सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २

परमेश्‍वरको नजरमा सफा अन्तस्करण

परमेश्‍वरको नजरमा सफा अन्तस्करण

“आफ्नो अन्तस्करण सफा बनाइराख।”—१ पत्रुस ३:१६.

१, २. नौलो ठाउँमा जाँदा किन मदत चाहिन्छ? परमेश्‍वरले हामीलाई डोऱ्‍याउन के दिनुभएको छ?

कल्पना गर्नुहोस्‌, तपाईँ विशाल मरुभूमिमा यात्रा गर्दै हुनुहुन्छ। हुरीबतासले मरुभूमिको बालुवा यताउता हुर्ऱ्याउँदा छिनछिनमा यसको स्वरूप परिवर्तन भइरहन्छ। त्यसैले तपाईँ सजिलै हराउन सक्नुहुन्छ। त्यसोभए तपाईँ सही बाटो कसरी पत्ता लगाउन सक्नुहुन्छ? तपाईँले कम्पास, सूर्य, तारा, नक्सा, जीपीएस उपकरण (बाटो पत्ता लगाउने उपकरण) अथवा त्यस मरुभूमिसित परिचित व्यक्‍तिको मदत लिन सक्नुहुन्छ। यस्तो मदतले तपाईँको ज्यान जोगिन सक्छ।

हामी जीवनमा थुप्रै चुनौतीको सामना गर्छौँ। कहिलेकाहीँ हामीलाई सही बाटो पत्ता लगाउन गाह्रो हुन सक्छ। तर हामी प्रत्येकलाई डोऱ्‍याउन यहोवाले अन्तस्करण दिनुभएको छ। (याकुब १:१७) सुरुमा अन्तस्करण के हो र यसले कसरी काम गर्छ, बुझौँ। त्यसपछि यी विषयहरू छलफल गर्नेछौँ: हामी कसरी अन्तस्करणलाई तालिम दिन सक्छौँ? हामीले किन अरूको अन्तस्करणको ख्याल राख्नुपर्छ? अन्तस्करण सफा राख्दा हामीलाई कस्तो फाइदा हुन्छ?

अन्तस्करण के हो र यसले कसरी काम गर्छ?

३. अन्तस्करण के हो?

अन्तस्करण यहोवाले दिनुभएको उत्तम उपहार हो। यो सही र गलत छुट्ट्याउने भित्री क्षमता हो। बाइबलमा “अन्तस्करण”-को लागि प्रयोग भएको ग्रीक शब्दको अर्थ “स्वविवेक” अर्थात्‌ कुनै व्यक्‍तिसित भएको ज्ञान हो। अन्तस्करणले राम्ररी काम गरेको छ भने यसले हामी कस्तो किसिमका मानिस हौँ भनेर बुझ्न मदत गर्छ। यसले हाम्रो भित्री विचार र भावना कस्तो छ भन्‍ने कुरा बताएर हामीलाई आफैसित इमानदार हुन मदत गर्छ। साथै हामीलाई सही बाटोतर्फ डोऱ्‍याउँछ अनि गलत बाटोतर्फ जानदेखि रोक्छ। अन्तस्करणको आवाज सुनेर बुद्धिमानी निर्णय गऱ्‍यौँ भने हामी आनन्दित हुन्छौँ। अर्कोतर्फ, यसको आवाजलाई बेवास्ता गरेर गलत निर्णय गऱ्‍यौँ भने दोषी महसुस गर्छौँ।—नोट ५ हेर्नुहोस्‌।

४, ५. (क) आदम र हव्वाले आफ्नो अन्तस्करणको आवाज नसुन्दा के भयो? (ख) अन्तस्करणले कसरी काम गर्छ? बाइबलबाट केही उदाहरण दिनुहोस्‌।

अन्तस्करणको आवाज सुन्‍ने कि नसुन्‍ने भनेर हामी रोज्न सक्छौँ। आदम र हव्वाले आफ्नो अन्तस्करणको आवाज नसुन्‍ने छनौट गरे। नतिजा कस्तो भयो? तिनीहरूले पाप गरे। पछि तिनीहरूले दोषी महसुस गरे तर त्यो बेकार थियो। किनभने तिनीहरूले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरिसकेका थिए। (उत्पत्ति ३:७, ८) हुनत तिनीहरूको अन्तस्करणमा कुनै खोट थिएन र तिनीहरूलाई परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नु गलत हो भनेर थाह थियो तैपनि तिनीहरूले आफ्नो अन्तस्करणको आवाजलाई बेवास्ता गर्ने छनौट गरे।

अर्कोतर्फ, थुप्रै त्रुटिपूर्ण मानिसले आफ्नो अन्तस्करणको आवाज सुनेका छन्‌। यस सन्दर्भमा अय्युब असल उदाहरण हुन्‌। तिनले जीवनमा बुद्धिमानी निर्णयहरू गरेकोले यसो भन्‍न सके: “बाँचुन्जेल मेरो हृदयले मलाई दोषी ठहराउनेछैन।” (अय्युब २७:६) अय्युबले अन्तस्करण अर्थात्‌ सही र गलत छुट्ट्याउने क्षमतालाई जनाउन “हृदय” शब्द प्रयोग गर्दै थिए। कुनै बेला दाउदले आफ्नो अन्तस्करणको आवाजलाई बेवास्ता गरेर यहोवाप्रति अनाज्ञाकारी भएका थिए। तर पछि तिनले यत्ति दोषी महसुस गरे कि तिनको अन्तस्करणले तिनलाई “घोच्न थाल्यो।” (१ समुएल २४:५) वास्तवमा तिनले गरेको काम गलत हो भनेर तिनको अन्तस्करणले बताइरहेको थियो। अन्तस्करणको आवाज सुनेर तिनी त्यस्तो गल्ती दोहोऱ्‍याउनदेखि जोगिन सक्थे।

६. अन्तस्करण किन यहोवाले दिनुभएको उपहार हो?

यहोवालाई नचिन्‍ने मानिसहरू पनि सही र गलत छुट्ट्याउन सक्छन्‌। बाइबल भन्छ: “तिनीहरूको सोचाइले नै तिनीहरूलाई दोषी वा निर्दोष ठहराउँछ।” (रोमी २:१४, १५) उदाहरणको लागि, हत्या गर्नु र चोरी गर्नु गलत हो भनेर धेरैलाई थाह छ। वास्तवमा तिनीहरूले अनजानमै आफ्नो अन्तस्करणको आवाज सुनिरहेका हुन्छन्‌, जुन अन्तस्करण यहोवाले सबै मानिसमा राखिदिनुभएको छ। तिनीहरू परमेश्‍वरले दिनुभएका सिद्धान्तहरू अर्थात्‌ आधारभूत सत्यहरूअनुसार चलिरहेका हुन्छन्‌, जुन सिद्धान्तहरूले जीवनमा सही निर्णय गर्न मदत गर्छ।

७. अन्तस्करणले कहिलेकाहीँ किन गलत आवाज दिन सक्छ?

तर अन्तस्करणले कहिलेकाहीँ गलत आवाज दिन सक्छ। जस्तै: हाम्रो त्रुटिपूर्ण सोचाइ र भावनाले यसलाई असर गर्न सक्छ अनि यसले हामीलाई गलत बाटोतर्फ डोऱ्‍याउन सक्छ। अन्तस्करणले स्वतः सही तरिकामा काम गर्न सक्दैन। (उत्पत्ति ३९:१, २, ७-१२) यसलाई तालिम दिनुपर्छ। यसो गर्न यहोवाले हामीलाई पवित्र शक्‍ति र बाइबल दिनुभएको छ। (रोमी ९:१) हामी अन्तस्करणलाई कसरी तालिम दिन सक्छौँ, विचार गरौँ।

हामी अन्तस्करणलाई कसरी तालिम दिन सक्छौँ?

८. (क) हाम्रो मनले अन्तस्करणलाई कसरी असर गर्न सक्छ? (ख) कुनै निर्णय गर्नुअघि आफूलाई कुन प्रश्‍न सोध्नुपर्छ?

कसै-कसैलाई अन्तस्करणको आवाज सुन्‍नु भनेको आफ्नो मनको कुरा सुन्‍नु हो जस्तो लाग्छ। तिनीहरू यदि कुनै कुरा आफ्नो मनलाई ठीक लाग्छ भने त्यो गरे पनि हुन्छ भन्‍ने सोचाइ राख्छन्‌। तर मनले सधैँ ठीक तरिकाले सोच्न नसक्ने भएकोले त्यसले हामीलाई गलत बाटो देखाउन सक्छ। हाम्रो मनको चाहना यति प्रबल हुन सक्छ कि त्यसले हाम्रो अन्तस्करणलाई असर गर्न सक्छ। बाइबल भन्छ: “मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ। त्यसलाई कसले बुझ्न सक्छ र?” (यर्मिया १७:९) त्यसैले कुनै कुरा गलत नै भए पनि त्यो सही हो भन्‍ने सोचाइ हामीमा विकास हुन सक्छ। पावललाई विचार गरौँ। ख्रिष्टियन हुनुअघि तिनले परमेश्‍वरका जनहरूलाई निर्ममतापूर्वक सताए। तिनलाई त्यो काम सही नै हो जस्तो लाग्यो अनि तिनको नजरमा तिनको अन्तस्करण पनि सफा नै थियो। तर तिनले आफ्नो सोचाइ कसरी परिवर्तन गर्न सके? तिनले यसो भने: “मलाई जाँच्ने यहोवा परमेश्‍वर नै हुनुहुन्छ।” (१ कोरिन्थी ४:४; प्रेषित २३:१; २ तिमोथि १:३) आफूले गरेको कामलाई यहोवा कुन दृष्टिकोणले हेर्नुहुन्छ भनेर थाह पाएपछि तिनले आफूमा परिवर्तन गर्नुपर्ने आवश्‍यकता महसुस गरे। कुरा स्पष्ट छ, कुनै निर्णय गर्नुअघि हामीले आफूलाई यो कुरा सोध्नुपर्छ, ‘मैले के गरेको यहोवा चाहनुहुन्छ?’

९. परमेश्‍वरको भय मान्‍नु भनेको के हो?

आफूले माया गरेको व्यक्‍तिलाई तपाईँ दुःखी बनाउन चाहनुहुन्‍न। हामी यहोवालाई दुःखी बनाउने कुनै पनि काम गर्न चाहँदैनौँ किनभने हामी उहाँलाई माया गर्छौँ। यहोवालाई दुःखी नतुल्याउने इच्छालाई बलियो बनाउनु जरुरी छ। यो कुरा बुझ्न नहेम्याहलाई विचार गरौँ। तिनले राज्यपालको ओहदाको दुरुपयोग गरेर धनी हुन चाहेनन्‌। किन? किनभने तिनी ‘परमेश्‍वरको भय मान्थे।’ (नहेम्याह ५:१५) तिनी यहोवालाई दुःखी तुल्याउने कुनै पनि काम गर्न चाहँदैनथे। हामी पनि नहेम्याहजस्तै हुनुपर्छ। हाम्रो कामले परमेश्‍वरलाई दुःखी तुल्याउने हो कि भन्‍ने भय हाम्रो मनमा हुनुपर्छ। यहोवालाई कस्तो कुराले खुसी बनाउँछ भनेर हामी बाइबल पढेर थाह पाउन सक्छौँ।—नोट ६ हेर्नुहोस्‌।

१०, ११. बाइबलका कस्ता सिद्धान्तहरूले रक्सी पिउने सन्दर्भमा सही निर्णय गर्न मदत गर्छ?

१० एउटा परिस्थिति विचार गर्नुहोस्‌। एक जना ख्रिष्टियन रक्सी पिउने कि नपिउने भनेर दुबिधामा छन्‌। सही निर्णय गर्न तिनलाई बाइबलका कस्ता सिद्धान्तहरूले मदत गर्छ? केही सिद्धान्त विचार गरौँ। बाइबलले रक्सी पिउन निषेध गरेको छैन। वास्तवमा मद्य परमेश्‍वरले दिनुभएको उपहार हो भनी बाइबल बताउँछ। (भजन १०४:१४, १५) तर हामीले अरू कुरा पनि विचार गर्नुपर्छ। येसुले आफ्ना चेलाहरूलाई मद्य ‘धेरै पिउने’ नगर्नू भन्‍नुभयो। (लुका २१:३४) पावलले ख्रिष्टियनहरूलाई ‘भोजको अनियन्त्रित मोजमस्ती र अत्यधिक मद्यपान त्याग’ भने। (रोमी १३:१३) तिनले पियक्कडहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌” पनि भने।—१ कोरिन्थी ६:९, १०.

११ हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘म किन रक्सी पिउँछु? के मलाई तनाव हटाउन रक्सी नभई हुँदैन? के म आफ्नो आत्मविश्‍वास बढाउन रक्सी पिउँछु? के म रक्सी कति मात्रामा पिउने र कति चोटि पिउने भन्‍ने कुरालाई नियन्त्रणमा राख्न सक्छु? * के म जमघटमा रक्सीविना पनि साथीहरूसित रमाइलो गर्न सक्छु?’ सही निर्णय गर्न हामी यहोवासित मदत माग्न सक्छौँ। (भजन १३९:२३, २४ पढ्‌नुहोस्‌) यसरी हामी आफ्नो अन्तस्करणलाई बाइबलका सिद्धान्तहरूअनुसार चल्न तालिम दिन सक्छौँ। यसमा अरू कुराहरू पनि समावेश छन्‌। आउनुहोस्‌, यसबारे छलफल गरौँ।

हामीले किन अरूको अन्तस्करणको ख्याल राख्नुपर्छ?

१२, १३. हाम्रो अन्तस्करण किन अरूको भन्दा फरक हुन सक्छ? यस्तो अवस्थामा के गर्न सक्छौँ?

१२ सबैको अन्तस्करण फरक-फरक हुन्छ। तपाईँको अन्तस्करणले कुनै काम गर्न देला तर त्यही काम अरूको अन्तस्करणले गर्न नदिन सक्छ। उदाहरणको लागि, तपाईँले रक्सी पिउने निर्णय गर्नुहोला तर अर्को व्यक्‍तिले नपिउने निर्णय गर्न सक्छन्‌। एउटै विषयमा दुई जनाको निर्णय किन फरक भयो?

तालिमप्राप्त अन्तस्करणले रक्सी पिउने कि नपिउने भनेर निर्णय गर्न मदत गर्छ

१३ मानिसको दृष्टिकोणलाई तिनी हुर्केको ठाउँ, त्यस कुराप्रति तिनको परिवारले राख्ने दृष्टिकोण, विगतका अनुभवहरू र अन्य कारणले असर गर्छ। विगतमा अत्यधिक रक्सी पिउने बानीलाई नियन्त्रणमा राख्न गाह्रो भएकोले कसै-कसैले रक्सी छुँदै नछुने निर्णय गरेका हुन्छन्‌। (१ राजा ८:३८, ३९) त्यस्तो व्यक्‍तिलाई तपाईँले रक्सी पिउन आग्रह गर्दा तिनले इन्कार गरे भने तपाईँ के गर्नुहुन्छ? चित्त दुखाउनुहुन्छ कि? अथवा पिउन कर गरिरहनुहुन्छ कि? पिउन नचाहनुको कारण सोधेको सोध्यै गर्नुहुन्छ कि? अहँ, गर्नुहुन्‍न किनभने तपाईँ तिनको अन्तस्करणको कदर गर्नुहुन्छ।

१४, १५. पावलको समयमा भएको एउटा घटना बताउनुहोस्‌। पावलले कस्तो सल्लाह दिए?

१४ प्रेषित पावलको समयको एउटा घटना विचार गरौँ। त्यस घटनाबाट मानिसहरूको अन्तस्करण फरक-फरक हुन्छ भनेर प्रस्ट हुन्छ। त्यतिबेला बजारमा बिक्री गरिने कतिपय मासु मूर्तिहरूलाई चढाइएको र झूटो उपासनामा प्रयोग गरिएको हुन्थ्यो। (१ कोरिन्थी १०:२५) त्यस्तो मासु किनेर खानु पावलको लागि आपत्तिजनक थिएन। सबै खानेकुरा यहोवाबाट आएको हो भन्‍ने तिनको सोचाइ थियो। तर ख्रिष्टियन बन्‍नुअघि मूर्तिपूजा गरेका केही भाइबहिनीको सोचाइ भने फरक थियो। तिनीहरूलाई यस्तो मासु खानु गलत लाग्थ्यो। के पावलले यस्तो तर्क गरे: ‘यसले मेरो अन्तस्करणलाई कुनै असर गर्दैन। मलाई मन लागेको कुरा खान पाउनु मेरो अधिकार हो’?

१५ पावलले त्यस्तो तर्क गरेनन्‌। बरु तिनी आफ्नो अधिकारलाई त्याग्न समेत इच्छुक भए। किनभने तिनी आफ्नो रुचिलाई भन्दा भाइबहिनीको भावनालाई महत्त्वपूर्ण ठान्थे। त्यसैले पावलले यसो भने: “हामीले आफूलाई मात्र खुसी पार्न खोज्नु हुँदैन।” तिनले अझ यसो भने: “ख्रिष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन।” (रोमी १५:१, ३) येसुले जस्तै पावलले पनि आफ्नो कुरामा भन्दा अरूको कुरामा ध्यान दिए।१ कोरिन्थी ८:१३; १०:२३, २४, ३१-३३ पढ्‌नुहोस्‌।

१६. अरूले आफ्नो अन्तस्करण चलाएर गरेको निर्णयमाथि हामीले किन प्रश्‍न उठाउनु हुँदैन?

१६ हामीलाई गलत लाग्ने कुरा अरूको अन्तस्करणलाई सही लाग्छ भने नि? यस्तो बेला हामी अरूको न्याय गर्नतिर अथवा आफू नै सही हुँ भनेर जिद्दी गर्नतिर लाग्नु हुँदैन। (रोमी १४:१० पढ्‌नुहोस्‌) यहोवाले हामीलाई अरूको न्याय गर्न होइन, आफूलाई जाँच्न अन्तस्करण दिनुभएको हो। (मत्ति ७:१) हामी व्यक्‍तिगत छनौटलाई मण्डलीमा फुट ल्याउने कारण बन्‍न दिन चाहँदैनौँ। बरु हामी प्रेम र एकता बढाउने तरिकाहरू खोज्न चाहन्छौँ।—रोमी १४:१९.

सफा अन्तस्करणका फाइदाहरू

१७. कसै-कसैको अन्तस्करण कस्तो भएको छ?

१७ पत्रुसले यस्तो लेखे: “आफ्नो अन्तस्करण सफा बनाइराख।” (१ पत्रुस ३:१६) तर दुःखको कुरा, कसैले बारम्बार यहोवाको सिद्धान्तविपरीत काम गर्छ भने बिस्तारै उसको अन्तस्करणले चेतावनी दिन छोड्‌छ। पावलले त्यस्तो अन्तस्करण “तातो फलामले डामेझैँ डामिएको हुन्छ” भने। (१ तिमोथि ४:२) तातो फलामले डाम्दा मासु मर्छ र खत बस्छ अनि त्यहाँ केही महसुस हुँदैन। यदि कसैले गलत काम गरिरह्‍यो भने उसको अन्तस्करण “फलामले डामेझैँ” हुन्छ अनि समय बित्दै जाँदा त्यसले काम गर्न छोड्‌छ।

सफा अन्तस्करणले हाम्रो जीवनलाई डोऱ्‍याउँछ, आनन्दित बनाउँछ र मनोशान्ति दिन्छ

१८, १९. (क) दोषी भावनाले कस्तो लाभ पुऱ्‍याउँछ? (ख) पश्‍चात्ताप गरे पनि दोषी महसुस भइरहन्छ भने के गर्न सक्छौँ?

१८ हामीले दोषी महसुस गर्दा अन्तस्करणले हामीलाई ‘तिमीले गलत काम गऱ्‍यौ’ भनेर आवाज दिइरहेको हुन सक्छ। हामीले गरेको काम गलत हो भनेर बुझ्न अनि त्यस्तो काम नगर्न अन्तस्करणले मदत गर्छ। हामीले आफ्नो गल्तीबाट पाठ सिक्नुपर्छ र त्यस्तो गल्ती फेरि दोहोऱ्‍याउनु हुँदैन। उदाहरणको लागि, राजा दाउदले पाप गरेपछि अन्तस्करणले तिनलाई घोच्यो। तिनले पश्‍चात्ताप गरे। आफूले गरेको काम घृणित थियो भनेर महसुस गरे अनि भविष्यमा परमेश्‍वरको आज्ञा कहिल्यै नतोड्‌ने सङ्‌कल्प गरे। त्यसैले दाउदले यहोवा “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ” भनेर आफ्नै अनुभवबाट भन्‍न सके।—भजन ५१:१-१९; ८६:५; नोट ७ हेर्नुहोस्‌।

१९ तर कसै-कसैले पश्‍चात्ताप गरेको लामो समय बितिसक्दा पनि दोषी महसुस गरिरहन सक्छन्‌। त्यस्तो दोषी भावना पीडादायी हुन सक्छ अनि आफू कुनै कामको छैनँ जस्तो महसुस हुन सक्छ। यदि तपाईँ पनि कहिलेकाहीँ यस्तै महसुस गर्नुहुन्छ भने तपाईँले विगतमा जे गर्नुभयो, त्यो बदल्न सक्नुहुन्‍न भनेर नबिर्सनुहोस्‌। त्यतिबेला चाहे तपाईँले जानाजानी कुनै गलत काम गर्नुभएको थियो या अनजानमै, तपाईँले पश्‍चात्ताप गर्नुभएकोले यहोवाले तपाईँलाई पूर्ण रूपमा क्षमा दिनुभयो र ती पापहरू मेटिए। अहिले तपाईँ यहोवाको नजरमा शुद्ध हुनुहुन्छ अनि सही काम गर्दै हुनुहुन्छ। तैपनि तपाईँको हृदयले तपाईँलाई दोषी ठहराउन सक्छ तर बाइबल यसो भन्छ: “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ।” (१ युहन्‍ना ३:१९, २० पढ्‌नुहोस्‌) भन्‍नुको मतलब, तपाईँले जतिसुकै दोषी वा लज्जित महसुस गर्नुभए तापनि यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ अनि तपाईँलाई क्षमा दिइसक्नुभएको छ भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ। यसरी ढुक्क हुँदा तपाईँको अन्तस्करण सफा हुनेछ र तपाईँ यहोवाको सेवामा रमाउन सक्नुहुनेछ।—१ कोरिन्थी ६:११; हिब्रू १०:२२.

२०, २१. (क) यो किताब किन तयार पारिएको हो? (ख) यहोवाले हामीलाई कस्तो स्वतन्त्रता दिनुभएको छ? हामीले यसको प्रयोग कसरी गर्नुपर्छ?

२० यो किताबबाट तपाईँले आफ्नो अन्तस्करणलाई तालिम दिन मदत पाउनुहुनेछ। यस अन्तको दिनको डरलाग्दो समयमा तालिमप्राप्त अन्तस्करणले तपाईँलाई चेतावनी दिनेछ र जोगाउनेछ। यस किताबले तपाईँलाई जीवनका विभिन्‍न क्षेत्रमा बाइबलका सिद्धान्तहरू लागू गर्न मदत गर्नेछ। तर यसमा जीवनको हरेक क्षेत्रमा लागू हुने नियमहरूको सूची दिइएको छैन। हामी परमेश्‍वरको सिद्धान्तमा आधारित “ख्रिष्टको व्यवस्था”-अनुसार चल्छौँ। (गलाती ६:२) कुनै विषयमा निश्‍चित नियम दिइएको छैन भने हामी त्यसलाई गलत काम गर्ने बहाना बनाउँदैनौँ। (२ कोरिन्थी ४:१, २; हिब्रू ४:१३; १ पत्रुस २:१६) बरु हामीले पाएको स्वतन्त्रतालाई यहोवाप्रतिको प्रेम देखाउन प्रयोग गर्छौँ।

२१ हामीले बाइबलका सिद्धान्तहरूमा मनन गऱ्‍यौँ र त्यसलाई जीवनमा लागू गऱ्‍यौँ भने “आफ्नो सोच्ने-बुझ्ने क्षमता” चलाउन सिकिरहेका हुन्छौँ र हाम्रो सोचाइ यहोवाको जस्तै हुन्छ। (हिब्रू ५:१४) यस्तो तालिमप्राप्त अन्तस्करणले हाम्रो जीवनलाई डोऱ्‍याउनेछ र परमेश्‍वरको प्रेम पाउन लायक भइरहन मदत गर्नेछ।

^ अनु. 11 थुप्रै डाक्टरको भनाइअनुसार विशेषगरि मद्यव्यसनीहरूलाई सीमाभित्र रहेर रक्सी पिउन असाध्यै गाह्रो हुन्छ। त्यसैले डाक्टरहरू तिनीहरूलाई रक्सी पिउँदै नपिउन सल्लाह दिन्छन्‌।