सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १७

परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌

परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌

“आफ्नो अतिपवित्र विश्‍वासलाई बलियो बनाओ . . . तिमीहरूले आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न सक।”—यहुदा २०, २१.

१, २. परमेश्‍वरको प्रेम पाउन लायक भइरहन के गर्नुपर्छ?

हामी सबै स्वस्थ हुन चाहन्छौँ। त्यसैले हामी स्वस्थकर खानेकुरा खान्छौँ, व्यायाम गर्छौँ र आफ्नो शरीरको ख्याल राख्छौँ। नियमित रूपमा यसो गर्न सजिलो नभए तापनि स्वस्थ रहनको लागि हामी यी सब गर्छौँ। त्यसरी नै यहोवासितको सम्बन्धलाई बलियो बनाइराख्न पनि हामीले मेहनत गर्नुपर्छ।

यहोवालाई चिन्‍न सुरुमा हामीले मेहनत गरेका थियौँ। अब उहाँसितको सम्बन्धलाई बलियो बनाइराख्न पनि त्यसरी नै मेहनत गरिरहनुपर्छ। “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न” यहुदाले ख्रिष्टियनहरूलाई प्रोत्साहन दिए। साथै तिनले त्यसो गर्ने तरिका पनि बताए: “आफ्नो अतिपवित्र विश्‍वासलाई बलियो बनाओ।” (यहुदा २०, २१) त्यसोभए हामी कसरी आफ्नो विश्‍वासलाई बलियो बनाउन सक्छौँ?

आफ्नो विश्‍वास बलियो बनाइरहनुहोस्‌

३-५. (क) सैतान तपाईँले के सोचेको चाहन्छ? (ख) यहोवाका नियमहरू र सिद्धान्तहरू तपाईँलाई कस्तो लाग्छ?

यहोवाका स्तरहरू सर्वोत्कृष्ट छन्‌ भनेर तपाईँ आफै विश्‍वस्त हुनुपर्छ। परमेश्‍वरका स्तरहरू पालन गर्न असाध्यै गाह्रो छ अनि आफूलाई जे सही लाग्छ, त्यही गर्दा खुसी हुन सकिन्छ भनेर हामीले सोचेको सैतान चाहन्छ। आदम र हव्वालाई सैतानले त्यसरी नै बहकाएको थियो। (उत्पत्ति ३:१-६) त्यसबेलादेखि यता मानिसहरूलाई त्यसरी नै बहकाउन सैतान लागिपरेको छ।

के सैतानको कुरा सही हो? के यहोवाका स्तरहरू साँच्चै कडा छन्‌? अहँ छैनन्‌। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। मानौँ, तपाईँ सुन्दर पार्कमा घुम्दै हुनुहुन्छ। हिँड्‌दा-हिँड्‌दै बाटोमा तपाईँ अग्लो बार देख्नुहुन्छ। तपाईँ सोच्नुहुन्छ, ‘हैन यो बार किन यहाँ लगाएको?’ त्यति नै बेला तपाईँले बारको पारिपट्टिबाट सिंह गर्जेको सुन्‍नुहुन्छ। अबचाहिँ तपाईँ त्यो बारको विषयमा के भन्‍नुहुन्छ? के तपाईँ अझै पनि त्यो बार किन लगाइएको होला भन्‍नुहुन्छ? अहँ, बरु त्यस बारले गर्दा आफू सिंहको आहार हुनदेखि जोगिएकोमा खुसी हुनुहुन्छ। यहोवाका सिद्धान्तहरू पनि त्यो बारजस्तै हो अनि त्यो सिंह—सैतान। परमेश्‍वरको वचन हामीलाई यस्तो चेतावनी दिन्छ: “सचेत रहो, जागा बस! तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैँ घुमेर हिँड्‌छ।”—१ पत्रुस ५:८.

हामीले सबैभन्दा उत्तम तरिकामा जीवन बिताएको यहोवा चाहनुहुन्छ। उहाँ हामी सैतानको बहकाउमा परेको चाहनुहुन्‍न। हामी सुरक्षित र आनन्दित हुन सकौँ भनेर उहाँले नियमहरू र सिद्धान्तहरू दिनुभएको छ। (एफिसी ६:११) याकुबले यस्तो लेखे: “जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ . . . उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।”—याकुब १:२५.

६. यहोवाका स्तरहरू सर्वोत्कृष्ट छन्‌ भनेर हामी कसरी विश्‍वस्त हुन सक्छौँ?

यहोवाको निर्देशन पालन गर्दा हामी आनन्दित हुन्छौँ र उहाँसितको हाम्रो सम्बन्ध बलियो हुँदै जान्छ। उदाहरणको लागि, यहोवालाई निरन्तर प्रार्थना गर भन्‍ने निर्देशन पालन गर्दा हामीले उहाँबाट मदत पाउँछौँ। (मत्ति ६:५-८; १ थिस्सलोनिकी ५:१७) उपासनाको लागि एक ठाउँमा भेला भएर एकअर्कालाई प्रोत्साहन देओ अनि प्रचार गर्ने र सिकाउने काममा लाग भन्‍ने निर्देशन पालन गर्दा हामी खुसी हुन्छौँ। (मत्ति २८:१९, २०; गलाती ६:२; हिब्रू १०:२४, २५) यहोवाका यी निर्देशनहरू पालन गर्दा हाम्रो कत्ति फाइदा भएको छ भनेर मनन गऱ्‍यौँ भने हाम्रो विश्‍वास बलियो हुँदै जानेछ अनि उहाँका स्तरहरू साँच्चै सर्वोत्कृष्ट रहेछन्‌ भनेर हामी झनै विश्‍वस्त हुन सक्नेछौँ।

७, ८. भविष्यमा आउन सक्ने परीक्षाहरूको चिन्ता नलिन हामीलाई कुन कुराले मदत गर्छ?

भविष्यमा कुनै परीक्षा आइपर्दा सहन नसक्ने हो कि भनेर हामीलाई चिन्ता लाग्न सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ भने यहोवाका यी शब्दहरू सम्झनुहोस्‌: “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु। तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने तिमीहरूको शान्ति नदीझैँ हुनेछ र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।”—यसैया ४८:१७, १८.

यहोवाको निर्देशन पालन गर्दा हाम्रो शान्ति कहिल्यै नसुक्ने नदीजस्तै हुनेछ अनि हाम्रो धार्मिकता कहिल्यै नथामिने समुद्रका छालहरूझैँ हुनेछ। जस्तोसुकै दुःख भोग्नुपरे तापनि हामी वफादार भइरहन सक्नेछौँ। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।”—भजन ५५:२२.

“परिपक्वतातर्फ अघि बढौँ”

९, १०. परिपक्व हुनु भनेको के हो?

यहोवासितको सम्बन्ध बलियो बनाउँदै लैजानुभयो भने तपाईँ ‘परिपक्वतातर्फ अघि बढिरहनुभएको’ हुनेछ। (हिब्रू ६:१) परिपक्व हुनु भनेको के हो?

१० उमेर बढ्‌दैमा कुनै ख्रिष्टियन परिपक्व हुन्छन्‌ भन्‍ने छैन। परिपक्व हुन हामीले यहोवालाई सबैभन्दा मिल्ने साथी बनाउनुपर्छ र उहाँको जस्तै दृष्टिकोण राख्नुपर्छ। (युहन्‍ना ४:२३) पावलले यस्तो लेखे: “जो-जो शारीरिक इच्छाअनुसार जिउँछन्‌, तिनीहरूले शारीरिक इच्छाहरूमै मन लगाउँछन्‌ तर जो-जो पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम जिउँछन्‌, तिनीहरूले पवित्र शक्‍तिका कुराहरूमा मन लगाउँछन्‌।” (रोमी ८:५) परिपक्व मानिस मोजमस्ती वा भौतिक कुरालाई होइन, यहोवाको सेवालाई प्राथमिकता दिन्छन्‌ र सही छनौट गर्छन्‌। (हितोपदेश २७:११; याकुब १:२, ३ पढ्‌नुहोस्‌) तिनी अरूको लहलहैमा लागेर गलत काम गर्दैनन्‌। परिपक्व मानिसलाई सही के हो भनेर थाह हुन्छ र तिनले त्यसैअनुसार चल्ने अठोट गरेका हुन्छन्‌।

११, १२. (क) पावलले “सोच्ने-बुझ्ने क्षमता”-बारे के भने? (ख) परिपक्व ख्रिष्टियन बन्‍नु र राम्रो खेलाडी बन्‍नुमा कस्ता समानताहरू छन्‌?

११ परिपक्व हुन मेहनत गर्नुपर्छ। प्रेषित पावलले यस्तो लेखे: “खँदिलो खानेकुराचाहिँ परिपक्व मानिसहरूको निम्ति हो, जसले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।” (हिब्रू ५:१४) “तालिम” भन्‍ने शब्द सुन्दा हाम्रो मनमा खेलाडीको चित्र आउँछ।

१२ राम्रो खेलाडी बन्‍न धेरै समय खर्च गर्नुपर्छ र तालिम लिनुपर्छ। कोही पनि जन्मजात राम्रो खेलाडी हुँदैन। भर्खरै जन्मेको बच्चालाई त आफ्नो हातखुट्टा कसरी चलाउनुपर्छ भनेर पनि थाह हुँदैन। तर हुर्कँदै जाँदा उसले सामान कसरी समाउने अनि कसरी हिँड्‌ने भनेर सिक्छ। तालिम पाएपछि ऊ राम्रो खेलाडी बन्‍न सक्छ। त्यसैगरि, परिपक्व ख्रिष्टियन बन्‍न पनि समय लाग्छ र तालिम चाहिन्छ।

१३. यहोवाको जस्तै सोचाइ राख्न हामीलाई कुन कुराले मदत गर्छ?

१३ यस किताबमा हामी कसरी यहोवाको जस्तै सोचाइ अनि दृष्टिकोण राख्न सक्छौँ भनेर बुझ्यौँ। यहोवाका स्तरहरूको कदर गर्न अनि त्यसलाई प्रेम गर्न सिक्यौँ। त्यसैले कुनै निर्णय गर्नुपर्दा हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ, ‘यो अवस्थामा बाइबलको कुन-कुन नियम वा सिद्धान्त लागू हुन्छ? म ती कसरी लागू गर्न सक्छु? यहोवा मैले के गरेको चाहनुहुन्छ?’हितोपदेश ३:५, ६; याकुब १:५ पढ्‌नुहोस्‌।

१४. विश्‍वासलाई बलियो बनाउन हामीले के गर्नुपर्छ?

१४ यहोवामाथिको विश्‍वासलाई हामी सधैँ बलियो बनाइराख्न चाहन्छौँ। पोसिलो खाना खाँदा हाम्रो शरीर बलियो हुन्छ। त्यसैगरि, हामी यहोवाबारे जति धेरै सिक्छौँ, त्यति नै हाम्रो विश्‍वास बलियो हुन्छ। बाइबल अध्ययन गर्न थाल्दा हामीले यहोवा र उहाँका स्तरहरूबारे आधारभूत सत्य सिक्यौँ। तर हामीले बाइबलका अझ गहिरा कुराहरू पनि सिक्दै जानुपर्छ। यही कुरा बुझाउन पावलले यसो भने: “खँदिलो खानेकुराचाहिँ परिपक्व मानिसहरूको निम्ति हो।” सिकेको कुरा लागू गर्दा हामी बुद्धिमान्‌ हुन्छौँ। बाइबल हामीलाई यसो भन्छ: “बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”—हितोपदेश ४:५-७; १ पत्रुस २:२.

१५. यहोवा र दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नु किन महत्त्वपूर्ण छ?

१५ कुनै व्यक्‍ति बलियो र स्वस्थ होला। तर त्यस्तै भइरहन तिनले आफ्नो स्वास्थ्यको सधैँ ख्याल राख्नुपर्छ। ठीक त्यसैगरि, परिपक्व मानिसले यहोवासितको आफ्नो सम्बन्ध कमजोर हुन नदिन मेहनत गर्नुपर्छ। पावलले हामीलाई यस्तो सल्लाह दिए: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।” (२ कोरिन्थी १३:५) हामीलाई बलियो विश्‍वासका साथै अरू कुराहरू पनि चाहिन्छ। हामीले यहोवा र हाम्रा दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम गाढा बनाउँदै लैजानुपर्छ। पावलले यस्तो भने, “मसित सबै ज्ञान छ अनि डाँडाहरू सार्न सक्नेसम्मको विश्‍वास छ तर प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।”—१ कोरिन्थी १३:१-३.

आशामा ध्यान केन्द्रित गर्नुहोस्‌

१६. सैतान हामीले के सोचेको चाहन्छ?

१६ यहोवालाई खुसी पार्न सम्भव छैन भनेर हामीले सोचेको सैतान चाहन्छ। हामीले भोगिरहेका समस्याहरूको कुनै समाधान छैन भन्‍ने सोचेर हामी निराश भएको त्यो चाहन्छ। त्यो हामीले सङ्‌गी ख्रिष्टियनहरूमाथि भरोसा गरेको चाहँदैन अनि हामी खुसी भएको देखिसहँदैन। (एफिसी २:२) नकारात्मक सोचाइले हामीलाई अनि परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई असर गर्छ भनेर सैतानलाई थाह छ। तर नकारात्मक सोचाइसित लड्‌न यहोवाले हामीलाई एउटा कुरा दिनुभएको छ। त्यो हो—आशा।

१७. आशाले कसरी हाम्रो सोच्ने क्षमताको रक्षा गर्छ?

१७ पहिलो थिस्सलोनिकी ५:८ मा हाम्रो आशालाई सिपाहीले युद्धमा लगाउने टोपसित तुलना गरिएको छ, जसले सिपाहीको शिरलाई जोगाउँछ। बाइबलमा त्यस टोपलाई “उद्धारको आशाको टोप” भनिएको छ। यहोवाका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भन्‍ने आशाले हाम्रो सोच्ने क्षमताको रक्षा गर्छ र नकारात्मक भावनाहरूसित लड्‌न बल दिन्छ।

१८, १९. परीक्षाहरू सहन येसुलाई आशाले कसरी मदत गऱ्‍यो?

१८ येसुलाई पनि आशाले विभिन्‍न परीक्षाको सामना गर्न मदत गऱ्‍यो। आफ्नो जीवनको अन्तिम रात येसुले एकपछि अर्को चुनौतीको सामना गर्नुपऱ्‍यो। एक जना घनिष्ठ साथीले उहाँलाई धोका दियो। अर्को साथीले उहाँलाई चिन्‍न समेत इन्कार गऱ्‍यो। केही साथी उहाँलाई छोडेर भागे। उहाँका आफ्नै देशवासीहरू उहाँको विरुद्धमा उठे र उहाँलाई निर्ममतापूर्वक मार्न माग गरे। यी सबै सहन उहाँलाई केले मदत गऱ्‍यो? “उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा मृत्यु सहनुभयो र उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:२.

१९ वफादार हुँदा आफ्नो बुबाको महिमा हुन्छ र सैतान झूटा साबित हुन्छ भनेर येसुलाई थाह थियो। यही आशाले उहाँलाई अपार आनन्द दियो। आफू चाँडै स्वर्गमा हुनुहुने आफ्नो बुबाकहाँ फर्कनेछु भनेर पनि उहाँलाई थाह थियो। यो आशाले उहाँलाई सहने बल दियो। येसुले जस्तै हामीले पनि आशामा ध्यान केन्द्रित गर्नुपर्छ। यसो गर्दा हामी जस्तोसुकै कठिन बेलामा पनि सहनशील हुन सक्नेछौँ।

२०. सकारात्मक सोचाइ राख्न तपाईँलाई केले मदत गर्छ?

२० यहोवा तपाईँले देखाएको विश्‍वास र सहनशीलता याद गर्नुहुन्छ। (यसैया ३०:१८; मलाकि ३:१० पढ्‌नुहोस्‌) उहाँले तपाईँको “मनको इच्छा पूरा” गर्ने प्रतिज्ञा गर्नुभएको छ। (भजन ३७:४) त्यसैले सधैँ आफ्नो आशामा ध्यान केन्द्रित गर्नुहोस्‌। तपाईँले आशा गुमाएको अनि यहोवाका प्रतिज्ञाहरू कहिल्यै पूरा हुनेछैनन्‌ भनेर शङ्‌का गरेको सैतान चाहन्छ। निराश बनाउने यस्ता कुराहरू मनमा नखेलाउनुहोस्‌। आफ्नो आशा पूरा होला कि नहोला भनेर शङ्‌का लाग्न थालेको याद गर्नुभयो भने यहोवासित मदत माग्नुहोस्‌। फिलिप्पी ४:६, ७ का शब्दहरू सधैँ मनमा राख्नुहोस्‌: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।”

२१, २२. (क) यहोवाले पृथ्वीको लागि कस्तो उद्देश्‍य राख्नुभएको छ? (ख) तपाईँ के गर्न कटिबद्ध हुनुहुन्छ?

२१ आउँदै गरेको नयाँ संसार कस्तो होला भनेर बेला-बेलामा मनन गर्नुहोस्‌। सबै मानिसले यहोवाको मात्र उपासना गर्ने समय अब चाँडै आउँदै छ। (प्रकाश ७:९, १४) नयाँ संसारमा जीवन कस्तो होला, कल्पना गर्नुहोस्‌। त्यो जीवन हामीले सोचेभन्दा कता हो कता सुन्दर अनि रमाइलो हुनेछ। सैतान, त्यसका प्रेतहरू र सबै दुष्ट कुराको नामोनिसान रहनेछैन। तपाईँ कहिल्यै बिरामी पर्नुहुनेछैन न त मृत्युले नै तपाईँलाई छुन सक्नेछ। हरेक बिहानी आफूमा नयाँ जोस, जाँगर र उमङ्‌ग भरिएको पाउनुहुनेछ। पूरै पृथ्वीलाई प्रमोदवन बनाउन सबै जना काँधमा काँध मिलाएर काम गर्नेछन्‌। सबैको आ-आफ्नै घर हुनेछ। कोही पनि भोको पेट सुत्नुपर्नेछैन। कसैले कसैलाई नराम्रो व्यवहार गर्नेछैन। हत्या-हिंसा र अपराध केही हुनेछैन। बरु एउटाले अर्कोलाई साँचो मनले मदत गर्नेछन्‌। आखिरमा सम्पूर्ण मानिसजातिले “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।”—रोमी ८:२१.

२२ यहोवा तपाईँले उहाँलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाएको चाहनुहुन्छ। त्यसैले उहाँका सबै आज्ञा पालन गर्न र उहाँसित घनिष्ठ हुन हरेक दिन सक्दो प्रयास गर्नुहोस्‌। हामी सबैले आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न सकौँ।—यहुदा २१.