाई जोगाउँछ। (१ कोरिन्थी ५:६) साथै यस्तो अनुशासनले बहिष्कृत व्यक्‍तिलाई पश्‍चात्ताप गरेर यहोवातर्फ फर्कन मदत गर्छ।—लुका १५:१७.

अध्याय ३, अनुच्छेद १९

 ९ डोऱ्‍याइ, निर्देशन र सल्लाह

यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र मदत गर्न चाहनुहुन्छ। त्यसैले उहाँ हामीलाई बाइबल र आफ्ना सेवकहरूमार्फत डोऱ्‍याइ, निर्देशन र सल्लाह दिनुहुन्छ। त्रुटिपूर्ण भएकोले हामीलाई पाइलैपिच्छे उहाँको मदत चाहिन्छ। (यर्मिया १७:९) यहोवाले हामीलाई डोऱ्‍याउन चलाइरहनुभएको जिम्मेवार पुरुषहरूको कुरा मनैदेखि मान्‍नुपर्छ। यसो गर्दा हामी यहोवाको आदर गर्छौँ र उहाँको आज्ञा पालन गर्न चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ।—हिब्रू १३:७.

अध्याय ४, अनुच्छेद २

 १० नम्रता र घमन्ड

त्रुटिपूर्ण भएकोले हामीमा स्वार्थी र घमन्डी झुकाव सजिलै आउन सक्छ। तर यहोवा हामी नम्र भएको चाहनुहुन्छ। यहोवा हामीभन्दा कत्ति महान्‌ हुनुहुन्छ अनि हामी कत्ति तुच्छ छौँ भनेर बुझ्दा हामी नम्र हुन सक्छौँ। (अय्युब ३८:१-४) नम्रताको अर्को महत्त्वपूर्ण पक्ष आफ्नो भन्दा अरूको कुरामा ध्यान दिन सिक्नु र के गर्दा तिनीहरूको हित हुन्छ भनेर सोच्न सिक्नु हो। घमन्डी व्यक्‍तिले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्छ। तर नम्र व्यक्‍तिले आफूमा कस्ता राम्रा गुणहरू छन्‌ अनि कस्ता कमजोरीहरू छन्‌ भनेर इमानदार भई जाँच्छ। उसले आफ्नो गल्ती तुरुन्तै स्विकार्छ र माफी माग्छ। कसैले सल्लाह-सुझाव दिँदा स्विकार्छ। नम्र व्यक्‍ति यहोवामाथि भर पर्छ र उहाँको डोऱ्‍याइअनुसार चल्छ।—१ पत्रुस ५:५.

अध्याय ४, अनुच्छेद ४

 ११ अख्तियार

अख्तियार भनेको अरूलाई आदेश दिने र निर्णय गर्ने अधिकार हो। स्वर्ग रपृथ्वीमा सबैभन्दा धेरै अख्तियार भएको व्यक्‍ति यहोवा हुनुहुन्छ। यहोवाले सबै कुरा सृष्टि गर्नुभएकोले उहाँ ब्रह्‍माण्डको सबैभन्दा शक्‍तिशाली व्यक्‍ति हुनुहुन्छ। उहाँ सधैँ अरूको भलाइ गर्न आफ्नो अख्तियार प्रयोग गर्नुहुन्छ। यहोवाले केही मानिसलाई हाम्रो ख्याल राख्ने जिम्मेवारी दिनुभएको छ। जस्तै: आमाबुबा, एल्डरहरू र सरकारी अख्तियारवालाहरू। हामी तिनीहरूको अधीनमा बसेको यहोवा चाहनुहुन्छ। (रोमी १३:१-५; १ तिमोथि ५:१७) मानिस र परमेश्‍वरको नियम बाझिँदा हामीले मानिसको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ। (प्रेषित ५:२९) यहोवाले अख्तियार दिनुभएको मानिसहरूको कुरा मान्दा हामीले यहोवाका निर्णयहरूलाई आदर गरिरहेका हुन्छौँ।

अध्याय ४, अनुच्छेद ७

 १२ एल्डर

मण्डलीको ख्याल राख्न यहोवा एल्डरहरूलाई चलाउनुहुन्छ। (व्यवस्था १:१३; प्रेषित २०:२८) यी अनुभवी पुरुषहरू यहोवासितको हाम्रो सम्बन्ध बलियो बनाउन र शान्तिपूर्ण अनि व्यवस्थित ढङ्‌गमा उपासना गर्न हामीलाई मदत गर्छन्‌। (१ कोरिन्थी १४:३३, ४०) पवित्र शक्‍तिद्वारा एल्डरको रूपमा नियुक्‍त हुनको लागि बाइबलमा दिइएका खास योग्यताहरू पूरा गरेको हुनुपर्छ। (१ तिमोथि ३:१-७; तितस १:५-९; १ पत्रुस ५:२, ३) हामी खुसीसाथ एल्डरहरूको अधीनमा बस्छौँ किनभने हामी यहोवाको सङ्‌गठनलाई भरोसा र समर्थन गर्छौँ।—भजन १३८:६; हिब्रू १३:१७.

अध्याय ४, अनुच्छेद ८

 १३ परिवारको शिर

यहोवाले आमाबुबालाई छोराछोरी र परिवारको हेरविचार गर्ने जिम्मेवारी दिनुभएको छ। तर परिवारको शिर पति हो भनेर बाइबलमा बताइएको छ। यदि परिवारमा बुबा छैनन्‌ भने त्यस परिवारको शिर आमा हुन्छिन्‌। परिवारको शिरको जिम्मेवारी परिवारलाई गाँस, बास र कपासको प्रबन्ध गर्नु हो। तिनले परिवारै मिलेर यहोवाको उपासना गर्ने काममा नेतृत्व लिनु निकै महत्त्वपूर्ण छ। जस्तै: तिनले पूरै परिवारलाई सभामा नियमित उपस्थित हुन, प्रचारकार्यमा भाग लिन र सँगै मिलेर बाइबलको अध्ययन गर्न मदत गर्नुपर्छ। कुनै निर्णय गर्नुपर्दा पनि परिवारको शिरले नेतृत्व लिनुपर्छ। तिनी निर्दयी र रुखो होइन, येसुजस्तै दयालु र व्यावहारिक हुने कोसिस गर्छन्‌। यसले गर्दा परिवारका सदस्यहरूबीच माया बढ्‌छ, सबैले सुरक्षित महसुस गर्छन्‌ र यहोवासितको सम्बन्ध पनि बलियो हुन्छ।

अध्याय ४, अनुच्छेद १२

 १४ परिचालक निकाय

परिचालक निकाय स्वर्ग जाने आशा भएका केही पुरुषहरूको समूह हो, जसलाई परमेश्‍वरले आफ्ना जनहरूलाई डोऱ्‍याउन प्रयोग गर्नुहुन्छ। प्रथम शताब्दीमा यहोवाले सुरु-सुरुका ख्रिष्टियन मण्डलीहरूलाई परिचालक निकायमार्फत डोऱ्‍याउनुभएको थियो। उक्‍त निकायले उपासना र प्रचारकार्यको लागि चाहिने निर्देशनहरू दिन्थ्यो। (प्रेषित १५:२) आज पनि परिचालक निकायका भाइहरू परमेश्‍वरका जनहरूलाई निर्देशन दिने, डोऱ्‍याउने र जोगाउने सन्दर्भमा नेतृत्व लिन्छन्‌। कुनै निर्णय गर्नुपर्दा ती भाइहरू परमेश्‍वरको वचन र पवित्र शक्‍तिमा भर पर्छन्‌। येसुले यी अभिषिक्‍त पुरुषहरूको समूहलाई “विश्‍वासी र बुद्धिमान्‌ दास” भन्‍नुभयो।—मत्ति २४:४५-४७.

अध्याय ४, अनुच्छेद १५

 १५ शिर ढाक्ने

कुनै-कुनै अवस्थामा भाइहरूको जिम्मेवारी बहिनीले पूरा गर्नुपर्ने हुन सक्छ। त्यस्तो अवस्थामा ती बहिनीले आफ्नो शिर ढाक्नेछिन्‌ र यहोवाको प्रबन्धको आदर गरेको देखाउनेछिन्‌। तर कुनै खास परिस्थितिमा मात्र तिनले शिर ढाक्नुपर्ने हुन्छ। जस्तै: आफ्नो पति वा बप्तिस्मा गरेका भाइको उपस्थितिमा बाइबल अध्ययन सञ्चालन गर्दा।—१ कोरिन्थी ११:११-१५.

अध्याय ४, अनुच्छेद १७

 १६ तटस्थता

तटस्थ रहनु भनेको राजनैतिक मामिलाहरूमा कसैको पक्ष नलिनु हो। (युहन्‍ना १७:१६) यहोवाका जनहरू उहाँको राज्यलाई मात्र समर्थन गर्छन्‌। हामी येसुजस्तै सांसारिक मामिलाहरूमा तटस्थ रहन्छौँ।

यहोवाले हामीलाई “सरकार र अख्तियारवालाहरूको अधीनमा” बस्ने आज्ञा दिनुभएको छ। (तितस ३:१, २; रोमी १३:१-७) तर सरकारले हामीलाई युद्धमा जाने आदेश दिन्छ भने हामी त्यो आदेश पालन गर्दैनौँ किनभने परमेश्‍वरको वचनमा हत्या नगर्नू भनेर आज्ञा दिइएको छ। यदि कुनै ख्रिष्टियनसित सैन्य सेवाको सट्टा निजामती सेवा गर्ने विकल्प छ भने तिनले त्यो निजामती सेवा गर्ने कि नगर्ने भनेर अन्तस्करणको आधारमा निर्णय गर्न सक्छन्‌।

यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, त्यसैले हामी उहाँको मात्र उपासना गर्छौँ। हामी राष्ट्रिय प्रतीकहरूको आदर गर्छौँ तर झन्डा सलामी गर्दैनौँ र राष्ट्रिय गान पनि गाउँदैनौँ। (यसैया ४३:११; दानिएल ३:१-३०; १ कोरिन्थी १०:१४) साथै यहोवाका जनहरू कुनै पनि राजनैतिक पार्टी वा उम्मेदवारलाई भोट नदिने निर्णय गर्छन्‌। किनभने हामीले पहिल्यै परमेश्‍वरको राज्यको पक्ष लिइसकेका छौँ।—मत्ति २२:२१; युहन्‍ना १५:१९; १८:३६.

अध्याय ५, अनुच्छेद २

 १७ संसारको मनोभाव

संसारले सैतानको मनोभावलाई प्रवर्धन गर्छ। यहोवालाई प्रेम नगर्ने, उहाँको अनुकरण नगर्ने अनि उहाँको स्तर पालन नगर्ने मानिसहरूको सोचाइ सैतानको जस्तै छ। (१ युहन्‍ना ५:१९) यस्तो किसिमको सोचाइ अनि कामलाई बाइबलमा संसारको मनोभाव भनिएको छ। (एफिसी २:२) यस्तो मनोभावले आफूलाई असर नगरोस्‌ भनेर यहोवाका जनहरू होसियार हुन्छन्‌। (एफिसी ६:१०-१८) हामी यहोवाको स्तरलाई प्रेम गर्छौँ र उहाँको जस्तै सोचाइ राख्न कडा मेहनत गर्छौँ।

अध्याय ५, अनुच्छेद ७

 १८ धर्मत्याग

धर्मत्यागीहरू बाइबलले सिकाउने सत्यको विरोध गर्छन्‌। तिनीहरू यहोवा अनि उहाँको राज्यको राजा येसु ख्रिष्टको विरोध गर्छन्‌ र अरूलाई पनि आफूसँग सामेल गराउने कोसिस गर्छन्‌। (रोमी १:२५) तिनीहरू यहोवाका उपासकहरूको मनमा शङ्‌काको बिउ छर्न खोज्छन्‌। सुरु-सुरुको ख्रिष्टियन मण्डलीका केही व्यक्‍तिहरू धर्मत्यागी भए र आज पनि केही व्यक्‍तिहरू धर्मत्यागी बनेका छन्‌। (२ थिस्सलोनिकी २:३) यहोवाका वफादार जनहरू धर्मत्यागीहरूसित कुनै सम्बन्ध राख्दैनन्‌। हामी तिनीहरूबारे जान्‍न कुनै जिज्ञासा राख्दैनौँ। अरूले जति नै दबाब दिए तापनि हामी तिनीहरूबारे न कुनै कुरा पढ्‌छौँ न सुन्छौँ। हामी यहोवाका वफादार जनहरू हौँ र उहाँको मात्र उपासना गर्छौँ।

अध्याय ५, अनुच्छेद ९

 १९ प्रायश्‍चित

मोसाको व्यवस्थाअनुसार इस्राएल राष्ट्रले आफ्नो पापको लागि यहोवासित क्षमा माग्नुपर्थ्यो। तिनीहरूले प्रायश्‍चितको लागि मन्दिरमा अन्‍न, तेल र पशु चढाउनुपर्थ्यो। यसबाट यहोवा पूरै इस्राएल राष्ट्र र प्रत्येक व्यक्‍तिको पाप क्षमा गर्न इच्छुक हुनुहुन्छ भनेर इस्राएलीहरूले बुझ्न सक्थे। पछि येसुले हाम्रो पापको लागि आफ्नो जीवन बलिदान दिनुभएपछि प्रायश्‍चितको बलिदानको आवश्‍यकता परेन। येसुले “एकै चोटि सदाको लागि” आफ्नो त्रुटिरहित शरीरको बलिदान चढाउनुभयो।—हिब्रू १०:१, ४, १०.

अध्याय ७, अनुच्छेद ६

 २० पशुपक्षीको जीवनप्रति आदर

मोसाको व्यवस्थाअन्तर्गत इस्राएलीहरूले पशुपक्षीलाई बलिदानको रूपमा चढाउन सक्थे र तिनीहरूको मासु खान सक्थे। (लेवी १:५, ६) तर यहोवाले तिनीहरूलाई पशुपक्षीमाथि क्रूर व्यवहार गर्ने छुट भने दिनुभएको थिएन। (हितोपदेश १२:१०) मोसाको व्यवस्थामा यस्ता नियमहरू दिइएका थिए, जसले इस्राएलीहरूलाई पशुपक्षीमाथि क्रूर व्यवहार गर्न निषेध गर्थ्यो। इस्राएलीहरूलाई आफ्नो पाल्तु पशुको राम्ररी हेरविचार गर्ने आज्ञा दिइएको थियो।—व्यवस्था २२:६, ७.

अध्याय ७, अनुच्छेद ६

 २१ रगतका सूक्ष्म तत्त्वहरू तथा उपचारविधि

रगतका सूक्ष्म तत्त्वहरू। रगत चार मुख्य तत्त्व मिलेर बनेको हुन्छ। ती हुन्‌: रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स र प्लाज्मा। यी तत्त्वहरूलाई सूक्ष्म तत्त्वहरूमा टुक्र्‌याउन सकिन्छ। *

ख्रिष्टियनहरू रगत र यसका चार मुख्य तत्त्व लिँदैनन्‌। तर रगतका सूक्ष्म तत्त्वहरूबारे चाहिँ के भन्‍न सकिन्छ? यस विषयमा बाइबलले तोकेरै केही बताएको छैन। त्यसैले प्रत्येक ख्रिष्टियनले आफ्नो बाइबल-प्रशिक्षित अन्तस्करणको आधारमा निर्णय गर्नुपर्छ।

केही ख्रिष्टियन रगतका सबै सूक्ष्म तत्त्व लिन इन्कार गर्छन्‌। परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा जनावरको रगत “भुईँमा पानीझैँ बगाइदिनू” भन्‍ने नियमको आधारमा तिनीहरू यस्तो निर्णय गर्छन्‌।—व्यवस्था १२:२२-२४.

कोही-कोही भने रगतका सूक्ष्म तत्त्वहरू स्विकार्छन्‌। तिनीहरूको अन्तस्करणले त्यसलाई गलत ठान्दैन। किनभने तिनीहरूको विचारमा ती सूक्ष्म तत्त्वहरूले त्यस जीवको जीवनको प्रतिनिधित्व गर्दैन, जसको रगतबाट ती सूक्ष्म तत्त्वहरू निकालिएका हुन्‌।

रगतका सूक्ष्म तत्त्वहरू लिने कि नलिने भनेर निर्णय गर्नुअघि तलका प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  • रगतका सबै सूक्ष्म तत्त्व अस्वीकार गर्नुको मतलब यसबाट बनाइएका औषधीहरू, जस्तै: रोगसँग लड्‌ने वा रक्‍तस्राव रोक्ने औषधी लिन पनि इन्कार गर्नु हो भनेर के मैले बुझेको छु?

  • रगतको एउटा वा त्योभन्दा धेरै सूक्ष्म तत्त्व लिने वा नलिने निर्णय गरेको छु भने के म यसको कारण डाक्टरलाई बताउन सक्छु?

उपचारविधि। हामी रक्‍तदान गर्दैनौँ अनि शल्यक्रिया हुनुभन्दा केही हप्ताअघि नै आफ्नो रगत जम्मा गरेर पनि राख्दैनौँ। तर बिरामीको आफ्नै रगत प्रयोग हुने उपचारविधिहरू पनि छन्‌। प्रत्येक ख्रिष्टियनले शल्यक्रिया गर्दा, स्वास्थ्य परीक्षण गर्दा वा कुनै उपचारविधि अपनाउँदा आफ्नो रगत कसरी प्रयोग गर्न दिने हो भनेर आफैले निर्णय गर्नुपर्छ। यस्ता अवस्थाहरूमा बिरामीको रगत केही समयको लागि तिनको शरीरबाट बाहिर निकालिन सक्छ।—थप जानकारीको लागि प्रहरीधरहरा, अक्टोबर १५, २०००, पृष्ठ ३०-३१ हेर्नुहोस्‌।

उदाहरणको लागि, हेमोडाइल्युसन भनिने एउटा उपचारविधिलाई विचार गरौँ। यस उपचारविधिमा बिरामीको शरीरबाट केही रगत निकालिन्छ र त्यसको सट्टा शरीरमा भोलुम एक्सपान्डर (रगतको मात्रा बढाउने झोल) पठाइन्छ र त्यसको तुरुन्तै पछि शल्यक्रिया गरिन्छ। त्यसपछि शल्यक्रियाको दौडान वा शल्यक्रिया सिद्धिनेबित्तिकै बिरामीबाट निकालिएको रगत फेरि शरीरमा पठाइन्छ।

अर्को विधि हो, सेल साल्भेज। यस उपचारविधिमा शल्यक्रियाको दौडान बिरामीको शरीरबाट बगेको रगत जम्मा गरिन्छ, त्यसलाई प्रशोधन गरिन्छ र शल्यक्रियाको दौडान वा शल्यक्रिया सिद्धिनेबित्तिकै बिरामीको शरीरमा पठाइन्छ।

यी उपचारविधिहरू डाक्टरअनुसार फरक-फरक हुन सक्छ। त्यसैले शल्यक्रिया गर्नुअघि, स्वास्थ्य परीक्षण गर्नुअघि वा कुनै उपचारविधि अपनाउनुअघि आफ्नो रगत कसरी प्रयोग गरिन्छ भनेर प्रत्येक ख्रिष्टियनले राम्ररी बुझ्नु आवश्‍यक छ।

आफ्नै रगत प्रयोग हुने उपचारविधि छान्‍नुअघि निम्न प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  • कुनै-कुनै उपचारविधिमा शरीरबाट रगत बाहिर निकालिँदा रगतको बहाब केही समयको लागि रोकिन सक्छ। त्यस्तो अवस्थामा के मेरो अन्तस्करणले यस्तो रगतलाई मेरै शरीरको भाग मान्छ अनि “त्यसलाई भुईँमा पानीझैँ” बगाउन आवश्‍यक छैन भनी मानिलिन्छ?—व्यवस्था १२:२३, २४.

  • उपचारको सिलसिलामा मेरो रगत निकालेर त्यसमा औषधी मिसाएर पुनः शरीरभित्र पठाइयो भने के मेरो बाइबल-प्रशिक्षित अन्तस्करणले मलाई घोच्छ?

  • आफ्नै रगत प्रयोग हुने सबै उपचार इन्कार गर्नुको मतलब रक्‍त-परीक्षण, हेमोडाइलसिस अथवा हार्ट-लङ बाइपास मेसिन (मुटु/फोक्सोको काम गर्ने यन्त्र) प्रयोग गर्न समेत अस्वीकार गर्नु हो भनेर के मैले राम्ररी बुझेको छु?

रगतका सूक्ष्म तत्त्वहरू र आफ्नै रगत प्रयोग हुने उपचारविधिबारे निर्णय गर्नुअघि यहोवाको डोऱ्‍याइको लागि प्रार्थना गर्नुपर्छ र अनुसन्धान गर्नुपर्छ। (याकुब १:५, ६) त्यसपछि बाइबल-प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गर्नुपर्छ। हामीले अरूलाई ‘तपाईँ मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो’ भनेर सोध्नु हुँदैन र अरूको दबाबमा परेर निर्णय गर्नु हुँदैन।—रोमी १४:१२; गलाती ६:५.

अध्याय ७, अनुच्छेद ११

 २२ नैतिक स्वच्छता

नैतिक रूपमा स्वच्छ हुनुको अर्थ हाम्रो आचरण र व्यवहार परमेश्‍वरको नजरमा स्वच्छ हुनु हो। नैतिक स्वच्छतामा हामी के सोच्छौँ, के बोल्छौँ र के गर्छौँ भन्‍ने कुरा समावेश छन्‌। यहोवाले हामीलाई सबै प्रकारका अवैध यौनसम्बन्ध वा अशुद्धताबाट अलग रहन आज्ञा दिनुभएको छ। (हितोपदेश १:१०; ३:१) हामीले प्रलोभनमा परेपछि होइन, प्रलोभनमा पर्नुअघि नै आफू यहोवाको स्वच्छ स्तरअनुरूप चल्नेछु भनेर मनमा निश्‍चय गरिसकेको हुनुपर्छ। आफ्नो सोचाइलाई स्वच्छ राखिराख्न हामीले परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नुपर्छ र अनैतिक काम गर्ने प्रलोभनलाई तिरस्कार गर्न दृढ हुनुपर्छ।—१ कोरिन्थी ६:९, १०, १८; एफिसी ५:५.

अध्याय ८, अनुच्छेद ११

 २३ निर्लज्ज आचरण र अशुद्धपन

निर्लज्ज आचरणमा परमेश्‍वरको स्तरविपरीतको बोली र व्यवहार अनि छाडापन समावेश छ। यस्तो काम गर्ने व्यक्‍तिले परमेश्‍वरको स्तरलाई तुच्छ ठानिरहेको हुन्छ। यदि कसैले निर्लज्ज काम गर्छ भने त्यो मामिला न्यायिक समितिले सम्हाल्नेछ। अशुद्धपनमा थुप्रै किसिमका गलत काम समावेश छन्‌। अवस्थाको गम्भीरता विचार गरेर अशुद्धपन मुछिएको कुनै-कुनै मामिला न्यायिक समितिले सम्हाल्नुपर्ने हुन सक्छ।—गलाती ५:१९-२१; एफिसी ४:१९; थप जानकारीको लागि प्रहरीधरहरा, अगस्त १, २००९ को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

अध्याय ९, अनुच्छेद ७; अध्याय १२, अनुच्छेद १०

 २४ हस्तमैथुन

पतिपत्नीले एकअर्कालाई चोखो माया देखाउन सकून्‌ भनेर यहोवाले मानिसमा यौनइच्छा राखिदिनुभएको हो। तर कसैले यौन सन्तुष्टि लिन हस्तमैथुन गर्छ वा आफ्नो जननेन्द्रियको दुरुपयोग गर्छ भने ऊ अशुद्ध यौन क्रियाकलापमा मुछिइरहेको हुन्छ। यस्तो कुलतले परमेश्‍वरसितको सम्बन्ध बिगार्न सक्छ, कुइच्छा जगाउन सक्छ र यौनप्रति उसको दृष्टिकोण विकृत हुन सक्छ। (कलस्सी ३:५) यदि कसैमा यस्तो अशुद्ध बानी छ र त्यसलाई हटाउन सकिरहेको छैन भने उसले हार मान्‍नु हुँदैन। (भजन ८६:५; १ युहन्‍ना ३:२०) तपाईँ पनि यस्तै अवस्थामा हुनुहुन्छ भने यहोवालाई मनैदेखि प्रार्थना गर्नुहोस्‌ र उहाँसित मदत माग्नुहोस्‌। अश्‍लील सामग्री हेर्दा मनमा अशुद्ध कुरा खेल्ने भएकोले त्यस्तो कुरा नहेर्नुहोस्‌। यहोवाको नैतिक स्तर पालन गर्ने आमाबुबा वा कुनै परिपक्व ख्रिष्टियनसित यसबारे कुरा गर्नुहोस्‌। (हितोपदेश १:८, ९; १ थिस्सलोनिकी ५:१४; तितस २:३-५) नैतिक रूपमा शुद्ध रहन तपाईँले गरेको प्रयास यहोवाले देख्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ भनेर विश्‍वस्त हुनुहोस्‌।—भजन ५१:१७; यसैया १:१८.

अध्याय ९, अनुच्छेद ९

 २५ बहुविवाह

एकभन्दा धेरैसित विवाह गर्ने चलनलाई बहुविवाह भनिन्छ। विवाह एक जना पुरुष र एक जना स्त्रीबीच मात्र हुनुपर्छ भनेर यहोवाले सुरुदेखि नै चाहनुभएको हो। प्राचीन इस्राएलीहरूको पालामा यहोवाले पुरुषलाई एकभन्दा धेरै पत्नी राख्ने अनुमति दिनुभएको थियो तर यो उहाँको सुरुको उद्देश्‍य थिएन। आज यहोवाले आफ्ना सेवकहरूलाई बहुविवाह गर्ने अनुमति दिनुभएको छैन। एक जना पतिको एउटै पत्नी हुनुपर्छ अनि एउटी पत्नीको पनि एक जना मात्र पति हुनुपर्छ।—मत्ति १९:९; १ तिमोथि ३:२.

अध्याय १०, अनुच्छेद १२

 २६ सम्बन्धविच्छेद र छुट्टिएर बस्ने

पति र पत्नीले एकअर्कालाई जीवनभर साथ दिएको यहोवा चाहनुहुन्छ। (उत्पत्ति २:२४; मलाकि २:१५, १६; मत्ति १९:३-६; १ कोरिन्थी ७:३९) पतिपत्नीमध्ये कुनै एक जनाले अवैध यौनसम्बन्ध राखेको खण्डमा मात्र सम्बन्धविच्छेद गर्ने अनुमति उहाँले दिनुभएको छ। यस्तो अवस्थामा सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार यहोवाले निर्दोष पति वा पत्नीलाई दिनुभएको छ।—मत्ति १९:९.

कुनै-कुनै ख्रिष्टियनले अवैध यौनसम्बन्धबाहेक अन्य कारणको आधारमा पनि छुट्टिएर बस्ने निर्णय गरेका छन्‌। (१ कोरिन्थी ७:११) निम्न अवस्थाहरूमा कुनै ख्रिष्टियनले छुट्टिएर बस्ने निर्णय गर्न सक्छन्‌:

  • जानाजानी परिवारको पालनपोषण नगरेमा: पतिले जानाजानी आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्दैनन्‌, जसले गर्दा परिवारलाई हातमुख जोर्न धौधौ हुन्छ।—१ तिमोथि ५:८.

  • ज्यादै कुटपिट गरेमा: ज्यादै कुटपिट गरेकोले पति वा पत्नीको स्वास्थ्यमा हानि पुग्छ वा जीवन नै खतरामा पर्छ।—गलाती ५:१९-२१.

  • यहोवासितको सम्बन्ध खतरामा परेमा: जीवनसाथीले गर्दा यहोवाको उपासना गर्न असम्भव हुन सक्छ।—प्रेषित ५:२९.

अध्याय ११, अनुच्छेद १९

 २७ प्रशंसा र प्रोत्साहन

हामी सबैलाई प्रशंसा र प्रोत्साहन चाहिन्छ। (हितोपदेश १२:२५; १६:२४) हामी मायालु र दयालु वचन बोलेर एकअर्कालाई बलियो पार्न सक्छौँ अनि सान्त्वना दिन सक्छौँ। यस्तो वचनले असाध्यै कठिन समयमा पनि हाम्रा दाजुभाइ दिदीबहिनीलाई सहनशील हुन र यहोवाको सेवामा लागिरहन मदत गर्छ। (हितोपदेश १२:१८; फिलिप्पी २:१-४) यदि कोही निराश छन्‌ भने हामीले आदरपूर्वक तिनको कुरा सुन्‍नुपर्छ अनि तिनको भावना बुझ्ने प्रयास गर्नुपर्छ। यसो गरेमा तिनलाई मदत गर्न के भन्‍ने वा के गर्ने भनेर थाह पाउन सक्छौँ। (याकुब १:१९) आफ्ना दाजुभाइ दिदीबहिनीलाई राम्ररी चिन्‍ने कोसिस गर्नुहोस्‌ अनि तिनीहरूलाई कस्तो मदतको खाँचो छ, थाह पाउनुहुनेछ। त्यसपछि तिनीहरूलाई सबै सान्त्वनाका स्रोत यहोवासित मदत माग्न प्रोत्साहन दिन सक्नुहुनेछ। उहाँले तिनीहरूलाई साँचो स्फूर्ति दिनुहुनेछ।—२ कोरिन्थी १:३, ४; १ थिस्सलोनिकी ५:११.

अध्याय १२, अनुच्छेद १६

 २८ विवाह समारोह

विवाह समारोह कस्तो हुनुपर्छ भनेर बाइबलमा तोकेरै बताइएको छैन। ठाउँअनुसार चलन र कानुन फरक-फरक हुन्छ। (उत्पत्ति २४:६७; मत्ति १:२४; २५:१०; लुका १४:८) विवाहको सबैभन्दा महत्त्वपूर्ण पक्ष, दुलहा र दुलहीले यहोवासामु बाँध्ने वाचा हो। थुप्रै दुलहा-दुलही आफ्नो विवाह समारोहमा परिवार र साथीभाइ उपस्थित भएको चाहन्छन्‌ अनि एक जना एल्डरलाई बाइबलआधारित भाषण दिन आग्रह गर्छन्‌। यदि तिनीहरूले भोज दिन चाहन्छन्‌ भने कस्तो भोज दिने भनेर आफै निर्णय गर्न सक्छन्‌। (लुका १४:२८; युहन्‍ना २:१-११) तिनीहरूले विवाह समारोहबारे जस्तो निर्णय गरे पनि त्यो यहोवाको महिमा हुने किसिमको हुनुपर्छ। (उत्पत्ति २:१८-२४; मत्ति १९:५, ६) बाइबलका सिद्धान्तहरूले तिनीहरूलाई सही निर्णय गर्न मदत गर्नेछ। (१ युहन्‍ना २:१६, १७) भोजमा मादक पेय पदार्थ राख्ने निर्णय गरेका छन्‌ भने तिनीहरूले त्यस समारोहको राम्ररी सुपरिवेक्षण गर्नुपर्छ। (हितोपदेश २०:१; एफिसी ५:१८) विवाह समारोहमा गीत-सङ्‌गीत वा मनोरञ्जन पनि राख्ने विचार गरेका छन्‌ भने ती कुराहरू यहोवाको महिमा गर्ने किसिमको हुनुपर्छ। ख्रिष्टियन दम्पतीले विवाहको दिनलाई भन्दा परमेश्‍वर र एकअर्कासितको सम्बन्धलाई बलियो बनाउने कुरालाई ध्यान दिनुपर्छ।—हितोपदेश १८:२२; प्रहरीधरहरा, नोभेम्बर १, २००६, पृष्ठ १२-१५ हेर्नुहोस्‌।

अध्याय १३, अनुच्छेद १८

 २९ सही निर्णय

हामी बाइबलका सिद्धान्तहरूमा आधारित भएर निर्णय गर्न चाहन्छौँ। उदाहरणको लागि, कुनै ख्रिष्टियनको बेग्लै धर्म मान्‍ने पति वा पत्निले कुनै चाडपर्वको दिन आफन्तहरूकहाँ भोज खान जाने योजना बनाउन सक्छन्‌/सक्छिन्‌। तपाईँ त्यस्तो अवस्थामा पर्नुभयो भने के गर्नुहुन्छ? यदि अन्तस्करणले दिन्छ भने तपाईँ जान सक्नुहुन्छ। तर त्यस भोजमा झूटो धर्मसित सम्बन्धित कुनै रीतिथिति मुछिएको छ भने त्यसमा सहभागी हुँदिनँ भनेर जीवनसाथीलाई बताउन सक्नुहुन्छ। साथै तपाईँ त्यहाँ जाँदा कसैले ठक्कर खान्छ कि खाँदैन भनेर पनि विचार पुऱ्‍याउनुपर्छ।—१ कोरिन्थी ८:९; १०:२३, २४.

अथवा तपाईँको मालिकले कुनै चाडपर्वको बेला बोनस दिन्छन्‌ होला। त्यो बोनस लिनु हुन्छ कि हुँदैन? लिनै हुँदैन भन्‍ने छैन। बोनस लिने कि नलिने भन्‍ने कुरा मालिकले कस्तो मनसायले बोनस दिँदै छन्‌, त्यसमा पनि भर पर्छ। बोनस दिनुलाई तिनी चाडपर्वको भाग ठान्छन्‌ कि? अथवा तपाईँको मेहनतको कदरस्वरूप त्यो दिँदै छन्‌? यी कुराहरू विचार गरेर तपाईँ सही निर्णय गर्न सक्नुहुन्छ।

अर्को अवस्था विचार गरौँ। चाडपर्वको बेला कसैले तपाईँलाई उपहार दिएर यसो भन्यो: “मलाई थाह छ, तपाईँ चाडपर्व मनाउनुहुन्‍न। तर तपाईँलाई यो उपहार दिन चाहन्छु।” तिनले त्यो उपहार माया गरेर मात्र दिएका हुन्‌ कि? अथवा तपाईँको विश्‍वास जाँच्ने वा तपाईँलाई चाडपर्वमा समावेश गर्ने मनसायले दिएका हुन्‌? यी कुराहरू विचार गरेर त्यो उपहार स्विकार्ने कि नस्विकार्ने भनेर निर्णय गर्न सक्नुहुन्छ। हामी आफ्नो अन्तस्करण सफा राख्न चाहन्छौँ र यहोवाप्रति वफादार रहन चाहन्छौँ। त्यसैले हामीले विचार पुऱ्‍याएर निर्णय गर्नुपर्छ।—प्रेषित २३:१.

अध्याय १३, अनुच्छेद २२

 ३० व्यापार र कानुनी मामिला

मनमुटाव हुँदा हामीले त्यसलाई शान्तिमय तरिकामा तुरुन्तै समाधान गऱ्‍यौँ भने प्रायजसो अवस्थामा समस्या ठूलो हुन पाउँदैन। (मत्ति ५:२३-२६) यहोवाको महिमा गर्न र मण्डलीको एकता कायम राख्न प्रत्येक ख्रिष्टियनले सक्दो प्रयास गर्नुपर्छ।—युहन्‍ना १३:३४, ३५; १ कोरिन्थी १३:४, ५.

कुनै व्यापारिक कारोबारको सिलसिलामा ख्रिष्टियनहरूबीच मतभेद भएमा तिनीहरूले त्यसको समाधान अदालतमा नगई आफैले गर्ने प्रयास गर्नुपर्छ। पावलले १ कोरिन्थी ६:१-८ मा एकअर्कालाई मुद्दा हाल्ने ख्रिष्टियनहरूलाई सल्लाह दिए। ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई अदालतमा लैजाँदा यहोवा र मण्डलीको बदनाम हुन सक्छ। कसैमाथि निन्दा वा जालसाजीको आरोप लाग्यो भने त्यस्तो प्रकारको गम्भीर मामिला सुल्झाउन चाल्नुपर्ने तीन वटा कदमबारे मत्ति १८:१५-१७ मा बताइएको छ। (१) सुरुमा तिनीहरू आफैले समाधान गर्ने कोसिस गर्नुपर्छ। (२) समस्या सुल्झिएन भने तिनीहरूले मण्डलीका एक वा दुई जना परिपक्व ख्रिष्टियनसित मदत माग्न सक्छन्‌। (३) त्यसपछि पनि समस्या समाधान भएन भने तिनीहरूले एल्डरहरूको निकायको मदत लिन सक्छन्‌। एल्डरहरूले तिनीहरूलाई शान्तिपूर्ण तरिकामा मिलाप गर्न मदत गर्ने बाइबलका सिद्धान्तहरू सम्झाउनेछन्‌। तर यदि तिनीहरूमध्ये कोही बाइबलको स्तरअनुसार चल्न चाहँदैनन्‌ भने एल्डरहरूले न्यायिक कदम चाल्नुपर्ने हुन सक्छ।

कुनै-कुनै मामिलामा कानुनको सहारा लिनुपर्ने हुन सक्छ। जस्तै: सम्बन्धविच्छेद गर्न, छोराछोरीको हकदाबी गर्न, मानापाथी भराउन, बिमा कम्पनीबाट क्षतिपूर्ति लिन, टाट पल्टिएको सूचना दिन र इच्छापत्र अदालतमा लगी सदर गराउन। यदि कुनै ख्रिष्टियन यी मामिलाहरू शान्तिपूर्वक सुल्झाउन कानुनको मदत लिन्छन्‌ भने तिनी पावलको सल्लाहविरुद्ध गइरहेका हुँदैनन्‌।

यदि कुनै ख्रिष्टियन बलात्कार, बाल दुर्व्यवहार, मारपिट, ठूलो चोरी वा हत्याजस्ता गम्भीर अपराधको उजुरी गर्न सरकारी अख्तियारवालाकहाँ जान्छन्‌ भने तिनी पावलको सल्लाहविपरीत चलिरहेका हुँदैनन्‌।

अध्याय १४, अनुच्छेद १४

 ३१ सैतानका दाउपेचहरू

आदम र हव्वाको समयदेखि अहिलेसम्म सैतानले मानिसहरूलाई झुक्क्याउँदै आएको छ। (उत्पत्ति ३:१-६; प्रकाश १२:९) हाम्रो सोचाइ भ्रष्ट बनाउन सकियो भने हामीलाई नराम्रो काममा फसाउन सकिन्छ भनेर त्यसलाई थाह छ। (२ कोरिन्थी ४:४; याकुब १:१४, १५) मानिसहरूले आफ्नो जस्तै सोचाइ राखून्‌ भनेर सैतानले राजनीति, धर्म, व्यापार, मनोरञ्जन, शिक्षा आदिलाई चलाउँछ। अनि त्यस्तो सोचाइ राख्नुमा कुनै खराबी छैन भन्‍ने भान पार्न खोज्छ।—युहन्‍ना १४:३०; १ युहन्‍ना ५:१९.

मानिसहरूलाई बहकाउन आफूसित धेरै समय बाँकी छैन भनेर सैतानलाई थाह छ। त्यसैले सकेसम्म धेरै मानिसलाई बहकाउन त्यो जुन हदसम्म जान पनि तयार छ। सैतान विशेषगरि यहोवाका सेवकहरूलाई बहकाउन चाहन्छ। (प्रकाश १२:१२) हामी होसियार भएनौँ भने दियाबलले हाम्रो सोचाइलाई बिस्तारै भ्रष्ट पार्न सक्छ। (१ कोरिन्थी १०:१२) उदाहरणको लागि, विवाहको कुरा विचार गरौँ। यहोवा वैवाहिक बन्धन अटुट होस्‌ भन्‍ने चाहनुहुन्छ। (मत्ति १९:५, ६, ९) तर आज थुप्रै मानिस वैवाहिक सम्बन्धलाई हल्कासित लिन्छन्‌ र यसलाई जुनसुकै बेला तोड्‌न सकिन्छ भन्‍ने सोचाइ राख्छन्‌। धेरैजसो चलचित्र र टिभी कार्यक्रमहरूले पनि यस्तै सोचाइलाई प्रोत्साहन दिन्छन्‌। हामीले वैवाहिक सम्बन्धप्रति संसारको जस्तो दृष्टिकोण राख्नु हुँदैन।

सैतानले मनमानी गर्ने मनोवृत्तिलाई प्रोत्साहन दिएर पनि हामीलाई बहकाउन खोज्छ। (२ तिमोथि ३:४) हामी होसियार भएनौँ भने यहोवाले नियुक्‍त गर्नुभएका पुरुषहरूको अनादर गर्ने हदसम्म पुग्न सक्छौँ। जस्तै: कुनै भाइले एल्डरहरूले दिएको सल्लाह नस्विकार्ने झुकाव देखाउन सक्छन्‌। (हिब्रू १२:५) अथवा कुनै बहिनीले परिवारमा शिरत्वको प्रबन्धमाथि प्रश्‍न खडा गर्न सक्छिन्‌।—१ कोरिन्थी ११:३.

हामीले दियाबललाई हाम्रो सोचाइ भ्रष्ट पार्न दिनु हुँदैन। बरु हामीले आफ्नो सोचाइ यहोवाको जस्तै बनाउने कोसिस गर्नुपर्छ र “माथिका कुराहरूमा ध्यान” लगाइरहनुपर्छ।—कलस्सी ३:२; २ कोरिन्थी २:११.

अध्याय १६, अनुच्छेद ९

 ३२ स्वास्थ्य उपचार

हामी सबै स्वस्थ रहन चाहन्छौँ र बिरामी पर्दा सकेसम्म राम्रो उपचार गर्न चाहन्छौँ। (यसैया ३८:२१; मर्कुस ५:२५, २६; लुका १०:३४) आज चिकित्सा क्षेत्रमा विभिन्‍न उपचारविधि र सेवा-सुविधाहरू उपलब्ध छन्‌। हामीले रोज्ने उपचारविधि बाइबल सिद्धान्तअनुरूप छ कि छैन भनेर विचार गर्नुपर्छ। परमेश्‍वरको राज्यले मात्र सबै रोगबिमार निर्मूल पार्नेछ भन्‍ने कुरा कहिल्यै नबिर्सौँ। हामी आफ्नो स्वास्थ्यको विषयमा अचाक्ली चिन्ता गरेर यहोवाको उपासनालाई हल्कासित लिन चाहँदैनौँ।—यसैया ३३:२४; १ तिमोथि ४:१६.

हामीले प्रेतविद्या मुछिएको कुनै पनि उपचारविधि अपनाउनु हुँदैन। (व्यवस्था १८:१०-१२; यसैया १:१३) त्यसैले कुनै उपचारविधि स्विकार्नुअघि वा औषधी लिनुअघि त्यसमा प्रेतविद्या मुछिएको छ कि छैन भनेर पक्का गर्नुपर्छ। (हितोपदेश १४:१५) सैतानले हामीलाई प्रेतविद्यामा फसाउन खोज्छ भन्‍ने कुरा बिर्सनु हुँदैन। कुनै उपचारविधिमा प्रेतविद्या मुछिएको छ भन्‍ने शङ्‌का लाग्छ भने त्यस्तो उपचार नगर्नु नै बुद्धिमानी हुन्छ।—१ पत्रुस ५:८.

अध्याय १६, अनुच्छेद १८

^ अनु. 98 केही डाक्टर रगतका मुख्य चार तत्त्वलाई सूक्ष्म तत्त्वहरूको रूपमा हेर्छन्‌। त्यसैले तपाईँले डाक्टरसित उपचारबारे कुरा गर्दा रगत अनि यसका चार मुख्य तत्त्व अर्थात्‌ रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स र प्लाज्मा कुनै पनि हालतमा लिन्‍नँ भनेर आफ्नो अडानबारे स्पष्टसित बताउनुपर्ने हुन सक्छ।